निर्णय नं. ६५३७ - अंश नामासारी

नि.नं. ६५३७ ने.का.प. २०५५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
सम्वत २०५१ सालको दे.पु.नं....... २५८४
फैसला मिति २०५४।३।१६।२
मुद्दाः अंश नामासारी ।
पुनरावेदक/वादीः- जिल्ला नवलपरासी मनझरिया गाउँ विकास समिति वडा नं. २ बस्ने टासी नाउँ समेत जना ४ ।
विरुद्ध
विपक्षी/प्रतिवादीः- ऐ.ऐ. बस्ने विसुनी नाउ ।
§ सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति निजी आर्जनको सवुदको अभावमा एकलौटी भन्न नमिल्ने हुँदा निज कालिचरणका छोरा खेदु हजामका नाममा दर्ता भएको जग्गा समेत ३ भाग लगाई वण्डा गरी दिनुपर्ने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुने ।
(प्र.नं. ११)
निवेदकतर्फबाटः X
विपक्षी तर्फबाटः X
अवलम्वित नजीरः X
फैसला
न्या. केशवप्रसाद उपाध्यायः- पुनरावेदन अदालत बुटवलबाट मिति २०५१।४।३२ गतेमा भएको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः-
२. मुल पुरुष महादेवका ३ भाई छोरामा जेठो जुठाई माहिलो कालिचरण, कान्छा विपक्षी विसुनी भएकोमा बाबु आमाको अगावै आआफ्नो कालगतिले परलोक भई सकेको हामी फिरादी मध्येको टाँसी, राजु राजेन्द्रका पति एवं बाबु जुठाईको पनी आफ्ना कालगतिले परलोक भई सकेको हुँदा हामी ३ अंशियार बीच अंशवण्डा भएको छैन । यही गत २०४५ साल भाद्र ३१ गतेका दिन अब हामीहरुले भात भान्सा खानपिन अलग भईसक्यो त्यसकारण हाम्रो अंश भाग छुट्टयाई मालपोत कार्यालय नवलपरासीमा पारित गरी देउ भन्दा विपक्षीले मैले अंश दिन्न जानेको गर भनी जवाफ दिएकोले विपक्षीबाट फिराद परेको अघिल्लो दिनसम्मको अंशवण्डाको २०, २१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी लिई जम्मा चल अचल श्रीसम्पत्तिको ३ भाग अंश गरी विपक्षीको १ भाग परसारी हाम्रो २ भाग दिलाई हाम्रा नाममा नामसारी गरी हामीबाट रहेको कोर्ट फी समेत भराई पाउँ भन्ने फिराद पत्र ।
३. विपक्षी दाजु कालिचरणले जेठा दाजु जुठाईको छोराहरु र पत्नी भाउजु टासी नाउनी समेतका विपक्षीहरुलाई आफ्नो गफलतमा मिलाई पैतृक सम्पत्ति आफ्नो नाममा संयुक्त दा.खा. नामसारी गरेका विपक्षी राजु नाउँ र राजेन्द्र नाउ तथा घडेरी जग्गा दा.खा. नामसारी गरेकी विपक्षी टासी नाउनी समेत वादी बनि सत्य कुरालाई लोप गरी असत्य कुराहरुको भूमिका बाँधि म उपर यो झुठ्ठा फिराद दायर गर्नु भएको मात्र हो । विपक्षी दाजु कालिचरणका छोरा खेदुका नाउँमा खरिद गरी लिएको अचल सम्पत्ति तथा संयुक्त दर्ता नामसारी भएको पैतृक सम्पत्ति एवं टासीका नाममा रहेको घर घडेरीको जग्गा र विपक्षी कालिचरणको नामबाट हामीले बैंकमा जम्मा गरेको नगद रुपैया समेतको सम्पूर्ण चल अचल श्रीसम्पत्ति मध्येबाट एक एक अंश भाग पाउने विपक्षीहरु २ अंशियार र म एक अंशियार हुँ । विपक्षी दाजु कालिचरण नै जेठा दाजुको देहवसान पछिका घरको मुख्य मालिक हुँदा मैले विपक्षीहरुलाई अंश दिनुपर्ने होइन वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. वादी पक्षले पेश गरेको तायदातीमा अधिकतम हदबन्दीबाट प्राप्त गरेको वण्डा गर्नु नपर्ने श्रीसम्पत्ति भनी उल्लेख गरेकोमा सो तर्फ प्रतिवादीको विवाद नदेखिँदा सो बाहेक अन्य वण्डा गर्नुपर्ने भनी दुवै पक्षले स्वीकार गरेको तायदाती फाँटवारीको सम्पत्तिको जम्मा ३ भागलाई सो बाट २ भाग अंश वादीले दावी बमोजिम दिलाई भराई नामसारी गराई पाउने ठहर्छ भनी शुरु नवलपरासी जिल्ला अदालतबाट मिति २०४६।११।१ मा भएको फैसला ।
५. विपक्षी कालीचरणले पेश गरेको फाँटवारीमा कि.नं. १४३, ३५६ र १५५ समेतको जम्मा ज.वि. १-९-१० कालिचरणले आफ्नो छोरा खेद हजामले हदबन्दी भन्दा बढी जग्गा पाएको र निजी आर्जनको कमाईबाट खरिद गरेको हो कसैका अंश हक नलाग्ने भनी उल्लेख गरेकोमा सो जग्गा सगोल श्रमबाट कमाई गरेको र सगोलको सम्पत्तिबाट क्षतिपूर्ति बुझाई प्राप्त गरेको अंश वण्डा लाग्नु पर्नेमा फाँटबारीमा विवाद नदेखिएको भनी उक्त जग्गा वण्डा नलाग्ने ठहर्याई फैसला भएको छ । फाँटवारी सुनाएकोमा अलग विवाद उठाउनु पर्ने भन्ने र विवाद नउठाएको स्वीकार गरेको भन्ने मिल्ने कानुनी व्यवस्था नभएकाले सो जग्गा वण्डा नलाग्ने ठहर्याएको शुरुको फैसला त्रुटीपूर्ण छ । त्यस्तै मैले पेश गरेको फाँटवारीमा उल्लेख भएको छोरा रामप्रसादका नाममा देखाएको कि.नं. १८१ र १७८ समेतको जम्मा ज.वि. ०-१-१०१।२ घडेरी जग्गा निजी वण्डा नलाग्ने भनी उल्लेख गरेकोमा विपक्षीहरुको उजूर समेत नभएकोमा तर्क र आधार विना सो जग्गा सोझै वण्डा हुने सम्पत्तिमा समावेश गरेको पनि शुरुको फैसला मिलेको छैन अतः वण्डा हुनुपर्ने सम्पत्तिलाई वण्डा नहुने र वण्डा नहुनुपर्ने सम्पत्तिलाई वण्डा हुने भनी गरिएको शुरुको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी खेदु हजामको नाममा रहेका जग्गा सबै अंशियारमा अंशवण्डा लाग्ने र मैले पेश गरेको फाँटवारीमा छोरा रामप्रसादको निजी भनी उल्लेख भएको २ कित्ता घडेरी निज रामप्रसादकै एकलौटी कायम गरी पाउँ भनी प्रतिवादी विसुनी नाउँको तत्कालिन लुम्बिनी अंचल अदालतमा परेको पुनरावेदन पत्र ।
६. वादी प्रतिवादीबाट पेश भएको तायदाती परस्पर सुनाउँदा विरोध नभएको भनी खेदुले हदबन्दी भन्दा बढी जग्गा खरिद गरिएको भनिएको जग्गा वण्डा नलाग्ने ठहर भएको र त्यस्तै प्रतिवादी विसुनी नाउँले पेश गरेको तायदातीमा राजीनामाद्बारा घडेरी जग्गा खरिद गरिएको भनिएको जग्गाहरु वण्डा लाग्ने भनी गरेको फैसला तायदाती फाँटवारीमा उल्लेख भएको कुराहरु विरोधाभाष हुने गरी भएको फैसला विचारणीय हुँदा अ.वं. २०२ नं. र पुनरावेदन अदालत नियमावली २०४८ बमोजिम प्रत्यर्थीहरुलाई झिकाउने भनि भएको आदेश ।
७. खेदु हजाम र राम प्रसादलाई अ.वं. १३९ नं. बमोजिम बुझ्नु पर्ने देखिँदा निजहरुलाई बुझ्नु पर्ने भनी यस अदालतबाट मिति २०५१।२।२२ मा भएको आदेशानुसार निजहरुलाई बुझिएकोमा ज्याला मजदुरी गरी मिति २०४२।५।२५ मा पवित्री मगरनीसँग ७.५ धुर जग्गा रु. ५०००।– मा ३ धुर जग्गा खुल्लन बहादुर मगरसँग मिति २०४३।५।१ मा खरिद गरेको जग्गा हो सो जग्गा वण्डा लाग्ने होइन भनी निज रामप्रसाद हजामले र फाँटवारीमा उल्लेख भएका जग्गाहरु मध्ये कि.नं. १४३ को जग्गा भूमि सुधार कार्यालयबाट विक्री वितरण समितिको मिति २०४२।३।३१ गतेका निर्णयानुसार प्राप्त गरेको र अरु २ कित्ता जग्गा रामवृक्षसँग आफ्नो निजी आर्जनबाट खरिद गरेको वण्डा नलाउने जग्गा हो भनी निज खेदु हजामले पुनरावेदन अदालत बुटवल रुपन्देहीमा गरेको बयान ।
८. यसमा वादी मध्येका कालीचरणको छोरा खेदु हजामको नाममा रहेको जग्गा र प्रतिवादीका छोरा रामप्रसादका नाममा रहेको घडेरी जग्गा सगोलको आर्जनको सम्पत्ति नभै कानून बमोजिम वण्डा गर्नु नपर्ने निजी आर्जनको सम्पत्ति हो भन्ने कुराको कुनै सबुद प्रमाण पेश गर्न नसकेको अवस्थामा सगोलकै सम्पत्ति मानिने हुँदा कालिचरणका एक सगोलका छोरा खेदु हजामका नाममा दर्ता भएको भनेको जग्गा समेत वण्डा गरी दिनुपर्नेमा सो जग्गा वण्डा नलाग्ने गरेकोसम्म शुरुको फैसला मिलेको नदेखिँदा सो हदसम्म बदर भई केही उल्टी हुन्छ सो खेदु हजाम नाउँ दर्ताको जग्गा समेत ३ भाग लगाई वण्डा गरी दिनु पर्ने ठर्हछ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत बुटवलबाट मिति २०५१।४।३२ मा भएको फैसला ।
९. उक्त फैसलामा चित्त बुझेन । खेदुका नाममा रहेको जग्गा अधिकतम हदबन्दीबाट प्राप्त गरेको हो । यस्तो जग्गालाई खरिद गरेको मान्न नमिल्ने तथ्य हुँदाहुँदै सो जग्गालाई अंश लाग्ने ठहर्याई गरेको पुनरावेदन अदालत बुटवलको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु नवलपरासी जिल्ला अदालतको फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदन पत्र ।
१०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालत बुटवलको फैसला मिले नमिलेको के रहेछ निर्णय दिनुपर्ने हुन आयो ।
११. यसमा हामीहरुले पाउने अंश प्रतिवादीसँग माग्दा नदिएकोले तायदाती फाँटवारी लिई चल अचल सम्पत्तिको ३ भागको २ भाग अंश दिलाई पाउँ भन्ने वादी दावी र विपक्षी कालिचरण घरको मुख्य व्यक्ति भएकोले विपक्षीहरुलाई मैले अंश दिनुपर्ने होइन । र सगोलमा रहेका विपक्षीहरुको नाममा रहेको सम्पूर्ण सम्पत्तिबाट मैले ३ भागको १ भाग अंश पाउनु हुँ विपक्षीको दावी झुठ्ठा हो भन्ने प्रतिवादी भएको देखिन्छ । फिराद लेखबाटै मिति २०४५।६।१७।३ पूर्व वादि प्रतिवादी सगोलमा रहेको भन्ने देखिन आउँछ । वादी मध्येका कालि प्रसादका छोरा खेदुको नाममा रहेको जग्गा सगोलको आर्जनको सम्पत्ति नभई कानून बमोजिम वण्डा गर्नु नपर्ने निजी आर्जनको सम्पत्ति हो भन्ने कुराको कुनै ठोस सबुद प्रमाण पेश गर्न सकेको देखिँदैन । सगोलमा रहँदा आर्जन गरेको सम्पत्ति निजी आर्जनको सबुदको अभावमा एकलौटी भन्न नमिल्ने हुँदा निज कालिचरणका छोरा खेदु हजामका नाममा दर्ता भएको जग्गा समेत ३ भागलाई वण्डा गरी दिनु पर्ने ठहर्याएको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिँदा सदर हुन्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या. अरविन्दनाथ आचार्य
इति सम्वत २०५४ साल असार १६ गते रोज २ शुभम्..................................... ।