शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३५२ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: जेष्ठ अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री  ओमप्रकाश मिश्र

फैसला मिति :  २०७१।८।२४।४

०६७-CR-१२११

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी : रोल्पा जिल्ला, लिवाङ्ग गा.वि.स. वडा नं. ४ घर भई कारागार कार्यालय, रोल्पामा कैदमा रहेका जोखबहादुर वि.क.

विरूद्ध

प्रत्यर्थी/वादी : सुप्रा परियारको जाहेरीले नेपाल सरकार

 

सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ को साक्षी हुन सक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिने ।

वारदातसँग सार्थक सम्बन्ध रहेकी सहअभियुक्त रिसा परियारको पोल यी प्रतिवादी विरूद्धको प्रत्यक्ष प्रमाणको रूपमा रहेको हुँदा प्रस्तुत मुद्दामा सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्ने देखिने ।

(प्रकरण नं. ५) 

विवाहित पुरूषले अन्य विवाहित महिलासँग निजको लोग्नेको अनुपस्थितिमा अवैध यौन सम्बन्ध कायम गरी आफ्नो वीर्यबाट निज महिलालाई गर्भधारण गराएकामा उक्त गर्भको सम्बन्धमा निज महिलाले सामाजिकरूपमा बहिस्कृत हुनुपर्ने र लामो समयसम्म सामाजिक लान्छनाको कारण आफ्नो इज्जत र प्रतिष्ठामा लागेको दाग बोकी हिँडनुपर्ने हुन्छ । यसको कारण महिलाले एकपटक नभई पटकपटक आफूलाई समाजको अगाडि परीक्षण गर्नुपर्ने हुँदा सोही कारण निजको मानसिक अवस्थामा समेत विचलन आउन सक्दछ । लामो समयको सामाजिक तिरस्कार तथा लोक लाजबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले गरेको हत्यामा ऐन अनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी सजायमा कमी गर्न अ.बं. १८८ नं को प्रयोग विचारणीय हुन सक्ने  । 

(प्रकरण नं. ७)

पुरूषप्रधान हाम्रो समाजमा विद्यमान सामाजिक संरचना र मानिआएको परम्परागत मान्यताका कारण पनि पुरूषलाई सामाजिक लोकलाजको अवस्थाबाट गुज्रनुपर्ने अवस्था नआउने हुँदा सामाजिक लोकलाजको अवस्थाबाट खासगरी पुरूष नभई महिला नै गुज्रनुपर्ने हुन्छ, यस्तो अवस्थामा सोही बहानामा जातक शिशुको हत्या गर्ने पुरूषलाई सजायमा कमी वा छुट दिनु न्यायिक स्वविवेकको सही प्रयोग मान्न नसकिने ।

सामाजिकरूपमा लान्छना सही नौ महिनासम्म अवैध गर्भलाई आफ्नो पेटमा राखी जीवित बच्चा जन्माउने आमाको विरोधका बावजुद घरबार बिग्रने बहानामा बच्चा मार्ने कार्यमा संलग्न यी प्रतिवादीलाई ऐन अनुसार तोकिएको सजायमा कमी वा छुट दिनु विद्यमान दण्ड नीतिको समेत प्रतिकूल हुने देखिने ।

(प्रकरण नं. ८)

 

निवेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता भोजराज आचार्य

प्रत्यर्थी/वादीको तर्फबाट : 

अवलम्बित नजिर : 

सम्बद्ध कानून : 

मुलुकी ऐन, अ.बं. १८८ नं. 

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १, १३(३), १७(३) नं.

सुरू तहमा फैसला गर्ने :

मा.न्या. श्री राजुकुमार खतिवडा

पुनरावेदन तहमा फैसला गर्ने :

मा.मु.न्या. श्री विश्वनाथ जोशी

मा.न्या.श्री सलाहुद्दीन अख्तर सिद्धिकी

 

फैसला

न्या. ओमप्रकाश मिश्र : पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६७।१०।२५ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुरावेदनको रोहमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‍‍क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ : 

 

जाहेरी दरखास्तः 

मेरो छिमेकी रिसा परियारले मिति २०६५।१०।१ गते बच्चा जन्माएको जस्तो किसिमको निजको शारीरिक अवस्था देखिएको र निज बिरामी छु भनी बहाना बनाएकाले शङ्का मानी मसमेत गाउँका महिलाले  तिम्रो पति घरमा छैनन् तिमीले को कसको गर्भ बोकी बच्चा जन्माएकी छौ भनी निजलाई सोधपुछ गर्दा मेरो माहिलो भिनाजु जोखबहादुर वि.क. सँग अवैधरूपमा शारीरिक यौन सम्पर्क हुन गई निजको वीर्यबाट मेरो पेटमा गर्भ रहेको र मिति २०६५।१०।१ गते बिहान ६:०० बजे बच्चा जन्माउने व्यथा लागी बाख्रा गोठमा स्त्री जातको शिशुको जन्म दिएको थिएँ । शिशुको जन्म भएपश्चात्‌ छोरी सुनमायालाई भिनाजु जोखबहादुर वि.क.लाई बोलाउन पठाई निज आएपछि दुवैजना मिली बच्चा मार्ने मनसाय लिई सालनालसहितको बच्चालाई कपडाले लपेटी बाख्रा गोठको पेटीमा राखेका हौं भनी बताएको हुँदा वारदातमा संलग्न व्यक्तिहरूलाई कानूनबमोजिम कारवाही 

गरिपाउँ भन्नेसमेत व्यहोराको सुप्रा परियारको तर्फबाट जिल्ला प्रहरी कार्यालय, रोल्पामा परेको जाहेरी दरखास्त । 

 

अनुसन्धानसँग सम्बन्धित कागजातहरुः 

जिल्ला रोल्पा, लिवाङ्ग गाउँ विकास समिति वडा नं. ४ स्थित घटनास्थलमा २ फिट अग्लो दिवालको माथि दक्षिण टाउको, उत्तर खुट्टा गरी खैरो पछ्यौरा र पुरानो कपडाहरूले बेरी छोपी राखेको अवस्थामा स्त्री जातक नवजात शिशुको लास रहेको भन्ने घटनास्थल प्रकृति मुचुल्का ।

मिति २०६४ साल फागुन महिनामा मेरो माहिलो भिनाजु जोखबहादुर वि.क. सँग आफ्नै घरमा १ पटक शारीरिक सम्पर्क भएको र पुनः मिति २०६५ साल वैशाख महिनामा अर्को पटक यौन सम्पर्क भई निजको वीर्यबाट मेरो पेटमा गर्भ रहन गएको हुँदा सो कुरा पटकपटक निज भिनाजुलाई बताएको थिएँ । भिनाजुले जे पर्छ म तिमीलाई बेहोर्छु भनी बताएको हुँदा गर्भपतन नगराई मिति २०६५।१०।१ गते बिहान ६ बजेको समयमा जीवित बच्चा जन्माई सकेपछि मेरो जेठी छोरी सुनमाया परियारलाई जोखबहादुर वि.क.लाई बोलाई ल्याउ भनी पठाएकी थिएँ । खबर पाएपछि आएका निज जोखबहादुर वि.क.ले मैले जीवित जन्माएको स्त्री जातक नवजात शिशुको घाँटी च्यापी मारी दिएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी रिसा परियारले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज ।

मिति २०६४ साल फागुनको अन्तिमतिर साँझमा निज रिसा परियारले रक्सी ल्याई मलाई दिइन् र आफूले पनि खाइन् । त्यसपछि हामी दुवैजनाको सहमतिबाट मैले निजसँग यौन सम्पर्क गरेको हुँ । मिति २०६५ असारमा पुनः दोस्रो पटक निजसँग शारीरिक सम्पर्क भएको थियो । मिति २०६५ साल माघ १ गते बिहान रिसा परियारकी छोरी सुनमाया परियार मलाई बोलाउन आएकी होइनन् र म पनि उक्त स्थानमा गएको पनि होइन । निज रिसा परियारले जन्माएको बच्चालाई मैले देख्दा पनि नदेखेको हुँदा मैले मार्ने कुरै आउँदैन, उक्त व्यहोरा झुट्ठा हो भन्नेसमेत व्यहोराको जोखबहादुर वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान कागज । 

Hydrostatic Test गरी फोक्सोको टुक्रा पानीको घोलमा राख्दा सो टुक्रा पानीमा तैरियो, यसबाट जन्मेर श्वासप्रश्वास गरेपछि मात्र बच्चाको मृत्यु भएको प्रमाणित हुन्छ । बच्चाको मृत्युको कारण Asphyxia due to strangulation भनी उल्लेख भएको शव परीक्षण प्रतिवेदन ।

मिति २०६५।१०।१ गते माघे संक्रान्ति परेको कारण म मेरो घरमा थिएँ । सोही दिन रिसा परियार बिरामी भई गाउँको सुप्रा परियारसमेतका महिलाहरूले निजलाई उपचार गराउन रेउघा अस्पतालमा लगी उपचार गराउने क्रममा निज रिसा परियारले बच्चा जन्माएकी हुन् । निजलाई घरमा ल्याई को कसको गर्भ बोकी बच्चा जन्माएकी हौ भनी सोध्दा निजले भिनाजु जोखबहादुर वि.क.को गर्भ बोकी बच्चा जन्माएको र भिनाजु जोखबहादुर वि.क.ले आफूले जन्माएको बच्चाको घाँटी च्यापी मारेका हुन् भनी बताएकी 

थिइन । निज रिसाले श्रीमान्‌ घरमा नभएको अवस्थामा परपुरूषको गर्भधारण गरी मास पुर्‍याई बच्चा जन्माई मारेकी र उक्त वारदातमा निजसँग को को संलग्न छन् आफूलाइ थाहा नभएको भन्नेसमेत व्यहोराको मौकामा बुझिएका नौमाली परियार, रिसा वि.क., कमिनी घर्ति र सेतु घर्तीसमेतको एकै मिलानको छुट्टाछुट्टै घटना विवरण कागज ।

मिति २०६५।१०।१ गते बिहानको समयमा म मेरो घरमा नै बसिरहेकी थिएँ । सोही बिहान मेरी आमा रिसा परियारले जीवित बच्चालाई जन्मदिनुभएको 

थियो । मेरो आमा रिसा परियारले बच्चा जन्माई सकेपछि तँ गएर माहिलो भिनाजु जोखबहादुर वि.क.लाई बोलाएर लिएर आइज भन्नुभएकाले म बोलाउन गई लिएर आएको हुँ । माहिला बुबा जोखबहादुर वि.क. हाम्रो घरमा आएपछि आमा र माहिलो बुबाबीच खास कुरा भयो । त्यसपछि माहिलो बुबा जोखबहादुर वि.क.ले बच्चालाई कपडामा लपेटी बाख्रा गोठमा राखी निज गाउँतिर लागेका हुन् भन्नेसमेत व्यहोराको सुनमाया परियारले गरेको घटना विवरण कागज । 

