शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५६९ - हकसफा ।

भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक:

निर्णय नं. ६५६९           ने.का.प. २०५५            अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल

माननीय न्यायाधीश श्री टोप बहादुर सिंह

सम्बत् २०५२ सालको दे.पु.नं. ३०४१

फैसला मिति : २०५४।६।७।३

 

मुद्दा : हकसफा ।

निवेदक/वादी : टिकाराम वास्तोलाको छोरा कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने हरिकृष्ण वास्ताला ।

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ. पोखरा उपमहानगरपालिका वडा नं. ९ महेन्द्रपुल बस्ने जगतमान माकाजु ।

§  अदालतबाट भै आएको नक्सा मुचुल्का हेर्दा वादीको न.नं. ७ को जग्गाको उत्तरतर्फ न.नं. १ को सडक र नं. २ को कुलो देखिन्छ भने दक्षिणतर्फ पनि न.नं. ५ को कुलो र न.नं. १२ को गोरेटो बाटो देखिन्छ । वादीको जग्गाको दक्षिणतर्फ न.नं. १३ को पियान र न.नं. १६ को कुलो समेतले वादीको न.नं. ७ को जग्गालाई छोएको देखिँदा न.नं. ४ को कुलोबाट मात्र पानी लगी आफ्नो जग्गा सिचाई गर्नु भन्ने वादीको भनाई तर्कसंगत नदेखिने ।

(प्र. नं. ११)

§  लेनदेन व्यवहारको ११ नं. अनुसार सन्धीसर्पन पर्ने हकवालाले मात्र निखनी लिन पाउने कानूनी व्यवस्था देखिन्छ । जग्गाको साँध मिल्दैमा सन्धिसर्पन पर्ने होइन । सन्धिसर्पन पर्नलाई वादीले हकसफा नगरेका अवस्थामा वादीलाई कुलो, पानी, बाटो, निकास, हावा, घाम, इत्यादि कुराहरुमा अवरोध पुग्ने हुनु पर्ने ।

(प्र. नं. ११)

वादी तर्फवाट : विद्वान अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री यज्ञमूर्ति बञ्जाडे

प्रतिवादी तर्फवाट : विद्वान बरिष्ठ अधिवक्ता श्री कुशुम श्रेष्ठ तथा विद्वान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

अवलम्बित नजिर : x

 

फैसला

न्या. लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत पोखराको मिति २०५०।५।२० मा भएको फैसला उपर चित्त नबुझी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत यस सर्वोच्च अदालतबाट मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२. पिता टिकारामका श्रीमती खिम कुमारी, सीता देवीका छोराहरु म हरिकृष्ण, श्यामकृष्ण, रामकृष्ण, अर्जुन र अशिस समेतबाट अंशियार २०३९।४।६ मा बण्डापत्र रजिष्ट्रेशन गरी छुट्टी भिन्न हुँदा पिता टिकारामका नाममा दर्ता भएको साविक आर्वा गा.प. वड नं. २ को साविक कि.नं. ९५९ बाट कित्ताफोड हुँदा क्रमशः कि.नं. १०४१ रामकृष्ण, कि.नं. १०४२ म हरिकृष्ण कि.नं. १०४३, श्यामकृष्ण कि.नं. १०४४ अर्जुन कि.नं. १०४५ अशीसको बण्डामा परेको जग्गा एउटै कम्पाउण्ड पर्खाल भित्र छ । म हरिकृष्ण पोखारामा नभएको समयमा कान्छो भाई रामकृष्णलाई विपक्षी जगतमानले फकाई रामकृष्ण वास्तोलाको कि.नं. १०४१ को क्षेत्रफल ३० को खेत जग्गा मिति २०४४।१।११ मा रु १,३०,०००। मा राजीनामा रजिष्ट्रेशन गरी लिनु भएछ । सो कुरा मिति २०४४।५।११ मा गतेमा नक्कल सारी थाहा पाएपछि सो जग्गा मलाई संधिसर्पन गर्ने हुँदा हकसफा गराई पाउँ भनि थैली धरौट राखी मालपोत कार्यालयले अदालतमा जानु भनि सुनाएकोले नालेश गर्न आएको छु । कि.नं.१०४१ को मुहानबाट कि.नं. १०४२, १०४३, १०४४ र १०४५ सम्मका खेतमा सिचाई हुन्छ अन्य ठाउँमा खेत भन्दा कुलो गहिरो भएकोले पानी जादैन । हल गोरु लैजादा कि.नं. १०४१ को खतेबाट लैजानु पर्दछ । उक्त जग्गा मलाई सन्धिसर्पन पर्ने हुँदा सबूत प्रमाण बुझी विपषी जगतमान माकाजुले मिति २०४४।१।११ मा राजिनामा गरी लिएको कि.नं. १०४१ को जग्गा सन्धीसर्पन कायम गरी हकसफा गराई पाउँ भन्ने समेत हरिकृष्ण वास्तोलाको फिराद पत्र।

३. विपक्षीलाई मैले राजीनामा लिएको जग्गा कुनै प्रकारको संन्धिसर्पन पर्दैन । विपक्षीले आफ्नो जग्गा भोगचलन गर्न म बाट कुनै अबरोध पर्दैन मैले राजीनामा लिएको कि.नं १०४१ को जग्गा विपक्षीको कि.नं. १०४२ को जग्गा पश्चिम पूर्वमा अवस्थित छ । साधसम्म जोडिए पनि उत्तर दक्षिण पुरारुपले खुल्ला छ । विपक्षीको र मेरो जग्गाको उत्तरतर्फ पूर्व पश्चिम वगेको ठूलो कुलो र मोटर सडक छ भन्ने दक्षिणतर्फ पनि सानो कुलो शहर बाटो छ विपक्षीका जग्गामा कुनै तर्फ सिंचाई पर्ने दुइवटा साना ठूला कुला हुँदा हुँदै दोहोरो निकाश भएको जग्गावालले सम्बन्धै नपर्ने मेरो जग्गा सन्धिसर्पन पर्छ भनि पूर्वाग्रह राखी बाबु छोरा मिली मेरा उपर दावी गरेको मात्र हो । सन्धिसर्पन पर्दैन । नक्सा समेत गरी विपक्षी दावाबाट फुर्सन गरी पाउँ भन्ने समेत व्यहोराको जगतमान माकाजुको प्रतिउत्तर पत्र ।

४. वादी प्रतिवादीका साक्षीहरुको बकपत्र भएको साथै मिति २०४९।८।११ मा जिल्ला डोरबाट भई आएको नक्सा मुचुल्का समेत मिसिल सामेल रहेछ ।

५. न.नं. ७ को वादीको जग्गाले प्रतिवादीले राजीनामा लिएको कि.नं. १०४१ को म.न. १७ को जग्गा पश्चिम साँधसम्म जोडिएको देखियो न.नं. ७ को उत्तरतर्फको कुलोसडक र दक्षिणतर्फको न.नं. ५ को कुलोबाट स्वतन्त्र रुपमा वादीले आफ्नो जग्गामा आवत जावत गर्न कुनै वाधा पुगेको देखिन आउँदैन । यस्तो खुल्ला वाटो खेतीको लागि सं गोरु लैजान ल्याउन र खेतीको लागि न.नं. १३ को र न.नं. १६ को कुलोबाट पानी जाने देखिँदै देखिँदै न.नं. ४ को कुलोबाट मात्र खेतिको लागि पानी पटनी गर्नुपर्ने भन्ने वादीको भनाईसंग सहमत हुन सकिएन र साँध जोडिएको कारणबाट मात्र सन्धिसर्पन पर्ने भन्न नमिल्ने भनि श्री सर्वोच्च अदालतबाट सिद्धान्त प्रतिपादी समेत भएको देखिँदा विवादको जग्गाको नक्सा प्रकृतिबाट पश्चिम साँध जोडिएकै आधारमा अन्य उत्तर दक्षिणतर्फ खुल्ला कुलो बाटोको साँध रहे भएको वादीले कि.नं. १०४१ को जग्गा सन्धीसर्पन पर्छ भन्ने जिकिर पुग्न सक्दैन । सन्धीसर्पन पर्ने नदेखिएबाट हकसफा गरी पाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति २०४९।९।१९ गतेको फैसला ।

६. सधियार भएको कारणले आफ्नो जग्गाको उत्तर र दक्षिण दुवैतिर न.नं. २ र ५ को कुलो र बाटो समेत हुँदाहुँदै अन्य न.नं. ४ को कुलो बाटै पानी चाहिने र आफूलाई पायक पर्ने भनी देखाई कि.नं. १०४१ को जग्गा सन्धीसर्पन पर्ने भन्ने जिकिर कानूनसंगत भन्न मिल्दैन यस्तो अवस्थामा नक्सा मुचुल्का समेतको आधार प्रमाणबाट वादीको हक दर्ताको कि.नं. १०४२ को जग्गालाई कुलो पानी र वाटो स्वतन्त्र रुपले उपलब्ध भइरहेकै हुँदा दावीको कि.नं. १०४१ को जग्गा सन्धिसर्पन पर्ने भन्न नमिल्ने हुँदा हकसफा गरी पाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको कास्की जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पोखराको २०५०।५।२१ गतेको फैसला । 

७. हावा, घाम, पानी र निकासमा कुनै प्रतिकूल असर पर्नु वा परम्परागत रुपमा भोगी आएको अचल सम्पत्तिको उपभोगमा कुनै किसिमको प्रतिकूल असर पर्नु नै सन्धिसर्पन पर्नु हो । प्रस्तुत विवादको कि.नं. १०४१ बाट मात्र मेरो कि.नं. १०४२ को खेत जग्गामा पानी जाने र एकै चकलाको आँठो किल्ला समेत नछुट्टिएको साझामा गोश्वाराबाट उपभोग गर्दै आएको खेत जग्गा भएकोले कि.नं. १०४१ को जग्गा निश्चितरुपमा मलाई सन्धिसर्पन पर्दछ । मुलुकी ऐन लेनदेन व्यहारको ११ नं. मा सन्धि सर्पन पर्ने हकवालाले निखनी लिन पाउने प्रावधान गरेको छ म कि.नं. १०४१ को जग्गा विक्री गर्ने रामकृष्ण वास्तोलाको सख्यात दाजु भाई कहवाला भएको तथ्य निर्विवाद छ कि.नं. १०४१ को जग्गा मेरो कि.नं. १०४२ को खेतलाई सन्धिसर्पन पर्ने तथ्य पनि पुष्टि भएको अवस्थामा हकसफा गर्न नपाउने गरी गरेको निर्णयमा लेनदेन व्यवहारको ११ नं. को व्याख्यात्मक त्रुटि भएको छ । तसर्थ पुनरावेदन अदालत, पोखराबाट कानूनको व्याख्यामा गम्भीर त्रुटी गरी श्री सर्वोच्च अदालतबाट प्रतिपादित नजिरको पालन नगरी फैसला भएकोले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को देहाय (क) र (ख) को अवस्था विद्यमान हुँदा मुद्दा दाहोर्‍याई हेरीपाउँ भन्ने समेत व्यहोराको हरिकृष्ण वास्तोलाको यस सर्वोच्च अदालतमा पेश भएको निवेदन पत्र ।

८. यसमा खेत र कुलाको प्रकृतिबाट दक्षिण न.नं. ५ मा कुलो देखिएपनि सो को उत्रर परखाल देखिँदा सो बाट पनि पानी सिचाई हुन नसक्ने र न.नं. ४ को कुलोबाट मात्र पानी सिचाई हुन सक्ने भई सा कुलोबाट न.नं. १७ कि.नं. १०४१ को जग्गा भएर मात्र कि.नं. १०४२ न.नं. ७ मा सिचाई हुन सक्ने हुँदा हकसफा गरी पाउँ भन्ने वादीदावी नपुग्ने ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, पोखराको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) र ने.का.प. २०४३ पाना ९०५ नि.नं. २८५३ को त्रुटी देखिएकोले दोहोर्‍याउने निस्सा दिएको छ । विपक्षी झिकाई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको आदेश ।

९. नियमबमोजिम पेशी सूचीमा चढी निर्णयार्थ इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले विवादित कि.नं. १०४१ लगायतका जग्गाहरु साविक एउटै ९५९ बाट कित्ताकाट भएको र सवै जग्गाहरु एउट परखालभित्र रहेको र नं. ४ को कुलोबाट पानी आउने मुहानको जग्गा विक्री गरेको अवस्था हुँदा हक सफा गर्न पाउनु पर्छ वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत पोखराको फैसलान बदर गरी वादी दावी बमोजिम गरी पाउँ भनि वहस जिकिर प्रस्तुत गर्नु भयो । पुनरावेदक वादीतर्फ कै विद्वान अधिवक्ता श्री यज्ञमूर्ति बंजाडेले मेरो पक्षको खेतमा न.नं. ४ को कुलोबाटै पानी आउँछ न.नं. ३ को कुलो गहिरिएको हुँदा पानी आउने अवस्था नहुँदा फिराद दावीबमोजिम हुनुपर्छ भनि तथा विपक्षी प्रतिवादीतर्फबाट उपस्थित विद्वान बरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ तथा मुकुन्द रेग्मीले वादीको जग्गाको उत्तरतर्फ कुलो तथा बाटो र दक्षिण तर्फ पनि कुलो र बाटो भई दोहरो निकास भएको हुँदा सन्धिसर्पन पर्ने अवस्था पर्दैन शुरु तथा पुनरावेदन अदालत, पोखराको फैसला कायम राखी पाउँ भनि आफ्नो बहस जिकिर प्रस्तुत गर्नुभयो ।

१०. पुनरावेदक वादी तथा प्रतिवादीतर्फबाट उपस्थित विद्वान अधिवक्ता तथा बरिष्ठ अधिवक्ताले गर्नु भएको बहस जिकिर सुनि निर्णयतर्फ विचार गर्दा यसमा हक सफा गरी पाउ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु इन्साफ सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेको छ छैन भन्ने कुराको निर्णय दिनुपर्ने देखियो ।

११. यसमा २०३९ सालामा वादी हरिकृष्ण वास्तोला बीच अंश बण्डा भई साविक कि.नं. ९५९ कित्ताबाट भई विभिन्न कित्ताहरु कायम भएको र वादीको अंश हकमा कि.नं. १०४२ र प्रतिवादीका कि.नं. १०४१ परेकोमा प्रतिवादी रामकृष्णको भागमा परेको कि.नं. १०४१ को जग्गा निजले प्रतिवादी जगतमान माकाजुलाई विक्री गरेकोले आफ्नो सन्धिसर्पन परेको हुँदा हकसफा गरी पाउँ भन्ने वादीको मुख्य दावी रहेको देखिन्छ । वादी दावी बमोजिम विवादको कि.नं. १०४१ को जग्गा वादीलाई सन्धिसर्पन पर्ने जग्गा हो होइन भन्ने सम्बन्धमा विचार गर्दा वादीको कि.नं. १०४२ को जग्गा र प्रतिवादी रामकृष्णले विक्री गरेको १०४१ को जग्गाको साँध जोडिएको र एउटै साविक कि.नं. ९५९ बाट कित्ता फोड भई हालका कित्ता नम्बरहरु कायम भएको कुरामा विवाद देखिँदैन । अदालतबाट भै आएको नक्सा मुचुल्का हेर्दा वादीको न.नं. ७ को जग्गाको उत्तरतर्फ न.नं. १ को सडक र नं. २ को कुलो देखिन्छ भने दक्षिणतर्फ पनि न.नं. ५ को कुलो र न.नं. १२ को गोरेटो बाटो देखिन्छ । वादीको जग्गाको दक्षिणतर्फ न.नं. १३ को पियान र न.नं. १६ को कुलो समेतले वादीको न.नं. ७ को जग्गालाई छोएको देखिँदा न.नं. ४ को कुलोबाट मात्र पानी लगी आफ्नो जग्गा सिचाई गर्नु भन्ने वादीको भनाई तर्कसंगत देखिँदैन । वादी तथा प्रतिवादी रामकृष्णका अरु भाईहरुको नाममा रहेको न.नं. ८, ९ र १० को उत्तर तर्फ न.नं. २ को कुलोले छोएको तर दक्षिणतर्फ न.नं.५ को कुलो ले नछोएको अवस्थामा पनि हक सफा तर्फ उनीहरुको फिराद परेको समेत देखिँदैन । लेनदेन व्यवहारको ११ नं. अनुसार सन्धीसर्पन पर्ने हकवालाले मात्र निखनी लिन पाउने कानूनी व्यवस्था देखिन्छ । जग्गाको साँध मिल्दैमा सन्धिसर्पन पर्ने होइन । सन्धिसर्पन पर्नलाई वादीले हकसफा नगरेका अवस्थामा वादीलाई कुलो, पानी, बाटो, निकास, हावा, घाम, इत्यादि कुराहरुमा अवरोध पुग्ने हुनु पर्छ । प्रस्तुत मुद्दामा उल्लेखित नक्सा मुचुल्काबाट वादीको जग्गाको दुवैतिर कुलो र बाटो देखिएको र जग्गाको प्रकृतिबाट समेत सन्धिसर्पन पर्ने नदेखिई वादीले आफ्नो जग्गा स्वतन्त्र रुपले उपभोग गर्न सक्ने देखिँदा हकसफा गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु कास्की जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत, पोखराको इन्साफ मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. टोप बहादुर सिंह

 

इति सम्बत् २०५४ साल असोज ७ रोज ३ शुभम् ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु