शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५४६ - अंश नामसारी

भाग: ४० साल: २०५५ महिना: भाद्र अंक:

निर्णय नं. ६५४६     ने.का.प. ०५५                       अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

सम्बत् २०५३ सालको दे.पु.नं.. .. २७८६, २७८७

मुद्दाः- अंश नामसारी

फैसला मितिः २०५५।५।१।२

 

पुनरावेदक/वादी : जिल्ला नवलपरासी तम्सरीया गाउँ विकास समिति वडानं. २ बसन्तपुर बस्ने सिफल कुमालको छोरा मान बहादुर कुमाल

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. ऐ. मैनघाट गाउँ विकास समिति वडा नं. ७ बस्ने शंखवीरको छोरा विफल कुमाल

           

§  प्रतिवादीले तायदाती फांटवारी दिंदा वादीलार्ई अंशियारा होईन भनेता पनि प्रतिउत्तर पत्रमा नै सो कुरा भन्न लेख्न नसकेबाट तायदातीमा अंशियारा होईन भनी उल्लेख गरेको ग्राहय हुन सक्ने देखिएन ।

(प्र.नं. १३)

 

पुनरावेदनक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ

प्रत्यर्थी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा

अवलम्वित नजिर : ने.का.प. २०४६, अंक ७, नि.नं. ३८९४, पृ ७९४

 

फैसला

            न्या. उदयराज उपाध्याय : पुनरावेदक अदालत, बुटवलबाट भएको मिति २०५२।२।२३ गतेको फैसला उपर वादी प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः

            २.    म फिरादीका बाजे धोजे कुमालका २ भाई छोरामा जेठा विपक्षीका बाजे आइतराम हुन, आइतरामका १ मात्र छोरा विपक्षीका पिता शंख वीर, शंखवीरका छोराविपक्षी विफ हुन बाजे धोजेको कान्छा छोरा सिफ कुमालको १ मात्र छोरा म फिरादी हुं । जेठा बुवा तथा जेठी आमाको मेरा बुवा आमाको समेत आ आफ्नो काल गतिले परलोक भई विपक्षी र म मात्रा २ अंशियार भएको र मैले पाउने अंश वण्डा गरौ भन्दा अंश दिन्न भनेकोले अन्यायमा परी अंश वण्डाका १,,,,१४,२०,२१,२२,२३,र ३५ नं. समेतका आधारमा यो फिराद लिई आएको हुँ । फिराद परेको अघिल्लो दिनलार्ई मानो छुटिएको मिति कायम गरी अंश वण्डाको २०,२१,२३ नं बमोजिम अंशको फांटवारी लिई चल अचल सम्पत्तिको २ अंश लगाई मेरा १ अंश मलार्ई दिलार्ई अचल सम्पत्ति मेरा नाममा दर्ता नामसारी समेत गरी पाउँ भन्ने समेतका व्यहोराको मिति २०४८।३।१२।४ को फिरादपत्र

            ३. वादीलार्ई मैले अंश दिनु पर्ने होईन छैन । निज र मेरा बाजेका पाला मै अलग भिन्द भई आ आफ्नो खति उपति गरी आएको वास्तविक कुरा जान्दा जान्दै मुद्दा दिए केही लिन सक्छू की भनी यो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको व्यहोराको प्रतिउत्तर पत्र ।

            ४.    वादीको साक्षी दान बहादुर रायमाझी समेत र सेते कुमाल प्रतिवादीको साक्षी लोक बहादुर आलेको बकपत्र भएको र वादी प्रतिवादीबाट तायदाती फंटवारी पेश भएको समेत रहेछ ।

            ५. यसमा पेश भएको तायदाती फांटवारी बमोजिमको सम्पत्तिबाट दुई भाग लगाइ एक भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्छ भन्ने शुरु नवलपरासी जिल्ला अदालतको मिति २०४९।११।२६।३ को फैसला ।

 

            ६. वादीले पेश गरेको तायदाती फांटवारी अनुसारको जग्गा नदेखाइ प्रतिवादीका नामको सम्पत्ति भाग वण्डा गर्ने वादीसंग भएको सम्पत्ति वण्डा नगर्ने गरी शुरु नवलपरासी जिल्ला अदालतबाट भएको त्रुटीपूर्ण फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिर अनुसार इन्साफ पाउँ भन्ने प्रतिवादी विफले कुमालको पुनरावेदन अदालत, बुटवलमा परेको पुनरावेदन पत्र

 

            ७.    यसमा वादी प्रतिवादी दुवैथरबाट तायदाती फांटवारी पेश भई रहेकोमा प्रतिवादीबाट पेश भएको फांटवारीको सम्पत्ति वण्डा भएको तर वादीबाट पेश भएको तायदाती फांटवारी सम्बन्धमा केही विवेचना नगरी वण्डा नगरेको देखिन आएकोले शुरु नवलपरासी जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिंदा विपक्षीलार्ई झिकाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने पुनरावेदन अदालत, बुटबलको २०५१।१०।१८ को आदेश ।

            ८.    प्रतिवादीबाट पेश भएको तायदाती फांटवारीको ०-७-० (सात कठ्ठा) मा २ भाग को १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहराएको शुरु नवलपरासी जिल्ला अदालतको फैसला उल्टी हुन्छ । वादीले प्रतिवादीबाट वादी दावी बमोजिमको अंश नपाउने ठहर्छ भन्ने मिति २०५२।२।२३।३को पुनरावेदन अदालत, बुटवल फैसला ।

            ९.    प्रतिवादीले प्रतिउत्तर पत्रमा अभिन्न छुट्टी भिन्न भएको भने पनि सोको आधार प्रमाण दिन नकेकोमा पुनरावेदन अदालत, बुटवलको फैसलामा पनि यो यस आधार प्रमाणबाट वादी प्रतिवादी अघि नै छुट्टी भिन्न भईसकेको देखिने गरी स्पष्ट नबोली सबुद प्रमाणको मुल्याकंन नै नगरी प्रतिवादीका नाममा जग्गा कमी देखिएको भन्ने सम्म कै आधारले मात्र अंश नपाउने ठहर गर्न कदापी मिल्दैन । सो फैसलाले लिखत बदर मुद्दालार्ई प्रभावित पार्न सक्ने हुन्छ । तसर्थ पुनरावेदन अदालत, उक्त फैसला सम्मतः नभएको बदर गरी प्रतिवादीबाट मलार्ई अंश दिलाउने गरी शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर कायम राखी पाउँ भन्ने समेत यस अदालतमा परेको वादीको पुनरावेदन पत्र ।

            १०.    विपक्षी वादी र म प्रतिवादीका पुर्खाहरु दाजु भाइ भए पनि निजहरु पहिल्यै छुट्टी भिन्न भएका हुन् । पिता पुर्खाका पालाको वण्डा गर्नु पर्ने अवण्डा रहेको सम्पत्ति हो भन्ने पुष्टि हुने प्रमाण वादीले दिन सकेको छैन तायदातीमा देखिएको सम्पत्ति मेरो बावुले अंशवण्डामा प्राप्त गरेको सम्पत्ति हो । यस्तो अवस्थामा वादीलार्ई मेरो संगोलको अंशियार कायम गर्ने र मैले लुकाउ छिपाएको ठहरे मुद्दा परेका बखत कानून बमोजिम गर्ने भन्ने फैसला त्रुटीपूर्ण हुँदा उक्त त्रुटीपूर्ण हदसम्मको फैसला उल्टी गरी मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी पाउ भन्ने समेत यस अदालतम परेको पुनरावेदन प्रतिवादीको पुनरावेदन पत्र ।

            ११.    नियम बमोजिम पेशी सुचिमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा संगोलको अंशियारा विपक्षिसंग माग्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलार्ई मानो छुट्टीएको मिति कायम गरी २ भागको १ भाग अंश दिलार्ई दर्ता नामसारीसमेत गरी पाउँ भन्ने समेत फिराद दावी भएकोमा विपक्षीलार्ई मैले अंश दिनु पर्ने छैन हैन निज र मेरा बाजेहरुका पालामा नै अलग छुट्टी भिन्न भएको भन्ने समेत प्रतिउत्तर जिकिर भई पेश भएको तायदाती फांटवारीबमोजिमको सम्पत्तिबाट २ भागको १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहर्‍याएको शुरु नवलपरासी जिल्ला अदालतको इन्साफ उल्टी गरी वादीले प्रतिवादीबाट वादी दावी बमोजिको अंशपाउने ठहराई भएको पुनरावेदन अदालत, बुटवलको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको पुनरावेदन परी आएको देखियो ।

