शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५९२ - मिलापत्र

भाग: ४० साल: २०५५ महिना: पौस अंक:

निर्णय नं. ६५९२        ने.का.प. २०५५         अङ्क ९

 

पूर्ण इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायधीश श्री केदारनाथ आचार्य

सम्वत् २०५२ सालको दे.पु.इ.नं........... ८१

फैसला मिति २०५४।११।१४।५

 

मुद्दा : मिलापत्र बदर ।

 

पुनरावेदक/वादी : पर्सा जिल्ला वीरगंज नगर पञ्चायत वडा नं. १२ घण्टाघर बस्ने पासपद प्रसाद साह तेली ।

विरुद्ध

विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने दिलिप प्रसाद भन्ने दलिप नारायण वर्णवाल समेत २ ।

 

§  पहिले नै अरुलाई हक हस्तान्तर गरी दिएको लिखतलाई निस्कृय गराउने दुस्प्रयास गरी गरेको मिलापत्र कायम रहन नसक्ने ।     

                                                              (प्र.नं. १६)

पुनावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

अवलम्बित नजिर : X

फैसला

          प्र.न्या.ओमभक्त श्रेष्ठ: यस अदालत संयुक्त इजलासको मिति २०४६।११।८ को फैसला दोहोर्याई हेर्ने हुकुम प्रमांगी बक्स गरी पाउं भनी वादीका श्री ५ मा परेको बिन्तीपत्र यस अदालतमा प्राप्त भई सो मा दोहोर्याउने निस्सा प्रदान भई यस इजलासमा पेश हुन आउको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

          २.      विपक्षी शम्भुनारायण वर्णवालले ०१२।३।७ मा र.नं. १८०२।१८३६ बाट वसगीतराम कलवारसंग र.नं. २७७ मा दर्ता भएको रसिद बमोजिम ज.वि. ११६७ मध्ये कित्ता नं. ६ ममा दर्ता भएको सो कित्ता १ को बिगाहा ०३ मध्ये जग्गा विगाहा ०११७ को घर जग्गा रु( १२,१५१ मा राजिनामा गरी लिई भोगचलन गरी आउनु भई सो घर जग्गा रु.१,०००००।मा विरगंज नगर पञ्चायतको र.नं. ५३७ को जग्गा विगाह ०११६ जग्गा र सो जग्गामा भएको पूर्व रहेको पक्की २ तले घर समेत ०३९।१।१६ र नं. ४४८० बाट रजिष्ट्रेशन पास गरी म पासपत प्रसाद शाह तेलीलाई निज शम्भु नारायण वर्णवालले दृष्टिबन्धक दिनुभयो । सो ०११६ मध्ये पूर्व बाट ज.जि. ०३ तीन धुर त्यसमा भएको पक्की घर समेत रु.२,००,०००।मा ०३९।६।१८ मा र.नं. ७६४ बाट म पासपद प्रसादलाई शम्भुनारायण वर्णवालले पास गरी दिनु भएको राजिनामा कैफियत महलमा उल्लेखित र.नं. ५३७ को पुरै जग्गा ०३९।१।१६ मा दृष्टिबन्धक लिखत पास गरी कर्जा लिएको रु.१,००,०००। र थप रु।१,००,०००। समेत जम्मा रु.२,०००००। मा र.नं. ५३७ को जग्गा मध्ये पूर्वबाट ०३ जग्गामा रजिष्ट्रेशन पास गरिदिनु भयो। उक्त घर जग्गा विपक्षीहरु २ जनालाई किरायामा दिएको मुद्दा यसै अदालतमा मुलतवीमा रहेको छ । विपक्षी २ जना बिचमा चलेको किराया दिलाई घर खाली गरी पाउने ठहरी यस अदालतबाट फैसला भएको सो फैसलामा दलिप नारायणले म.क्षे.अ. मा पुनरावेदन दिंदा शुरुको फैसला सदर हुने भन्ने फैसला भएको र श्री ५ मा बिन्तीपत्र चढाउंदा इन्साफ जाच गरी दिनु भन्ने हु.प्र.सर्वोच्च अदालतका नाउंमा भएको रहेछ अ.वं. २०२ नं. बमोजिम शम्भुनारायणलाई झिकाइएको छैन । निज विपक्षीहरुले मिलापत्र गर्नलाई पेशीमा चढाई पाउं भनी निवेदन दिएकोमा पेश गर्नु भन्ने आदेश भई विवादको घर जग्गा दलिप नारायणको हक कायम हुने गरी वादी दावी छोडी छोडाई सर्वोच्च अदालतबाट मिलापत्र मिति ०४२।३।११ गते गरेका रहेछन् । सो बमोजिम मिति ०४२।४।४ मा नक्कल लिई हेर्दा थाहा पाएकोले उक्त विपक्षीहरु बीच भएको मिलापत्रले मेरो जग्गा र घरमा आघात पुगेकोले नालेश गर्न आएको छु साक्षी प्रमाण बुझी मैले पाएको राजिनामा मा उल्लेख भएको ३ धुर जग्गा र त्यसमा भएको कक्की घर समेतमा हस्तक्षेप भएकोले त्यती हद सम्मको मिलापत्र वदर गरी पाउं भन्ने वादीको फिराद पत्र रहेछ ।

          ३.      वादी दावी बमोजिम मिलापत्र वदर हुनु पर्ने होइन । फिरादमा उल्लेख भएको घर जग्गा मेरो भएकोमा प्रस्तुत मुद्दामा प्रतिवादी बनाएका शमभु नारायण वर्णवालले म उपर सम्मानित अदालतमा घर खाली गराई पाउं भन्ने समेत मुद्दा दिएकोमा यस अदालतबाट मलाई हराई मिति २०३९।३।२९ मा फैसला भएको म.क्षे.अ.मा मेरो पुनरावेदन परी मुद्दा चलिरहेको अवस्थामा शम्भु नारायणबाट रजिष्ट्रेशन गरी लिएको सो कुरा सूचनाबाट थाहा पाई लिखत दर्ता वदर मुद्दा लई सम्मानीत अदालतमा चल्दैछ । म.क्षे.अ.बाट शुरको इन्साफ सदर गर्ने गरी फैसला भएकोमा मैले पुनरावेदनको अनुमति पाउं भनी सर्वोच्च हदालतमा निवेदन दिंदा कानून बमोजिम गर्नु भन्ने आदेश भएकोले श्री ५ महाराजधिराज सरकारमा बिन्तीपत्र चढाउदा इन्साफ जाच गरी दिनु भन्ने हु.प्र.स.अ.का नाउमा भई तारेखमा रहेकोमा शम्भु नारायणले मिलापत्र गरौभनी भनेकोले मेरो घर जग्गा छाडी दिने भए मिलापत्र गर्छु भन्दा मिलापत्र गर्न श्री ५ मा बिन्तीपत्र चढाउंदा मिलापत्र गराई दिनु भन्ने हु.प्र.भई मिलापत्र भएको हो । मुद्दा चल्दा चल्दैका अवस्थामा लिनु दिनु गरेको व्यवहार सदर हुदैन भन्ने ने.का.प.नि.नं. ५८३ मा सिद्धान्त प्रतिपादित भई रहेको छ मुद्दा पर्दा पर्दैका अवस्थामा फिरादीले घर जग्गा लिएकोमा मुद्दा दायर रहेको हुंदा त्यस्तोमा फिरादीलाई उजर गर्ने हकदैया नै नरहेको हुंदा मिलापत्र बदर हुनुपर्ने नहुंदा झुट्टा दावीबाट अलग फुर्सद गरी पाउं भन्ने प्रतिवादीको प्रति उत्तर पत्र रहेछ ।

          ४.      वादी दावी अनुसार मिलापत्र वदर हुनुपर्ने होइन हामी अंशियार भाई भाईको रक्सौल तर्फको अंश लिने दिने कुरा मिली अंश लिई मिलापत्र भएको हुनाले श्री सर्वोच्च अदालतका नाउमा मिलापत्र गराई दिनु भन्ने हु.प्र. पाउं भनी बिन्तीपत्र चढाउंदा मिलापत्र गराई दिनु भन्ने हु.प्र. बक्स भए अनुसार सबै व्यहोरा खुलाई मिलापत्र गरेका हुंदा मिलापत्र वदर हुनुपर्ने होइन झुठा दावीबाट अलग फुर्सद गरी पाउं भन्ने प्रतिवादी शम्भुनारायणको प्रतिउत्तर पत्र रहेछ ।

          ५.      मुद्दा चल्दैका अवस्थामा प्र.शम्भु नारायण वर्णवालबाट वादी गम्भीर प्रसादले खरिद गरी लिएको रजिष्ट्रशनको लिखत कानूनी मान्यता प्राप्त हुन नसक्ने हुंदा सोही लिखतको आधारबाट निज वादीका नाउमा दताए रहेको घर जग्गा समेतलाई प्र. दलिप नारायणको हक कायम हुने गरी श्री सर्वोच्च अदालत डिभिजन बेन्चबाट मिति ०४२।३।११ गते भएको मिलापत्र बदर गरी पाउं भन्ने वादी दावी पुग्न सक्दैन भन्ने शुरु जिल्ला अदालतको फैसला रहेछ ।

          ६.      शुरु जिल्ला अदालतले मलाई हराई गरेको फैसदामा मेरो चित्त बुझेन भन्ने समेत व्यहोराको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदन पत्र रहेछ ।

          ७.      अ.वं. २०२ नं. बमोजिम विपक्षी झिकाई पेश गर्नु भन्ने समेत नारायणी अञ्चल अदालतको आदेश ।

          ८.      जुन लिखतको आधारमा पुनरावेदकले हक श्रृजना भएका भनेको हो सो २०३९।६।१८ को राजिनामा लिखत दर्ता वदर हुने ठहराएको शुरुको इन्साफ मनासिव ठहरी दे.पु.नं. १०९८ को मुद्दा आजै यस इजलासबाट पुनरावेदन फैसला भउकोले वादी दावी पुग्न नसक्ने ठहराएको नारायणी अंचल अदालतको २०४५।१०।१८ को फैसला ।

          ९.      सो फैसला उपर पुनरावेदनको अनुमति पाउं भन्ने निवेदनमा न्या.प्र.सु.ऐन २०३१ (संशोधन सहित) को दफा १३(४) अन्तर्गत त्रुटी रहे भएको नदेखिदां पुनरावेदनको अनुमति प्रदान गर्न मिलेन भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको २०४६।२।१७।३ को आदेश ।

          १०.    सो आदेश उपर पुनरावेदनको अनुमति पाउं भन्ने वादीको निवेदन परेकोमा लिखत दर्ता वदर मुद्दामा आजै पुनरावेदनको अनुमति प्रदान भएको प्रस्तुत मुद्दामा विवादित सम्पत्ति राजिनामा गरी हक छाडी सकेपछि गरेको मिलापत्रलाई कायम गरेको समेत र सोही मुद्दाको लगाउ देखिदां न्याय प्रशासन सुधार ऐन २०३१ को दफा १३(५) को खण्ड (ख)(ग) र ऐ.को उपदफा (७) बमोजिम पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत सर्वोच्च अदालत संयुक्त इजलासको २०४६।४।१९ को आदेश ।

          ११.    तसर्थ मिलापत्र वदर गरी पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको शुरुको सदर गरेको नारायणी अञ्चल अदालतको फैसलामा कानूनी त्रुटि नदेखिएको भनी पुनरावेदनको अनुमति नदिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय आदेश मिलेकै देखिदा सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने संयुक्त इजलासको मिति ०४६।११।८ को फैसला ।

          १२.    प्रस्तुत मुद्दामा स्वतन्त्र बुदा प्रयोग गरी मलाई हराइएको नभई दे.पु.नं. ४७७ को मुद्दाको आधारमा हराइउको छ । उक्त दे.पु.नं. ४७७ को मुद्दामा दोहोर्‍याई हेरी पाउं भनी आजै छुट्टै निवेदन चढाएकाले यस मुद्दामा पनि उनै वुंदाहरुको आधारमा मुद्दा दोर्‍याई हेरी दिनु भन्ने हुकुम प्रमांगी सर्वोच्च अदालतका नाममा बक्स पाउं भनी वादीको श्री ५ मा बिन्ती पत्र परी यस अदालतमा प्राप्त भई संयुक्त इजलास समक्ष पेश हुंदा यसमा यसै लगाउको निवेदन नं. ५४ मा आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेरिदिने निस्सा प्रदान भएकोले यसमा पनि दोहोर्याउने निस्सा प्रदान गरिएको छ भन्ने मिति २०५१।४।२१ को आदेश ।

          १३.    नियम बमोजिम आजको दैनिक मुद्दा पेशी सूचीमा चढि पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनु भएको विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले घर जग्गा पुनरावेदकलाई राजिनामा गरिदिउको थाहा हुंदाहुंदै सो कुरा लुकाई आपसमा मिली मिलापत्र गराएको हुंदा सो मिलापत्र वदर हुनुपर्छ भनी र विपक्षी तर्फबाट उपस्थित हुनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले प्रस्तुत मुद्दा लिखत वदर मुद्दासंग सम्बन्धित लगाएको मुद्दा हो । मुद्दा पर्दा पर्दैको अवस्थामा गराई लिउको वादीको लिखत कायम हुन नसक्ने हुंदा क्षेत्रीय अदालतको निर्णयलार्य सदर गर्ने गरेको सर्वोच्च अदालतको फैसला सदर हुनुपर्छ भनी वहस प्रस्तुत गर्नुभयो ।

          १४.    आजलाई निर्णय सुनाउन तारीख तोकिएको प्रस्तुत मुद्दामा उपर्युक्त बहस समेतलाई मध्यनजर राखी मिसिल समेत अध्ययन गरी निर्णयतर्फ विचार गर्दा सर्वोच्च अदालत संयुक्त इजलासको फैसला मिलेको छ, छैन सो सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।

          १५.    यसमा र.नं. ५३७ को ०११६ जग्गा र सो जग्गामा भएको पक्की दुइृतले घर समेत ०३९।१।१६ मा र.नं. ४४८० बाट रजिष्ट्रेशन पास गरी म पासवद प्रसाद शाह तेलीलाई विपक्षी प्रतिवादी शम्भु नारायण वर्णवालले दृष्टिबन्धक दिनु भई सो ०११६ मध्ये पूर्वबाट ज.वि. ०३ धुर जग्गा र सो मा बनेको पक्कीघर समेत ०३९।६।१८ मा म वादीलाई प्र. शम्भुनारायण वर्णैवादले पास गरिदिनु भयो। यसरी मेरो हक स्वामित्वमा आएपछि उत्तः ०३ धुर जग्गामा बनेको घर किरायामा निजै प्रतिवादीहरुलाई दिएको थिएं । किराया पनि नदिएको र घरको आवश्यकता आफैलाई परेकाले घर खाली गरी नदिएकोले मेरो फिराद परी अदालतमा मुलतवीमा रहेको छ । यस मुद्दाका विपक्षी प्र.दुई जनाका बिचमा पनि चलेको किराया दिलाई घर खाली गराई पाउं भन्ने मुद्दामा घर खाली गरी पाउने ठहरी फैसला भई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट समेत अन्तिम भई पछि प्र.दलिप नारायणले श्री ५ मा बिन्तीपत्र चढाउंदा इन्साफ जाच गरी दिनु भन्ने हु.प्र.सर्वोच्च अदालतका नाममा भएको रहेछ । प्र.मध्येका शम्भु नारायणलाई झिकाइएको थिएन । विपक्षीहरुले मिलापत्र गर्नलाई पेशीमा चढाउन निवेदन दिई विवादको घर जग्गामा दलिप नारायणको हक कायम हुने गरी ०४२।३।११ मा सर्वोच्च अदालतबाट मिलापत्र भएछ। शम्भुनारायणको हक समाप्त भइसकेपछि मैले पाएको राजिनामामा उल्लेख भउको ३ धुर जग्गा र त्यसमा भएको घरमा समेत हस्तक्षेप गरी मिलापत्र भएकोले त्यति हदसम्मको मिदलापत्र वदर गरी पाउं भनी फिराद दावी लिई शुरुवात भएको प्रस्तुत मुद्दामा अलग अलग राजीनामा गरी दिएको कुरामा प्रतिवादीले स्वीकारी प्रतिउत्तर फिराएको रहेछ । मुद्दा चल्दा चल्दैको अवस्थामा प्र. शम्भु नाराणबाट पासपतले खरिद गरी लिएको रजिष्ट्रेशनको लिखतले कानूनी मान्यता प्राप्त हुन नसक्ने हुंदा प्र.मध्येको दलिप नारायणको हक कायम हुने गरी ०४२।३।११ मा भएको मिलापत्र वदर नहुने वादी दावी वपुग्ने ठहरी शुरुले गरेको फैसला सर्वोच्च अदालत संयुक्त इजलासबाट सदर भई अन्तिम रहेको फैसला उपर दोहोर्याउने निस्सा प्रदान भएको पाइन्छ ।

          १६.    यसमा र.नं. ५३७ को जग्गा मध्ये ०३ धुर घर जग्गा शम्भु नारायणले पुनरावेदक वादी यी पासपत प्रसाद साह तेलीको हक भोगमा उक्त जग्गा रहेको देखिन्छ । मिति ०३९।६।१८ मा पासपत प्रसाद साहलाई हक छाडी दिईसकेको उक्त ०३ धुर जग्गा र सो मा बनेको घर समेतमा हस्तक्षेप गरी यस मुद्दाका विपक्षी प्रतिवादीहरु बीच चलेको किराया दिलाई घर खाली गरी पाउं भन्ने मुद्दामा उक्त विवादको घर जग्गा दलिप नारायण कै कायम रहने गरी सम्पूर्ण वादी दावी छाडी छोडाई दलिप नारायण र शम्भुनारायण बिच मलिापत्र भएको ०४२।३।११ को सर्वोच्च अदालतबाट भएको मिलापत्रबाट देखिन्छ । यसरी मिलापत्र हुंदा शम्भुनारायणले पहिले नै हक छाडी यि पुनरावेदक पासपत प्रसाद शाह तेलीलाई पास गरी ०३९।६।१८ मा दिएको घर जग्गा समेत पछि दलिप नारायणको अंश भागमा पारी ०४२।३।११ मा मिलापत्र गरेको पाइन्छ । पहिले हक छाडी दिइसकेको घर जग्गालाई मिलापत्र हुंदा अदालतलाई समेत थाहा जानकारी नदिई आफ्नै हकभोको भन्ने हिसाबले मिलापत्र भएको भन्ने कुरामा विवाद देखिदैन । यी पुनरावेदक वादीको हकभोग भइसकेको कुरालाई निस्कृय गराउने गरी आफूले पास गरी दिइ सकेको आफ्नो हक टुटिसकेको घर जग्गा समेतलाई शम्भु नारायणले पुनः हक टाडी अंश भाग लगाई मिलापत्र गरेको पाइन्छ । यसरी एक पटक हक हस्तान्तरण गरी अरुलाई दिइसके पछि आफूमा निहित हकभन्दा बढि हस्तान्तरण गर्न नमिल्ने हुंदाहंदै हक छुट्टिइसकेको घर जग्गामा मिलापत्र गरेको पाइन्छ । अर्थात् एकपटक अरुलाई हक हस्तान्तरण गरी अर्काको नाममा गइसकेको घर जग्गा समेतमा हस्तक्षेप गरी अर्काका हकहितकमा प्रतिकुल हुने गरी मिलापत्र भएको देखिन्छ । पहिले ०३९।६।१८ मा पुनरावेदक य पासपत प्रसादलाई प्र.शम्भुनारायणले रजिष्ट्रेशन पास गरी दिएको ०३ जग्गाको लिखत निस्कृय गराउको वा निष्कृय भएको समेत पाइदैन । यसरी पहिले नै अरुलाई हक हस्तान्तरण गरी दिएको लिखतलाई निस्कृय गराउने दुस्प्रयास गरी गरेको मिलापत्र कायम रहन नसक्ने हुंदा र.नं. ५३७ को जग्गा मध्ये पूर्वबाट ०३ जग्गा समेत प्रतिवादी दलिप नारायण वर्णवाललाई दिने गरी मिति २४२।३।११ मा भएको मिलापत्र र सो को आधारमा भएको दर्ता समेत सो हदसम्म बदर हुन्छ । मिलापत्र वदर गरी पाउं भन्ने वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसलामा कानूनी त्रुटी नदेखिएको भनी पुनरावेदनको अनुमति नदिने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको मिति ०४६।११।८ को फैसला नमिलेकाले उल्टी हुन्छ वादी दावी बमोजिम ०३९।६।१८ को राजिनामामा उल्लेख भएको ०३ धुर जग्गा र सोमा भएको घर समेत पुनरावेदक यी वादीको ठहर्छ । अरु तपसिल बमोजिम गर्नु ।

तपसिल

          माथि इन्साफ खण्डमा उल्लेख भए अनुसार र.नं. ५३७ को जग्गा मध्ये पूर्वबाट ०३ धुर जग्गा र सोमा बनेको घर समेत पुनरावेदक वादीको ठहरी सो हदसम्म उल्टी भई फैसला भएकाले ०४५।१०।१८ को नारायणी अञ्चल अदालतको फैसलाले राखेको लगत कट्टा गरी ऐनका म्याद भित्र वादीको दरखास्त परे नियमानुसार गरी दर्ता गरी दिन मालपोत कार्यालयलाई पत्र पठाई निजका नाममा दर्ता भएपछि चलन समेत चलाई दिनु भनी पर्सा जिल्ला अदालत तहसिल साखामा लेखी पठाई दिनु. १

          शुरुको इन्साफ भई फैसला भइकोले पुनरावेदक वादीले राखेको कोर्ट फि भराई पाउं भनी ऐनका म्याद भित्र दरखास्त परे दस्तुर नलिई नियमानुसार गरी भराई दिनु भनी र्पा जिल्ला अदालतमा लगत दिनु .......................२

मिसिल नियमानुसार गरी बुझाई दिनु ........ ३

 

उक्त रायमा हामी सहमत छौं ।

 

न्या. केदारनाथ उपाध्याय

न्या.केदारनाथ आचार्य

 

इति सम्वत् २०५४ साल फाल्गुण १४ गते रोज ५ शुभम्......................... ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु