शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५५३ - अ्श दर्ता

भाग: ४० साल: २०५५ महिना: असोज अंक:

नि.नं. ६५५३               ने.का.प. २०५५   अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी

सम्वत २०५२ सालको दे.पु.नं....... २९१६, ३११९

फैसला मिति  २०५४।७।२९।६

 

मुद्दाः अंश दर्ता ।

 

पुनरावेदक/वादीः- पर्सा जिल्ला विरगंज नगरपालिका वडा नं. १९ बस्ने स्व. जोगेन्द्र राउत कुर्मीको पत्नी वर्ष ५४ की फुलमती कुर्मीनी ।     

विरुद्ध

प्रत्यर्थी/प्रतिवादीः- पर्सा जिल्ला वीरगंज नगरपालिका वडा नं. १९ बस्ने वीरबहादुर राउत कुर्मी मरी मु.स. गर्ने ऐ.ऐ. बस्ने निजको छोरा कृष्ण नारायण प्रसाद ।

 

पुनरावेदक/प्रतिवादीः- पर्सा जिल्ला विरगंज नगरपालिका वडा नं. १९ बस्ने वीरबहादुर राउत कुर्मीको मरी मु.स. गर्ने निजको छोरा वर्ष ४१ को कृष्णनारायण प्रसाद कुर्मी ।      

विरुद्ध

प्रत्यर्थी/वादीः- पर्सा जिल्ला विरगंज नगरपालिका वडा नं. १९ बस्ने स्व. जोगेन्द्र राउत कुर्मीको पत्नी फुलमती कुर्मीनी ।     

 

§ प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियार मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादी तर्फबाट आफ्नो नाउँमा रहेको सम्पत्ति स्वआर्जनको निजी हो भन्ने कुरा अन्यथा प्रमाणित हुन आएको देखिएको छैन । छोराहरुका नाममा रहेको सम्पत्ति पनि स्वआर्जन, वण्डा नहुने भन्ने जिकिर लिएको भएता पनि कानूनले वण्डा नहुने अवस्थाको देखिएन । यस्तो स्थितिमा प्रतिवादी वीरबहादुरका छोराहरुको नाममा रहेको सम्पत्ति पनि वादीले अंश नपाउने भन्न नमिल्ने ।

(प्र.नं. १५)

 

पुनरावेदक वादी तर्फबाटः  विद्बान अधिवक्ता श्री इन्द्र खरेल, विद्बान अधिवक्ता श्री शम्भु थापा ।

प्रत्यर्थी प्रतिवादी तर्फबाटः  विद्बान अधिवक्ता श्री महादेव यादव । 

अवलम्वित नजीरः ने.का.प. २०४९, अंक ६, नि.नं. ४५५४, पृष्ठ ५३८ ।

 

फैसला

 

        न्या. कृष्णजंग रायमाझीः- पुनरावेदन अदालत हेटौंडाको फैसला उपर वादी प्रतिवादी दुवै पक्षको तर्फबाट पर्न आएका पुनरावेदन पत्रहरु न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको अधिकारक्षेत्र भित्र पर्ने हुँदा प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छः-

        २.     ससुरा रुदल राउतको ३ छोरामा जेठा विपक्षी वीरबहादुर, माहिला तारा राउत, कान्छा मेरा लोग्ने जोगिन्दर राउत हुन, जेठाजू तारा राउत अगाडी नै परलोक भै सक्नु भयो, छोरा छोरी सन्तान कोही नभएको मेरो पति जोगेन्द्र राउत २०३८ सालमा परलोक हुनु भयो । विपक्षी वीरबहादुर तथा मेरा छोराहरु एकसाथ सगोलमा बसी बनाई खाई आएकोमा परिवारमा धेरै कलह भएकाले अंश दिनुहोस अलग बस्छु भनी भन्दा नदिनु भएकोले चल अचल श्री सम्पत्तिको तायदाती लि. २ खण्डको १ खण्ड अंश दिलाई मेरो नाममा दर्ता गरी पाउँ भन्ने वादी ।

        ३.     वादी दावी झुठ्ठा हो २ खण्डको १ खण्ड अंश दिनुपर्ने होइन मेरो पिता रुदल राउतसँग भएको अचल नम्बरी जग्गा ९०।९१ सालमा लिलाम भै साहुहरुले सरकार गरी लिएको सिर्फ घर मात्र थियो । वादीको लोग्ने जोगेन्द्रको विवादित पत्नी अन्तकाल भएपछि यी वादी जोगेन्द्रलाई लोग्ने तुल्याई बसेकी भै घर भएकोमा हाम्रो दाजुभाईको अंश बाबु रुदलकै पालामा आज करिब ३५ वर्ष भयो । वण्डा गरी आ आफ्नो घडेरीमा बसी आ आफूले भोग गरी आएका छौं म वीरबहादुरले भु.सु. ऐन लागू भएपछि २०२१ सालमा ७ नं. फाँटवारी समेत भरेको छु । हामीसँग बसेको भए फिरादीको पति जोगेन्द्रको आफ्नो जिवनकालमा ०१६ साल वैशाख १ गतेबाट म बाट जिन्सी धानमन ६।। कर्जा लि. कपाली तमुसुक गरी दिएको छ । सगोलमा बसेका भए त्यसरी लिखत गरी दिनु नपर्ने भई स्वर्गवास भएपछि वादी फुलमतीले आफ्ना एका घर सगोलको छोरा यस मुद्दामा वारेस हुने पशुपति प्रसाद समेतलाई अर्को छोरा मोहन प्रसादलाई साक्षी राखी ०४१ साल माघ २६ गते म बाट रु ४००१। लिई सो वापतमा कपाली तमसुक लेखी दिनु भएको छ । सगोलमा बसेका भए त्यसरी लिखत लेखी दिनु नपर्ने आफ्नो घवारी जग्गा फिरादीका पतिका नाउँमा सर्भे नापी हुँदा नापी भएको ७ नं. फाराम पनि अलग अलग भरी राखेको छ । ववन राउत समेतले वादीको जग्गामा च्याप्यो भनी सम्मानित अदालतमा दे.नं. २२८४ को बनाएको घर हटाई जग्गा चलन चलाई पाउँ भन्ने मुद्दामा पनि अंश भए गरेको र भोग दर्ता अलग अलग भएकोमा माथि जिकिर लिए अनुसार आपसमा लेनदेन व्यवहार भएको समेतबाट अगाडी नै अंश छुट्टी सकेको प्रमाणित हुने अंशवण्डाको ३० नं. मा व्यवस्था भए अनुसार उक्त प्रमाणबाट छुट्टिएका प्रमाणित हुने हुँदा अश दिनुपर्ने होइन छैन वादीको दावीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी ।

        ४.     प्रतिवादीले पेश गरेको धनी वीरबहादुर प्रतिवादी ऋणी जोगेन्द्र राउत कुर्मी समेत भएको २०१६ साल वैशाख १ गतेको धामन ६।।५ को लिखतको मिति पुछारमा र लिखितमा निर लागेको सहिछाप जोगेन्द्र राउतको हो होइन म भन्न सक्दिन लिखत सद्दे किर्ते के हो सो समेत भन्न सक्दिन भन्ने समेत व्यहोराको वादी वारेस पशुपति प्रसादको बयान ।

        ५.     प्रतिवादीले पेश गरेको भनी वीरबहादुर प्रतिवादी र ऋणी फुलमती देवी कुर्मिनी भएको थैली रु ४००१। को मिति २०४१ साल माघ २६ गतेको सक्कल लिखत हेर्दा हेर देखें सो सक्कल लिखतमा लगेको सहिछाप फुलमतीया कुर्मिनी कै हो लागेको सहिछाप सद्दे हो तर सो लिखत बमोजिमको रुपैया लिई लिखत गरी दिएको होइन फुलमतीले ववन राउत उपर दिएको जग्गा खिचोला मुद्दामा फुलमतीको हकमा वारेसनामा चाहिन्छ भनी वारेसनामा प्रतिवादीले भनी जालसाज गरी लिखतमा सहिछाप गराएका हुन जालसाज गर्ने लिखत साक्षी हरिन्द्र र इन्द्रदेव समेतको हात छ तिनैजनालाई सजाय गरी पाउँ भन्ने समेत व्यहोराको वादी वारेस पशुपति प्रसादले गरेको बयान ।

        ६.     लिखत बमोजिमको वादीले मबाट बुझि लिएपछि सो वापतमा मलाई लिखत गरिदिएको हो जालसाज गरी वारेसनामा हो भनी झुक्याई सहिछाप गराएको होइन वादीको बयान झुठ्ठा हो भन्ने समेत व्यहोराको वीरबहादुरले गरेको बयान ।

        ७.     वादीका लोग्नेको पालादेखि नै वादी प्रतिवादी अलग अलग भै अलग अलग भोग विक्री व्यवहार भएको देखिन आएको हुँदा माथि लेखिए अनुसारको संकलित सबुद प्रमाणबाट वादी प्रतिवादी बीच वण्डापत्रको लिखत नभएपनि अंशवण्डाको ३० नं. अनुसार लेनदेन कारोबार तथा छुट्टाछुट्टै भोग विक्री व्यवहार समेत वादी प्रतिवादी बीच भै सकेको देखिन आएको हुँदा अंश पाउँ भन्ने वादी दावी पुग्न सक्नैन भन्ने शुरु पर्सा जिल्ला अदालतको मिति २०४४।८।८ गतेको फैसला ।

        ८.     उक्त फैसला त्रुटिपूर्ण हुँदा बदर गरी मेरो फिराद दावी मुताविक अंश पाउने गरी इन्साफ पाउँ भन्ने पुनरावेदक वादीको तत्कालिन नारायणी अंचल अदालतमा परेको पुनरावेदन ।

        ९.     शुरु निर्णय विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाउनु भन्ने तत्कालिन नारायणी अंचल अदालतको मिति २०४६।१।५ गतेको आदेश । 

        १०.  प्रतिवादी पक्षबाट तायदाती पेश गर्न लगाई पेश गर्नु भन्ने पुनरावेदन अदालत हेटौंडाको आदेशानुसार प्रतिवादीबाट तायदाती फाँटवारी पेश भएको रहेछ ।

        ११.  वादी तथा प्रतिवाद वीरबहादुरले पेश गरेको बहादुरका छोराहरुको नाउँमा दर्ता रहेको सम्पत्ति बाहेक वीरबहादुरको नाउँमा रहेको सम्पत्ति बाहेक वीरबहादुरको नाउँमा दर्ता रहेको सम्पत्ति जग्गाबाट र वादीले शुरुमा पेश गरेको तायदातीको श्री सम्पत्तिबाट सम्म वादि फूलमती देवीले २ भागको १ भाग मध्ये फुलमतीका ५ छोरा र आफू समेत ६ अंशियार भै अन्य अंशियारको दावी भएको नदेखिएका र निजहरुको हकमा दावी भएको अवस्थामा ठहरे बमोजिम हुने गरी वादी फुलमतीले सम्म ६ बमोजिम हुने गरी वादी फुलमतीले सम्म भागको १ भाग अंश प्रतिवादीबाट पाउने र निजको नाउँमा दर्ता हुने समेत हुँदा शुरु पर्सा जिल्ला अदालतको इन्साफ सो हदसम्म उल्टी हुने ठहर्छ भन्ने समेत पुनरावेदन अदालत हेटौंडाबाट भएको फैसला ।

        १२.  पर्सा जिल्ला अदालतको फैसला पूर्णतः उल्टी नगरी प्रतिवादी वीरबहादुर राउतको छोराहरुको नाउँको तायदातीमा उल्लेखित सम्पत्तिमा मेरो अंश हक नठहराई फिराद दावी विपरित २ भागको १ भाग मध्ये ६ भागको भाग अंश पाउने गरी भएको त्यस्तो हदसम्मको फैसला नमिलेकोले सो हद सम्मको पुनरावेदन अदालत हेटौंडाको फैसला बदर गरी तायदातीमा उल्लेखित सम्पत्तिमा २ खण्डको १ खण्ड अंश पाउने गरी न्याय पाउँ भन्ने समेत व्यहोराको वादी फुलमती कुर्मिनीले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

        १३.  पुनरावेदन अदालत हेटौंडाको प्रतिवादी वीरबहादुरको सम्पत्तिमा वादी र वादीको छोरा समेतले २ खण्डको १ खण्ड अंश पाउने ठहर्‍याई गरेको निर्णय प्रमाण कानून एवं नजिर विपरित हुँदा बदर गरी शुरु फैसला सदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी वीरबहादुरको मु.स. गर्ने कृष्णनारायण प्रसाद कुर्मीले यस अदालतमा दिएको पुनरावेदन पत्र ।

        १४.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक (वादी) फुलमती कुर्मीको तर्फबाट बहसको लागि उपस्थित विद्बान अधिवक्ता श्री इन्द्र खरेलले मेरो पक्ष फुलमती कुर्मीले २ भागको १ भाग अंश पाउँ भनी दावी गरेकोमा पुनरावेदन अदालत हेटौंडाको ६ भागको १ भाग मात्र पाउने ठहर गरी गरेको फैसला मिलेको छैन । (ने.का.प. २०४९ अंक ६ नि.नं. ४५५४ पृ. ५३८ पुनरावेदक बलदेव उपाध्याय विपक्षी गीता भट्टराई समेत भएको लिखित बदर मुद्दामा मिति २०४९।४।२१।४ मा फैसला हुँदा वादी प्रतिवादी एकाघर सगोलमा रहे भएको अवस्थामा खरिद भएको भए पनि त्यस्तो सम्पत्ति सगोलको सम्पत्ति हुनवे भनी अदालतले अनुमान गर्नुपर्ने स्थिति हुँदा सगोलको जग्गा कुनै अंशियारको नाउँमा भएकै कारण स्वआर्जन सरह निजी एवं एकलौटी ठान्न नमिल्ने भनी सिद्धान्त  समेत प्रतिपादन भै सकेकोले प्रस्तुत मुद्दामा अंश मुद्दा दायर गरेको अघिल्लो दिन अर्थात मिति २०४२।७।१२ मा मानो छुट्टिएको मिति कायम गरी मिति २०४९।११।२० मा मालपोत कार्यालय बाराबाट प्राप्त सम्पत्तिको विवरण अनुसारको जग्गा मध्येबाट २ भागको १ भाग जग्गा मेरो पक्षले पाउनु पर्द भनी र पुनरावेदक (वादी) फुलमतीकै तर्फबाट उपस्थित अर्का विद्बान अधिवक्ता श्री शम्भु थापाले मेरो पक्ष र प्रतिवादी बीच कहिले वण्डा भएको भन्ने मिति र वण्डापत्रको कागज प्रतिवादीले पेश गर्न सकेको स्थिति छैन । विपक्षीका नाममा १४ विगाहा जग्गा रहेको छ भने मेरो पक्षको नाममा केवल १४ कठ्ठा मात्र रहेको पाइन्छ । भु.सु.का. मा ७ नं. फाराम भर्दा अचल सम्पत्ति देखिएको छ । विपक्षी वीरबहादुर परिवारको जेठो छोरो भएकाले भएको पैतृक सम्पत्ति निजकै नाममा छ । विपक्षीले आफ्नो नाममा रहेको जग्गाको श्रोत ऐलानी हो भन्दै वण्डा लाग्नुपर्ने होइन भनिएको छ तर ऐलानी जग्गाको ७ नं. फाराम भरिदैंन । दर्ता छुट भएको भन्ने कुरा दर्ता भोग विक्रि व्यवहारबाट देखिएको हुनु पर्दछ । मेरो पक्षले ०४१ सालमा विपक्षीबाट कपाली तमसुक गरी ऋण लिएको हुन सक्दछ । तर अंश लिएको भनी कागज गरेको छैन । कपाली तमसुककै आधारमा मेरो पक्षले अंश लिएको होइन भनी मान्न मिल्दैन । विपक्षीको नाममा रहेको उक्त जग्गा निजी आर्जन होइन भन्ने कुरा ७ नं. फाराम भरेकोबाट पनि स्पष्टै छ । तसर्थः मेरो पक्षलाई पुनरावेदन अदालत हेटौंडाले वीरबहादुरका छोराहरुको नाममा रहेको सम्पत्ति बाहेक गरी वीरबहादुरको नाममा रहेको सम्पत्तिबाट मात्र ६ भागको १ भाग मात्र अंश पाउने ठहर गरी गरेको फैसला नमिलेको हुँदा फिराद दावी बमोजिम सम्पूर्ण सगोलका परिवारका नाममा रहेको सम्पत्ति मध्ये २ भागको १ भाग अंश पाउनु पर्दछ भनी र पुनरावेदक (प्रतिवादीका) तर्फबाट बहसका लागि उपस्थित विद्बान अधिवक्ता श्री महादेव यादवले पैतृक सम्पत्ति १९९० सालमा लिलाम भै सकेको छ । जिल्ला अदालतको फैसला पश्चात विपक्षी वादीले पुनरावेदन दिँदा पनि वण्डा हुनु पर्ने अचल सम्पत्ति बाँकी थियो भनी किटानी जिकिर लिन सकेको छैन । प्रतिवादीसँग पैतृक सम्पत्ति बाँकी रहेको छैन र वादी प्रतिवादी बीच २०१६ साल २०४१ सालमा लेनदेन कारोबार भै लिखत भएको कुरामा दुवै पक्षको मुख मिलेकै छ । वादी र प्रतिवादी बीच भएको सो कागजले दुवै पक्ष अलग अलग भै छुट्टी भिन्न भएको तथ्य स्थापित हुन्छ । ववन राउत उपर यि वादीले दिएको मुद्दामा पनि अलग अलग ७ नं. फाँटवारी भरेको पाइन्छ । राम आशिषल मेरो पक्ष वीरबहादुर उपर दिएको खिचोला मुद्दामा २०४२ सालमा मिलापत्र भएकोमा यी वादीका लोग्ने जोगिन्दर र मेरो पक्ष वीरबहादुरको जग्गाको अलग अलग ४ किल्ला उल्लेख भएको छ । वादीका साक्षी देवी शाह भन्ने रामचन्द्र शाहले अदालतमा आई वकपत्र गर्दा पनि यी वादि प्रतिवादी १०।१५ वर्ष अगाडी सम्म सगोलमा थिए भनी वकपत्र गरी दिएबाट यी वादी प्रतिवादी छुट्टी भिन्न भएको कुरा स्पष्ट हुन्छ । ने.का.प. २०४६ अंक ६ नि.नं. ३८६९ पृ. ७०६ पुनरावेदक शेरबहादुर चौधरी प्रत्यर्थी शेषनारायण चौधरी भएको अंश मुद्दामा मिति २०४६।५।२८।४ मा फैसला हुँदा कुनै अंशियार बीच वण्डा  गर्नुपर्ने कुनै सम्पत नभए त्यस्ता अंशियार छुट्टी भिन्न हुँदा कानूनी व्यवस्था बमोजिम वण्डापत्र खडा गर्नुपर्ने कुनै अवस्था रहने देखिन नआएकोले यस्तो अवस्थामा अंशियार बीच वण्डापत्र नभएको कारणबाट छुट्टी भिन्न भै सकेको छैन भन्न सकिने अवस्था देखिन आउँदैन भनी सिद्धान्त समेत प्रतिपादन भैसकेको हुँदा पुनरावेदन अदालतको फैसला उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर गरी शुरु जिल्ला अदालतले गरेको फैसला कायम हुनुपर्दछ भनी गर्नु भएको बहस जिकिरसमेत सुनियो ।

        १५.  दुवै तर्फका विद्बान अधिवक्ताहरुको बहस जिकिर समेत सुनि निर्णय सुनाउनको लागि आजको पेशि तारेख तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत हेटौंडाको मिति २०५१।५।१४।३ मा गरेको फैसला मिले नमिलेको के रहेछ सो सम्बन्धमा निर्णय दिनुपर्ने हुन आयो । हामी विच अंशवण्डा नभएको हुँदा र सम्पूर्ण सम्पत्ति प्रतिवादीसँग भएकाले प्रतिवादीबाट २ भागको १ भाग अंश पाउँ भन्ने वादी र पैतृक सम्पत्ति १९९०।९१ नं. सालमा लिलाम भै बाँकी नरहेको हुँदा वादी दावी अनुसारको अंश दिनुपर्ने होइन भन्ने प्रतिउत्तर भएकोमा शुरु जिल्ला अदालतले वादी दावी पुग्न नसक्ने ठहर गरी र पुनरावेदन अदालत हेटौंडाबाट वीरबहादुरका छोराहरुका नाममा रहेको जग्गा बाहेक निज वीरबहादुरका नाउँको जग्गा मध्येबाट ६ भागको १ भाग अंश पाउने ठहर गरी भएको फैसला उपर वादी दावी अनुसार वीरबहादुर कुर्मी र निजका छोराहरुका नाममा रहेको सम्पूर्ण जग्गा मध्येबाट २ भागको १ भाग अंश पाउँ भन्ने वादीको र पैतृक सम्पत्ति सम्पूर्ण लिलाम भै बाँकी नरहेको हुँदा ६ भागको १ भाग वादीले पाउने ठहर गरी भएको पुनरावेदन अदालतको फैसला समेत बदर गरी शुरु जिल्ला अदालतबाट भएको इन्साफ सदर कायम गरी पाउँ भनी प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा यी वादी फुलमती कुर्मीनी जोगिन्दर राउतको श्रीमती रहेको भन्ने कुरा र जोगिन्दर राउत र प्रतिवादी वीरबहादुर राउत दाज्यू भाई रहे भएको कुरामा कुनै विवाद रहेको नपाइएको यी वादीका पति जोगिन्दर राउत र प्रतिवादी वीरबहादुर राउतका बीच अंशवण्डा भएको भन्ने ठोस लिखत प्रतिवादीले पेश गर्न नसकेको । मुलुकी ऐन अंशवण्डाको ३० नं. को तात्पर्यलाई अंश भै सकेको भन्नलाई सगोल सम्पत्ति आ आफ्नो भागमा वण्डा गरी लिई पाई आ आफ्नो नाममा दर्ता भोग रहेको भन्ने कुरा लिखत प्रमाणबाट पुष्टि समर्थन हुन आएको नपाइएको र प्रतिवादीले प्रमाण स्वरुप भनि पेश गरेको मिति २०१६।९।१३ मा वादीका पति जोगिन्दर राउत कुर्मीले ६ मन ५ पसेरी धान लिए वापत गरी दिएको कपाली तमसुक र मिति २०४१।१०।२६ मा प्रतिवादी वीरबहादुरबाट वादी फुलमतीले नगद रु ४००१। लिएको बारेको लिखत भएको देखिए पनि २०४१ साल र २०१६ सालमा भएको उक्त लिखतहरुकै आधारमा वण्डा भै सकेको भनि अनुमान गरी अंश भाग पाउने जस्तो संवेदनशील कुरामा अंश नपाउने ठहर गरी फैसला गर्न कानून र न्यायसंगत रुपमा मिल्ने देखिन आएन । त्यसका साथै २०४१ सालको दे.पु.नं. ५०६ पुनरावेदक सावित राम सुनार प्रत्यर्थी लक्ष्मी सुनार भएको अंश मुद्दामा यस अदालतबाट मिति २०४१।९।७ मा फैसला घरायसी लिखत र कपाली तमसुकको आधारमा वादीले अंश पाइसकेको भन्न नमिल्ने भनी सिद्धान्त प्रतिपादन समेत भैरहेको देखिन्छ । त्यस्तै प्रतिवादीले भरेको ७ नं. फाँटवारीमा भिन्न भएको लेखि दिएको कुराले वादीलाई अंश पाउने कुरामा प्रतिकुल प्रभाव पर्दछ भनी मान्न सकिने अवस्था देखिँदैन । वादीको लोग्ने तथा वादी स्वयमं प्रतिवादीको एका सगोलको अंशियार देखिन आयो । अब पुनरावेदन अदालत हेटौंडाले प्रतिवादी वीरबहादुर राउतको छोराहरुको नाममा रहेको बाहेक वीरबहादुरको नाममा रहेको जग्गाबाट मात्र वादीले ६ खण्डको १ खण्ड अंश पाउने ठहर गरेको सन्दर्भमा विचार गर्दा प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियार मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादी तर्फबाट आफ्नो नाउँमा रहेको सम्पत्ति स्वआर्जनको निजी हो भन्ने कुरा अन्यथा प्रमाणित हुन आएको देखिएको छैन । छोराहरुका नाममा रहेको सम्पत्ति पनि स्वआर्जन वण्डा नहुने भन्ने जिकिर लिएको भएतापनि कानूनले वण्डा नहुने अवस्थाको    देखिएन । यस्तो स्थितिमा प्रतिवादी वीरबहादुर छोराहरुको नाममा रहेको सम्पत्तिबाट पनि वादीले अंश नपाउने भन्न मिलेन । जहाँसम्म पुनरावेदन अदालतबाट वादीका ५ वटा छोरा अंशियार भएको हुँदा वादी फुलमती राउत कुर्मीले ६ खण्डको १ खण्डमात्र अंश पाउने भन्ने ठहर गरेको छ सो सम्बन्धमा प्रतिवादी वीरबहादुर र वादीको लोग्ने जोगेन्दर दुई अंशियारहरु भै वादीको लोग्ने जोगिन्दर मरीसकेको हुँदा निज मरी सकेपछि निजको अंश भाग प्रतिवादीको अंशियार भएको निजकी श्रीमती अर्थात फुलमती राउत कुर्मीले प्रतिवादीबाट छुट्टर्‍याई लिन पाउने भै निज फुलमतीका छोराहरुले आफ्नो अंश फुलमतीबाटै पाउन सक्ने अवस्था हुँदा पुनरावेदन अदालत हेटौंडाले वीरबहादुरका छोराहरुका नाममा रहेको बाहेक गरी वीर बहादुरको नाममा रहेको जग्गा मध्येबाट मात्र ६ भागको १ भाग अंश वादीले पाउने ठहर गरेको फैसला नमिलेको हुँदा यी पुनरावेदिका (वादी) फुलमती राउत कुर्मीले वादी प्रतिवादी दुवैपक्षबाट तायदातीमा खुल्न आएको सम्पूर्ण सम्पत्तिको २ खण्डको १ खण्ड सम्पत्ति प्रतिवादीबाट वादिले अंश पाउने ठहर्छ । तायदातीमा कि.नं. २७ र सो मा बनेको घर भन्ने उल्लेख भएको तर पुनरावेदन अदालत हेटौंडाको फैसलामा वण्डा हुने भनी भएको कुरा तपसिल खण्डमा उल्लेख गरिनुपर्नेमा नगरेको त्रुटि देखिन्छ । वीर बहादुरका नाममा रहेको सम्पत्तिबाट मात्र ६ भागको १ भाग अंश वादीले पाउने ठहर गरेको र वीरबहादुरका छोराहरुको नाममा रहेको सम्पत्ति वण्डा नलाग्ने हदसम्मको पुनरावेदन अदालत हेटौंडाको गरेको फैसला सो हदसम्म नमिलेकोले केहि उल्टी हुने ठहर्छ। तपसिलमा उल्लेख भए बमोजिम गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।

तपसिल

        पुनरावेदक वादी फुलमती कुर्मीनी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादि फुलमती कुर्मीनीले मिति २०४४।६।६ मा पर्सा जिल्ला अदालतमा पेश गरेको तायदाती फाँटवारीमा उल्लेख गरेको प्रतिवादी वीरबहादुर राउतको मु.स. गर्ने कृष्णनारायण प्रसादले पुनरावेदन अदालत हेटौंडामा मिति २०५१।२।१५ मा पेश गरेको तायदाती फाँटवारीमा उल्लेखित निम्न बमोजिमको सम्पूर्वण श्रीसम्पत्तिबाट वादि फुलमती कुर्मीनीले दुई खण्डको १ खण्ड अंश पाउने ठहरेकोले दण्ड सजायका ४६ नं. का म्यादभित्र वादीको दरखास्त परे वण्डा गरेको श्री सम्पत्तिको सयकडा २।५० ले हुने दस्तु असुल गरी वण्डा छुट्याई दिनु भनी शुरु पर्सा जिल्ला अदालतमा लगत दिनु...................१

निम्न

        जोगेन्द्र राउत कुर्मीका नाउँ दर्ता भएको मेरो जिम्मामा रहेको भनी वादी फुलमती कुर्मीनीले मिति २०४४।६।६ मा पेश गरेको तायदातीको घर जग्गा

जिल्ला

पंचायत

वडा नं.

कि.नं.

क्षेत्रफल

साविक बारा हाल पर्सा

इनर्वाझाठा हाल वि.नं.पा.

साविक ३ हाल १९

हाल २६

२९

०-०-१०

०-०-४

मा भएको पूर्व र पश्चिम शेखको फुसको घर २ तले समेत

   

        प्रतिवादी वीरबहादुर कुर्मीको मु.स. गर्ने कृष्णनारायण प्रसादले मिति २०५१।२।१५ मा पेश गरेको तायदाती फाँटवारी बमोजिम पेश गरेको तायदाती फाँटवारी बमोजिम वीरबहादुरका नाममा दर्ता रहेको ।

जिल्ला

पंचायत

वडा नं.

कि.नं.

क्षेत्रफल

किसिम

बारा

फत्तेपुर

२५८

१-३-०

सिम

बारा

फत्तेपुर

६ गाउँ

०-४-०

भि.अ.

बारा

फत्तेपुर

 ६ गाउँ

१९

०-०-१४

भि.अ.

बारा

फत्तेपुर

 ६ गाउँ

३९

०-०-१५

भि.अ.

बारा

फत्तेपुर

६ गाउँ

४९

०-०-७

भि.अ.

बारा

फत्तेपुर

 ६ गाउँ

६६

०-६-०

भि.अ.

बारा

फत्तेपुर

६ गाउँ

७३

०-८-५

दोयम

बारा

फत्तेपुर

६ गाउँ

१११

१-१२-०

अवल

बारा

फत्तेपुर

६ गाउँ

११३

१-५-०

दोयम

बारा

फत्तेपुर

६ गाउँ

११५

०-४-१०

अवल

बारा हाल पर्सा हाल वि.न.पा.

इनरभाटा

०-१-४

 भि.अ.

बारा हाल पर्सा हाल वि.न.पा.

इनरभाटा

०-१-५

भि.अ.

        वीरबहादुरका नाउँमा सर्भे नापी भएको जिल्ला बारा इनरवा भाठा गा.पं. वडा नं. ३ गाउँको कि.नं. ३२ हाल वि.न.पा. पर्सा वडा नं. १९ ऐलानी घरवास मिन्हीको ०-१-१५ र सोमा भएको फूसको घर २ घर जग्गा वीरबहादुरको नाउँमा सर्भे नाप नक्सा भएको घरवास मिन्हीको ऐलानी जिल्ला बारा इनरवा भाठा गा.पं. वडा नं. ३ गाउँ हाल वीरगंज नगरपालिकाको कि.नं. २७ को ०-०-८ र सो जग्गामा बनाएको पक्कि घर जग्गा ।

जेठो छोरा लखनलाल प्रसाद कुर्मीका नामको

जिल्ला

पंचायत

वडा नं.

कि.नं.

क्षेत्रफल

किसिम

बारा

फत्तेपुर

१३

१-०-०

भि.अ.

बारा

फत्तेपुर

५१

०-१७-०

भि.अ.

बारा

फत्तेपुर

७१

०-१४-५

अवल

बारा

फत्तेपुर

१०७

०-४-१५

दोयम

बारा

फत्तेपुर

१४१

०-९-०

दोयम

बारा

फत्तेपुर

१५६

०-१२-०

भि.अ.

बारा

फत्तेपुर

१९३

०-१९-१०

भि.अ.

बारा हाल पर्सा हाल वि.न.पा.

इनरभाठा

५(क)

४७

०-४-१०

सिम

 

माहिलो छोरो किरन नारायण भन्ने कृष्ण नारायण राउत कुर्मीका नाउँको

जिल्ला

पंचायत

वडा नं.

कि.नं.

क्षेत्रफल

किसिम

बारा

फत्तेपुर

०-७-५

दोयम

बारा

फत्तेपुर

५ गाउँ

१३

०-९-०

भि.अ.

बारा

फत्तेपुर

५ गाउँ

२४

०-४-८

भि.अ.

बारा

फत्तेपुर

५ गाउँ

६२

०-१-१०

भि.अ.

बारा

फत्तेपुर

५ गाउँ

१०

१-११-१०

भि.अ.

बारा

फत्तेपुर

२८०

३-१६-६

भि.अ.

बारा

फत्तेपुर

१४८

०-७-०

भि.अ.

बारा

फत्तेपुर

९३

१-७-०

अवल

बारा

फत्तेपुर

३८

०-१९-०

दोयम

कान्छो छोरा शम्भु नारायण प्रसाद कुर्मीका नाउँको

जिल्ला

पंचायत

वडा नं.

कि.नं.

क्षेत्रफल

किसिम

बारा

फत्तेपुर

४२

०-९-५

भि.अ.

 

        माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत हेटौंडाको फैसला केहि उल्टी हुने ठहरी फैसला भएकोले पुनरावेदन अदालत हेटौंडाले ६ खण्डको १ खण्ड वण्डा छुट्टयाई दिनु भनी कायम गरेको लगत नरहने हुँदा सो लगत कट्टा गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी  पठाउनु ।

        पुनरावेदक फुलमती कुर्मिनी के माथि इन्साफ खण्डमा लेखिए बमोजिम २ खण्डको १ खण्ड अंश पाउने ठहरेकाले शुरु कोर्ट फि रु. २५। पुनरावेदन तहको रु २५। र तायदाती दाखिल भएपछि राखेको कोर्ट फि रु. ११७६।५३ समेत जम्मा रु. १२२६।५३ को २ खण्डको एक खण्ड कोर्टफि भरी पाउँ भनी प्रतिवादीको यसै सरहदको जेथा देखाई ऐनका म्यादभित्र वादीले दरखास्त दिए केही दस्तुर नलिई भराई दिनु भनी शुरु पर्सा जिल्ला अदालतलाई लेखी पठाउनु......३

        पुनरावेदन अदालत हेटौंडाको फैसलाले नं. २ मा कायम गरेको कोर्ट फि भराउने सम्बन्धी लगत कट्टा गर्नु भनी शुरु पर्सा जिल्ला अदालतमा लेखी पठाउनु...........................................४

मिसिल नियमानुसार गरी बुझाई दिनु............................................................................५

 

उक्त रायमा म सहमत छु ।

 

न्या. मोहनप्रसाद शर्मा

 

इति सम्वत २०५४ साल कार्तिक २९ गते रोज ६ शुभम्.............................................. ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु