शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५५५ - जालसाजी

भाग: ४० साल: २०५५ महिना: असोज अंक:

नि.नं. ६५५५               ने.का.प. २०५५   अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय

माननीय न्यायाधीश श्री केदारनाथ आचार्य

सम्वत २०४९ सालको फौ.पु.नं....... ५२९

फैसला मिति  २०५४।९।२१।२

 

मुद्दाः जालसाजी ।

 

पुनरावेदक/प्रतिवादीः- कास्की जिल्ला राखी गा.वि.स. वडा नं. ७ बस्ने भगवान रानाभाटसमेत ।     

विरुद्ध

प्रत्यर्थी/वादीः- ऐ.ऐ. बस्ने शारदा रानाभाट ।

 

§ अंशको दावी परी सकेपछि लोग्नेको बाबुबाट अंश बुझी गरी दिएको भरपाईले कानून बमोजिम वादीहरुले प्राप्त गर्ने अंश हकमा प्रत्यक्षतः असर पर्ने गरी मिति २०४५।११।१८ को कागज बनाए बनाउन लगाएको देखिन आयो । सो भरपाई कागजबाट वादीले कानून बमोजिम प्राप्त गर्न सक्ने अंशमा हक कायम हुन सक्ने कुरालाई अन्यथा हुने गरी भएको भरपाईबाट वादीको अंशहरु मेटिने देखिएकोले त्यस्तो कागज किर्ते कागजको ३ नं. ले जालसाजी देखिने ।

(प्र.नं. ११)

 

पुनरावेदक वादी तर्फबाटः X

प्रत्यर्थी प्रतिवादी तर्फबाटः X  

अवलम्वित नजीरःX 

 

फैसला

 

        न्या. केशवप्रसाद उपाध्यायः- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-

        २.     विपक्ष मध्येका ससुरा भगवान रानाभाटका ३ भाई छोरामा जेठा विपक्ष मध्येका महादेव रानाभाटसँग मेरो प्रेम सम्बन्ध भै मिति २०४५।६।१६ मा विवाह भएको र विपक्षी पतिका करणी विर्यबाट एक छोरा सत्यमानको जन्म भएको छ । विपक्षहरुले मलाई खान लाउन नदिएकाले अंश पाउँ भनी फिराद दायर गरेकोमा विपक्षीहरु मिली मलाई अंश मार्ने उद्देश्यले कि.नं. २७२ को ५-६-२-२ मध्ये १ रोपनी मात्र जग्गा लिई चलमा रु ४०,०००। र अचल रु ५०,०००। बुझेको भनी जालसाजीबाट अंश बुझेको भरपाई पारित गरेको सो लिखत तर्फ छुट्टै फिराद गरेको हुँदा मेरो अंश हक मेट्ने उद्देश्यले जालसाजबाट अंश भरपाई लिनु दिनु गरेको संरक्षक भै आफ्नो हकमा समेत शारदा रानाभाटको फिराद पत्र ।

        ३.     हामी लेखापढी गर्ने मानिस भएको हुँदा प्रतिवादी मध्येका भगवान रानाभाटले अंश भरपाई लेखि दिनु पर्यो  भनेकोले लेखी दिएको हो । हामीले जालसाज गरेको होइन भन्ने समेत गणेश भक्त श्रेष्ठ र बलराम खत्री क्षेत्रीको संयुक्त प्रतिउत्तर पत्र ।

        ४.     वादीलाई खान लाउन दिई घरबाट निकाला गरेको होइन सबै कुरा अंश मुद्दाको प्रति उत्तरमा उल्लेख गरेको छु । वादी र म महादेव छुट्टै बसेको थियौं । वादीकै सल्लाह अनुसार र पिता भगवान रानाभाटमा १ रोपनी जग्गा र रु ४००००। नगदै बुझी अंश भरपाई पास गरी दिएको हो र सो रु ४००००। वादीलाई राख्न दिएको सो रुपैया नदिने विचारले झुठ्ठा नालेश दिएको हो भन्ने समेत महादेव रानाभाट भगवान रानाभाट र बासुदेव रानाभाटको संयुक्त प्रतिउत्तर  पत्र ।

        ५.     वादी प्रतिवादीको साक्षीहरुको वकपत्र भै मिसिल सामेल रहेछ ।

        ६.     प्रतिवादी महादेवले पिताबाट थोरै अंश बुझेको सम्म देखिन्छ । सामान्यतः हाम्रो व्यवहारमा कम वेसी लिने गरेको देखिन्छ तापनि यसबाट वादीको सम्पूर्ण अंश मार्न उद्देश्यले नै यो अंशवण्डा भएको हो की भन्नलाई केही सम्पत्ति अंश लिएर गरेको देखिन्छ । सम्पूर्ण अंश मारेको नदेखिँदा जालसाजी तर्फ वादीको दावी पुग्न सक्दैन भन्ने समेत शुरु कास्की जिल्ला अदालतको मिति २०४७।२।१० को फैसला ।

        ७.     अंश मुद्दा र लिखत बदर मुद्दामा अंश पाउने र लिखत बदर हुने ठहरी सकेपछि जालसाज नठहराएको शुरु कास्की जिल्ला अदालतको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी जालसाजी ठहराई विपक्षीहरुलाई हदैसम्म सजाय गरी पाउँ भन्ने समेत वादी शारदा रानाभाटको पुनरावेदन पत्र ।

        ८.     यसमा लिखत बदर र अंश मुद्दा लिएका आधारहरुको परिप्रेक्ष्यमा शुरुको इन्साफ विचाराणीय हुँदा छलफलको लागि अ.वं. २०२ नं. बमोजिम विपक्षीलाई म्याद दिई झिकाई आएपछि वा गुजारेपछि नियमानुसार पेश गर्नु भन्ने गण्डकी अंचल अदालतको मिति २०४८।६।१ को  आदेश ।

        ९.     अंश मुद्दा परी सकेपछि एकदमै असमान स्थितिको अंशको भरपाई हुँदा सो भरपाईबाट वादीको अंशमा असर पार्ने उद्देश्य निहित नै रहेको मान्नु पर्ने हुँदा प्रतिवादी मध्ये महादेव रानाभाट र भगवान रानाभाटले वादी दावी अनुसार किर्ते कागजको ३ नं. अनुसारको जालसाजी गरेको ठहर्छ । अन्य साक्षीहरुलाई मुख्य उद्देश्यले जानकारी रही सो भरपाईमा साक्षी बसेको भन्ने कतैबाट खुल्न नआएको हुँदा निजहरुको हकमा वादी दावी पुग्न सक्तैन । प्रतिवादी महादेव र भगवानको हकमा किर्ते कागजको १० नं. अनुसार नोक्सानी विगो नखुलेको हुँदा रु ५०। जरिवाना हुन्छ । शुरुको फैसला उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत पोखराको मिति २०४९।८।२९ को फैसला ।

        १०.  जालसाजी हुने कुनै कार्य नै नभएकोमा सामाजिक राजनीतिक क्षेत्रमा सक्रिय युवकलाई सामाजिक जीवनमा कानूनले प्रतिबन्धित गर्ने जस्तो जालसाजी ठहर गरी सजाय गर्दा अन्याय परेकोले सो फैसला बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोरा यस अदालतमा परेको पुनरावेदन 

        ११.  नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका वारेसले इजलाससमक्ष गरेको छलफल र मिसिल समेत अध्ययन गरी पुनरावेदन अदालत पोखराको उक्त फैसला मिलेको छ छैन भन्ने तर्फ निर्णय दिनु पर्ने देखिन आयो । निर्णयतर्फ विचार गर्दा वादी शारदा रानाभाटले अदालतको स्वीकृति समेत लिई ५ भाग मध्ये १ भागको ३ खण्डको दुई खण्ड अंश पाउँ भन्ने दावी लिई मिति २०४५।११।११।४ मा कास्की जिल्ला अदालतमा नालेस दायर गरेको पाइन्छ । प्रतिवादीमध्ये ससुरा भगवान रानाभाट र पति महादेव रानाभाटको बीच मुद्दा पर्दापर्दै मिति २०४५।११।१८ मा अंश बुझेर बुझाएकोभरपाई खडा भएको पाइयो । उक्त अंश बुझेको भरपाईबाट घटी बढी गरी अंश लिएको अंश मुद्दामा पेश भएको भरपाईबाट स्पष्ट देखिन आयो । किर्ते कागजको ३ नं. मा अर्काको हक भेट्ने हदम्याद तारेख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक वा व्यहोरा फरक पारी सहि छाप गरी गराई कागज बनाए वा बनाउन लगाएमा समेत जालसाजी गरेको ठहर्छ भन्ने व्यवस्था रहेको देखिन्छ । वादी अंशियार भन्नेमा व्यवस्था रहेको देखिन्छ । वादी अंशियार भन्नेमा विवाद छैन । अंशको दावी परी सकेपछि लोग्नेले बाबुबाट अंश बुझी गरी दिएको भरपाईले कानून बमोजिम वादीहरुले प्राप्त गर्ने अंश हकमा प्रत्यक्षतः असर पर्ने गरी मिति २०४५।११।१८ को कागज बनाए बनाउन लगाएको देखिन आयो । सो भरपाई कागजबाट वादीले कानून बमोजिम प्राप्त गर्न सक्ने अंशमा हक कायम हुन सक्ने कुरालाई अन्यथा हुने गरी भएको भरपाईबाट वादीको अंशहरु मेटिने देखिएकोले त्यस्तो कागज किर्ते कागजको ३ नं. ले जालसाजी देखिने हुँदा जालसाजी ठहराएको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ आचार्य

 

इति सम्वत २०५४ साल पुष २१ गते रोज २ शुभम्.................... ।      

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु