निर्णय नं. ९३५५ - लेनदेन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
आदेश मिति : २०७१।१०।२७।३
०६८-CI-०४८५
मुद्दा :- लेनदेन
निवेदक/प्रतिवादी : जिल्ला सप्तरी झुट्की गा.वि.स. वडा नं. ३ बस्ने भुला मुखिया
विरूद्ध
विपक्षी/वादी : जिल्ला सप्तरी झुट्की गा.वि.स. वडा नं. ४ बस्ने विन्देश्वर यादव
कपाली तमसुकका धनी र राजिनामा लिखतका धनी (खरिदकर्ता) फरकफरक व्यक्ति रहेको अवस्थामा दुवै लिखतको अन्तरसम्बन्ध रहेको छ भनी विश्वास गर्न सकिने अवस्था नहुँदा अलगअलगरूपमा तयार भएको कपाली तमसुक र राजिनामा लिखतको आ-आफ्नै अस्तित्वलाई एकअर्कासँग जोडेर कुनै प्रमाण तथा कानूनी आधारविहीन अवस्थामा तिनीहरूको स्वतन्त्र अस्तित्वमाथि प्रभाव पर्ने गरी समाहित गर्न नमिल्ने अवस्थामा कानूनी मान्यता प्राप्त लिखतबमोजिमको दायित्वलाई प्रतिवादीले बिना आधार इन्कार गर्न सक्ने अवस्था नआउने ।
(प्रकरण नं.५)
प्रतिवादीले लिखत फट्टा गर्ने आफ्नो दायित्व पूरा नगरेको अवस्थामा प्रतिवादी जिकिरबमोजिम कानूनअनुसार भएको कपाली तमसुक लिखतलाई अन्य मौखिक कथनहरूबाट गलत सावित नमिल्ने हुँदा कानूनले स्पष्टरूपमा निर्धारण गरेको प्रक्रिया नपुर्याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने ।
(प्रकरण नं.८)
निवेदक/प्रतिवादीका तर्फबाट :
विपक्षी/वादीका तर्फबाट : विद्वान् अधिवक्ता रामनारायण देव
अवलम्बित नजिर :
नेकाप २०६८, अङ्क १, नि.नं.८५३२, पृ.१
सम्बद्ध कानून :
मुलुकी ऐन, लेनदेन व्यवहारको महलको १ र ५ नं.
सुरू अदालतमा फैसला गर्नेः-
मा.जि.न्या. श्री दुर्गादत्त भट्ट
पुनरावेदन अदालतमा फैसला गर्नेः-
मा.न्या. श्री अली अकवर मिकरानी
मा.न्या. श्री शम्भुबहादुर खड्का
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
विपक्षी प्रतिवादीले बन्दव्यापार तथा घर खर्च गर्नलाई मसँग रू.५१,०००।- कर्जा लिई २०६० साल असार मसान्तसम्ममा सयकडा १० प्रतिशतले ब्याज लगाई साँवा ब्याजसमेत चुक्ता गर्ने भाखा राखी मिति २०५९।८।१० मा गरी दिएको सक्कल कपाली तमसुक मसँग छ । उक्त भाखा नाघेपछि साँवा ब्याज बुझाई दिन ताकेता गर्दा आज भोलि भनी नदिएकाले फिराद गर्न आएको छु । अतः साँवा रू.५१,०००।-, सोको आज फिराद मितिसम्मको हुने ब्याज रू.१२,६२३।- समेत जम्मा रू.६३,६२३।- तथा बिगो भराउ मितिसम्मको ब्याज र कोर्ट फीसमेत विपक्षीबाट दिलाई भराई पाउँ भन्ने फिरादपत्र ।
वादीसँग ऋण लिएको छैन । मेरो नाउँ दर्ताको कि.नं. ३२ को ०-५-१९ मध्ये ०-२-० जग्गा विपक्षीलाई बिक्री गर्ने नियतले रू.१०,०००।- उपचारका लागि मिति २०५९।८।१० मा लिएको थिएँ । सो दिन जग्गा राजिनामा गर्न नसकेकाले निजलाई तमसुक गरी दिएको थिएँ । २०५९।८।११ मा मेरो नागरिकता घरमा छुट्यो र मेरी पत्नी हरिहर देवीको नाउँमा राजिनामा गरिदेउ भन्दा र.नं. ३५५७ बाट राजिनामा गरी दिएको हुँ । सक्कल दाखिला भएपछि अ.बं. ७८ नं. बमोजिम बयान गर्ने छु भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र ।
लिखतमा भएको सहीछाप भुला मुखियाको हो । लिखत सद्धे हो । प्रतिवादीले आफ्नो नाउँको कि.नं. ३२ को ०-५-१९ मध्ये दक्षिणतर्फबाट
०-२-० जग्गा वादीलाई बिक्री गर्ने कुराकानी भई मिति २०५९।८।१० मा रू.१०,०००।- प्रतिवादीले लिई वादीले रू.५१,०००।- को कपाली तमसुक गराई लिएको हो । मिति २०५९।८।११ मा ०-२-० जग्गा तमसुकको रकमबापत राजिनामा गरिदिएको हो । लिखत राजिनामा गरेको दिन तमसुक लिखत फिर्ता माग गर्दा अहिले साथमा छैन घर गएपछि दिउँला भनेकामा घर पुगेपछि माग गर्दा अलमलमा परेको छ लिखत भेट्टाएपछि दिउँला भनी सो लिखत नदिएको
हो । वादी दावीअनुसार मैले कुनै रकम व्यहोर्नु पर्ने छैन । दोहोरो असुल गर्नलाई यो झुट्ठा नालिस गरेको हो भन्ने प्रतिवादी वारेस अनुपलाल यादवको बयान ।
म वादीबाट प्रतिवादीले रू.५१,०००।- नै लिई कपाली तमसुक गरी दिएकाले कपाली अलग्गै हो । सो भन्दा भिन्नै रूपैयाँबाट जग्गा खरिद गरेको हो भन्ने वादी विन्देश्वर यादवको बयान ।
वादी प्रतिवादीबीच भएको कपालीको साँवा ब्याज तिरे बुझाएको नदेखिँदा वादीले प्रतिवादीबाट कपालीको साँवा रू.५१,०००।- (एकाउन्न हजार) र सोको ब्याज मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ४, ६ र ७ नं. बमोजिम दिलाई भराई पाउने ठहर्छ भन्ने सुरू सप्तरी जिल्ला अदालतको मिति २०६३।६।३१ को फैसला ।
वादीलाई जग्गा राजिनामा गर्दा राजिनामा गरेको मितिभन्दा पहिलेको तमसुक स्वतः समाप्त हुन्छ भनी सर्वोच्च अदालतबाट सिद्धान्तसमेत प्रतिपादन भएको अवस्थामा सो सिद्धान्तसमेतको प्रतिकूल वादीलाई राजिनामा गरेको बावजुद पनि कपाली जीवित रहेको तर्क गर्नु त्रुटिपूर्ण हो । मिति २०६३।६।३१ को फैसला र निर्णयाधार नेपाल कानून तथा सर्वोच्च अदालतबाट प्रतिपादन भएको नजिर सिद्धान्तको खिलाप भै गम्भीर कानूनी त्रुटिहरू विद्यमान भएकाले सप्तरी जिल्ला अदालतको फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदनपत्र ।
कपाली तमसुक गरिदिएको भोलिपल्ट नै सोबापत प्रतिवादीले आफ्नो नाम दर्ताको जग्गा प्रत्यर्थीको पत्नीलाई राजिनामा लिखत पास गरी दिएको भन्ने तथ्यलाई प्रतिवाद गर्दा र गराइएको बयानसमेतमा जिकिर लिई साक्षी सबुद पेस गरेकामा साक्षी सबुद नै नबुझी सोको मूल्याङ्कन नै नगरी भएको सुरू जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को दफा ४७ बमोजिम छलफलका लागि प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, राजविराजको आदेश ।
वादी दावीबमोजिमको बिगो भरिभराउ गराई लिन पाउने गरी सुरू सप्तरी जिल्ला अदालतबाट भए गरेको फैसला प्रमाण ऐन, २०३१ को दफा २७(२), २८ तथा ३५ एवम् मुलुकी ऐन अ.बं. १८४(क) तथा १८५ नं. अन्तर्गत न्यायोचित नै हुँदा सदर गरिपाउँ भन्ने वादीको पुनरावेदन अदालत, राजविराजमा परेको लिखित जवाफ ।
यी प्रतिवादीले तमसुक बमोजिमको ऋणबापत जग्गा रजिस्ट्रेसन पारित गरी दिइसकेको हुँदा ऋण तिर्नुपर्ने होइन भनी जिकिर लिए तापनि कपाली तमसुक जीवित रहेको र लिखत भएकामा लिखतबमोजिम नै गर्नुपर्ने हुँदा प्रस्तुत मुद्दाको सन्दर्भमा अन्य भनाइ वा लिखत प्रमाणको कुनै औचित्य देखिन
आउँदैन । वादीले प्रतिवादीबाट कपाली तमसुकमा उल्लेख भएको रकमको कानून बमोजिमको साँवा ब्याज भराई पाउने नै देखिँदा सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६३।६।३१ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, राजविराजको मिति २०६६।४।२६ को फैसला ।
ने.का.प. २०३७ निर्णय नं. १३८३ को इन्द्रराज महतोसमेत विरूद्ध एकबहादुर भण्डारी क्षेत्री भएको लेनदेन मुद्दामा सर्वोच्च अदालतबाट प्रतिपादित नजिर सिद्धान्त र वर्ष ८ अङ्क १ वैशाख १ देखि १५ पूर्णाङ्क १६३ को सर्वोच्च अदालत बुलेटिनमा प्रकाशित कृष्णबहादुर लुईटेल विरूद्ध प्रेमनारायण गौतम भएको संवत् २०५१ सालको दे.पु.नं. २८२० को लेनदेन मुद्दामा प्रतिपादित सिद्धान्तको ठाडै उल्लङ्घन गरी पुनरावेदन अदालत, राजविराजबाट भएको फैसलामा गम्भीर कानूनी त्रुटि विद्यमान रहेको छ । मुलुकी ऐन अ.बं. १८४(क) ले वादी प्रतिवादीबीच मुख नमिलेको कुरामा सम्बद्ध प्रमाण बुझी निर्णय गर्नुपर्छ भन्ने स्पष्ट कानूनी प्रावधानविपरीत म प्रतिवादी र वादीबीच लेनदेनसम्बन्धमा कुरा बाझिएको प्रमाण, राजिनामाको लिखत र कपाली तमसुक लिखतका साक्षीलाई बुझ्नुपर्नेमा सो नबुझी प्रक्रिया पुरा नगरी आत्मपरक भै ठहर गर्नुपर्ने कुरासँग सम्बद्ध कुराको प्रमाणको कुनै औचित्य नहुने तर्क गरी निर्णयाधार टेक्नु गम्भीर त्रुटि हो । तसर्थ न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) को त्रुटि हुँदा सप्तरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।४।२६ को फैसला उल्टी गरी प्रतिउत्तर जिकिरबमोजिम गरिपाउँ भन्ने प्रतिवादीको यस अदालतमा परेको दोहोर्याई पाउँको निवेदनपत्र ।
यसमा प्रतिवादीले ऋण लिएको मिति २०५९।८।१० को भोलिपल्ट नै अर्थात् मिति २०५९।८।११ मा धनीकी पत्नीको नाउँमा राजिनामा पारित गरी दिएको देखिनाले प्रतिवादीबाट साँवा र ब्याज भराई पाउने भएको फैसला यस अदालतबाट मिति २०५५।९।६ मा संवत् २०५१ सालको दे.पु.नं. २८२७ (कृष्णबहादुर लुइटेल विरूद्ध प्रेमनारायण) लेनदेन मुद्दामा स्थापित सिद्धान्तविपरीत भई गम्भीर त्रुटिपूर्ण भएको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्न निस्सा प्रदान गरिदिएको छ भन्ने यस अदालतबाट मिति २०६८।६।६ मा भएको आदेश ।
मुलुकी ऐन, स्त्री अंशधनको महलको १ र ५ नं. बमोजिम स्वास्नी मानिसले निजी खुस गर्ने रूपैयाँबाट जग्गा खरिद गर्न निजलाई कानूनले स्वतन्त्र अधिकार दिएको छ । २०५९।८।११ मा जिल्ला प्रशासन कार्यालय, सप्तरीमा विपक्षीले उक्त जग्गाको मोल रू.१५,०००।- धनी हरिहरदेवी यादवबाट प्राप्त गरी उक्त २०५९।८।११ को र.नं. ३५५७ को राजिनामा लिखत मालपोत कार्यालय, सप्तरीबाट पारित भएको हो । त्यसको अलावा उक्त राजिनामा लिखत पारित भएको दिनमा म राजविराज आएको थिइन । म उक्त लिखत तयार भएको ठाउँमा रहेको भए मबाट पनि उक्त लिखतमा साक्षीको महलमा हस्ताक्षर हुनु पर्दथ्यो । यसरी मेरो हस्ताक्षर उक्त राजिनामा लिखतमा नभएको अवस्थामा उक्त राजिनामा लिखतसँग मेरो कुनै सम्बन्ध रहेको छैन भन्ने प्रस्ट हुन्छ । विपक्षीले म धनीका नाउँमा मिति २०५९।८।१० मा गरेको कपाली तमसुक लेनदेन व्यवहारको १ नं. बमोजिम भएको छ । ऋणी विपक्षी धनी हरिहरदेवी यादवनी भएको २०५९।८।११ को राजिनामा लिखत रजिस्ट्रेसनको १ नं. बमोजिम भएको देखिन्छ । कपाली तमसुकको कानूनी मान्यता बदर गर्न कुनै पनि कानून र नजिरसमेतका आधारमा मिल्ने नहुँदा यस सम्मानित अदालतको मिति २०६८।६।६ को आदेश त्रुटिपूर्ण देखिन्छ भन्ने विपक्षी वादीको यस अदालतमा परेको लिखित प्रतिवाद ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी वादी तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री रामनारायण देवले प्रतिवादीले वादीसँग कर्जा सापटी लिई कपाली तमसुक गरी दिएको हो । कपाली तमसुक र राजिनामा लिखतको कुनै सम्बन्ध छैन । ऋण (कर्जा) लिई तमसुक गरी दिएपछि उक्त तमसुकबमोजिम रकम प्रतिवादीले वादीलाई तिर्नुपर्नेमा रकम तिरेर लिखत फट्टा गरेकोसमेत छैन । भाखाभित्र ऋण नतिर्नेले कानूनबमोजिम साँवा ब्याज तिर्नु बुझाउनुपर्ने नै हुँदा सुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै हुँदा सदर गरिपाउँ भन्ने बहस सुनी दोहोर्याई पाउँको निवेदनसहितको मिसिल अध्ययन गरियो । अब पुनरावेदन अदालत राजविराजले गरेको फैसला मिले नमिलेको र निवेदक प्रतिवादीको निवेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादीले बन्दव्यापार तथा घर खर्च गर्नलाई मसँग रू.५१,०००।- कर्जा लिई २०६० असार मसान्तसम्ममा साँवा ब्याजसमेत चुक्ता गर्ने भाखा राखी कपाली तमसुक गरी दिएका थिए । उक्त भाखा नाघेपछि कर्जा चुक्ता गर्न
ताकेता गर्दासमेत नदिएकाले साँवा भरिभराउ मितिसम्मको ब्याज र कोर्ट फीसमेत दिलाई भराई पाउँ भन्ने वादी दावी र वादीसँग ऋण लिएको छैन । मेरो
नाउँको कि.नं. ३२ को ०-५-१९ मध्ये ०-२-० जग्गा विपक्षी वादीलाई बिक्री गर्ने नियतले रू.१०,०००।- लिएकामा सो दिन राजिनामा पास गर्न नसकेकाले
तमसुक गरी दिएको हुँ । पछि वादीकी पत्नी हरिहरदेवीको नाउँमा जग्गा राजिनामा पास गरिदिएको हुँ । वादी दावीबमोजिम कर्जा लिएको होइन भन्ने प्रतिवादी जिकिर रहेको छ । वादीले प्रतिवादीबाट कपाली लिखतबमोजिमको साँवा र सोको ब्याजसमेत दिलाई भराई पाउने ठहर्याई भएको सुरू जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।४।२६ को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा परेको दोहोर्याई पाउँको निवेदनमा निस्सा प्रदान भै पेस हुन आएको देखिन्छ ।
३. प्रतिवादीले आफ्नो जिकिरमा मिति २०५९।८।१० मा वादीसँग रू.१०,०००।- मात्र लिएको तर रू.५१,०००।- को कपाली तमसुक गरी दिएको भनी जिकिर लिएको हुँदा उक्त मितिमा प्रतिवादीले वादीलाई कपाली तमसुक गरिदिएको भन्ने तथ्यमा विवाद रहेको देखिँदैन । प्रतिवादीले वादीसँग रू.१०,०००।- मात्र उपचारको लागि ऋण लिएको भने तापनि निजले गरी दिएको रू.५१,०००।- को कपाली तमसुकबाट देखिएको अवस्था हुँदा प्रतिवादी जिकिरबमोजिम रू.१०,०००।- मात्र लिएको भन्ने कुनै तथ्ययुक्त प्रमाण प्रतिवादीले गुजार्न सकेकोसमेत देखिँदैन । यस्तो अवस्थामा वादी दावीबमोजिम प्रतिवादीले रू.५१,०००।- कर्जा लिएको हो भन्ने तथ्यमा अन्यथा भन्न सक्ने देखिँदैन ।
४. प्रतिवादी भुला मुखियाले जिल्ला सप्तरी झुट्की गा.वि.स. वडा नं. ९ कि.नं. ३२ को ०-५-१९ जग्गामध्ये ०-२-० जग्गा विपक्षी वादीलाई बिक्री गर्ने उद्देश्यले लिएको हो । मैले वादीको पत्नीको नाउँमा उक्त जग्गा पारित गरिदिएको हुँदा कपाली तमसुकबमोजिमको ऋण रकम मैले तिर्नु बुझाउनुपर्ने होइन भनी लिएको जिकिरको सम्बन्धमा हेर्दा मिति २०५९।८।१० मा गरेको कपाली तमसुक लेनदेन व्यवहारको १ नं. बमोजिम भएको देखिन्छ । ऋणी प्रतिवादी र धनी हरिहरदेवी यादवनी भएको २०५९।८।११ को राजिनामा लिखत रजिस्ट्रेसनको १ नं. बमोजिम भएको देखिन्छ । उक्त दुवै लिखतमा धनीको नाउँ, थैली र लेनदेन व्यवहारको प्रयोजनसमेत फरक प्रकारको रहेको अवस्थामा मौखिकरूपमा एकै प्रयोजनको लागि रकम लेनदेन भएको भनी प्रतिवाद जिकिर लिँदैमा कपाली तमसुकलाई अन्यथा मान्न मिलेन ।
५. मिति २०५९।८।१० मा भएको कपाली तमसुक लिखतमा भुला मुखियाले चलनसारको रू.५१,०००।- रूपैयाँ एकमुष्ट गन्ती गरी साक्षीहरूको सामुन्नेमा कर्जा लिएको ठिक साँचो हो । यो रूपैयाँ लिएको बापत बन्दव्यापार घर खर्चसमेत गर्नलाई लिएको छु । साँवा र ब्याजसमेत २०६० सालको आषाढ मसान्तभित्र बुझाउने भाखा गरी लिएको छु भन्ने व्यहोरा लेखिएको देखिन्छ । यदि लेनदेन गर्दा राजिनामा लिखतको लागि भनी रकम लिएको भए उक्त कुरा लिखतमा कहीँ कतै व्यहोरा उल्लेख भएको हुनुपर्ने थियो । तर त्यस्तो व्यहोरा उल्लेख गरेकोसमेत देखिँदैन । कपाली तमसुकका धनी विन्देश्वर यादव र ऋणी भुला मुखिया भएको तर मिति २०५९।८।११ मा भएको राजिनामा लिखतमा जग्गा पारित गरी दिने भुला मुखिया र लिने श्रीमती हरिहरदेवी यादवनी भएको देखिन्छ । यसरी कपाली तमसुकका धनी र राजिनामा लिखतका धनी (खरिदकर्ता) फरकफरक व्यक्ति रहेको अवस्थामा दुवै लिखतको अन्तरसम्बन्ध रहेको छ भनी विश्वास गर्न सकिने अवस्था आउँदैन । अलगअलगरूपमा तयार भएको कपाली तमसुक र राजिनामा लिखतको आ-आफ्नै अस्तित्वलाई एकअर्कासँग जोडेर कुनै प्रमाण तथा कानूनी आधारविहीन अवस्थामा तिनीहरूको स्वतन्त्र अस्तित्वमाथि प्रभाव पर्ने गरी समाहित गर्न मिल्दैन । कपाली तमसुक अस्तित्वमा रहेको र उक्त लिखतलाई प्रतिवादीले कानूनबमोजिम फट्टा गर्न गराउन सकेको अवस्थासमेत देखिँदैन । यसरी कानूनी मान्यता प्राप्त लिखतबमोजिमको दायित्वलाई प्रतिवादीले बिना आधार इन्कार गर्न सक्ने अवस्था आउँदैन ।
६. प्रतिवादीले राजिनामा लिखतमा भएको जग्गाको मोल रू.१५,०००।- धनी हरिहरदेवी यादवबाट प्राप्त गरी जिल्ला प्रशासन कार्यालय, सप्तरीबाट गनीगनाउ भई आएपछि मात्र उक्त २०५९।८।११ को राजिनामा लिखत मालपोत कार्यालय सप्तरीबाट पारित भएको भन्ने देखिन्छ । यसरी राजिनामा लिखत पारित गर्नु अघि लिखतमा लेखिएको पूरै रकम तोकिएको सरकारी निकाय जिल्ला प्रशासन कार्यालयसमक्ष गनीगनाउसमेत गरी बुझी लिएपछि पहिले भएको कपाली तमसुकको रकमसमेत सोही जग्गा पास गर्ने प्रयोजनको लागि लिएको हो भनी प्रतिवादीले लिएको जिकिर विश्वासयोग्य देखिएन ।
७. यसै सन्दर्भमा ने.का.प. २०६८ अङ्क १ नि.नं. ८५३२ पृष्ठ १ मा “विशुद्ध प्रकारले साहु असामीबीच भएको कपाली सरहको लिखत कागजबाट सिर्जित विवादमा अदालतले लिखत कागजमा उल्लेख नभएको पक्ष विपक्षको मौखिक भनाइ र व्यवहारलाई आधार लिई विवादित विषयको सन्दर्भमा अन्यथा अर्थ गरी न्याय निरोपण गर्न नमिल्ने ।” "राजिनामा लिखत व्यवहार अलगअलग प्रकृतिबाट भएको देखिएको तमसुकी लिखतबाट रूपैयाँ लिनुदिनु गरेको व्यवहार तथा जग्गा राजिनामा पारित गरेको व्यवहारमा दुवै लिखतको एक आपसमा सम्बन्ध (Nexus) रहेको भन्ने कुरा कहीँ कतै उल्लेख भै आएको नदेखिएको अवस्था रहेको तथा आम व्यवहार र प्रचलनमा एकै व्यक्तिसँग भिन्नभिन्न व्यवहार हुन सक्ने ।" भन्ने नजिरसमेत कायम भएको देखिन्छ । प्रस्तुत सन्दर्भमा पनि कपाली तमसुक लिखत र राजिनामा लिखतबीचमा आपसीसम्बन्ध रहेको भन्ने तथ्य उल्लेख भएको कहीँ कतै देखिँदैन ।
८. मुलुकी ऐन, लेनदेन व्यवहारको महलको ५ नं. ले साहु आसामीले साँवा ब्याजसमेत लिँदा बुझाउँदा पुर्याउनु पर्ने रीतका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको देखिन्छ । सोबमोजिम नगरेको सदर हुँदैन भन्नेसमेत व्यवस्था गरेको छ । उक्त ५ नं. को देहाय १ मा “साँवा जम्मै बुझाउँदा असामीले सो सम्बन्धमा गरिदिएको लिखत फट्टा गराई वा सोही लिखतमा असुली जनाउन लगाई बुझाउनु पर्छ । कुनै कारणले सो लिखत फेला नपरेमा सोही व्यहोरा जनाई साहुबाट भरपाई गराई लिनुपर्छ" भन्ने कानूनी व्यवस्था रहेकामा प्रतिवादीले जिकिर लिएबमोजिम यदि कपालीमा लेखिएको रकम जग्गा पास गर्न लिएको भए जग्गा पास भैसकेपछि वादीसँग कपाली तमसुक लिखत लिई फट्टा गराउन सक्नु पर्दथ्यो तथा लिखत तत्काल नभएको अवस्था भएमा सोही व्यहोरा जनाई साहुबाट भरपाई गराई लिनु पर्थ्यो तर मिसिल संलग्न प्रमाणबाट सोसमेत गरेको अवस्था देखिँदैन । प्रतिवादीले लिखत फट्टा गर्ने आफ्नो दायित्व पूरा नगरेको अवस्थामा प्रतिवादी जिकिरबमोजिम कानूनअनुसार भएको कपाली तमसुक लिखतलाई अन्य मौखिक कथनहरूबाट गलत सावित गर्न मिल्ने देखिँदैन । कानूनले स्पष्टरूपमा निर्धारण गरेको प्रक्रिया नपुर्याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने भएबाटसमेत पुनरावेदन जिकिर र यस अदालतबाट मिति २०६८।६।६ मा दोहोर्याई पाउने निस्सा प्रदान गर्दा लिइएका आधारसँग सहमत हुन सकिएन ।
९. अतः कपाली तमसुकको लिखतबमोजिमको साँवा ब्याज रकम प्रतिवादीले वादीलाई तिरे बुझाएकोसमेत नदेखिँदा वादीले प्रतिवादीबाट कपाली तमसुकमा उल्लेख भएको ऋण रकमको कानूनबमोजिम साँवा ब्याज भराई पाउने नै देखिँदा सुरू सप्तरी जिल्ला अदालतबाट मिति २०६३।६।३१ मा भएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६६।४।२६ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.गोविन्दकुमार उपाध्याय
इति संवत् २०७१ साल माघ २७ गते रोज ३ शुभम् ।
इजलास अधिकृतः- गेहेन्द्रराज रेग्मी