शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३५९ - अंशचलन

भाग: ५७ साल: २०७२ महिना: असार अंक:

सर्वोच्च अदालत, पूर्ण इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय 

माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला मिति : २०७१।१०।१५।५

०६५-NF-००१३

 

मुद्दाः अंशचलन । 

 

पुनरावेदक / प्रतिवादी : जिल्ला सुनसरी औ‍रावनी गा.वि.स. वडा नं. ९ बस्ने इस्लाम मियाँसमेत

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला सुनसरी ‍औरावनी गा.वि.स. वडा नं. ९ बस्ने महम्मद कलिम मियाँसमेत

 

जीयजीय भन्नाले अंशबन्डा नभएको भए सबै अंशियार बीच अंशबन्डाको महलको २ नं. अनुरूप बराबर अंश लाग्ने 

हुन्छ । एकै सगोल परिवारमध्येमा पनि केही अंशियारले मिलापत्र गरी वा अन्य कुनै व्यहोराबाट अंश लिएको वा पाएको भए वा छोडपत्र गरेको भएमा कानूनले त्यस्तो व्यक्ति अंशियारले उसको भाग अंश उसैसँग गएको भनी मान्नुपर्ने हुँदा उसको भाग पनि सगोलको सम्पत्तिबाट पुनः छुट्टै भाग छुट्याई बाँकी सगोलको अंशियारामध्येकै कुनै एकलाई हुने गरिदिन वा लिन नमिल्ने । 

सगोलमा रहेको वा अंश बन्डा नभएको भए सगोलका अंशियारमध्ये कसैका नाउँमा रहेको भएपनि कानूनतः बराबर बन्डा लाग्दछ । अंशियारबाट छुट्टिनेलाई पुनः अंशियाराहरूबीचमा उसको गन्ती हुन सक्दैन । अलग भएका अंशियारको भाग पुनः सगोलको सम्पत्तिबाट छुट्याउने हो र कुनै एक अंशियारलाई दिने हो भने दोहोरो अंश भाग लाग्न जाने ।

(प्रकरण नं.४)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : 

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

नेकाप २०४५, अङ्क ६, नि.नं.३४८०, पृ.५४८

नेकाप २०४३, अङ्क ८, नि.नं.२८३४, पृ.८४३

सम्बद्ध कानून :

न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख)

प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क)

मुलुकी ऐन, अंशबन्डाको महलको १, २, १८, ३० नं.

सुरू फैसला गर्नेः-

मा.जि.न्या. श्री इन्द्रमान कर्माचार्य

पुनरावेदन तहमा फैसला गर्नेः- 

मा.न्या.श्री प्रेम शर्मा

मा.न्या. श्री परशुराम झा

यस अदालतमा फैसला गर्नेः-

मा.न्या. श्री राम नगिना सिंह

मा.न्या. श्री हरिजंग सिजापती

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१)(ख) बमोजिम यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला पुनरावलोकन गरी हेरिपाउँ भनी निवेदक प्रतिवादीहरूका तर्फबाट निवेदन दर्ता भएकामा यस अदालत पूर्ण इजलासको मिति २०६५।५।२० को आदेशअनुसार पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पुनरावलोकनतर्फ दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-

स्व.महम्मद किताव मियाँको पत्नी म फिरादी तेतरी र छोराहरूमा म वादी अब्दुल रहमान, विपक्षी बंशी मियाँ, महम्मद इस्लाम मियाँ, वादी म महम्मद सलीम मियाँ र महम्मद कलीम मियाँ हौँ र बंशीकै श्रीमती खैतुन र छोरा नुर महम्मद मियाँ 

हुन् । हामी जम्मा ६ अंशीयार हौं । पिताका शेषपछि हामी एकासगोलमा बसी खती उपती आर्जन गरी आउँदा घरको पढे लेखेको विपक्षी बंशी हुँदा हामीले जनवन गरी कमाई ल्याएको रूपैयाँ बंशीलाई जिम्मा दिई सो रूपैयाँले हाम्रो सल्लाहअनुसार विपक्षी बंशी र निजको श्रीमतीका नाउँमा जग्गा खरिद गरी एकासगोलबाटै भोग चलन गरी आएका हौं । परिवार धेरै भएको कारणले सगोलमा बस्न नसक्ने अवस्था भएबाट बन्डा गरौँ भनी विपक्षीहरूलाई भन्दा आलटाल गरेकाले अन्यायमा परी विपक्षीहरू उपर अंशबन्डाको १, ४, ३ र ५ नं. बमोजिम ऐनको म्यादभित्र फिराद गर्न आएका छौं । तसर्थ हाम्रा साक्षी प्रमाण बुझी बन्डा गर्नुपर्ने सम्पत्ति विपक्षी बंशी मियाँकै जिम्मा हुँदा अंशबन्डाको २०, २१, २२ र २३ नं. बमोजिम तायदाती फाँटवारी लिई अंशबन्डाको १ नं बमोजिम ६ अंश भाग लगाई सोबाट ४ भाग अंश हामीलाई दिलाई छुट्टयाई पाउँ भन्नेसमेत व्यहोराको तेतरी, अब्दुल रहमान, महम्मद कलिम मियाँ र महम्मद सलिम मियाँको मिति २०५१।१२।१३ मा दर्ता भएको फिरादपत्र ।

स्व. किताब मियाँका २ पत्नी हुन् । जेठीको नाम थाहा भएन निजको परलोक भइसकेको छ । जेठी पट्टीका छोरा वादीमध्येका अब्दुल रहमान र कान्छी पट्टीका अरू दाजुभाइ वादी प्रतिवादी हौँ । हामी वादी प्रतिवादी आमा दाजुभाइ किताव मियाँका पत्नी छोराहरू २०२५ साल देखि अलगअलग भई भिन्न भएका छौं । वादी र प्रतिवादीहरूका हकमा दाजुभाइ बंशी मियाँ र म ईस्लाम मियाँ एक आपसमा अलग भएका छौं । वादीहरूलाई अंश दिनुपर्ने 

होइन । पिताको बसोबास भारत मोतिहारी थाना केशरीया ग्राम बथनामा भएको हो । सो ठाउँमा कुनै सम्पत्ति नहुँदा जीवन गुजाराको लागी नेपाल आई जनवनि गरी बस्न थाल्दा कुनै चलअचल सम्पत्ति आर्जन गर्न सक्नु भएन । म प्रतिवादी नाबालक हुँदाकै अवस्थामा पिताको परलोक भयो । २०२५ सालमा एक आपसमा छुट्टिइ भिन्न भई ऐलानी जग्गामा छुट्टाछुट्टै घर बनाई बेग्ला बेग्लै बसोबास गर्दै आएका  छौं । सो बखत कुनै सम्पत्ति नहुँदा बन्डापत्र खडा गरी रजिस्ट्रेसन गर्ने तथा कागज लेख्ने लेखाउने कुनै प्रयोजन भएन । मसमेत भई सगोल आर्जनका जग्गा प्रतिवादी बंशीका पत्नी छोराका नाउँमा राखेको होइन र सो जग्गामा म प्रतिवादी ईस्लाम मियाँ तथा वादीसमेतको अंश हक लाग्ने होइन । प्रतिवादी बंशी मियाँले काठको मिस्त्री काम गरी आय गरी केही जग्गा आर्जन गरेका छन् । सगोल आर्जनको कुनै सम्पत्ति नहुँदा वादीहरूले अंश पाउने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी इस्लाम मियाँको मिति २०५२।०२।२८ मा दर्ता भएको प्रतिउत्तरपत्र ।

म प्रतिवादी बंशी मियाँ नाबालक हुँदाकै अवस्था पिताको परलोक भयो । पिताले कुनै चलअचल सम्पत्ति जग्गा आर्जन गर्न सक्नुभएन र पिताको तथा पुर्खाको पालाको पैतृक सम्पत्ति केही थिएन । पैतृक सम्पत्ति थियो वा छ भनी विपक्षीहरूले फिरादमा लेख्न लेखाउन नसकेको समेत तथ्यले सगोल तथा पैतृक आर्जनको कुनै सम्पत्ति हामी जिम्मा नहुँदा वादीहरूको फिराद अंश बन्डाको १८, ३० नं को प्रतिकूल भएकाले वादी लेखबमोजिम नहुने प्रस्टै छ । पिता/ससुरा किताब मियाँको परलोक भएपछि म प्रतिवादी बंशीको कुनै पैतृक आर्जनको सम्पत्ति नहुँदा २०२५ सालमा अलग भई छुट्टिई ऐलानी जग्गामा छुट्टै घर बनाई अलग बसोबास गरेको र कुनै सम्पत्ति नहुँदा बन्डा पत्र खडा गरी रजिस्ट्रेसन गर्ने तथा कागज लेख्नेसमेतको कुनै प्रयोजन नभएको हुँदा विपक्षीहरूलाई मैले अंश दिनुपर्ने होइन । म प्रतिवादी बंशी मियाँ काठको काम गर्ने मिस्त्री भएको र घर बनाउने ठेक्का ब्यावसायबाट केही बचाई मिति २०४७।०९।३० मा र.नं. ३७०२, मिति २०५०।१२।०९, र.नं. ९२४३ मिति २०४९।१०।१३ र र.नं. ५१४३ बाट प्रतिवादीमध्येका श्रीमती खैतुन नेसा र छोरा नुर महम्मदका नाउमा जग्गाहरू राजीनामा गरी किनेको छु । श्रीमती खैतुन नेशाले अम्बरलाल माझीबाट निजी तवरले बकसपत्र गरी जग्गा पाएको कुरा पुष्टि भएको छ । मेरो  साक्षी प्रमाण बुझी झुठ्ठा दाबीबाट अलग फुर्सद गराई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बंशी मियाँ, खैतुन नेशा र नुर महम्मद मियाँसमेतको मिति २०५२।०३।०५ को संयुक्त प्रतिउत्तरपत्र ।

यसमा वादीले प्रतिवादीबाट अंश पाउन फिराद दाबी गरेकामा प्रतिवादीहरूले पैतृक सम्पत्ति नभएको र २०२५ साल देखिनै छुट्टिई भिन्न भई बन्डा गर्नु नपर्ने भन्ने प्रतिउत्तर फिराएकामा मानो छुट्टी अलग बसेको प्रमाण प्रतिवादीले पेस गर्न सकेको नदेखिँदा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंश बन्डाको महलको २०, २१, २२ र २३ नं. बमोजिम वादी प्रतिवादीबाट तायदाती फाँटवारी लिई पेस गर्नु भन्ने मिति २०५३।६।९ को आदेशानुसार वादी प्रतिवादीबाट तायदाती फाँटवारी पेस भएको ।

यसमा वादीमध्येका अब्दुल रहमान मियाँले वादी दाबी छाडी छोडाई मिति २०५४।१।१७ मा सुरू अदालतमा मिलापत्र गरेको ।

वादीहरूले आफ्नो दाबी प्रमाणित गर्न साक्षी पनि गुजार्न नसकेको र पेस गरिएको मतदाता नामावलीबाट यी वादी प्रतिवादीहरूको घरबास अलगअलग देखिएको छ । मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. मा व्यवस्था गरिएअनुसार तायदातीमा देखाइएको सम्पत्ति २०४९/०५० सालमा प्रतिवादीहरूले खरिद गरी लिएको भन्ने देखिएको छ भने उक्त सम्पत्ति प्रतिवादीको आफ्नो निजी आर्जनको हो भन्ने प्रतिवादीका साक्षीहरूले प्रमाणित गरिरहेका छन् । वादीले सोको विरूद्ध कुनै प्रमाण पुर्‍याउन सकेको नदेखिँदा अंशबन्डाको महलको १८ नं. बमोजिम तायदातीमा देखाइएको सम्पत्ति प्रतिवादीको निजी आर्जनको भन्ने देखिएकाले सो सम्पत्तिबाट वादीहरूले अंश नपाउने र अन्य सम्पत्ति देखाउन ल्याएमा वादीको दाबीबमोजिम अंशबन्डा गरी पाउने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०५४।३।१६ मा सुनसरी जिल्ला अदालतबाट भएको फैसला ।

सुरूको फैसलाउपर चित्त बुझेन । वादी प्रतिवादीको नाता र पुस्तामा विवाद नभएको तथा वादी प्रतिवादीहरू भिन्न भएको प्रमाणको अभाव छ । घरधुरी अलग छ भन्दैमा अंशको हकबाट वञ्चित गर्न नपाउने हुँदा निज प्रतिवादीहरूले तायदातीमा देखाएको जग्गा निजी आर्जनको भन्ने कुरा लिखतमा उल्लेख नभएको हुँदा निजी हुन नसक्ने भएकाले सुरू सुनसरी जिल्ला अदालतले सम्पत्ति चाँहि नपाउने अंश चाँहि पाउने भन्ने किसिमको फैसला गरेको हुँदा उक्त फैसला बदर गरी वादी दाबीबमोजिम न्यायोचित इन्साफ गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०५४।०७।१३ गते पुनरावेदन अदालतमा वादीहरू तेतरी मियाँयिन,  महम्मद कलिम मियाँ र महम्मद सलिम मियाँको तर्फबाट दर्ता भएको संयुक्त पुनरावेदनपत्र ।

यसमा बन्डा गर्नुपर्ने सम्पत्ति नभएको तायदातीमा उल्लिखित सम्पत्ति प्रतिवादीहरूको निजी आर्जनको हुँदा बन्डा नलाग्ने, वादीले प्रतिवादीहरूबाट वादी दाबीबमोजिम अंश पाउने ठहर्छ भन्ने विरोधाभाष पूर्ण सुरूको फैसला प्रमाणका मूल्याङ्कन गर्दा फरक पर्ने देखिँदा छलफल निमित्त अ.वं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, ०४८ बमोजिम विपक्षी झिकाई आएमा वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने मिति २०५४।११।२७ गते पुनरावेदन अदालतबाट भएको आदेश ।

यसमा वादीमध्येका महम्मद कलिम मियाँ र प्रतिवादीहरूबीच वादी दाबी छोडी छोडाई मिलापत्र गरिपाउँ भन्ने वादी प्रतिवादीको संयुक्त निवेदनबमोजिम पुनरावेदन अदालतबाट मिति २०५५।१।३१ गते मिलापत्र भई मिसिल सामेल रहेको ।

अंश दिनुपर्ने भनी विवादको टुङ्गो सुरू जिल्ला अदालतको फैसलाबाट नै लागिसकेको देखिन आयो । मिसिल संलग्न तायदातीमा उल्लिखित जग्गा प्रतिवादीलाई प्राप्त हुँदाका लिखतहरूबाट पनि स्वआर्जनको भन्ने तथ्य पुष्टि भएको नपाइएको, मुद्दा चल्दा चल्दैको अवस्थामा आमा तेतरीको २०५४।११।१९ मा देहावसन भएको, वादीमध्येको कलिम मियाँले यसै अदालतमा आफ्नो वादी दाबी छाडी मिलापत्र गरेको, वादीमध्येको अब्दुल रहमानको पुनरावेदन नपरी चित्त बुझाई बसेको देखिए तापनि निजलाई सुरू फैसलाले अंश पाउने अंशियारा ठहराएको यस स्थितिमा कूल ५ अंशियारबाट बाँकी रहेको वादी अब्दुल रहमान र सलिम मियाँले लिखत बदरको हकमा सोही मुद्दाबाट मागअनुसार सम्पत्ति प्राप्त गर्ने नै हुँदा सोबाहेक तायदातीमा उल्लिखित सम्पत्ति ६ भागको ४ भाग अंश छुट्याई पाउन वादी दाबी भए तापनि सो सम्पत्तिलाई ५ भाग लगाई ५ भागबाट २ भाग वादीहरूको छुट्याई उक्त २ भागमध्येबाट वादीहरूले आआफ्नो एकएक भाग अंश पाउने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरबाट भएको मिति २०५५।३।२९ को फैसला ।

वादी अब्दुल रहमान मियाँले मिति २०५४ साल वैशाख महिनामा सुनसरी जिल्ला अदालतमा बंशी मियाँ र निजका श्रीमती छोराहरूको नाउँमा रहेको जग्गा सगोल तथा पैतृक सम्पत्ति नहुँदा भनी वादी दाबी छाडी मिलापत्र गरिसकेको स्थितिमा निजलाई अंशियार कायम गरेको फैसला अ.बं. १८२ नं. को त्रुटी गरिएको छ । अर्का वादी कलिम मियाँले पुनरावेदन अदालतमा वादी दाबी छोडी मिलापत्र गरेको र हामी पुनरावेदक बंशी मियाँ तथा श्रीमती छोहरूका नाउँमा रहेका जग्गाहरू सगोलको नभई विपक्षीहरूको हक नभएको अवस्थामा अंशबन्डाको १८ र ३० नं. प्रतिकूल भएको पुनरावेदन अदालतको फैसला प्रत्यक्ष त्रुटिपूर्ण  हुँदा चित्त  बुझेन । उक्त फैसला उल्टी गरी प्रतिउत्तरबमोजिम गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरू बंशी मियाँ, इस्लाम मियाँ, श्रीमती खैतुन नेसा र नुरमहम्मदको तर्फबाट यस अदालतमा मिति २०५६।०८।०७ मा परेको संयुक्त पुनरावेदनपत्र ।

यसमा वादीहरू तेतरी मियाँइनी, महम्मद कलिम मियाँ, अब्दुल रहमान मियाँ र महम्मद सलिम मियाँले प्रतिवादी इस्लाम मियाँ तथा बंशी मियाँसमेत उपर ६ अंशियार कायम गरी ६ भागको ४ भाग अंश दिलाई पाउँ भनी दाबी लिएकामा वादीमध्येको अब्दुल रहमान मियाँले दाबी छोडी सुरू सुनसरी जिल्ला अदालतमा ०५४।१।१७ मा मिलापत्र गरेको र वादीमध्येको महम्मद कलिम मियाँले दाबी छोडी पुनरावेदन अदालत विराटनगरमा ०५५।१।३१ मा मिलापत्र गरेको भन्ने सुरू र पुनरावेदन अदालतको रेकर्ड मिसिलबाट देखिन आउँछ । यसको साथै वादी मध्येकै तेतरीको मृत्यु ०५४।११।१९ मा भएको भन्ने पुनरावेदन अदालतको फैसलाबाट खुल्न आएको अवस्था देखिन्छ । यस स्थितिमा वादी मध्येको मोहमद सलिम मियाँ मात्रको हकमा इन्साफ बोल्नुपर्ने अवस्था रहेको देखियो । परन्तु पुनरावेदन अदालतले ५ भाग लगाई ५ भागबाट २ भाग वादीहरू अब्दुल रहमान र महम्मद सलिम मियाँले अंश छुट्टयाई लिन पाउने ठहर गरेको देखिन आउँछ । त्यसैले उपर्युक्तबमोजिम एकमात्र फिराद दाबी लिने व्यक्ति मोहमद सलिम मियाँको हकमा मात्र अंश छुट्टयाई पाउने ठहर्‍याउनु पर्नेमा ५ भागबाट वादी सलिम मियाँ र मिलापत्र गरी दाबी छोडी सकेको वादी अब्दुल रहमानको हकमा समेत अंश पाउने ठहर्‍याएको पुनरावेदन अदालत, विराटनगरको फैसला नमिली फरक पर्ने हुँदा छलफलका निमित्त अ.व. २०२ नं. बमोजिम विपक्षी झिकाई पेस गर्नु भन्ने यस अदालतको मिति २०६०।२।१९ को आदेश ।

बंशी मियाँले तायदाती फाँटवारीमा उल्लिखित सम्पत्ति मेरो निजी आर्जनको भएकाले बन्डा गर्नुपर्ने होइन भनी जिकिर लिएको देखिए पनि उक्त सम्पत्ति निजी आर्जनको भएको कुनै सबुद प्रमाण पेस दाखिल गरी गुजार्न सकेको देखिएन । प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क) मा एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने उल्लेख भएको पाइन्छ । सोही ऐनको दफा २९ मा अदालतको अनुमान खण्डन गर्न प्रमाण पुर्‍याउने भार शीर्षकमा अदालतले यस ऐनबमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यसको प्रमाण पुर्‍याउने भार सोही पक्षको हुनेछ भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी सोही ऐनको दफा २१ को उपदफा (२) मा भएको व्यवस्था हेर्दा प्रचलित नेपाल कानूनबमोजिम वादीलाई दिनु वा बुझाउनु पर्ने कुरा सो कानूनबमोजिम दिए बुझाएको छ भनी प्रमाणित गर्ने भार प्रतिवादीको हुनेछ भन्ने उल्लेख भएको पाइन्छ । उपर्युक्त कानूनी व्यवस्थाबमोजिम अंश भइसकेको भन्ने र निजी आर्जनको भन्नेको तथ्य स्थापित हुन सकेको नदेखिई प्रतिवादी बंशी मियाँले लिएको जिकिर कानूनसम्मत भएको मान्न मिल्ने देखिएन । पुनरावेदन अदालतले ५ भागको २ भाग अंश वादीलाई छुट्टयाएको हुँदा त्यसतर्फ विचार गर्दा अंशियारमध्येको वादी अब्दुल मियाँले सुनसरी जिल्ला अदालतमा मिति २०५४।१।१७ मा र वादी कलिम मियाँले २०५५।१।३१ मा पुनरावेदन अदालतमा वादी दाबी छोडी मिलापत्र गरेको र वादी तेतरी मियाँइनीको मृत्यु २०५४।११।१९ मा मृत्यु भइसकेको देखिन आएको हुँदा बाँकी रहेका अंशियार वादी सलिम मियाँ र प्रतिवादी बंशी मियाँको बीच २ भागको १ भाग अंश वादीले पाउने ठहर गर्नुपर्नेमा ५ भाग लगाई ५ भागबाट २ भाग वादीहरूको छुट्टयाई २ भागमध्येबाट वादीले एकएक भाग पाउने ठहराएको हदसम्म पुनरावेदन अदालत, विराटनगरको फैसला केही उल्टी हुने ठहर्छ भन्ने व्यहोराको यस अदालत संयुक्त इजलासबाट भएको मिति २०६१।१।१६ को फैसला ।

वादीले पैतृक सम्पत्ति रहेको भनी फिरादमा कुनै जिकिरसम्म लिन नसकेको,  प्रतिवादी बंशी मियाँले आफ्नो निजी ज्ञानशीपबाट आर्जन गरेको सम्पत्तिबाट २०३४ सालपछि जग्गा खरिद गरेको हुँदा अंशबन्डाको १८ नं. बमोजिम अंश हक नलाग्ने भनी ने.का.प. २०५८ पृष्ठ १७८, नि.नं. ६९९१, चित्रबहादुर खड्का विरूद्ध पुष्पकुमारी खड्का, मुद्दामा अदालतबाट प्रतिपादित नजिर विपरीत फैसला भएको छ । प्रमाण ऐन, २०३१ को दफा २६  बमोजिम वादीले तायदातीमा उल्लिखित जग्गा निजहरूबाट रकम दिई खरिद गरेको वा पैतृक सम्पत्ति भएको भनी प्रमाणित गर्न सकेका छैनन् । आमा तेतरी मियाँइनी-१ छोराहरू अब्दुल रहमान-१ महम्मद सलिम १ र महम्मद कलिम १ तथा प्रतिवादीमध्येको बंशी मियाँ-१ र इस्लाम मियाँ-१ समेत गरी ६ अंशियार रहेको भन्ने कुरा वादीले स्वीकार गरेको र त्यसमा विवाद छैन । ६ जवानमध्ये आमा तेतरी स्वर्गवास भएको, वादीमध्येको अब्दुल  रहमानले आफ्नो हकमा अंश दाबी छाडी प्रतिवादीसँग २०५४।१।१७।३ मा सुनसरी जिल्ला अदालतमा मिलापत्र गरेको र अर्का वादी महम्मद कलिमले मिति २०५५।१।३१ गतेका दिन आफ्ना हकमा वादी दाबी छाडी प्रतिवादीसँग पुनरावेदन अदालत, विराटनगरमा मिलापत्र गरेको 

छ । दाबी छाड्ने वादीले आ-आफ्ना हकमा दाबी छाड्दा निजहरूले मिलापत्र नगर्दाका अवस्थामा पाउने भाग छाडेकाले सो प्रतिवादीसँग रहने हो । अंशबन्डाको १ नं. ले  ५ भागमध्ये १ भाग मात्र बाँकी रहेका वादी सलिम मियाँले पाउने हो । यस अदालतको फैसला अंशबन्डाको १ नं. र ने.का.प. २०४५ पृष्ठ ५४८ नि.नं. ३४८० भगवती ब्राम्हणी विरूद्ध प्रदिप गौतम भएको जालसाजी मुद्दामा र ने.का.प. २०४३ पृष्ठ ८४३ नि.नं. २८३४ अष्टनारायण विरूद्ध विष्णुदेवी मानन्धर भएको अंश मुद्दामा प्रतिपादित नजिरसँग बाझिएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) को अवस्था विद्यमान भएकाले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरिपाउँ भनी  प्रतिवादीहरू इस्लाम मियाँ, खैतुन नेसा, नुर महम्मद मियाँ र बंशी मियाँले संयुक्तरूपमा मिति २०६३।०९।२७ मा यस अदालतमा निवेदन दर्ता गरेका ।

यसमा अंश मुद्दा दायर गर्दाका अवस्था स्व. किताब मियाँका पत्नी तेतरी र ५ भाइ छोरासमेत जम्मा ६ अंशियार जीवित रहेको भन्ने तथ्यमा विवाद रहेको पाइँदैन । अंश मुद्दा चल्दाचल्दैको अवस्थामा अंशियारमध्येकी तेतरीको मृत्यु भएको एवम्‌ वादीमध्येको अब्दुल रहमान मियाँले सम्पूर्ण दाबी छोडी मिति २०५४।१।१७ मा सुनसरी जिल्ला अदालतमा र वादी कलिम मियाँले मिति २०५५।१।३१ मा पुनरावेदन अदालत, विराटनगरमा मिलापत्र गरेको देखिन्छ । यस्तो स्थितिमा प्रस्तुत मुद्दामा वादीमध्येको महम्मद सलिम मियाँ एवम्‌ प्रतिवादीहरू बंशी र इस्लाम मियाँसमेतका तीन अंशियारहरू बीच अंशबन्डा हुनुपर्ने देखिन्छ । मुलुकी ऐन, अंशबन्डाको १ नं. मा अंशियारहरूबीच जीयजीयैको अंश गर्नुपर्छ भन्ने कानूनी व्यवस्था रहेकामा यस अदालतबाट मुद्दामा कायम रहेका जीवित अंशियार निवेदक प्रतिवादी इस्लाम मियाँलाई लोप गरी वादी सलिम मियाँ र प्रतिवादी बंशी मियाँ दुई अंशियार मात्र देखाई वादीले दुई भागको एक भाग अंश पाउने ठहर्‍याएको देखियो । उक्त कानूनी व्यवस्थाकै सन्दर्भलाई लिएर अंशीयारहरूबीच जीयजीयैको अंशबन्डा गर्नुपर्छ भन्ने ने.का.प. २०४३ नि.नं. २८३४ पृष्ठ ८४३ र ने.का.प. २०४५ नि.नं. ३४८० पृष्ठ ५४८ मा प्रतिपादित सिद्धान्त प्रतिकूल यस अदालत संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसलामा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) को अवस्था विद्यमान रहेको देखिँदा पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालत पूर्ण इजलासबाट मिति २०६५।५।२० मा भएको आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस भएको प्रस्तुत मुद्दा र लगाउमा रही साथै पेस भएका लिखत बदर दर्ता र जालसाजी मुद्दाहरू समेत अध्ययन गरियो ।

वादीहरू तेतरी मियाँइनी, महम्मद कलिम मियाँ, अब्दुल रहमान मियाँ र महम्मद सलिम मियाँले प्रतिवादी इस्लाम मियाँ तथा बंशी मियाँसमेत उपर छ अंशियार कायम गरी ६ भागको ४ भाग अंश दिलाई पाउँ भनी दाबी लिएकामा वादीले देखाएको अंशियार नाता सम्बन्धलाई अन्यथा नभनी पैतृक सम्पत्ति केही नहुँदा कानूनबमोजिमको बन्डापत्र नगरी २०२५ सालमा अलगअलग बसेका छौ भन्ने प्रतिउत्तर देखिन्छ । सुरू सुनसरी जिल्ला अदालतबाट तायदातीमा देखाइएको सम्पत्ति अंशबन्डाको १८ नं. अनुसार प्रतिवादीको निजी देखिएको र वादीको दाबीबमोजिम अंशबन्डा गरिपाउने भनी फैसला भएको देखिन्छ । उक्त फैसलाउपर वादीहरू तेतरी, महम्मद कलिम मियाँ र महम्मद सलिम मियाँको पुनरावेदन अदालतमा पुनरावेदन परेकामा पुनरावेदन अदालत, विराटनगरमा मुद्दा चल्दाचल्दैको अवस्थामा तेतरीको २०५४।११।१९ मा देहावसन भएको देखियो । वादीमध्यको कलिम मियाँले यसै अदालतमा आफ्नो वादी दाबी छाडी मिलापत्र गरेको, वादीमध्येको अब्दुल रहमानको पनि पुनरावेदन नपरी चित्त बुझाई बसेको देखिए तापनि निजलाई सुरू फैसलाले अंश पाउने अंशियारा ठहराएको स्थितिमा तायदातीमा उल्लिखित सम्पत्तिलाई ५ भाग लगाई ५ भागबाट २ भाग वादीहरूको छुट्याई उक्त २ भागमध्येबाट वादीहरूले आ-आफ्नो एकएक भाग अंश पाउने ठहर्छ भनी पुनरावेदन अदालतबाट फैसला भएको देखियो । पुनरावेदन अदालतको फैसलामा मुलुकी ऐन, अंशबन्डाको १८ नं. र ३० नं. को त्रुटी भयो भनी प्रतिवादीहरू बंशी मियाँ र श्रीमती खैतुन नेसाका तर्फबाट यस अदालतमा पुनरावेदन परेकामा यस अदालत संयुक्त इजलासबाट अंशियारमध्येको वादी अब्दुल मियाँले सुनसरी जिल्ला अदालतमा मिति २०५४।१।१७ मा र वादी कलिम मियाँले २०५५।१।३१ मा पुनरावेदन अदालतमा वादी दाबी छोडी मिलापत्र गरेको र वादी तेतरी मियाँइनीको मिति २०५४।११।१९ मा मृत्यु भइसकेको हुँदा बाँकी रहेका अंशियार वादी सलिम मियाँ र प्रतिवादी बंशी मियाँको बीच २ भागको १ भाग अंश वादीले पाउने ठहर गर्नुपर्नेमा ५ भाग लगाई ५ भागबाट २ भाग वादीहरूको छुट्टयाई २ भागमध्येबाट वादीले एकएक भाग पाउने ठहराएको हदसम्म पुनरावेदन अदालत, विराटनगरको फैसला केही उल्टी हुने गरी फैसला भएको देखियो । उक्त फैसलाउपर सुरू एवम्‌ पुनरावेदन अदालतमा दाबी छोडी मिलापत्र गर्ने वादीहरू अब्दुल रहमान र महम्मद कलिमको अंश भाग प्रतिवादीसँग रहने भई ५ भागको १ भाग मात्र बाँकी रहेको वादी सलिमलाई दिलाइदिनु पर्नेमा संयुक्त इजलासको फैसला ने.का.प. २०४५ पृष्ठ ५४८ नि.नं. ३४८० र ने.का.प. २०४३ पृष्ठ ८४३  नि.नं. २८३४ मा प्रकाशित नजिरविपरीत भई न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा १ को खण्ड (ख) को अवस्था बिद्यमान भएकाले प्रस्तुत मुद्दा पुनरावलोकन गरी हेरी पाउँ भनी प्रतिवादीहरू इस्लाम मियाँ, खैतुन नेसा,  नुर महम्मद मियाँले संयुक्तरूपमा मिति  २०६३।०९।२७ मा यस अदालतमा निवेदन दर्ता गरेको पाइयो ।

मुद्दामा कायम रहेका जीवित अंशियार निवेदक प्रतिवादी इस्लाम मियाँलाई लोप गरी वादी सलिम मियाँ र प्रतिवादी बंशी मियाँ दुई अंशियार मात्र देखाई वादीले दुई भागको एक भाग अंश पाउने ठहराई यस अदालतको संयुक्त इजलासबाट मिति २०६१।१।१६ मा भएको फैसला अंशियारहरूबीच जीयजीयैको अंशबन्डा गर्नुपर्छ भन्ने ने.का.प. २०४३ नि.नं. २८३४ पृष्ठ ८४३ र ने.का.प. २०४५ नि.नं. ३४८० पृष्ठ ५४८ मा प्रतिपादित सिद्धान्त प्रतिकूल देखिएको भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम यस अदालत पूर्ण इजलासबाट पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भएको देखियो ।

यसबाट प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासबाट मिति २०६१।०१।१६ मा भएको फैसलामा मुलुकी ऐन, अंशबन्डाको १ नं. मा भएको कानूनी व्यवस्थाबमोजिम समान अंशियाराबीच जीयजीयको अंशबन्डा गर्नुपर्नेमा सो नभई त्रुटि भएको छ, छैन र सोही कानूनी व्यवस्थाको व्याख्या भई यस अदालतबाट प्रतिपादन भएका निस्सा प्रदान गर्ने आदेशमा उद्धृत गरिएका नजिरहरूको विपरीत फैसला भएको छ, छैन भन्नेसम्बन्धमा नै निर्णय दिनुपर्ने देखिन आयो ।

२. यसमा निर्णयतर्फ विचार गर्दा फिराद दर्ता गर्दाका अवस्थामा वादीहरू तेतरी, अब्दुल रहमान, महम्मद कलिम मियाँ र महम्मद सलिम मियाँ तथा प्रतिवादीहरू बंशी मियाँ र ईस्लाम मियाँसमेत गरी जम्मा ६ अंशियाराहरू रहेको र अंशियाराहरूबीचमा विधिवत् अंशबन्डा नभएको भन्ने तथ्यमा प्रतिवादीहरू समेतले प्रतिउत्तरमा विवाद गरेको देखिएन । मुद्दा चल्दै जाँदा अंशियारमध्येको वादी अब्दुल मियाँले सुनसरी जिल्ला अदालतमा मिति २०५४।१।१७ मा र वादी कलिम मियाँले २०५५।१।३१ मा पुनरावेदन अदालतमा वादी दाबी छोडी मिलापत्र गरेको, वादी तेतरी मियाँइनीको मिति २०५४।११।१९ मा मृत्यु भएको भन्ने कुरामा पनी विवाद देखिएको छैन ।अब अंशबन्डा गर्नुपर्ने अंशियाराहरूमा प्रतिवादी बंशी मियाँको मिति २०५६।०९ २७ मा मृत्यु भई निजको हकमा मुद्दा सकार गर्ने निजकी श्रीमती खैतुन नेसा, प्रतिवादीमध्येको ईस्लाम खाँ तथा वादी महम्मद सलिम मियाँसमेत ३ जना मात्र रहेको पाइन्छ । यस अदालतबाट मिति २०६१।०१।१६ मा फैसला गर्दा वादी सलिम मियाँ र प्रतिवादी बंशी मियाँसमेत २ अंशियार मात्र बाँकी देखाई २ भागको १ भाग वादीले अंश पाउने भनी निर्णय भएको देखियो । तर यस अदालत संयुक्त इजलासबाट फैसला हुदाँ अंश पाउन बाँकी अंशियार पुनरावेदक प्रतिवादी ईस्लाम खाँ अंशियारको गणनामा छुट हुन गई निजसमेतले पुनरावलोकनका लागि निवेदन गरेको अवस्था छ । बंशी मियाँको मु.स. गर्ने खैतुन नेसा, प्रतिवादी मध्यको ईस्लाम खाँ तथा वादी महम्मद सलिम मियाँसमेत ३ जना अंशियारा बन्डा गर्न बाँकी रहेकामा प्रतिवादी इस्लाम खाँ अंशियारको गणनामा छुट हुन गई निजलाई असर पर्न गएको पाइयो । अंशबन्डाको १ नं. को कानूनअनुसार पनि प्रतिवादी इस्लाम खाँलाई छुटाई २ जना मात्र अंशियार कायम गरी यस अदालतको संयुक्त इजलासबाट भएको फैसला त्रुटिपूर्ण देखिन आई पूर्ण इजलासको निस्सा प्रदान गर्ने आदेशमा उद्धृत आधार र कारणसँग यो इजलासले कुनै बिमति राख्नु पर्ने अवस्था देखिन आएन ।

३. यस्तै विषयवस्तु समावेश भएका मुद्दाहरूमा यस अदालतले के कस्तो दृष्टिकोण राखी फैसला गरेको रहेछ भन्ने सम्बन्धमा हेर्दा अंश बन्डाको महलको १ नं. अनुसार जीयजीयै बन्डा लाग्ने भनी ने.का.प. २०४५ अङ्क ६ नि.नं. ३४८० पृष्ठ ५४८ मा र अंशबन्डाको महलको १ नं. ले व्यवस्था गरेअनुसार जति अंशियार जीवित हुन्छ तिनीहरूको बीचमा भागबन्डा गर्नुपर्ने भनी ने.का.प. २०४३ अङ्क ८ नि.नं. २८३४ पृष्ठ ८४३ मा कानूनी सिद्धान्त प्रतिपादित भई प्रकाशित भएको देखिन्छ । प्रतिवादीमध्येको इस्लाम खाँ अंशियार गणनामा छुट भई यस अदालतसमेतको संयुक्त इजलासबाट भएको फैसला माथि उद्धृत नजिर सिद्धान्तसमेत विपरीत रहेको पाइयो ।

४. जहाँसम्म पुनरावेदक प्रतिवादीहरूको वादीमध्येको अब्दुल मियाँ र कलिम मियाँले वादी दाबी छोडी मिलापत्र गरेको स्थितिमा निजहरूले छोडेको निजहरूको अंश भाग पनि हामीले नै पाउने हो भन्ने जिकिर छ सोतर्फ हेर्दा मुलुकी ऐन, अंशबन्डाको महलको १ नं मा अंशियारा बीच जीयजीयको बन्डा गर्नुपर्छ भनी कानूनी व्यवस्था रहेको पाइन्छ । जीयजीयै भन्नाले अंशबन्डा नभएको भए सबै अंशियार बीच अंशबन्डाको महलको २ नं. अनुरूप बराबर अंश लाग्ने हुन्छ । एकै सगोल परिवारमध्येमा पनि केही अंशियारले मिलापत्र गरी वा अन्य कुनै व्यहोराबाट अंश लिएको वा पाएको भए वा छोडपत्र गरेको भएमा कानूनले त्यस्तो व्यक्ति अंशियारले उसको भाग अंश उसैसँग गएको भनी मान्नुपर्ने हुन्छ । उसको भाग पनि सगोलको सम्पत्तिबाट पुनः छुट्टै भाग छुट्याई बाँकी सगोलको अंशियारामध्येकै कुनै एकलाई हुने गरिदिन वा लिन मिल्दैन । सगोलमा रहेको वा अंश बन्डा नभएको भए सगोलका अंशियारमध्ये कसैका नाउँमा रहेको भएपनि कानूनतः बराबर बन्डा 

लाग्दछ । अंशियारबाट छुट्टिनेलाई पुनः अंशियाराहरूबीचमा उसको गन्ती हुन सक्दैन । अलग भएका अंशियारको भाग पुनः सगोलको सम्पत्तिबाट छुट्याउने हो र कुनै एक अंशियारलाई दिने हो भने दोहोरो अंश भाग लाग्न जान्छ । प्रतिवादीहरूको जिकिरअनुसार गर्दा प्रस्तुत मुद्दामा सगोलको समान अंशियारमध्येको वादी महम्मद सलिम मियाँ र प्रतिवादीहरूबीच असमान व्यवहार हुन पुगी अंशियार सबैंको बराबर अंश गर्नुपर्ने अंशबन्डाको २ नं. को बाध्यात्मक व्यवस्थाको प्रतिकूल भई उक्त नम्बरको गम्भीर त्रुटि हुन जान्छ । पुनरावलोकनको निवेदन तथा निस्सा प्रदान गर्ने आदेशसमेतमा अभिव्यक्त कानूनी आधार र अंशबन्डाको १ नं. र २ नं. अनुसार तायदातीमा पेस भएको सम्पत्तिबाट अंश प्राप्त गर्न बाँकी अंशियारहरूले बराबर समानरूपमा अंश भाग पाउने नै देखिन आयो । तसर्थ अंश छुट्टिसकेका अंशियारको भागसमेत लगाई सोसमेत हामीले पाउनु पर्छ भन्ने प्रतिवादीहरूको जिकिरसँग सहमत हुन सकिएन ।

५. पुनरावेदक प्रतिवादीहरूले निजी र स्वआर्जनको सम्पत्ति भनी जिकिर लिएतर्फ विचार गर्दा वादी र प्रतिवादीबीचमा विधिवत अंशबन्डा नभएको तथ्यमा प्रतिवादीहरूले प्रतिउत्तरपत्रमा स्वीकार गरेको 

पाइन्छ । सगोलका अंशियारामध्ये अन्य अंशियाराहरूले कुनै आय आर्जन गर्न नसकी प्रतिवादीमध्येको बंशी मियाँले मात्र स्वआर्जन गरी जग्गा जमिन खरिद गरेको भन्ने कुरा तथ्ययुक्तरूपमा प्रतिवादीहरूले प्रमाणित गर्न सकेको मिसिलबाट देखिँदैन । प्रमाण ऐन, २०३१ को दफा ६ को खण्ड (क) मा एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्ने छ भन्ने उल्लेख भएको पाइन्छ । मिसिल संलग्न तायदाती विवरणबाट प्रतिवादीमध्ये खैतुन नेसा र निजको छोरा नुर महम्मदको नाममा मात्र जग्गाहरू देखिएको छ । उक्त जग्गाहरू यो यसरी निजी तवरमा आर्जित आम्दानीले खरिद गरेको हो भनी निजहरूले भन्न नसकेको स्थितिमा सगोलको नै मान्नुपर्ने हुन्छ ।

६. अब के कुन सम्पत्तिबाट के कति अंश वादीले पाउने हो सोतर्फ हेर्दा तायदातीमा देखिएको कि.नं. १७०, कि.नं. १०८, कि.नं. ९१ र कि.नं. ९३ का सम्पत्तिका हकमा लगाउको ०६५-NF-०१७ र र ०६५-NF-०१६ को लिखत बदर दर्ता मुद्दामा ३ भागको १ भाग लिखत बदर भई वादी महम्मद सलिम मियाँको नाउँमा दर्तासमेत हुने ठहरी आज यसै इजलासबाट फैसला भएको र उक्त कि.नं.का जग्गाहरू सोही मुद्दाबाट नै वादी महम्मद सलिम मियाँको अंश हक कायम भई प्राप्त गरेको हुँदा यस मुद्दाबाट उक्त कि.नं. हरूका सम्बन्धमा पुनः अंश भाग छुट्याई रहनु परेन ।

७. यसर्थ माथि उल्लिखित आधार र कारणबाट वादी महम्मद सलिम र प्रतिवादी बंशी मियाँ मात्र अंशियारा कायम गरी २ भागको १ भाग वादी महम्मद सलिम मियाँले अंश पाउने ठहर गरेको यस अदालतको मिति २०६१।०१।१६ को फैसला केही उल्टी भई वादीमध्येकी तेतरीन मियाँयीनको मृत्यु भइसकेको, वादीहरू अब्दुल मियाँ र कलिम मियाँले वादी दाबी छाडी मिलापत्र गरेका हुँदा बाँकी अंशियाराहरू प्रतिवादी बंशी मियाँको हकमा मुद्दा सकार गर्ने निजकी श्रीमती खैतुन नेसा, प्रतिवादीमध्येको ईस्लाम खाँ तथा वादी महम्मद सलिम मियाँसमेत ३ जना मात्र रहेको हुँदा वादी महम्मद सलिम मियाँले तायदातीमा उल्लिखित सम्पत्तिमध्ये लिखत बदर मुद्दाबाट निजको हक प्राप्त भइसकेको बाहेकको प्रतिवादीहरूको नाममा रहेको तपसिलको सम्पत्तिबाट ३ भागको १ भाग अंश पाउने ठहर्छ । अरू तपसिल बमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा उल्लेख भएबमोजिम यस अदालत संयुक्त इजलासको मिति २०६१।१।१६ को फैसला केही उल्टी भई ३ भागको १ भाग दाबी महम्मद सलिम मियाँले प्रतिवादीबाट अंश पाउने ठहरेकाले देहायबमोजिमको जग्गाबाट ३ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादी महम्मद सलिम मियाँले कानूनका म्यादभित्र दरखास्त दिए अढाइ दस्तुर लिई बन्डा छुट्याई दिनु भनी सुरू सुनसरी जिल्ला अदालतमा लेखी पठाइदिनू -------------१

 

नाम जिल्ला गा.वि.स. वडा नं. कि.नं. क्षे.फ. मूल्य

नुर महम्मद मियाँ सुनसरी औरावनि ९(ग) १८२ ०-०-१८ ५०००।-

खैतुन नेसा सुनसरी सिमरिया ५(क) १८१ ०-२-० ५०००।-

खैतुन नेसा सुनसरी सिमरिया ५(क) १३३ ०-१-१२ २३०००।-

 

 

पुनरावेदन अदालत, विराटनगरको फैसलाबमोजिम प्रतिवादीहरूबाट वादीले भरिपाउने ठहर गरेको कोर्ट फी रू. ४१३।- प्रतिवादीहरूले यस अदालतमा पुनरावेदन अदालत, विराटनगरमार्फत पुनरावेदन दर्ता गर्दा र.नं. ७८८६ बाट मिति २०५५।११।२ मा पुनरावेदन अदालत, विराटनगरमा धरौटी दाखिल गरेको देखिँदा ऐनका म्यादभित्र वादी महम्मद सलिम मियाँले कोर्ट फी दिलाइपाउँ भनी दरखास्त दिए केही दस्तुर नलिई उक्त धरौटीबाट भराइदिनु भनी पुनरावेदन अदालत विराटनगर लेखा शाखामा लेखी पठाइदिनू .....................................................२

दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू .....................................................३

 

उक्त रायमा सहमत छौं ।

न्या.ओमप्रकाश मिश्र

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इति संवत् २०७१ साल माघ १५ गते रोज ५ शुभम् । 

इजलास अधिकृत M कपिलमणि गौतम

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु