निर्णय नं. ६६१० - चोरी

निर्णय नं. ६६१० ने. का. प. २०५५ अङ्क १०
संयुक्त इजलास
माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल
माननीय न्यायाधीश श्री केदार नाथ आचार्य
संवत् २०५१ सालको फौ. पु. नं......९२१
फैसला मितिः २०५४।७।१८।२
मुद्दाः चोरी ।
पुनरावेदक/वादीः राम बहादुर थापाको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः जिल्ला संखुवासभा वाला गा. वि. स. वडा नं. १ बस्ने बृष बहादुर राई समेत जना २
§ चोरी भएका सामानहरु प्रतिवादीहरु संगबाट बरावमद नभई अन्यत्र ठाउँबाट बरामद भएको देखिन्छ । चारीका सामान मिति २०४८।९।२६ मा वरामद भएको भन्ने वरामदी मुचुल्काबाट देखिन्छ भने प्रतिवादीहरु प्रहरी समक्ष २०४८।९।२८ मा सावित भएकोबाट उक्त साविति वरामदी मुचुल्काबाट पुष्टि भएको मान्न नमिल्ने ।
(प्र. नं. १६)
पुनरावेदक वादी तर्फबाटःविद्वान सरकारी अधिवक्ता श्री शंकर कुमार श्रेष्ठ
प्रत्यर्थी तर्फबाटःX
अवलम्वित नजिरः X
फैसला
न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत विराटनगरबाट मिति २०५०।९।२६ गतेमा भएको फैसला उपर चित्त नबुझी यस सर्वोच्च अदालतमा पुनरावेदनको रुपमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. सिसुवा खोला झोलुङ्गेपुल निर्माण कार्यका लागि लगिएको अटोलेभल मिसिन र थ्रेडालाईट मिसिन चोरी भएको हुँदा खोजतलास गरी पाउँ भन्ने हुलिया जाहेरी ।
३. क्याम्पदेखि अं. ५०० मि. पूर्व राम राईको खेत देखि दक्षिण भीरको संखुवाको रुखलेखि उत्तर पूर्व पश्चिम यति ४ किल्ला भित्रमा वाला गा. वि. स. वडा नं. १ मा पर्ने खाल्टो परेको जग्गा सो माथी झ्यास झुस थुपारी छोपेको हटाई हेर्दा अटोलेभल मिसिन थेडोलाइट मिसिन थान दुई फेला परेको भन्ने घटनास्थल एवं बरामदी मुचुल्का ।
४. मैले यस कार्यालयमा दिएके हुलिया जाहेरी अनुसारको मिसिनहरु इस कार्यालय झिकाई देखाउँदा देखे चिने हराएको सामानहरु यिनै हुन् पक्राउ भई आएका भक्त वहादुर राई, वृष वहादुर राई समेतले चोरी गरेकोमा मलाई विश्वास लाग्छ भन्ने जाहेरवाला राम वहादुर थापाले संखुवासभा जिल्ला अदालतमा गरी दिएको कागज ।
५. सिसुवा खोला झोलुङ्गे पुल निर्माणकोकार्यको अटोलेभल र थ्रेडोलाइट मिसिलहरु वृष वहादुर राई र मेरो सल्लाह अनुसार क्याम्प फोडि हामीले चोरी गिरी क्याम्प देखि केहिपर जंगलमा लुकाएको हो भन्ने समेत प्रतिवादी भक्त वहादुर राईले प्रहरि समक्ष गरेको साविति वयान कागज ।
६. भक्त वहादुर राई र म समेत भई सल्लाह अनुसार वरामदी मुचुल्कामा उल्लेख भएको सामानहरु चोरी जंगलमा लुकाएका हौ भन्ने वृष वहादुर राइले प्रहरी समक्ष गरेको वयान कागज ।
७. क्याम्पको चौकिदार म हुँ वारदात भएको रात मेरो काहिली छोरीको विवाह भएकोले सो कार्यमा व्यस्त हुँदा पक्राउमा परेका भक्त वहादुर राई समेतले क्याम्प फोडी वरामदी मुचुल्कामा उल्लेख भएका सामानहरु चोरी गरि लगेकोमा विश्वास लाग्छ भन्ने सो क्याम्पको चौकिदार प्रभिराम राईले संखुवासभा जिल्ला अदालतमा गरी दिएको कागज ।
८. वरामदी मुचुल्कामा उल्लेखित भक्त वहादुर राई समेतले चोरी गरी लगेकोमा विश्वास लाग्छ भनी अधिकांश सरजमिनका मानिसहरुले वही लेखिदिएको र चोरी भएको हो तर के कसले चोरी गरे भनि केहि सरजमिनका मानिसहरुले लेखाई दिएको सरजमिन मुचुल्का ।
९. अनुसन्धानको सिलसिलामा संकलन भई आएको जाहेरी घटनास्थलमा सामान वरामद गरिएको वरामदी मुचुल्का प्रतिवादीहरुको वयान कागज भई आएको सरजमिन मुचुल्का समेतबाट सिसुवा खोला झोलुङ्गे पुल निर्माणको कार्यको लागि लगिएको अटोलेभल मेसिन र थ्रेडोलाइट मिसिलहरु प्रतिवादी भक्त वहादुर राई वृष वहादुर राई समेत भई चोरी गरेको कुरा सप्रमाण सिद्ध हुन आएकोले विरुद्ध खण्डमा लेखिएका प्रतिवादीहरुलाई ऐजन ऐनको दफा १२ बमोजिम हदैसम्मको सजाय गरी वरामदी मुचुल्कामा वरामद भएको सामानहरु एकिन मुल्य कति हो केन्द्रबाट खुलेर आएपछि पठाइने हुँदा हाल मुल्य रु १,५०,०००। वरावरको थेडोलाइट मिसिल र अटोलेभेल मिसिल समेत जाहेरवालाई र्फिता दिलाई दिनुहुन अनुरोध छ भन्ने अभियोग प्रतिवेदन ।
१०. पुल निर्माणको प्रयोगमा ल्याएको सामान हरायो भन्ने कुरा मिति २०४८।९।१५ गते ससुरालि डिक वहादुर राईको घरमा गन्ज वहादुर दोलाईको मुखबाट सुनेको हुँ । सो समान गोदाममा कहां राख्थे मलाई थाहा भएन । म समेतले उक्त सामानहरु चोरी गरी लुकाएको कुनै कुरा होइन । प्रहरीमा नभनेको कुरा साविति वयान लेखाई म निअक्षरी मानिसलाई सहिछाप गराएका रहेछन । चौकीदार प्रभिरामले घरायसी रिसइवीको कारणले पोल गरेका हुन् । सरजमिन मुचुल्का मेरो रोहवरमा नभएको हुँदा कसरी दोषरोपण गरे मैले कुनै किसीमको कसुर नगरेको हुँदा अभियोग प्रतिवेदनबाट सफाई पाउँ भन्ने प्रतिवादी भक्त बहादुर राईले अदालतमा गरेको बयान ।
११. जाहेरीमा लेखिएका सामानहरु गोदामबाट हराएको भन्ने कुरा २०४८।९।१४ गते साथीहरुबाट सुनेको कसले कसरी लगे भन्ने सुनीन पुनः उक्त सामानहरु चौकिदारको घर देखी मास्तिर क्याम्पसदेखि मुन्तिर भेटियो भन्ने कुरा मिति २०४८।९।१९ गते गोलारामको घरमा सुनेको हुँ । उक्त सामानहरु मैले चोरेको होइन प्रहरी समक्ष गरेको कागज मलाई पढ्न हेर्न नदिई सहीछाप गराएका हुन । भक्त बहादुर राईले किन पोल गरे म जान्दीन । प्रभिराम राई सँग माछा किनवेच विषयमा वादविवाद भई रिसाएको कारणले शंका गरेको हुन । सरजमिन मुचुल्का हुँदा मलाई घटना स्थलमा लगिएको थिएन । मलाई जिल्ला प्रहरी कार्यालय, खांदवारीमा सहीछाप गराएका हुन । सरजमिनले किन पोल गरे म जान्दीन मैले कुनै किसिमको कसुर नगरेको हुँदा अभियोगबाट सफाइ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वृप बहादुर राइले अदालतमा गरेको वयान ।
१२. प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष परस्पर पोल गरी कागज गरेका र सोही बमोजिम दसिको सामान बरामत भइको सरजमिनले अदालतमा पोल नगरेकै कारणबट मात्र प्रतिवादीहरुलाई निर्दोश ठहर्याउन मिलेन । प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार प्रतीबादीहरुको कसुरवादी पक्षबाट प्रमाणीत भएकोले दुवै प्रतिवादीहरुले प्रथम पटक चोरीको कसुर गरेको ठहर्छ भन्ने समेत मिति २०४९।७।१९ गतेको संखुवासभा जिल्ला अदालतको फैसला ।
१३. यी प्रतिवादीहरु प्रहरी समक्ष गरेको वयान अनुसार चोरी गरेका कुरामा साविति भएता पनि अदालत समक्ष इन्कार भएकोले निजहरुको प्रहरि समक्षको साविति वयान संकास्पत देखिन आउँछ । प्रतिवादिहरुले प्रहरि समक्ष गरेको साविति वयान अन्य स्वतन्त्र प्रमाणहरुवाट समर्थित हुनुपर्नेमा जाहेर वाला वरामदि मुचुल्का एवंम सर जमिनका व्यक्तिहरु ल्गायत कुनै पनि साक्षि चस्मदित नभएको र वरामद भएको चोरीको सामान प्रतिवादिहरु को सँग साथवाट वरामद नभएको हुनाले निजहरुको प्रहरी समक्षको साविति कुनै पनि स्वतन्त्र प्रमाणवाट समर्थित भएको देखिएन । चोरीको सामान मिति २०४८।९।२६ मा नै वरामद भएको भन्ने कुरा वरामदि मुचुल्कावाट देखिदा अभियुक्तहरुले प्रहरि समक्ष मिति २०४८।९।२८ मा गरेको साविति लाई चोरीको वारमद भएको सामानबाट पुष्टि भएको भन्ने मिलेन । त्यसकारण यि प्रतिवादि पुनरावेदकहरुले नै चोरी गरेको कुरा संका रहित तवरले प्रमाणित नभएकोले शुरु जिल्ला अदालतको निर्णय मनासिव नदेखिँदा उल्टी हुने भई पुनरावेदन जिकिर अनुसार प्रतिवादीहरुले सफाई पाउने ठर्हछ भन्ने समेत व्यहोराको मिति २०५०।९।२६ गतेको पुनरावेदन अदालत, विराटनगरको फैसला।
१४. घटनामा प्रतिवादिहरुको संम्लग्नता स्पष्ट रुपमा प्रमाणित भईरहेको र प्रतिवादिहरुबाट आफ्नो निदोपिता प्रमाणित गर्न कुनै साक्षि प्रमाण समेत प्रस्तुत गर्न नसकेको अवस्थामा प्रतिवादिहरुलाई कसुरवाट सफाई दिने गरि गरेको पुनरावेदन अदालत, विराटनगरको फैसला वदर गरि प्रतिवादिहरुलाई कसुरदार ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरि पाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकार तर्फबाट यस सवोच्व अदालतमा परेको पुनरावेदन पत्र ।
१५. नियम वमोजिम दैनिक पेशी सुचिमा चढि इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्त श्री शंकरकुमार श्रेष्ठले प्रतिवादीहरु अधिकार प्राप्त अधिकारी समक्ष कसुर गरेकोमा सावित देखिन्छन । अदालत समक्ष प्रतिवादी इन्कार हरे पनि उक्त इन्कारी वयान अन्य प्रमाणबाट पुष्टि हुन सकेको छैन । कुनै साक्षी प्रमाण पेश गरी आफ्नो निर्दोपिता प्रमाणित गर्न नसकेको अवस्था हुँदा प्रतिवादीहरुलाई सफाइ दिने गरी पुनरावेदन अदालत, विराटनगरले गरेको फैसला वदर गरी शुरु फैसला कायम राखी पाउँ भनी बहर जिकिर प्रस्तुत गर्न भयो ।
१६. विद्वान सरकारी अधिवक्ताले गर्नु भएको बहस जिकिर सुनी निर्णय तर्फ विचार गर्दा पुनरावेदन, अदालत विराटनगरले गरेको फैसला मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो । प्रतिवादीहरु अटोलेभल मेसिन र थ्रेडोलाइट मेशिन चोरी गरेको कुरामा अधिकार प्राप्त अधिकार समक्ष सावित भएका छन् भने अदालत समक्ष कसुरमा पूर्ण इन्कार रहि वयान गरेका छन । शुरु जाहेरीमा समेत प्रतिवादीहरुले चोरी गरेको कुरा किटान गर्न नसकि शंका सम्म व्यक्त गरेको पाइन्छ । बरामदी मुचुल्का एवं सरजमिनका व्यक्ति लगायत कुनै पनि चस्मदित साक्षी नभई केवल प्रतिवादी उपर शंका सम्म व्यक्त गरेका छन् । चोरी भएका सामानहरु प्रतिवादीहरु सँग बाट बरामद नभई अन्यत्र ठाउँबाट बरामद भएको देखिन्छ । चारीका सामान मिति २०४८।९।२६ मा बरामद भएको भन्ने बरामदी मुचुल्का बाट देखिन्छ भने प्रतिवादीहरु प्रहरी समक्ष २०४८।९।२८ मा सावित भएकोबाट उक्त साविति वरामदी मुचुल्काबाट पुष्टि भएको मान्न मिल्ने देखिदैन ।
तसर्थ प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको साविति अन्य स्वन्त्र प्रमाणबाट पुष्टि हुन नसकेको हुँदा र प्रतिवादीहरुले चोरी गरेको भन्ने कुरा शंकारहित तवरले प्रमाणीत हुन नसकेको अवस्थामा निजहरुलाई सफाइ दिने ठहर्याई पुनरावेदन अदालत विराटनगरले गरेको फैसला मिलेको देखिंदा सदर हुने ठहर्छ । वादी श्री छ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियम बमोजिम गरी बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदार नाथ आचार्य
इति सम्वत २०५४ साल कार्तिक १८ गते रोज २ शुभम्.....................।