            १२. पुनरावेदक वादीतर्फका विद्वान अधिवक्ता श्री कृष्ण सापकोटाले मेरो पक्षलार्ई अंशियार हो भन्ने कुरा प्रतिउत्तर पत्रमा स्वीकार गरेको छ । सगोलको जग्गा हो, विपक्षीको निजी भन्ने प्रमाण छैन तसर्थ वादी दावी बमोजिम इन्साफ सदर हुनु पर्छ भन्ने समेतको र पुनरावेदक प्रतिवादीबाट विद्वान अधिवक्ता श्री रमन कुमार श्रेष्ठ फिरादको प्रकरण नं. २ कोखबाट बाजेकै पालादेखि छुट्टी भिन्न भएको स्वीकार गरेको छ, विपक्षी वादी मेरो पक्षको बाजेको भाईको छोरा हो, मेरो पक्षको अंशि होईन तसर्थ प्रतिउतर जिकिर वमोजिम अंश दिनु पर्ने होइन भन्ने समेतको गर्नु भएको वहससमेत सुनि पेश भएको तायदाती फाँटवारी वमोजिमको सम्पत्तिबाट २ भागको १ भाग वादीले प्रतिवादीबाट अंश पाउने ठहराएको शुरु इन्साफ उल्टी गरी वादीले प्रतिवादीबाट वादी दावी वमोजिमको अंश नपाउने ठहराएको पुनरावेदन अदालत, वुटवलको फैसला मुनासिव छ, छैन भनी निर्णय दिनु पर्ने भएको छ ।

            १३.   निर्णयतर्फ विचार गर्दा प्रतिवादीले तायदाती फांटवरी दिंदा वादीलार्ई अंशियारा होइन भनेत पनि प्रतिउतर पत्रमा नै सो कुरा चन्न लेख्न सकेबाट तायदातीमा अंशियारा होइन भनी उल्लेख गरेको ग्राहय हुन सक्ने देखिएन । पुस्तेवारीबाट वादी प्रीतवादी काकका भतिजा नाताको देखिन्छन ।

            १४. प्रतिवादीले छोरी भतिजीहरुलार्ई हालै र शेषपछिको वक्सपत्र गरी दिई वांकी रहेको जिल्ला नवलपरासी तमसरीया गा.वि.स. वडा नं. ७ (ख) कि.नं. ४९६ को ज.वि. ०-७-० जग्गा मात्र देखाई मेरो मात्र एकलौटी हकको भनी तायादती फांटवारी पेश गरेको देखिन्छ । भनेवादीले आफ्नो तायदाती फांटवारीमा जिल्ला नवलपरासी तमसरीया गा.वि.स. वडा नं. ५ (ङ) कि.नं. ८७ को ज.वि. ०-१०-० जग्गा मात्र देखाई पुनरवास विभाग लुम्विनी अंचल क्षेत्रीय वसोवास कार्यालयबाट प्राप्त गरेको भनी उल्लेख भएको देखिन्छ । वादीले सो जग्गा आफ्नो मात्र एकलौटी हक लाग्ने सम्म भन्न लेख्न सकेको सम्म पनि पाईदैन भने प्रतिवादीले प्रतिउत्तरमा उखडामा केही जग्गा प्राप्त गरेको छुं भनी तायदातीमा देखाएको उक्त कि.नं.को जग्गा आफ्नो एकलौटी भनी उल्लेख गरेकोमा आफूखुश गर्न पाउने आफ्नो एकलौटी हकको प्रमाण दिन सकेको मिसिलबाट देखिन आउदैन । यस अतिरिक्त उखडामा पाएको जग्गालार्ई निजी शिपबाट आर्जन भएको भन्न नमिल्ने भनी यस सर्वोच्च अदालतबाट ने.का.प. २०४६ भाग ३१ अंक ७ नि.नं. ३८९ पृष्ठ ७९४ पुनरावेदक प्रतिवादी लाल बहादुर टण्डन क्षेत्री विरुद्ध वनरजीत चाई भएको लिखत वदर मुद्दामा निर्णय भइरहेको समेत देखिन्छ । प्रतिवादीले प्रतिउतर पत्रमा अंशवण्डाको महलको ३० नं. को जिकिर लिएकोमा पनि वादीको नाममा जम्मा ०-१०-० (दश कठ्ठा ) जग्गा रहे भएको र सो वाहेक अरु यो यो जग्गा वादीको भागमा थियो, यो यति जग्गा वादीले यो यसो गरे भन्न पनि प्रतिवादीले सकेको पाईदैन । यिनै वादी र प्रतिवादी समेत भएको लिखत वदर नामसारीका अलग अलग २ वटा मुद्दामा यी प्रतिवादीले लालमाया कुमाललार्ई ज.वि. ०-११-११ र रोइकी कुमाललार्ई ज.वि. ०-१४-४ जग्गा हालैको वक्सपत्र गरी दिई अद्यापी निज प्रीतवादी विफले कुमालेसंग ०-७-० जग्गा वाहेक रहेकोबाट प्रतिवादीले जग्गा वक्सपत्र गरी दिंदाको अवस्था निजसंग वादीको भन्दा वढी जग्गा रहेकोबाट पनि अंशवण्डा महलको ३० नं. अनुसार वादी प्रतिवादी वीच पहिल्यै घरसारमा नरम गरम मिलार्ई हिसाव भाग शान्ति वमोजिम भोग गरेको भन्न मिल्ने पनि देखिएन । प्रतिवादीले वादीलार्ई अंश दिनु पर्ने होईन भनी प्रमाण ऐन, २०३१ को दफा २७(२) वमोजिम प्रतिवादीले प्रमाण दिन सकेको नदेखिएबाट वाजेकै पालामा छुट्टी भिन्न भएको भन्ने प्रीतउतर जिकिर समर्थित हुन नसकेकाले फिराद परेको अघिल्लो दिन मिति २०४८।३।११।३ लार्ई वादी प्रतिवादी वीच मानो छुट्टीएको मान्नु पर्ने हुन आयो ।

            १५.   तसर्थ माथि उललेख गरे बमोजिम बाजेकै पालामा छुट्टीभिन्न भएको भन्ने प्रतिउत्तर जिकिर समर्थित हुन सकेको नदेखिंदा वादी प्रतिवादीबिच अंश वण्डा भएको प्रमाणित हुन पनि नआएकोले वादी प्रतिवादीले पेश गरेको तायदातीकौ फांटवारीको सम्पत्तिबाट २ भागको १ भाग वादीदावी बमोजिम वादीले अंश पाउने र वादीको जाममा दर्ता नामसारी हुने समेत ठहर्छ । शुरु फसैला उल्टी गरी वादीले प्रतिवादीबाट अंश नपाउने ठहराएको पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी हुन्छ । अरु तपसिल बमोजिम गर्नु ।

 

तपसिल

 

माथि ठहर खण्ड लेखिए बमोजिम पुनरावेदन अदालत, बुटवलको फैसला उल्टी भइृ वादी प्रतिवादीले पेश गरेको तायदाती फांटवारीमा उल्लेखित जिल्ला नवलपरासी तमसरीया गा.वि.स. वडानं. ७ (ख) कि.नं. ४९६ को ज.वि. ०-७-० र ऐ. वडा नं. ५(ङ) कि.नं. ८ को ज.वि. ०-१०-० समेतको जग्गाबाट २ भाग लगाई १ भाग वादीले अंश पाउने र दर्ता नामसारीसमेत हुने ठहरेकोले वण्डा छुटयाई दर्ता नामसारी गराई पाउ भनी कानूनका म्याद भित्र वादीको दरखास्त परे कानून बमोजिम वण्डा छुटयाई दिई दर्ता नामसारी गरी दिन लेख पठाउनु भनी शुरु नवलपरासी जिल्ला अदालतमा लगत दिनु ..............................१

माथि ठहर खण्डमा लेखिए बमोजिम २ खण्डको १ खण्ड वादीले अंश पाउने ठहरेकोले शुरु फैसलाले वादीलार्ई प्रतिवादीबाट भराई दिने गरेको कोटफि रु ३५ । (पैतिस रुपैयां) र वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफि रु.५।२५ पैसा प्रतिवादीबाट भरी पाउने हुँदा उक्त दुवै तहको कोटफि ५।२५ पैसा प्रतिवादीबाट भरी पाउने हुँदा उक्त दुवै तहके कार्टफि रु.४०।२५ (चालिस रुपैयांपचीस) मात्र भराई पाउ भनी प्रतिवादीको यसै सरहको जेथा देखाई कानूनका म्याद भित्र वादीको दरखास्त परे कानून बमोजिम भराई दिनु भनी शुरु नवलपरासी जिल्ला अदालतमा लेखि पठाउनु.......        

मिसिल नियमानुसार गरी बुझाई दिनु...   

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति सम्बत् २०५५ साल भाद्र १ गते रोज २ शुभम..........

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु