शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६२९ - बाली दिलाई मोही निस्कासन ।

भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११

निर्णय नं. ६६२९           अंक ११            ने.का.प. २०५५

संयुक्त इजलास

माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत २०५३ सालको दे.पु..नं........२७२६

फैसला मितिः २०५४।१०।२८।३

मुद्दाः बाली दिलाई मोही निस्कासन ।

पुनरावेदक/प्रतिवादीः जि.सप्तरी गा.वि.स. कल्याणपुर वार्ड नं. १ बस्ने मुनी खंग खत्वे ।

विरुद्ध

 

विपक्षी /वादी : जि. सप्तरी, गा.वि.स. मैनासहश्रवाहु वार्ड नं. ३ बस्ने रामेश्वर कलवार ।

§  खडेरी परी जग्गा आवाद हुन नसकेको अवस्थामा भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३५ बमोजिम कुनै वर्ष मोहीले प्राकृतिक प्रकोप वा प्रतिकूलताले बाली लगाउन नसकेकोमा समेत त्यसको सूचना यथासक्य जग्गावाला वा निजको तर्फबाट कुतवाली बुझ्ने व्इक्तिलाई दिएको देखिदैन । सुरु भूमि सुधार कार्यालय बाट वाली भराइ दिने, मोही निस्कासन नहुने निर्णय गर्दा मोही हक यथावत कायम रान्ख्नु पर्ने कारण खुलाएको पाइएन । खडेरी परेको भनी जग्गाधनीलाई सूचना दिएको भन्ने नदेखिएको र मौकामा नै त्यस किसिमको सूचना दिएको भन्ने प्रतिवादी पुनरावेदकले भूमिसुधार कार्यालयमा प्रतिउत्तर फिराउदा पनि जिकिर लिएको नहुँदा निजको त्यसतर्फ हाल पुनरावेदन तहमा लिएको जिकिर कानून संगत नदेखिने ।

(प्र.नं. ११)

पुनरावेदक तर्फबाट :

विपक्षी तर्फबाटः

अवलम्वित नजिरः

फैसला

      न्या.नरेन्द्रबहादुर न्यौपाने : पुनरावेदन अदालत विराटनगरको २०५२।५।२० को फैसला उपर प्रतिवादी तर्फबाट न्याय प्रशासन ऐन २०४८ को दफा ९(१) अन्तर्गत दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

      २. मेरा नाउँ दर्ता रहेको जि.सप्तरी गा.वि.स. कल्याणपुर वार्ड नं. १(ख) कि.नं. ४९१ को ०–२-७ कि.नं. ३२८ को ०-३-६ जग्गाको विपक्षी मोही भै ०४९ सालको कुत मलाई नदिएको र धरौटी समेत नराखेकोले ४-९-८ को प्रतिमन रु.२००। ले हुने विगो रु.८४७।५० दिलाई मोही निस्कासन समेत गरी पाउँ भन्ने वादीको फिराद पत्र ।

      ३. २०४९ सालको कुत खडेरी परी जग्गा आवाद हुन नसकेको कारणले कुत मिन्हा हुन पर्ने भन्नेसमेत प्रतिवादीको प्रतिउत्तर पत्र ।

      ४. मोहीलाई आफ्नो कर्तव्य प्रति सुध्रन मौका दिइ मोही हक यथावत राखी कुत वालीको विगो रु.८४७।५० वादीले प्रतिवादीबाट भराई लिन पाउन ठहर्छ भन्ने भूमि सुधार कार्यालय सप्तरीको ०५०।१२।२४ को फैसला ।

      ५. कुत नबुझाउने मोहीलाई मोही निस्कासन गरी कुत भराउनु पर्नेमा मोही निस्कासन नगर्ने गरेको       त्रुटिपूर्ण फैसला वदर गरी मोही निस्कासन गरी पाउ भन्ने पुनरावेदन पत्र ।

      ६. यसमा उचित कारण वेगर मोही निस्कासन नगर्ने सुरु निर्णय फरक पर्ने देखिदा अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ अनुसार प्रत्यर्थी झिकाई नियम अनुसार गर्नु भन्ने पुनरावेदन अदालत राजविराजको आदेश ।

      ७. २०४९ सालमा उव्जाउ हुन नसकेको र ०५० सालको वाली धरौट राखेको छु । तसर्थ दावी अनुसार मोही निस्कासन हुनु पर्ने होइन भन्नेसमेत व्यहोराको प्रत्यर्थीको लिखित प्रतिवाद ।

      ८. वाली नबुझाएको कुरा प्रतिवादीले स्वीकार गरेको र कानून अनुरुप कृत मिन्हा गरी लिन नसकेको समेत कारण बाट दैवी परेमा बाहेक कुतवाली नबुझाएने मोही भूमि सम्वन्धी ऐन बमोजिम दावीको जग्गाको मोही हक बाट समेत निस्कासन गर्नु पर्नेमा सो नगरी कानूनी सम्मत कारण विना मोहीयानी हक यथावत राख्ने गरेको सुरु भूमि सुधार कार्यालयको फैसला मिलेको नदेखिँदा मोही हक यथावत राख्ने गरेको हद सम्म उल्टी र्भै मोही समेत निस्कासन हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत राजविराजको २०५२।५।२० को फैसला ।

      ९. एक वर्षको बालीमा विवाद हुदैमा मोही निस्कासन हुनु पर्ने होइन । सर्वोच्च अदालत बाट प्रतिपादित भएको नजिरलाई समेत मध्यनजर राखी मोहीयानी हक बाट निस्कासन गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी गरी पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी तर्फबाट यस अदालतमा दायर पुनरावेदन पत्र ।

      १०. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा निर्णय तर्फ विचार गर्दा विपक्षी मोहीले २०४९ सालको कुतवाली नदिएको र धरौट समेत नराखेकोले विवादित जग्गाको कुतवाली भराइ मोही निस्कासन समेत गरी पाउँ भन्ने वादी दावी भएकोमा खडेरी परी जग्गा आवाद हुन नसकेको कारणले कुत मिन्हा दिन पर्ने भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर रहेको पाइयो ।

      ११. खडेरी परी जग्गा आवाद हुन नसकेको अवस्थामा भूमि सुधार सम्वन्धी ऐन, २०२१ को दफा ३५ बमोजिम कुनै वर्ष मोहीले प्राकृतिक प्रकोप वा प्रतिकूलताले बाली लगाउन नसकेकोमा समेत त्यसको सूचना कुतवाली बुझ्ने व्यक्तिलाई दिएको देखिदैन । सुरु भूमि सुधार कार्यालय बाट बाली भराइ दिने, मोही निस्कासन नहुने निर्णय गर्दा मोही हक यथावत कायम राख्नु पर्ने कारण खुलाएको पाइएन । खडेरी परेको भनी जग्गा धनीलाई सूचना दिएको भन्ने नदेखिएको र मौकामा नै त्यस किसिमको सूचना दिएको भन्ने प्रतिवादी पुनरावेदकले भूमि सुधार कार्यालयमा प्रतिउत्तर फिराउँदा पनि जिकिर लिएको नहुँदा निजको त्यस तर्फ हाल पुनरावेदन तहमा लिएको नहुँदा निजको त्यस तर्फ हाल पुनरावेदन तहमा लिएको जिकिर कानून संगत नदेखिदा त्यस तर्फ विचार गरी रहनु परेन अतः भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) बमोजिम दावीको जग्गाको मोही हक बाट समेत निस्कासन गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको २०५२।५।२० को इन्साफ मिलेको देखिदा सदर हुन्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम अनुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. केदारनाथ उपाध्याय

 

इति सम्वत् २०५४ साल माघ २८ गते रोज ३ शुभम्....................।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु