निर्णय नं. ६५५८ - मोहियानी हक कायम ।

नि.नं. ६५५८ ने.का.प. २०५५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
सम्वत २०५२ सालको दे.पु.नं....... २९९७
फैसला मिति २०५५।१।२१।२
मुद्दाः- मोहियानी हक कायम ।
पुनरावेदक/वादीः- सिन्धुली जिल्ला कपिलाकोट गा.वि.स. वार्ड नं. ९ चारपाटे बस्ने वर्ष ३९ को सुर्वणध्वज स्याङतान ।
विरुद्ध
प्रत्यर्थी/प्रतिवादीः- सिन्धुली जिल्ला रातमाटा गा.वि.स. वडा नं. १ मधुवनी बस्ने वर्ष ७४ को कर्म वाङदेल लामा ।
§ भूमि सम्बन्धी ऐन २०२१ ले मोहीयानीहक को प्राप्तिका सम्बन्धमा निर्दिष्ट गरेको कानूनी आधारहरुको विद्यमानका नभएको अवस्थामा जग्गा खिचोला मुद्दामा साक्षीले मोही भै जग्गा कमाई आएको छ भनी वकपत्र गरेको तथा गा.वि.स. को सिफारिश एवं सर्जमिनकै आधारमा मोहियानी हक कायम हुन सक्ने स्थिति नहुँदा मोहीहक कायम गरेको शुरु भूमिसुधार कार्यालय सिन्धुलीको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव देखिँदा सदर हुने ।
(प्र.नं. १०)
पुनरावेदक वादी तर्फबाटः X
प्रत्यर्थी प्रतिवादी तर्फबाटः X
अवलम्वित नजीरः X
फैसला
न्या. अरविन्दनाथ आचार्यः- पुनरावेदन अदालत जनकपुरको मिति २०५१।८।२५ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तरगत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यसप्रकार छः-
२. जिल्ला सिन्धुली कपिलाकोट गा.वि.स. वा.नं. ९ बस्ने वादी सुर्वणध्वज स्याङताले जि.सी. रातमाटा गा.वि.स. वडा नं. १ मधुवती बस्ने कर्म बाङदेल लामालाई विपक्षी देखाई निज विपक्षीको नाउँमा दर्ता रहेको जि.ध. सिन्धुली कपिलाकोट गा.वि.स. वा.नं. ६(ख) कि.नं. ६२७ को जम्मा कित्ता २ दुईको क्षेत्रफल १-०-९-२ धुर जग्गा म वादी मोहीयानीमा कमाई आएकोले मोही कायम गरी मोहीयानी हकको प्रमाण पत्र पाउँ भन्ने मिति २०४८।९।७ को निवेदन प्रमाणको हकमा सि.जि.अ. मा जग्गा खिचोला मुद्दामा कार्यवाही भै साक्षी झिकाई वकपत्र हुँदा दुवै पक्षको साक्षीले समेत मोहीयानीमा कमाई वाली बुझाउँदै आएको भन्ने बकवत्र गरेको कपिलाकोट गा.वि.स. बाट सर्जमिन मुचुल्का समेत भएकोले कित्ता नं. ६ को १७-९-२ र ७ को ०-३-०-० को मोही कायम गरी मोहीयानी हकको प्रमाण पत्र पाउँ भन्ने सुवर्ण ध्वजको निवेदन पत्र ।
३. निवेदकले मोहीयानीमा कमाएको होइन मैले आफै कमाउँदै वाली लगाई आएको छु । मैले मोहीमा कमाउन दिएको होइन दिएको भए २०२८ सालमा सर्भे नापी हुँदा फिल्डबुकमा मोहीको नाम दर्ता हुनु पर्ने थियो र जोताहाको प्रमाणपत्र लिनुपर्ने थियो । वाली बुझाउँदा वाली बुझेको भरपाई रसिद हुनुपर्ने थियो गा.वि.स. को सर्जमिन व्यहोरा सोहै आना बनावटी र झुठ्ठा हो भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर भएको ।
४. जग्गामा मोहीयानी हक कायम हुने ठहर्छ भन्ने मिति २०५०।३।२९ को भूमिसुधार सिन्धुलीको फैसला ।
५. भूमिसुधारले गरेको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी इन्साफ पाउँ भन्ने कर्म वाङदेल लामाको पुनरावेदन पत्र ।
६. प्रचलित कानूनी प्रक्रिया पुरा नगरी मोही छ भनी प्रतिवादीले लिएको जिकिरलाई केवल साक्षी र सर्जमिन सम्मको आधार लिई मोही कायम हुने ठहराई भूमिसुधार कार्यालयबाट भएको निर्णय कानून अनुरुप भएको नदेखिँदा सो निर्णय उल्टी भई मोही कायम गरी मोहियानी हकको प्रमाण पत्र पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरको मिति २०५१।८।२५ को फैसला ।
७. पुनरावेदन अदालत जनकपुरले गरेको फैसला त्रुटिपूर्ण हुँदा चित्त बुझेन भूमि सुधार कार्यालय सिन्धुलीको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहराएको उक्त फैसला बदर गरी इन्साफ पाउँ भन्ने समेत वादी सुर्वणध्वज स्याङतानको यस अदालतसमक्ष पर्न आएको पुनरावेदन पत्र ।
८. नियम बमोजिम दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मिसिल कागजको अध्ययन गरी मोही हक कायम गरी पाँउ भन्ने वादी दावी पुग्न नसक्ने ठहयाएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मिलेको छ छैन हेरी निर्णय दिनुपर्ने हुन आयो ।
९. निर्णय तर्फ विचार गर्दा कर्मवाङदेल लामाको नाउँमा दर्ता रहेको कि.नं. ६ र ७ को जग्गामा म मोही भै जग्गा कमाई आइरहेकोले मोहियानी कायम गरी मोहीयानी हक प्रमाणपत्र पाउँ भन्ने वादी दावी र वादी दावीको जग्गा म आफैले कमाएको हो । मोहीलाई कमाउन दिएको छैन । वादीले कमाएको भए फिल्डबुकमा मोही दर्ता र जोताहाको परमाण लिनुपर्ने थियो । वादी मोही भए वाली बुझाएको रसिद समेत हुनुपर्ने थियो भन्ने प्रतिउत्तर देखिन्छ । गा.वि.स. को सिफारिश र सिन्धुली जिल्ला अदालतबाट भएको यसै जग्गा सम्बन्धमा परेको जग्गा खिचोला मुद्दाको फैसला समेतका आधारमा वादी दावी बमोजिम मोहीहरु कायम हुने ठहर्याएको शुरु भूमिसुधार कार्यालय सिन्धुलीको इन्साफ उल्टी गरी मोहि कायम हुन नसक्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसला उपर वादीको पुनरावेदन परेको देखियो ।
१०. यसमा यी वादीले कि.नं. ६ र ७ को जग्गाको म मोही भै जग्गा कमाई आएको भन्ने दावी लिई प्रमाण स्वरुप कपिलाकोट गा.वि.स. को सिफारिश सर्जमिन एवं कित्ताका जग्गामा परेको यिनै वादी प्रतिवादी बीच चलेको जग्गा खिचोला मुद्दाका साक्षीले गरेको बकपत्र उल्लेख गरेको पाइन्छ । भूमि सम्बन्धी ऐन २०२१ को दफा ३४ ले मोही हक कायम गर्नका लागि कबुलियत तथा वाली बुझाएकव रसिदलाई आधार लिएको पाइन्छ । यी वादीले दावीका कित्ताको जग्गामा मोही हक कायम छ भनी न त अनुसूची फाराम पेश गर्न सकेका छन न वाली बुझाएको रसिद नै पेश गर्न सकेको देखिन्छ । यी वादीले विवादित जग्गा कमाउने सम्बन्धमा प्रतिवादीसँग कुनै कबुलियत भए गरेको प्रमाण समेत पेश गर्न सकेका छैनन् । भूमि सम्बन्धी ऐन २०२१ ले मोहीयानीहरुको प्राप्तिका सम्बन्धमा निर्दिष्ट गरेको कानूनी आधारहरुको विद्यमानता नभएको अवस्थामा जग्गा खिचोला मुद्दामा साक्षीले मोही भै जग्गा कमाई आएको छ भनी वकपत्र गरेको तथा गा.वि.स. को सिफारिश एवं सर्जमिनकै आधारमा मोहीयानी हक कायम हुन सक्ने स्थिति नहुँदा मोही हक कायम गरेको शुरु भूमिसुधार कार्यालय सिन्धुलीको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । पुनरावेदक तारिखमा बसेको नहुँदा फैसलाको जानकारी दिई मिसिल नियमानुसार बुझाईदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. राजेन्द्रराज नाख्वा
इति सम्वत २०५५ साल वैशाख २१ गते रोज २ शुभम्....................................... ।