शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ६६४२ - चलानीपूर्जि बदर

भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२

निर्णय नं. ६६४२           ०५५, ने.का.प.       अङ्क १२

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा

माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे

सम्बत् २०५२ सालको दे.पु.नं. ... २६७२

फैसला मिति : २०५४।८।२५।४

 

मुद्दा : चलानीपूर्जि बदर ।

 

पुनरावेदक/प्रतिवादी : ताप्लेजुङ जिल्ला थिङलाबुङ गा.वि.स. वार्ड नं. १ बस्ने वर्ष ६३ को कालिबहादुर लिम्बु ।

विरुद्ध

प्रत्यर्थी/वादी : ऐ.ऐ. वार्ड नं. ६ बस्ने धनविर लिम्बु समेत ।

 

§  यसरी लेनदेन मुद्दाको अन्तिम फैसला हुनुपूर्व नै विवादका जग्गाहरु प्रत्यर्थी वादीहरुले राजिनामा भोगबन्धकी तथा लखबन्धकीमा लिएको अवस्थामा लेनदेन मुद्दा चल्दा चल्दै विवादित कित्ताका जग्गाहरु वादीले रोक्का राख्न सकेको समेत देखिदैन । अतः एवं यस्तो स्थितिमा अर्काको हकभोगमा रहि रहेको जग्गालाई वादीले विगो मुद्दामा विपक्षीहरको भोग दर्तामा छ भनि झुठ्ठा व्यहोरा उल्लेख गरी लेखिदिई सोही आधारमा मुचुल्का समेत खडा गरी गराई लिएको विवादित चलनाी पुर्जिलाई कानून अनुरुपको मान्न मिल्ने नहुँदा उक्त चलानी पुर्जि बदर हुन्छ । चलानी पुर्जि बदर गर्ने गरी पुनरावेदन अदालत इलामले मिति ०५१।१।२९ मा गरेको फैसला मिलेकै हुँदा मनासिव ठहर्ने ।

(प्र.नं. १२)

पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवप्रसाद रिसाल

प्रत्यर्थी तर्फबाट : x

अवलम्बित नजिर : x

 

फैसला

      न्या. मोहनप्रसाद शर्मा : पुनरावेदन अदालत ईलामको मिति २०५१।१।२९।५ को फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं फैसला यस प्रकार छ ।

      २. जग्गाधनी पूर्णबहादुरबाट म कर्मालामुले रु. ९५००।मा मिति २०४०।२।२१ मा राजिनामा पारित गरी लिएको ताङयूङवा वारी र पूर्णबहादुरबाट म धनवीरले रु. ९४,०००।मिति २०३९।२।२० गते राजिनामा पारित गरी लिएको जग्गा तथा म हर्कवहादुरले पूर्णवहादुरबाट रु. ९०००।मा मिति २०३९।१०।६ मा भोगबन्धकी पास गरि लिएको जग्गा रविन्द्रकुमार लिम्बुले आनो थैली रु ३०००।मा साम्याङवा शेर्पाबाट बुझी लिई मिति २०३९।१०।१४ मा लखपास गरि लिएको हाम्रो हकको समेत प्रतिवादी पूर्णवहादुर, कुमराजको जग्गा भनि देखाई सो जग्गाबाट विगो भराई पाउँ भनि उक्त जग्गा देखाई दरखास्त दिने प्रतिवादी कालीवहादुर भै जालसाजी सर्जमिनको आधारमा डाँक बढाबढ भै बन्धी र राजिनामाको लिखतहरुको वास्तै नराखी डाक सकार गरी गराई यस अदालतबाट यी प्रतिवादीले २०४१।७।२० मा गरिलिएको हाम्रो हकको चलनी पूर्जि बदरगरि पाउँ भन्ने मिति २०४२।१०।२४ को धनविर लिम्बु, साम्याङ शेर्पा, कर्मालमु शेर्पिनी समेतको संयुक्त फिरादपत्र ।

      ३. विवादित जग्गाको विगोको कारवाहीमा मैले दरखास्त दिई अदालतबाट कर्मचारी डोर खटी गई सर्जमिन भई सो सर्जमिनको आधारमा विवादित जग्गा लिलाम बढावढ हुँदा कसैले पनि डाँक बढाबढ नगरेकोले म आफैले उक्त विगो बापत लिलाम डाक सकार गरी अदालतको मिति २०४१।७।२० गतेको चलानी पूर्जी पाएको हुँ मैले कानूनको रीत पुर्‍याई चलानीपूर्जि पाएको हुँदा सो चलानी पूर्जि बदर हुनुपर्ने होइन, तसर्थः उक्त चलानी पूर्जि बमोजिमको विवादित जग्गाहरु भोगी खान मेरै सदरथामी पाउँ भन्ने प्रतिवादी कालीवहादुर लिम्बुको मिति २०४३।१।३।४ को प्रतिउत्तर पत्र ।

      ४. यिनै वादी प्रतिवादी भएको फौ.दा.नं. ४७६।१६८ को जालसाज मुद्दा जालसाज नठहरी आजै फैसला भएकोले चलानी पूर्जि बदर गरी पाउँ भन्ने वादी दावी पुग्न सक्तैन भन्ने ताप्लेजुङ जिल्ला अदालतको मिति २०४६।८।३ गतेको फैसला ।

      ५. हाम्रो सो जग्गामा हक नपुग्ने भनि गरिएको फैसला अन्यायपूर्ण भएकोले सो फैसला बदरगरी दावी बमोजिम चलन पूर्जि सदरगरि पाउँ भन्ने समेत व्यहोराको धनवीर लिम्बु, साम्यङ्वा शेर्पा, कर्मालामु शेर्पिनी समेतको पुनरावेदन ।

      ६. शुरु जिल्ला अदालतको फैसला विचारणीय हुँदा छलफलमा प्रत्यर्थीलाई अ.ब. २०२ नं. बमोजिम सूना पठाई उपस्थित भए वा अवस्था नाघेपछि पेश गर्नुपर्ने समेत व्यहोराको २०४९।४।१४ को आदेश ।

      ७. झुठ्ठा व्यहोराको मुचुल्का खडा गरी गराई लिए दिएको विवादित चलानी पूर्जिलाई कानून अनुरुपको भन्न मिलेन । विगो मुद्दामा परेको दरखास्त र मुचुल्का जालसाजी ठहरी आजै यसै इजलासबाट फैसला भएकोले वादि दावी बमोजिम कालीबहादुर लिम्बु पष र पूर्णवहादुर लिम्बु समेत विपक्षी भएको २०४१ सालको नं. २०।३ र २०।४ को विगो मुद्दाबाट प्रतिवादी कालीबहादुर लिम्बुले प्राप्त गरेको मिति २०४१।७।२०।२ को चलनपूर्जि सदर ठहराएको शुरु ताप्लेजुङ जिल्ला अदालतको फैसला नमिलेकोले उल्टी भई उक्त चलनपूर्जि बदर हुने ठहर्छ भन्ने समेत व्यहोराको २०५१।१।२९।५ को पुनरावेदन अदालत, इलामको फैसला ।

      ८. पुनरावेदन अदालतले चलानी पूर्जि बदर गरेको ठहरेको लगाउको जालसाज मुद्दामा चलानी पूर्जिलाई जालसाज भनि ठहर गर्न सकिएको छैन सो मुद्दाबाट दुरुस्त कायम रहेको चलानी पूर्जिलाई मैले दिएको दरखास्त र सरजमिन मुचुल्कालाई जालसाज हो भनि मान्न पनि मिल्दैन । विगो भराउने कारवाहिमा लहसिलदार नै मुख्य हुन । तहसिलदारलाई प्रतिवादी नवनाएकोमा पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण भएकोले सो फैसला उल्टाई शुरु जिल्ला अदालतको फैसला कायम गरी पाउँ भन्ने समेत व्यहोराको कालीबहादुर लिम्बुको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।

      ९. यस्मा पुनरावेदन अदालत इलामको फैसलामा प्रमाणमा लगाएको वादी कालीवहादुर लिम्बु प्रतिवादी पूर्णवहादुर लिम्बु समेत भएको २०४१ सालको नं. २०।३ र २०।४ को विगो मुद्दाको प्रमाण मिसिल ताप्लेजुङ जिल्ला अदालतबाट झिकाई प्राप्त भएपछि लगाउनको दे.पु.नं. २६७३, २६७०, २६६९, २६७४, २६७१ र फौ.पु.नं. ११३९, ११३७, ११४०, ११३६, ११३८ का पुनरावेदन समेत साथै राखि नियम बमोजिम पेश गर्नु भन्ने समेत २०५३।३।१९।४ को यस अदालत संयुक्त इजलासबाट भएको आदेश ।

      १०. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादी कालिबहादुर लिम्बुको तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिबक्ता श्री शिवप्रसाद रिसालले मेरो पक्षको विगोमा दरखास्त परी प्रत्यर्थीहरुको जग्गाको लिलाम बडावडको सूचना टाँस भएको मुचुल्का समेत उपर समयमा नै उजुर गरी बदर गराउन नसकेको कानूनले अधिकार प्राप्त निकाय तथा अधिकारीले गरेको काम कारवाहीलाई जालसाजीको संज्ञा दिन नसकिने हुँदा चलानी पुर्जिलाई बदर गर्ने गरी गरेको पुनरावेदन अदालत इलामको फैसला त्रुटिपूर्ण हुँदा बदर हुुनुपर्छ भनि बहस प्रस्तुत गर्नु भयो ।

      ११. विद्वान अधिबक्ताले प्रस्तुत गर्नु भएको उक्त बहस जिकिरलाई समेत दृष्टिगत गरी प्रस्तुत मुद्दाको पुनरावेदन सहितका सम्पूर्ण मिसिलहरु समेत अध्ययन गरी पूर्णबहादुरबाट रु ९५००।मा मिति २०४०।२।२१ मा म कर्मालामुले राजिनामा पारित गरि लिएको ताङयुङया वारी १ पूर्ण बहादुरबाट नै म धन वीरले रु ९०००।मा हर्कबहादुरले मिति २०३९।१०।६ मा भोकबन्धकी पारित गरि दिएको जग्गा १ तथा रविनद्रकुमारले रु ३०००।दिई स्याम्याङमा शेर्पा बाट २०३९।१०।१४ मा लेख पास गरी दिएको जग्गा समेत प्रतिवादी पूर्णबहादुर लिम्बु, कुमराज लिम्बुको जेथा भनि देखाई सो जेथाबाट विगो भराई पाउँ भनि कालीबहादुरले दरखास्त दिई सो आधारमा जालसाजी सरजिमिन खडा गरी अंक बडाबड गरी गराई राजिनामा भोग र लखबन्धकी समेतको वास्तै नगरी डाँक सकार गरी २०४१।७।२० मा उक्त जग्गाको चलानी पूर्जि समेत लिई सकेको हुँदा उक्त चलानी पुर्जि बदर गरी पाउँ भन्ने वादी र विगो भरी पाउने गरी भएको अन्तिम फैसला अनुरुप विगोमा दरखास्त गरी कानून बमोजिम डाक बडाबडमा कसैले डाँक बढाबढ नगरेकोले म आफैले सकार गरी यस अदालतबाट २०४१।७।२० गते कानूनको रीत पुर्‍याई मेरा नामको चलानी पुर्जि पाएको हुादा बदर हुने नभै सदर कायम गरी पाउँ भन्ने समेतको प्रतिउत्तर जिकिर भएको प्रस्तुत मुद्दामा बादी दावि पुग्ने नसक्ने ठहराएको शुरुको इन्साफलाई बदर गरी गरेको पुनरावेदन अदालत इलामको मिति २०५१।१।२९ को फैसला उपर पुनरावेदक प्रतिवादी कालिबहादुर लिम्बुको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, इलामबाट २०५१।१।२९।५ मा भएको फैसला मिले नमिलेको के रहेछ सो विषयमा नै निर्णय दिनु पर्ने देखिन आयो ।

      १२. यसम निर्णयतर्फ विचार गर्दा यसभन्दा अगावै यी पुनरावेदक वादी कालिवहादुर लिम्बु र प्रतिवादी पूर्णवहादुर लिम्बु समेत संग लेनदेन मुद्दा चली उक्त लेनदेन मुद्दा २०४०।३।२१ मा मात्र अन्तिम फैसला भै सोही अन्तिम फैसलाको आधारमा मिति २०४०।९।१२।३ मा यी मुद्दाका प्रत्यर्थी वादीको जग्गाहरु देखाई विगो भरी भराऊको दरखास्त परेको देखिन्छ । यसरी प्रतिवादी कालीबहादुरको विगो भरी भराउमा दरखास्त परेपछि सो लेनदेन मुद्दाको अन्तिम फैसला हुनुपूर्व नै वादी पूर्णवहादुर लिम्बुले ०४०।२।२१ मा कर्मा लामुलाई, निजै पूर्णवहादुर लिम्बुले २०३९।१०।६ मा हर्क बहादुरलाई भोगबन्धकी पास गरी दिएको जग्गा एवम रविन्द्र कुमारले २०३९।१०।१४ मा स्यामयाङलाई घरायसी लिखत पासको कागज गरी दिएको कुरा मिसिल संलग्न कागजातबाट देखिन्छ । यसरी लेनदेन मुद्दाको अन्तिम फैसला हुनुपूर्व नै विवादका जग्गाहरु प्रत्यर्थी वादीहरुले राजिनामा भोगबन्धकी तथा लखबन्धकीमा लिएको अवस्थामा लेनदेन मुद्दा चल्दा चल्दै विवादित कित्ताका जग्गाहरु वादीले रोक्का राख्न सकेको समेत देखिदैन । अतः एवं यस्तो स्थितिमा अर्काको हकभोगमा रहि रहेको जग्गालाई वादीले विगो मुद्दामा विपक्षीहरको भोग दर्तामा छ भनि झुठ्ठा व्यहोरा उल्लेख गरी लेखिदिई सोही आधारमा मुचुल्का समेत खडा गरी गराई लिएको विवादित चलनाी पुर्जिलाई कानून अनुरुपको मान्न मिल्ने नहुँदा उक्त चलानी पुर्जि बदर हुन्छ । चलानी पुर्जि बदर गर्ने गरी पुनरावेदन अदालत इलामले मिति ०५१।१।२९ मा गरेको फैसला मिलेकै हुँदा मनासिव ठहर्छ । पुनरावेदक प्रतिवादी कालि बहादुर लिम्बुको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. इन्द्रराज पाण्डै

 

इति सम्बत २०५४ साल मार्ग २५ गते रोज ४ शुभम ।

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु