शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५७१ - सवारी ज्यान

भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक:

निर्णय नं. ६५७१          ने.का.प. २०५५            अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य

सम्बत २०५२ सालको फौ.पु.नं. १४६९।१४६८

फैसला मिति : २०५५।४।२१।५

 

मुद्दा : सवारी ज्यान ।

पुनरावेदक/प्रतिवादी : सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने लोक बहादुर रावल

विरुद्ध

विपक्षी/वादी : विनोद कुमारको जाहेरीले श्री ५ को सरकार

 

पुनरावेदक/प्रतिवादी : सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका वडा नं. ११ बस्ने भक्त बहादुर पल्ली थापा मगर

विरुद्ध

विपक्षी/वादी : विनोद कुमारको जाहेरीले श्री ५ को सरकार

 

§  प्रतिवादी मध्येका भक्त बहादुर पल्लीलाई शुरु सुर्खेत जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (२) बमोजिम २ वर्ष कैद हुने ठहर्‍याई गरेको फैसला उपर निजले पुनरावेदन गरेको देखिँदैन । दण्ड सजायको ११ क. बमोजिम कैदको सट्टा रकम बुझाएमा कैदको लगत कट्ट हुने गरेको शुरुको फैसला खण्ड पुनरावेदन अदालतले कानून विपरित भनि बदर गरेको सम्बन्धमा पर्न आएको निज प्रतिवादी भक्त बहादुर पल्लीको पुनरावेदन पत्रको सम्बन्धमा विचार गर्दा उल्लेखित ऐनको दफा १६१ को उपदफा २ मा उल्लेखित कसुरमा २ वर्ष देखि १० वर्षसमम कैद सजाय हुन सक्ने व्यवस्था देखिन्छ । दण्ड सजायको ११ क को व्यवस्था ३ वर्ष भन्दा कम कैदको सजाय हुने कसुरको सम्बन्धमा मात्र आकर्षित हुन सक्ने भएकोले उक्त ऐनको दफा १६१(२) बमोजिमको सजाय हुने कसुरमा आकर्षित हुने अवस्था नदेखिँदा पुनरावेदन अदालत सुर्खेतले यि प्रतिवादी भक्त बहादुरको हकमा गरेको निर्णयलाई अन्यथा भन्न नमिल्ने ।

(प्र.नं. २३)

 

पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री गौ बहादुर आले

प्रतिवादी तर्फबाट : अधिवक्ता श्री शिवराज अधिकारी

अवलम्बित नजिर : x

 

फैसला

न्या. श्री कृष्णजंग रायमाझी : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।

२. मिति २०५० साल वैशाख ३० गते बेलुका अं. ५ बजेको समयमा भक्त बहादुर पल्ली भे.अ.प. ६४० नं. को मोटरसाईकलमा अगाडि र लोक बहादुर रावल भे.अ.प. ६६३ को मोटर साईकलमा पछि पछि हुँदै अत्याधिक मादक पदार्थ सेवन गरि प्रति घण्टा ७०/८० कि.मि. को वेगमा मोटर साइकल चलाई बजारको मेन लाइनमा मानिसहरुको भिडमा वास्ता नगरी एकदम लापरवाहीसंग आफ्नो साइडमा डिढिरहेको मेरो भाई जनक बहादुरलाई शरिरको पछाडि भागमा ठक्कर दिई लडाई पछाडि आइरहेको लोक बहादुरको मोटर साइकलले लडिरहेको भाइको शरिरको अगाडिको भागबाट कुल्चदै पल्टिएकोले भाईको सुर्खेत अस्पतामा उपचार हुन नसकी भारत तर्फ लगेकोमा भारतको लखनाउ मेडिकल कलेजमा उपचार हुँदाहुँदै मृत्यु भएकोले चालकहरुलाई पक्राउ गरि कानून बमोजिम गरि पाउँ भन्ने विनोद कुमार शाहको जाहेरी दरखास्त ।

३. सुर्खेत विरेन्द्रनगर न.पा. वडा नं. ६ स्थित पूर्व हुलाक घर, पश्चिम विष्ट होटल, दक्षिण विरेन्द्रचोक, उत्तर प्याकुरेल खाद्य भण्डार यति चार किल्ला भित्र रहेको मुल सडकमा चालकले विरेन्द्रचोकबाट चलाई लिई गणेश चोक तिर लाग्दाको अवस्था सडकको वायाँ भाग ४ मिटर ६५ से.मि. र दाहिने तर्फको भाग २ मिटर २४ से.मि. भएको सो को बीच भागमा १ मिटर गोलाई भएको ठाउँमा सडकमा धुलो माटोमा रगत भएको नजिक भे.अ.प. ६४० नं. को मोटर साइकल रहेको र सो ठाउँ देखि ७ (सात) मिटर उत्तर तर्फ भे.अ.प. ६६३ नं. को मोटरसाइकल रहेको देखिएको भन्ने मिति २०५०।१।३० गतेको घटनास्थल प्रकृति विवरण ।

४. सुर्खेत अस्पतालको कम्पाउण्ड भित्र मुर्दा घरमा रहेको मृतक जनक बहादुर शाहको उत्तर टाउँको माथिल्लो भागमा दायाँ वायाँ दुवै तर्फ ठूलो घाउचोट लागि टाँका लागेको विच कपालको भागमा चोट लागेको चार ओटा टाँका भएको घाउ नाक मुखबाट रगत आएको बायाँ गालामा चोट लागेको, वायाँ कानमा चोट लागेको रगताम्मे भएको, दाहिने हात तन्काएको, सोही हातको नाडिको बीच भागमा चोट लागेको हात खुम्चाएर नाइटोमा राखेको हातको हत्केलामा साना साना दाग जस्ता चोट लागेको, हत्केला सुनिएको, खुट्टा दुवै तन्काएको, हरियो प्लाष्टिकको कागजमा सुताएको सेतो कपडाले ढाकेको लास खोली हेर्दा उक्त मृतकको पेट देखि घाँटी सम्म ३२ वटा टाँका लगाएको उक्त लास फर्काइ हेर्दा लिंगबाट कुनै पदार्थ ननिस्केको मलद्वारबाट दिसा निस्कीएको मृत जनक बहादुर शाहको लास प्रकृति विवरण ।

५. भक्त वहादुर पल्लीले चलाएको मोटर साइकलले जनक बहादुर शाहलाई ठक्कर दिएको हो सोही ठक्करबाट मृतक जनक बहादुर शाह वाँयातिर लडे चालक भक्त वहादुर पनि दायाँतिर उतानो परि लडी व्यहोस भै लडेको थिए मृतक जनक बहादुर शाहीलाई मैले ठक्कर दिई किचेको होइन भक्त बहादुर पल्लीले चलाएको मोटर साइकलले ठक्कर दिई मृत्यु भएको हो भन्ने प्र. लोक बहादुर रावलको बयान कागज ।

६. मृतक जनक बहादुर शाहलाई मैले चलाएको भे.अ.प. ६४० नं. को मोटर साइकलबाट जनक बहादुर शाहलाई ठक्कर लागि सोही चोट पिरबाट निजको मृत्यु भएको हो उक्त समयमा हामी दुवै जनाको १।१ बोतल वियर सम्म खाएर मोटर साइकल हाँकेको थियौ । मेरो मोटरसाईकलले जनक शाहलाई ठोकिई सकेपछि म समेत लडे बेहोस भएको हुँदा लोक बहादुरले चलाएको मोटर साइकलले ठोके ठोकेनन थाहा भएन भन्ने प्र. भक्त वहादुर पल्लीको बयान कागज ।

७. मिति ०५०।१।३० गते अ. ५ बजेको समयमा भे.अ.प. ६४० को भक्त बहादुर पल्लीले चलाएको मोटर साइकलले ठक्कर दिई मृतक जनक बहादुर शाही पल्टिएपछि पछाडि लोक बहादुर रावलले चलाएको भे.अ.प. ६६३ नं. को मोटर साइकल पनि घाइते भै पल्टिएका जनक बहादुर शाहको शरिरमा उक्त मोटर साइकलले किची मोटर साइकल पनि केही अगाडि गै पल्टिएपछि घाइते जनक बहादुर शाहलाई उपचारको लागि अस्पताल पुर्‍याइएको र उपचार हुँदाहुँदै मृत्यु भएको भन्ने बुझिएको मानिसहरुको बकाई लेखाई भएको पाइन्छ । अव अभियुक्तहरु भक्त बहादुर पल्ली र लोक वहादुरले के कस्तो कसुर गरेको हो र निजहरुले के कस्तो सजाय हुनु पर्ने हो भनने सम्बन्धमा अभियुक्तहरुले गरेको बयान कागज लगायतका मौका तहकिकातको सिलसिलामा बुझिएका सम्पूर्ण मिसिल हेर्दा ज्यानै मार्ने मनसायले रिसइवी लिई दुवै जना अभियुक्तहरुले चलाएको निजी सवारी मोटर साइकलहरुले मृतक जनक बहादुर शाहलाई ठक्कर दिई किचेको कुरा मिसिल संलग्न सबुद प्रमाणहरुबाट नदेखिएता पनि आफूले मादक पदार्थ सेवन गरि बढी गतिमा लापरवाहीका साथ हाकेको मोटर साइकलबाट कसैको ज्यान मर्न सक्ने ठूलो सम्भावना छ भन्ने कुरा जानी जानीकरन पनि लापरवाही गरी अभियुक्त भक्त बहादुर पल्ली थापा मगरले मृतक जनक बहादुर शाहलाई आफ्नो मोटर साइकलले पहिलो ठक्कर दिई किचेको र त्यसपछि अभियुक्त लोक बहादुर रावलले पनि मोटर साइकलले नै पुनः निज मृतकलाई ठक्कर दिई दुवै जना अभियुक्तहरुले हाकेको मोटर साइकलबाट सवारी दुर्घटना हुन गै सो दुर्घटनामा परेको चोट पटकबाट मृतक जनक बहादुर शाहको मृत्यु हुन गएको र यि अभियुक्तहरुले मृतकलाई मोटर साइकलद्वारा किचि ठक्कर दिई सकेपछि अभियुक्तहरुले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३ मा निर्दिष्ट गरेको कर्तव्य तत्काल पालान गर्नु पर्नेमा सो समेत नगरी यि दुवै जना अभियुक्तहरुले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४२ र १४७ को बर्खिलाप हुने गरी सवारी तथा यातायात व्यवस्था (पहिलो संशोधन) अध्यादेश २०५० को दफा १६१ को देहाय (२) बमोजिमको कसुर गरेको कुरा प्रमाणित हुन आएकोले अभियुक्तहरु भक्त बहादुर पल्ली थापा मगर र अभियुक्त लोक बहादुर रावललाई ऐ. अध्यादेश २०५० को दफा ११६ को देहाय (२) बमोजिम हदैसम्म सजाय गरि माग्नको साथै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(क) को देहाय (२) बमोजिम उपयुक्त दुवै जना अभियुक्तहरुबाट मृतक जनक बहादुर शाहको हकवाला जाहेरवाला विनोद कुमार शाहलाई हदैसम्म किरिया खर्च र क्षतिपूर्तिको रकम समेत भराई दिन हुन अनुरोध छ भन्ने अभियोग पत्रको माग दावी ।

८. मिति ०५०।१।३० गतेका अं. बेलुका ५ बजे विरेन्द्रचोक तिरबाट मैले चलाउने गरेको भे.अ.प. ६४० को मोटर साइकल र प्र. लोक बहादुर रावलले चलाउने गरेको भे.अ.प. ६६३ नं. को मोटर साइकलबाट म अगाडि मेरो पछाडिको भे.अ.प. ६६३ को मोटर साइकल लोक बहादुरले चलाई आइरहेको थियो हुलाक घर देखि अगाडि बाटोमा १ जना जनक वहादुर शाही बाटो क्रस गरी मेरो साइडमा आइ पुगे मैले हरन बजाए त्यो मानिस जनक बहादुर शाही कहिले अगाडि कहिले पछाडि गरि रह्यो । त्यसपछि मैले ब्रेक लगाई दाहिने मोडे निज मृतक जनक बहादुर शाही वाँय साइडमा आफै मेरो मोटर साइकलमा ठोकिन आउन भयो र मेरो मोटर साइकलको वाया हेण्डिलले निज मृतक जनक बहादुर शाहीलाई कम्मरमा ठक्कर लाग्यो त्यसपछि पनि निज साम्नेमा नै लडे म पनि ३।४ मिटर अगाडि गै लडे र सो चोट मेरो मोटर साइकलले लागेको हो त्यसपछि लडि रहेको जनक बहादुरलाई मेरो पछाडि चलाई रहेको १२ मिटर पछाडिको दुरीमा परेको लोक बहादुर रावलको मोटर साइकलले निज जनक बहादुर शाहलाई किच्यो किचेन मलाई थाहा छैन मैले निज मृतक जनक बहादुर शाहलाई बचाउने कोशीश गर्दागर्दै चोट लागि निजको मृत्यु भएको हो लापरवाहीबाट होइन भन्ने प्रतिवादी भक्त बहादुर पल्ली थापा मगरले अदालतमा गरेको बयान ।

९. मिति २०५०।१।३० गते सवा ५ वजे भक्त बहादुर पल्ली र म विरेन्द्र चोकबाट उत्तर जाने बाटो भएर घर जान भनि म भे.अ.प. ६६३ नं. मोटर साइकलमा र भक्त बहादुर पल्ली भे.अ.प. ६४० मो मोटर साइकलमा भक्त बहादुर पल्ली अगाडि र म पछाडि २० फिट जतिको दुरीमा अघिपछि हुँदै विरेन्द्रचोकबाट उत्तरतिर गै रहेको थियो । अचानक मृत जनक बहादुर बाटो बाट क्रस गर्दा भक्त बहादुर पल्ली चढ्ने गरेको मोटर साइकल एमरजेन्सी ब्रेक लगाउने प्रयास गर्दा गर्दै मृतक ठोकिन गै वायाँतर्फ उछिटिनु भयो र ग्रेवल गर्ने ढुंगामा ठोकिन पुगे भक्त वहादुर पल्ली देखि अगाडि दाहिने तर्फ भक्त बहादुरको भे.अ.प. ६४० को मोटरसाइकल दाहिनेतिर पल्टिएको भक्र बहादुर पनि दाहिने आउदै गर्दा अचानक त्यो घटना देखदा इमरजेन्सी ब्रेक लगाउन खतरा भएकोले विचमा केही ग्याव भएकोले बीचबाट अगाडि गई ब्रेक एमरजेन्सी ब्रेक म पनि पल्टिए तर म मोटर साइकलबाट भुइमा खसेन त्यसपछि त्यो घटना देखेर मानिसहरु आए एम्बुलेन्स पनि आयो । प्रहरीहरु पनि आए मृतक र भक्त बहादुर पल्लीलाई गाडीमा लगे मलाई प्रहरी स.इ. ले डि.एस.पि. कार्यालयमा लगे निज मृतक मोटर साइकलमा ठोकिइ उछिटिन गई ग्रेवलमा परि मरेका हुन । हामीहरुले चलाएको मोटर साइकलको रफ्तार अन्दाजी २२।२५ कि.मि. को थियो । मोटर साइकल चलाउँदा हामीहरुले होसियारी साथ चलाएका थियौं । लापरवाही गरी चलाएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी लोक बहादुर रावलले अदालतमा गरेको बयान ।

१०. यसमा जाहेरवाला सर्जमिनका व्यक्तिलाई सरकारी वकिल कार्यालय मार्फत र प्रतिवादीका साक्षी समेत बुझी पेश गर्नु भन्ने आदेश ।

११. २०५० साल बैशाख ३० गते विहान ७ बजेको समयमा म आफ्नो भाइ जनक बहादुर शाहसंग थिए । उक्त दिनको ७:३० बजेको समयमा भाइसंग विदा भै दैलेख तिर लागे । डुगेश्वर वास बसे्, भोली पल्ट विहान दैलेख सदर मुकाम पुग्दा भाई मोटर साइकल दुर्घटनामा परेको आकासवाणी प्राप्त हुँदा म सुर्खेत तिर आए सुर्खेत आई भाइको मृत्यु के कसरी हुन गयो भनी बुझ्दा सुर्खेत जिल्ला वस्ने भक्त बहादुर पल्ली र लोक बहादुर रावलले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरि भक्त बहादुरले भे.अ.प. ६४० र लोक बहादुरले भे.अ.प. ६६३ को मोटर साइकल अत्याधिक गतिमा चलाई विरेन्द्रनगर नगरपालिका वडा नं. ६ को विरेन्द्रचोक देखि आफ्नो काम विशेषले गणेश चोक तर्फ भै रहेको मेरो भाइ जनक बहादुरलाई जिल्ला हुलाक पश्चिम पट्टिको साइडमा भक्त वहादुर पल्लीले अध्याधिक वेगमा चलाएको मोटर साइकलले मेरो भाईको वायाँ खुट्टामा मोटरसाइकल ठोकाई ढालेर त्यसको करिव साथ साथै तिव्र गतिमा आइ रहेको मोटर साइकलले मेरो भाईको टाउको जोरले ठक्कर दिई कन्चेटको हड्डी टुटन गै भाइको मष्तिस्कमा रगत जम्मा हुन गई निजहरुकै लापरवाहीले मोटर साइकल चलाई मेरो भाइको मृत्यु हुन गएको हो । लोक बहादुर रावलको मोटर साइकलले मृतकको टाउकोमा ठक्कर दिँदा मृतकको मष्तिष्कमा रगत जमी मृत्यु हुन गएको हो । यो कुराको पुष्टि लखनउ मेडिकल कलेजको पोष्टमार्टम रिपोर्टले गर्दछ जाहेरी दरखास्त मैले दिएको हुँ भन्ने समेत व्यहोराको जाहेरवाला विनो कुमार शाहले गरेको बकपत्र ।

१२. मिति २०५० साल जेष्ठ ३० गते करिव ५ बजे तिर मेरो बच्चा बाटाको जालितिर गएको थियो । बच्चा लिन भनि म गएको थिए । सोही अवस्थामा मृतक जनक बहादुर शाह वाटाको वायँ साइडबाट गणेश चोक तिर जाँदै थिए । सोही अवस्थामा अगाडि आएको मोटर साइकलले जनक शाहलाई ढाल्यो । पछाडि आएको मोटर साइकलले टाउकोमा किचाई अगाडि गएपछि मैले पानी ल्याई ख्वाएको हुँ । मृतक जनक शाहको मृत्यु प्रतिवादीहरुले चलाई ल्याएको मोटर साइकलले ढाल्ने र धक्का दिने कारणबाट उपचार हुँदाहुँदै भारत लखनउमा मृत्यु भएको हो । प्रतिवादीहरुले रक्सी खाए नखाएको मलाई थाहा भएन । अगाडि प्र. भक्त बहादुर पल्लीको मोटर साइकल र ४।५ मिटर पछाडि लोक बहादुर रावलको मोटर साइकल थियो । मृतकको वाया खुट्टामा लागि हुलाक तर्फ ढल्यो । पछाडिको मोटर साइकल वायाँ साइड हिडि रहेको थियो । पहिलो मोटर साइकल पल्टिएको देखेको हुँ भन्ने समेत जमुना विष्ट र १ कलम बहादुर १ समेतको एकै मिलानको बकपत्र ।

१३. मिति २०५०।१।३० गते अ. ५ बजे बेलुका म हुलाक अगाडि आएको थिए । तलतिरबाट एक्कासी मोटर साइकलको आवाज आयो मैले कसको मोटरसाइकल रहेछ भनि बाटो तलतिर हेर्दा अघिल्लो मोटर साइकलले मृतकको वायाँ पट्टिको पैयाले कुल्चेर मृतक जनक बहादुर शाही बाटोमा पल्टिए । त्यसपछि मोटर साइकल चलाउने मानिस पनि अलि अगाडि गएर पल्टिए त्यतिकैमा मैले तीन चार पाइला अगाडि नसार्दै पछिल्लो मोटर साइकलले पल्टिएको घाइते जनक बहादुर शाह माथि मोटर साइकल शरिरको भाग हुँदै टाउकोमा गयो । उनी पहिलेका मोटर साइकल भन्दा नजिक पल्टिए । त्यतिकै उनले आफ्नो मोटर साइकल उठाए अगाडि गएका थिए । त्यही अरु मानिसले उनलाई समातेर हामीले मृतकलाई बोकेर पिपल चौतारासम्म पुर्‍याई सकेका थियौं । एक्कासी एक्सीडेण्ट भएको ठाउँमा एम्बुलेन्स पिपल चौतारीमा आयो । हामीले मृतकलाई एम्बुलेन्समा हालेर सुर्खेत अस्पतालमा लग्यौ । तहाँबाट उनलाई उपचारार्थ लखनउ लगियो र जनक त्यही लखनउ हस्पीटरमा वितेका हुन भन्ने समेत राजु श्रेष्ठ १ उज्जल बहादुर खत्री १ समेत जना २ को बकपत्र ।

१४. मौकामा म नभएको हुनाले विस्तृत विवरण भन्न सक्दिन जानाजान ठक्कर दिएको होइन । अचानक ठोकिन गै त्यस्तो दुर्घटना हुन गएको हुन सक्छ । मृतक पश्चिम साइडमा पल्टिन गएका हुन् । पछिल्लो मोटर साइकलले ठक्कर दिएको होइन भनेको सुनेको हुँ भन्ने समेत प्र. हरुको साक्षी ललित बहादुर प्याकुरेलले गरेको बकपत्र ।

१५. मिति २०५०।१।३० गते बेलुका अं. ५ बजेको समयमा मोटर साइकल सुर्खेत विरेन्द्र नगरदेखि चिसापानी तिर जादै थियो मृतक पूर्व थिए पश्चिमबाट जाने बेलामा मोटरसाइकलको वायाँ साइडको हेण्डिलमा ठोकिन गई मोटर साइकल ढल्न गएको हो । मोटर साइकल अघि र पछि गरि दुईवटा जम्मा थिए । नाम चिन्दिन अघिल्लो मोटर साइकल ठोकिन गएको हो पछाडिको मोटर साइकलले ठक्कर दिएको होइन भन्ने समेत व्यहोराको प्रतिवादीहरुको साक्षी तिलक राम पौडेल १ भगवति प्याकुरेल १ चन्द्र गिरी १ समेतको एकै मिलानको बकपत्र ।

१६. लोक बहादुर रावलको मोटर साइकल पनि भक्त बहादुरको मोटर साइकल माथि चढन वा ठोकिन गै एकै स्थानमा पल्टिनु पर्ने अवस्था देखिनछ । तर त्यसो न भई करिव २७ फिट अगाडि पल्टिएको भन्ने जाहेरवालाकै बयानबाट पनि लोक बहादुरले मृतकलाई कुल्चाएर गएको भन्न सकिने अवस्था नक्सा स्केचबाट नदेखिनुको अतिरिक्त सह अभियुक्तले निजलाई पोल गर्न नसकेको, लोक बहादुरले ठक्कर दिएको होइन भनि वयान गरेको प्रतिवादीको इन्कारीलाई निजका चश्मदिद साक्षीहरुले समर्थन गरि बकपत्र गरि दिएको समेतबाट निज लोक बहादुरलाई कसुरदार ठहर्‍याउन मिलेन । तसर्थ निजले सफाई पाउने ठहर्छ । तथ्य र प्रमाणको आधारमा हेर्दा प्र. भक्त बहादुर पल्लीले चलाएको मोटर साइकलले ठक्कर दिई लडाई दिएको कारणबाट जनक बहादुरको मृत्यु भएको देखिएको हुँदा निज प्र. भक्त बहादुर पल्लीलाई सवारी तथा यातायात व्यवस्था अध्यादेश २०५० को दफा १६१(२) अनुसार २ वर्ष कैदको सजाय हुने ठहर्छ । सुधारात्मक सिद्धान्त बमोजिम सजाय गरि सुध्रने मौका दिनु उपयुक्त हुने हुँदा र निज प्रतिवादीलाई कैदमा राख्न मनासिव नदेखिएको हुँदा द.सं. को ११(क) नं. बमोजिम निजलाई ठहरिएको कैद वापत १ दिनको रु २५। का दरले हुने रकम बुझाएका कागज गराई रुपैया बुझि कैदको लगत कट्टा गरि दिने समेत ठहर्छ र साथै कृया खर्च र क्षतिपूर्ति समेत भराई दिने समेत ठहर्छ भन्ने समेत व्यहोराको शुरु सुर्खेत जिल्ला अदालतको मिति ०५१।९।४ को फैसला ।

१७. शुरु सुर्खेत जिल्ला अदालतको फैसला उपर चित्त नबुझि वादी श्री ५ को सरकार तर्फबाट पर्न आएको पुनरावेदन जिकिर रहेछ ।

१८. शुरु सुर्खेत जिल्ला अदालतको फैसला तात्वीक फरक हुन सक्ने देखिएकोले अ.व. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४२ बमोजिम विपक्षी प्रतिवादीहरुलाई छलफलमा उपस्थित हुने म्याद दिई झिकाई आएपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत सुर्खेतको मिति ०५२।३।१५।५ को आदेश ।

१९. अभियुक्त मध्ये भक्त बहादुर मगरले मोटर साइकलको वाया हेण्डिलबाट मृतक जनक बहादुर शाहको कम्मरमा ठक्कर दिई पछाडिको अभियुक्त लोक बहादुरको मोटर साइकलले निज मृतकको टाउकोमा कुल्चिएको तथ्यका साथै लापरवाही गरी दुवै अभियुक्तले मोटरसाइकल हाकेको र मृतकको मृत्यु ज्यान सम्बन्धी महलको १० नं. म्याद भित्रै भएको तथ्य चश्मदिद साक्षीहरुहको बकपत्र, घटनास्थल प्रकृति मुचुल्का, दुर्घटनास्थाल स्केच, शब परिक्षण प्रतिवेदन बाट समर्थित हुन आएको देखिन्छ र सजाय तर्फ विचार गर्दा अभियुक्त प्रतिवादी मध्येका लोक बहादुर रावललाई शुरु जि.अ. ले सफाइ दिएको कानून संगत देखिन नआएकोले निजलाई सवारी तथा यातायात अध्यादेश (पहिलो संशोधन) २०५० को दफा १६१ को उपदफा (२) अनुसार २ वर्ष कैद हुने ठहर्छ दोश्रो अभियुक्त प्रतिवादी भक्त बहादुर पल्ली थापालाई कसुर गरेको ठहराई २ वर्ष कैद गरेको शुरु इन्साफ मिलेकै देखिएता पनि दण्ड सजायको ११ नं. बमोजिम कैद भनि लेखिएको कलममा कैद गर्नु पर्ने परिप्रेक्ष्यमा सुर्खेत जिल्ला अदालतले दण्ड सजायको ११ (क) नं. को सुविधा दिई कैद वापत रुपैया बुझाउन पाउने गरी गरेको फैसला सो हदसम्म नमिलेको हुँदा केही उल्टी भई प्र. भक्त बहादुरलाई २ वर्ष कैद हुने ठहर्छ भन्ने पुनरावेदन अदालत सुर्खेतको मिति २०५२।८।३ को फैसला ।

२०. म पुनरावेदक लोक बहादुर रावलको प्रहरी तथा अदालतमा कसुर गरेकोमा पूर्ण इनकार रहेको वादी पक्षका साक्षीहरुको बकपत्र विरोधभाष हुनुका साथै सह अभियुक्त भक्त वहादुर पोल समेत नगरेको आधार प्रमाणहरुबाट म पूर्ण रुपमा निर्दोष भएकोमा पर्ने वारदात स्थलमा रहे भएकै कारणबाट अनुमानको भरमा मलाई दोषि करार गरि २ वर्ष कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत सुर्खेतबाट भएको फैसला बदर गरि सुर्खेत जिल्ला अदालतको फैसला सदर गरि पाउँ भन्ने प्रतिवादी लोक बहादुर रावलको पुनरावेदन पत्र ।

२१. म पुनरावेदकले चलाएको मोटर साइकल बचाउने प्रयास गर्दा गर्दै मृतकको अगाडि पछाडि गरि झुक्याएको कारणले थाम्न नसकी ठक्कर लागेकोसम्म मेरो स्वीकार भएको र लापरवाहीबाट जानी जानी दुर्घटना भएको पुष्टि नभएको वारदात हुँदाको अवस्था सवारी तथा यातायात व्यवस्था अध्यादेश २०५० को दफा १६१(२) को दावी भएतापनि उक्त अध्यादेश समाप्त भई २०५०।५।९ गते दोश्रो संशोधन भई उक्त ऐनको दफा १६१ को देहाय (३) अनुसार प्रस्तुत मुद्दाको घटना पुष्टि भएको हुँदा १६१(३) कै कसुर कायम गरी जरीवानबाट फुर्सत पाउँ उल्लेखित अध्यादेशको दफा १६१(२) कै कसुर स्थापित गरिने हो भने पनि कैदको हकमा दण्ड सजायको ११ क नं. बमोजिम नगद लिई फुर्सद पाउँ भन्ने प्र. भक्त बहादुर पल्लीको पुनरावेदन पत्र ।

२२. नियमबमोजिम आजको दैनिक मुद्दा सुचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल सम्लग्न पुनरावेदन पत्रका साथै शुरु तथा रेकर्ड मिसिल समेत अध्ययन गरी पुनरावेदक प्रतिवादी भक्त बहादुर पल्लीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गौ बहादुर आलेले मेरो पक्षको मृतकलाई मार्ने मनसाय नभएको निजले आफूले चलाएको मोटरसाइकल बचाउन भर मग्दुर प्रयास गर्दा पनि काबु वाहिरको परिस्थित परि हुन गएको दुर्घटनाबाट मृतकको मृत्यु भएको कुरालाई ढाकछोप नगरी प्रहरी तथा अदालतमा समेत बयान गरेको र निज अपराधिक प्रकृत्तिको मानिस नभएकोले कसुरमा निजलाई २ वर्ष कैद भएकै अवस्थामा पनि दण्ड सजायको दफा ११ क बमोजिमको सुविधा पाउनु पर्छ भनि गर्नु भएको बहस र पुनरावेदक प्रतिवादी लोक बहादुर रावलका तर्फबाट उपस्थित अधिवक्ता श्री शिवराज अधिकारीले मेरो पक्षले मौकामा तथा अदालतमा वयान गर्दा कसुरमा पूर्णत : इन्कार गरी बयान गरेका छन् । कसुरका साविति वयान गर्ने सह अभियुक्तले निजलाई पोल नगरेको साथै मेरा पक्ष उपरको अभियोग दावि पुष्टि हुने आधार प्रमाण नभएकोले निजले अभियोग दावीबाट सफाई पाउनु पर्छ भनि गर्नु भएको वहस समेत सुनियो ।

२३. निर्णय तर्फ विचार गर्दा मृतक जनक बहादुर शाहलाई मोटर साइकलले ठक्कर दिई किचि लागेको चोटबाट निजको मृत्यु भएको भन्ने कुरामा विवाद छैन । प्रतिवादी मध्येका भक्त बहादुर पल्लीलाई शुरु सुर्खेत जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (२) बमोजिम २ वर्ष कैद हुने ठहर्‍याई गरेको फैसला उपर निजले पुनरावेदन गरेको देखिँदैन । दण्ड सजायको ११ क. बमोजिम कैदको सट्टा रकम बुझाएमा कैदको लगत कट्ट हुने गरेको शुरुको फैसला खण्ड पुनरावेदन अदालतले कानून विपरित भनि बदर गरेको सम्बन्धमा पर्न आएको निज प्रतिवादी भक्त बहादुर पल्लीको पुनरावेदन पत्रको सम्बन्धमा विचार गर्दा उल्लेखित ऐनको दफा १६१ को उपदफा २ मा उल्लेखित कसुरमा २ वर्ष देखि १० वर्षसमम कैद सजाय हुन सक्ने व्यवस्था देखिन्छ । दण्ड सजायको ११ क को व्यवस्था ३ वर्ष भन्दा कम कैदको सजाय हुने कसुरको सम्बन्धमा मात्र आकर्षित हुन सक्ने भएकोले उक्त ऐनको दफा १६१(२) बमोजिमको सजाय हुने कसुरमा आकर्षित हुने अवस्था नदेखिँदा पुनरावेदन अदालत सुर्खेतले यि प्रतिवादी भक्त बहादुरको हकमा गरेको निर्णयलाई अन्यथा भन्न मिलेन ।

२४. अर्का पुनरावेदक प्रतिवादी लोक बहादुर रावलका हकमा विचार गर्दा निजले अधिकार प्राप्त अधिकारी र अदालत समक्ष वयान गर्दा कसुरमा पूर्णत इन्कार रही अभियोग दावी बमोजिम घटना घट्दाको अवस्थमा प्रतिवादी भक्त बहादुर पल्लीले भे.अ.प. ६४० को मोटर साइकल अघि अघि चलाएको र आफूले भे.अ.प. ६६३ को मोटर साइकल पछि पछि चलाएको कुरा व्यक्त गर्दै आफ्नो मोटर साइकल पनि सोही ठाउँमा लडेको कुरा व्यक्त गरेका छन् । जाहेरवाला विनोद कुमार शाहको जाहेरी दरखास्तमा अगाडि रहेको प्रतिवादी भक्त बहादुर पल्लीले चलाएको भे.अ.प. ६४० नं. को मोटर साइकलले मृतकलाई ठक्कर दिई लडाए पछि पछाडिको म प्र. लोक वहादुर रावलले चलाएको भे.अ.प. ६६३ को मोटर साइकलले लडि रहेका घाइते मृतकको शरिरको अगाडिको भागबाट कुल्चदै पल्टिएको भनि किटानी जाहेरी दिएको र सोही व्यहोराको अदालतमा बकपत्र समेत गरेको देखिन्छ । उल्लेखित घटनाका प्रत्यक्षदर्शि राजु श्रेष्ठ, उज्जल बहादुर खत्री समेतका बुझिएका व्यक्तिहरुले मौकामा प्रहरी समक्ष कागज गर्दा तथा अदालतमा बकपत्र गर्दा अघिल्लो मोटर साइकलको पैयाले मृतकको वायाँ पट्टी कुल्चेर मृतक जनक बहादुर शाही वाटोमा पल्टिए त्यसपछि पछिल्लो मोटर साइकलले पल्टिएको घाइते जनक बहादुर शाह माथि मोटर साइकल शरिरको भाग हुँदै टाउकोमा गयो । उनी पहिले मोटर साइकल भन्दा नजिक पल्टिए भनी बकपत्र गरेको पाइन्छ । घटनास्थल प्रकृति विवरणबाट घटनास्थलमा धुलो माटोमा रगत भएको नजिक भे.अ.प. ६४० नं. को मोटरसाइकल र सो ठाउँ देखि सात मिटर उत्तर तर्फ भे.अ.प. ६६३ नं. को मोटर साइकल रहेको देखिएको छ भने लास प्रकृति विवरणबाट मृतकको टाउको दायाँ वायाँ दुवै भागमा घाउ चोट लागेको साथै मृतकको वायाँ गाला, कान, दाहिने हातको नाडीको बीच भाग, हत्केला आदि शरिरको विभिन्न ठाउँमा घाउ चोट रहेको देखिएको छ । यस्तो अवस्थामा यि पुनरावेदक प्रतिवादी लोक बहादुर रावल कसुरमा इन्कार रहेको देखिएता पनि निजका विरुद्ध समेत किटानी जाहेरी र जाहेरवालाको बकपत्र तथा चश्मदिद सर्जमिनका व्यक्तिहरको लेखाई र अदालतमा आई निजहरुले गरेको बकपत्रहरु, घटनास्थल प्रकृति विवरण, लाश जाँच प्रकृति विवरण समेतबाट मृतकलाई यि प्रतिवादी लोक वहादुर रावलले चलाएको मोटर साइकल समेतबाट किचि मृतकको मृत्यु भएको अवस्था देखिँदा शुरु जिल्ला अदालतले यि प्रतिवादी लोक वहादुर रावललाई सफाइ दिएको इन्साफ निजको हकमा उल्टी गरि सवारी तथा यातायात व्यवस्था ऐन, २०५० को दफा १६१(२) बमोजिम कसुरदार कायम गरि २ वर्ष कैद सजाय समेत गरेको पुनरावेदन अदालत सुर्खेतको इन्साफ मिलेकै देखिँदा मनासिव ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन र दायरीबाट मुद्दाको लगत कट्टा गरि मिसिल नियमानुसार गरि बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. अरविन्दनाथ आचार्य

 

इति सम्बत् २०५५ साल श्रावण २१ गते रोज ५ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु