निर्णय नं. ४२४९ - उत्प्रेषण

निर्णय नं. ४२४९ ने.का.प. २०४८ अङ्क १
संयुक्तइजलास
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
सम्वत् २०४६ सालको रिट नं. ७८०
आदेश भएको मिति : २०४७।१२।५।३ मा
निवेदक : का.न.पं. वडा नं. ४ बस्ने खड्कबहादुर श्रेष्ठ
विरुद्ध
प्रत्यर्थी : वडा प्रहरी कार्यालय कमल पोखरीसमेत
विषय : उत्प्रेषण
(१) कुनै किसिमको विवाद उठी सो सन्दर्भमा सम्बन्धित पक्ष विपक्षीले कुनै कागज गरिदिए पनि त्यस्तो कागज गराउन वा लिन त्यस्तो विवाद निराकरण गर्न कानुनले अधिकार प्राप्त निकायले मात्र गर्न सक्ने ।
(प्रकरण नं. १०)
(२) नाता कायम हुने किसिमको भान् पारी कागज गराउने वा त्यस्तो कागज लिने एवं दर्ता गर्ने कानुनी अधिकार प्रहरी कार्यालयलाई भएको नपाइने ।
(प्रकरण नं. १०)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल
विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान, विद्वान अधिवक्ता श्री अग्नि खरेल
आदेश
न्या.त्रिलोकप्रताप राणा
१. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार रहेछ । (साविक पेज नं. २८)
२. म निवेदक विद्यार्थी हुनाको अतिरिक्त निर्माण सम्बन्धी साधारण काम गर्दछु । विपक्षी मध्येकी कान्ता राई मेरी मित बहिनी हुन जसको आफ्नो कुलधर्म अनुसार अघि नै विवाह भैसकेको छ । जुन तथ्य ‘सुसमा ओभरसिज’ नामक फर्मको प्रोप्राइटरको हैसियतमा आयकर प्रमाणपत्र लिन उनले स्वयं पेश गरेको मिति ०४४।९।१५ को फर्मको क्र.सं. २० बाट समर्थित हुन आउँछ । मिति २०४५ साल फाल्गुण १९ गते निज कान्ता राई मेरो घरभित्र पसी अनावश्यक आरोप लगाई बाहिर निस्कन नमानेको हुनाले, मौकामै कानुनी कारबाहीको निमित्त वडा प्रहरी कार्यालय कमल पोखरीमा रिपोर्ट गरेकोमा उक्त कार्यालयले निज कान्ता राईलाई उपस्थित गराई सोधपुछ गर्दा निज मेरो लोग्ने हो, निजको घरमा बस्ने मेरो हक छ भन्ने कुरामा जिद्दी गर्दा लोग्नेको नाता नभएको मान्छेलाई लोग्ने नभन्नु र पुनः निजको (म निवेदकको) घरमा नपस्नु भनी बचनवद्धपूर्वक मिति ०४५।११।१९ मा कागज गराई निजको र मेरो दस्तखत गराएका थिए । सो कागज मलाई हेर्न पढ्न नदिई स्वेच्छा विरुद्ध दस्तखत गर्नु पर्यो । मिति ०४६।४।७ मा म घरमा नभएको मौका पारी मेरो विशालनगर चण्डोलको घरमा झ्याल फोडी म निवेदकको स्वास्नी हुँ भन्दै जबरजस्ती पस्न लाग्दा मेरो घर कुरी बस्ने मेरो भानिज जगतनारायण श्रेष्ठले का.न.पं. वडा नं. ४ को वडा समितिमा सुरक्षाको निमित्त निवेदन दिई सोही दिन इज्जतसाथ घरबाट निकालेको व्यहोराको सरजमीन पनि भएको रहेछ । उक्त श्रावण ७ गतेका दिन निज विपक्षी कान्ता राईले मिति ०४५।११।१९ मा वडा प्रहरी कार्यालयमा भएको कागज जम्मा भएका मानिसलाई देखाई म निवेदक र कान्ता राई पति पत्नी हौं भन्ने देखाउँदा मेरो भानिजले सो कागज बिलकूलै झुठ्ठा हो भनी तत्काल प्रतिकार गरी म रोजगारीको सिलसिलामा रहेको तातोपानी भन्ने ठाउँमा आएका थिए । उक्त कागज मिति ०४६।३।२५ मा नक्कल सार्दा मिति ०४५।११।१९ मा भएको मेरो स्वेच्छा विरुद्ध गराएको कागज रहेछ ।
३. विपक्षी कान्ता राईसंग मेरो मित बहिनी बाहेक अन्य नाता छैन । पति पत्नीको नाता छैन । पति पत्नीको सम्बन्ध कायम गर्ने कुरा स्वेच्छापूर्ण चयन अन्तर्गत पर्ने हक हो । विवाह र नाता सम्बन्ध जस्तो जिन्दगीको सबभन्दा जटिल तथा जिम्मेवार पक्षको निर्णायक प्रहरी वा प्रहरी कार्यालय हुन सक्तैन । यसर्थ वडा प्रहरी कार्यालय कमलपोखरीले मिति ०४५।११।१९ गते गराएको स्वेच्छा विरुद्धको कागजले मेरो मौलिक हकमा आघात पुर्याएको हुँदा उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी उक्त मितिमा भएको कागज र सोही तात्पर्यको अन्य मितिको कागज देखा परेमा सो समेत बदर गरी अनाधिकार कागजबाट कुनै दायित्व वा नाता सम्बन्ध बहन गर्न नपर्ने हक प्रचलन गरी पाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन रहेछ ।
४. यस्मा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र लिखितजवाफ पठाउनु भन्ने विपक्षीहरुका नाममा सूचना पठाई लिखितजवाफ आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने मिति २०४६।६।३०।२ मा एक न्यायाधीशको इजलासबाट भएको आदेश ।
५. विपक्षी र मेरो बीच ०४५।६।२ का दिन चुंदालदेवीको मन्दिरमा केही चिनजानका मानिसहरु समेत भेला भई विवाह भए पश्चात पति पत्नीको रुपमा जीवन निर्वाह गर्दै आएका थियौं । यस अवस्थामा हामी बीच बेला बेलामा झैं झगडा हुने गरेकोमा वडा प्रहरी कार्यालय कमलपोखरीमा उजुर परी हामी दुबै पक्षको बीच छलफल हुँदा हामी अब देखि पति पत्निको बीच सुमधुर सम्बन्ध स्थापित गर्ने छौं । झैं झगडा गर्ने छैनौं भन्ने समेत व्यहोराको मिति ०४५।११।१९ मा स्वेच्छापूर्वक कागज गरेका हौं । जबरजस्ती होइन । तत्पश्चात कुनै झैं झगडा भएको थिएन । विपक्षीको दाजु दिलबहादुर (साविक पेज नं. २९) श्रेष्ठले भान्जा जगतलाई ०४६।४।३ मा मेरो बारेमा पत्र लेखेपछि झगडा झिकी मलाई घरबाट निकाला गरेको हो । सम्बन्ध विच्छेद गराउने दुरासयले यो झुठ्ठा रिटनिवेदन दिएको हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी कान्ता राईको लिखितजवाफ रहेछ ।
६. कान्ता राई घरभित्र पसी बाहिर निस्कन नमानेको भनी विपक्षी खड्कबहादुर श्रेष्ठले निवेदन गरे अनुसार प्रहरीले गरिनुपर्ने शान्ती सुरक्षाको दृष्टिकोणले मिति ०४५।११।१९ गते प्रहरी खटाई निज कान्ता राईलाई यस कार्यालयमा उपस्थित गराई दुबै पक्षलाई राखी छलफल गराउँदा दुबैजना लोग्ने स्वास्नीको रुपमा रहन बस्न मंजुर गरी दुबैजनाले स्वीकार गरेको हुँदा साधारण मेल मिलापको कागज गराई दिएको थियो । विपक्षी खड्कबहादुरलाई डर धाक धम्की करकापमा पारी कागज गराएको होइन । आफ्नो स्वार्थपूर्तिको निम्ति यो झुठ्ठा रिटनिवेदन दिएको हुँदा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको वडा प्रहरी कार्यालय, कमलपोखरीको लिखितजवाफ रहेछ ।
७. नियम बमोजिम आजको दैनिक पेशी सूचीमा चढी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदन सहितको फायल अध्ययन गरी रिट निवेदक तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेलले लोग्ने स्वास्नी कायम हुने किसिमको कुनै कागज प्रहरीले गराउन सक्ने कानुन छैन । मिति २०४५।११।१९ मा प्रहरीबाट भएको उक्त काजगबाट लोग्ने स्वास्नी भएको बोध गराउँछ र आफूलाई अधिकार नभएको कुरालाई लिएर भए गरेको कागज बदर हुनुपर्छ भने विपक्षी वडा प्रहरी कार्यालयका तर्फबाट उपस्थित हुनुभएका विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान र कान्ता राई तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री अग्नी खरेलले उक्त ०४५।११।१९ को कागज निवेदकले आफ्नो स्वेच्छाले गरिदिएको हो । स्वेच्छाले गरिदिएको कागज बदर हुने स्थितिको हुँदैन । रिटनिवेदन खारेज होस भनी बहस गर्नु भयो ।
८. अब निवेदकको माग बमोजिम आदेश जारी हुने नहुने के हो ? सो विषयमा निर्णय दिनु पर्ने देखिन आयो ।
९. यस्मा विपक्षी मध्ये कान्ता राई मेरी मितबहिनी हुन् । ०४५।११।१९ मा निजकान्ता राई म खड्कबहादुर श्रेष्ठको घरभित्र पसी अनावश्यक आरोप लगाई बाहिर निस्कन नमानेकीले मैले वडा प्र.का.कमल पोखरीमा रिपोर्ट गरें । प्रहरीद्वारा मेरो स्वेच्छा विरुद्ध कागज गराइयो, सोकागज ०४५।११।१९ को हो ०४६।४।७मा निज प्र.मेरो विशाल नगर चण्डोल घरमा आइन । किन आएको भनी मेरो भानिजले प्रतिकार गर्दा मिति ०४५।११।१९ मा वडा प्रहरी समक्ष गरेको कागज देखाइन । हुँदै नभएको लोग्ने स्वास्नी वा पति पत्नीको नाता इच्छा विरुद्ध तथा अनाधिकार कागज गराएको भन्ने पाइन्छ । त्यस्तो कागज गराउने अधिकार प्रहरी कार्यालयलाई छैन । संविधानले प्रदान गरेको मौलिक हकमा समेत कुण्ठित गरेकोले सो कागजबदर गरिपाउँ भन्ने रिटनिवेदनको मुख्यजिकिर पाइन्छ ।
१०. सम्बन्धित प्रहरी कार्यालयबाट गराइएको ०४५।११।१९ को कागज हेर्दा “लिखितम का.जि. विशालनगर घर हुने वर्ष २८ को खड्कबहादुर श्रेष्ठ र कान्ता राईको आपसी झैंझगडा परे बापत यस कार्यालयमा उपस्थित गराई सोधपुछ गर्दा हामीलाई चित्त बुझ्यो । यस्मा हामी दुबै पति पत्नीको भनाई के छ भने केही कारणबस हामीमा झैं झगडा भए तापनि आइन्दा हामी दुबै प्रेमपूर्वक घर गृहस्थी गर्ने छौं । आइन्दा झैं झगडा गर्ने छैनौं । गरेमा कानुन बमोजिम सहुँला बुझाउँला । यसमा केही फरक लेखिएको छैन । फरक परेमा कानून बमोजिम सहुँला बुझाउँला” भन्ने समेत लेखेको पाइन्छ । प्राप्त कागजातहरुबाट यो रिटनिवेदन र विपक्षी कान्ता राईको बीच लोग्ने स्वास्नीको रुपमा रहने बस्ने सम्बन्धमा न विवाद उठेको पाइन्छ । आपसी झगडाको सन्दर्भमा स्वेच्छाबाट भएको भन्ने विपक्षी प्रहरी कार्यालयको मिति ०४५।११।१९ को कागजले पति पत्नी हो भन्ने तर्फ (साविक पेज नं. ३०) सहमति जनाई कागज भएको देखिन्छ । कुनै किसिमको विवाद उठी सो सन्दर्भमा सम्बन्धित पक्ष विपक्षले कुनै कागज गरिदिए पनि त्यस्तो कागज गराउन वा लिन त्यस्तो विवाद निराकरण गर्नु कानुनले अधिकार प्राप्त निकायले मात्र गर्न सक्दछ । तर विपक्षी प्रहरी कार्यालयले त्यस्तो कागज कुन कानुन अन्तर्गत गराई लिएको हो वा स्वेच्छाले गरिदिएको भए पनि कुन कानुन अन्तर्गत दर्ता वा ग्रहण गरेको हो आफ्नो लिखितजवाफमा लेख्न सकेको पाइन्न । नाता कायम हुने किसिमको भान पारी कागज गराउन वा त्यस्तो कागज लिने एवं दर्ता गर्ने कानुनी अधिकार प्रहरी कार्यालयलाई भएको पाइँदैन । अधिकारै नभएको निकायमा भए गरेको त्यस्तो कागजलाई मान्यता दिन मिल्दैन । अतः रिट निवेदक खड्कबहादुर श्रेष्ठ र कान्ता राई बीच उमेरको विवादलाई लिएर भएको मिति ०४५।११।१९ को कागज अनधिकृत निकाय प्रहरी कार्यालयमा भएकोले त्यस्तो कागजलाई मान्यता दिन नमिल्ने हुँदा मिति ०४५।११।१९ मा वडा प्रहरी कार्यालय कमलपोखरीमा भएको उक्त कागज उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । आदेशको प्रतिलिपि प्रत्यर्थीको जानकारीको लागि म.न्या.व. कार्यालय मार्फत पठाई फायल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या. बब्बरप्रसाद सिंह
इतिसम्वत् २०४७ साल चैत्र ५ गते रोज ३ शुभम् ।