निर्णय नं. ६५५६ - कुटपिट

नि.नं. ६५५६ ने.का.प. २०५५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
सम्वत २०५० सालको फौ.पु.नं....... ६४५
फैसला मिति २०५४।३।६।६
मुद्दाः कुटपिट ।
पुनरावेदक/प्रतिवादीः- जिल्ला सिरहा गा.वि.स. तुलसीपुर वार्ड नं. १ बस्ने वर्ष ६५ को महादेव यादवसमेत जम्मा १६।
विरुद्ध
प्रत्यर्थी/वादीः- ऐ.ऐ. वार्ड नं. २ बस्ने बुदिया देवी सुडी समेत जम्मा १० ।
§ कुटपिटको २ नं. को व्यवस्था हेर्दा हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अंगभंग हुने देखिन्छ । हात भाँचिएको भनेको उपरोक्त व्यक्तिहरुको र केवल देविया देवि सुडिनको हकमा मात्र पहिले जस्ता काम नलाग्ने भन्ने लेखिएको सम्मको कारणले कुटपिटको महलको २ नं. को उक्त शब्दावली भित्रको भाँची फोरी फूकाली वेकम्मा पारी दिएको भन्ने अर्थ गर्न मिल्ने देखिएन । वारदातको वर्णित अवस्थालाई विचार गर्दा प्रस्तुत मुद्दामा एक्सरे रिपोर्ट र डाक्टरको राय अनुसार अंगभंगको खत भए गरेको पनि नदेखिएको र वादीहरुको घाउखत र हात भाँचिएको समेत निको भैसकी हाल काम नलाग्ने समेत देखिएको नहुँदा कुटपिटको महलको ७ नं. बमोजिम बचत दिने प्रतिवादी इलियास मियाँलाई रु २०००।– जरिवाना र ६ महिना कैद हुने ।
(प्र.नं. १३)
पुनरावेदक वादी तर्फबाटः विद्बान अधिवक्ता श्री अवधेशकुमार सिंह
प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्बान अधिवक्ता श्री महादेव यादव
अवलम्वित नजीरःx
फैसला
न्या. इन्द्रराज पाण्डेः- शुरु सिराहा जिल्ला अदालतको फैसला केहि उल्टी गरी गरेको पुनरावेदन अदालत राजविराजको मिति २०४८।१०।१४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९ बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत पुनरावेदन सहितको संक्षिप्त व्यहोरा यसप्रकार छः-
२. विपक्षीहरुसँग हाम्रो समेतको अंशहरु लाग्ने जि.सि.गा.पं. तुलसी पुर वार्ड नं. २ मा पर्ने पोखरीका विषयलाई लिएर हाम्रो फिरादीसँग झगडा भै आएको थियो । सो कुराका रिस विपक्षीहरुले लिई राखेको रहेछ र सो कुरा हामीलाई थाहा थिएन । यहि मिति २०४४।२।१७ गते आइतवार विहान ८ बजेको समयमा चिन्हेका विपक्षीहरु र नचिनेका आफ्ना साथ ल्याएका ५०।६० लठेतहरु आ-आफ्नो हातमा बाँसको लाठी फट्टा, खुकुरी, भाला, म्रासा लिई आई हाम्रो माछा मारिरहेको हामीले देखि ठाउँमा गई अरुका भोगको पोखरीमा किन माछा मार्नु भएको हो ? यस्तो जवरजस्ती नगर्नुस भन्दा विपक्षीहरु रिसाई यिनीहरु हामीलाई सम्झाउन आउँदा रहेछ यहि मौकामा मर्ने गरी कुट्नुपर्छ भनी इलियास मियाँले बचन दिएपछि सो वचन सबै प्रतिवादीहरुले पालन गरी हाम्रो आङ जिउमा उक्त विपक्षीहरुले लिई आएको हतियारले निर्दयतापूर्वक जत्रतत्र कुटपिट गरी हामीहरुलाई घाउ खत पारी, दिएकोले नालेस दिन आएका छौं । तसर्थ हाम्रो साक्षी प्रमाण बुझी विपक्षीहरुलाई हात भाँचे तर्फ कुटपिटको ६ नं. काटेका घाउ तर्फ ऐ. को ९ नं. लाठा ढुंगाले रोपी घोचेको तर्फ ऐ. को १० नं. निलडाम तर्फ ऐ को ११ नं. छाला खुइलिएको तर्फ १३ नं. हुलतर्फ ऐ. को १८ नं. र बचन तर्फ ऐ. को १६ नं. बमोजिम सजाय गरी ऐ. को २५ नं. बमोजिम घाउ खर्च समेत दिलाई भराई पाउँ भन्ने समेत व्यहोराको फिराद दावी ।
३. विपक्षीले दावी गरे बमोजिम हामी कसैले पनि विपक्षीहरुलाई कुटपिट गरेको होइन छैन अर्थात हामीले दावा बमोजिम कुनै अपराध गरेको छैनौं । वादी दावी शत प्रतिशत झुठ्ठो एवं फरेवपूर्ण हो। यसमा वास्तविक कुरा केहो भने हामी प्रतिवादी मखबुल राइन र महादेव यादवले पोखरी ठेक्का लिएका छौं सो पोखरीमा हामीले पालेको हाम्रो हकको माछा विपक्षी बद्री शाहु समेतले मारेको र हामी प्रतिवादी मखबुल र महादेव यादव समेतलाई कुटपिट गरेकोले हामीले सबै वेहोरा खोली कुटपिट मुद्दा दिएका छौं सोही सजायबाट बच्न विपक्षीले बदनियत चिताई झुठ्ठो र कपोलकल्पित कुराको आरोप लगाई झुठ्ठो घा जाँच गराई प्रस्तुत मुद्दा दिएको हो हामीले वादी दावा बमोजिमको अपराध गरेको होइन वादी दावा झुठ्ठा हो भन्ने समेत व्यहोराको संयुक्त प्रतिउत्तर जिकिर ।
४. प्रतिवादी फौदार यादवका नाउँमा यस अदालतबाट जारी भएको ३० दिने सम्वाहान मिति २०४४।४।८ गते रितपूर्वक तेमल भई निजले प्रतिउत्तर नफिराई शुरु म्यादै गुजारी बसेको ।
५. उल्लेखित तथ्ययुक्त कारणबाट वादीहरुलाई प्रतिवादी इलियास मियाँले वचन दिई अन्य प्रतिवादीहरुले घार भएको हतियारले कुटपिट गरी हाड समेत भाँचेको ठहर्छ भन्ने समेत सिराहा जिल्ला अदालतको मिति २०४५।२।२ गतेको फैसला ।
६. शुरु सिराहा जिल्ला अदालतको मिति २०४५।२।२ गतेको इन्साफमा चत्त नबुझेकाले पुनरावेदन गरेको छु । हाम्रो पुनरावेदन जिकिर उपर सम्पर्क विचार भै झुठ्ठो वादी दावीबाट अलग फुर्सद भई शुरु सिरहा जिल्ला अदालतले गरेको कैद र जरिवाना समेतबाट सफाई पाउने गरी शुरु फैसला उल्टाई पाउँ भन्ने समेत प्रतिवादी महादेव यादव समेत जना सोह्रको संयुक्त पुनरावेदन जिकिर ।
७. शुरु अदालतको इन्साफमा चित्त नबुझेकोले पुनरावेदन गरेको छ सिराहा जिल्ला अदालतले गरेको फैसला कानून विपरित छ । अतः हाम्रो पुनरावेदन जिकिर उपर सम्यक विचार भै झुठ्ठो वादी दावीबाट फुर्सद भई शुरु सिराहा जिल्ला अदालतले गरेको कैद र जरिवाना समेतबाट सफाई पाउने गरी शुरु फैसला उल्टाई पाउँ भन्ने समेत प्रतिवादी तेतर यादव समेत जना दुईको संयुक्त पुनरावेदन जिकिर ।
८. देविया सुडिनको दाहिने हात बेकम्मा भएको भन्न मिल्ने नदेखिँदा कैद वर्ष २ मात्र सजाय गर्नु पर्नेमा चार वर्ष कैद गरेको मिलेको देखिएन । जरिवाना र अन्य प्रतिवादीहरुलाई दामासाहीले लागेको जरिवानाको सजाय मिलेकै देखिँदा मनासिव ठहर्छ सो हदसम्म शुरु सिराहा जिल्ला अदालतको फैसला केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति २०४८।१०।१४ गतेको फैसला ।
९. पुनरावेदन अदालत राजविराज सप्तरीको त्रुटिपूर्ण फैसला बदर गरी सजायबाट उन्मुक्त गरी पाउँ भन्ने समेत व्यहोराको यस अदालतमा परेको पुनरावेदन ।
१०. यसमा पोखरीको माछा मार्ने विषयमा विवाद भै वादी प्रतिवादीहरुका बीच दोहोरो कुटपिटको वारदात भएको देखिन्छ । दोहोरो कुटपिटको वारदातमा कुटपिट गर्न इलियास मियाँले वचन दिएको भनी वारदातको रुप अवस्थाबाट संस्थापित हुन सक्ने देखिँदैन । यसका अतिरिक्त दाहिने हातको रेडियस भाँचिएको अवस्थामा कुटपिटको २ नं. आकर्षित हुने अवस्था नभई अन्यथा ठहराई कुटपिटको ६ नं. बमोजिम प्रतिवादीहरुलाई सजाय गर्ने गरेको पुनरावेदन अदालत राजविराजका मिति २०४८।१०।१४ को फैसला नमिली फरक पर्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतको मिति २०५३।५।४ को आदेश ।
११. नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री अवधेशकुमार सिंह र प्रत्यर्थी प्रतिवादीका तर्फबाट उपस्थित विद्बान अधिवक्ता श्री महादेव यादवले आ-आफ्नो पक्षबाट बहस जिकिर प्रस्तुत गर्नुभयो ।
१२. दुवै पक्षका विद्बान अधिवक्ताहरुले प्रस्तुत गर्नु भएको बहस जिकिर समेत सुनी पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा प्रस्तुत मुद्दामा शुरु फैसला केहि उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ छैन ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो। आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दाका निर्णय तर्फ विचार गर्दा पोखरीको विषयलाई लिएर भएको झगडामा विपक्षीहरु मध्ये इलियास मियाँले बचन दिई सबै प्रतिवादीहरुले यत्रतत्र कुटपिट गरी घा खत पारी दिएकाले कुटपिटमा सजाय गरी घा खर्च समेत दिलाई पाउँ भन्ने फिराद दावी भएकोमा यी वादीहरु उपर हामीले दिएको कुटपिट मुद्दाबाट बच्न कपोल कल्पित कुराको आरोप लगाई झुठ्ठो घा जाँच गराई प्रस्तुत मुद्दा दिएको हो । वादी दावी बमोजिम अपराध गरेको होइन भन्ने प्रतिउत्तर जिकिर रहेको देखिन्छ । यसमा शुरु सिराहा जिल्ला अदालतले वादी दावी बमोजिम कुटपिट गरेको ठहर्याई गरेको फैसला उपर पुनरावेदन पर्दा पुनरावेदन अदालत राजिवराजबाट शुरु बचत दिने इलियास मियाँलाई कैद वर्ष २ गर्नुपर्नेमा ४ वर्ष कैद गरेको नमिलेको र अरु प्रतिवादीहरुलाई लागेको जरिवाना सजाय मिलेकै देखिने भनी शुरुको फैसला केही उल्टी गरी उपर प्रतिवादीको प्रस्तुत पुनरावेदन पर्न आएका देखियो ।
१३. प्रस्तुत मुद्दामा वारदातको स्थिति विचार गर्दा वादी प्रतिवादी बीच दोहोरो कुटपिट भएको भन्ने देखिन आएको र वादी देविया देवी सुडिनको दाहिन हातको हड्डी र छेदिया देवी सुडिनको दाहिने हातको रेडियस भाँचिएको समेत देखिँदा प्रतिवादीहरुलाई अंगभंगको खत हुने कुटपिट गरेकोले कुटपिटको ६ नं. अनुसार सजाय तथा जरिवाना गरेको देखिन आयो । कुटपिटको २ नं. ले के कस्तो भएमा अंगभंग हुन्छ सो कुरा उल्लेख गरेको पाइन्छ । जसमा मेरुदण्ड डडाल्नु हात, खुट्टा वा यिनैको जोनी भाँची फोरी फूकाली बेकम्मा पारि दिएमा अंगभंगको खत ठहर्छ भनी उल्लेख भएको छ । प्रतिवादीहरुले कुटपिट गरी वादीहरु मध्ये प्रतिवादीहरुले कुटपिट गरी वादीहरु मध्ये देवियादेवी सुडिनको हातको २ वटा हडीमध्ये एउटा हड्डी भाँची दिएको कुरा मिसिल संलग्न केश फारामबाट देखिन आउँछ । माथि उल्लेखित कुटपिटको २ नं. को व्यवस्था हेर्दा हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अंगभंग हुने देखिन्छ । हात भाँचिएको भनेको उपरोक्त व्यक्तिहरुको हाल हाड जोडिई सकेको भन्ने देखिएको र केवल देविया देवी सुडिनको हकमा मात्र पहिले जस्तो काम नलाग्ने भन्ने लेखिएको सम्मको कारणले कुटपिटको महलको २ नं. को उक्त शब्दावली भित्रको भाँची फोरी फुकाली बेकम्मा पारी दिएको भन्ने अर्थ गर्न मिल्ने देखिएन । वारदातको वर्णित अवस्थालाई विचार गर्दा प्रस्तुत मुद्दामा एक्सरे रिपोर्ट र डाक्टरको राय अनुसार अंगभंगको खत भए गरेको पनि नदेखिएको र वादीहरुको घाउ खत र हात भाँचिएको समेत निको भैसकी हाल काम नलाग्ने समेत हाल काम नलाग्ने समेत देखिएको नहुँदा कुटपिटको महलको ७ नं. बमोजिम वचन दिने प्रतिवादी इलियास मियाँलाई रु २०००।– जरिवाना र ६ महिना कैद हुने ठहर्छ । साथै अन्य प्रतिवादीहरुलाई सोहो बमोजिम दामासाहीले सजाय हुने ठहर्छ । कुटपिटको ६ नं. अनुसार अंगभंगको कसूर कायम गरी सजाय गर्ने गरेको पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी हुने ठहर्छ । तपसिल बमोजिम गरी मिसिल नियमानुसार गरी बुझाई दिनु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु फैसला केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी भएको हुँदा पुनरावेदन अदालतको फैसलाको तपसिल खण्डको १ नं. ले कायम गरेको कैदको लगत र २ नं. को लगत तथा शुरु जिल्ला अदालतको फैसलाको तपसिल खण्डको १ नं. ले कायम गरेको जरिवानाको लगत कट्टा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु ।
माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु फैसला केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला केही उल्टी भएको हुँदा देहायका प्रतिवादीहरुलाई देहाय बमोजिम कैद र जरिवाना हुने हुँदा लगत कसी असुल उपर गर्नु भनी शुरु जिल्ला अदालतमा लेखि पठाई दिनु.......१
१. प्रतिवादी इलियास मिँयाले बचन दिएकोमा कैद महिना ६ जरिवाना रु. २०००।
२. प्रतिवादी महादेव यादव- कैद दिन १२ जरिवाना रु १३३।३५
३. प्रतिवादी रामरतन यादव दिन १२ जरिवाना रु. १३३।३५
४. प्रतिवादी मकबुल राइन दिन १२ जरिवाना रु. १३३।३५
५. प्रतिवादि छेदी मियाँ दिन १२ जरिवाना रु. १३३।३५
६. प्रतिवादी मुसलिम मियाँ दिन १२ जरिवाना रु. १३३।३५
७. बोएलाल साहु सुडी दिन १२ जरिवाना रु. १३३।३५
८. जागेश्वर सिं दनवार दिन १२ जरिवाना रु. १३३।३५
९. अजवी यादव दिन १२ जरिवाना रु. १३३।३५
१०. राम असिप यादव दिन १२ जरिवाना रु १३३।३५
११. ललित यादव दिन १२ जरिवाना रु १३३।३५
१२. उत्तिमलाल साहु दिन १२ जरिवना रु १३३।३५
१३. विन्दे सिंह दनुवार दिन १२ जरिवाना रु १३३।३५
१४. छेदी मियाँ दिन १२ जरिवाना रु १३३।३५
१५. विश्वनाथ यादव दिन १२ जरिवाना रु १३३।३५
१६. मुकुट नारायण साहु सुडी दिन १२ जरिवाना रु १३३।३५
पुनरावेदक प्रतिवादीहरुले पुनरावेदन गर्दा शुरु जिल्ला अदालतको फैसला लागेको कैद र जरिवाना वापत जेथा जमानी दिएको देखिँदा यस अदालतबाट लागेको कैद र जरिवाना कानून बमोजिम असुल भएपछि नियमानुसार जेथा जमानतको जग्गा फूकुवा गरी दिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. केदारनाथ उपाध्याय
इति सम्वत २०५४ साल असार ६ गते रोज ६ शुभम्.......................................... ।