शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५७४ - अंश दर्ता चलान

भाग: ४० साल: २०५५ महिना: कार्तिक अंक:

निर्णय नं. ६५७४          ने.का.प. २०५५            अङ्क ७

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा

माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा

सम्बत २०५२ सालको दे.पु.नं. २७१६, २७५३

फैसला मिति : २०५४।१२।१८।३

 

मुद्दा : अंश दर्ता चलान ।

पुनरावेदक/वादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३ कुरिनटार बस्ने देव कुमारी सिलवाल मरी मुद्दा सकार गर्ने ऐ. ऐ. बस्ने पदमराज सिलवाल समेत ३ ।

विरुद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वडा नं. ३ बस्ने चिरन्जिवी प्रसाद सिलवाल समेत २ ।

पुनरावेदक/प्रतिवादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३ कुरिनटार बस्ने चिरन्जिवी प्रसाद सिलवाल समेत २ ।

विरुद्ध

प्रत्यर्थी/वादी : जिल्ला चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३ बस्ने टोम प्रसाद सिलवाल समेत ३।

 

§  वादीलाई उपरोक्त ४२ कित्ताको पैतृक सम्पत्तिबाट ४ खण्डको २ खण्ड अंश छुट्याई चलन चलाई दिनु पर्नेमा अन्यथा गरेको पुनरावेदन अदालत हेटौडाको फैसला नमिलेकोले केही उल्टी हुन्छ । कि.नं. ८२ को हकमा फिराद दावी नगरी पुनरावेदनमा मात्र जिकिर लिएकोमा मूल दाविमा पछि आएर दावी संशोधन गर्न वा थपघत गर्न नमिल्ने हुँदा सो कित्ताको हकमा सम्म दावी नपुग्ने ठहर गरेको पुरनवेदन अदालतको निर्णय मनासिव ठहर्ने ।

                                                                                                                                            (प्र.नं. २१)

 

पुनरावेदक वादी तर्फबाट : विद्वान बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री वालमुकुन्द श्रेष्ठ

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता द्वय श्री शम्भु थापा तथा हरिप्रसाद उप्रेती

अवलम्बित नजिर : x

 

फैसला

न्या. हरिप्रसाद शर्मा : पुनरावेदन अदालत हेटौडाको मिति २०५२।२।१४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्गर्तत पर्न आएको पुनरावेदन सहित प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।

२. वादी नेत्र कुमारी सिलवाल प्रतिवादी हामी फिरादी र विपक्षी चिरन्जिवी प्रसाद, पदम प्रसाद सिलवाल समेत भएको अंश चलन मुद्दामा वादी र हामी प्रतिवादीहरु एकासगोलको ठहर भै श्री मध्यमान्चल क्षेत्रीय अदालत समेतबाट फैसला भै सो फैसला बमोजिम नेत्र कुमारी सिलवालले ६ खण्डको १ खण्ड छुट्याई लिएको । २०२७ सालमा खटिएको ५ नं. नापी टोलीले नेत्र कुमारी र टोम प्रसाद समेतको झगडा भनि फिल्डबुकमा झगडा जनाई दर्ता नगरिएको । हामी प्रतिवादीहरु एकसगोलबाट घर व्यवहार संचालन गरी यथावत रह्यौ बस्यौं भाउजु नेत्र कुमारीबाट अंश मुद्दा दायर भए पश्चात हामी प्रतिवादीहरुको एकासगोलमा रहे बसेको अवस्था अंशियार प्र. जुमुना देवी सिलवालको २०३१।५।१५ गते कालगतिबाट परलोक भयो । वहाँको अंश भाग छुट्याउनु नपर्ने हुँदा भाउजु नेत्र कुमारीले अंश लिए पछि वाँकी रहेको चल अचल श्रीसम्पत्ति बराबर चार अंश भाग लाग्ने भएकाले हामीले चार भाग लगाई २०३५।११।१५ गतेका दिन घरसारमा अंशबण्डा गरी चल अचल धनमाल हातहातै लिई दिई गयौं । अचल सम्पत्ति पनि चार बण्डा लगायौं । चिरन्जिवी प्रसाद सिलवाल र पदम प्रसाद सिलवाल बेगल बेगल बसे हामी फिरादी समेत आमा छोरा हुँदा विपक्षीहरु संग उक्त ०३५ साल फाल्गुण १५ गतेको दिन देखि मानो चामल वेगल गरी एकासगोलमा रह्यौं बस्यौं अद्यापी एकासगोलमा छौं । यसरी नापीमा झगडा जनिएकोले घर व्यवहार समेत चलाउन विभिन्न अडचन आई पर्ने भएबाट झगडा जनिएको जग्गा छुट्याई आआफ्नो नाउँमा प्रमाणपूर्जा लिउँ भनि कुरा गर्दा आलटाल गर्दै ०४६।७।५ गतेका दिन हामी दर्ता गर्दैनौ जे गर्ने गर भनि जवाफ दिएकाले फिराद गर्न आएका छौं । हामीहरुको हकभोगको जग्गालाई ५ नं. को डोरको द.नं. ७७ को मिति ०२७।३।२६ को दर्खास्त तोक बमोजिम नेत्र कुमारीको र टोम प्रसाद समेतको झगडिया भनि जनिएको जग्गाहरुबाट भाउजु नेत्र कुमारी सिलवालले आफ्नो भागमा परेको ६ भागको एक भाग छुट्याई दर्ता गराइ दिनु भएको हुँदा  वाँकी रहन गएको जग्गालार्इ बराबर चार चार बण्डा लगाई हामी दुई जना फिरादीको अंश भागमा पर्न आउने मोल रु ६०००। मोलिने दुई बण्डा जग्गा अंश भागमा छुट्याई सो अंशका जग्गाहरु दर्ता गर्न पाउने गरी अदालतबाट चलन चलाई पाउँ भन्ने समेत व्यहोराको फिराद पत्र ।

३. फिराद दावी झुठा हो । कानूनले फिराद दिंदा कुन कानून अन्तरगतको दावी हो, सो खुलाउन पर्ने अप्रासंगिक कानून देखाई गरेको फिराद अंचल तथा जि.अ.नि. २०३४ को नियम २३ को खण्ड (ङ)(ज)(ट) समेतको विपरीत हुँदा समेत खारेज हुनुपर्दछ खारेज गरी पाउँ । साँचो व्यहोरा के हो भने बाजे गुणनिधिका ८ छोरामा कलानिधिको श्रीमती विधवा हाम्री साहिली आमा अम्बर कुमारी हाम्रो पिता नेत्र प्रसाद एका पट्टि बस्ने गरी सवै जनना वि.सं. २००० साल अगावै छुट्टि भिन्न नै बस्नु भएको र हाम्रो पिता नेत्र प्रसाद वि.सं. २०२१ साल कार्तिकमा स्वर्गवास हुनु भएको । हाम्रो जन्मदाता आमा जमुना देवि फिराद लेख बमोजिम २०३१ सालमा स्वर्गवास हुनु भएको नभै २०३४ साल आषाढ ७ गते स्वर्गवास हुनु भएको हो । सवै परिवार सगोमा बस्दा किचकिच परेकोले नेत्र कुमारीको अनुपस्थितिमा भर भलादमी राखी हामी अंशियारा प्रत्येकको लागि अंश छुट्याई चलनको बण्डा बुझेको भरपाई छुट्टै र अचलको हकमा समेत २०२०।९।२१ मा अंशबण्डा भई छुट्टि बसेपछि पिता स्वर्गबास हुँदा हामी दुर्इ भाई चिरन्जिवी, पदमप्रसादले खर्च लगाई काजकिरीया गर्यौं । म चिरन्जिवविसंग साहिलो आमा अमर कुमारी र पिता नेत्र प्रसाद स्वर्गवास हुन भएपछि दुवै आँखा नदेख्ने अन्धो आमा जमुना देवी म पदम प्रसादसंग अंश मिसाई बस्नु भएको वहाँहरुको हेर विचार विरामी पर्दा उपचार गराउने समेत गरी स्वर्गवास भएपछि खर्च लगाई काजकिरीया गरेको हुनाले वहाँहरुको अंश अपुताली स्वतः हक लाग्ने सम्पत्ति भोगी आएका छौं । म पदम प्रसाद र चिरन्जिवि प्रसादले यसरी छुट्टी बस्दा उद्योग धन्धामा समेत वाधा पर्ने भएबाट एकै सगोलमा बसौं भन्ने सल्लाह भै २०२६।१।१ गतेबाट सवैले एकै ठाउँमा खानपिन गरयौं । सोही हुँदा नेत्र कुमारीले फिराद दिँदा हामी सगोलमा छौ भनि प्रतिउत्तर दिएकोमा निजले अंश पाउने ठहरेकोमा कुनै जग्गाको कतातिरबाट कति पर्ने हो । अनिश्चित भएको कारण हामीहरुको जग्गा नाप जाँचको श्रेस्तामा झगडा जनाईपाउ भनि वादी मध्येका टोम प्रसाद र म पदक प्रसादले सवै व्यहोरा खोली ०२७।३।२६ मा ३ नं. नापी गोश्वरामा निवेदन दियौं । दाजुभाईको मेल मिलाप भएपनि सगोलमा बस्दा आमा र हामी श्रीमतीहरुको मन मुटाव भै अशान्तिको रुप लिएकोले संगै बस्न ठीक भएन भनि २०२७ सालको आश्विन महिनामा पूर्ववत अलग भै साविकै बण्डा बमोजिम जग्गा भोग गरी आएको ०२७ साल अगावै चितवन दारचोक गा.पं. वार्ड नं. ३ बस्ने होम बहादुर राना मगरलाई घरसारको राजिनामा गरी विक्री गरी दिनु भएको छ भने कि.नं. १४५ को जग्गामा हाल पृथ्वी राजमार्ग पुनः निर्माण एवं विस्तार गर्ने बृटिस क्याम्प बसेको छ । उक्त घरसुारको बण्डापत्र बमोजिम तत्कालिन तालुकदार जि.मु.ले आफ्नो श्रेस्ता मिलाई (दा.खा. गरी) अंशियारलाई छुट्टाछुट्टै रसिद गरी दिएका छन् । सोही आधारले भूमि सम्बन्धी ऐन, अन्तरगत २०२१ सालमा हामीले मात्र होइन वादीले पनि आफ्नो भाग जगगा विवरण १ नं. फारम र ७ नं. फारम भू.सु.का. मा पेश गर्नु भएको छ । कि.नं. ३६५ को जग्गा मध्ये निज टोम प्रसादको भाग दर्ता भएपछि म पदम प्रसादलाई राजिनामा पास गरी दिने शर्तको ०४६।५।३ मा कागज गरी दिनु भएकोबाट समेत विपक्षीहरु र हामीहरु एका सगोल नभै छुट्टि अंश लिई तिरो तिरान भोग चलन गरी आफ्नो व्यवहार अलग गरी आएको हुँदा मुलुकी ऐन, अंशवण्डाको महलको ३० नं. ले सगोलको नठहर्ने भन्ने कैयौ सिद्धान्त प्रतिपादन भएका छन सो हुँदा अंश दिनु पर्ने छैन भन्ने समेत व्यहोराको प्रतिउत्रर पत्र ।

४. वादी देव कुमारी सिलवाल आफ्ना कालगतिले स्वर्गवास भएबाट वहाँको हमा मुद्दा सकार गरी पाउँ भनी मिति ०४६।१०।११ मा निवेदन दिई पदम राज सिलवाल १ , रिसीराम सिलवाल १ समेतले मुद्दा सकार गरेको ।

५. यिनै वादी प्रतिवादीले प्रमाण खण्डमा उल्लेख गरेको अंश मुद्दाको प्रमाण सिसिल श्री सर्वोच्च अदालतमा चलान भै गएको देखिएकोले प्राप्त हुन आएपछि जगाई कार्यवाही किनारा गर्ने गरी मुलतवी राख्नु भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको मिति ०४७।३।३१ मा भएको आदेश ।

६. प्रमाण मिसिल प्राप्त हुन आएकोले प्रस्तुत मुद्दा मुलतवीबाट जगाई देवानी डायरीमा दर्ता गरी अदालतमा चलान भै गएको देखिएकोले प्राप्त हुन आएपछि जगाई कार्यवाही किनारा गर्ने गरी मुल्तवी रहेको अवस्था हाजिर रहेको पक्ष विपक्षलाई म्याद दी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको मिति ०४७।११।१२ को आदेश ।

७. अंशियार कति भन्ने कुरा ०३५।२।११ को क्षेत्रीय अदालतको फैसला समेतबाट देखिएको । त्यसमध्ये १ अंशियार नेत्र कुमारीले वादी मध्येका टोम प्रसादका नाउँमा वाँकी भएको ४२ कित्ता जग्गाबाट अंश छुट्याई लिएको । त्यसै मध्येबाट अंश छुट्याई वाँकी रहेको ५ अंश मध्ये २ अंश वादीहरुले छुट्याई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको शुरु चितवन जिल्ला अदालतको मिति ०४८।५।३ को फैसला ।

८. शुरुको फैसलामा चित्त बुझेन भन्न समेत व्यहोराको वादी पदमराज सिलवाल समेतको पुनरावेदन अदालत हेटौंडामा परेको मिति ०४८।६।२० को पुनरावेदन पत्र ।

९. शुरुको फैसला चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादी चिरन्जिवी प्रसाद सिलवाल समेतको पुनरावेदन अदालत हेटौंडामा परेको मिति ०४८।७।६ को पुनरावेदन पत्र ।

१०. वादीको फिराद दावी हेर्दा जम्मा ६ अंशियार भएकोमा एक अंशियार नेत्र कुमारीले आफ्नो अंश लिई सकेपछि वाँकी रहेको ५ अंशियार मध्येको जमुना देवी परलोक भएको हुनाले जम्मा चार अंशियार कायम रही भएको चल अचल सम्पत्ति ०३५।११।१५ मा चार भाग लगाई सो मध्ये हामीले दुई भाग अंश पाई अलग व्यवहार गर्दै आएकोमा सो भोग व्यवहारको अंशको जग्गाहरु आआफ्ना नाममा दर्ता गरी लिउँ भनि भन्दा प्रतिवादीहरुले दर्ता गर्न इन्कार गरेको हुँदा आफ्नो अंश भागको फिरादमा उल्लेखित सम्पत्ति जग्गाहरुबाट चार भागको दुई भाग अंश आफ्ना नाममा दर्ता गराई पाउँ भनि दावि गरेको वादी अ्रतिवादीहरुका बीच मानु छुट्टीएको मिति यकिन गरी रहन परेन । साथै वादी प्रतिवादीहरुसंग तायदाती माग गर्नुपर्ने समेत अवस्था विद्यमान रहेको नभई केवल वादीहरुले पाउनु पर्ने अंश भाग ४ भागको दुई भाग बुझिलिई भोग व्यवहार गर्दै आएकोमा जग्गा आफ्ना नाउँमा नहुँदा विक्री व्यवहार चलाउन कठिनाई परि आआफ्ना नाउँमा जग्गाको दर्ता श्रेस्ता समेत कायम गराउन प्रतिवादीहरुलाई भन्दा प्रतिवादीहरुले नमानेको भनि अंशवण्डाको ३५ नं. र जग्गा पजनीको २ क नं. अन्तर्गतले दावी गरेको वादीहरुले प्रतिवादहिरुबाट कानूनले पाउनु पर्ने ४ खण्डको दुई खण्ड अंश पाउनु पर्ने र दर्ता नामसारी समेत गराउन पाउने अंशियार देखिन आउँछ । यसको अतिरिक्त वादीको फिराद लेखबाटै अंशवण्डाको २०, २१, २२ र २३ नं. बमोजिम प्रतिवादीबाट बण्डा गर्नुपर्ने सम्पत्तिको तायदाती लिई आफ्नो अंशबण्डा छुट्याई पाउँ भन्ने वादी दावी नभई केबल अंशबण्डाको ३५ नं. बमोजिमको दुर्इ भाग जग्गाहरु अंश भागमा छुट्याई सो जग्गाहरु आफ्नो नाममा दर्ता गर्न पाउने गरी इन्साफ गरी पाउँ भनि बण्डा गर्न पर्ने जति सम्पत्तिको जग्गाको विवरण समेत खोली सो जग्गाको मोल अनुसारको कोर्ट फि समेत दाखिल गरी फिराद पत्र दायर गरेको देखिँदा यस्तो स्थितिमा तायदाती माग गरी बण्डा गर्नुपर्ने अवस्था पनि परेन । तसर्थ फिल्डबुकमा उललेख गरेको जम्मा ६१ वटा कित्ताका जग्गाहरुबाट मात्र वादीले ४ भागको दुई भाग छुट्याई लिन पाउने देखिन्छ । वादी दावी नभएको कि.नं. ८२ को ज.वि. १११५३ को जग्गामा वादी दावी पुग्न सक्ने देखिएन ।

११. फिराद दावी बमोजिमको जग्गाहरुबाट चार भागको दुई भाग अंश छुट्याई फिरादीहरुलाई दिलाई दिनु पर्नेमा ५ भागको दुई भाग मात्र पाउने ठहर्‍याएको शुरुको फैसला केही उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत हेटौंडाको मिति ०५२।२।१४ को फैसला।

१२. उल्लेखित फैसलाको धेरै कुरालाई म स्वीकार गर्दछु । तर वादी बमोजिम जग्गामा हक पुग्छ भन्दैमा हुने होइन । चार किल्ला राखी कता तर्फबाट हक हुने हो सो पनि निर्माण हुनु पर्ने हो । दावी अनुसार फैसला भएपनि अन्य घर तथा सम्पत्तिका हकमा अंश बढठा तर्फ पछि फिराद गर्न सकिने भएपनि दर्ताको जग्गाको हकमा अदालतलाई अवगत गराए तर्फ दावी नै नभएको भन्न नहुने भएपनि पुनः अनुरोध गर्दछु र आवश्यक परेमा कानून बमोजिम गर्ने अधिकार कायम नै छ । यस तर्फ पनि विचार गर्न पर्ने हो भन्ने समेत व्यहोराको वादी टोम प्रसाद समेतको यस अदालतमा परेको संयुक्त पुनरावेदन पत्र ।

१३. कि.नं. ८२ को जग्गामा दावी नपुग्ने भनि ठहराएको हद सम्मको फैसलामा चित्त बुझेकै हुँदा त्यसतर्फ जिकिर लिन परेन । तर अम्बर कुमारीले अघिबाट अंश पाएकी भन्ने लिखत प्रमाण नभएको भनि ठहर गर्न मिल्दैन । मिति २०२९।४।२२ को चितवन जिल्ला अदालतको फैसला तथा मध्यमान्चल क्षेत्रीय अदालतको  २०३४।२।११ गतेको फैसलाहरुको प्रतिकूल हुने गरी भएको पुनरावेदन अदालत हेटौडाको फैसला बदर भागी छ । कानून बमोजिम आफ्ना अंश हक भोग लिई पाई भिन्न भई सक्नु भएको अम्बर कुमारीलाई सगोलमा अंशियार ठहर गरी र निज परलोक भइसकेको हुँदा निजको २० कित्ता जग्गा समेत वादी प्रतिवादी विचखण्डा हुने सम्पत्ति हो भनि ठहर गरेको फैसला अंशबण्डाको, , ३ र ५ नं. तथा न्याय प्रशासन ऐन, २०४८ को दफा १ढ समेत प्रतिकूल हुँदा बदर भागी छ । विपक्षी वादी र म पदम प्रसाद समेतको नापी गोश्वरामा दिएको संयुक्त, निवेदन पत्रमा अम्बर कुमारीको २० कित्ता समेत विपक्षी वादी र हामी समेतको अंश लाग्ने सगोलको जग्गा हो भनि लेखिएको छैन । नेत्र कुमारी संगको अंश मुद्दाको प्रतिउत्तरमा उल्लेखित व्यहोरा सम्म सो निवेदन पत्रमा उधृत भएको छ । अम्बर कुमारीको मृत्यु पश्चात अपुतालीको २ नं. ले चिरन्जिवीको हक पक्का भएको भनि विपक्षी वादी र हामी समेतले दिएको संयुक्त प्रतिउत्तर पत्रमा प्रष्ट उल्लेख छ । अम्बर कुमारीको अंश म चिरन्जिवीको जिम्मामा राखी म संग बसेको हुन भन्ने कुरा उक्र प्रतिउत्तरबाट पुष्टि भै राखेको हुँदा हुँदै पनि लिखत प्रमाण नभएको भनि ठहर्‍याएको फैसला कानूनसंगत छैन । प्रमाण ऐन, २०३१ को दफा ४(१) (क) दफा ९(३) र ३४ को प्रत्यक्ष त्रुटी भएको छ । पिता नेत्र प्रसाद कै जिवनकालमा अचल सम्पत्ति ३ भाग लगाई विपक्षी वादी टो प्रसाद र देव कुमारीका एक भाग म पदम प्रसाद र जमुना देवी एक भाग म चिरन्जिवी प्रसाद पिता नेत्र प्रसाद र भाउजु नेत्र कुमारी एक भाग गरी र निज नेत्र कुमारी माइतीघरमा नै बसी आएकीले निजको भाग अंश पिता नेत्र प्रसाद कै जिममा रहने गरी २०२०।९।२१ गतेमा घरसारमा रितपूर्वक अंशवण्डाको लिखत र भरपाई कागज भएको छ । यसरी टोम प्रसाद र देव कुमारीको १ भाग भनि अंश छुट्याई सकेको अवस्थामा पुनः ४ भागको २ भाग विपक्षीहरुले अंश छुट्याई लिन पाउने भनी ठहर गर्न मिल्दैन । उल्लेखित फैसलामा अंशबण्डाको ३० नं. अ.बं. १८४(क) र १८५ नं. को विपरीत भई बदरभागी छ । नेत्र कुमारीले ४२ कित्ताबाट मात्र अंश पाउने कुरालाई स्वीकार गरी २०५२।४।२१ र २०५२।३।११ मा मिलापत्र भएको छ । अम्बर कुमारीको २० कित्ता जग्गा थियो र आफूखुशी विक्री व्यवहार गरी रहेको स्पष्ट छ । यसरी उल्लेखित आधार प्रमाणबाट विपक्षी टोम प्रसाद र निजको आमा देव कुमारीले २०२०।९।२१ को घरसारको बण्डापत्र बमोजिम पिताज्यू नेत्र प्रसादका अंशहरुको ४२ कित्ता जग्गा मध्ये ३ भागको १ भाग (अर्थात ६ खण्डको २ खण्ड) चितवन दारेचोक गा.वि.स. वार्ड नं. ३(क) को कि.नं. ८६, ९१, २९८, १८५, १७८, २१०, ३८१, २५३, , २०, ७२, १३(क्ष) को कि.नं. २१, ३५, ४२, ४९, ३(ख) को कि.नं. ३ र ३ .... को कि.नं. ५५ को पश्चिम तर्फ ३(क) को कि.नं. ८१ को दक्षिण तर्फ ३(क) कि.नं. ८४ को दक्षिण तर्फ ऐ. ३(क) को  कि.नं. ७३ उत्तरतर्फ ऐ.कि.नं. १४५ को पश्चिमतर्फ समेतमा (नेत्र कुमारीले अंश लिई वाँकी रहेको मात्र) ३ भागको १ मा २०२०।९।२१ मा अचल र चल सम्पत्ति बुझेको भरपाई समेतबाट अंश बुझि सकेको स्पष्ट हुँदा मानो समेत सोही मितिमा छुट्टि सकेको हुनाले पुनः अंश लगाउन नपर्ने हुँदा पुनरावेदन अदालत हेटौडाको फैसला बदर गरी न्याय पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी पदम प्रसाद सिलवाल समेतको यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन पत्र ।

१४. नियमबमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फका विद्वान बरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री वालमुकुन्द श्रेष्ठले वादी नेत्र कुमारी सिलवाल प्रतिवादी देव कुमारी सिलवाल, टोम प्रसाद सिलवाल समेत भएको अंश मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतबाट २०३४।२।११ मा फैसला हुँदा ६ खण्डको १ खण्ड वादीले अंश पाउने ठहरी २०३५ सालमा चलन पुर्जी पाई नापीमा झगडा जनिएको पुरै ६२ कित्तामा अंश बण्डाको १, , १०, १२, १५, ३५ र ज.प.को २क बमोजिम जमुनादेवी परलोक भै सकेको र अम्बर कुमारीले अंश पाई सकेकोले ४ भागको २ भाग अंश छुट्याउने गरेको पुनरावेदन अदालत हेटौडाको निर्णय सदर हुनुपर्छ तर कित्ता नं. ८२ को जग्गा सम्बन्धमा चित्त नबुझेकोले सो हदसम्म न्याय गरी पाउँ भन्ने प्रतिवादी तर्फका विद्वान अधिवक्ताहरु श्री शम्भु थापा, श्री हरि प्रसाद उप्रेतीले २०२० सालको अंशवण्डाको लिखतमा विवाद छैन । वादीले २०३५ सालको बण्डाको लिखत पनि देखाउन सकेको छैन । नेत्र कुमारीको अंश चलन मुद्दामा पदम प्रसादलाई जमुना देवीको सगोलमा रहेको जनाएको तर टोम प्रसादलाई नजनाएको र २०२० सालको बण्डा बमोजिम भूमि सुधारको ७ नं. फारम भरिएको र नापी गोश्वरामा सगोलको ४२ कित्ता र अम्बर कुमारीको २० कित्ता समेत उल्लेख भएको छ । साथै मध्यमान्चल क्षेत्रीय अदालतको फैसलाले समेत २०२० सालको बण्डापत्रलाई विवाद गरेको छैन । सो फैसलाले नेत्र कुमारीलाई ४२ कित्ताबाट अंश पाउने ठहर गरेको र अम्बर कुमारीले २०२९।४।२२ को अंश मुद्दाबाट निज अम्बर कुमारीले पहिले नै अंश प्राप्त गरेको फैसला अन्तिम रहेको छ । वादी नेत्र कुमारी भएको लुटपित मुद्दामा यस मुद्दाका वादी प्रतिवादीले दिएको संयुक्त प्रतिउत्रर पत्रमा अम्बर कुमारीको अंशको जग्गा चिरन्जिवी सिलवाल दर्ता भनी उल्लेख गरेकोले हाल बण्डा गर्नुपर्ने भन्न मिल्दैन । व्यवहार प्रमाणबाट बण्डा भैसकेको नामसारी दाखेल खारेज मात्र हुनुपर्ने प्रस्तुत मुद्दा हो । अम्बर कुमारीको अपुतालीको सम्बन्धमा प्रस्तुत मुद्दा होइन भनी बहस प्रस्तुत हुन आएको छ ।

१५. प्रस्तुत मुद्दामा दुवैपक्षको बहस सुनी निर्णय सुनाउन तोकिएको आजको पेशीमा मिसिल संलगन प्रमाण कागजातहरु अध्ययन गरी पुनरावेदन अदालत हेटौडाको निर्णय मिलेको छ, छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

१६. यसमा प्राप्त मिसिलबाट वादी टोम प्रसाद र देव कुमारी १ भाग, पदम प्रसाद र जमुना देवी १ भाग चिरन्जिवी प्रसाद, नेत्र प्रसाद र नेत्र कुमारीको १ भाग गरी ३ भाग लगाई नेत्र कुमारी माइती घरमा नै बसी आएकीले निजको अंश भाग नेत्र प्रसादकै जिम्मा रहने गरी २०२०।९।२१ मा घरसारमा अंशबण्डाको लिखत र भरपाईको कागज भएको छ ।

१७. वादी नेत्र कुमारीले २०३६।२।२६ मा जमुना देवी, चिरन्जिवी प्रसाद, पदम प्रसाद, देव कुमारी र टोम प्रसाद समेत ५ जना प्रतिवादी उपर अंश मुद्दा दायर गरेकोमा २०२८।१।१० मा तायदाती माग्ने आदेश भै २०२८।२।२५ मा मनाङ तथा लमजुङ जिल्ला अदालत मार्फत धादिङ जिल्ला अदालतमा नेत्र कुमारीले ४२ कित्ता जग्गाको फाँटवारी दिएको छ । चितवन जिल्ला अदालतको २०३२।८।८ को फैसलामा वादी अम्बर कुमारीले नेत्र कुमारी समेत उपर अंश मुद्दा दायर गरेकीमा धादिङ मालबाट प्राप्त भएको अम्बर कुमारीले पदम प्रसादलाई गरी दिएको २०१५।१०।६ मा पारित भएको शेषपछिको बक्सपत्रमा जेठाजु रुद्र प्रसादसंग बसेको भन्ने उल्लेखनबाट अम्बर कुमारीले अंश लिर्इ सकेको प्रष्ट देखिन्छ । तसर्थ नेत्र कुमारीले ६ खण्डको १ खण्ड पाउने ठहराई तपसिलमा ४२ कित्ता जग्गा उल्लेख भएकोमा मध्यमान्चल क्षेत्रीय अदालतले २०३४।२।११ मा सो फैसला सदर गरी २०३५।१०।१९।६ मा अंश छुट्याइएको मुचुल्का गरी २०३५।११।३ मा चितवन जिल्ला अदालतले मालपोट कार्यालय भरतपुरलाई चलन पुर्जी गरेको देखियो ।

१८. २०२७।३।२६ मा ३ नं. नापी गोश्वरा ५ नं. नापी टोलीमा टोम प्रसाद र पदम प्रसादले संयुक्त रुपमा दिएको निवेदनमा २० कित्ता अम्बर कुमारीको र वाँकी ४२ कित्ता समेत भएको भनी हालको नापीको कित्ता समेत खुलाई नेत्र कुमारी संगको अंश मुद्दामा झगडा जनाई पाउँ भन्ने व्यहोरा उल्लेख गरेको रहेछ ।

१९. मध्यमान्चल क्षेत्रीय अदालतबाट नेत्र कुमारी प्रतिवादी टोम प्रसाद समेत भएको २०३४।२।११ को फैसलाबाट ६ अंसियार कायम गरी १ अंशियार नेत्र कुमारीको बण्डा छुट्टिई सकेकोले वाँकी ५ अंश मध्ये २ अंश वादीहरुले छुट्याई लिन पाउने गरी चितवन जिल्ला अदालतले २०४८।५।३।२ मा गरेको फैसला केही उल्टी गरी पुनरावेदन अदालत हेटौडाले अंशियार मध्ये जमुना देवी परलोक भैसकेको हुँदा वादी दावी बमोजिम चार भागको दुई भाग अंश छुट्याई लिन पाउने गरी २०५२।२।१४।१ मा फैसला भएको देखियो ।

२०. यसरी उपरोक्त प्रमाण तथा कागजातहरुबाट २०२० सालको घरसारको बण्डापत्रलाई वादी नेत्र कुमारीको अंश मुद्दामा समेत मान्यता दिई अंशियारहरुको बीचमा मानो समेत छुट्टिई सकेको भूमि सुधारको १ नं. फारममा आआफ्नो परिवारको लगत मात्र भरीएको र ७ नं. फाँटवारी भर्दा आआफ्नो जग्गा देखाई तिरो समेत तिरेको रसिदहरुबाट देखिएको र लेनदेन सुक्री विक्री समेत बेग्लावेग्लै रुपमा गर्ने गरेको नापीमा जग्गा नाप जाँच गराई नेत्र कुमारी संगको अंश मुद्दामा झगडा जनाउन दरखास्त दिएको समेतबाट वादी प्रतिवादीहरुबाट तादाती समेत माग नगरी नेत्र कुमारी संगको अंश मुद्दाको फैसलामा देखिएको पैतृक सम्पत्ति र नापीमा झगडा जनाइएको चलन जग्गा समेतको आधारमा ४२ कित्ता जग्गाबाट १ अंशियारमा नेत्र कुमारीले अंश पाइसकेको हुँदा पनुः तायदाती माग्नै नपर्ने भन्ने शुरु जिल्ला अदालत र पुनरावेदन अदालत हेटौडाको निर्णयको निष्कर्ष रहेको देखियो । यस सम्बन्धमा ने.का.प. २०५० अंक १ पृष्ठ ५ को नि.नं. ४६७९ मिश्रीलाल शास कानु वि. मटुक प्रसाद कानु भएको अंश मुद्दामा चल सम्पत्ति बण्डा भएको खित पारित गर्नुपर्ने व्यवस्था नभएपनि घरसारको लिखत भए सो लिखत भएको तथ्यलाई दुवैपक्षले स्वीकार गरेको भए त्यसलाई मानो छुट्टिएको मिति मान्नु पर्ने सिद्धान्त पूर्ण इजलासबाट प्रतिपादित भएको पाइन्छ । प्रस्तुत मुद्दामा २०२०।९।२१ को लिखतमा चल अचल छुट्याउने कार्य गरी भरपाई समेत गरेको देखिएकोले मानो छुट्टिएको मिति २०२०।९।२१ को मितिले लिखतलाई मानी त्यस भन्दा अघिको अचल सम्पत्ति बण्डा गर्नुपर्ने हुन आउँछ ।

२१. साथै २०द्दठ।३।२६ को वादी टोम प्रसाद र प्रतिवादी पदम प्रसाद सिलवालको संयुक्त रुपमा ३ नं. नापी गोश्वरा ५ नं. नापी टोलीमा दिएको दरखास्तमा पिताको अंश आर्जनको ४२ कित्ता जग्गाहरुको हालको नापीको कित्ता नम्बर समेत उल्लेख भएको र वादी नेत्र कुमारी प्रतिवादी यिनै वादी टोम प्रसाद र प्र. पदम प्रसाद भएको अंश मुद्दामा प्राप्त तायदाती फाँटवारी ४२ कित्ता कै भएको र चितवन जिल्ला अदालतले सो मुद्दामा गरेको २०३२।८।८।२ को फैसला र मध्यमान्चल क्षेत्रीय अदालतले २०३४।२।११।३ मा गरेको फैसलाको तपसील खण्डमा ४२ कित्ता जग्गाबाट ६ खण्डको १ खण्ड अंश पाएपछि २०३५।१०।१९ मा अंश छुट्याई मुचुल्का खडा गरी २०३५।११।१।३ मा चलन पूर्जी गरी मालपोत कार्यालय भरतपुरलाई लेखी पठाई दिएकोबाट एक अंशियारले ४२ कित्ताबाट अंश पाएपछि अन्य अंशियारको हकमा पैतृक अचल सम्पत्ति सो ४२ कित्ता नै रहेको देखिएकोले वादीले ६२ कित्ता जग्गाबाट बण्डा छुट्याई पाउँ भन्ने जिकिर न्यायोचित र मनासिव देखिएन । अम्बर कुमारी सिलवालको २०२९।४।२२ को अंश मुद्दाको फैसला र चितवन जिल्ला अदालतको २०३२।८।८ को फैसलामा वादी अम्बर कुमारीले नेत्र कुमारी समेत उपर अंश मुद्दा दायर गरेकीमा अम्बर कुमारीले पदम प्रसादलाई २०१५।१०।६ मा पारित गरी दिएको शेषपछिको बक्सपत्रमा जेठाजु रुद्र प्रसाद समेतबाट अंश लिएको भन्ने देखिएको भनी निज अम्बर कुमारी सिलवालको अंश मुद्दामा उल्लेख भएको देखिएको र निजको अपुताली सम्बन्धमा प्रस्तुत मुद्दा परेको नदेखिँदा सो सम्बन्धमा प्रस्तुत मुद्दाबाट निर्णय गर्न मिलेन । सतर्थ उपरोक्त प्रमाणहरुबाट वादीलाई उपरोक्त ४२ कित्ताको पैतृक सम्पत्तिबाट ४ खण्डको २ खण्ड अंश छुट्याई चलन चलाई दिनुपर्नेमा अन्यथा गरेको पुनरावेदन अदालत हेटौडाको फैसला नमिलेकोले केही उल्टी हुन्छ । कि.नं. ८२ को हकमा फिराद दावी नगरी पुनरावेदनमा मात्र जिकिर लिएकोमा मूल दाविमा पछि आएर दावी संशोधन गर्न वा थपघट गर्न नमिल्ने हुँदा सो कित्ताको हकमा सम्म दावी नपुग्ने ठहर गरेको पुनरावेदन अदालतको निर्णय मनासिव ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदन अदालत हेटौडाको फैसलाको तपसिलको देहाय १ को लगत कट्टा गर्नु र चितवन जिल्ला अदालतको लगत बमोजिम नै गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उपयुक्त रायमा सहमत छु ।

 

न्या. कृष्ण कुमार बर्मा

 

इति सम्बत् २०५४ साल चैत्र १८ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु