शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५११ - अंश चलन ।

भाग: ४० साल: २०५५ महिना: जेष्ठ अंक:

निर्णय नं. ६५११                    २०५५, ने.का.प.           अङ्क २

संयुक्त इजलास

सम्माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्‍ठ

संवत् २०५० सालको दे. पु. नं. -१६०४

फैसला मितिः- २०५४।६।१।४

मुद्दाः- अंश चलन  ।

पुनरावेदक/प्रतिवादीः  का. जि. कार्तिपुर वाहिरी गाउं विकास समिति वडा नं. ९ वस्ने सुवर्ण प्रसाद उपाध्याय  ।

विरुद्ध

विपक्षी/ वादीः ऐ. ऐ.  बस्ने शारदानाथ उपाध्याय  ।

 

§  अंशवण्डाको लिखन नभए पनि व्यवहार प्रमाणबाट वादी शारदानाथ प्रतिवादी सुवर्ण प्रसाद र आमा देवकुमारीबाट अघिने वेगल भई सकेको तथ्य प्रमाणित हुन आएवाट वादी दावी नपुग्ने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव ठहर्ने  ।

(प्र.नं. १०)

पुनरावेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने

प्रत्यर्थी तर्फबाटः-  विद्वान अधिवक्ता श्री पिताम्वर सिलवाल  ।

अवलम्वित नजिरः-

फैसला

न्या. गोविन्द बहादुर श्रेष्‍ठः   न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य यस प्रकार छः-

२.     वावु तोयनाथ तथा आमा देव कुमारीबाट जेठा लिलानाथ, माहिला म फिरादी साहिला सुवर्ण प्रसाद, कान्छा कृष्ण प्रसाद समेत चार छोरा भएको वावु तोयानाथ २०१६ सालमा आमा देव कुमारी २०४४ साल माघमा कान्छा भाई कृ प्रसाद २०३१ सालमा कालगतिले निधन भएको हुंदा जीवित अंशियार ३ जना मात्र छौं । विवाह हुन वांकी कसैको छैन । वावु तोयानाथको निधन भएपछि भिन्न वसौं भनी म समेतका अंशियारले भन्दा आमा देव कुमारीले मान्तु भएन मेरो जिउ छउन्जेल अंशवण्डा नगर भान्छामा खान नमिले अलग अलग खाऔं भन्नु भएकोले आमाको इच्छा मुताविक २०१८ साल देखि जेठा दाजु लिला नाथ भात भान्छा अलग गरी बसी आएकोमा पछि मलाई केही जग्गा आमाले दिनु भएको, आमा ०४४ सालमा निधन हुनु भएकोले दागबत्रि काज क्रिया हामी वादी प्रतिवादी तिनै भाईले गरी आयौं । आमाको निधन पछि चल अचल श्री सम्पत्ति नीतिपूर्वक वण्डा गरौं भनी प्रतिवादीलाई भन्दै आएकोमा हुन्छ हुन्छ भनी आखिर मिति २०४५।११।१० गतेका दिन अंशवण्डा गर्न प्रतिवादीहरुले इन्कार गरेकोले अदालतको शरणमा आएको छुं । नालिस दायर भएको दिनलाई नै मानो छुट्टिएको मिति कायम हुने हुंदा सो को अघिल्लो दिनसम्मको वण्डा गर्नु पर्ने चल अचल श्री सम्पत्तिको तायदाती प्रतिवादीहरुबाट अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम दाखिल गर्न लगाई त्यसबा६ तीन भाग लगाई एक भागको अंश मलाई दिलाई चलन समेत चलाई पाउं भन्ने समेतको फिराद दावी ।

३.     पिता तोयानाथको मृत्यु पछि दाजु भाई मेलमिलाप गरी वस्न नसकेको हुंदा २०१८ सालमा सवै दाजुभाई आमा बसी आ आफ्नो अंश छुटयाउने ठहर भई नगद रु. २००।– र वल्खु वल्खेश्‍वर महादेवको गुठीको सि. नं. ५६ को पुजारी खान्गी खाने गरी घरसारमा कुनै लिखत नगरी अंशवण्डा गरियो । आमा देव कुमारी म प्रतिवादी सुवर्ण प्रसाद र स्वर्गीय भाई कृष्ण प्रसाद सगोलमा थियौं । अंश छुटयाई सकेपछि २०३१।१०।१० गते म संग सगोलमा रहनु भएको आमा देव कुमारीको उपचार र मृत्यु पश्‍चात काजक्रिया मैले गरी खर्च गरेको ऋण मैले वोकेको छुं । आमा देव कुमारीले मिति २०४२।२।२५ मा यी वादीलाई का. जि. किर्तिपुर वाहिरी गा. पं. वडा नं. ९ (क) कि. नं. २०४४ को ०-५-२ जग्गा वकसपत्र गरी दिनु भयो । सो वक्सपत्रमा यि वादीलाई सगोलको नमाने भैपरी आउने काममा मद्दत गर्ने भनि लेखेबाट अंश छुटयाई सकेको हुंदा कसैसंग कसैको कुनै हंश लिनु वांकी छैन, तसर्थ वादीको झुठ्ठा दावाबाट फुर्सद दिलाई पाउं भन्ने व्यहोराको मिति २०४६।२।१७ को लिलानाथ उपाध्याय १, सुवर्ण प्रसाद उपाध्याय १ समेको एउटै प्रतिउत्तर पत्र ।

४.     यसमा वादी शारदानाथ उपाध्यायले अंश दिनु पर्नेमा नदिएकोले फिराद परेको दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो भन्दा अघिल्ला दिन सम्मको वण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फांटवारी विपक्षीहरुबाट लिई ३ भागको एक भाग अंश पाउं भन्ने दावी लिएको देखियो । प्रतिवादीहरुले प्रतिउत्तर पत्रमा २०१८ सालमै आमा र दाजु भाई वसी अंश छुटयाउने ठहर भै प्रतिसवादीले नगद रु. २०००।– र वल्खु वल्खेश्‍वर महादेव गुठीको सि. नं. ५६ को पुजारी खान्गी खाने गरी लिखत नगरी नरम गरम मिलाई घरसारमा अंश वण्डा गरियो । र अंश छुटयाई सकेपछि २०३१ सालमा माघ १० गते प्रतिवादीसंग सगोलमा रहनु भएको आमा देव कुमारीसंग यिनै वादीले रु. ५००।– मा १-११-० जग्गा समेत खरीद गरेका छन र देव कुमारीबाट वक्सपत्र लिई जग्गा समेत प्राप्‍त गरेका छन यस्तो अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोरा उल्लेख भएको देखिन्छ । प्रतिवादीहरुले जिकिर लिए अनुसार वल्खेश्‍वर महादेवको पुजारी निज शारदानाथ रहेको र पछि निजले राजिनामा गरी सो पुजारीमा महेश्‍वर लुइटेल भर्ना भएको कुरा गरठी संस्थान गुठी तथा तहसिल कार्यालयबाट प्राप्‍त भएको प्रमाण मिसिलबाट देखिन आउंछ । प्रतिवादीबाट दाखिल भएको मिति २०२१।१०।१०।५ को राजिनामाको लिखत र मिति २०४२।२।२५ को वक्सपत्रको लिखत वादीलाई सुनाउंदा दुवै लिखत सद्दे हुन भनी वयान गरी दुवै लिखतलाई वादीले स्वीकारेको समेत देखिन आउंछ । वादीले देव कुमारी जो अंशियार मध्यकै आमा हुन निजबाट २०३१।१०।१० मा मच्छेगाउं वडा नं. ६(घ) कि. नं. २१ को ४-८-० मध्ये १-११-० जग्गा राजिनामा गरी लिएको र सो राजिनामाकव कैफियत महलमा लोग्ने अघि नै परलोक भई एकाघरको छोरा सुवर्ण प्रसाद उपाध्यायलाई किनारामा साक्षी राखेको भन्ने व्यहोरा उल्लेख भएबाट वादी त्यस वखत नै एकाघरमा रहने छन् भन्ने कुरा नै पुष्‍टि हुन आउं५ । अंश भाग प्राप्‍त गरी भिन्न कुरा नै पुष्‍टि हुन आउंछ । अंश भाग प्राप्‍त गरी भिन्न वादी वसेको नभए एकै सगोलको अंशियारबा६ रुपैया लिनु दिनु गरी जग्गा पास पारित हुने अवस्था नै नहुने तथा प्रतिवादीहरुले भने अनुसार पुजारी खान्गी समेत निजले प्राप्‍त गरेको देखिने र आमाबाट जग्गा वक्सपत्र पाई भोग गरेको समेत देखिंदा वादीले प्रतिवादीहरुबाट पुनः अंश पाउने रहेछ भनी भन्न संम्झन नमिल्ने भएबाट अंश पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने का. जि. अ. को फैसला ।

५.     नीतिपूर्वक अंशवण्डा भएको भए प्रतिवादीले अंशवण्डाको कागज पेश गर्नु पर्ने थियो सो गर्न नसकेबाट अंशवण्डा भएको भन्ने कुरा कानूनसंगत नभएको प्रष्‍ट हुन आउंछ । जहांसम्म शुरु जिल्ला अदालतले फैसलामा हालिएका विभिन्न मितिका राजिनामा र हा. व. को कागज छ, सो कागजबाट पनि एकातिर हामीहरुको अंशवण्डा भइसकेको छ भन्ने कतैबाट पनि देखिन आउदैन भने अर्कोतिर सो कागजको व्यहोरामा आमा देव कुमारीले मेरा हक भोगका काठमाण्डौ भूमि प्रशासन कार्यालयमा मेरा नाउंमा दर्ता भएको हाल काठमाण्डौ मालपोत कार्यालयमा पोत रु. १२।२४ बुझाउनु पर्ने इत्यादि भनी हकभोगको व्यहोरा लेखाई दिएबाट र कैफियतमा लोग्ने परलोक भई एकाघरका छोरा सुवर्ण प्रसाद उपाध्यायलाई किनारामा साक्षी राखेको भन्ने व्यहोरा लेखिएबाट हामी अंशियार विच अंशवण्डा नभएको भन्न नमिल्ने भनी का. जि. अ. ले गरेको फैसला निराधार छ न्याय संगत छैन । अत एवं वादी दावा वमोजिम तायदाती फांटवारी मगाई ३ भाग अंशवण्डा लगाई दुई भाग प्रत्यर्थी प्रतिवादीहरुलाई र १ भाग म पुनरावेदक वादीलाई दिलाई पाउं भन्ने तत्कालिन वा. अं. अ. मा परेको पुनरावेदन पत्र ।

६.     यसमा २०१८ सालमा छुट्टि भिन्न भएको भन्ने प्रतिवादीको जिकिर रहेकोमा यस कुराको प्रमाण प्रतिवादीको जिकिर रहेकोमा यस कुराको प्रमावण प्रतिवादी पक्षबाट पेश हुन आएको देखिदैन । २०१८ सालमा नगद रु.२००।– (दुई हजार) र गुठीको सि. नं. ५६ को पुजारी खान्गी खाने गरी घरसारमा कुनै लिखत नगरी छुट्टिएको भन्ने प्रतिवादीको जिकिर रहेको छ, यस तर्फ विचार गरी हेर्दा अंशवण्डा हुंदा पैतृक सम्पत्ति जियजियै अंशवण्डा हुन पर्ने सो भएको भनी कुनै लिखित प्रमाण पेश सेकेको देखिन आउदैन । पुजारी खान्गी अंश लिएको भन्ने प्रतिवादीको जिकिर रहे तर्फ विचार गरी हेर्दा देवी देवताको पुजा आजा गरी शेष रहेको कुरा खाने प्रकृयालाई अंश वापत लिए दिएको भनि मान्न पनि आधार प्रमाण वेगर मिल्दोजुल्दो देखिन आउदैन । २०३१ साल र २०४२ सालमा आमा देव कुमारीबाट राजिनामा र वक्सपत्र लिएको समेतबाट पनि वादी प्रतिवादी छुट्टी भिन्न भएको भन्ने प्रतिवादीको अर्को जिकिर रहेको देखि आए तर्फ विचार गरी हेर्दा वादीको नाउंमा पैत्रिक सम्पत्ति कुनै नभएको कुरा प्रतिवादीले पेश गरेको तायदातीबाट देखिन आउंछ । पेश भएको तायदातीलाई हेर्दा धेरै जग्गा कित्ता स्व. देव कुमारीको नाउंमा दर्ता रहेको देखिन आउंछ । तायदातीमा उल्लेखित जग्गा दर्ता समेतबाट देव कुमारीकै पालामा वादी प्रतिवादी छुट्टी भिन्न भएको भन्ने देखिन आउंदैन । वादी आफुले पेश गरेको तायदातीलाई स्व. आर्जनको अंश नलाग्ने भनी उल्लेख गरे तर्फ विचार गरी हेर्दा तायदातीमा उल्लेखित जग्गा पैत्रिक सम्पत्ति भन्ने कुरा देव कुमारीले दिएको राजिनामाबाट देखिएको र सो जग्गा सम्पत्ति वाहेकको हो भन्ने कुरा वादीले प्रमाण पेश गर्न नसकेको समेतबाट आफ्नो आमाले छोराको नाममा राजिनामा वक्सपत्र गरी दिएको कारणले मात्र वादीको स्व. आर्जनको जग्गा भनी भन्न मिल्ने पनि देखिन आउंदैन तसर्थ वादी प्रतिवादी अंशियार भएको कुरामा विवाद नदेखिएको र छुट्टी भिन्न भएको प्रमाण पेश हुंदा पेश हुन आएको वादी प्रतिवादी दुवेको तायदातीबाट पैत्रिक सम्पत्ति भएको देखिंदा फिराद परेको अघिल्लो दिन २०४५।११।२३ लाई मानो छुट्टिएको मिति कायम गरी वादी दावी वमोजिम पेश भएको तायदातीबाट नरम गरम मिलाई तिन भागको एक भाग अंश वादीले पाउने ठहर्छ का. जि. अ. ले अंश नपाउने ठहराएको मिति २०४६।१२।३० को फैसला उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटनको फैसला ।

७.     यसमा मौकैमा छुट्टी भिन्न भई आ-आफ्नो भागको सम्पत्ति आआफैले भोग चलन बिक्री व्यवहार र एक आपसमा खरीद बिक्रि समेत भएको अवस्थामा वण्डा भएकै छैन भनी गरिएको पु. वे.अ. पाटनको फैसला मुलुकी ऐन अंशवण्डाको ३० नं. विपरित छ । ०४२।२।२५ मा पारित दिने देव कुमारी र पाउने विपक्षी शारदानाथ भएको हालैको वक्सपत्र लिखतबाट पनि विपक्षी पहिल्यै वण्डा भइसकेको छुट्टी अलग बसेको भन्ने पुष्‍टी हुन्छ यस्तोमा २०१८ सालमा घर सारमै भिन्न भएको प्रमाण प्रतिवादीले दिन नसकेको भन्ने र गुठीको खान्गीलाई अंश लिएको भन्न गाह्रो देखाई वादीको नाममा पैत्रिक सम्पत्ति नभएको भन्ने तर्क न्यायसंगत नहुंदा पुनरावेदन अदालत पाटनको मिति २०५०।६।१२ को फैसला नमिलेको हुंदा सो फैसला वदर गरी पाउं भन्ने समेत व्योराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।

८.     यसमा तोयनाथका माहिला छोरा शारदानाथ पुजारीमा नियुक्ति भई खान्गी ६।४ र गहुं ।१० खाने गरेकोमा सो खान्गी महेश्‍वर लुइटेलका नाममा नामसारी गराएको र मुद्दा पर्नु पूर्व आमा देव कुमारीले २०३१।१०।१० को राजिनामाबाट १-११-१० हक गराई सो राजिनामाको कैफियत महलमा सुवर्ण उपाध्यायलाई मात्र एकाघरको छोरा भनी जनाएको र ०४२।२।२५ को वक्सपत्रबाट शारदा प्रसादलाई ०-५-२ दिएको अंशियार मध्येका लिलानाथले ०१८ सालमा नै अंश भई सकेको भन्ने स्वीकार गरेको समेतबाट वादी सगोलमा रहेको भन्ने प्रमाणित नदेखिई पैत्रिक सम्पत्ति राजिनामा वक्सपत्र गरी लिई पुजारी खान्गी समेत हक छोडेको प्रमाणबाट वादी अघि नै छुट्टी सकेको देखिंदा अंशवण्डाको ३० नं. ले अंश पाउने भन्न नमिल्ने हुंदा अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिली फरक पर्ने देखिंदा अ. वं. २०२ नं. तथा सर्वोच्च अदालत नियमावली, २०४९ वमोजिम विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको संयुक्त इजलासको मिति २०५४।२।१५ को आदेश ।

९.     नियम वमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन तथा शुरु मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपानेले सुवर्ण प्रसाद एका सगोलको भनेकोलाई वादीले स्वीकार गरी वकपत्र गरेका छन् । ३ भाईको ३ वटा छुट्टाछुट्टै घर छ । अंशवण्डाको ३० नं. ले वण्डापत्र पारित भएको हुनु पर्छ भन्ने आवश्यक छैन तसर्थ अंशवण्डा हुने ठहराएको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण हुंदा वदर गरी पाउं भनि गर्नु भएको वहस र प्रत्यर्थी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री पिताम्वर सिलवालले वादीले अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला सदर गरी पाउं भनी गर्नु भएको वहस समेत सुनियो । प्रस्तुत अंश दावी भएको मुद्दामा शुरु काठमाण्डौ जिल्ला अदालतले वादीको अंश दावी पुग्दैन भन्ने गरेको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत पाटनबाट वादीले ३ भागको १ भाग अंश प्रतिवादी सुवर्ण प्रादबाट पाउने ठहर गरेको रहेछ । अंशवण्डा घरसारमा खडा भएको रहेनछ न त रजिष्‍ट्रेशन पारित भएको लिखत नै रहेछ । तापनि अंशवण्डाको ३२ नं. मा अंशवण्डा गर्दा ऐन वमोजिम गरी दिनु पर्छ घटीबढी गर्नु हुदैन । अंशमा चित्त नबुझे सोह्र वर्ष नाघेकाले वण्डापत्रको कागज भएका मितिले र सोह्र वर्ष नाघेका मितिले ३ महिना भित्र नालिस नगरे लाग्न सक्दैन भन्ने उल्लेख भएको परिप्रेक्ष्यमा वादी प्रतिवादीहरु विच भएका व्यवहार समेतको पृष्‍ठ भूमिमा अंशवण्डा भइसकेको हो वा होइन भन्ने इन्साफ गर्नु पर्ने भएको छ ।

१०.    मुल पुरुष तोयनाथको ४ छोरामा लिलानाथ २०१८ सालमा वेगल भएको कुरामा वादी प्रतिवादीको मुख मिलेको देखिएकोले त्यसतर्फ कुनै विचार गर्नु परेन । कान्छा भाई कृष्ण प्रसाद २०३१ सालमा स्वर्गे भएको र निजको पत्‍नी वा छोरा छोरी नभएको परिप्रेक्ष्यमा निजको अंश वारे विचार गर्नु परेन । २०३१।१०।१० मा आमा देव कुमारले वादी शारदानाथलाई ज. रो. १-११-० रु. ५०००।– लिई राजिनामा गरेको देखिन्छ । पुनः ०४२।२।२५ मा ज. रो. ०-५-२ शारदानाथलाई आमा देव कुमारीले वकपत्र पारित गरी दिएको देखिन्छ । २०३१।१०।१० को राजिनामाको कैफियतमा एकाघरको छोरा सुवर्ण प्रसाद भनी निजको सहिछाप भएकोबाट आमा देव कुमारीसंग सुवर्ण प्रसाद सगोलमा वसेको तथ्यलाई राजिनामा लिने छोरा वादी शारदा प्रसादले स्वीकार गरेको मान्नु पर्छ । निज शारदानाथहरु एकासगोलको भनी उल्लेख नहुनुबाट पनि सो तथ्य प्रमाणित हुन्छ । त्यसैगरी आमा देव कुमारीले लिलानाथलाई पनि केही जग्गा हक हस्तान्तरण गरी दिएको र तिनै भाईहरुले छुट्टाछुट्टै घर बनाई वसी आएको समेत देखिन्छ । यसरी एकासगोलमा शारदानाथ पनि वसी आएको भए सगोलको आमाबाट सगोलको आमाबाट राजिनामा वक्सपत्र लिनु पर्ने आवश्यकता वा औचित्य के भयो त्यो वादी शारदानाथले प्रष्‍ट्याउनु पर्ने थियो । सो को तर्कयुक्त औचित्य निजले भन्न लेख्न सकेको देखिदैन । राजिनामा दिंदा दाजु सुवर्ण प्रसादलाई एकासगोलको भनी उल्ले हुंदा सगोलको भई निजलाई पनि एका सगोल भन्ने हुनु पर्ने नभएकोमा कुनै आपत्ती नउठाई त्यस लिखतमा सहिछाप गरेकोबाट पनि निज सगोलमा नरहेको मान्नु पर्ने हुन्छ । यसरी अंशवण्डाको लिखत नभए पनि व्यवहार प्रमाणबाट वादी शारदानाथ प्रतिवादी सुवर्ण प्रसाद र आमा देव कुमारबाट अघि नै वेगल भई सकेको तथ्य प्रमाणित हुन आएबाट वादी दावी नपुग्ने ठहराउको शुरु काठमाण्डौ जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ र अंश दिलाई दिने ठहर्‍याएको पु. वे. अ. पाटनको निर्णय उल्टी हुने भई वदर हुने ठहर्छ । अरुमा तपसिल वमोजिम गर्नु ।

तपसिल

माथि ठहर खण्डमा लेखिए वमोजिम पेश भएको तायदातीबाट नरम गरम मिलाई ३ भागको १ भाग अंश वादीले पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको मिति २०५०।६।१२ को फैसला उल्टी भई शुरु काठमाण्डौ जिल्ला अदालतको फैसला मनासिव ठहरी फैसला भएकोले पुनरावेदन अदालत पाटनको फैसलाको लगत वमोजिम गरी रहनु परेन भनी शुरु काठमाण्डौ जिल्ला अदालतमा लगत दिनु ------------१

दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाई दिनु -------------१

 

उक्त रायमा म सहमत छु ।

 

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

 

इति सम्बत् २०५४ साल आश्‍विन १ गते रोज ४ शुभम् -------

 

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु