निर्णय नं. ४२४६ - अंश दपोट

निर्णय नं. ४२४६ ने.का.प. २०४८ अङ्क १
संयुक्तइजलास
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
सम्वत् २०४४ सालको दे.पु.नं. ७१६, ७१७
फैसला भएको मिति: २०४६।५।२०।३ मा
पुनरावेदक/प्रतिवादी: का.जि. मनमैजु गा.पं. वडा नं. २ बस्ने दीलबहादर घर्तीसमेत
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ.सितापाइला गा.पं. वडा नं. ५ बस्ने चिनीमाया घर्तीसमेत
पुनरावेदक/प्रतिवादी: का.जि. मनमैजु गा.पं. वडा नं. २ बस्ने भद्रबहादुर खड्का
विरुद्ध
विपक्षी/वादी: ऐ.ऐ.सितापाइला गा.पं. वडा नं. ५ बस्ने चिनीमाया घर्तीसमेत
मुद्दा : अंश दपोट
(१) आफ्नो हकभोग नै नभएको जग्गालाई अंशबण्डा गर्नुपर्ने भनी तायदाती पेश गर्नु पर्छ भन्न कानुनसंगत नहुने र सो सम्पत्तिलाई अंशबण्डाको २७ नं. को प्रयोजनको लागि दवाए छपाएको भन्न नमिल्ने भई दपोट गरेको ठहर्याउन नमिल्ने ।
(प्रकरण नं. १४)
पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम पराजुली
विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी (साविक पेज नं. १७)
फैसला
न्या.सुरेन्द्रप्रसाद सिंह
१. मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय उपर दुवै पक्षले पुनरावेदन गर्ने अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भई निर्णयार्थ यस इजलास समक्ष प्रस्तुत हुन आएको यस मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. विपक्षीहरुसँग परेको अंश मुद्दामा विपक्षीहरुले २०३७।५।३ गते मानो छुट्टिएको मिति कायम गरी तायदाती पेश गर्दा बण्डा गर्नु पर्ने केही छैन भनी पेश गरेको तर मनमैजु गा.पं. र बालाजु गा.पं. मा रहेका कि.नं. २५७ र ३४० समेतका २ कित्ता जग्गा २०३४।२।२४ मा लिखत खडा गरी विपक्षी कान्छी घतिर्नीलाई दिएको सदर हुने अंशबण्डाको १३(३) मा प्रष्ट छ । अतः तायदाती पेश नगरी एकलौटी खान खोजेको उक्त जग्गाहरु हामीले एकलौटी खान पाउने हुँदा अंशबण्डाको २७ नं. अनुसार हामीले पाउँ भन्ने समेत व्यहोराको फेराद दावी ।
३. विपक्षीहरु मेरा छोरा तथा श्रीमती हुन् सगोलमै बस्दा दाइजो पेवाको रकम मासी खाएबाट उक्त जग्गाहरु बकसपत्र गरी दिएको हो त्यसो हुँदा दावीका जग्गाहरु तायदातीमा दिन नपर्ने भएबाट नदिएको हो तायदाती सुनाएको म्यादमा उजुर गर्नु पर्नेमा विपक्षीहरुले सो बमोजिम नगरेको हुँदा झुठ्ठा कुराबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतेवादीहरुको संयुक्त प्रतिउत्तरपत्र ।
४. विवादित जग्गा प्रतेवादी ठुली घतिर्नीबाट रु. १०,०००।– मा राजीनामा गरी रजिष्ट्रेशन पारित गरी लिएको हो भन्ने समेत व्यहोराको भद्रबहादुर खड्काको वा. कुलबहादुरले गरेको बयान ।
५. २०३४ सालमा बकसपत्र दिएको र ०३८ सालमा मुद्दा परी सकेपछि विवादित जग्गा भद्रबहादुरलाई राजीनामा गरी दिएको देखिन्छ । सगोलको अंशियारलाई बकसपत्र दिएको हुँदा व्यक्तिबाट पाए सरह अंशबण्डा नलाग्ने भन्न मिलेन । तायदातीमा विवादित जग्गा प्रतिवादीहरुले पेश नगरेको हुँदा अंशबण्डाको २७ नं. ले सो जग्गामा वादीहरुको हक कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको का.जि.अ. को फैसला ।
६. उपरोक्त जि.अ. को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको बा.अं.अ. मा परेको प्रतिवादीहरुको पुनरावेदन ।
७. प्रतेवादीहरुले अंश दपोट गरेको भन्ने कुराको मनासिब माफिकको सबूद प्रमाण गुजार्न नसकेकोले जिल्ला अदालतको फैसला मनासिब ठहर्छ भन्ने समेत व्यहोराको बा.अं.अ. को फैसला ।
८. उपरोक्त बा.अं.अ. को फैसलामा चित्त बुझेन भन्ने पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतेवादीहरु तथा भद्रबहादुरको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको निवेदन ।
९. अंशबण्डा लाग्ने सम्पत्तिको तायदाती पेश गरेको देखिन आएन तसर्थ अंशबण्डाको २७ नं. बमोजिम वादी दावीको सम्पत्तिमा वादीहरुको हक कायम हुने ठहराएको शुरुको इन्साफलाई सदर गरी भएको बा.अं.अ. को फैसला मनासिब हुँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. उपरोक्त मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन तायदाती दिंदा आफूसंग नभएको सम्पत्ति नदिएको कारणले अरुको हक भोग दर्ताको सम्पत्ति दपोट ठहराउन नमिल्ने हुँदा सो बमोजिम गरेको फैसला बदर गरी इन्साफ पाउन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको प्र. दिलबहादुर घर्ति र ठूलीकान्छी घर्तिको यस अदालतमा परेको निवेदन ।
११. वादीहरुले सोही जग्गाको सम्बन्धमा जालसाजी मुद्दा दायर गरेकोमा जालसाज नठहरी फैसला भएकाले मेरो सम्पत्ति अपहरण हुने प्रश्न नै आउँदैन । मलाई पेटबोलीबाट बुझी तारेखमा राखिएकोले म.क्षे. (साविक पेज नं. १८) अ. मा समेत पुनरावेदन गरेको हुँदा यस अदालतबाट म.क्षे.अ.को सो त्रुटीपुर्ण फैसला बदर गरी इन्साफ पाउनका लागि पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको भद्रबहादुर खड्काले यस अदालतमा दिएको निवेदन ।
१२. पनुरावेदन गर्ने अनुमति प्राप्त गरी पुनरावेदनमा दर्ता भएको निर्णयका लागि यस इजलास समक्ष प्रस्तुत हुन आएको यस मुद्दाका सम्बन्धमा पुनरावेदक तर्फका विद्वान अधिवक्ता श्री राधेश्याम पराजुलीले विवादित जग्गा २०३८।३।१७ मा नै भद्रबहादुरलाई राजीनामा भई गइसकेको सो सम्पत्तिलाई अंशबण्डाको २७ नं. को प्रयोजनको लागि दवाए छिपाएको भन्न नमिल्ने तथा भद्रबहादुरले रजिष्ट्रेशन पारित गरी लिएको कुरामा कसैको उजुर नभएको हुँदा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला नमिलेको हुँदा बदर हुनु पर्ने भन्ने दावी गर्दै गर्नु भएको बहस र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री बसन्तराम भणडरीले मिति २०३७।५।५ भन्दा अघिल्लो दिन सम्मको तायदाती मागेको हुनाले विवादित सम्पत्ति ठुलीकान्छी घर्तीकै पास रहेको मान्नु पर्ने र तायदातीमा सो पेश नगरेकोे कारणबाट विवादित सम्पत्तिमा वादीको हक कायम हुनुपर्ने हुँदा क्षेत्रीय अदातको फैसला सदर हुनु पर्ने भनी गर्नु भएको बहस समेत सुनियो ।
१३. निर्णय तर्फ विचार गर्दा यस मुद्दाका सम्बन्धमा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो को नै निर्णय गर्नुपर्ने देखियो ।
१४. यसमा यिनै वादी र प्रतेवादीको बीचमा अंश मुद्दा चलेको कुरामा विवाद छैन सो अंश मुद्दाको सन्दर्भमा कुनै पक्षबाट बण्डा गर्नु पर्ने सम्पत्तिको तायदाती पेश गर्ने आदेश भएपछि पुनरावेदक प्रतेवादी दिलबहादुर घर्तीले मिति २०३९।१।२।५ मा ठुली कान्छी घर्तीले मिति २०३९।४।२४।१ मा मात्र अंश लाग्न पर्ने कुनै सम्पत्ति नभएको भनी तायदाती पेश गरेको देखिन्छ । विवादको जग्गा २०३८।३।१७ मा नै भद्रबहादुरले राजीनामा रजिष्ट्रेशन पारित गरी लिइसकेको कारणबाट २०३९ सालमा सो सम्पत्तिमा भद्रबहादुरको हक कायम रहेको देखिँदा तायदाती दिंदाको बखतमा सो सम्पत्तिमा प्रतिवादीहरुको हक कायम रहेको थियो भनी मान्न मिलेन । यसरी आफ्नो हकभोगमा नै नभएको जग्गालाई अंशबण्डा गर्नु पर्ने भनी तायदाती पेश गर्नु पर्छ भन्न कानुनसंगत हुँदैन र सो सम्पत्तिलाई अंशबण्डाको २७ नं. को प्रयोजनको लागि दबाए छिपाएको भन्न नमिल्ने भई दपोट गरेको ठहर्याउन मिल्ने स्थिति देखिन आएन । तसर्थ तायदाती पेश गर्नु पर्ने बखत विवादको सम्पत्ति प्रतेवादी दिलबहादर र ठूली कान्छीको हकमा रहे भएको देखिन नआएको यस्तो स्थितिमा विवादित अचल ०३८ सालमै विक्री भई गइसकेको सम्पत्तिलाई तायदातीमा पेश नगरेको भन्ने आधार लिई अंशदपोट गरेको भनी उक्त विवादित जग्गामा वादीको हक कायम हुने ठहर्याई गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । दे.पु.नं. ६१७ का पुनरावेदक भद्रबहादुरले २०४६।२।२४ गते तोकिएको तारेख नै गुजारी बसेको देखिन आएको र कानुन बमोजिम थाम्ने थमाउने म्याद समेत बाँकी रहेको देखिन नआएकोले निजको पुनरावेदन अ.बं. १७९ नं. ले डिसमिस हुने ठहर्छ । कोर्टफी राखी पुनरावेदन गरेको हुँदा निजका हकमा केही गर्न परेन । अरुमा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु तथा बा.अं.अ. र म.क्षे.अ. को इन्साफ उल्टी भएकोले सो फैसलाहरुका तपसील खण्डमा लेखिएका कलमहरु सम्पूर्णको लगत काटी दिनु भनी शुरु का.जि.अ.मा लगत दिनु .....१ पुनरावेदक प्रत्यवादी दिलबहादुर घर्ती, कान्छी घर्तीके माथि लेखिए बमोजिम इन्साफ उल्टी भएकोले निजहरुले का.जि.अ. मा राखेको धरौटी रु. ८२।— र बा.अं.अ. मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. १०।५० र म. (साविक पेज नं. १९) क्षे.अ. मा पुनरावेदन गर्दा राखेको रु १०।५० र यस अदालतमा पुनरावेदन गर्दा राखेको केर्टफी रु. १०।५० समेत जम्मा कोर्टफी रु. ११३।५० वादीबाट भराई पाउँ भनी म्यादमा पु.प्र.को दरखास्त परे कानुनको रीत पुर्याई वादीबाट भराई दिनु भनी का.जि.अ. मा लगत दिनु ....२ मिसिल नियमानुसार गरी बुझाई दिनु ......३
उक्त रायमा म सहमत छु । न्या. महेशराम भक्त माथेमा
इतिसम्वत् २०४६ साल भाद्र २० गते रोज ३ शुभम् ।