निर्णय नं. ६५७३ - हक कायम निर्णय दर्ता बदर

निर्णय नं. ६५७३ ने.का.प. २०५५ अङ्क ७
संयुक्त इजलास
माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय
सम्बत् २०५३ सालको दे.पु.ई.नं. ३६४६
फैसला मिति : २०५४।१२।२८।६
मुद्दा : हक कायम निर्णय दर्ता बदर ।
पुनरावेदक/वादी : जिल्ला पर्सा, विरगन्ज नगरपालिका वडा नं. ७ बस्ने ओम प्रकाश चाचान समेत तीन जना ।
विरुद्ध
विपक्षी/प्रतिवादी : जिल्ला पर्सा, विरगन्ज नगरपालिका वडा नं. ७ बस्ने ठाकुर प्रसाद चाचान समेत पाँच जना ।
§ वादीका पिता मदन लालले माथिल्लो तलाको जम्मे कोठाहरु र प्र. ठाकुर प्रसादले भूईतल्लाको जन्मै कोठाहरुको हक प्राप्त गर्ने गरी २०२०।३।२८ मा बण्डा पत्र भएको र हक प्राप्त गर्नेले भोग गर्न भोग कायम राख्न समेत पाउने भई फलस्वरुप विग्रदा भत्कदा मर्मत निर्माण गर्न पाउने भए पनि ०–०–१८ धुर पुरै जग्गामा घर अवस्थित रहेको र बण्डा पत्रमा ०–०–६ धुरका दरले जग्गा उल्लेख गरेकोमा कुन तर्फबाट कसको हक पुग्ने हो सो बण्डापत्रमा उल्लेख नगरिएकोले बादी तर्फबाट सो बण्डा पत्रबाट हक प्राप्त गरेको ०–०–६ धुर जग्गामा सवै अंशियारको मन्जुरीले वाहेक तत्काल छुट्याई लिन पाउने अवस्था देखिँदैन । तर बण्डापत्रबाट हक प्राप्त गरेको तला र जग्गाको दर्ता नामसारी गराउन नपाउने भन्न पनि मिल्दैन । वादीको हकको श्रोत उक्र २०२०।३।२८ को बण्डापत्र हुँदा सो मा उल्लेख भएको वादी तर्फको भागको घर जग्गाको सम्बन्धमा सोही २०२०।३।२८ को बण्डा पत्रमा उल्लेख भएको व्यहोरा जनाई वादीले दर्ता गराउन पाउने भनी निर्णय गर्नुपर्नेमा अन्यथा हुने गरी निर्णय गरेको देखिँदा सो हदसम्म विरगन्ज नापी कार्यालयको मिति २०४७।४।३ को निर्णय बदर हुने ।
(प्र.नं. १२)
पुनरावेदक तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री कमल नारायण दास
प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया र विद्वान अधिवक्ता श्री शम्भु थापा
अवलम्बित नजिर :
फैसला
न्या. उदयराज उपाध्याय : पुनरावेदन अदालत हेटौडाको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई पाउँ भनी निवेदन परेकोमा यस अदालतबाट निस्सा प्रदार भई पुनरावेदनमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ ।
२. स्व. सुरज मल चाचानका तीन छोराहरु जेठो हाम्रो पिता मदनलाल चाचान तथा काकाहरु महिला ठाकुर प्रसाद र कान्छा बनवारी लाल चाचान भएकोमा तीनै भाई वीच २०२०।३।२८ मा अंश वण्डा भई सकेको छ । हामी फिरादीहरु मदनलालको छोरा भई हाम्रो वीचमा समेत ०३३।३।२६ गतेमा बण्डा भई सकेको छ । हाल शहरी क्षेत्रमा भएको नापीमा विरगन्ज नगर पंचायत हाल नगरपालिका वडा नं. ७ अन्तर्गतको कि.नं. ७२ को क्षेत्रफल ०–०–२–२ कि.नं. ७३ को क्षेत्रफल ०–०–२–२ कि.नं. ७४ को क्षेत्रफल ०–०–३–२ कि.नं. ७५ को क्षेत्रफल ०–०–२–२ कि.नं. ७६ को क्षेत्रफल ०–०–७–३ र कि.नं. ७७ को क्षेत्रफल ०–०–८–३ कायम रहेको जग्गाहरु साविक कि.नं. १११ को जग्गाहरु भई पिताले वि.सं. १९९६ मा महावीर प्रसादबाट रजिष्ट्रेशन पास गराई भोग चलन गरी रहनु भएको थियो । उक्त साविक कि.नं. मा १११ को जग्गाको श्रेस्तामा ०–१–० भए पनि पूर्वतर्फ रहेको पोखरी खाल्डो पुरीदै गई नरवढी भई ०–१–६–५ रही हाम्रो भोग चलनमा थियो । पिता मदनलाल ज्यू कै नाउँमा खरिद भए पनि पिता र काका वीचमा ०२० सालमा बण्डा हुँदा उक्त जगगा मध्ये श्रेस्ता अनुसार ०–०–६ जग्गा र बस्नको लागि सो जग्गामा भएको घरको तेश्रो तल्ला हाम्रो पिताको अंशहकमा परेको तथा नरबढी जग्गा पनि हाम्रो भागमा परेको थियो । पिता र काकाहरु बीचमा बस्नको लागि तल्ला छुट्याइए पनि जग्गाको तर्फ छुट्याएको थिएन तापनि सम्पूर्ण जग्गा संयुक्त रुपमा भोगचलन गरी आएका छौं ०३३ साल हामी फिरादीहरु र पिता मदनलाल ज्यू बीच अंश बण्डा हुँदा उल्लेखित घर जग्गा मध्ये पिताले पाएको अंश हकमा तर्फ नखुलएको हुँदा हामी बीचको अंशबण्डामा समेत तर्फ खुलाइएन । तर हाल विरगन्ज शहरी क्षेत्रको नापी हुँदा विपक्षीहरुले तथ्य लोप गरी सो जग्गामा हाम्रो हकभोगको चर्चा गराएकोले सम्पूर्ण मकान तथा जग्गालाई एउटै कायम गरी त्यसमा हामो पनि ३ खण्डको १ खण्ड हक भोगकायम गराई पाउँ भनि म्यादै भित्र विरगन्ज शहरी क्षेत्र नापी क्याम्पमा उजुर गरी आएकोमा सो उजुरी उपर कारवाही हुँदा ०२०।३।२८ मा मदनलाल, ठाकुर प्रसाद र वनवारीलालको बीचमा भएको बण्डापत्र हेर्दा जग्गा वाँडफाँड नगरी तल्ला तल्ला नै अंश बण्डा भै कुन कुन तर्फबाट कसको भन्ने उल्लेख नभई भुइतल्ला ठाकुर प्रसाद, बीच तल्ला बनवारीलाल र तेश्रो तल्ला मदनलालको भनि प्रष्ट उल्लेख भएको र ०३३।३।२६ मा मदनलाल र निजको छोराहरुको बीच अंशबण्डा हुँदा मदनलालका नाउँमा दर्ता रहेको जग्गा विगाहा ०–०–६ को घर जग्गा भनि जग्गा विगाहा ०–०–१८ धुरमा भएको पुरै घरको तेस्रो तल्लाको अंशबण्डा गरेको देखिएको यदि निवेदकहरुको दावी बमोजिम उक्त कि.नं. ७२ देखि ७७ सम्मका घर जग्गा मध्ये तीन खण्डको एक खण्डमा हक दावी पुग्ने भएपनि धुर जग्गा मध्ये यो तर्फबाट ०–०–६ धुरमा भएको घर जग्गा भनि घरको आंशिक भाग अंशबण्डा हुनुपर्ने सो नभई पुरै घरको अंश बण्डा भएको देखिएको र मदनलालले घरको तेश्रो तल्ला अंश पाएको भन्ने कुरा प्रष्ट हुँदा हुँदै निजैबाट निजका छोराहरुले पाएको अंशबण्डाको आधारमा निवेदक मध्येका ओम प्रकाश समेतको जग्गामा दावी पुग्छ र कि.नं. ७२ देखि ७७ सम्मको घर जग्गालाई ३ भाग गरी कित्ताकाट गर्नुपर्छ भने दावी नपुग्ने समेत तथा ओम प्रकाश समेत जना ३ को हकभोग देखाई निजहरुको अंश बण्डा अनुसार पृथक पृथक ज.ध.प्र.पुर्जा दिने गरी फिल्डबुक सर्जमिनबाट नाप नक्सा भई आए बमोजिम जग्गा धनी यथावत कायम राखी तल्लो तल्लाको उत्तरतर्फ भएको बाटो सवै तल्लावालाले प्रयोग गर्न पाउने समेत व्यहोरा जनाई जग्गा नाप जाँच ऐन, ०१९ को संशोधन सहितको दफा ६ को उपदफा ७ बमोजिम अस्थायी दर्ता गर्ने गरी विरगन्ज नापी कार्यालयबाट मिति ०४७।४।३ मा निर्णय भई सो सम्बन्धमा चित्त नबुझे जिल्ला अदालत समक्ष उजुर गर्न जानु भनि ०४७।४।र९ मा मलाई जानकारी गराएको छ । उक्त नापी कार्यालयको निर्णय कानून विपरित र अन्याय पूर्ण हुँदा सो निर्णय बदर गरी हाल नापीमा कायम भएको वि.न.पा. वडा नं. ७ अन्तर्गतको कि.नं. ७२ देखि ७७ नं. सम्मको घर जग्गाहरु र त्यसमा भएको घरहरुमा एउटै कायम गरी ३ खण्डको १ खण्डमा हाम्रो समेत हक कायम गराई हाम्रो नाउँमा समेत सम्पूर्ण दर्ता गराई सो हदसम्म नमिलेकोले विरगन्ज नापी कार्यालयको निर्णय बदर गराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. विपक्षीहरुले आफ्नो पिता ज्यूको बण्डा र सोही बण्डामा परेको घर जग्गा आपसमा बण्डा गरी लिनु भएको कुरा स्वकिार नै गर्नु भएको छ र बण्डापत्रमा तिन तल्लामा प्रत्येक अंशियारलाई तल्ला तल्ला नै बण्डामा दिर्इ बण्डा छुट्याइएकोले सो बण्डा छुट्याई हक कायम दर्ता सम्बन्धमा मुद्दा दिने वादीहरुलार्इ कुनै किसिमको हक अधिकारै नभएको घर जग्गा वाहेकको खाली जग्गा म ठाकुर प्रसादको अंश भागमा मात्र परेको र त्यसमा घर पर्खाल बनाउन पाउने हक पनि पाएकोले सो अंश भागमा परेको जग्गा नरघटी नरबढी जे जस्तो भएमा मेरो नै हुने कुरा निर्विवाद भएकाले प्रस्तुत फिरादबाट इन्साफ हुने अवस्था नरही खारेज हुनुपर्दछ । विपक्षीले एकातिर सर्भे नापीको निर्णय उपर उजुर हामीहरु उपर मात्र गर्नु भएको छ भने दोस्रो तल्लाका व्यक्ति बनवारीलाललाई प्रतिवादी समेत बनाउन नसक्ने भएको समेत र दे.नं. ११०३ को बण्डा छुट्याई दर्ता गराई पाउँ भन्ने मुद्दामा दिएको प्रतिउत्तर जिकिर समेतलाई प्रमाणमा लिने झुठ्ठा दावीबाट अलग फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको संयुक्त प्रतिउत्तर जिकिर ।
४. विरगन्ज नापी कार्यालयबाट ०४७।४।३।४ मा भएको निर्णय सहितको मिसिल थान र संलग्न रही मिसिल साथ रहेको मिसिल कागजात ।
५. यसमा यसै लगाउको दे.नं. ११०६ को अंश छुट्याई दर्ता गरी पाउँ भन्ने मुद्दामा वादी दावीपुग्न नसक्ने ठहरी आजै यसै इजलासबाट फैसला भएको विरगन्ज नापी कार्यालयको निर्णयमा यिनै वादीका पिता मदनलाल चाचान र यिनै प्रतिवादी मध्येका ठाकुर प्रसाद चाचान बीच ०२० सालमा भएको बण्डठा पत्र र यिनै प्रतिवादीहरु बीच भएको मिति ०३०।३।१९ को बण्डा पत्र समेतलाई आधार लिई गरेको देखिन आएकोले उक्त कार्यालयको निर्णय बदर हुने अवस्थाको विद्यमानता नदेखिँदा वादी दावी पुग्न सक्दैन भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति ०४८।३।३० गतेको फैसला ।
६. शुरु पर्सा जिल्ला अदालतको मिति ०४८।३।३० गतेको फैसलाले वादी दावी पुग्न नसक्ने गरी भए गरेको इन्साफ कानूनी त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मेरो फिराद दावी अनुसारको अर्को इन्साफ गरी पाउँ भन्ने पुनरावेदक वादीहरुको पु.वे.अ. हेटौडामा परेको पुनरावेदन पत्र ।
७. यसमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा (५)(ख) को परिधि भित्र रही विरगन्ज नापी कार्यालयले २०४७।४।३ मा गरेको निर्णय बदर हुने अवस्थाको विद्यमानता नदेखिँदा वादी दावी पुग्न सक्दैन भनी पर्सा जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैनन भन्ने समेतको पुनरावेदन अदालत हेटौडाको फैसला ।
८. मिति २०२०।३।२८ को बण्डा पत्रमा हाम्रो वाबु मदनलालको अंश भागमा विवादित घर जग्गा मध्ये तेश्रो तल्लाको घर जग्गा ०–०–६ धुर परेको र अर्को अंशियार प्रतिवादी वनवारीलाल चाचानको भागमा पहिलो तल्लाको घर र ०–०–६ धुर परेको कुरा वण्डा पत्रमा स्पष्ट शब्दमा उल्लेख भएको छ । ऐ. बण्डा पत्रमा प्रतिवादी ठाकूर प्रसादको अंश भागमा भुई तल्ला घर र भुई तल्ला बाटो बाहेकको सम्पूर्ण जग्गा परेको कुरा कहि कतै उललेख भएको पाइदैन । त्यस्ता कुरालाई आधार बनाई तथ्य विपरित तथा सम्पूर्ण लिखतको व्यहोरा मनन नगरी सम्पूर्ण जग्गामा प्रतिवादी ठाकुर प्रसादको हक ठहर गरी भएको पुनरावेदन अदालत हेटौडाको त्रुटिपूर्ण फैसला बदर गरी न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन वादीहरुको निवेदन पत्र ।
९. यसमा समुच्चा घर जग्गा प्रतिवादीहरुको नाममा अस्थायी दर्ता गर्ने गरेको सदर गरेको निर्णय नाप जाँच ऐन २०१९ को दफा ७(१)८ (क) र प्रमाण ऐन २०३१ को दफा ५४ विपरित भै न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) को अवस्था विद्यमान देखिँदा दोहोर्याउने निस्सा प्रदान गरि दिएको छ भन्ने समेतको यस अदालत सयुक्त इजलासको मिति २०५३।१०।४ को आदेश ।
१०. नियमबमोजिम पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता श्री कमल नारायण दास र बरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले २०२०।३।२८ मा भएको बण्डापत्र राम्ररी हेरिनु पर्दछ । सो बण्डा पत्र बमोजिम मेरो पक्षको नाउँमा केबल घरको तल्ला मात्र दर्ता भयो तर जग्गा दर्ता भएको छैन । ०–१–० भित्र बनेको भुइतल्ला समेतको जम्मै घर जग्गा मध्ये बण्डापत्रले केबल ०–०–८ जग्गा मात्र प्रतिवादी ठाकुर प्रसादलाई दिने भनिएको हो सो भन्दा बढी जग्गामा निजको हक लाग्ने होइन । सो भन्दा बढी जग्गा दर्ता गरिएको कायम हुन सक्ने होइन । मेरो पक्ष नापीमा जाँदा नापीले निवेदकहरुले जग्गामा समेत बण्डा हुनु पर्ने भनि गरेको दावी निराधार देखिएको हुँदा फिल्डबुक, सुर्जमिन, नाप नक्सा भै आए बमोजिम जग्गा धनी यथावत कायम राखी जग्गा प्रतिवादीका नाउँमा दर्ता गर्ने गरेको नापीको निर्णय मिलेको छैन र नापीकै निर्णयलाई सदर गर्ने गरेको शुरुको र पुनरावेदन अदालतको त्रुटिपूर्ण निर्णय बदर गरी मेरो पक्षलाई न्याय प्रदान होस भन्ने समेतको र प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापा तथा बरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले २०२०।३।२८ को बण्डा पत्र मदनलाल र वनवारीलाल बीच भएको र सो बण्डा पत्रले कसरी बण्डा गरेको रहेछ भनि हेर्दा कि.नं. १११ को भुईतल्लाको जम्मै घरकोठाहरु समेत भएको जग्गा विगाहा ०–१–० मध्ये ०–०–८ जग्गा ठाकुर प्रसादको भागमा परेको र बनवारी लालको भागमा दोश्रो तल्ला र ०–०–६ जग्गा तथा मदनलालको भागमा तेश्रो तल्ला र ०–०–०–६ जग्गा परेको र सोही बण्डापत्रकै आधारमा ०३३।३।२८ मा मदनलाल र निजका छोराहरु बीचमा बण्डापत्र भैसकेको छ र मदनलाल जीवित अवस्थामा नै भएकोले ०२० सालको बण्डा पत्र बमोजिम गरी पाउँ भनि निजको फिराद दावी छैन । समुच्चा जग्गामा घर बनेको छ र जग्गा प्रतिवादीको नाउँमा अस्थायी दर्ता भएको छ । त्यसकारण हदम्याद एवं हकदैयाको अभावमा दर्ता हुन आएको प्रस्तुत पुनरावेदन खारेज गरी शुरुको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ सदर हुनुपर्दछ भनि गर्नु भएको बहस जिकिर समेत सुनि पुनरावेदन सहितको मिसिल अध्ययन गरी शुरुले वादी दावी पुग्न नसक्ने ठहराई गरेको इन्साफलाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेको छ, छैन ? पुनरावेदन वादीहरुको पुनरावेदन जिकिर पुग्ने नपुग्ने के हो ? सोही विषयमा निर्णय दिनु पर्ने हुन आएको छ ।
११. यसमा आज निर्णय सुनाउन तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा ओम प्रकाश, राधेश्याम, विनोद कुमार र वनवारी लालले हक भोग कायम गराई पाउँ भनि नापीमा निवेदन दिई कारवाही चलेकोमा २०२०।३।२८ को अंश बण्डा पत्र हेर्दा जग्गा वाँडफाँड नगरी तल्ला तल्ला नै अंशवण्डा भएका भनि फिल्डबुक सर्जीमिनबाट नाप नक्सा भई आए बमोजिम जग्गाधनी यथावत कायम राखी तल्ला तल्लाको उत्तरतर्फ भएको बाटो सवै तल्लावालाले प्रयोग गर्न पाउने समेत व्यहोरा जनाई नापनक्सा भई आएको व्यक्तिको नाममा अस्थायी दर्ता गरी दिने गरी निर्णय गरी दिया भन्ने व्यहोराको विरगन्ज नापी कार्यालयबाट मिति २०४७।४।३ मा निर्णय भई सो उपर निर्णय बदर गरी पाउँ भनी प्रस्तुत फिराद पर्न आएको देखियो ।
१२. सुरज मल चाचानका छोराहरु मदन लाल, ठाकुर प्रसाद र वनवारी लालको बीचमा २०२०।३।२८ मा बण्डापत्र भएको देखिन्छ । सो बण्डा पत्र अनुसार विवादको ०–१–० जग्गा मध्ये ०–०–१८ धुरमा भएको तीन तले घरमा माथिल्लो तल्ला वादीहरुको पिता मदन लालको भागमा माझेको तल्ला बनवारी लालका भागमा र भुई तल्ला प्रतिवादी ठाकुर प्रसादको भागमा पर्ने गरी सो ०–०–१८ धुर जग्गा मधये ०–०–६ धुरका दरले तीन वटै दाजुभाईको भागमा पर्ने देखाई वाँकी रहेको घर बाहेकको ०–०–२ धुर जग्गा ठाकुर प्रसादको हकभोगमा रहने जनाई बण्डापत्र भएको देखिन आउँछ । घर बाहेकको ०–०–२ धुर जग्गा सो बण्डापत्रले ठाकुर प्रसादको हकभोगमा पर्ने भएपछि सोही नाताले नरवढी भएको जग्गामा समेत अरु भाईको हक हुने अवस्था देखिँदैन सो ०–०–२ धुर र नभबढी जग्गामा समेत ठाकुर प्रसादकै हकभोग हुने देखिन्छ । मिति २०२०।३।२८ को बण्डापत्रमा बण्डा गर्ने अंशियारको उजुर परेको समेत देखिँदैन । बण्डा पाउने पिताको दावी उजुर नभई छोराको उजुरीबाट सो बण्डापत्रको औचित्यमा विचार गर्नुपर्ने अवस्था समेत देखिन आउँदैन । सोही बण्डापत्रबाट हक प्राप्त गरेको आधार लिई वादीहरुले आफ्नो बीचमा २०३३।३।२६ मा बण्डा गरेको समेत देखिन आउँछ । सोही २०२०।३।२८ को बण्डापत्रको आधार लिर्इ प्रतिवादी ठाकुर प्रसादका छारा श्रीमतीका बीच २०३०।१२।२३ मा बण्डा पत्र भएको समेत देखिन आउँछ । यसबाट २०२०।३।२८ मा भएको मूल बण्डापत्रलाई अन्यथा गर्न मिल्ने अवस्था देखिन आउँदैन । तर सो बण्डापत्रबाट बादीको पिताले माथिल्लो तल्लाको सम्पूर्ण कोठाहरु र ०–०–६ धुर जग्गा प्राप्त गरेको र सोही आधारमा वादीहरुले २०३३।३।२६ मा बण्डा गरेको भन्न मिल्ने अवस्था देखिन आउँदैन । तर ०–०–६ धुर जग्गा उल्लेख गरे पनि कुन तर्फबाट हो सो कुरा बण्डापत्रमा उललेख भएको नदेखिएको । वादीका पिता मदन लालले माथिल्लो तलाको जम्मे कोठाहरु र प्र. ठाकुर प्रसादले भूईतल्लाको जन्मै कोठाहरुको हक प्राप्त गर्ने गरी २०२०।३।२८ मा बण्डा पत्र भएको र हक प्राप्त गर्नेले भोग गर्न भोग कायम राख्न समेत पाउने भई फलस्वरुप विग्रदा भत्कदा मर्मत निर्माण गर्न पाउने भए पनि ०–०–१८ धुर पुरै जग्गामा घर अवस्थित रहेको र बण्डा पत्रमा ०–०–६ धुरका दरले जग्गा उल्लेख गरेकोमा कुन तर्फबाट कसको हक पुग्ने हो सो बण्डापत्रमा उल्लेख नगरिएकोले बादी तर्फबाट सो बण्डा पत्रबाट हक प्राप्त गरेको ०–०–६ धुर जग्गामा सवै अंशियारको मन्जुरीले वाहेक तत्काल छुट्याई लिन पाउने अवस्था देखिँदैन । तर बण्डापत्रबाट हक प्राप्त गरेको तला र जग्गाको दर्ता नामसारी गराउन नपाउने भन्न पनि मिल्दैन । वादीको हकको श्रोत उक्र २०२०।३।२८ को बण्डापत्र हुँदा सो मा उल्लेख भएको वादी तर्फको भागको घर जग्गाको सम्बन्धमा सोही २०२०।३।२८ को बण्डा पत्रमा उल्लेख भएको व्यहोरा जनाई वादीले दर्ता गराउन पाउने भनी निर्णय गर्नुपर्नेमा अन्यथा हुने गरी निर्णय गरेको देखिँदा सो हदसम्म विरगन्ज नापी कार्यालयको मिति २०४७।४।३ को निर्णय बदर हुन्छ । दावी नपुग्ने ठहर्याएको शुरु पर्सा जिल्ला अदालतको इन्साफ सदर गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ केही उल्टी हुन्छ । अरु तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम २०२०।३।२८ को बण्डा पत्रमा उल्लेख भएको व्यहोरा जनाई वादीले दर्ता गराउन पाउने भनि निर्णय गर्नुपर्नेमा अन्यथा हुने गरी निर्णय गरेको देखिदा सो हदसम्म विरगन्ज नापी कार्यालयको मिति २०४७।४।३ को निर्णय बदर भै शुरुले वादी दावी नपुग्ने ठहर्याएको इन्साफलाई सदर गर्ने गरेको पुनरावेदन अदालत हेटौडाको इन्साफ केही उल्टी हुने ठहरी फैसला भएकोले सो को जानकारी सम्बन्धित कार्यालयमा दिनु भनी शुरुमा लेखि पठाउनु ............. १
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरुको सदर गरेको पुनरावेदन अदालतको इन्साफ केही उल्टी भएकोले वादीले फिराद गर्दा शुरु जिल्ला अदालतमा राखेको कोर्ट फि रु ३२०। मध्ये दामासाहीले पर्ने रु ७२।१८ र पुनरावेदन गर्दाको सयकडा १५ ले हुने रु १०।८३ समेत जम्मा ८३।०१ पैसा वादीले प्रतिवादीबाट भरी पाउने हुँदा भराई पाउँ भनी प्रतिवादीको जेथा देखाई कानूनको म्यादभित्र दरखास्त परे वादीलाई भराई दिनु भनि शुरुमा लगत दिनु .....१
मिसिल नियमबमोजिम गरी बुझाई दिनु ...... १
उक्त रायमा म सहमत छु ।
न्या. हरिश्चन्द्रप्रसाद उपाध्याय
इति सम्बत् २०५४ साल चैत्र २८ गते रोज ३ शुभम् ।