निर्णय नं. ६५३९ - किर्ते

नि.नं. ६५३९ ने.का.प. २
०५५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने
सम्वत २०५१ सालको फौ.पु.नं....... १०७५
फैसला मिति २०५४।७।४।२
मुद्दाः किर्ते ।
पुनरावेदक/वादीः- भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. ४ क्वांठडौं बस्ने अष्टलक्ष्मी सुवाल।
विरुद्ध
विपक्षी/प्रतिवादीः- ऐ.ऐ. बस्ने कृष्णभक्त सुवालसमेत जना ६ ।
§ पुनरावेदन अदालत पाटनबाट भएको विवादको डिसमिस फैसला हेर्दा डिसमिस भएको जानकारी पुनरावेदिकालाई दिनु भनी सो फैसलामा नै आदेश गरिएको भएता पनि फाँटवालाबाट सो कर्तव्य पूरा गरिएको देखिँदैन । एक त आफ्नो मुद्दा डिसमिस भएको जानकारी नपाउनु र दोश्रो तारेखमा रहँदा रहँदै पनि मुद्दा डिसमिस भएको कुरा झगडियाले आफूले नक्कल सारेर थाहा पाएको भनी पुनरावेदन गर्न आउँछ भने अ.वं. १९७ नं. बमोजिम नक्कल लिएको मितिले पुनरावेदनको म्याद कायम हुने हुँदा लिएर मिति २०५१।१०।१८ मा पुनरावेदन गरेको म्याद भित्रकै देखिएकोले विपक्ष तर्फका विद्बान अधिवक्ताको वहस जिकीर स्वीकारयोग्य देखिएन। तसर्थ तारेखमा रहँदा रहँदै डिसमिस हुन नसक्नेमा वेरितसँग डिसमिस गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२५ को डिसमिस फैसला बदर हुने ।
(प्र.नं. ११)
निवेदकतर्फबाटः विद्बान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली
विपक्षी तर्फबाटः विद्बान अधिवक्ता श्री शिवभक्त प्रधानाङ
अवलम्वित नजीरः X
फैसला
न्या. केदारनाथ उपाध्यायः- पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२५ का फैसला उपर वादी तर्फबाट दायर हुन आएको पुनरावेदन सहितको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः-
२. २०४६ साल देखि भिन्न बसी आएको अवस्थामा २०२६ सालमा मृत्यु भै सकेको मृतकका नाउँमा रहेको अंचल सम्पत्ति राजिनामा पारित गरी गराई लिएको छ भनी मेरो मानिसद्बारा थाहा हुन आएको र मेरो पति समेतले विपक्षीहरुलाई सहयोग गरेको भन्ने तथ्य सुन्नमा आएकोले र किर्ते भन्ने प्रश्न गम्भीर अपराध भएको हुँदा जि.प्र.का. भक्तपुरले मिति २०४७।१०।१ मा नाता प्रमाणित भै आएकोले निज २०२६ सालमा मृतक सिद्धिलाललाई विपक्षहरुले कुनै अदालतमा पनि जिवित छ भनी प्रमाण ऐन बमोजिम भार पुर्याउन नसकिने हुँदा विवादित मिति २०४१।११।१४।६ र.नं. १४०७ मा मालपोत कार्यालय भक्तपुरबाट गरे गराएको लिखत किर्ते ठहराई किर्ते कागजको ७, ११, १४ बमोजिम हदैसम्म सजाय गरी पाउँ भन्ने समेतको फिराद दावी ।
३. विपक्षी र श्रीमानको मिलेमतोबाट पुनः म उपर फिराद गराउने विपक्षीको जालसाजी कृयाकलाप मात्र हुन भन्ने प्रष्ट पार्दछु । अतः यस्तो जालसाजी पूर्ण फिरादबाट मलाई कुनै असर नपर्ने र विपक्षीहरुलाई नै सजाय हुन पर्ने प्रष्ट छ । लेखक र साक्षीहरुको मौजुद प्रमाण आधारमा लिखत खडा गरी साक्षी बसेको व्यहोरा किर्ते नहुँदा विपक्षीको झुठ्ठा फिराद दावी खारेज गरि विपक्षीलाई सजाय समेत गरी झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर ।
४. यसमा प्रतिवादी कृष्ण भक्तलाई रु. ६६९९।२५ जरिवाना हुने र अन्य प्रहरुलाई कुनै सजाय गरी रहन परेन भन्ने समेतको मिति २०४९।७।१६ को शुरु भक्तपुर जिल्ला अदालतको फैसला ।
५. लिने दिनेको नाम थर ठेगाना ठिक छ यी सनाखत साक्षी बस्ने राम बहादुर र चन्द्र प्रसादको मतियार मनसाय भएको कुरा किर्ते लिखतबाट नै छर्लङग भएको हुँदा मतियार प्रतिवादीहरुलाई किर्ते कागजको ११ नं. बमोजिम सजाय गर्नुपर्नेमा सो नगरेको त्रुटिपूर्ण छ । शुरु भक्तपुर जिल्ला अदालतको फैसला आंशिकबाट पुरै लिखतलाई किर्ते ठहराई प्रतिवादी कृष्णभक्तलाई किर्ते कागजको ७ नं. बमोजिम अन्य प्रतिवादीहरुलाई सोही अनुसार हदै सम्म सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
६. यसमा पुनरावेदक अष्टलक्ष्मी सुवालले यस अदालतबाट तोकि पाएको मिति २०४९।११।२१ को तारेख गुजारी बसेका र कानुनले थाम्ने थमाउने अवधि समेत व्यतित भै सकेकोले प्रस्तुत मुद्दा अ.वं. १७९ नं. बमोजिम डिसमिस हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत पाटन ललितपुरको मिति २०५०।३।२५ को फैसला ।
७. भक्तपुर जिल्ला अदालतबाट मिति २०४९।७।१६ मा भएका प्रस्तुत किर्ते जालसाजी र हक कायम समेत मुद्दामा पुनरावेदन अदालतमा पुनरावेदन गरि दुईटै मुद्दाको एउटै तारेख पर्चा बनाई पहिलो तारेख २०४९।११।२१ मा तोकी पाई अनवरत रुपमा प्रत्येक तारेखमा हाजिर भै २०५१।९।२९ र सो पछि २०५१।११।५ मा तारिख तोकि पाएको कुरा म सँगको तारेख पर्चाबाट पुष्टि हुन्छ । मैले पाएको दुईटै मुद्दाको एउटै तारेख पर्चामा अदालतबाट मलाई नियमित तारिख तोकि पाउँदा पाउँदै तारेख गुजारेको भन्न मिल्दैन एकै लगाउका एउटै मुद्दा रुजु तारेख देखिनु र अर्कोमा तारिख गुजारी बसेको भनी गरिएको डिसमिस फैसला अ.वं. १७९ प्रतिकूल हुँदा पुनरावेदन अदालतको उक्त फैसला उल्टी गरी पाउँ भन्ने व्यहोराको पुनरावेदक वादीको यस अदालतमा दायर पुनरावेदन पत्र ।
८. यमसा पुनरावेदक अष्टलक्ष्मीलाई पुनरावेदन अदालत पाटनबाट किर्ते जालसाज र हक कायम २ मुद्दाको एउटै तारेख पर्चा दिएको सो तारेख पर्चाको फोटो प्रतिलिपिबाट देखिएको र पुनरावेदकले गुजारेको भनिएको मिति २०४९।११।२१ को तारेखमा हाजिर भै अर्को तारेख लिई राखेको देखिएकोले त्यसरी तारेख रहँदा रहँदै पुनरावेदन डिसमिस गर्ने गरेको मिलेको नदेखिएकोले अ.वं. २०२ नं. बमोजिम छलफलको लागि विपक्षी झिकाई पेश गर्नु भन्ने समेत यस इजलास संयुक्त इजलासको मिति २०५३।६।२२ को आदेश ।
९. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी तर्फबाट रहनु भएका विद्बान अधिवक्ता श्री विष्णु प्रसाद नेपालीले एकै लगाउका दुई मुद्दामा एउटै तारेख पर्चा प्राप्त गरी नियमित रुपमा तारेखमा बसी राखेको देखिएको छ । प्रस्तुत मुद्दामा मात्र तारेख गुजारेको भनी पुनरावेदन अदालतबाट भएको फैसला अ.वं. १७९ नं. प्रतिकूल समेत हुँदा बदर भागी छ भन्ने समेत वहस गर्नुभयो ।
१०. प्रत्यर्थी प्रतिवादी कृष्णभक्त सुवालसमेतका तर्फबाट रहनु भएका विद्बान अधिवक्ता श्री शिवभक्त प्रधानाङले पुनरावेदकले मिति २०५०।३।२५ मा डिसमिस भएको विषयमा मिति २०५१।१०।१८ मा मात्र नक्कल सारेको भनी परेको प्रस्तुत पुनरावेदन गर्ने म्याद विपरित छ भन्ने समेत वहस प्रस्तुत गर्नुभयो ।
११. यसमा निर्णय तर्फ विचार गर्दा, पुनरावेदिका अष्टलक्ष्मी सुवालले किर्ते जालसाज एवं हक कायम समेत दुई मुद्दाहरुमा जिल्ला अदालतको फैसला उपर पृथक पृथक पुनरावेदन दिएको देखिन्छ। उक्त दुवै मुद्दाका मिसिल हेर्दा बेग्ला बेग्लै तारेख भरपाई निज पुनरावेदिकाबाट ल्याप्चे लगाउन लगाई गराउने गरेको देखिए पनि पुनरावेदन अदालत पाटनबाट निजलाई दुवै मुद्दाको लागि एउटै तारेख तोकि एउटै तारेख पर्चा दिने गरेको देखियो र उक्त तारेख पर्चा हेर्दा सो पर्चाको माथि मुद्दा किर्ते जालसाजी हक कायम समेत थान २ दुई भनी जनाइएकोले सो दुवै मुद्दामा पुनरावेदिकाको तारेख चली निज तारेखमा बसी राखेकै देखियो । तारेखमा बसेका झगडियाको तारेख भरपाई नगराउनु र आफूले नै झगडियालाई पर्चा दिएको स्वतः थाहा जानकारी हुँदा हुँदै किर्ते मुद्दाको मिसिल संलग्न तारेख भरपाईका पुनरावेदिका अष्टलक्ष्मी सुवालले मिति २०४९।११।२१ को तारेखमा हाजिर नभई गुजारी बसेको भनी तारेख पर्चामा मिति २०५०।३।२५ मा जनाई डिसमिस गराउन पेश गर्नु सम्बन्धित फाँटवाला कर्मचारीको कर्तव्य प्रतिको हेलचेक्र्याई वा लापरवाही अथवा अरु के कस्तो कैफियतबाट भएको हो विभागीय कारवाहीबाट सजाय समेत निरोपण हुने विषय भएको देखिन आउँछ । तर रितपूर्वकको तारेख पाउँदा पाउँदै तारेखमा बसी राखेको झगडियाको मुद्दा कुनै पनि कानूनले डिसमिस गर्न मिल्दैन अ.वं. १७९ को कानूनी व्यवस्थालाई पुनरावेदन अदालत पाटनले प्रस्तुत मुद्दामा प्रयोग गरेको भएपनि सो कानून तारेख नगुजार्ने झगडियाको हकमा प्रयोग हुन सक्ने अवस्था नै रहँदैन । झिकाईएका विपक्षी तर्फका विद्बान अधिवक्ता श्री शिवभक्त प्रधानांगले पुनरावेदन अदालत पाटनबाट डिसमिस फैसला भएपछि सो डिसमिस यद्यपि वेरितसँग भएको भए पनि अ.वं. १७९ नं. मा तोकिएको म्याद अर्थात वेरितसँग डिसमिस भएकोमा वेरितसँग भएको कुरामा सम्म पैंतिसदिन भित्र पुनरावेदन लाग्नेमा मिति २०५०।३।२५ मा भएको डिसमिस उपर मिति २०५१।१०।१८ मा नक्कल सारेको मितिले भनी परेको पुनरावेदन म्याद खिलाफ छ भनी वहस प्रस्तुत गर्नु भएको छ । पुनरावेदन अदालत पाटनबाट भएको विवादको डिसमिस फैसला हेर्दा डिसमिस भएको जानकारी पुनरावेदिकालाई दिनु भनी सो फैसलामा नै आदेश गरिएको भएता पनि फाँटवालाबाट सो कर्तव्य पूरा गरिएको देखिँदैन । एक त आफ्नो मुद्दा डिसमिस भएको जानकारी नपाउनु र दोश्रो तारेखमा रहँदा रहँदै पनि मुद्दा डिसमिस भएको कुरा झगडियाले आफूले नक्कल सारेर थाहा पाएको भनी पुनरावेदन गर्न आउँछ भने अ.वं. १९७ नं. बमोजिम नक्कल लिएको मितिले पुनरावेदनको म्याद कायम हुने हुँदा पुनरावेदिकाले मिति २०५१।१०।२ मा नक्कल लिएर मिति २०५१।१०।१८ मा पुनरावेदन गरेको म्याद भित्रकै देखिएकोले विपक्ष तर्फका विद्बान अधिवक्ताको बहस जिकीर स्वीकार योग्य देखिएन । तसर्थ तारेखमा रहँदा रहँदै डिसमिस हुन नसक्नेमा वेरीतसँग डिसमिस गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२५ को डिसमिस फैसला बदर हुने ठहर्छ । अब पक्ष विपक्षलाई समेत रोहवरमा राखी नियमानुसार त्यस अदालतमा पुनरावेदिकाद्बारा दिइएको पुनरावेदन किनारा गर्नु भनी पुनरावेदन अदालत पाटनलाई लेखी रुजु पक्षलाई सो अदालतमा हाजिर हुन जानु भनी तारेख तोकी पठाउनु । तारेख भरपाई र तारेख पर्चामा बेग्ला बेग्लै तथ्यहरु लापरवाही वा के कस्तो कैफियतबाट हुन गएको हो ? सम्बन्धित फाँटवाला कर्मचारी उपर विभागीय कारवाही चलाई निरोपण गर्न समेत सो अदालतलाई लेखी पठाईदिनु । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. नरेन्द्र बहादुर न्यौपाने
इति सम्वत २०५४ साल कार्तिक ४ गते रोज २ शुभम्.......................................... ।