 

अभियोगपत्रः 

जाहेरी व्यहोरा समर्थित हुने गरी मौकामा लेखाउने व्यक्तिहरूले गरीदिएको घटना विवरण कागज, प्रतिवादी रिसा परियारले प्रतिवादी जोखबहादुरउपर पोल गरी लेखाइदिएको बयान कागज, प्रतिवादी जोखबहादुरले बच्चा मारेको तथ्यमा इन्कार रहे पनि रिसासँग यौन सम्पर्क गरेको कुरा स्वीकार गरी बयान गरेको,  वारदातको दिन बिहान ७ बजेतिर आफ्नो पति घरबाहिर गएको भनी प्रतिवादी जोखबहादुरको 

श्रीमतीले लेखाइदिएको कागज, प्रतिवादी रिसा परियारको छोरी सुनमाया परियारले जोखबहादुरलाई बोलाउन गई घरमा ल्याएको भनी गरिदिएको कागजसमेतका मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादी रिसा परियार र प्रतिवादी जोखबहादुर वि.क.को संलग्नतामा नवजात शिशुलाई कर्तव्य गरी मारेको तथ्य खुल्न आई प्रतिवादीहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत १३(३) नं. को कसुर वारदात गरेको तथ्य पुष्टि हुन आएकाले प्रतिवादी रिसा परियार र जोखबहादुर वि.क.लाई ऐ. महलको दफा १३(३) नं. अनुसार हदैसम्मको सजायको माग दावी लिई जिल्ला सरकारी वकिल कार्यालय, रोल्पाको तर्फबाट रोल्पा जिल्ला अदालतसमक्ष दायर हुन आएको अभियोगपत्र ।

 

प्रतिवादीहरूको अदालतमा भएको बयानः 

प्रतिवादी जोखबहादुर वि.क.ले अधिकारप्राप्त अधिकारीसमक्ष झुट्ठो बयान गरेका हुन् । मैले बच्चा जन्माएपछि छोरीलाई बोलाउन पठाउँदा उनी मेरो घरमा आई मैले जीवित जन्माएको बच्चालाई नमार भन्दाभन्दै घाँटी च्यापेर मारी दिएका हुन् । बढी कुरा गरे तिमीहरूलाई पनि मारी दिन्छु भनी धम्की दिएकाले हामी डरायौँ भनी रिसा परियारले सुरू रोल्पा जिल्ला अदालतसमक्ष गरेको बयान ।

मैलेसमेत जीवित जन्मेको बच्चालाई मारी फालेको भन्ने कुरा बेठिक हो । रिसा परियारको छोरी सुनमाया परियार मलाई बोलाउन आएकी पनि होइनन् र म उक्त स्थानमा जाँदा पनि गइन । निज रिसा परियारले जन्माएको बच्चालाई मैले देखेको पनि नहुँदा मैले मार्ने कुरै आउँदैन । प्रतिवादीमध्येकी रिसा परियारले अधिकारप्राप्त अधिकारीसमक्ष तथा यस अदालतमा गरेको बयान झुट्ठा हो भन्नेसमेत व्यहोराको जोखबहादुर वि.क. ले सुरू रोल्पा जिल्ला अदालतसमक्ष गरेको बयान । 

 

विभिन्न व्यक्तिहरूको जिल्ला अदालतमा गरेको बकपत्रः 

मैले हेर्दा बच्चा मृत अवस्थामा कपडाले बेरेको थियो । बच्चालाई कसले किन मार्नु पर्‍यो, त्यो मलाई थाहा भएन, जन्म दिनेलाई नै थाहा होला । रिसा परियारले बिरामी भएको जस्तो बहाना गरेकीले स्वास्थ्य चौकीमा जँचाउन पठाएको र निजको धेरै खुन बगेकाले कसको गर्भ हो भनी सोधपुछ गर्दा जोखबहादुर वि.क.को गर्भ बोकेकी थिएँ भनेर रिसा परियारले भनेकी हो भन्ने जाहेरवाला सुप्रा परियारले गरेको बकपत्र ।

मिति २०६५।१०।१ गते माघे संक्रान्तिका दिन म रिसाको घरमा जाँदा रिसा घरमा थिइन् । छोरीलाई खिचडी दिएर म घर फर्कें, रिसा बिरामी 

भएपछि सुप्रा, नौमालीसमेतले अस्पतालमा लगेर गएका थिएँ, साँझ घरमा केरकार गर्दा भिनाजु जोखबहादुर वि.क.ले बच्चालाई मारेका हुन् भनी रिसा आफैँले भनेकी हुँदा थाहा पाएको हुँ भन्ने प्रतिवादी रिसा परियारको साक्षी सुकमती परियारले गरेको बकपत्र ।

प्रतिवादी जोखबहादुर र रिसा परियारको सम्बन्ध मलाई थाहा छैन । मिति २०६५।१०।१ गते जोखबहादुरलाई निजकै घरमा देखेको हुँ । प्रतिवादी जोखबहादुरले बच्चा मारेका होइनन् । मेरो घर र जोखबहादुरको घर आमुन्ने सामुन्नेमा छ । रिसाको दिदीको छोरी सुरूमा रिसाको घरमा बस्थिन् त्यसपछि जोखबहादुरको घरमा बसेको हुँदा त्यसै रिसइबिले पोल गरेको हुनुपर्दछ भन्नेसमेत व्यहोराको जोखबहादुर वि.क.का साक्षी भक्तबहादुर श्रेष्ठले गरेको बकपत्र । 

साली भिनाजु ठट्टा मस्करी गर्छन् भन्नेसम्म गाउँमा सुनेको हुँ । जोखबहादुर माघे संक्रान्तिका दिन बिरामी भई घरमा सुतेका थिएँ, घटनास्थलमा गई बच्चा मारी अपराध गरेको होइनन् । मेरो घर र जोखबहादुरको घर १० मिनेट टाढा पर्छ । म गाउँतिर जाँदा निजलाई घरमा नै सुतेको देखेको हुँ भन्ने जोखबहादुर वि.क. को साक्षी चन्द्री सुनारले गरेको बकपत्र । 

माघे संक्रान्तिका दिन मेरो लोग्ने घरबाट कतै निस्केका छैनन्, अरू दिन भने लोग्नेले काठको काम गर्ने हुँदा गाउँमा काम गर्न जान्थे । माघे संक्रान्तिका दिन भने मेरो लोग्नेले घर छाडेका छैनन् । मेरो लोग्ने रिसाको घरमा आउजाउ नगर्ने हुँदा रिसा परियारको बयान व्यहोरा झुट्ठा हो भन्नेसमेत व्यहोराको घटना विवरण कागज गर्ने विर्षा वि.क.को बकपत्र ।

 

सुरू जिल्ला अदालतको फैसलाः 

प्रतिवादी जोखबहादुर वारदातमा संलग्न रहेको तथ्यमा इन्कार रही बयान गरे तापनि  रिसा परियारसँग पटकपटक यौन सम्पर्क गरेको कुरा स्वीकार गरी बयान गरेका र प्रतिवादी रिसा परियारको बयानमा बच्चालाई नमारौं भन्दा तेरोमेरो घरबार बिग्रन्छ बच्चा मार्नुपर्छ भन्ने धाकधम्की दिएको भन्ने उल्लेख भएको हुँदा प्रतिवादी रिसा परियारको बयान, घटनाको प्रत्यक्षदर्शी सुनमाया परियारको भनाई, लासको अवस्था र शव परीक्षण प्रतिवेदनसमेतले घटनामा प्रत्यक्ष संलग्न रहेको देखिएका  प्रतिवादी जोखबहादुर वि.क.ले नवजात शिशुको घाँटी थिची हत्या गरेको पुष्टि भएको हुँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिमको कसुरमा ऐ महलको ऐ नम्बरबमोजिम सर्वस्व सहित जन्मकैद हुने र प्रतिवादी रिसा परियारले बच्चाको घाँटी थिची हत्या गर्दाका बखत रोक्न प्रयास नगरी हेरी बसी ज्यान मार्ने मत सल्लाहमा पसेको देखिँदा निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं.बमोजिम ३ वर्ष कैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको रोल्पा जिल्ला अदालतको मिति २०६६।१०।१३ को फैसला ।

 

प्रतिवादीहरूको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्रः 

मेराउपर किटानी जाहेरी नपरेको, मैले मौकामा तथा अदालतमा समेत इन्कारी बयान गरेको, मेरो इन्कारी बयान मेरा साक्षीको बकपत्रबाट समर्थित भएको, जाहेरवाला तथा मौकामा कागज गर्ने व्यक्तिहरूको बकपत्रबाट समेत मलाई उन्मुक्तिप्राप्त भएको, लास जाँच एवम् शारीरिक परीक्षण प्रतिवेदनको रिपोर्ट अनुसार पनि म दोषी नदेखिएको समेतका आधार प्रमाणबाट म निर्दोष हुँदाहुँदै सहअभियुक्त रिसा परियारको झुट्ठा पोल तथा प्रत्यक्षदर्शी भनिएकी सहअभियुक्तकी छोरी सुनमाया परियारको काल्पनिक आरोपबाट मलाई कसुरदार ठहर्‍याई सर्वस्वसहित जन्मकैद गर्ने गरी सुरू अदालतबाट भएको फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरी सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी जोखबहादुर वि.क.को तर्फबाट पुनरावेदन अदालत, तुलसीपुरसमक्ष परेको पुनरावेदनपत्र । 

प्रतिवादी जोखबहादुरको करणीबाट रहेको अवैध गर्भबाट मिति २०६५।१०।१ गते नवजात शिशुको जन्म भएपछि भिनाजु जोखबहादुर मेरो घरमा आई मेरो तथा आफ्नो घर बिग्रने बहानामा अप्रत्याशितरूपमा मलाई शिशुको बचाउको लागि रोक्ने छेक्ने र बचाउको प्रयास गर्नेसमेत समय नै नदिई तत्कालै नवजात शिशुको घाँटी थिची हत्या गरेको अवस्थामा बच्चाको हत्या हुँदा रोक्ने प्रयास नगरेको भनी मनोमानी र गलत अर्थ लगाइ मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नम्बरको कसुरमा ३ वर्ष कैद हुने ठहराई सुरू अदालतबाट भएको फैसला त्रटिपूर्ण हुँदा बदर गरी आरोपित कसुरबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रिसा परियारको तर्फबाट पुनरावेदन अदालत, तुलसीपुरसमक्ष परेको पुनरावेदनपत्र ।

 

पुनरावेदन अदालतको आदेशः 

यसमा प्रतिवादी जोखबहादुर वि.क.ले कसुर गरेकामा इन्कार रही बयान गरेका र बच्चा जन्माउने प्रतिवादी रिसा परियारले पनि बच्चा मार्नमा आफ्नो संलग्नता नभएको भनी बयान गरेको देखिएको अवस्थामा रोल्पा जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. र पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि पुनरावेदन सरकारी वकिल कार्यालय, तुलसीपुरलाई जानकारी दिई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, तुलसीपुरको विपक्षी झिकाउने आदेश ।

 

पुनरावेदन अदालतको फैसला 

प्रतिवादी जोखबहादुर वि.क. आफू कसुरमा इन्कार रहे तापनि रिसा परियारसँग निजको लोग्नेको अनुपस्थितिमा अवैध यौन सम्पर्क गरेको कुरामा साबित भएका र सोही अवैध यौन सम्पर्कका कारण रिसा परियारको कोखबाट नवजात शिशुको जन्म भएको कुरामा विवाद देखिएन । प्रतिवादी रिसा परियारले अधिकारप्राप्त अधिकारी र अदालतमा समेत बयान गर्दा नवजात शिशुलाई प्रतिवादी जोखबहादुर वि.क.ले नै घाँटी थिची मारी दिएका हुन् भनी किटानी बयान गरी दिएको देखिन्छ । साथै वारदातस्थलमा नै मौजुद रहेकी सुनमाया परियारले बयान गर्दा माहिला बाबु जोखबहादुरले नवजात शिशुलाई कपडामा लपेटी बाख्राको गोठमा लगी राखी दिएका हुन् भनी किटानी बकपत्र गरी दिएको देखिन्छ । प्रतिवादी जोखबहादुरको घर र वारदात स्थल १५/२० मिनेटमा नै पुग्न सकिने दूरीमा रहेको हुँदा निज अन्यत्र थिएँ भन्ने भनाइ युक्तिसङ्गत देखिएन ।अतः सुरू जिल्ला अदालतले प्रतिवादी जोखबहादुरलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम कसुरदार ठहर्‍याई गरेको फैसला मनासिब देखिँदा सदर हुने र प्रतिवादी रिसा परियारको हकमा आफू कसुरमा इन्कार रहे भए तापनि अवैध सन्तान जन्माई सकेपछि आफूसँग अवैध सम्बन्ध राख्‍ने भिनाजु जोखबहादुर वि.क.लाई आफ्नो घरमा बोलाई आपसमा कुराकानी गरी नवजात शिशुको हत्या भएको देखिएको हुँदा अपराधमा निजको संलग्नता थिएँन भनी अनुमान गर्न सकिने अवस्था नहुँदा निज रिसा परियारलाई ज्यानसम्बन्धीको महलको १७(३) नम्बरबमोजिम सजाय गर्ने सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ । शिशुलाई मार्नुपर्ने मुख्य कारण सामाजिक लोकलाज तथा दुवैतर्फको घर परिवार बिग्रनबाट बच्न बचाउनका लागि देखिएको हुँदा निज प्रतिवादी जोखबहादुरलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सजाय गर्दा चर्को पर्न जाने भई वारदातको अवस्था र परिस्थितिलाई मध्यनजर गरी निजलाई मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम कैद वर्ष १०(दश) सजाय हुन मनासिब हुने भनी रायसमेत व्यक्त भई भएको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६७।१०।२५ को फैसला ।

 

प्रतिवादी जोखबहादुर वि क को पुनरावेदनपत्र 

घटनास्थल तथा लासजाँच मुचुल्कामा उल्लेख भएको ५ से.मी को सट्टा ५० से.मी को डाम भनी जिल्ला अदालतको फैसलामा उल्लेख गरिएको छ । मैले प्रतिवादी रिसालाई दुईपटक मात्र करणी गरेको र  घटना घटेको दिन निज रिसाको छोरी मलाई बोलाउन नआएको र म उक्त स्थानमा नगएको हुँदा मैले शिशु हत्या गर्ने कुरा नै हुँदैन । प्रत्यक्षदर्शी भनिएकी सुनमाया परियारको अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयान एकथरी र अदालतसमक्ष भएको बयान अर्कोथरी भई विरोधाभाषपूर्ण छ, निज रिसाकी छोरी भएको हुँदा आफ्नी आमालाई बचाउन उनले आमाले भनेबमोजिम लेखाइदिन सक्ने अवस्था छ । घटना विवरण कागज गर्ने कमेनी घर्ती र नौमली परियारले बच्चा यसले मारेको भनी एकिन भन्न सकेका छैनन् । जाहेरवाला सुप्रा परियारले मप्रति शङ्कासमेत नगरी अदालतमा बयान गरेकी छन् । लास प्रकृति मुचुल्कामा घाँटीमा साल बेरिएको डाम रहेको भन्ने उल्लेख भएको र शव परीक्षण प्रतिवेदनमा Asphyxia due to strangulation भन्ने रहेको अवस्थामा प्रत्यक्षदर्शी भनिएकी सुनमाया परियारको विरोधाभाषपूर्ण भनाइ र बकपत्र म विरूद्धको प्रत्यक्ष प्रमाणको रूपमा रहन नसक्ने हुँदा शङ्का र अनुमानको भरमा ज्यान जस्तो गम्भीर प्रकृतिको फौजदारी अभियोगमा सजाय गर्ने गरी गरिएको सुरू रोल्पा जिल्ला अदालतको फैसला सदर गर्ने पुनरावेदन अदालत, तुलसीपुरको फैसला उल्टी गरी अभियोग दावीबाट सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी जोखबहादुरको तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्र  ।  

 

यस अदालतको ठहर 

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसीसूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री भोजराज आचार्यले सहअभियुक्तको पोललाई मात्र आधार बनाई कसुर गरेको निष्कर्षमा पुग्न मिल्दैन । भर्खर जन्मिएको बच्चाको सालनाल घाँटीमा बेरिई मृत्यु हुनसक्ने अवस्थामा घटनास्थल तथा लास जाँच मुचुल्कामा नभएको व्यहोरालाई आधार मानी सुरू तथा पुनरावेदन तहबाट निर्णय भएको छ । नवजात शिशु जन्मिएको समयमा पुनरावेदक प्रतिवादी रिसा परियारको घरमा गएका छैनन्, प्रत्यक्षदर्शी भनिएकी सुनमाया परियारको विरोधाभाषपूर्ण भनाइलाई प्रमाणमा लिन मिल्दैन । मौकामा बुझिएका मानिसले समेत एकिनसाथ यी पुनरावेदक प्रतिवादीले नवजात शिशु मारेको भनी उल्लेख गर्न नसकेका र लास प्रकृति मुचुल्कामा घाँटीमा साल बेरिई डाम रहेको भन्ने उल्लेख भएको अवस्थामा सुरू फैसला सदर गर्ने पुनरावेदन अदालत, तुलसीपुरको फैसला फरक पर्न सक्ने अवस्था रहेको हुँदा विपक्षी झिकाउने आदेश हुनुपर्दछ भनी बहस प्रस्तुत गर्नुभयो । 

यसमा रिसा परियारले आफ्नो भिनाजु जोखबहादुर वि.क.सँग अवैध शारीरिक सम्बन्ध कायम गरी मिति २०६५।१०।१ मा स्त्री जातको शिशुलाई जन्मदिई दुवैको सल्लाहमा शिशु मार्ने मनसाय लिई सालनालसहित कपडाले लपेटी राखेको हुँदा कारवाही गरिपाउँ भनी सुप्रा परियारको जाहेरी दरखास्त परेपश्चात्‌ प्रस्तुत मुद्दामा अनुसन्धान प्रारम्भ भै पेस भएको अभियोग माग दावी अनुसार सुरू जिल्ला अदालतले ज्यानसम्बन्धीको महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद गरेकामा पुनरावेदन अदालत, तुलसीपुरबाट समेत उक्त फैसला सदर भएपश्चात्‌ यस अदालतमा यी प्रतिवादीको उल्लिखित फैसला उल्टी हुनुपर्ने जिकिरसहित पुनरावेदन परेको प्रस्तुत मुद्दामा विद्वान्‌ कानून व्यवसायीको बहस सुनी पुनरावेदनपत्र सहितको मिसिल संलग्न कागजातको अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालतको फैसला मिले नमिलेको सम्बन्धमा देहायका प्रश्नहरूको निरूपण गरी निर्णय दिनुपर्ने देखिन आयो । 

१. बच्चाको मृत्यु स्वाभाविक वा कर्तव्य कसरी भएको हो ? पुनरावेदक प्रतिवादीको वारदातमा संलग्नता छ छैन ?

२. प्रतिवादी विरूद्धको अभियोग स्वतन्त्र प्रमाणहरूबाट समर्थित भएको छ,छैन ? सह अभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्छ, मिल्दैन ?

३. सुरू फैसला सदर गर्ने गरी पुनरावेदन अदालत, तुलसीपुरबाट भएको फैसला मिलेको छ, छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?

४. यी प्रतिवादीलाई अ.बं. १८८ नं. अनुसार सजाय कम गर्ने गरी पेस भएको राय सदर हुने हो होइन ?

 

२. यसमा पहिलो प्रश्नतर्फ विचार गर्दा घटनास्थल एवम् लासजाच मुचुल्कामा जातक शिशुको मुख खुला रही जिब्रो बाहिर देखिएको, घाँटीमा ५ सेन्टिमिटरको नीलडाम देखिएको, जिल्ला अस्पतालको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण Asphyxia due to strangulation तथा जन्मेर स्वासप्रस्वास भएपछि मात्र जातक शिशुको मृत्यु भएको   भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । सुरू अदालतसमक्ष बयान गर्दा सहअभियुक्त रिसा परियारले अनुसन्धान अधिकृतसमक्ष गरेको बयानमा एकरूपता हुने गरी जीवित जन्मिएको शिशुलाई आफ्नो साथबाट खोसी भिनाजु जोखबहादुरले मारिदिएको भनी उल्लेख गरेकी र घटनाको प्रत्यक्षदर्शी सुनमाया परियारले मौकाको कागज तथा सुरू अदालतसमक्ष गरेको बयानमा मिति २०६५।१०।१ गते आमा रिसा परियारले घरमै बच्चा जन्माउनु भएको हो, म आमाले भने अनुसार माहिलो बुबालाई बोलाउन गएकामा माहिलो बुबा जोखबहादुर घरमा आई बच्चाको घाँटी चेपी मारेर कपडामा लपेटी बाख्रा गोठमा लगेर राख्‍नुभएको हो भन्ने व्यहोरा लेखाई दिएको देखिँदा लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, प्रत्यक्षदर्शी तथा सहअभियुक्तको भनाइबाट समेत जातक बच्चाको मृत्यु स्वाभाविक नभइ कर्तव्यबाट भएको देखिन 

आयो ।   

३. प्रस्तुत मुद्दाको सहअभियुक्त रिसा परियारले नातामा भिनाजु पर्ने प्रतिवादी जोखबहादुर वि.क.सँग यौन सम्पर्क भएको कारण रहन गएको गर्भबाट मिति २०६५।१०।१ गते बच्चा जन्माएको र बच्चा जन्मी सकेपश्चात्‌ आफ्नी जेठी छोरी सुनमायालाई जोखबहादुरलाई लिन पठाएको र केही समयपछि जोखबहादुर आफू भएको ठाउँमा आई जीवित जन्मिएकी शिशुको घाँटी च्यापी मारिदिएको भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको र सोही व्यहोरा समर्थित हुने गरी अदालतसमक्ष बयान गरेको पाइन्छ । घटनाको प्रत्यक्षदर्शीको रूपमा घटना विवरण कागज गर्ने सुनमाया परियारले आमा रिसाले भनेअनुसार आफू माहिलो बुबा जोखबहादुर वि.क.लाई बोलाउन गएको र खबर पाएपछि निज बुबा आफ्नो घरमा आएको भनी व्यहोरा लेखाई दिएको देखिन्छ । यी प्रतिवादीले जातक बच्चा जन्माउने रिसा परियारसँग यौन सम्पर्क गरेको तथ्य स्वीकार गरी वारदातस्थलमा आफू नगएको र घटनामा पनि संलग्न नभएको भनी बच्चा मारेको कसुरमा अधिकारप्राप्त अधिकारी तथा सुरू अदालतसमक्ष इन्कारी बयान गरे तापनि प्रत्यक्षदर्शी र सहअभियुक्तको बयान तथा बकपत्रबाट यी पुनरावेदक वारदातस्थलमा उपस्थित रही नवाजात शिशुको कर्तव्य गर्ने कार्यमा संलग्न रहेको देखिन 

आयो । 

४. अब दोस्रो प्रश्नतर्फ विचार गर्दा जाहेरवाला सुप्रा परियारको जाहेरी परेपछि प्रतिवादीद्वय जोखबहादुर वि.क. र रिसा परियारउपर अनुसन्धान हुँदा अनुसन्धानको क्रममा घटना विवरण कागज गर्ने सुनमाया परियारले अदालतसमक्ष बकपत्र गर्दा स.ज. ७ मा माहिलो बुबाले बच्चाको घाँटी चेपी मारेर कपडाले लपेटी बाख्राको गोठमा लगेर राखेका हुन् भनी लेखाई दिएको देखिन्छ । साथै जीवित बच्चा जन्म दिने सहअभियुक्त रिसा परियारले यी प्रतिवादीले आफ्नो गर्भको सालनाल झर्नासाथ बच्चा लिई मारिदिएको हो भनी यी प्रतिवादीउपर किटानी व्यहोरा लेखाई दिएको देखिन्छ । प्रत्यक्षदर्शी र सहअभियुक्तले प्रतिवादी जोखबहादुरले घाँटी थिची हत्या गरेको भनी लेखाइदिएको र शिशुको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारण  Asphyxia due to strangulation  भन्ने उलेख भएको देखिँदा प्रस्तुत वारदातमा यी पुनरावेदक प्रतिवादीको संलग्नता रहे भएको देखिएको र मिसिल संलग्न घटनास्थल प्रकृति मुचुल्का, घटना विवरण कागज, शव परीक्षण प्रतिवेदन,  सहअभियुक्त तथा प्रत्यक्षदर्शीको अदालतसमक्ष भएको बयान तथा बकपत्रसमेतका स्वतन्त्र सबुद प्रमाणहरूबाट यी पुनरावेदक प्रतिवादी विरूद्धको अभियोग समर्थित भएको देखियो । 

५. सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ को साक्षी हुन सक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखियो । वारदातका समयमा वारदातस्थलमा रहेकी सहअभियुक्त रिसा परियारले आफूसमेतको उपस्थितिमा यी प्रतिवादीले यसरी बच्चाको हत्या गरेका हुन् भनी आफ्नो र पुनरावेदकबीचको यौन सम्बन्ध, गर्भधारण र नवजात शिशुको हत्यासमेतको सम्पूर्ण  यथार्थ व्यहोरा उल्लेख गरी अनुसन्धान अधिकारी तथा अदालतसमक्ष बयान गरेको र निजले पोल गरेअनुसारको व्यहोरा प्रमाणित हुने गरी बच्चाको शव परीक्षण प्रतिवेदनमा मृत्युको कारणसमेत उल्लेख भएको देखिँदा सहअभियुक्तको यी पुनरावेदक प्रतिवादी विरूद्धको पोल सत्यतामा आधारित रहेको देखियो । वारदातसँग सार्थक सम्बन्ध रहेकी सहअभियुक्त रिसा परियारको पोल यी प्रतिवादी विरूद्धको प्रत्यक्ष प्रमाणको रूपमा रहेको हुँदा प्रस्तुत मुद्दामा सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्ने देखियो । 

६. तेस्रो प्रश्नतर्फ विचार गर्दा प्रतिवादी रिसा परियारको बयान, घटनाको प्रत्यक्षदर्शी सुनमाया परियारको सिलसिलेवार भनाइ, घटनास्थल तथा लास जाँच मुचुल्का, शव परीक्षण प्रतिवेदनलगायतका आधार र कारणबाट यी प्रतिवादी जोखबहादुर वि.क.ले नवजात शिशुको घाँटी थिची हत्या गरेको पुष्टि भएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. को कसुरमा ऐ. नम्बरबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने सुरू फैसला सदर गरेको पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६७।१०।२५ को फैसला मिलेकै देखिन आयो । 

७. अब चौथो प्रश्न यी प्रतिवादीलाई सजायमा कमी गर्ने गरी व्यक्त भएको राय सदर हुन सक्ने वा नसक्नेतर्फ विचार गर्दा पुनरावेदन अदालत, तुलसीपुरबाट सुरू फैसला सदर गर्दै सामाजिक लोकलाजको कारण वारदात हुन गएको हुँदा मुलुकी ऐन, अ.बं. १८८ नं. अनुसार सजायमा कमी गर्ने गरी राय पेस भएको पाइन्छ । यसमा विवाहित पुरूषले अन्य विवाहित महिलासँग निजको लोग्नेको अनुपस्थितिमा अवैध यौन सम्बन्ध कायम गरी आफ्नो वीर्यबाट निज महिलालाई गर्भधारण गराएकामा उक्त गर्भको सम्बन्धमा निज महिलाले सामाजिकरूपमा बहिस्कृत हुनुपर्ने र लामो समयसम्म सामाजिक लान्छनाको कारण आफ्नो इज्जत र प्रतिष्ठामा लागेको दाग बोकी हिँडनुपर्ने हुन्छ । यसको कारण महिलाले एकपटक नभई पटकपटक आफूलाई समाजको अगाडि परीक्षण गर्नुपर्ने हुँदा सोही कारण निजको मानसिक अवस्थामा समेत विचलन आउन सक्दछ । लामो समयको सामाजिक तिरस्कार तथा लोक लाजबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले गरेको हत्यामा ऐनअनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी सजायमा कमी गर्न अ बं १८८ नं को प्रयोग विचारणीय हुनसक्दछ । 

८. पुरूषप्रधान हाम्रो समाजमा विद्यमान सामाजिक संरचना र मानिआएको परम्परागत मान्यताका कारण पनि पुरूषलाई सामाजिक लोकलाजको अवस्थाबाट गुज्रनुपर्ने अवस्था नआउने हुँदा सामाजिक लोकलाजको अवस्थाबाट खासगरी पुरूष नभई महिला नै गुज्रनुपर्ने हुन्छ, यस्तो अवस्थामा सोही बहानामा जातक शिशुको हत्या गर्ने पुरूषलाई सजायमा कमी वा छुट दिनु न्यायिक स्वविवेकको सही प्रयोग मान्न सकिँदैन । प्रतिवादी जोखबहादुरले अवैध यौन सम्बन्ध राख्ने बेलामा परेको आफूले व्यहोर्ने भनी महिलालाई दिएको वाचा निजकै वीर्यबाट जीवित जन्मिएको शिशुको कारण पूरा गर्नुपर्ने भयो भनी आफ्नो पूर्व वचनबाट पछि हट्ने मनसायले नवजात जातक शिशुलाई जन्मनेबित्तिकै निजको बाँच्न पाउने अधिकारको समेत हनन्‌ हुने गरी गरिएको हत्यालाई क्षमाशील कार्य मान्न सकिँदैन । सामाजिकरूपमा लान्छना सही नौ महिनासम्म अवैध गर्भलाई आफ्नो पेटमा राखी जीवित बच्चा जन्माउने आमाको विरोधका बाबजुद घरबार बिग्रने बहानामा बच्चा मार्ने कार्यमा संलग्न यी प्रतिवादीलाई ऐन अनुसार तोकिएको सजायमा कमी वा छुट दिनु विद्यमान दण्ड नीतिको समेत प्रतिकूल हुने देखियो । तसर्थ यी प्रतिवादीलाई अ.बं. १८८ नं अनुसार सजायमा कमी गर्ने गरी पुनरावेदन अदालत, तुलसीपुरबाट सिफारिस भइआएको रायलाई मनासिब मान्न मिलेन । निज प्रतिवादी जोखबहादुर वि.क. लाई पुनरावेदन अदालत, तुलसीपुरले १० (दश) वर्ष मात्र कैद सजाय गर्न मनासिब हुने भनी व्यक्त राय न्यायको दृष्टिले उपयुक्त नदेखिँदा सदर हुन 

सक्तैन । 

९. तसर्थ माथि विभिन्न प्रकरणहरूमा विवेचित आधार र कारणहरूबाट प्रतिवादी जोखबहादुर वि.क. लाई सर्वस्वसहित जन्म कैद गर्ने गरी सुरू रोल्पा जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६७।१०।२५ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्तैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या. दीपकराज जोशी 

 

इति संवत् २०७१ साल मङ्सिर २४ गते रोज ४ शुभम् ।

इजलास अधिकृतः चन्द्रप्रकाश तिवारी

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु