शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५६७ - अंश नामसारी

भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक:

निर्णय नं. ६५६७          ने.का.प. २०५५            अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

सम्बत् २०५१ सालको दे.पु.ई.नं. २६३१, २६३२

फैसला मिति : २०५४।८।४।४

 

मुद्दा : अंश नामसारी ।

पुनरावेदक/वादी : जिल्ला रुपन्देही पजरकट्टी गा.वि.स. वडा नं. १ बस्ने बन्नुको छोरा सुकई चमार

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ ऐ बस्ने बन्नुको छोरा बटोही चमार समेत दुईजना

पुनरावेदक/प्रतिवादी : ऐ ऐ बस्ने मटेल चमार

विरुद्ध

विपक्षी/ प्रतिवादी : ऐ ऐ बस्ने बटोही चमार

विपक्षी/वादी : ऐ.ऐ. वस्ने सुकई चमार

 

§  पैतृक सम्पत्ति मृत्यु पश्चात नामसारी हुँदै गएको अवस्थामा नामसारी गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति अन्य अंशियारहरुले पाउने होइन भन्नु कानून र न्याय संगत कथन भन्न नमिल्ने ।

 

पुनरावेदक वादीका तर्फबाट : विद्वान अधिवक्ता श्री नारायण झा

विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंह

अवलम्बित नजिर :

 

फैसला

न्या. हरिप्रसाद शर्मा : पुनरावेदन अदालत बुटबलबाट भएको फैसला उपर पर्न आएको दोहोरो पुनरावेदनपत्रहरु न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र हठर यस प्रकार छ ।

२. मुल पुरुष बाबु बन्नुको २ भाई छोरामा जेठो विपक्षी र कान्छो म फिरादी हौं । बाबु आमाको मृत्यु भैसकेको हो । हामी वादी प्रतिवादीहरु वाहेक अरु अंशहक खाने अंशियार कोही छैनन्, हामी वादी प्रतिवादी एकासगोका अभिन्न अंशियार हौं । अंशबण्डा भएको छैन । जो भएको बण्डा गर्नुपर्ने श्री सम्पत्ति विपक्षीको नाम जिम्मामा छ मैले पाउने आधा अंश छुट्टाई दिनुहोस छुट्टै बस्छु भन्दा तिमिलाई अंश पनि दिन्न खान लाउन पनि दिन्न जानेको गर भनि हांक जवाफ दिएकाले फिराद गर्न आएको छु । फिराद परेको अघिल्लो दिन सम्मको तायदाति फाँटवारी लिई समग्र सम्पत्तिमा २ भाग लगाई १ भाग अंश हक म वादीलाई दिलाई नामसारी समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।

३. वादीले आंशिक रुपमा पुस्तावारी देखाएका छन हाम्रो पुस्तावारी यस प्रकार छ । काशीको छोरा औतार र बन्नु हुन । औतारको छोरा सुखदेव र रघुवीर हुन, सुकदेवको छोरा मटेलु हुन, बन्नुको छोरा हामी वादी प्रतिवादी हौं । पैतृक सम्पत्ति काशीवाट निज मर्दा रघुवीरको नाममा नामसारी दर्ता भएको छ पैतृक सम्पत्तिमा अंशवण्डा भएको छैन अ.बं. १३९ नं. बमोजिम मटेलुलाई बुझी निजको नाममा रहेको पैतृक सम्पत्तिमा सवैको अंश हक कायम गरी पाउँ । म प्रतिवादी बटो हो । आफ्नो वावु बन्नु र सुखदेव र रघुवीर समेतसँग २०१५ सालमा आफ्नो मार्ने चुल्हो अलग गरी छुट्टी भिन्न भई केही जग्गा जिमिदारको चाकरीवाट जोत्न पाई मेरो नाममा दर्ता हुन आएको र केही जग्गा खरिद समेत गरेको छु छुट्टी भिन्न भएपछि कमाएको मेरो निजी आर्जनको सम्पत्तिको जग्गामा वादीको अंश हक लाग्ने छैन वादी मेरो एकासगोलमा छैनन्, वादी दावी झुठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर ।

४. काशीको २ छोरा मृतक औतार र बन्नु हुन । औतारको २ छोरा सुखदेव र रघुवीर सुखदेवको एक मात्र छोरा म हुँ । बन्नुको २ छोरा मध्ये जेठा प्रतिवादी वटोही र कान्छा वादी सुकई हुन । रघुवीरको मृत्युपछि निजका नामको पैतृक सम्पत्ति आधा मेरो नाममा र आधा प्रतिवादी बटोहीका नाममा छ । रघुवीरको हक खाने कोही पनि छैनन । प्रतिवादी वटोहीले उखडाबाट पाएको जग्गा हामी सवै सगोलमै छँदा सवैले मिली गराएको हो निजको निजी आर्जनको हैन । वादीले प्रतिवादीबाट अंश पाउने हो मेरो नाममा रहेको जग्गाबाट अंश लाग्ने होइन भन्ने समेत व्यहोराको पेटबोलीबाट बुझिएको मटेलु चमारले गरेको वयान ।

५. फिरादी अंशियार भएमा र निजले अंश पाउने कुरामा कुनै विवाद देखिँदैन पैतृक सम्पत्ति मटेलुको नाममा दर्ता भएको देखिएको र प्र. बटोही वादी सुकई संगै छुट्टी भिन्न भएको लिखत प्रमाण पेश गर्नु नसकेकोले मटेलुले दिएको तायदातीमा आधार फिरादीको बाबुको सम्पत्ति भएकोले सो आधा फिरादीको बाबुको सम्पत्ति भएकोले सो आधा फिरादीको बाबुको सम्पत्ति भएकोले सो आधा सम्पत्तिमा फिरादी तथा प्र. बटोही २ भाईको भाग लाग्ने र प्र. बटोहीले दिएको तायदाती तथा फिरादीले दिएको तायदातीको सम्पत्ति पैतृक नभएकोले त्यसमा आधा फिरादीले अंश भाग पाउने र नामसारी समेत हुने ठहर्छ भन्ने शुरु जिल्ला अदालतको फैसला ।

६. २०१५ सालमा वादी सुकई र प्र. मटेलुसंग खानु मानु अलग गरी छुट्टीएपछि केही जग्गा उखडामा प्राप्त गरेको केही मिलापत्र र राजीनामाबाट खरिद गरेको हो वादीले मटेलुसंगबाट मात्र अंश पाउनु पर्नेमा मेरो आर्जनको जग्गा समेत वादीलाई दिलाउने गरेको शुरु फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने प्र. बटोही चमारको पुनरावेदन अदालत, बुटबलमा परेको पुनरावेदन पत्र ।

७. वादी र प्रतिवादी बाबु बन्नु चमारले रघुवीर चमारबाट पाउने अंश भागको जग्गा बटोही चमारले २०२० सालमा पाई सकेका छन् । छुट्टीएको कायम नगर्ने हो भने वादी प्रतिवादीले पेश गरेको तायदातीको कुल सम्पत्तिबाट आधार मैले र आधा वादी र प्र. बटोहीले पाउनु पर्नेमा बटोहीको तायदातीमा उल्लेखित सम्पत्ति समेत मलाई नदिलाई मेरो मात्र बण्डा गरिएको शुरु इन्साफ त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्ने पेटबोलीबाट बुझिएका मटेलु चमारको पुनरावेदन अदालत बुटवलमा परेको पुनरावेदन पत्र ।

८. २०२०।२।३० मा बटोही चमारले अंशियार मध्ये के रघुवीर चमारबाट जग्गा राजिनामा गरी लिएको लिखतमा यिनै वादी ऋणीको हकदार जनाई साझी समेत बसेको र पैतृक सम्पत्ति बण्डा गर्ने गरेको शुरुको इन्साफ नमिलेको देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्ने भन्ने समेत व्यहोराको २०४९।७।१३ को पुनरावेदन अदालत, बुटबलको आदेश ।

९. प्र. बटोही २०२२ सालमा सोहन चमारबाट जग्गा राजिनामा लिएको मिसिल संलग्न राजिनामाहरुबाट देखिएको र प्र. बटोही २०१५ सालबाटै अलग भै उखडा राजिनामा समेतबाट जग्गा प्राप्त गरी छुट्टै आवाद कमोद गरी आएको देखिएकोले निजको नाउँको सम्पत्तिबाट वादीले अंश पाउनुपर्ने देखिन आएन । वादीले प्रतिवादी मटेलु चमारबाट दाखिल भएको तायदाती फाँटवारीमा उल्लेखित सम्पत्तिबाट ४ खण्डको १ खण्ड अंश भाग पाउने गरेको सम्म शुरु जिल्ला अदालतको फैसला मनासिव भै निज बटोही चमारबाट वादीले आधा अंश भाग पाउने गरेको हदसम्म शुरु रुपन्देही जिल्ला अदालतको फैसला मिलेको नदेखिँदा सो हदसम्म बदर भै केही उल्टी हुन्छ । प्र. मटेलु चमारको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको २०५१।३।२०।२ को पुनरावेदन अदालत, बुटबलको फैसाल ।

१०. संयुक्त सम्पत्तिलाई विपक्षी बटोहीको एकलौटी निजी आर्जनको कायम गरी शुरुको फैसलालाई केही उल्टी गरी गरेको पुनरावेदन अदालत, बुटबलको फैसला सो हदसम्म त्रुटिपूर्ण हुँदा शुरु रुपन्देही जिल्ला अदालतको फैसला कायम राखिपाउँ भनी वादी सुकई चमारले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

११. बटोहीसंग अंश माग गर्ने वादीलाई म पुनरावेदक मटेलु चमारसंग अंश दिलाई दिने ठहर्‍याएको पुनरावेदन अदालत बुटवलको फैसला स्वतः बदरभागी हुँदा बदरगरी न्याय पाउँ भनी प्रतिवादी मटेलु चमारले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

१२. मटेलु छुट्टीसकेको अंशियार देखिन आएको र निजबाट अंश पाउँ भन्ने दावी समेत नभएको अवस्थामा पेटवोलीबाट बुझिएको मटेलुवाट अंश दिलाउने गरी गरेको पुनरावेदन अदालतको फैसला मिलेको देखिएन साथै वादी सुकई र प्रतिवादी बटोही एकै बाबु बन्नु तर्फका छोराहरु बीच भिन्न रहेको भन्ने प्रमाणको अभावमा बटोही नाउँ दर्ताको सम्पत्तिबाट अंश नपाउने ठहर्‍याएको पुनरावेदन अदालत बुटबलको फैसला नमिली फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भनि यस अदालतबाट मिति २०५३।१०।१४ मा भएको आदेश ।

१३. नियमानुसार दैनिक पेशीसूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी सुकई चमारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री नारायण झाले मेरो पक्षको अंशियार बटोही चमार मात्र भएकोमा मेरो पक्षले बटोहीका नाउँमा रहेको सम्पत्तिबाट अंश पाउँ भनी दावी भएकोमा दावी नभएको व्यक्तिबाट अंश दिलाइएको छ । दावी गरिएको व्यक्तिका नाउँमा रहेको सम्पत्ति निजी आर्जनको ठहर्‍याई गरेको पुनरावेदन अदालत, बुटबलको फैसला नेपाल कानून पत्रिका, २०५२, अंक ८ पृष्ठ ७२३, नि.नं. ६०५६ र नेपाल कानून पत्रिका २०५२, अंक १०, पृष्ठ ९१८ नि.नं. ६०९५ मा प्रतिपादित सिद्धान्त विपरित हुँदा सो फैसला उल्ट्याई रुपन्देही जिल्ला अदालतको फैसला बमोजिम हुनुपर्ने हो भनी गर्नु भएको बहस जिकिर र प्रतिवादी बटोही चमारको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अवधेश कुमार सिंहले मेरो पक्षका नाउँमा रहेको सम्पत्ति पैतृक रुपमा कतैबाट आएको देखिँदैन भिन्न भएको कारणले नै विपक्षीबाट राजीनामा कारोवार भएको हो वादी स्वयंको साक्षिको भनाईबाट नै मेरो पक्ष र विपक्षी वीच पच्चिस वर्ष अघि छुट्टि भिन्न भएको तथ्य स्थापित भएको छ । यस्तो स्थितिमा मेरो पक्षले वादीलाई अंश दिनु पर्ने अवस्था आउँदैन भनि प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनियो ।

१४. माथि विवेचित बहस जिकिर एवं पुनरावेदन सहितका मिसिल कागजातहरु अध्ययन गराई प्रतिवादी बटोहीका नाउँको सम्पत्तिबाट वादीले अंश नपाउने र अर्का प्रतिवादी मटेलुको सम्पत्तिबाट ४ खण्डको एक खण्ड अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत, बुटबलको फैसला मिले नमिलेको के रहेछ ? सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

१५. यसमा मूल पुरुष बन्हुका २ छोरामा जेठा विपक्षी प्रतिवादी र कान्छा म फिरादी सुकई चमार हुँ । बाबु आमा पहिलेनै परलोक भै सकेकोले हामी दुई अंशियार मात्र छौं र सवै सम्पत्ति विपक्षीको जिम्मा हुँदा तायदाती फाँटवारी लिई दुई बण्डा लगाई एक बण्डा अंश विपक्षीबाट दिलाई भराई पाउँ भन्ने सुकई चमारको फिराद व्यहोरा भएको देखिन्छ । वादीले पुस्तावारी देखाउँदा आंशिक रुपमा देखाएका छन् । काशीको छोरा औतार र बन्हु हुनु, औतारका छोरा सुखदेव र रघुवीर हुन् । सुखदेवका छोरा मटेलु हुन । बन्हुको छोरा हामी वादी प्रतिवादी हौं । पैतृक सम्पत्ति काशी मरेपछि रघुवीरको नाममा नामसारी भएको छ । पैतृक सम्पत्तिमा अंशवण्डा भएको छैन । मटेलु समेतलाई लोपपारी दिएको दावी झुठ्ठा छ । म प्रतिवादी बाबु बन्नु सुखदेव र रघुवीर २०१५ साल वैशाखमा छुट्टी भिन्न भै मेरा नामको जग्गा उखडाबाट कमाएको निजी आर्जनको र केही जग्गा खरिद समेत गरेको छु । छुट्टी भिन्न भएपछि कमाएको सम्पत्तिमा वादीको अंशहक लाग्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्रर जिकिर भएको देखिन्छ । मृतक काशीका २ भाइ छोरामा औतार र बन्नु हुन् । औतारका २ भाई छोरामा सुखदेव र रघुवीर हुन् । सुखदेवको एकमात्र छोरा म हुँ । मृतक बन्नुका २ भाई छोरामा जेठो प्रतिवादी बटौही र कान्छा वादी सुकई हुन । रघुवीरको मृत्युपछि पैतृक सम्पत्ति आधा मेरो नाममा र आधा बटोहीको नाममा छ । रघुवीरको हक खाने कोही पनि छैन । यी वादी प्रतिवादी हरेक अरु अंशियार छैनन । बटोहीले उखडाबाट पाएको जगगा सगोलमै छँदा सवैले मिली गराइएको हो निजी आर्जनको नहुँदा वादीले प्रतिवादीबाट अंश पाउनुपर्ने हो भन्ने समेत व्यहोराको पेटवोलीबाट बुझिएका मटेलु चमारले रुपन्देही जिल्ला अदालतमा गरेको बयान कागजबाट देखिन्छ । माथि उल्लेख गरिए बमाजिमको वादी दावी प्रतिवादी जिकिर र बयान व्यहोरा भएकोमा मटेलुले दिएको तायदातीको सम्पत्तिमा आधा फिरादी सुकईको बाबुको अंश भाग लाग्ने हुँदा सो आधा सम्पत्तिमा सुकई र बटोहीको दुई भाग लाग्ने र बटोही सुकईले दाखिल गरेको तायदातीको सम्पत्ति मध्ये आधा फिरादी सुकईले अंश पाउने ठहर्‍याई रुपन्देही जिल्ला अदालतले गरेको फैसला उपर प्रतिवादीहरुको पुनरावेदन परी प्रतिवादी मटेलु चमारबाट दाखिल भएको तायदाती फाँटवारमिा उल्लेखित सम्पत्तिबाट चार खण्डको एक खण्ड वादीले अंश पाउने गरेको सम्म मनासिव र बटोही चमारबाट आधा अंश भाग पाउने गरेको हदसम्म बदर भै उल्टी हुन ठहर्‍याई पुनरावेदन अदालत, बुटबलबाट फैसला भएको देखिन्छ । सो फैसला उपर वादी सुकई चमारले विपक्षी बटोहीका नाममा रहेको संयुक्त सम्पत्तिलाई एकलौटी निजी आर्जनको ठहर्‍याएको र म मटेलुसंग अंश माग दावी नै नभएको अंश दिलाई दिने ठहर्‍याएको पुनरावेदन अदालत, बुटबलको फैसला त्रुटिपूर्ण छ भन्ने वादी प्रतिवादीको छुट्टाछुट्टै पुनरावेदन जिकिर सम्बन्धमा विचार गरी निर्णय दिनु परेको छ । यसमा मूल पुरुष काशीका नाउँमा रहेको पैतृक सम्पत्रि निजको मृत्युपछि अघुवीरको नाममा आएको देखिएको र रघुवीरको मृत्यु पश्चात सो सम्पत्ति मटेलुले मिति २०३९।९।४ मा मालपोत कार्यालय, रुपन्देहीको निर्णयबाट आफ्नो नाउँमा नामसारी गराएको देखिन्छ । यसरी पैतृक सम्पत्ति मृत्यु पश्चात नामसारी हुँदै गएको अवस्थामा नामसारी गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति अन्य अंशियारहरुले पाउने होइन भन्नु कानून र न्यायसंगत कथन भन्न मिलेन । तसर्थः काशी, रघुवीर त्यस पश्चात मटेलुका नाममा नामसारी गराएको तायदाती फाँटवारीमा उल्लेखित पैतृकसम्पत्तिलाई दुई भाग लगाई एक भाग मटेलुको र वाँकी एक भागलाई पुनः दुई भाग लगाई त्यसमध्येको एकभाग वादी सुकईले पाउने ठहर्छ मेरो निजी आर्जनको हो वादीले अंश खाई पाइसकेको छ भनी तथ्ययुक्त प्रमाण प्रतिवादी बटोहीले देखाउन नसकेको अवस्थामा वादी प्रतिवादीबाट पेश हुन आएको तायदातीमा उल्लेखित सम्पत्ति वण्डा नलाग्ने भन्न मिलेन । तसर्थः वादी सुकई र प्रतिवादी बटोहीले पेश दाखिल गरेको तायदाति फाँटवारीमा उल्लेखित सम्पत्तिबाट समेत वादी सुकईले आधा पाउने ठहर्छ । बटोही चमारबाट समेत आधा अंश भाग वादीले पाउने ठहर्‍याएका शुरु रुपन्देही जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत, बुटबलको फैसला सो हदसम्म नमिली केही उल्टी हुन्छ । प्रतिवादी मटेलु चमारको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसिल बमाजिम गर्नु ।

 

तपसिल

माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरी फैसला भएकोले पुनरावेदन अदालत, बुटबलको मिति २०५१।३।२० को फैसलाको तपसिल नं. ५ ले कायम गरेको लगत कायम नरहने हुँदा सो लगत कट्टा गरी वादी सुकई तथा प्रतिवादी बटोहीबाट दाखिल भएको तायदाती फाँटवारी मध्येबाट कानून बमोजिम सुकईलाई आधी अंश छुट्याई दिनु भनि शुरु रुपन्देही जिल्ला अदालतमा लेखि पठाई दिनु ......... १

माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरी फैसला भएकोले वादीले प्रतिवादी बटोही चमारबाट भराई पाउने ठहरेको शुरु कोर्ट फि रु १३७।४० प्रतिवादीले पुनरावेदन अदालत बुटबलमा पुनरावेदन गर्दा मिति २०४६।७।२१ मा धरौटी राखेको देखिँदा उक्त कोटफि भराई, पाउँ भनि वादीको कानूनका म्याद भित्र दरखास्त परेमा सो धरौटी रकमबाट कानून बमाजिम भराई दिनु भनि शुरु रुपन्देही जिल्ला अदालतमा लेखि पठाई दिनु ......... २

मिसिल नियमानुसार गरी बुझाई दिनु ........... ३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. मोहनप्रसाद शर्मा

 

इति सम्बत् २०५४ साल मंसीर ४ गते रोज ४ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु