शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६५९५ - कुत दिलाई मोही निष्काशन ।

भाग: ४० साल: २०५५ महिना: पौस अंक:

नि. नं. ६५९५           ने.का.प. २०५५         अङ्क ९

 

संयुक्त इजलास

सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल

संवत् २०५२ सालको दे.पु.नं.... २९७२

फैसला मिति : २०५४।११।२६।३

 

मुद्दा : कुत दिलाई मोही निष्काशन ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी सिम्राहा सिगियोन गा.वि.स. वडा नं. ८ बस्ने बुधनी देवी 

विरुद्ध

प्रत्यर्थी/वादी : जिल्ला सप्तरी फकिन गा.वि.स. वार्ड नं. ५ बस्ने जीरमैन देवी यादव ।

 

§  मोहियानी हकको निरन्तरता पाउन मोहीले उल्लेखित ऐनको परिधि भित्र रही सो अनुरुपको कर्तव्य र दायित्व निर्वाह गरेकै हुनु पर्ने ।

                                                     (प्र.नं.९)

§  कानून बमोजिमको दायित्व पुरा नगर्ने मोहीको मोहियानी हक यथावत राखी निरन्तरता दिन मिल्ने अवस्था नदेखिदा उल्लेखित कि.नं. २५२ को जग्गाबाट यी पुनरावेदक प्रतिवादीको मोहियानी हक छुट्ने गरी मोही निष्काशन समेत हुने ठहर्याई शुरु भूमिसुधार कार्यालय सप्तरीको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिदा पुनरावेदक प्रतिवादी पुनरावेदन जिकिर पुग्न नसक्ने ।                                                                                        

(प्र.नं.१०)

पुनरावेदक प्रतिवादी तर्फबाट : X

प्रत्यर्थी वादी तर्फबाट : X

अवलम्बित नजिर : X

फैसला

          प्र.न्या.ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत राजविराजको मिति ०५२।१।२७ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको व्यहोरा यसप्रकार छ :

          २.      मेरा नाउं दर्ताको जि. सप्तरी गा.वि.स. सिम्राहा सिगियोन वार्ड नं. ८(ख) कि.नं. १३३ को ०१०१७ जग्गाको विपक्षी मोही भई जग्गा जोतकमोद गर्दै आएकोमा ०५० सालको कुत धान ६९ को प्रति मन रु.२४०। ले हुने रुपैया मलाई नबुझाएको र सम्बन्धित निकायबाट धरौट समेत नराखेको हुंदा मोहीको दायित्व पुरा नगर्ने विपक्षीलाई उल्लेखित अनुार कुत बाली दिलाई भराई मोहियानी हकबाट समेत निष्काशन गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र ।

          ३.      वादी दावी अनुसारको जग्गाको म मोही भई जोतकमोद गर्दै बाली जग्गा धनीलाई बुझाउंदै आएको । ०५० सालको कुतबाली बुझ्नुहोस् भन्दा आज भोली बुझ्दछु भन्दै आलटाल गरी धरौट राख्ने म्याद नघाई बाली नबुझी म उपर नालेस गरेको हो । वादीलाई कुतवाली बुझ्न लगाई झुठ्ठा वादी दावीबाट फुर्सद पाउं भन्ने व्यहोराको प्रतिउत्तर पत्र ।

          ४.      बुझिए सम्मका मिसिल प्रमाणबाट कुत बुझाउन प्रतिवादीको मञ्जुर देखिदा एक पटक सुध्रन मौका दिई मोही हक यथावत कायमै राखी वादी दावी अनुसार वादीले प्रतिवादीबाट कुतवाली भराई दिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमी सुधार कार्यालय सप्तरीको ०५१।३।३० को निर्णय ।

          ५.      शुरुले कारण नै उल्लेख नगरी मोही हक यथावत कायम राखी वालीसम्म भराउने ठहराई गरेको निर्णय उपर चित्त बुझेन । वादी दावी अनुसार मोहीको दायित्व पुरा नगर्ने विपक्षीलाई मोहियानी हकबाट समेत निष्काशन गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र ।

          ६.      शुरुले मोहियानी हक यथावत कायम राख्नु पर्ने आधार प्रमाण नखुलाई गरेको निर्णय फरक पर्न सक्ने देखिदा अ.वं. २०२ नं. अनुसार प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०५१।९।२६।३ को आदेश ।

          ७.      दैवी परेमा बाहेक कुतवाली नबुझाउने मोहीलाई भूमी सम्बन्धि ऐन, २०२१ को दफा २९(१) बमोजिम दावीको जग्गाको मोहियानी हकबाट समेत निष्काशित हुने ठहर्छ । मोहियानी हकबाट समेत निष्काशन गर्न पर्नेमा सो नगरेको कानून सम्मत कारण बिना मोहियानी हक यथावत राख्ने गरेको दहसम्म शुरु भूमी सुधार कार्यालय सप्तरीको फैसला मिलेको नदेखिदां उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०५२।१।२७ को फैसाला ।

          ८.      मोहियानी हकबाट निष्काशन हुने समेत ठहर्याई गरेको पुनरावेदन अदालतको फैसदला न्यायोचित नहुंदा वदर गरी मोहिहक यथावत कायम रहने गर इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी मोहीको यस अदालतमा परेको पुनरावेदन ।

          ९.      नियमानुसार पेश भएको प्रस्तुत पुनरावेदन सहित मिसिल अध्ययन गरी पुनरावेदन अदालत राजविराजको फैसला मिलेको छ छैन निर्णय, तर्फ विचार गर्दा मेरा नाउको कि.नं. १३३ को जग्गाको विपक्षी हक प्राप्त मोही रहेकोमा २०५० सालको कूत नबुझाएको र धरौट समेत राखेको नहुंदा कूत दिलाई मोही समेत निष्काशन गरी पाउं भन्ने माग गरी प्रस्तुत फिराद परेको रहेछ । कूत बुझाउन तयार छु मोही हक यथावत राखी पाउं भन्ने यी पुनरावेदक प्रतिवादीको जिकिर रहेको देखिन्छ । दैवी पारी वाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कुत बुझाएन भन्ने कुराको जग्गावालाले उजुर गरेमा मोह निष्काशन हुन सक्ने व्यवस्था भूमी सम्बन्धि ऐन, २०२१ को दफा २९(१) ले गरेको पाइन्छ । यी पुनरावेदक प्रतिवादीले उल्लेखित कि.नं. १३३ को जग्गाको कानूनी हक अधिकार र कर्तव्य निहित मोही भएकोमा विवाद छैन । उल्लेखित ऐनको दफा ३६(१) बमोजिम मोहीले बुझाउनुपर्ने कुत जग्गावालालाई प्रत्येक साल तोकिएको समय भित्र बुझाई सक्नु पर्ने अवस्था देखिन्छ । सो अनुरुप जग्गावालाले बुझी नदिएमा गाउं विकास समिति वा नगरपालिका वा जिल्ला माल अड्डा वा भूमी प्रशासन कार्यालयमा धरौट राख्न सकिने व्यवस्था उक्त ऐनको दफा ३६(२) ले गरेको पाइन्छ । सो अनुरुप कानूनी कर्तव्य पुनरावेदक प्रतिवादीले पूरा गर्न सकेको देखिदैन । दैवी परी वा वाली उब्जा हुन नसकेकोले कुत बुझाउन नसकेको भन्ने कथन रहेको वा सो अनुरुप प्रकृया पुरा गर्नेतर्फ निज लागेको पनि देखिदैन । मोहियानी हकको निरन्तरता पाउन मोहीले उल्लेखित ऐनको परिधि भित्र रही सो अनुरुपको कर्तव्य दायित्व निर्वाह गरेकै हुनु पर्दछ । अन्यता मोहियानी हकले निरन्तरता पाउन सक्ने अवस्था देखिदैन । कानून बमोजिमको दायित्व पुनरावेदक प्रतिवादीदले पूरा गरेको देखि आएन ।

          १०.    यसरी कानून बमोजिमको दायित्व पुरा नगर्ने मोहीको मोहियानी हक यथावत राखी निरन्तरता दिन मिल्ने अवस्था नदेखिदा उल्लेखित कि.नं. २५२ को जग्गाबाट यी पुनरावेदक प्रतिवादीको मोहियानी हक छुट्ने गरी मोही निष्काशन समेत हुने ठहर्याई शुरु भूमिसुधार कार्यालय सप्तरीको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिदा पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उपर्युक्त रायमा सहमत छु ।

 

न्या.भैरवप्रसाद लम्साल

 

इति सम्वत् २०५४ साल फाल्गुण २६ गते रोज ३ शुभम् .............।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु