निर्णय नं. ६५७० - जालसाजी

निर्णय नं. ६५७० ने.का.प. २०५५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
सम्बत् २०५१ सालको फौ.पु.नं. ११२१
फैसला मिति : २०५४।९।१५।३
मुद्दा : जालसाजी ।
पुनरावेदक/वादी : जि. महोत्तरी खैरबन्नी गा.वि.स. वार्ड नं. ५ बस्ने राम लखन राय यादव
विरुद्ध
प्रत्यर्थी/प्रतिवादी : ऐ.ऐ. बस्ने राजेश्वर राय यादव ।
§ विवादास्पद लिखतको कानूनी अस्तित्व नै नभएको स्थितिमा प्रतिवादीले जालसाजी गरी २०४०।५।६ मा विवादित जग्गामा राजिनामा राजिष्ट्रेशन गरे गराए भनि मान्न सकिने अवस्था नदेखिँदा पुनरावेदन अदालत जनकपुरले फैसलामा लिएका आधारहरुबाट वादी दावी पुग्न नसक्ने ।
(प्र.नं. १७)
पुनरावेदक तर्फबाट : x
प्रतिवादी तर्फबाट : x
अवलम्बित नजिर : x
फैसला
न्या. श्री भैरवप्रसाद लम्साल : पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादी तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।
२. प्रतिवादी मध्येका चुल्हाई महतोको बाजे भिखारी महतो संग मैले खरीद गरी लिएको जग्गाका सबुद प्रमाण म संग हुँदा हुँदै पनि मेरो हक भोगको जग्गालाई सडक देखि दक्षिण रास्ता सो पश्चिम लालदेव रहमान सो उत्तर नेवी नुनीया सो पूर्व प्रतिवादी प्रधानपन्च जवाहरलालले सिफारिश गरी चुल्हाई महतो, ऋणी रामेश्वर राय धनी वनी रु ५०००। को अंश देखार्य जालसाजी राजिनामाको लिखत २०४०।५।६।२ मा खडा गरी मालपोत कार्यालयबाट २०४०।५।८।४ मा पास गराएकोले सजाय गरी पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।
३. प्रतिवादी चुल्हाई महतोको घर हुनाले सिफारिश गरी दिएको छु वादीले मलाई सताउने प्रयासले झुठा दावि लिएका हुन भन्ने प्र. जवाहरको, प्रतिउत्तर पत्र ।
४. मिति २०२७।२।२९ का दिन कि.नं. ९०९ को ०–१–१० रु. ९५ मा खरीद गरेको थिए भन्ने वादी भएकोमा २०२५ सालमा भिखारी परलोक भै सक्नु भएकोले वादीलाई रामलखनले लिखत गरी दिने प्रश्न आएन भन्ने समेत व्यहोराको अन्य प्रतिवादीहरुको प्रतिउत्तर पत्र ।
५. प्र. चुल्हाई महतोले शुरु म्यादै गुजारी बसेका अरु नै द्वारा गराई लिएको खितको आधारमा पटवारीद्वारा नामसारी गराई तिरो तिरेकै भएपनि विवादित जग्गामा वादीको हक स्थापना हुन नसकने हुँदा खारेज हुने ठहर्छ भन्ने समेत व्यहोराको म.जि.अ. को २०४३।१०।८।३ को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादी रामलखन राय यादवको तत्कालिन जनकपुर अंचल अदालतमा परेको पुनरावेदन ।
७. जालसाजी मुद्दामा भए पनि जग्गाको हक वेहक तर्फ वयान गराई विगो खुलाई कोर्टफि दाखिल गराई जग्गातर्फ समेत निर्णय गर्नुपर्नेमा सो नगरी खारेज गरेको मिलेन पुनः निर्णय गर्नु भन्ने २०५४।३।९।५ को फैसला ।
८. विवादित जग्गा भिखारीको जाउँमा दर्ता रहेको साविक कि.नं. ९०९ को ०–१–१० जग्गा २०२७।२।१९ मा भिखारी महतोसंग वादीले खरिद गरी लिएको जग्गा हो उक्त जग्गा मध्ये ०–०–१८–८ जग्गामा घर समेत बनाई भोग गर्दै आएको छु भन्ने समेत व्यहोराको वादी वारेस सत्यनारायण साहको हक बेहक तर्फ वयान ।
९. वादीले विवाद देखाएको जग्गा साविक कि.नं. ९०९ को नेवी सो पूर्व लालदेव रहमान सो उत्तर गोरेटो वाटो देखि पश्चिम मोल रु १०,०००। पर्ने ०–१–१० जग्गा मेरो हक भोग को हो उक्त जग्गा चुल्हाई महतोसंग रु ५,०००। मा २०४०।५।८ गते मालपोत कार्यालयबाट पास गराई लिएको जग्गा हो भन्ने समेत व्यहोराको प्र. रामेश्वर यादवको वयान ।
१०. २०२७।२।१९ को भिखारीबाट खरीद गरी लिएको भनिएको लिखतलाई प्रतिवादीले किर्ते भनि जिकिर लिएकोमा भिखारीको मृत्युको निश्चित तिथि खुलाई दावि लिन नसकेको साथै लेखतमा साक्षी श्री कृष्ण समेतको बयान आधारलाई खण्डन गर्दा आफ्नो लिखतको दाताको बाबु छँदा लिएको सन्दर्भलाई खुलाउन नसकेको देखिन्छ । किर्ते तर्फ लिखतको सहिछाप स्पष्ट नभएको भन्ने तर्फ विशेषज्ञको राय समेत भएकोले कानूनी मान्यता विहिनको लेखत देखिँदा किर्ते जालसाजी तर्फ केही वोली रहनु परेन । जग्गामा वादीको भोग देखिनाले र घर उठाई दर्ता बदर समेतमा प्रतिवादीको जिकिर नहुँदा वादीको हक कायम हुने ठहर्छ । सो ठहर्नाले प्रतिवादीको २०४०।५।८ को लिखतमा चार किल्ला लेख्दा वादीको घर जग्गा समेत पर्ने गरी ४ किल्ला उल्लेख गरेको सम्म दिने चुल्हाई लिने प्र. रामेश्वरले जालसाजी गरेको ठहर्छ अन्य प्रतिवादीहरु उपर वादी दावी पुग्न सक्तैन भन्ने मिति २०५०।२।५।३ को म.जि.अ. को फैसला ।
११. मेरो लेखत जालसाजी ठहर्याउनु भन्दा पूर्व वादीको लेखतलाई सद्दे नठहर्याई मेरो रजिष्ट्रेशन जालसाजी हुन सक्तैन जिल्ला अदालतले वादीको लेखतलाई कानूनी मान्यता विहिनको देखाई लेखतलाई सवै किर्ते समेत केही ठहर नगरी कानून विपरीतको फैसला हुँदा बदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
१२. यसैसंग सम्बन्धीत दे.पु.नं. ८०७ को मिलापत्र बदर मुद्दामा विपक्षी झिकाउने आदेश भएको हुँदा यसमा छलफलका निमित्त अ.बं २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने २०५०।११।२४।३ को पुनरावेदन अदालत जनकपुरको आदेश ।
१३. २०२७।२।१९ को लिखतको कानूनी अस्तित्व नरहेको अवस्थामा सो लिखतका आधारमा राजिनामा रजिष्ट्रेशन पारित गरी लिएको चार किल्ला क्षेत्रफलमा समेत विवाद नभएको जग्गालाई जालसाजी भन्न सक्ने अवस्था र जालसाजीका आधारमा समेत वादीले उल्लेख गर्न सकेको नदेखिँदा वादी दावी पुग्न नसक्ने ठहर्छ । शुरुको इन्साफ उल्टी हुन्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको मिति २०५१।२।१६ को फैसला ।
१४. रेखा विशेषज्ञका राय अनुसार मेरो लेखत कानूनी अस्तित्व समाप्त भएपनि दाखिल दर्ता गराई मालपोट तिरेको रसिद दर्ताको कानूनी अस्थित्व समाप्त भएको भन्न सकेको छैन विवादित जग्गामा मेरो हक भोग नभएको भए हक बेहक तर्फ निर्णय गर्नु भनि अंचल अदालतबाट भएको फैसलालाई प्रतिवादीले बदर गराउन सक्नु भएको छैन । सदर रहेको अंचल अदालतकौ फैसलाको आधारमा भएको हक बेहकको कारवाहीलाई कानूनी अस्तित्व समाप्त भएको भनि पुनरावेदन अदालतबाट ठहराउन नमिल्ने भनि पुनरावेदन अदालतबाटै भएको फैसला न्यायोचित नहुँदा बदर गरी वादी दावी मनासिव ठहराई पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा दायर वादीको पुनरावेदन पत्र ।
१५. नियमबमोजिम पेश भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा प्रतिवादी प्रधानपञ्च जवाहर रायले सिफारिश गरेको आधारमा २०२७।२।१९ मा मैले भिखारी महतोबाट दाताका नाती किपुण महतो साक्षी वसी रु ९५। मा खरीद गरी लिएको विवादित जग्गा चुल्हाई महतो ऋणी रामेश्वर राय धनी भै थैली रु ५०००। देखाई रजिष्ट्रेशन पास गरी जालसाजी गरे गराएको भन्ने समेत वादी दावी देखिन्छ । प्रतिवादी जवाहर रायको प्रतिउत्तरमा चुल्हाई महतोको घर भएको हुनाले सिफारिश गरेको भन्ने व्यहोरा परेको र अन्य प्रतिवादीहरु रामेश्वर राय समेतको संयुक्त प्रतिउत्तरमा वादीले २०२७ सालमा खरीद गरी लिएको भनेको जग्गा २०२५ सालमै दाता भनिएको भिखारी महतोको मृत्यु भै सकेकोले २०२७।२।१९ मा घरसारको लिखत गरी वादी राम लखन राय यादवलाई दिएको भन्ने झुठ्ठा हो भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । विवादित २०२७।२।१९ को लिखत अ.वं. ७८ नं. बमोजिम सुनाउँदा प्रतिवादीका वारेस कृष्णदेव लालले २०४१।१।२५ मा अदालतमा वयान गरी विवादित भएको माथि लिखितम तिर र तल मिति पुच्छारमा भएको कारणीको ल्याप्चे सहिछाप निज भिखारीको होइन किर्ते सहिछाप हो लिखत हुनु भन्दा दुई वर्ष पहिले नै भिखारी परलोक भएको भनि उल्लेख गरेको र प्रतिवादीले राजेश्वर राय यादवले पनि वयानमा सोही व्यहोरा उल्लेख गर्दै भिखारी महतो २०२४।०२५ सालतिर नै मरी सकेको भन्ने उल्लेख गरेको देखिन्छ ।
१६. २०२७।२।१९ को लिखतमा लागेको ऋणीको ल्याप्चे छापको जात तथा रेखाका गुणहरु प्रष्ट नभएको २०२२।३।३१ को पारित राजिनामाको ऋणीको ल्याप्चे छापहरुसंग २०२७।२।१९ को लिखत भिडाउँदा शंख चक्र आकृति आपसमा फरक भै नमिलेको भन्ने समेत व्यहोरा रखो तथा लेखा विशेषज्ञको २०४२।४।३० को राय प्राप्त भै मिसिल सामेल रहेको देखिन्छ । भिखारी महतोले अनुरुप चौधरीलाई २०२२।३।४ मा गरी दिएको लिखतमा भएको ल्याप्चे सहिछापसंग २०२७।२।१९ को मिति भएको विवादित लिखतमा भएको भिखारीको ल्याप्चे सहिछाप भिडाउँदा आपसमा फरक भै नभिडेको भन्ने विशेषज्ञको उल्लेखित राय भै रहेको अवस्थामा त्यस्तो २०२७।१।१९ को सद्दे साँचो व्यहोराको लिखत रहेछ भनी मान्न सकिँदैन ।
१७. यसरी विवादास्पद लिखतको कानूनी अस्तित्व नै नभएको स्थितिमा प्रतिवादीले जालसाजी गरी २०४०।५।६ मा विवादित जग्गामा राजिनामा राजिष्ट्रेशन गरे गराए भनि मान्न सकिने अवस्था नदेखिँदा पुनरावेदन अदालत जनकपुरले फैसलामा लिएका आधारहरुबाट वादी दावी पुग्न नसक्ने ठहराएको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति सम्बत् २०५४ साल पौष १५ गते रोज ३ शुभम् ।