निर्णय नं. ६५६२ - कुतवाली मोही निस्काशन ।

नि.नं. ६५६२ ने.का.प. २०५५ अङ्क ६
संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
सम्वत २०५१ सालको दे.पु.नं....... २१४९
फैसला मिति २०५५।१।२२।३
मुद्दाः- कुतवाली मोही निस्काशन ।
पुनरावेदक/प्रतिवादीः- जिल्ला सर्लाही गा.वि.स. किसनपुर वार्ड नं. १ मा बस्ने गंगाराम पण्डित कुम्हार समेत जम्मा तीन ।
विरुद्ध
विपक्षी/वादीः- ऐ.ऐ. वडा नं. ५ बस्ने वैद्यनाथ शाह तेली ।
§ कुलवाली भराई दिने निर्णय उपर प्रतिवादीहरुको पुनरावेदन परेकोमा पुनरावेदन अदालत जनकपुरको मोही निष्काशन समेत गरी मिति २०५१।२।१ मा फैसला भएको देखिन्छ । मोहीयानी हकबाट हटाई पाउँ भन्ने पुनरावेद जिकिर नभएको अवस्थामा प्रतिवादीहरुलाई थप दायित्व बेहोर्नु पर्ने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको उक्त फैसला न्याय तथा कानूनी सिद्धान्तको विपरित भई त्रुटिपूर्ण देखिँदा उक्त फैसला उल्टी हुने ।
(प्र.नं. ९)
पुनरावेदक वादी तर्फबाटःX
प्रत्यर्थी प्रतिवादी तर्फबाटः X
अवलम्वित नजीरः X
फैसला
न्या. हरिश्चन्द्रप्रसाद उपाध्यायः- प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छः-
२. मेरा नाममा दर्ता कायम रहेको जि.स. बेला वडा नं. ८(ख) कि.नं. २ को क्षे.फ. १-४-१५ जग्गामा विपक्षीहरुको बाबु पति हरिनन्दन मोही भै कमाई आएको निज मोही ०४० सालमा परलोक भै हक खाने विपक्षीहरुले जग्गा जोती आएको मैले पाउनुपर्ने ०४९ सालको कुत १४-९-४ को रु ३६२०।३१ मलाई नबुझाएको र कुनै निकायमा धरौट समेत नराखेकोले विपक्षीहरुबाट कुत दिलाई मोही निष्काशन गरी पाउँ भन्ने फिराद ।
३. लोग्ने पिता २०३२ सालमै परलोक भै सक्नु भएको र वादी दावीको जग्गा ०३२ सालमा भिषण बाढीले जग्गा खोला भै आवाद लायक नभएकोले वाली नलाग्ने नउब्जने जग्गाबाट मोही निष्काशन हुने हैन कुत वाली पनि तिर्नु पर्ने होइन भन्ने प्रतिउत्तर पत्र ।
४. नदिकाट भएको प्रमाण सम्बन्धित निकायबाट ल्याई पेश गरेको नदेखिँदा मोहियानी हक यथावत कायम राखी वादीले प्रतिवादीबाट विगोव रु. ३,६२०।३१ भरी पाउने ठहर्छ भन्ने भूमिसुधार कार्यालय सर्लाहीको मिति २०५०।३।१३ को फैसला ।
५. नाप नक्सा सर्जमिन समेत नबुझी कुत दिलाई भराई गर्ने गरेको शुरु भू.सु.का. को निर्णय उल्टाई पाउँ भन्ने प्रतिवादीको पुनरावेदन पत्र ।
६. वादीको जग्गाको कुत नबुझाई वादीको कुत पाउनुपर्ने अधिकारमा आघात पुर्याई मोहीले कुत बुझाउनु पर्ने कर्तव्य समेत पालन गरेको नदेखिँदा वादीको जग्गाबाट प्रतिवादीहरुको मोही निष्काशन समेत हुन ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको फैसला ।
७. मिसिल रहे भएको प्रमाणहरुको मूल्याङ्कन गरी जे जो बुझी निर्णय गर्नुपर्नेमा केही प्रमाण नबुझी हचुवाको भरमा मोही समेत निश्काशन हुने ठहराएको उक्त फैसलाले सारै अन्याय परेको हुँदा सो फैसला तथा भूमिसुधार कार्यालयको फैसला समेत बदर गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीहरुको यस अदालतमा परेको पुनरावेदन पत्र ।
८. यसमा शुरु भूमिसुधार कार्यालय सर्लाहीले मोहीयानी हक कायम राखि वादीले प्रतिवादीबाट कुत भरी पाउने गरी मिति २०५०।३।१३ मा गरेको फैसला उपर प्रतिवादीहरुको पुनरावेदन परेकोमा निजलाई नै थप दायित्व वेहोर्नु पर्ने गरी मोही समेत निष्काशन गरेको पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्ने देखिँदा अ.वं. २०२ नं. बमोजिम छलफलको लागि प्रत्यर्थीलाई झिकाई नियम बमोजिम पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासबाट मिति २०५४।७।४ मा भएको आदेश ।
९. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा विपक्षी वादीका वारेस राम नागेन्द्र रायले इजलाससमक्ष गरेको छलफल र मिसिल समेत अध्ययन गरी निर्णय तर्फ विचार गर्दा ०४९ सालको कुत वाली नबुझाएको हुँदा विपक्षीहरुबाट कुत दिलाई मोही निष्काशन गरी पाउँ भन्ने फिराद भएकोमा २०३२ सालदेखि विवादित जग्गामा खोला पसी वाली नलाग्ने भएबाट कुत तिर्नु पर्ने र मोही निष्काशन हुनुपर्ने होइन भन्ने प्रतिउत्तर जिकिर रहेकोमा मोहीयानी हक यथावत कायम राखी कुतवाली मात्र भरी पाउने ठहर्छ भन्ने शुरु भुमिसुधार कार्यालय सर्लाहीबाट मिति २०५०।३।१३ मा फैसला भएको देखिन्छ । मोहीयानी हक यथावत कायम राख्ने निर्णय उपर वादीको पुनरावेदन परेको मिसिलबाट देखिन आएन । कुतवाली भराई दिने निर्णय उपर प्रतिवादीहरुको पुनरावेदन परेकोमा पुनरावेदन अदालत जनकपुरको मोही निष्काशन समेत गरी मिति २०५१।२।१ मा फैसला भएको देखिन्छ मोहीयानी हकबाट हटाई पाउँ भन्ने पुनरावेदन जिकिर बेहोर्नु पर्ने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको उक्त फैसला न्याय तथा कानूनी सिद्धान्तको विपरित भई त्रुटिपूर्ण देखिँदा उक्त फैसला उल्टी हुन्छ । मोहीयानी हकबाट प्रतिवादीहरुलाई निष्काशन गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको । शुरु भूमिसुधार कार्यालय सर्लाहीको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अतः तपसिल बमोजिम गर्नु ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिए बमोजिम पुनरावेदन अदालत जनकपुरको मिति २०५१।२।१ को फैसला उल्टी भएकोले सो फैसला बमोजिमको लगत कायम राख्नु परेन सो लगत कट्टा गरी भनी शुरु भूमिसुधार कार्यालय सर्लाहीमा लेखी पठाउनु.............................................................१
मिसिल नियमानुसार बमोजिम बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. टोप बहादुर सिंह
इति सम्वत २०५५ साल वैशाख २२ गते रोज ३ शुभम्.............................................. ।