शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५६१ - कर्तव्य ज्यान

भाग: ४० साल: २०५५ महिना: असोज अंक:

नि.नं. ६५६१            ने.का.प. २०५५         अङ्क ६

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल

सम्वत २०५२ सालको फौ.पु.नं....... १२८२

फौ.साधक नं........ २१०

फैसला मिति  २०५५।२।१८।२

 

मुद्दाः- कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादीः- जिल्ला बैतडी भुमेश्वर गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार शाखा वैतडीमा बन्दी रहेका रतन सिंह महरा ।    

विरुद्ध

विपक्षी/वादीः- विरसिंह बोहराको जाहेरीले श्री ५ को सरकार ।

 

वादीः- विरसिंह बोहराको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

प्रतिवादीः- जिल्ला बैतडी भुमेश्वर गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार शाखा वैतडीमा बसी रहेका रतन सिंह महरा ।    

 

§  श्रीमतीसँग ज्यान लिन इवीलाग वा मनसाय नभै भावविशेषमा परी अवस्था र परिणाम बुझ्न नसकी भवितव्यबाट मेरो हातबाट श्रीमती पार्वतीको मृत्यु हुन गएको भनी प्रतिवादी रतन सिंहले पुनरावेदन जिकिर लिएको देखिएता पनि मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. विश्लेषण गरी हेर्दा आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान नभई आकश्मिक घटना वा मनसायरहित अप्रतयाशित कार्यबाट मानिसको मृत्यु भएको अवस्थालाई भवितव्य मान्नुपर्ने पर्ने हुन्छ तर प्रस्तुत मुद्दामा बनास जस्तो घातक फलामे हतियारद्बारा प्रतिवादी रतन सिंहले मृतक पार्वतीलाई पटक पटक चोट हानी मारेको भन्ने कुरा निजले मौकामा प्रहरीमा तथा अदालतमा गरेको बयान पोष्टमार्टम रिपोर्ट लगायतका मिसिल संलग्न अन्य सबुद प्रमाणहरुबाट पुष्टि भइरहेको छ । यस्तो कार्यलाई भवितव्यको परिभाषा भित्र समेट्न नमिल्ने । 

(प्र.नं. १७)

§  बनास (ठूलो हसिंया) जस्तो साँघातिक हतियार प्रहार गरी मृतक पार्वतीको शरिरमा विभिन्न घाउखत पारी सोही चोट पीरका कारणले निज पार्वतीको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न पोष्टमार्टम रिपोर्ट लास प्रकृति मुचुल्का स्वंय प्रतिवादीले गरेको बयानबाट समेत पुष्टि भइरहेको हुँदा यस्तो प्रकृतिको अपराधमा शुरुले ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुने ठहर्‍याई १० वर्ष कैद गर्ने गरेको शुरुको इन्साफ बदर गरी ज्यान सम्बन्धी महलको १३(१) बमोजिम प्रतिवादी रतन सिंह महरालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिँदा मनासिव ठहर्ने ।

(प्र.नं. १८)

 

पुनरावेदक वादी तर्फबाटः X

प्रत्यर्थी प्रतिवादी तर्फबाटः X

अवलम्वित नजीरः  X

 

फैसला

          न्या.दिलीपकुमार पौडेलः- पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०५२।२।३१।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(ख) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट तथा ठहर यसप्रकार छ ।

          २.      मिति २०४५।५।१३ गते पाटन तिरका मानिसहरु मेरो पसलमा बास बस्न देउ भनी राती वास बसेका र सो व्यक्तिहरु मध्ये एक जना परिवार सहित पनि भएको सोही बेलुकी मेरो पसलमा खाना खाई निजहरु सुती सकेपछि म पनि मेरो घर भएको पसलबाट करिब १५ मिनेट दुरीको घर पस्याङमा सुत्न गै सुती रहेकै अवस्था छिमेकी वीरसिंह रावतले ढोका घच्घच्याई तपाईको पसलमा परिवारवाला व्यक्तिले आफ्नो श्रीमतीलाई काटेको छ भनी खबर गर्दा उठी पसलमा आउँदा रतन सिंह महराले सोहो भुइतल्लामा भएको बनास रखाडोले हानी मारेको हुँदा आवश्यक कारवाही गरी पाउँ भन्ने वीरसिंह बोहराको जाहेरी दरखास्त ।

            ३.    ३० हात लम्बा १७ हात चौडा ४ कोठा भएको पक्की घरमा म माथिल्लो कोठा ५ हात लम्बाई ६ हात चौडाई १.५ हात उचाई भएको र बीचमा डवल वेड भएको कपडा सहितको खाटको तलतिर मृतकको लाश भएको मृतकले लगाएका पंजावी कुर्ता सुरुवाल रगतले भिजेको कपाल फिजिएको र आँखा बन्द रहेको, चिउडाको बाँयातर्फ ३ अंगुल गहिराई घाउ बायाँ कानतर्फ धारिलो हतियारले काटिएको एक अंगुल लम्बाईको डरलाग्दो घाउ पछाडि गर्धनमा भएको मृतक पार्वती महराको लास प्रकृति मुचुल्का ।

            ४.    मिति २०४५।५।१३ गते झुलाघाटबाट सामान खरिद गरी बेलुकी जाहेरवालाको पसलमा बास बसी रक्सी खाई सुतिरहेको अवस्था राती १ बजेतिर घटना घटेको कोठबाट वीरे तैले मेरो श्रीमतीलाई करणी गरिस तलाई मार्छु भनी रतन सिंह महरा कराएको सुनी म समेतका व्यक्ति उठी भित्र हेर्दा रतन सिंहको श्रीमतीलाई मृतक अवस्थामा देखेको हुँ । निज रतन सिंहले नै मारेकोमा विश्वास लाग्छ भन्ने समेत व्यहोराको करिब एकै मिलानको गजाघर, गंगादत्त भट्ट, रणबहादुर भण्डारीको प्रहरीमा गरेको कागज ।

            ५.    भारत हरियाणा शिर्ष भन्ने ठाउँमा नोकरी गर्दथे । सोही ठाउँमा मेरो गाउँको वीर सिंह महरा पनि काम गर्थे । निजको र श्रीमतीको एक आपसमा अनुचित सम्बन्ध रहेको शंका लागि रहेको थियो । मिति २०४५।५।१३ गते भारतबाट घर आउँदा बेलुकी जाहेरवालाको पसलमा बसेको र राती म सुतेको ठाउँमा करिब १ बजे निन्द्रा खुली श्रीमतीलाई ओछ्यानमा छाम्दा नभेटी केही समयपछि श्रीमती बाहिरबाट भित्र आएकी हुँदा यो वीरसिंह महरा भएकै ठाउँबाट आएकी हो भनी रिस थाम्न कसकी बायाँ हातले श्रीमतीको कपाल समाती दायाँ हातले बनासले श्रीमतीलाई ४।५ चोट हानें । कहाँ कहाँ लाग्यो थाहा भएन । पछि हल्ला हुँदा बाहिरका मानिसहरु उठी वीर सिंहलाई गाली मात्र गरे । श्रीमतीलाई म एक्लैले मारेको हुँ भन्ने समेत व्यहोराको रतन सिंह महराले प्रहरीमा गरेको बयान ।

            ६.    म पनि भारत हरियाणा शिर्ष भन्ने ठाउँमा नोकरी गर्थे र निज रतन सिंह कि भाउजु पनि सोही ठाउँमा विस्कुट विभागमा नोकरी गर्दथिन । रतन सिंहले आफ्नी भाउजुसँग पैसा माग्दा तलाई दिँदैन । त वेफुजल खर्च गर्छस घर जाने भए तिम्रो श्रीमतीलाई पैसा दिन्छु भनी निजकी भाउजुले मृतक पार्वतीलाई ३,०००। भा.रु. दिएको सो पैसा समेत लिई म रतन सिंह र पार्वती गोरा पर्वको लागि घरमा आयौं । बाटोमा नै रतन सिंहले माग्दै थियो । श्रीमतीले दिएन कति खर्च भयो मलाई एकिन थाहा भएन । घर आउने काममा मिति २०४५।५।१३ गतेसम्म जाहेरवालाको पसलमा वास बसेका र राती निदाएको अवस्था करिब २ बजेतिर मैले श्रीमतीलाई मारी सकें अब तलाई पनि मार्छु भनी रतन सिंहले भन्दा बाहिर सुतेका हामी ८।९ जना हेर्न लाग्दा निजले आफ्नो श्रीमतीलाई मारेको देखि जाहेरवाला समेत बोलाई जाहेर गरेका हौं । मलाई निजको श्रीमतीसँग अनुचित सम्बन्ध भएको दोषारोपण किन लगाएछ थाहा भएन भन्ने समेत व्यहोराको वीरसिंह महराले प्रहरीमा गरेको कागज ।

            ७.    जाहेरवालाको पसलमा राती बसेका परिवारवालाको कोठामा झगडा भै जताततै रगत छ । श्रीमती भुईमा पल्टेकी छ भनी म सुतेको कोठामा भिमबहादुर खत्री समेतका व्यक्ति आई खबर गर्दा म समेत गै जाहेरवाला पसलेलाई बोलाई जाहेरी गरेका हौं भन्ने आफ्नो समेत व्यहोराको वीरसिंह रावतले प्रहरीमा गरेको कागज ।

            ८.    जाहेरवालाको पसलमा बास बसेका लोग्ने स्वास्नीमा लोग्नेले आफ्नो श्रीमतीलाई मारेको र लगाएका कपडा समेत रगतले भिजेको अवस्था हुँदा रतन सिंह महराले नै आफ्नो श्रीमतीलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ भन्ने समेत करिब एकै मिलानको रमेश बोहरा समेतको सर्जमिन मुचुल्का ।

            ९.    प्रतिवादी रतन सिंह महराले मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं. विपरित हुने गरी गरी आफ्नो श्रीमती पार्वतीलाई धारिलो हतियारले काटी निर्मम हत्या गरेको देखिँदा मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) अनुसार सजाय हुन हतियार सहित रतन सिंह महरालाई पेश गरेको छ भन्ने वादी श्री ५ को सरकारबाट दायर हुन आएको प्रहरी प्रतिवेदन ।

            १०.  म भारतको शिर्ष भन्ने ठाउँमा नोकरी गरी रहेको र सोहि ठाउँमा गाउँकै वीरसिंह महरा पनि नोकरी गर्थे । विरसिंह म नभएको समय पारी मेरो डेरामा आई बसी राख्ने त्यसको त्यस्तो व्यवहार देखि मलाई शंका लागि रहेको थियो । गोराको लागि घर आउने क्रममा मिति २०४५।५।१३ गते जाहेरवालाको पसलमा बसी राती विरसिंह र पसलेले रक्सी खाए । मैले टाउको दुखेको छ भनी रक्सी खाएन । सुती रहेकै अवस्था अं. १२ बजे तिर निन्द्रा खुली सिरानमा सलाई हेर्दा सोही सिरानी तल बनास भेटीएको र श्रीमती म सुतेको ठाउँमा नभै पल्लो कोठामा बिचमा काठको बार भएको हेर्दा देखिने कोठा हुँदा श्रीमती वीरसिंहसित करणी गरी रहेको देखि रिस उठी उक्त बनास प्रहार गरी वीरसिंहले श्रीमतीलाई रिसले ४।५ चोट बनासले प्रहार गर्दा श्रीमती मरेकी हुन भन्ने समेत व्यहोराको रतन सिंह महराको अदालतमा गरेको बयान ।

            ११.  वादी पक्षका गवाह प्रहरीमा कागज गर्ने व्यक्ति र सर्जमिनका व्यक्तिहरुका वकपत्र मिसिल सामेल रहे भएको ।

            १२.  प्रतिवादी रतन सिंह महराले आफ्नो श्रीमतीलाई करणी गर्ने व्यक्तिलाई हतियार प्रयोग गरेकोमा रातको अध्यारोमा एकै ठाउँमा रहेका दुई व्यक्ति मध्ये श्रीमतीलाई लाग्न गई मृत्यु भएको देखिएको र रिसको आवेगमा गरिएको प्रहारले कसलाई चोट पर्यो भनी छुट्टयाउन नसकेको यस्तो अवस्थामा ज्यान सम्बन्धीका अन्य दफाहरु आकर्षित हुन सक्ने व्यवस्था सो ऐनमा नभएको र वादीले दावी गरे बमोजिम ज्यान सम्बन्धीको १३(१) नं. को अवस्थाको विद्यमानता नभएकोले फौज्दारी न्याय सिद्धान्तको सर्वमान्य सिद्धान्त परम्परा र व्यवहारलाई विचार गर्दा कानूनले व्यवस्था नगरेको अधिकतम सजाय दिन मिलेन । निजलाई हात हतियार प्रयोग गरी हत्या गरेको भए तापनि मृतिकालाई नै मार्न मैले हतियार प्रयोग गरी हत्या गरेको भए तापनि मृतिकालाई नै मार्न पहिले हतियार नछाडेको र पछाडि अन्धाधुन्द हानी मारेको हुँदा ज्यान सम्बन्धीको १४ नं. बमोजिम नै उपयुक्त व्यवस्था देखिँदा सोही बमोजिम १० (दश) वर्ष कैद हुने ठहर्छ भन्ने समेत वै.जि.अ. को मिति २०५०।२।२४ को फैसला ।

            १३.  वादी पक्षका खम्बीर प्रमाण हुँदाहुँदै पनि बनास जस्तो जोखिम हतियार प्रयोग गरी श्रीमतीलाई मारेको कुरा मिसिलबाट प्रष्ट भई रहेको अवस्थामा बैतडी जिल्ला अदालतबाट प्रहरी प्रतिवेदन माग दावी अनुसार प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सजाय नगरी ऐ को १४ नं. लगाई १० वर्ष कैद गर्ने गरेको फैसला कानूनी त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी शुरु प्रहरी प्रतिवेदन माग दावी अनुसार सजाय गरी पाउँ भनी वादी श्री ५ को सरकारका तर्फबाट यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

            १४.  बनास (ठुला हसियाँ) जस्ता साँधातिक हतियार प्रयोग भएको भन्ने मिसिलबाट देखिएकामा यस्तो प्रकृतिका अपराधमा प्रतिवादी रतन सिंह महरालाई ज्यान सम्बन्धीको १४ नं. ले सजाय हुने ठहर्‍याएको शुरु वैतडी जिल्ला अदालतको इन्साफ विचारणीय हुँदा अ.वं. २०२ नं. बमोजिम कारागार शाखा वैतडी मार्फत निज प्रतिवादीलाई सूचना दिनु भन्न पुनरावेदन अदालत दिपायल मु. महेन्द्रनगरका मिति २०५३।१।१७ को आदेश ।

            १५.  प्रतिवादी रतन सिंह महरा आरोपित कसूर गरेकोमा सावित रहेको पार्वती महरालाई मार्दा प्रयोग गरेको बनास प्रहरी प्रतिवेदन साथ बरामद भै दाखिल भएको देखिएको । प्रतिवादीले बनास जस्तो सांधातिक हतियार प्रयोग गरी मृतक पार्वतीको शरिरमा विभिन्न घा खत पारी सोही चोटपिरको कारणबाट निज पार्वती मृत्यु भएको भन्ने पोष्टमार्टम रिपोर्ट लाश प्रकृति मुचुल्का स्वयं प्रतिवादीले गरेको बयानबाट समेत पुष्टी भई रहेको हुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यान सम्बन्धीको महलको १३(१) अन्तरगत पर्ने भै रतन सिंह महरालाई सर्वश्व सहित जन्मकैद हुने ठहर्छ । साथै मृतक प्रतिवादीको आफ्नै श्रीमती भएकी निजलाई मार्नुपर्ने सम्मको पूर्व रिसइवी प्रतिवादीका रहे भएको भन्ने कुरा मिसिलबाट नदेखिएको आफ्नो स्वास्नीलाई भतिजा वीरसिंहले करणी गरेको भन्ने आशंकाको कारणबाट तत्काल रिस उठी बनासले हिर्काई काटी मारेको भन्ने कुरा मिसिलबाट देखिन आएकोले प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. ले सर्वश्व सहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष १० मात्र गर्नु मनासिव देखि अ.वं. १८८ नं. बमोजिम छुट्टै राय जाहेर गरिएको छ भन्ने समेत पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०५२।२।३१ को फैसला ।

            १६.  रातको समयमा म सुति रहेका समयमा सपना जस्ता भै त्यो भाव विशेषमा परी अवस्था र परिणाम बुझ्न नसकी म कहाँ छु के गर्दैछु भनी सोच्ने अवस्थामा नभई मेरी श्रीमतीसँग ज्यान लिने इवीलाग वा मनसाय नभै भवितव्यबाट मेरो हातबाट मेरी श्रीमतीको मृत्यु हुन गएको हो । कर्तव्य प्रेरित हत्या नभएको हुँदा मैले १३(१) को कसूर गरेको छैन । पुनरावेदन अदालत मुकाम महेन्द्रनगरको फैसला त्रुटिपूर्ण हुँदा आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी रतन सिंह महराले मिति २०५२।८।२२।६ मा कारागार शाखा वैतडी मार्फत चढाएको पुनरावेदन पत्र ।

            १७.  नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दा पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरबाट साधक जाहेर भै आएको तथा प्रतिवादी रतन सिंह महराको पुनरावेदन समेत परी आएको प्रस्तुत मुद्दामा अ.वं. २१५ नं. बमोजिम साधकको रोहबाट हेर्न नपर्ने भै साधकको लगत काटी पुनरावेदनको रोहबाट हेर्नुपर्ने देखिँदा पुनरावेदन सहितको मिसिल अध्ययन गरी हेर्दा मृतक पार्वती र निजको लोग्ने प्रतिवादी रतन सिंह महरा र वीरसिंह महरा समेत भारतबाट घर आउन लाग्दा जाहेरवाला वीरसिंह वोहराको होटेलमा वास बसेको राती प्रतिवादी रतन सिंहले वीरसिंह महरालाई गाली गर्दै हल्ला गरेको हुँदा होटेलमा सुतेका अन्य पाहुनाहरु समेत भै रतन सिंहको कोठामा हेर्दा रगत बगेको देखिँदा कोठाभित्र पसी हेर्दा फलामे हतियार बलासोले आफ्नो श्रीमती पार्वतीलाई काटी मारेको देखि होटेलवाला वीरसिंह बोहराले जाहेर गरेको देखिन्छ । प्रतिवादी रतन सिंहले होटेलमा भएको फलामे हतियारले आफ्नो श्रीमती पार्वतीलाई काटेकोमा स्वीकार गर्दै काट्नु पर्ने कारण भतिजो वीरसिंह महराले पार्वतीलाई करणी गरेको शंका र पैसा माग्दा पैसा नदिएको रिसको झोकमा धारिलो हतियारले काटी हत्या गरेको देखिँदा निजलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३(१) बमोजिम सजाय हुन भनी अभियोग पत्र दावी लिएको देखिन्छ । एउटै खाटमा सुतेकी श्रीमती पार्वतीलाई राति १२ बेज तिर खाटमा छाम्दा निज खाटमा थिएन । विरसिंह महराको खाटमा श्रीमतीलाई वीरसिंहले करणी गरी राखेको देखि सिरानमा भेट्टाएको आंसीले वीर सिंहलाई मार्न भनी फल्याकको प्वालबाट आँसी प्रहार गरेकोमा पार्वतीलाई लाग्न  गएछ । विरसिंहले पार्वतीलाई मेरो कोठा तिर धकेली अब मार भने श्रीमतीको गलामा र हातमा चोट हानेको हुँ । वीरसिंहलाई पनि मार्छ भनी जान लाग्दा निजले फल्याक बन्द गरी मलाई जान दिएन । बिहान ६ बजे प्रहरीले विरसिंहसँग सोध्दा एकचोटी करणी गरेको हुँ भनी सावित भएको थियो । विरसिंहले करणी गर्न लागेको देखि रिस उठी निजलाई प्रहार गरेको चोट श्रीमतीलाई लागी पार्वतीको मृत्यु हुन गएको भन्ने प्रतिवादी रतन सिंहले अदालतमा गरेको मुख्य बयान जिकिर रहेको प्रस्ततु मुद्दामा पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरले प्रतिवादी रतन सिंहलाई ज्यान सम्बन्धीको १३(१) बमोजिमको कसूरदार ठहर्‍याएको र सो बमोजिम सर्वश्‍व सहित जन्म कैदको सजा गर्दा चर्को पर्न जाने हुँदा निजलाई कैद वर्ष १० मात्र गर्न अ.वं. १८८ नं. बमोजिम जाहेर गरेको राय मनासिव वेमनासिव के रहेछ र प्रतिवादीको पुनरावेदन जिकिर पुन सक्ने हो होइन ? त्यसतर्फ निर्णय दिनुपर्ने देखियो ।

            १८.  अब निर्णय तर्फ विचार गर्दा यसमा श्रीमतीसँग ज्यान लिने इवीलाँग वा मनसाय नभै भाव विशेषना परी अवस्था र परिणाम बुझ्न नसकी भवितव्यबाट मेरो हातबाट श्रीमती पार्वतीको मृत्यु हुन गएको भनी प्रतिवादी रतन सिंहले पुनरावेदन जिकिर लिएको देखिएता पनि मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. विश्लेषण गर हेर्दा आफूले गरेको कामबाट मानिस मर्न सक्छ भन्ने परिणामको ज्ञान नभई आकष्मिक घटना वा मनसायरहित अप्रत्यासित कार्यबाट मानिसको मृत्यु भएको अवस्थालाई भवितव्य मान्नुपर्ने हुन्छ तर प्रस्तुत मुद्दामा बनास जस्तो घातक फलामे हतियारद्बारा प्रतिवादी रतन सिंहले मृतक पार्वतीलाई पटक पटक चोट हानी मारेको भन्ने कुरा निजले मौकामा प्रहरीमा तथा अदालतमा गरेको बयान पोष्टमार्टम रिपोर्ट लगायतका मिसिल संलग्न अन्य सबुद प्रमाणहरुबाट पुष्टि भइरहेको छ  यस्तो कार्यलाई भवितव्यको परिभाषा भित्र समेट्न मिल्ने देखिएन । जहाँसम्म प्रतिवादी रतनसिंह महरालाई प्रहरी प्रतिवेदन माग दावी अनुसार ज्यान सम्बन्धी महलको १३.१ बमोजिम सजाय हुने हो होइन ? भन्ने प्रश्न छ त्यसतर्फ हेरिएमा भतिजा वीरसिंह महराले आफ्नी स्वास्नी पार्वतीलाई करणी गरेको कारणबाट तत्काल रिस उठी बनास ठूलो हसियाँले काटी निज पार्वतीलाई मारेको कुरामा प्रतिवादी रतनसिंह सावित रहेको देखिन्छ । पार्वतीलाई प्रहार गर्दा प्रयोग भएको उक्त बनास बरामद भै प्रहरी प्रतिवेदन साथ दाखिल भएको देखिन्छ । बनास (ठुलो हँसिया) जस्तो साँघातिक हतियार प्रहार गरी मृतक पार्वतीको शरिरमा विभिन्न घाउखत पारी सोही चोट पीरका कारणले निज पार्वतीको मृत्यु भएको भन्ने कुरा मिसिल संलग्न पोष्टमार्टम रिपोर्ट लास प्रकृति मुचुल्का स्वयं प्रतिवादीले गरेको बयानबाट समेत पुष्टी भइरहेको हुँदा यस्तो प्रकृतिको अपराधमा शुरुले ज्यान सम्बन्धीको १४ नं. आकर्षित हुने ठहर्‍याई १० वर्ष कैद गर्ने गरेको शुरुको इन्साफ बदर गरी ज्यान सम्बन्धी महलको १३(१) बमोजिम प्रतिवादी रतन सिंह महरालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर्‍याएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको फैसला मिलेकै देखिँदा मनासिव ठहर्छ । भवितव्य ठहर्‍याई पाउँ भन्ने प्रतिवादी रतनसिंह महराको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

            १९.  उपयुक्तानुसार ठहर भएता पनि मृतक पार्वती प्रतिवादीको आफ्नै श्रीमती भएको निजलाई मार्नुपर्ने सम्मको पूर्व रिसइवी प्रतिवादीको रहे भएको भन्ने कुरा मिसिलबाट नदेखिएको आफ्नो स्वास्नीलाई भतिजा विरसिंहले करणी गरेका भन्ने आशंका र कारणबाट तत्काल रिस उठी बनासले हिर्काई काटी मारेको भन्ने कुरा मिसिलबाट प्रष्ट भैरहेको हुँदा निज प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्म कैदको सजाय गर्दा चर्को पर्ने हुँदा निज प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(१) नं. बमोजिम सर्वश्‍व सहित जन्म कैदको सजाय गर्दा चर्को पर्ने हुँदा निजलाई कैद वर्ष १० मात्र गर्न अ.वं. १८८ नं. बमोजिम जाहेर भएको पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको राय समेत मनासिव ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

           

            पुरानवेदन प्रतिवादी रतन सिंह महराको माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत दिपायल मुकाम महेन्द्रनगरको मिति २०५२।२।३१ को फैसलाले निजलाई सर्वश्व सहित जन्मकैद हुने ठहरे तापनि अ.वं. १८८ नं. अनुसार निजलाई १० वर्ष मा१ कैद गर्न जाहेर भएको राय सदर भएकोले ठेकिएको कैद कानून बमोजिम असूल गर्न लगत दिनु भनी शुरु वैतडी जिल्ला अदालतमा लेखि पठाउनु............................................................................................१

            फैसला भएको जनाउँ पुनरावेदक प्रतिवादी रतनसिंह महरालाई दिनु...........................१

            मिसिल नियमानुसार गरी बुझाई दिनु...............................................................१

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इन्द्रराज पाण्डे

 

इति सम्वत २०५५ साल जेष्ठ १८ गते रोज २ शुभम्................................................... ।            

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु