निर्णय नं. ६५०८ - निषेधाज्ञा

निर्णय नं. ६५०८ २०५५, ने.का.प. अङ्क २
संयुक्त इजलास
सम्माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
संवत् २०५२ सालको दे.पु.नं. -२७३५
फैसला मितिः- २०५४।८।१७।३
विषयः- निषेधाज्ञा ।
पुनरावेदक/निवेदकः जिल्ला पर्सा विरगंज न.पा. वडा नं. १७ बस्ने समसुदिन अन्सारी ।
विरुद्ध
विपक्षी/वादीः ऐ. ऐ. वडा नं. १३ आदर्श नगर स्थित नेपाल अरव बैंक शाखा कार्यालय विरगंज समेत जना ५ ।
§ निवेदकले गरी दिएको तमसुक र अख्त्यारनामा वमोजिम भएको कारोवारबाट बैंकलाई तिर्नु पर्ने कर्जा रकम असूल गर्न वाणिज्य बैंक ऐन, २०३१ वमोजिम सूचना प्रकाशित गरी गरेको काम कारवाहीबाट निवेदकको हक हितमा आघात पर्न गएको भन्ने अवस्था नहुने ।
(प्र.नं. ११)
पुनरावेदक निवेदक तर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी
विपक्षी तर्फबाटः- x
अवलम्वित नजिरः- x
फैसला
न्या. राजेन्द्रराज नाख्वाः पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।११ को फैसला उपर चित्त नबुझी निवदेकको पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः-
२. वसरुत्तिन समेत साझेदार फर्मको साझेदार भएपनि मनमुटावको कारण पुनरावेदन अदालत तथा कम्पनी कार्यालयमा मुद्दा चलिरहेको छ । नेपाल अरव बैंक लिमिटेडबाट मैले मेरा साझेदार फर्मले सो साझेदारी काम निमित्त कुनै पनि ऋण लिएको छैन । त्यस तर्फ पर्सा जिल्ला अदालतमा धितो लिखत बदर गरी पाउं भनी मुद्दा परी फैसला उपर यस अदालतमा पुनरावेदन गरेको छुं । उक्त फर्मबाट उद्योग निर्माण भई आज सम्म कुनै कारोवार नगरेको भएपनि पर्सा जिल्ला अदालतमा हिसाव दिलाई पाउं भनी दोश्रो मुद्दा चलिरहेको छ । मैले नराखेको तथा फर्मको निमित्त कुनैपनि कारोवार नगरेको तथा ऋण समेत नलिएको हुंदा नेपाल अरव बैंकले मिति २०५०।४।३१ मा प्रकाशित सूचना अनुसार केही पनि गर्न नपाउने गरी रोकी पाउं भन्ने समसुदिन अन्सारीको निवेदन ।
३. यसमा के कसो भएको हो ? माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? लिखित जावाफ पेश गर्ने विपक्षीहरुका नाउंमा म्याद पठाउनु भन्ने पुनरावेदन अदालतको मिति २०५०।५।२८ को आदेश ।
४. बैंकमा साझेदारी फर्मको लागि घर जग्गा धितो राखी ऋण लिंदा धान गहुं समेत विपक्षीको नाउंको घर गोदाममा बैंक मार्फत धितो राखी ऋण लिएकोमा सो गोदाममा राखेको मालसामान एकलौटी पारी मिल संचालन गर्न नदिई वाधा खडा गर्नु भएको छ । त्यस सम्बन्धमा कारवाही चलि रहेकोबाट विपक्षीले ऋण नलिएको भन्ने भनाई झूठ्ठा हो निवदेन खारेज गरी पाउं भन्ने वसिरुद्धिन अन्सारीको लिखित जावफ ।
५. निवेदक समेतको साझेर्दारी फर्मको लागि यस बैंकले ऋण दिएकोमा निवेदकको नामको जग्गा बैंकमा धितो राखेको छ । कर्जा भुक्तानीको वारेमा निवेदकले खिचोला गरेको छैन । अहिले आएर साझेदारी कामको निमित्त कुनै ऋण लिएको छैन भन्नु पूर्णतः झूठ्ठा कुरा हो । साझेदारी ऐन, २०२० को दफा २६ समेत विपरीत छ । यस बैंकबाट प्रकाशित सूचना वाणिज्य बैंक ऐन २०३१ को दफा ४७(क)(१) अनुसार कर्जा असूल उपर सम्बन्धमा गरिएको कानून वमोजिमको कारवाही हुंदा निवेदन खारेज गरी पाउं भन्ने नेपाल अरव बैंक शाखा कार्यालय विरगंज र नेपाल अरव बैंक प्रधान कार्यालयको पृथक लिखित जावफ ।
६. विपक्षीले साझेदार फर्मको लागि ऋण लिई जग्गा धितो राखेको हो । उक्त कर्जाबाट मुक्त हुन धितो उपर समेत मुद्दा पर्दा पर्सा जिल्ला अदालतमा दिएकोमा खारेज भउको छ । निवेदन माग झूठ्ठा हुंदा खारेज गरी पाउं भन्ने शुशिल कुमार मित्तल र रामकृष्ण मित्तलको संयुक्त लिखित जवाफ ।
७. निवेदकको हक हितमा आघात पर्न जाने आशंका विद्यमान भएको नदेखिएको निवेदकको माग वमोजिमको निषेधाज्ञाको आदेश जारी हुन सक्दैन । प्रस्तुत निवेदन खारेज हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।११ को फैसला ।
८. पुनरावेदन अदालत हेटौडाको मिति २०५१।१०।११ को फैसलामा चित्त बुझेन भनी समसुद्धिन अन्सारीको यस अदालतमा पर्न आएको पुनरावेदन ।
९. नियम वमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट वहसको लागि उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारीले बैंकले ऋण लिने व्यक्तिबाट ऋण असुल गर्न पाउने होइन मेरो पक्षले कुन मितिमा के कुन अंकमा ऋण लिएको सो प्रमाणित छैन, यस्तो अवस्थामा ऋण असुल गर्न पाइने ठहर गरी निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालतको इन्साफ त्रुटिपूर्ण हुंदा वदर हुनु पर्ने स्थिति छ भनी गर्नु भएको वहस जिकिर समेत सुनियो ।
१०. प्रुस्तुत मुद्दामा पुनरावेदन अदालतले निषेधाज्ञाको आदेश जारी नगरी खारेज गर्ने ठहर गरेको इन्साफ मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनु पर्ने हुन आयो ।
११. पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ताको वहस जिकिर समेतलाई दृष्टिगत गरी निर्णय तर्फ विचार गर्दा नेपाल अरव बैंक शाखा कार्यालय विरगञ्जको लिखित जवाफ तथा मिसिल संलग्न रहेको घरेलु तथा ग्रामीण पत्रको कागजबाट निवेदक र वसिरुद्धिन अन्सारीको साझेदारीमा अन्सारी आयल मिल दर्ता भएको देखिन्छ । सो उद्योगको लागि आर्दश नगर स्थित नेपाल अरव बैंक संग सो उद्योगको तर्फबाट निवेदकले रु. २०,००,०००। सम्म डिमाण्ड लोन लिन २०४८।१।१८ मा पारित गरी तमसुक गरी दिएको छ र सो उद्योगको सो नेपाल अरव बैंकमा रहेको खाता शुशिल कुमार भित्तल, रामकृष्ण मित्तल र पवन कुमार मित्तललाई संचालन गर्न निवेदक समेतले मे १९९१ मा अख्त्यारनामाको कागज गरी दिएको देखिन्छ । यसरी निवेदकले गरी दिएको तमसुक र अख्त्यारनामा वमोजिम भएको कारोवारबाट बैंकलाई तिर्नु पर्ने कर्जा रकम असुल गर्न वाणिज्य बैंक ऐन, २०३१ वमोजिम सूचना प्रकाशित गरी गरेको काम कारवाहीबाट निवेदकको हकहितमा आघात पउन गएको भन्ने अवस्था नहुंदा निशेधाज्ञाको आदेश जारी नगर्ने गरेको पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिलेको हुंदा इन्साफ पुनरावेदन अदालत हेटौंडाको मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्ट फी रही पुनरावेदन दायर भएको देखिंदा केही गरी रहनु परेन । मिसिल नियमानुसार बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
इति सम्बत् २०५४ साल माघ १७ गते रोज ३ शुभम् ------