निर्णय नं. ६६२७ - खुन डाँका ।

निर्णय नं. ६६२७ अंक ११ ने.का.प. २०५५
संयुक्त इजलास
माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय
माननीय न्यायाधीश श्री टोपबहादुर सिंह
सम्वत २०५१ सालको फौ.पु..नं........७८६
आदेश मितिः २०५४।०८।४।४
मुद्दाः खुन डाँका ।
पुनरावेदक/वादीः फुटतो देवी यादवको जाहेरीले श्री ५ को सरकार ।
विरुद्ध
विपक्षी/प्रतिवादी : महोत्तरी जिल्ला खुठ्ठा पिपरराडी गा.वि.स. वडा नं. ३ घर भै हाल जि. धनुष शक्तिपुर गा.वि.स. वडा नं. ९ बस्ने रामचन्द्र यादव समेत जना २ ।
§ न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दामा मात्र तेश्रो तहको भए पनि सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था रहेको पाइन्छ । तर दुई तहले प्रहरी प्रतिवेदन माग दावी बमोजिमको अभियोगबाट प्रतिवादीहरुलाई सफाइ दिए उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) र (ग) बमोजिम पुनरावेदन लाग्न सक्ने नदेखिने ।
(प्र.नं. २१)
पुनरावेदक तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठक
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा
अवलम्वित नजिर : दे.पु.नं. ५४ ज्ञान बहादुर राई समेत विरुद्ध दिल बहादुर राई समेत भएको अंश मुद्दामा प्रतिपादित सिद्धान्त ।
फैसला
न्या.केशवप्रसाद उपाध्याय : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. मिति २०४४।१२।४ गतेका रात आफ्नो घरमा खाना खाइ सुति निदाएको अवस्था रातको अं. १२ बजेको समयमा डाकाहरु आइ मेरो घरमा प्रवेश गरी विगो रु.८०७५। को धन सम्पत्ति समेत डांका गरी रहेको अवस्थामा मेरो छोरा सुरेश राय यादवलाई भाला समेत प्रहार गरी छोरा सुरेशलाई घाइते पारी धन सम्पत्ति समेत लिइ डांकाहरु भागी गए । डांका मध्येका रामचन्द्र यादवलाई वारदात स्थलमा नै देखे चिन्हेको हुँ । घाइते छोरा सुरेशलाई उपचारको लागि जनकपुर लाँदा लाँदै अपराधीहरुले प्रहार गरेको हतियारले वेदना बाट मृत्यु भयो । अपराधीहरुलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको फुलो देवी यादवनीको जाहेरी दरखास्त । मृतक सुरेश यादवको दाहिने पट्टी दुधमा रगत लागि दाहिनेतर्फको रगतले कपडा समेत भिजेको, गन्जी समेत खोल्न लगाई हेर्दा दाहिने दुधको मुन्टामा २ इन्च लम्वाइ डेढ इन्च चौडाइ तीन इन्च गोलाइ पौने तीन इन्च गहिराइ भएको कुनै तिखो हतियारले रोपी घोचेको आलो घाउ भएको शरिरमा निलडामहरु समेत देखिएको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का रहेको छ ।
३. जाहेरवालाका घरमा वारदात भएको स्थलको घटनास्थलको प्रकृति समेतको मुचुल्का गराउदा घटनास्थलमा सरसामान यत्रतत्र छरिएको र घटनास्थलमा गोलीको पोको समेत वरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का । मृत्युको कारण छातीमा लागेको घाउ चोटबाट सडकमा गर्इ भएको हो भन्ने चिकित्सकहरुले गरी दिनु भएको लास पोष्ट (फाराम) प्रतिवेदन ।
४. मेरो काका भिखारी यादव सँग सुरेश यादवको रिसीइवी भइ रहेको अवस्थामा सो रिस इवी साधनको लागि निज सुरेश यादवको घरमा डांका लगाई दिने सल्लाह भएको हुँदा मैँले चिनेको जिवछ नदाक, रफिक नदाक, तसलिन नदाकलाई डांक गर्न सल्लाह गर्दा मन्जुर गरेकोले डांका वारदा तगर्न जांदा निज सुरेश मुकाविला गर्न आएको हुँदा निजलाई समेत खतम गरी दिने मामाको भनाइ मानी २०४४।१२।४ को रात अं. १२ बजेको समयमा म मामा भिखारी यादव, जिवछ नदाफ, रफिक नदाफ, तसलिन नदाफ र अरु ३।४ जना सहयोगी भइ निज सुरेश यादवलाई कोठाबाट निकाली जिवछ यादवले वोकी ल्याएको भालाले छातीमा, रफिक नदाफले टाउकोमा गडासाले प्रहार गरेको हो, त्यस पछि सुरेश यादव वेहोस भइ पछाडिएको थिए, पछि सोही चोट पिडा बाट निजको मृत्यु भएको हो । सुरेश यादव मुर्छा परी पछाडिएको थाहा पाइ निजको श्रीमती रुन कराउन लागिन निजलाई पनि सोही ठाउमा लाठीले कुटपिट गरी निजले लगाई राखेको सुनको ल्वाङ चाँदीको हसुलो चाँदीको रुपैयाको माला सुरेश यादवको हातमा वाँधी राखेको घडी समेतका माल सामानहरु डांका गरी भागी गएको हो डांका गरी लगेको सामानको मैले हिस्सा खाएको छैन रफिक र जिवछ नदाकले उक्त डांका गरेको सम्पत्ति पछि नगद पारी बाँडौला भनेका थिए तर वारदात पछि निजहरु सँग भेटघाट भएको छैन भन्नेसमेत व्यहोराको अभियुक्त रामचन्द्र यादवले प्रहरीमा गरेको वयान कागज ।
५. सुरेश यादव सँग मेरो पूर्व रिसइवी भएकोले निजलाई ठीक पार्न मैले भानिज रामचन्द्र यादवलाई भनेको थिए । निजले मेरो सल्लाह अनुसार डांकाहरुलाई बोलाई म समेत भइ मिति २०४४।१२।४ का राती रामचन्द्रले् बोलाएका डांकाहरुका हातमा भाला गडासा लाठी समेत ल्याएका थिए । म समेत भै सुरेश यादवको घरमा गए मैले सुरेश यादवलाई चिनाइ दिएँ डांकाहरुले सुरेश यादवलाई सुत्ने कोठाबाट बाहिर निकाली कुटपिट गरी निजको टाउकोमा गडसा प्रहार गरे पछि सुरेशको छातीमा भाला प्रहार गरेका थिए । त्यस पछि निज बेहोस भयो र सुरेशको श्रीमती सो ठाउँमा आइ स्न कराउन लागेकोले निजको शरिरमा लगाइ राखेको गहनाहरु डांकाहरुले खोसी लगेका हुन र सुरेश यादवलाई जनकपुर अस्पतालमा लाँदा लाँदै मरे भनी सुनेको हुँ भन्नेसमेत व्यहोराको अभियुक्त भिखारी राय यादवले प्रहरीमा गरेको बयान कागज ।
६. मिति २०४४।१२।४ गतेको राति अं. १२ बजेको समयमा हात हातमा लाठी भाला लिएका डाँकाहरु आई घर भित्र पसि मेरो लोग्ने सुरेश यादवलाई कुटपिट गर्दै बाहिर निकाली मलाई २ जना डाँकाहरुले कुटपीट गरी कोठा भित्र घेरी राखे लोग्नेको माया लागि डाँकाको पन्जाबाट फुत्की बाहिर निस्की हेर्दा गाउँकै भिखारी यादवलाई देखि चिने । लोग्नेको बचाउ गर्न जाँदा डाँकाहरुले मेरो आँग जिउमा बासको लाठीले कुटपिट गरी मेरा छोरालाई समेत डाँकाले बोकी लग्न लागेकोले रुदै कराउँदै डाँकाहरुको हातबाट लिई लोग्ने भएको ठाउँमा आउँदा लोग्नेको छातीमा भाला प्रहार गरेको रहेछन मेरो आङ जिउमा लागेको गहना तथा जाहेरीमा उल्लेखित सामानहरु डाँकाहरुले लगेका हुन् । लोग्ने सुरेश यादवलाई उपचारको लागि जनकपुर अस्पतालमा लाँदा लाँदै अस्पतालको ढोकामा पुग्नासाथ डाँकाहरुले प्रहार गरेको चोट पिडाबाट मृत्यु भएको हो र मेरो जलेश्वर अस्पतालबाट घाउ जाँच केश फारम गराएको छु भन्ने समेत व्यहोराको सुरेश यादवकी श्रीमती सगियान देवीले प्रहरीमा गरेको कागज ।
७. अभियुक्त रामचन्द्र यादव समेत भाग्दै गएका अवस्थामा गाउँलेहरुले डांकाहरुलाईै लखेट्दै जाँदा जाहेरवालाको घरमा डांका गरी लिई गएका मध्ये १२ भोल्टको वेटरी र साइकल समेत वारदात स्थलमा वरामद भएकोले भिखारी र रामचन्द्रलाई टर्चको प्रकाशबाट चिनेको हुँ भन्नेसमेत व्यहोराको सर्जमिन मुचुल्का ।
८. ०४४।१२।४ गते सुती रहेको अवस्थामा १२ बजेको समयमा डांकाहरु आइ ढोकामा हान्दै मैले चोर भनी कराएको डांकाहरुले सुनी यो बुढाबुढी रहेछ भनी मेरा छोरा सुरेश सुत्ने गरेको कोठामा गै ढोकामा हानी भित्र प्रवेश गरी डांका मध्येका रामचन्द्र र भिखारी यादवलाई टर्चको उज्यालोबाट चिने । डांका गरी मेरो छोरालाई भालाले हानी भालाकै प्रहारबाट सुरेशको मृत्यु भएको भन्नेसमेत व्यहोराको सियारामको कागज ।
९. ज्यानै मारी दिनु भनी वचन दिइ वारदातमा संलग्न रही मर्नेको जिउमा हात हाली पक्री समाती दिएको र डांका वारदातसमेत गरेको हुँदा प्र. भिखारी यादवलाई ज्यानसम्वन्धी महलको १ नं. को कसुर गरेकोमा ज्यान सम्वन्धीको १३(४) बमोजिम तथा चोरीको ६ नं. विपरीत कार्य गरेकोले १४(४) बमोजिम सजायको माग दावी र प्र. रामचन्द्रको हकमा आफ्नो मामा भिखारी यादव सँग रिसइवी रहेको सुरेश यादवको घरमा डांका वारदात सुरेशको छातीमा भालाले प्रहार गरेकोमा ज्यान सम्वन्धीको १३(१) तथा चोरीको १४(४) बमोजिम सजायको १३(१) माग दावी भएको दर फरार रहेको अभियुक्तहरुलाई ज्यान सम्वन्धीको १३(३) र चोरीको १४(४) बमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१०. मिति ०४४।१२।४ गतेको राती आफ्नो गाउँ घरमा छैन वाँध पैनीको विषयमा पंचायत गर्न वटेश्वर गएको थिए सो रात त्यही वास बसेको हुँ सुरेश यादवको मृत्यु डांकाहरुको कुटाइबाट मृत्यु भएको सम्वन्धमा मलाई केही थाहा छैन जाहेरी झुठा हो भन्नेसमेत व्यहोराको प्र. रामचन्द्र चौधरीको अदालतमा भएको वयान ।
११. ०४४।१२।४ गतेको राती म आफ्नो गाउँ घरमा थिए । गाउँ घरमा हल्ला सुनी गाउँको मानिस जम्मा भएपछि सियारामको घरमा डाँका भै रहेको छ राम असिसको दरवाजामा गै हामी समेत भै डाँकाहरु माथि ईटा रोडा याकेको र डाँकाहरु उत्तर तर्फको बाटो गरी भागिगएको हो डाँकाहरु चिन्न सकिन । सुरेशको हालत खराव भएकोले जनकपुर पुर्याई दिएको हुँ भन्ने समेत व्यहोराको भिखारी यादवको बयान ।
१२. प्र. भिखारी डाँका बारदातमा सरिक भएको कुरा प्रष्ट हुन नआएकोले प्र. भिखारी रायले प्रहरीमा गरेको साविती अन्य कुनै प्रमाणबाट समर्थित हुन नआएकोले प्र. भिखारी रायले प्रहरी प्रतिवेदन माग दावी बमोजिम अपराध गरेको नठहरी सफाइपाउने ठहर्छ प्र. रामचन्द्र यादवले प्रहरी प्रतिवेदन माग दावी बमोजिम अपराध गरेको ठहर्छ भन्ने समेत व्यहोराको ०४६।३।१५ को म.जि.अ.का. फैसला ।
१३. सर्जमिनका व्यक्तिहरुको भनाई आपसमा बाझिएको मेरो प्रहरीमा भएको साविती बयान कुटपिटबाट गराएको भनि अदालतमा बयान गर्दा उल्लेख गरेको छु । अदालतबाट घाउ जाँच हुने आदेश नभएबाट मेरो प्रमाण लुप्त भएको छ । मेरो प्रमाणको मूल्याङ्कन नगरी मलाई हराई गरेको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पाउँ भन्नेसमेत व्यहोराको प्र. रामचन्द्रको पुनरावेदन।
१४. भिखारी यादव अधिकार प्राप्त अधिकारी समक्ष आफु सावित भएको र उक्त साविती कागज अन्यथा प्रमाणित हुने कुनै पनि सवुदको विद्यमानता नरहेकोले भिखारी यादवलाई सफाइ दिइ गरेको फैसला त्रुटिपूर्ण हुँदा वदर गरी प्रहरी प्रतिवेदन माग दावी बमोजिम सजाय गरी पाउँ भन्नेसमेत व्यहोराको श्री ५ को सरकारको पुनरावेदन पत्र ।
१५. प्र. राचन्द्र यादव एवं भिखारी यादवले प्रहरीमा भएको कागजलाई अस्वीकार गर्दै कसूरमा पूर्ण इन्कार रही बयान गरेकोलाई साक्षीहरुको बकपत्रबाट पुष्टी भै रहेको समेत हुँदा केवल अनुमानको आधारमा खुन डाँका जस्तो गम्भीर अपराधमा दोषी ठहर हुन नसक्ने हुँदा प्र. रामचन्द्रले पनि सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको ०४६।१२।८ को ज.पु.अ.अ. को फैसला ।
१६. लास प्रकृति तथा पोष्टमार्टम रिपोर्टबाट कर्तव्य गरी मारेको कुरा प्रमाणित भएको डाँका वारदातबाट पिडीत व्यक्तिको उपचार घा जाँच भै सो तथ्यबाट डाँका वारदात पुष्टी भएको, सरजमिनका व्यक्तिले प्रत्यक्ष प्रमाणको रुपमा अनुसन्धानको अवस्था एवं अदालतमा समेत बकपत्र गरी वारदात प्रमाणित गरी दिएको वारदातमा प्रतिवादीको संलग्नता पुष्टी गरी दिएकोमा उक्त प्रमाणहरुलाई वेवास्ता गरी त्रुटिपूर्ण फैसला भएकोले जनकपुर अंचल अदालतको फैसला बदर गरी प्रहरी प्रतिवेदन दावी अनुसार सजाय गरीपाउँ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको तत्कालिन म.क्षे.अ.मा परेको पुनरावेदन पत्र ।
१७. यसमा प्रतिवादी रामचन्द्र यादव र भिखारी यादवले अभियोग बमोजिम अपराध गरेको भन्ने कुरा शंका रहित किसिमबाट पुष्टी हुन नआएको सीयाराम यादव फुलोदेवीको भनाई एक आपसमा मिलेको नदेखिएबाट शंकाजनक रहेको डाँकाहरुलाई चिन्ने व्यक्ति अरु पनि रहेको भन्ने कुरा जाहेरीमा नै नखुलेको अवस्थामा रामचन्द्र यादव र भिखारी यादवलाई चिनेको भन्ने सर्जमिनका केही व्यक्तिहरुको भनाई विश्वासनीय नहुँदा प्रतिवादी रामचन्द्र यादव र भिखारी यादवले अभियोग बमोजिमको अपराध गरेको भन्ने कुरा पुष्टी हुन नआएबाट समेत पुनरावेदन जिकिर पुग्न सक्दैन । जनकपुर अंचल अदालतको २०४६।१२।८ को इन्साफ मुनासिव ठहर्छ भन्ने समेत पुनरावेदन अदालत जनकपुरको फैसला ।
१८. प्रतिवादीहरुलाई वादी दावी अनुसार सजाय हुनुपर्नेमा प्रत्यक्ष प्रमाणको न्यायोचित मूल्याङ्कन नै नगरी आत्मनिष्ठ भरमा प्रतिवादीहरुलाई सफाईदिने ठहराएको फैसला त्रुटिपूर्ण हुँदा बदर गरी शुरु अभियोग पत्र बमोजिम सजाय हुन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरिन्छ भन्ने वादी श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन पत्र ।
१९. यसमा प्रतिवादी रामचन्द्रको सम्बन्धमा किटान जाहेरी र प्रहरीमा साविती रहेको स्थिति रामचन्द्रले भाला प्रहार गरेको भनि भिखारीले प्रहरीको कागजमा लेखाएको मर्ने सुरेशको छातिमा धारीलो हतियारबाट चोट लागेको भन्ने पोष्टमार्टम रिपोर्ट तथा प्रतिवादी भिखारीको हकमा वारदातमा सम्लग्नता रहेकोमा सावित डाँका गर्न लगाउनेमा प्रतिवादी भिखारीको सक्रियता भन्ने मिसिलबाट देखिने अवस्थाका साथै वादी दावीमा चोरीको ६ नं. को कसूर भएबाट चोरीको १४(४) नं. को सजायको दावी लिए तर्फ विवेचना नै नभएको कारण समेतबाट पुनरावेदन अदालत जनकपुरको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम विपक्षी झिकाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालतबाट २०५४।३।२ मा भएको आदेश ।
२०. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट उपस्थित विद्वान सरकारी अधिबक्ता श्री नरेन्द्र पाठकले प्रतिवादीहरुले अधिकार प्राप्त अधिकारी समक्ष बयान कागज गर्दा प्रतिवादीहरुले वारदात गर्न गएका र प्र. रामचन्द्रले लिएको भालाले मृतकलाई प्रहार गरेको भनि उल्लेख गरी दिएको र जाहेरी दर्खास्त लास प्रकृति मुचुल्का घटनास्थल लास प्रकृति मुचुल्काबाट सो कुरालाई पुष्टि भै रहेको अवस्थामा अभियोगबाट सफाइ दिने गरेको फैसला कानून विपरित हुँदा बदर गरी पाउँ भन्ने र प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु थापाले प्रस्तुत पुनरावेदन यस अदालतमा लाग्नै नसक्ने पुनरावेदन हो । न्याय प्रशासन ऐन, २०४८ मा तेश्रो तह पुनरावेदन लाग्ने कानूनी व्यवस्था नै नहुँदा प्रस्तुत पुनरावेदन पत्र खारेज हुनुपर्छ भन्ने आ–आफ्नो बहस प्रस्तुत गर्नुभयो ।
२१. यसमा पुनरावेदन जिकिर तथा विद्वान अधिवक्ताहरुको वहस समेतलाई मध्यनजर राखी निर्णय तर्फ विचार गर्दा प्रतिवादी भिखारी राय अभियोग दावीबाट सफाइ पाउने र प्रतिवादी रामचन्द्र यादवले अभियोग दावी बमोजिम अपराध गरेको ठहराएको सुरु जिल्ला अदालतको मिति ०४६।३।१५ को फैसलालाई केही उल्टी गरी प्रतिवादी रामचन्द्रले अभियोगबाट सफाइ पाउने ठहरी मिति ०४६।१२।८ मा जनकपुर अञ्चल हदालतबाट भएको फैसला उपर वादी श्री ५ को सरकारको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन न्याय प्रशासन ऐन, २०४८ को दफा २६ अनुसार पुनरावेदन अदालत जनकपुरमा सरी सो अदालत बाट २०५०।६।६ मा जनकपुर अंचल अदालतको फैसला मुनासिव ठहराई फैसला भएको र सो फैसला उपर वादी श्री ५ को सरकारको यस अदालतमा पुनरावेदन परेको देखिन आयो ।
२२. वादी श्री ५ को सरकारको पुनरावेदनको आधारमा यस अदालतले. पुनरावेदकीय अधिकार प्रयोग गरी हेर्न मिल्ने नमिल्ने तर्फ नै निर्णय दिनु पर्ने देखियो । न्याय प्रशासन ऐन, २०४८ लाइ अध्ययन गरी हेर्दा सो ऐनको दफा ९(ख) मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दा र ऐ को (ग) मा सुरु अदालत वा निकायले गरेको निर्णय सो निर्णय उपर पुनरावेदन सुनी पुनरावेदन अदालतले गरेको निर्णयमा तात्वीक भिन्नता भएको मुद्दामा सर्वोच्च अदालतले प्रतिवादी भिखारी रायलाई सफाइ दिइ प्रपतिवादी रामचन्द्र यादवलाई प्रहरी प्रतिवेदन माग दावी बमोजिम अपराध गरेको ठहराइ फैसला भए उपर तत्कालिन जनकपुर अंचल अदालतमा पुनरावेदन पर्दा प्रतिवादी रामचन्द्रले समेत सफाइ पाउने ठहरी फैसला भएको पाइन्छ । सो फैसला उपर श्री ५ को सरकारको तत्कालिन मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा सो मुद्दा न्याय प्रशासन ऐन, २०४८ को दफा २६ अनुसार जनकपुर पुनरावेदन अदालतमा सरी आइ सो अदालत बाट जनकपुर अंचल अदालतको फैसला सदर भएको पाइन्छ । प्रस्तुत पुनरावेदन तेश्रो तहको देखिएको र जनकपुर अंचल अदालतले प्रतिवादीहरुलाई सफाइ दिने गरेको फैसलालाई पुनरावेदन अदालतले सदर गरेको पाइन्छ । दुइ तहको अदालतले प्रतिवादीहरुलाई सफाइ हुने गरी फैसला भएको पाइन्छ । न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दामा मात्र तेश्रो तहको भए पनि सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था रहेको पाइन्छ । तर दुई तहले प्रहरी प्रतिवेदन माग दावी बमोजिमको अभियोगबाट प्रतिवादीहरुलाई सफाइ दिए उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) र (ग) बमोजिम पुनरावेदन लाग्न सक्ने देखिएन । दे.पु.इ.नं. ५४ पुनरावेदक वादी ज्ञान बहादुर राई समेत प्रतिवादी दिल बहादुर राई भएको अंश मुद्दामा यस अदालत पूर्ण इजलास बाट मिति २०५२।१।१५ मा अंचल अदालतबाट पहिलो पुनरावेदनमा भएको फैसला उपर पुनरावेदन अदालतबाट हेरी किनारा गरी सकेको मुद्दामा यस अदालतमा पुनरावेदन नलाग्ने भनी प्रतिपादित सिद्धान्त समेत बमोजिम प्रस्तुत पुनरावेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. टोप बहादुर सिंह
इति सम्वत् २०५४ साल मार्ग ४ गते रोज शुभम्.........।