निर्णय नं. ६५७२ - सरकारी छाप दस्तखत कीर्ते

निर्णय नं. ६५७२ ने.का.प. २०५५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्द वहादुर श्रेष्ठ
माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
सम्बत् २०५२ सालको फौ.पु.नं. १३१५
फैसला मिति : २०५५।१।२३।४
मुद्दा : सरकारी छाप दस्तखत कीर्ते ।
पुनरावेदक/प्रतिवादी : जि.झापा चकचकी गा.वि.स. वडा नं. ६ वस्ने राज कुमार साह ।
विरुद्ध
विपक्षी /वादी : भरत प्रसाईको जाहेरीले श्री ५ को सरकार
§ विवादित नं. ६९१२५३०५ को नागरिकता प्रमाणपत्र कीर्ते भन्ने झापा जिल्ला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन नदिई चुप लागि चित्त बुझाई बसेको देखिएकोले सो नागरिकता प्रमाण पत्र कीर्ते हो भन्ने कुरामा विवाद देखिएन । कीर्ते नागरिकता आफूसंग साथ रहेकोमा सो कीर्ते गर्ने गराउनेमा आफ्नु निर्दोषिताको भरपर्दो प्रमाण अभियुक्त प्रतिवादीले पेश गर्न नसकेपछि निजलार्इ कसूरदार मान्नु पर्ने हुँदा कसुरदार ठहर्याई सजाय गरेको पुनरावेदन अदालत इलामको इन्साफ मनासिव ठहर्ने ।
(प्र.नं. २१)
पनुरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरीहर दाहाल ।
प्रतिवादी तर्फबाट : x
अवलम्बित नजिर : x
फैसला
न्या. गोविन्द बहादुर श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन अदालत इलामको मिति ०५१।११।३० को फैसला उपर यस अदालतमा पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. झापा जिल्ला चकचकी गा.वि.स. वडा नं.६ फुलवारी वस्ने राज कुमार हलुवाईलार्इ डाँगीवरी वडा नं. ६ वस्ने राज कुमार हलुवाई साहुको भनि टोली नं. १ ना.नं. ६९१२३०५ मे.अ. ३५६१ मिति ०४३।१०।२९ मा नागरिकताको प्रमाणपत्र लिएको रहेछ । यसरी झुठ्ठा सबुद प्रमाण बुझि नेपाली नागरिक हो भनी सिफारिश गर्ने प्र. पंच समेतलाई कानून बमोजिम कारवाही गरी पाउँ भन्ने ०४५।५।२१ को भरत प्रसाईको जाहेरी दरखास्त ।
३. यस कार्यालयको रेकर्ड हेर्दा राज कुमार साहुले ना.टो.नं. १ बाट मे.झा. ३५६१ र ना.नं. ६९१२५३०५ बाट नागरिकताको प्रमाण पत्र लिएको उक्त मे.झा. र ना.न.. यस कार्यालयमा भएका रेकर्ड हेर्दा नदेखिएकोले नागरिकता सहिछाप भएको टोली प्रमुखको दस्तखत र अड्डाको छाप समेत शंकास्पद देखिएकोले आवश्यक अनुसन्धान गरी कानूनी कारवाही गर्ने भन्ने जिल्ला प्रशासन कार्यालय झापाको ०४५।६।२४ को पत्र ।
४. २०४३ साल माघ महिनामा जिल्ला कार्यालयबाट खटी गएका ना.टो.नं. १ मा मेरो दाजु राजेन्द्र साहुको स्थायी नागरिकता लिई उक्त नागरिकता टोली समक्ष मौखिक अनुरोध गर्दा तपाईको छुट भएछ, छुटमा मिलाई दिन्छु रु ४,०००। (चार हजार) रुपैया लिएर भोली आउनु भनी टोली प्रमुखबाट आश्वासन पाई भोलिपल्ट भने बमोजिमको रुपैया टोली प्रमुखलाई दिए । त्यसपछि मे.झा. ३५६१ ना.नं. ६९१२५३०५ भएका मेरा नामको नागरिकता दिएका हुन् । मैले टोली प्रमुखको दस्तखत र छाप कीर्ते गरेको होइन भन्ने राज कुमार साहुले इलाका प्रहरी कार्यालय घेलाडुब्बामा गरेको बयान ।
५. डाँगीवारी गा.पं. वडा नं. ६ बतन देखाई नागरिकता प्राप्त गर्ने चकचकी ६ बस्ने राज कुमार साहुको यस गा.वि.स. मा कुनै रेकर्ड नभएको र सिफारिस समेत भएको छैन भन्ने डाँगीवारी गा.पं. कार्यालयको मिति ०४५।७।२८ को पत्र ।
६. राज कुमार साहुको घर डाँगीवारी गा.पं. वडा नं. ६ मा छैन निजको वसोवास चकचकी गा.पं. वडा नं. ६ मा छ । डाँगीवारी गा.पं. वडा नं. १ मा हटियाको दिन सामान बेच्ने एउटा टहरो छ भन्ने ०४५।८।५ को सर्जमीन मुचुल्का ।
७. उक्त नागरिकताको प्रमाणपत्र भएको सहिछाप टोली प्रमुखको होइन त्यस्मा लेखिएको हस्ताक्षर टोलीमा गएको कुनै कर्मचारीको पनि होइन । उक्त नम्बरमा नागरिकता दर्ता कितावमा उक्त नम्बर दर्ता पनि छैन । निज राज कुमारले कुनै फाराम भरी दर्ता गराएको पनि थाहा छैन । सो नागरिकतामा उल्लेख भएको शम्भु प्रसाद भनि लगाइएको रवर छाप र सरकारी छाप पनि कीर्ते हो भन्ने व्यहोराको रमेश पोख्रेल र रोहिणी पोखरेलको वयान ।
८. उक्त कागजातबाट राज कुमार साहुले मुलुकी ऐन कीर्ते कागजको १ र १२ नं. अनुसार सरकारी कर्मचारीको छाप दस्तखत समेत कीर्ते गरी कसूर गरेको हुँदा निजलाई सोही ऐनको दफा ९ र १२ नं. अनुसार थप सजाय समेत गरी पाउँ भन्ने प्रहरी प्रतिवेदन ।
९. मिसिल सामेल रहेको नागरिकता मैले कीर्ते गरी दिएको होइन । जिल्ला प्रहरी कार्यालयबाट डाँगीवारी गाउँ पञ्चायतमा खटी गएको नागरिकता टोलीको प्रमुख शम्भु प्रसाद घिमिरे समक्ष मेरो नागरिकता नभएकोले मैले नागरिकता पाउँछु कि पाउँदिन भनि अनुरोध गर्दा दाजुको नागरिकता भए लिएर आउनु छुटमा भई हाल्छ भनेकाले ०४३।२०।२९ गते निज टोली प्रमुखलाई दाजुको नारिकता देखाएपछि मलाई नागरिकताको प्रमाण पत्र बनाई छाप दस्तखत गरी दिएका हुन । मैले कीर्ते गरेको होइन भन्ने ०४५।८।६ मा राज कुमार साहुले झापा जिल्ला अदालतमा गरेको बयान ।
१०. आदेश अनुसार जाहेरवाला नागरिकताको मानिस र प्रतिवादीका साक्षीको बकपत्र मै मिसिल सामेल रहेको ।
११. उक्त ना.प्र.नं. ६९१२५३०५ को नागरिकताको प्रमाण पत्रमा परेको रातो अक्षरको सहि टोली प्रमुख शम्भु प्रसाद घिमिरेको होइन । त्यसमा प्रयोग भएको सरकारी छाप समेत हामीले नागरिकता वितरणमा प्रयोगमा लगेका होइनौ भन्ने ख. रेवती रमण पोखरेलले ०४६।२।१५ मा झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
१२. नागरिकताको प्रमाणपत्र मैले दिएको होइन । नागरिकताको प्रमाणपत्र दिँदा कानूनमा तोकिए बाहेक दस्तु लिन नमिल्ने र नागरिकता नै नदिई पैसा दिएको भन्ने कुरा सरासर झुठ्ठा हो । यदि उक्त नागरिकताको प्रमाणपत्र टोलीबाट वितरण भएको भए टोली प्रमुखको दस्तखत भएपछि मात्र टोली प्रमुखको छाप लाग्नु पर्नेमा सो नभई पहिले टोली प्रमुखको छाप लागे पछि टोली प्रमुखको दस्तखत भएबाट पनि राज कुमार साहुले प्राप्त गरेको नागरिकता कीर्ते हो भन्ने स्पष्ट हुन्छ भन्ने व्यहोराको टोली प्रमुख शम्भु प्रसाद घिमिरेले झापा जिल्ला अदालतमा गरेको बकपत्र ।
१३. उक्त नागरिकतामा लेखिएको अक्षर मेरो होइन । टोलीमा गएका कुनै कर्मचारीको अक्षर होइन । कस्को हो म एकिन खुला भन्न सक्तिन । टोली प्रमुख भनि गरिएको दस्तखत पनि निज टोली प्रमुख शम्भु प्रसाद घिमिरेको होइन । सो नागरिकताको प्याड र अड्डाको छाप चाहि सद्दे अर्थात तत्कालिन जिल्ला कार्यालय कै होला कसरी उपलब्ध भयो थाहा छैन भन्ने ना.सु. जय नारायण यादवले झापा जिल्ला अदालतमा गरेको बयान ।
१४. मिसिल संलग्न रहेको नागरिकता भएको हस्ताक्षर मेरो होइन र टोलीमा जाने अन्य कुनै कर्मचारीको हस्ताक्षर पनि होइन । साथै टोली प्रमुख भनि गरेको हस्ताक्षर सहिछाप पनि टोली प्रमुखको होइन । कस्को हस्ताक्षर सहिछाप हो म भन्न सक्तिन । नागरिकतावाला व्यक्ति नै जान्दछन भन्ने व्यहोराको उमेश पराजुलीले गरेको बयान ।
१५. यस्मा ६१२५३०५ को नागरिकता प्रतिवादीबाट पेश भएको देखिन्छ । उक्त नं. को नागरिकता प्रतिवादीको नाउँमा रहे भएको जिल्ला कार्यालयमा रहेको रजिष्ट्ररमा नदेखिएबाट उक्त नागरिकता नक्कली रहेछ भन्ने देखियो । सो नागरिकता आफूले बनाएको भन्नेमा प्रतिवादी इन्कार रहेको र बुझिएको टोली प्रमुख समेतको बयानबाट उक्त नागरिकता प्रतिवादीलाई दिएमा इन्कार छन् । विवादित लिखत यी प्रतिवादीले बनाएको भन्ने कतैबाट खुल्न पुष्टि हुन नसकेको हुँदा उक्त नागरिकतामा भएको छाप दस्तखत निजले कीर्ते गरेको भन्न नमिल्ने हुँदा प्रतिवादीले प्रहरी निवेदन माग दावीबाट फुर्सद पाउने ठहर्छ भन्ने ०४७।१०।१० गतेको झापा जिल्ला अदालतको फैसला ।
१६. झापा जिल्ला अदालतको फैसलामा चित्त बुझेन । जाहेरी दरखास्तमा प्रतिवादी नेपाली नागरिक नभै विदेशी हुन भन्ने कुरा प्रष्ट छ । सो नागरिकताको प्रमाण्पत्रको दस्तखत शंकास्पद भएको भनि जि.का. को जवाफबाट देखिएको नागरिकताको टोली प्रमुखले पनि दस्तखतमा मेरो होइन भनी बयान गरेको यसरी आफ्नो नाममा भएको नागरिकता कहाँबाट प्राप्त भएको भन्ने स्वयंम व्यक्तिलाई थाहा हुने मात्र नभै उक्त प्रमाणपत्र सम्बन्धित निकायमा पेश गरी त्यसको प्रयोग र प्रयोजन समेत लिन चाहने व्यक्तिको हुने कुरा निर्विवाद हुँदा उक्त कुरा त्यसतर्फ शुरु अदालतको दृष्टि पुगेको नहुँदा शुरु फैसला उल्टाई प्रहरी माग दावी बमोजिम सजाय गरी पाउँ भन्ने श्री ५ को सरकार तर्फको पुनरावेदन ।
१७. यसमा प्रतिवादीलार्ई सफाई दिने ठहराएको शुरुको इन्साफ फरक पर्ने भएकोले अ.बं. २०२ नं. बमोजिम विपक्ष झिकाई आएका अवधि नाघेपछि पेश गर्नु भन्ने पु.बे.अ.को मिति ०५०।३।६ गतेको आदेश ।
१८. प्रतिवादीलाई सफाई दिएको शुरुको फैसला उल्टी भै प्रतिवादीले प्रहरी प्रतिवेदन माग दावी अनुसार कसुर गरेको ठहर्छ । निजलाई कीर्ते कागजको ९ नं. ले रु २५। जरीवाना र ऐ. को १२ नं. ले १ वर्ष कैद हुने ठहर्छ भन्ने समेत पु.वे.अ. इलामको मिति ०५१।११।३० को फैसला ।
१९. पुनरावेदन अदालत इलामको फैसला अत्यन्त अन्यायिक गैह्रकानूनी एवं त्रुटिपूर्ण हुँदा बदर गरी म पुनरावेदकलाई आरोपित कसुरबाट सफाई दिलाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको यस अदालतमा परेको पुनरावेदन पत्र ।
२०. नियमबमोजिम दैनिक पेशी सुचिमा चढी पेश हुन आएको पुनरावेदन सहितको मिसिल कागजात अध्ययन गरी पुनरावेदन तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री हरिहर दाहालले नागरिकता प्रमाण पत्रको प्याड र सोमा लागेको सरकारी छाप कीर्ते नभएकोले सो नागरिकता प्रमाणपत्र नागरिकता टोलीबाटै लिएको देखिने साथै मेरा पक्षको दाजु राजेन्द्र साहु हलुवाईले ०३९।५।४ मा नै बंशजको नाताले नागरिकता पाएका छन र मेरो पक्षले नागरिकता कीर्ते गरेको लिएको हो भन्ने आधार कतैबाट खुल्दैन तसर्थ पुनरावेदन अदालत इलामले शुरु झापा जिल्ला अदालतको सफाइ दिएको निर्णय उल्टी गरी जिल्ला अदालतको इन्साफ सदर गरी पाउँ भनि गर्नु भएको बहस जिकिर समेत सुनि निर्णय तर्फ विचार गर्दा यस्मा पुनरावेदन अदालतको इन्साफ मिले नमिलेको के रहेछ । पुनरावेदनको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
२१. निर्णय तर्फ विचार गर्दा यस्मा विवादित नं. ६९१२५३०५ को नागरिकता प्रमाणपत्र कीर्ते भन्ने झापा जिल्ला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन नदिई चुप लागि चित्त बुझाई बसेको देखिएकोले सो नागरिकता प्रमाण पत्र कीर्ते हो भन्ने कुरामा विवाद देखिएन । कीर्ते नागरिकता आफूसंग साथ रहेकोमा सो कीर्ते गर्ने गराउनेमा आफ्नु निर्दोषिताको भरपर्दो प्रमाण अभियुक्त प्रतिवादीले पेश गर्न नसकेपछि निजलाई कसूरदार मान्नु पर्ने हुँदा कसुरदार ठहर्याई सजाय गरेको पुनरावेदन अदालत इलामको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. कृष्ण कुमार बर्मा
इति सम्बत् २०५५ साल बैशाख २३ गते रोज ४ शुभम् ।