निर्णय नं. ६५४० - लिखत दर्ता बदरसमेत ।

नि.नं. ६५४० ने.का.प. २०५५ अङ्क ४
संयुक्त इजलास
माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत २०५३ सालको दे.पु.नं....... ३७१७
फैसला मिति २०५४।४।२१।३
मुद्दाः लिखत दर्ता बदरसमेत ।
पुनरावेदक/प्रतिवादीः- जि.का. काठमाडौं म.न.पा. वडा नं. १ कान्तिपथ बस्ने मोहनकुमारी स्थापित समेत जना ३ ।
विरुद्ध
विपक्षी/वादीः- ऐ. वार्ड नं. ३० बस्ने सानुरत्न स्थापित ।
§ अरु अंशियारहरु समेतको हक लाग्ने सम्पत्ति बेच विखन वा कुनै प्रकारको हक छाडी लिनु दिनु गर्दा संगोलका अंशियार यी वादीको समेत मंजुरी लिनुपर्नेमा त्यस्तो मंजुरी नलिई वक्सपत्र पारित गरी दिए लिएको देखिएबाट वादी दावी अनुसार वक्सपत्रको लिखत बदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला मिलेको देखिँदा मनासिव ठहर्ने ।
(प्र.नं. १३)
पुनरावेदक तर्फबाटः विद्बान अधिवक्ता त्रय श्री हरिशंकर निरौला, श्री शम्भु थापा, श्री मिथिलेश कुमार सिंह ।
प्रत्यर्थी तर्फबाटः विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्बान अधिवक्ता द्बय श्री होराप्रसाद जोशी, श्री श्याम प्रसाद खरेल ।
अवलम्वित नजीरः X
फैसला
न्या. कृष्णजंग रायमाझीः- पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा १२(१) को (क)(ख) अन्तर्गत परेको निवेदनमा दोहोर्याउने निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः-
२. पिता भिम रत्नका ३ छोराहरुको विच आजसम्म अंशवण्डा भएको छैन सगोलको सम्पत्तिबाट विपक्षी मोहन कुमारीका नाममा राजीनामा गरी लिएको का.न.पा. १ कि.नं. १२६६ र १२७५ को घर जग्गाहरु सगोल बाटै भोगचलन गरी आएकोमा उक्त जग्गा ०४४।३।२१ मा हर्ष रत्नलाई साक्षी राखी हालै देखिको वक्सपत्र पारित गरी दिएको उक्त वक्सपत्र लिखत दर्ता समेत ३ खण्डको बदर गरी मेरा नाममा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. विवादित सम्पत्ति मोहनकुमारीको एकलौटी सम्पत्ति हुँदा नाती भतिजालाई हालै देखिको वक्सपत्र गरी दिएको हो उक्त एकलौटीको सम्पत्ति वक्सपत्र गरी दिएको नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मोहनकुमारीको प्रतिउत्तर पत्र ।
४. विवादित सम्पत्ति मोहन कुमारीको एकलौटी सम्पत्ति हुँदा विपक्षीको हक लाग्ने सक्दैन । सो सम्पत्ति आफू खुस गर्न पाउने हुँदा म समेतको निजका भतिजालाई हालै देखिको वक्सपत्र गरी दिएको हुँदा बदर गराउन पाउने अधिकार विपक्षलाई नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको अक्षय रत्नको प्रतिउत्तर पत्र ।
५. विवादित सम्पत्ति मोहन कुमारीले आफूखुस गर्न पाउने सम्पत्ति हुँदा म समेतलाई हालै देखिको वक्सपत्र गरी दिएको हो उक्त वक्सपत्र बदर गराउन वादीलाई अधिकार नहुँदा फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोराको संजय रत्नको प्रतिउत्तर पत्र ।
६. लगाउको मि.नं ४३० को मुद्दाबाट समेत लिखत बदर हुने ठहर भएबाट प्रस्तुत मुद्दामा पनि वादी दावी अनुसार लिखत बदर हुने ठहर्छ भन्ने का.जि.अ. को मिति २०४९।३।२१ को फैसला ।
७. मैले आफूखुश गर्न पाउने सम्पत्ति वक्सपत्र गरी दिएकोमा सो वक्सपत्र बदर हुने ठहराएको शुरुको त्रुटिपूर्ण फैसला बदर गरी वादी दावी खारेज गरी पाउँ भन्ने समेत मोहन कुमारीको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
८. प्रमाणको मुल्याङ्कन नै नगरी दावी अनुसार वक्सपत्र बदर गर्ने गरेको शुरुको त्रुटिपूर्ण फैसला बदर गरी दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको संजय रत्न समेतको पुनरावेदन अदालत पाटनमा परेको पुनरावेदन पत्र ।
९. वादी समेतका अंशियारहरु समेतको हक लाग्ने विवादित घर जग्गा यो वादी समेतका अंशियारहरुको मंजूरी विना नै एक अंशियारले अर्को अंशियारलाई हा.व. पारित गरी दिएको देखियो कुनै ठोस आधार प्रमाणको अभावमा वक्स गरि दिए लिएको सम्पत्ति प्रतिवादी मोहन कुमारीको स्त्री अंश धनको महलको १ नं. बमोजिमको आर्जनको सम्पत्ति हो भनी मान्न नमिल्ने स्थितिमा यो वादीको मन्जूरी विनानै हा.व. पारित गरि लिए दिएको ठहराई वादी दावी अनुसार लिखत बदर हुने ठहर्याएको शुरुको फैसला सदर हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला ।
१०. निजी स्वआर्जनको एकलौटी हक लाग्ने सम्पत्ति हा.व. पारित गरि दिने लिने गरी भएको काम कानून बमोजिम नै भएकोले उक्त लिखत बदर हुने ठहराएको शुरुको फैसलालाई सदर हुने ठहराएको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण हुँदा मुद्दा दोहोर्याई हेरी उक्त फैसला बदर गरी प्रतिवाद जिकिर बमोजिम गरि पाउँ भन्ने समेत प्रतिवाद जिकिर बमोजिम गरि पाउँ भन्ने समेत व्यहोराको मोहन कुमारी समेतको यस अदालतसमक्ष परेको निवेदन पत्र ।
११. यसमा लगाउको नि.नं. ३८५८ (वक्सपत्र बदर समेत) मा दोहोर्याउने निस्सा प्रदान भएकोले एउटै लगाउको मुद्दा हुँदा साथै राखी किनारा गर्नुपर्ने देखिँदा यसमा समेत सोही आधार बुँदाबाट दोहोर्याउने निस्सा प्रदान गरेको छ भन्ने यस अदालतको मिति २०५३।१।१२ को आदेश ।
१२. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक पक्षबाट उपस्थित हुनु भएका विद्बान अधिवक्तात्रय श्री हरिशंकर निरौला, श्री शम्भु थापा तथा श्री मिथिलेश कुमार सिंहले लेनदेन व्यवहारको १० नं. को हदम्याद नाघी दायर भएको प्रस्तुत फिराद खारेज हुनुपर्ने तथा निजी आर्जनको एकलौटी सम्पत्ति हा.व. गरि दिएको कानूनसम्मत नै छ भन्ने समेत तथा प्रत्यर्थी तर्फबाट उपस्थित हुनु भएका विद्बान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्बान अधिवक्ताद्बय श्री होरा प्रसाद जोशी तथा श्री श्याम प्रसाद खरेलले अरु अंशियार समेतको हक लाग्ने सगोलको सम्पत्तिलाई एक अंशियारले वक्सपत्र पारित गरि दिएकोले उक्त वक्सपत्र लिखत दर्ता समेत वादी दावी बमोजिम बदर हुनुपर्छ भनी गर्नु भएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा दावी अनुसार वक्सपत्रको लिखत बदर हुने भनी शुरुले गरेको फैसला मनासिव ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो ।
१३. यसमा हाम्रो समेत अंश हक रहेको घर जग्गा प्रतिवादीहरु मिली हालै देखिको वक्स पत्रपारित गरी लिनु दिनु गरेकोले सो वक्सपत्र लिखत र र सोको आधारमा भएको दर्ता समेत ३ खण्डको १ खण्ड बदर गरी मेरो नाउँमा दर्ता गरि पाउँ भन्ने समेत वादी र मोहन कुमारीको एकलौटी सम्पत्ति वकसपत्र गरिदिएको हुँदा वकसपत्रको लिखत बदर हुनुपर्ने होइन भन्ने समेत प्रतिवादी भएको प्रस्तुत मुद्दामा विवादित कि.नं. १२६६ तथा १२७५ मा बनेको घर समेत प्रतिवादी मोहन कुमारीको स्वआर्जनको आफूखुस गर्न पाउने सम्पत्ति हो, होइन र त्यस्तै सम्पत्ति हक छाडी लिनुदिनु गर्दा यी वादीको मंजुरी लिनुपर्ने हो की हैन भन्ने विषय प्रस्तुत मुद्दाको मुख्य विवादको विषय देखिन्छ । विवादको घर जग्गा मोहन कुमारीको निजी आर्जनको वण्डा नलाग्ने भन्ने प्रतिवादीको जिकिरलाई पुष्टि गर्ने सबुद प्रमाण पेश भएको मिसिलबाट देखिँदैन । २०३५ सालमा दिदी रत्न देवीबाट ऋण लिएको रुपैयाँबाट उक्त घर जग्गा खरिद गरेको भन्ने समेत आधार प्रमाण रहेको पाइदैंन । प्रतिवादी मोहन कुमारीले विवादको घर जग्गा मानबहादुर र रुप राजेश्वरीबाट मिति २०३५।८।२२ मा राजिनामा लिखत गरि लिएको देखिन्छ । उक्त लिखतमा समेत दाइजो पेवाको वा कुनै निजी आर्जनको सम्पत्तिबाट खरिद गरेको भनी कैफियत खुलाएको देखिन आउँदैन । वण्डा नलाग्ने आफ्नु निजी आर्जनको सम्पत्ति हुँदा वक्सपत्रको लिखत गरी लिनु दिनु गरेको भन्ने प्रतिवादी जिकिर विश्वसनिय सबुद प्रमाणबाट पुष्टि हुन नसकेको र यसै लगाउको यिनै वादी प्रतिवादीहरु समेत भएको दे.पु.नं. ३७१६, ३७१८, ३७१५ तथा आपसमा सगोलका अंशियार भएकोले संगोलको सम्पत्ति अंशवण्डा हुने ठहर भई आज यसै इजलासबाट फैसला भएको र एकासगोलका अंशियारहरु जसको नाममा सम्पत्ति रहेको भएपनि अन्यथा प्रमाणित नभएसम्म संगोलकै मान्नुपर्ने हुँदा सो फैसलाका आधार बुँदा समेतबाट उक्त विवादित सम्पत्तिमा सगोलका सबै अंशियारहरुको हक लाग्ने देखिन्छ । यसरी अरु अंशियारहरु समेतको हक लाग्ने सम्पत्ति बेच विखन वा कुनै प्रकारले हक छाडी लिनुदिनु गर्दा संगोलका अंशियार यी वादीको समेत मंजुरी लिनुपर्नेमा त्यस्तो मंजुरी नलिई बक्सपत्र पारित गरि दिए लिएको देखिएबाट वादी दावी अनुसार वकसपत्रको लिखत बदर हुने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर हुने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०५१।१।२९ को फैसला मिलेको देखिँदा मनासिव ठहर्छ । पुनरावेदकहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. इन्द्रराज पाण्डे
इति सम्वत २०५४ साल श्रावण २१ गते रोज ३ शुभम्.......................................... ।