निर्णय नं. ९३६२ - बन्डा मुचुल्का बदर

श्री सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्र.न्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
फैसला मिति : २०७१।८।७।१
०६९-CI-०२४६
मुद्दा : बन्डा मुचुल्का बदर ।
पुनरावेदक / प्रतिवादी : जिल्ला पर्सा, लिपनीबिर्ता गाउँ विकास समिति वडा नं.४ बस्ने रजपतिया भन्ने सुन्दरीया धनुकाइनको मु.स.गरी आफ्नो हकमा समेत ऐ.ऐ.बस्ने सुरसतिया धनुकाइन
विरूद्ध
प्रत्यर्थी / वादी : जिल्ला पर्सा, लिपनीबिर्ता गाउँ विकास समिति वडा नं.४ बस्ने रामलखन महतो धानुकसमेत
फैसला कार्यान्वयनबाट सिर्जित परिणामलाई सम्बन्धित पक्षले स्वीकार गरी त्यस्तो कार्यान्वयनको परिणामको अंशसमेत आफूले प्राप्त गरेपछि स्वीकार गरिएको पूर्व परिणामलाई पछि अस्वीकार गरी दाबी गर्न नमिल्ने ।
(प्रकरण नं.६)
एकपटक आफूले स्वीकार गरी त्यसबाट फाइदा लिई सकेपछि सोही विषयमा यस्तो होइन भनी दाबी लिन विबन्धनको सिद्धान्तविपरीत हुन जान्छ । अंश मुद्दाको मिलापत्रबाट पूर्व बन्डा मुचुल्कामा उल्लिखित जग्गा नै आफ्नो भाग शान्ति लिई कित्ताकाट गरी दा.खा.दर्ता नामसारीसमेतका कार्य पूरा गरिसकेको अवस्थामा पूर्व बन्डा मुचुल्कालाई मान्दैनौं भन्न प्रमाण ऐन, २०३१ के दफा ३४ ले विबन्धन लाग्ने हुँदा एकपटक स्वीकार गरिसकेको विषयमा पुनः अस्वीकार गरी दाबी गर्न मिल्ने नदेखिने ।
(प्रकरण नं.७)
आफूलाई लाभ हासिल गर्दा कुनै कार्य वा निर्णयलाई मान्ने तर लाभ हासिल गरेपछि सोही कार्य वा निर्णय यस्तो थियो यस्तो हुनुपर्दथ्यो त्यस कार्य वा निर्णयबाट आफूहरूको साम्पत्तिक हकमा क्षति हुन गयो भनी प्रस्तुत गरिएका त्यस्तो दाबी व्यक्तिको द्वैध चरित्र हुँदा त्यस्तो दाबी मान्य हुन सक्दैन । कुनै कार्य वा निर्णयबाट मर्का परेको छ भने सो अवस्थामा कानूनी मार्ग अवलम्बन गर्नुपर्दछ । तर कानूनी मार्ग अवलम्बन नगरी कुनै निर्णयबाट सिर्जित परिणामलाई स्वीकार गरी आफूले लाभ हासिल गरेपछि सोही विषयलाई बदर माग गर्न वा चुनौती दिन मिल्ने नदेखिने ।
(प्रकरण नं.८)
पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद भण्डारी सम्भव
प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू कृष्णप्रसाद रौनियार, जितेन्द्रप्रसाद कुर्मी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
प्रमाण ऐन, २०३१ को दफा ३४
पजनीको महलको १७ नं.
लेनदेन व्यवहारको महलको ४० नं.
पर्सा जिल्ला अदालतमा फैसला गर्ने :
मा.न्या. श्री तीर्थराज देवकोटा
पुनरावेदन अदालत हेटौंडामा फैसला गर्ने :
मा.न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की
मा.न्या.श्री गौरीबहादुर कार्की
फैसला
न्या.देवेन्द्र गोपाल श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
मूल पुर्खा भेख महतोको २ छोरामा जेठो रामकिसुन महतो र कान्छो रामशरण महतो
हुन् । रामकिसुन महतोको छोरा रूपन महतो र रूपन महतोको छोरा शिवनारायण महतो र शिवनारायण महतोको २ श्रीमतीमा जेठी विपक्षी रजपतिया भन्ने सुन्दरीयादेवी र कान्छी विपक्षी सुरसतिया धनुकाइन हुन् । रामशरण महतोको २ छोरामा जेठो प्रमेश्वर महतो र कान्छो सुकदेव महतो हुन् । प्रमेश्वर महतोको २ छोरामा जेठो म फिरादी रामलखन महतो र कान्छो फिरादी विष्णु महतो धानुक हौं । सुकदेव महतो धानुकले हामीसमेत उपर दायर गर्नु भएको दे.नं.१६८४ को अंश दर्ता मुद्दामा मिति २०४४।१०।१० मा भएको फैसलाबमोजिम तायदाती फाँटवारीमा उल्लिखित स्व.शिवनारायण महतो धानुकको नाउँ दर्ताको जिल्ला बारा, लिपनीमाल गाउँ विकास समिति वडा नं.६ कि.नं.८ को ज.वि.०–४–१२ मध्ये सुकदेव महतोको अंश भागमा परेको ज.वि.०–१–३ कटाई बाँकी रहेको ज.वि.०–३–९ मध्ये ३ खण्डको १ खण्ड ०–२–६, ऐ.ऐ.वडा नं.६ कि.नं.३ को ज.वि.१–१९–१५ मध्ये सुकदेव महतोको अंश भागमा परेको ज.वि.०–९–१८–१२ जग्गा कटाई बाँकी रहेको ज.वि.१–९–१६–४ मध्ये ३ खण्डको १ खण्ड ज.वि.०–१९–१७–८, म फिरादी विष्णु महतो धानुकको नाउँ दर्ताको ऐ.ऐ.वडा नं.७ कि.नं.४३ को ज.वि.०–७–१० मध्ये सुकदेव महतोको अंश भागमा परेको ज.वि.०–१–१७ कटाई बाँकी रहेको ज.वि.०–५–१२–८ मध्ये ज.वि.०–३–१५, ऐ.ऐ.वडा नं.४ कि.नं.५६ को ज.वि.१–२–११ मध्ये सुकदेव महतोको अंश भागमा परेको ०–५–१२–१२ कटाई बाँकी ज.वि.०–१६–१८–४ मध्ये ज.वि. ०-११–५–८ र म फिरादी रामलखन महतो धानुकको नाउँ दर्ताको ऐ.ऐ.वडा नं.७ कि.नं.३९ को ज.वि.१–५–१० मध्ये सुकदेव महतोले छुट्याउनु भएको ०–६–७–८ कटाई बाँकी रहेको ज.वि.०–१९–२–८ मध्ये ज.वि.०–१२–१५ जग्गा र ऐ.ऐ.वडा नं.७ कि.नं.४९ को ज.वि.०–८–१८१/२ मध्ये सुकदेव महतोको अंश भागमा परेको ज.वि.०–२–४–१० जग्गा कटाई बाँकी रहेको ज.वि.०-६–१४–१४ मध्ये ज.वि.०–४–४ जग्गामात्र विपक्षीहरूले आफ्नो अंश भागमा पर्ने गरी बन्डा छुट्याउनु पर्नेमा सोबमोजिम नगरी सुकदेव महतोले छुट्याउनु भएको अंश भागको जग्गा नकटाई साबिक जग्गाबाट नै ३ खण्डको २ अंश स्व.शिवनारायण महतो धानुकको नाउँ दर्ताको जिल्ला बारा, लिपनिमाल गाउँ विकास समिति वडा नं.६ कि.नं.८ को ज.वि.०–४–१२ मध्ये उत्तरतर्फबाट ज.वि.०–३–१, ऐ.ऐ.वडा नं.६ कि.नं.३ को ज.वि.१–१९–१५ मध्ये उत्तरतर्फबाट ज.वि.१–६–१०, म फिरादी विष्णु महतो धानुकको नाम दर्ताको ऐ.वडा नं.७ कि.नं.४३ को ज.वि. ०–७–१० मध्ये उत्तरतर्फबाट ज.वि.०–५–०, ऐ.वडा नं.४ कि.नं.५६ को १–२–११ मध्ये उत्तरतर्फबाट ज.वि.०–१५–० र म फिरादी रामलखन महतो धानुकको नाउँ दर्ताको ऐ.ऐ.वडा नं.७ कि.नं.३९ को ज.वि.१–५–१० मध्ये उत्तरतर्फबाट ज.वि.०–१७–०, ऐ.वडा नं.७ कि.नं.४९ को ज.वि.०–८–१८१/२ मध्ये उत्तरतर्फबाट ज.वि.०–५–१८ जग्गा विपक्षीहरूले मिति २०५७।९।५ मा गरेको बन्डा मुचुल्काबमोजिम अंश भाग छुट्याई दा.खा.दर्ता गरेको कुरा मिति २०६०।६।७ मा नक्कल लिई यो फिराद गरेका छौं । विपक्षीहरूले बन्डा छुट्टाई लिएपछि साबिक कित्ता नम्बर बदर भई हाल विपक्षीहरूको नाउँमा कायम भएको जिल्ला बारा, लिपनिमाल गाउँ विकास समिति वडा नं.६ कि.नं.१७० को ज.वि.०–१५–० मध्ये दक्षिणतर्फबाट ज.वि.०–५–०, ऐ.ऐ.वडा नं.६ कि.नं.१८२ को ज.वि.०–२–१३–५ मध्ये दक्षिणतर्फबाट ज.वि.०–०–१७–१२, ऐ.ऐ.वडा नं.६ कि.नं.१८४ को ज.वि.०–११–१० मध्ये दक्षिणतर्फबाट ज.वि.०–३–१२–०१, ऐ.ऐ.वडा नं.७ कि.नं.१३४ को ज.वि.०–५–१८ मध्ये दक्षिणतर्फबाट ०–१–१८–९, ऐ.वडा नं.४ कि.नं.१४५ को ज.वि.०–१५–० मध्ये दक्षिणतर्फबाट ज.वि.०–५–०, वडा नं.७ कि.नं.१३२ को ज.वि.०–१७–० मध्येबाट दक्षिणतर्फबाट ज.वि.०–५–१३–५ र ऐ.ऐ.वडा नं.७ कि.नं.१३० को ज.वि.०–५–० मध्ये दक्षिणतर्फबाट ज.वि.०–१–१३–५ समेत जम्मा ज.वि.०–१८–१–११ जग्गाको हदसम्मको सो बन्डा मुचुल्का बदर गरी सो बन्डा मुचुल्काको आधारमा विपक्षीहरूको नाउँमा भएको दर्ता जग्गा मुलुकी ऐन, जग्गा पजनीको महलको १७ नं. र लेनदेन व्यवहारको महलको ४० नं.को आधारमा बदर गरी हाम्रो नाउँमा दर्ता गरिपाउँ भन्नेसमेत व्यहोराको फिरादपत्र ।
हामीहरूले यिनै वादीहरू समेतउपर दिएको दे.नं.१८८७ को अंश दर्ता मुद्दामा पेस भएको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिमध्ये ३ खण्डको २ खण्ड अंश हामीले पाउने ठहरी मिति २०५४।१२।१९ मा भएको फैसला अन्तिम भई सोही फैसलाबमोजिम बारा जिल्ला अदालतबाट मिति २०५७।९।५ मा हाम्रो अंश भाग छुट्याई भएको बन्डा मुचुल्का कानूनसम्मत हुँदा फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी सुरसतीया धनुकाइन र रजपतिया भन्ने सुन्दरीया धनुकाइनसमेतको प्रतिउत्तरपत्र ।
दे.नं.१८८७ मुद्दाबाट प्रतिवादीहरूले पाएको अंश हक बारा जिल्ला अदालतबाट २०५७।९।५ मा निज प्रतिवादीहरूले छुट्याई लिँदा सुकदेव महतोले उक्त विवादित कित्ताहरू ८, ३, ४९, ४३, ३९ बाट मिति २०५६।११।४ मा पाएको जग्गाबाहेक गरी बाँकी रहेको जग्गामा ३ भागको २ भाग छुट्याउनुपर्नेमा २०५६।११।४ को बन्डा मुचुल्काले छुट्याइएको जग्गालाई समावेश गरी मिति २०५७।९।५ मा बन्डा मुचुल्का भएको पाइँदा सो हदसम्म उक्त कि.नं.८, ३, ४९, ४३, ३९ का जग्गा बन्डा छुट्याएको नमिलेकाले सो कित्ताहरूको हकमा सम्म वादीहरूको अंश हक कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको पर्सा जिल्ला अदालतको मिति २०६१।१२।७ को फैसला ।
बन्डा मुचुल्काउपर वादीहरूको चित्त नबुझेको भए दण्ड सजायको महलको ६१ नं. बमोजिम उजुर गर्नुपर्नेमा सो नगरी दायर हुन आएको प्रस्तुत फिराद खारेजभागी हुँदा सुरूको फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको तर्फबाट पुनरावेदन अदालत, हेटौंडामा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको दे.पु.नं.११८८ को हक कायम लिखत दर्ता बदर दर्ता मुद्दामा आजै विपक्षी झिकाउने आदेश भएको र प्रस्तुत मुद्दा पनि सोही मुद्दासँग अन्तरप्रभावी रहेकाले यसमा पनि अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम विपक्षी झिकाई नियमानुसार पेस गर्नु भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६४।३।१२ को आदेश ।
अंश मुद्दामा ३ खण्डको २ खण्ड अंश पाउने गरी फैसला हुँदा सुकदेव महतोको अंश कटाई पुनरावेदक प्रतिवादीहरूले बन्डा छ्ट्याउनु पर्नेमा सुकदेव महतोसमेतको अंश भाग नछुट्याई भएको सो हदसम्मको बन्डा मुचुल्का बदर हुने गरी भएको पर्सा जिल्ला अदालतको २०६१।१२।७ को फैसला मिलेको हुँदा सदर कायम राखिपाउँ भन्नेसमेत व्यहोराको प्रत्यर्थी वादीहरूको तर्फबाट पुनरावेदन अदालत, हेटौंडामा पेस भएको लिखित प्रतिवाद ।
दे.नं.१६८४ को अंश मुद्दाबाट सुकदेव महतोले २ खण्डको १ खण्डबाट २ भागको १ भाग अर्थात्् ४ भागको १ भाग अंश छुट्याई लिएपछि बाँकी रहेको ३ भागमध्ये २ भाग पुनरावेदिकाहरूले पाउने भए अनुरूप नै दे.नं.१८८७ को अंश मुद्दामा निर्णय भएको देखिन्छ । तर उक्त दे.नं.१८८७ को अंश मुद्दामा भएको निर्णयअनुसार सुकदेव महतोले २०५६।११।४ मा बन्डा छुट्टाई बाँकी रहेको जग्गाबाट ३ भागको २ भाग बन्डा छुट्याउनु पर्नेमा मिति २०५७।९।५ को बन्डा मुचुल्कामा सोबमोजिम बन्डा छुट्याएको देखिन आउँदैन । सुकदेव महतोले पाएको भाग कटाएर मात्र बाँकी बन्डा गरेको भन्ने प्रतिवादी पुनरावेदिकाको जिकिर रहेको पनि देखिँदैन । मिति २०५६।११।४ को बन्डा मुचुल्काबाट लगाइएको अंश भागबमोजिम कित्ताकाट नहुँदै मिति २०५७।९।५ मा मूल कित्ता र ससिम जग्गा उल्लेख गरी भाग बन्डा लगाएको स्थितिले एक भाग नै लोप हुन गई पुनरावेदिकाहरूले बढी पाउने अवस्था सिर्जना भएको देखिन्छ । दे.नं.१६८४ को अंश मुद्दाको फैसलाअनुसार दाबीको जग्गामा यी प्रत्यर्थी वादीहरू समेतको हक भएको कुरा देखिएको अवस्था छ भने सोही हकको अधीनमा रहेर दाबी आएको पाइन्छ । अंशबन्डाको महलको १ र २ नं. अनुसार अंशियारले आफ्नो हैसियतबमोजिमको हक हिस्सासम्म पाउन सक्ने कुरा स्पष्ट छ । पूर्व फैसलाले स्थापित गरेको हकको कुरामा दण्ड सजायको महलको ६१ नं. को बाटो अवलम्बन नगरेको भन्दैमा सो हकबाट वञ्चित हुनुपर्ने अवस्था नआउने हुँदा वादी दाबी पुग्ने ठहर्याई भएको पर्सा जिल्ला अदालतको मिति २०६१।१२।७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।३।३० को फैसला ।
सुकदेव महतो धानुक र हामी निवेदिकासमेत बीच अंशसम्बन्धमा ३ वटा मुद्दाहरू क्रमशः २०४३ को दे.नं.१६८४ को अंश मुद्दा २०४४।१०।१० मा, २०५२ को दे.नं.१८८७ को अंश मुद्दामा २०५४।१२।१९ मा फैसला भएको र दे.नं.१८८३ को अंश दर्ता मुद्दामा २०५९।५।२४ मा मिलापत्र भई ३ वटा अंश मुद्दाबाट सबै अंशियारले आफ्नो भाग बन्डा गरी छुट्टिभिन्न भएका छौं । हामी वादी भएको दे.नं.१८८७ को अंश मुद्दामा प्रतिवादी रहेका यिनै वादीहरूले पेस गरेको तायदाती फाँटवारीमा उल्लेख भएको बारा जिल्लाअन्तर्गतको ५ वटा कित्ता जग्गाहरूको ३ भागको २ भाग बन्डा लाग्न पर्ने भनी आफैँले जिकिर लिएका छन् । तायदातीबमोजिम नै दे.नं.१८८७ को अंश मुद्दा फैसला हुँदा दाबीको ५ वटा कित्ता जग्गाहरूबाट ३ भागको २ भाग अंश भाग पाउने ठहर गरी फैसला भएअनुसार नै ३ भागको २ भाग अंश छुट्याई लिएका हौं ।
दे.नं.१८८७ को अंश मुद्दाको फैसलाअनुसार भएको बन्डा मुचुल्काबमोजिम हामीहरूले बन्डा गरी लिई बाँकी रहेको कि.नं.३ बाट कि.नं.१८५ कि.नं.८ बाट कि.नं.१८३, कि.नं.३९ बाट कि.नं.१३३, कि.नं.४३ बाट कि.नं.१३१ र कि.नं.४९ बाट कि.नं.१३५ का कि.नं.हरू विपक्षीहरूले आफ्नो दे.नं.१८८३ को अंश मुद्दामा समावेश गरी मिति २०५९।५।२४ मा मिलापत्र गरी लिई आ-आफ्नो नाममा कि.का.गरी दा.खा.गराई लिएको हुँदा वादीहरूले गरेको दाबी प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धित छ ।
दाबीको कि.नं.३ समेतका ५ वटा कित्ताहरूबाट हामीले बन्डा गरी कि.का.गरी हाम्रो नाममा दा.खा.भएपछि विपक्षीहरूले आफ्नो नाममा कि.का.हुने गरी दे.नं.१८८३ को अंश मुद्दामा २०५९।५।२४ मा मिलापत्र गरी स्वीकार गरेको अवस्थामा २०६०।६।७ मा मात्र थाहा पाएको भनी जग्गा पजनीको महलको १७ नं. को हदम्याद कायम गरी दायर हुन आएको फिराद हदम्याद विहीन र विबन्धनको सिद्घान्त प्रतिकूल हुँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को देहाय खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्नेसमेत व्यहोराको रजपतिया भन्ने सुन्दरीया धनुकाइनको मु.स.गरी आफ्नो हकमा समेत निवेदन दिने सुरसतिया धनुकाइनको यस अदालतमा परेको निवेदनपत्र ।
यसमा फिराद दाबीका जग्गाहरूमध्ये साबिकमा कि.नं.३९ र ४९ वादी रामलखन महतो तथा कि.नं.४३ र ५६ वादी विष्णु महतोको नाममा रहेकामा विवाद छैन । वादी सुकदेव महतो धानुक र प्रतिवादी यसै मुद्दाका दुवै पक्षहरू समेत भएको दे.नं.१६८४ को अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०४४।१०।१० मा भएको फैसलाबमोजिम निज वादी सुकदेवले पर्सा जिल्ला अदालतको मिति २०४७।४।३१ र बारा जिल्ला अदालतको मिति २०५६।११।४ को बन्डा मुचुल्काबाट आफ्नो अंश भाग छुट्याई लिएकामा पनि विवाद देखिँदैन । त्यसैगरी वादी सुरसतिया धनुकाइनसमेत र प्रतिवादी सुकदेव महतो धानुकसमेत भएको दे.नं.१८८७ को अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०५४।१२।१९ मा प्रतिवादी सुकदेव महतोबाहेक अरू प्रतिवादी (प्रस्तुत मुद्दाका वादीहरू) बाट ३ खण्डको २ खण्ड अंश पाउने ठहरी भएको फैसलाबमोजिम पर्सा जिल्ला अदालतको मिति २०५६।१२।११ र बारा जिल्ला अदालतको मिति २०५७।९।५ को विवादित बन्डा मुचुल्काबाट वादी सुरसतियासमेतले आ-आफ्नो अंश भाग छुट्याई लिएको देखियो । त्यसैगरी यिनै वादीहरू बीच पर्सा जिल्ला अदालतमा चलेको दे.नं.१८८३ को अंश मुद्दामा आ-आफ्नो अंश भाग छुट्याई लिने गरी मिति २०५९।५।२४ मा मिलापत्र भएकोसमेत देखियो ।
यसरी प्रस्तुत मुद्दाका वादीहरूसमेत पक्ष कायम भई विभिन्न मितिमा चलेका उल्लिखित अंश मुद्दाहरूबाट साबिकमा यी वादीहरूको नाममा रहेका सम्पत्तिहरू समेत बन्डा मुचुल्काबमोजिम कित्ताकाट भई अन्य अंशियारहरूका नाउँमा गएको र बाँकी रहेको सम्पत्तिहरू समेत यिनै वादीहरूले आपसमा मिति २०५९।५।२४ मा मिलापत्र गरी आ-आफ्नो अंश भाग छुट्याई लिइसकेको देखिन्छ । यस्तो अवस्थामा फिराद दाबीको व्यहोरा मिति २०६०।६।७ मा मात्र नक्कल लिई थाहा पाएको भनी दायर भएको फिरादपत्रबमोजिम दाबीको मिति २०५७।९।५ को बन्डा मुचुल्काको कि.नं.८, ३, ३९, ४३ र ४९ मा वादीहरूको अंश हक कायम हुने ठहराई मिति २०६१।१२।७ मा भएको पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहराएको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।३।३० को फैसलामा लेनदेन व्यवहारको महलको ४० नं. तथा जग्गा पजनीको महलको १७ नं. को व्याख्यात्मक त्रुटि रहेको देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ विपक्षीहरू झिकाई नियमानुसार पेस गर्नु भन्ने यस अदालतको मिति २०६९।५।१।६ को
आदेश ।
दे.नं.१६८४ को अंश दर्ता मुद्दा मिति २०४४।१०।१० गतेमा फैसला हुँदा कि.नं.३९, ४९, ४३, ५६, ८ र ३ को जग्गाबाट ४ खण्डको २ खण्डमध्ये १ खण्ड सुकदेव महतोको अंश हक दिई बाँकी ३ खण्डमध्ये २ खण्ड सुरसतियाको र १ खण्ड हामी वादीहरूको अंश हकमा पर्ने गरी फैसला भएको
छ । त्यसपछि सुरसतिया धनुकाइनसमेतले सुकदेव महतो र हामीसमेत उपर दे.नं.१८८७ को अंश मुद्दा दिएकामा दे.नं. १६८४ को मुद्दाबाट सुकदेव महतोले प्राप्त गरेको जग्गामध्ये बाँकी रहेको जग्गाबाट मात्र सुरसतियाले ३ खण्डको २ खण्ड अंश पाउने निर्णय भएको छ । यसरी दे.नं.१६८४ को अंश दर्ता मुद्दामा परेको कि.नं.३९, ४९, ४३, ५६, ८ र ३ मध्येबाट सुकदेव महतोले अंश नछुट्याउँदै साबिक क्षेत्रफल नै उल्लेख गरी तायदाती दालेख भई सोहिअनुसार फैसलामा उल्लेख हुन गएको छ । यसरी दे.नं.१८८७ को अंश मुद्दामा तायदातीमा उल्लेख भएको कि.नं.३९, ४९, ४३, ५६, ८ र ३ जग्गाबाट दे.नं.१६८४ को अंश मुद्दामा भएको फैसला अनुसार सुकदेव महतोले ४ खण्डको २ खण्डमध्ये १ खण्ड आफ्नो अंश हक छुट्याई बाँकी रहेको क्षेत्रफलबाट मात्र सुरसतियाले ३ खण्डको २ खण्ड अंश छुट्याउनु पर्नेमा सोअनुसार सुरसतियाले बन्डा नछुट्याई साबिककै क्षेत्रफलअनुसार ३ खण्डको २ खण्ड छुट्याएकाले उक्त बन्डा मुचुल्का दे.नं.१६८४ को अंश दर्ता मुद्दामा भएको फैसलाविपरीत भएकाले सो हदसम्मको बन्डा मुचुल्का बदर गर्ने गरी भएको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको विष्णु महतो धानुकसमेतको लिखित प्रतिवाद ।
नियमबमोजिम पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक सुरसतिया धनुकाइनको तर्फबाट विद्वान् अधिवक्ता रामप्रसाद भण्डारी संभवले सुकदेवले आफ्नो अंशभागको जग्गा छुट्टाई सकेका छन् । मेरो पक्ष वादी र विष्णु महतो धानुक प्रतिवादी भई चलेको दे.नं.१८८७ को अंश मुद्दामा प्रतिवादी सुकदेवले लिनु दिनु छैन भने तर विष्णु महतो र रामलखन महतोले तायदाती फाँटवारी पेस गरे । तायदातीमा उल्लिखित सम्पत्तिबाट नै सुरसतियाले २०५७।९।५ मा बन्डा छुट्याई कि.का.गरी बाँकी रहेको कि.नं.का जग्गा यी वादीहरू बीच मुद्दा चली २०५९।५।२४ मा मिलापत्र भई आपसमा बाँडेका छन् । आफैले दिएको अंश मुद्दामा विवादित जग्गा आपसमा मिलापत्र गरी बाँडी खान्छन् भने त्यो अवस्थामा बन्डा मुचुल्का बदरमा दाबी गर्न मिल्दैन । बन्डा मुचुल्काबाट आफूहरूलाई असर परेको भए अंश मुद्दामा मिलापत्र गर्नुअगाडि दण्ड सजायको महलको ६१ नं.ले व्यवस्था गरेको मार्ग अवलम्वन गर्नु पर्दथ्यो । तर सो मार्ग अवलम्बन गरेको अवस्था छैन । वादीहरू बन्डा मुचुल्काको स्वयम् पक्ष भएका र बन्डा मुचुल्कामा उल्लिखित जग्गा नै वादीहरूले आपसमा मिलापत्र गरी लिइसकेपछि पुनः सोही बन्डा मुचुल्का बदरको दाबी लिन वादीहरूलाई विबन्धन लाग्ने हुँदा पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
विपक्षी वादीहरू तर्फबाट विद्वान् अधिवक्ता कृष्णप्रसाद रौनियारले दे.नं.१६८४ को अंश मुद्दामा ४ खण्डको २ खण्ड उल्लेख भएकामा त्यस तथ्यलाई लोप गरी सुरसतियाले दिएको दे.नं.१८८७ को अंश मुद्दामा बन्डा गर्दा सुकदेवको अंश भाग लोप गरी ३ खण्डको २ खण्ड अंश भाग छुट्टाइयो । सुकदेवको अंश भाग अलग गरी अंश भाग लिनु पर्दथ्यो । तर निजको भाग नछुट्टाई बन्डा गरियो । मिति २०५७।९।५ को बन्डा मुचुल्काले वादीहरूको अंश हक गुमेको हुँदा बन्डा मुचुल्का बदर हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
विपक्षीहरू तर्फबाट अर्का विद्वान् अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीले सुकदेवले अंशभागबापत छुट्टाएको जग्गालाई अलग गरी सुरसतियाले बन्डा गरी लिनुपर्दथ्यो तर अलग नगरी लिएबाट वादीहरूको अंश हक गुम्न गएको छ । अंश हक प्राप्त गर्न हदम्याद लाग्दैन । साबिकको जग्गा कित्ताकाट गरी मिलापत्र गरेको भए विबन्धन लाग्ने हो । तर बाँकी रहेको जग्गा मिलापत्र गरेको हुँदा अंश हक प्राप्तिमा विबन्धन
लाग्दैन । त्यसकारण बन्डा मुचुल्का बदर हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको हुँदा सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो ।
पक्ष विपक्षतर्फका विद्वान् कानून व्यवसायीहरूले प्रस्तुत गर्नुभएको बहससमेत सुनी मिसिल अध्ययन गरी हेर्दा पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ छैन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
यसमा वादी सुकदेव महतो धानुक र प्रतिवादीहरूमा सुरसतिया धनुकाइनसमेत भएको दे.नं.१६८४ को अंश दर्ता मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०४४।१०।१० मा भएको फैसलाबमोजिम वादी सुकदेव महतो धानुकले बारा जिल्लाअन्तर्गतको जग्गा मिति २०५६।११।४ मा बन्डा छुट्याई लिएकामा निजले बन्डा छुटाएको जग्गाबाहेक गरी दे.न.१८८७ मा मिति २०५४।१२।१९ मा भएको फैसलाबमोजिम ३ खण्डको २ खण्ड अंश सुरसतियासमेतले छुट्याई लिनुपर्नेमा उक्त जग्गा नकटाई साबिक कि.न.८, ३, ४९, ४३, ३९ र ५६ बाट ३ भागको २ भाग अंश भाग छुट्याउने गरी बारा जिल्ला अदालतबाट मिति २०५७।९।५ मा बन्डा मुचुल्का भई उक्त मुद्दाका वादी र यस मुद्दाका प्रतिवादीहरूले दा.खा. दर्ता गरेको जग्गाहरूको साबिक कि.नं.बदर भई हाल कायम भएको बारा, लिपनिमाल गाउँ विकास समिति वडा नं.६ कि.नं.१७० को ज.वि.०–१५–० मध्ये दक्षिणतर्फबाट ज.वि.०–५–०, ऐ.ऐ.वडा नं.६ कि.नं.१८२ को ज.वि.०–२–१३–५ मध्ये दक्षिणतर्फबाट ज.वि.०–०–१७–१२, ऐ.ऐ.वडा नं.६ कि.नं.१८४ को ज.वि.०–११–१० मध्ये दक्षिणतर्फबाट ज.वि.०–३–१२–०१, ऐ.ऐ.वडा नं.७ कि.नं.१३४ को ज.वि.०–५–१८ मध्ये दक्षिणतर्फबाट ०-१-१८-९, ऐ.वडा नं.४ कि.नं.१४५ को ज.वि.०–१५–० मध्ये दक्षिणतर्फबाट ज.वि.०–५–०, वडा नं.७ कि.नं.१३२ को ज.वि.०–१७–० मध्येबाट दक्षिणतर्फबाट ०–५–१३–५ र ऐ.ऐ.वडा नं.७ कि.नं.१३० को ज.वि.०–५–० मध्ये दक्षिणतर्फबाट ज.वि.०–१–१३–५ समेत जम्मा ज.वि. ०–१८–१–११ को बन्डा मुचुल्का बदर गरिपाउँ भन्ने वादी दाबी भएकामा साबिक कि.नं.५६ बाहेक अरू साबिकका कि.नं.का हकमा मिति २०५७।९।५ मा भएको बन्डा मुचुल्का बदर हुने ठहर गरेको पर्सा जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसलाउपर प्रतिवादीहरूको तर्फबाट मुद्दा दोहोर्याउने निवेदन परी मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई प्रस्तुत मुद्दा निर्णयार्थ पेस हुन आएको पाइयो ।
२. निर्णयतर्फ विचार गर्दा बारा जिल्ला अदालतको मिति २०५७।९।५ को बन्डा मुचुल्काबमोजिम रजपतिया भन्ने सुन्दरीया धनुकाइन र सुरसतिया धनुकाइनले अंश भाग छुट्याई लिएको जग्गाको बन्डा मुचुल्का बदर गरेको पुनरावेदन अदालत, हेटौंडाको फैसला मिलेको छ छैन र पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो ।
३. यसमा दे.नं.१६८४ को अंश मुद्दामा वादी सुकदेव महतो धानुकले ३ भागको १ भाग अंश पाउने ठहरी मिति २०४४।१०।१० मा भएको पर्सा जिल्ला अदालतको फैसलाबमोजिम बारा जिल्लाअन्तर्गतको लिपनीमाल गाउँ विकास समिति वडा नं.६ कि.नं.८, ३, ऐ.वडा नं.७ कि.नं.४३, ३९ र ४९ को जग्गा मिति २०५६।११।४ मा बन्डा छुट्याई सुकदेवले लिइसकेको अवस्थामा यिनै प्रतिवादी सुरसतिया धनुकाइनसमेतले दायर गरेको १८८७ को अंश मुद्दामा भएको फैसलाबमोजिम ३ भागको २ भाग बन्डा गर्दा सुकदेवले पहिले बन्डा गरी लिएको जग्गा कटाई बाँकीमा मात्र ३ भागको २ भाग बन्डा गर्नुपर्नेमा सुकदेवले छुट्याई लिएको साबिक कि.नं. हरूबाट नै ३ भागको २ भाग बन्डा छुट्याउने गरी मिति २०५७।९।५ मा बन्डा मुचुल्का भएको हुँदा सुरसतियासमेतले बन्डा गरी लिई कित्ताकाट गरी हाल कायम हुन आएका जिल्ला बारा लिपनीमाल गाउँ विकास समिति वडा नं.६ कि.नं.१७०, १८२, १८४, वडा नं.७ कि.नं.१३४, वडा नं.४ कि.नं.१४५, ऐ वडा नं.७ कि.नं.१३२ र १३० को क्षेत्रफलमध्ये दक्षिणतर्फबाट जम्मा ज.वि.०–१८–१–११ को सो हदसम्मको बन्डा मुचुल्का बदर गरिपाउँ भन्ने वादी दाबी रहेको
देखिन्छ । दे.नं.१८८७ को अंश मुद्दामा मिति २०५४।१२।१९ मा भएको फैसलाबमोजिम २०५७।९।५ मा बन्डा मुचुल्का भई कि.नं.३ बाट कि.नं.१८५, कि.नं.८ बाट कि.नं.१८३, कि.नं.३९ बाट कि.नं.१३३ कि.नं.४३ बाट कि.नं.१३१ र कि.नं.४९ बाट कि.नं.१३५ कायम भएको जग्गा विष्णु महतो धानुक वादी र रामलखन महतो धानुक प्रतिवादी भएको दे.नं.१८८३ को अंश मुद्दामा मिति २०५९।५।२४ मा मिलापत्र गर्दा आ-आफ्नो भागमा पर्ने गरी अंश छुट्याई दा.खा. दर्ता गराई सकेको हुँदा त्यस्तो सम्पत्तिमा दाबी गर्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले वादीहरू विबन्धित रहनुको साथै बाँकी रहेको जग्गा मिति २०५९।५।२४ मा लिई दिई मिलापत्र गरेकामा २०६०।६।७ मा नक्कल लिई थाहा पाएको भनी दायर गरेको फिराद जग्गा पजनीको महलको १७ नं. एवम् लेनदेन व्यवहारको महलको ४० नं. विपरीत रहेको भन्ने प्रतिवादीहरूको प्रतिवाद तथा पुनरावेदन जिकिर रहेको प्रस्तुत मुद्दामा साबिक कि.नं. ५६ को हकमा सुरू तथा पुनरावेदन अदालतबाट केही नबोलिएको हकमा वादीहरूको कुनै जिकिर नहुँदा सोसम्बन्धमा केही विचार गरिरहन परेन । साबिक कि.नं.३, ८, ३९, ४३ र ४९ को जग्गाबाट सुरसतियाले मिति २०५७।९।५ मा बन्डा छुट्याई लिएको जग्गाको बन्डा मुचुल्का बदर हुनुपर्ने भन्ने वादी र मिति २०५७।९।५ को बन्डा मुचुल्काबमोजिम वादीहरूको हकमा बाँकी रहेको जग्गा निज वादीहरूले मिति २०५९।५।२४ मा मिलापत्र गरी आ-आफ्नो नाममा कि.का. गरी दा.खा. समेत गराइसकेको हुँदा बन्डा मुचुल्का बदरमा दाबी गर्न वादीहरू विबन्धित रहेको भनी प्रतिवाद भई उक्त मिति २०५७।९।५ को बन्डा मुचुल्कामा विवाद रहेको देखिन आयो ।
४. सुकदेव महतो धानुक तथा यिनै वादी प्रतिवादीहरू बीच दायर भएका भिन्न-भिन्न अंश मुद्दामा विभिन्न मितिमा फैसला तथा मिलापत्र र भिन्न-भिन्न मितिमा बन्डा मुचुल्का भएको देखिन्छ । जसमा वादी सुकदेव महतो धानुक र प्रतिवादी यसै मुद्दाका दुवै पक्षहरू समेत भएको दे.नं.१६८४ को अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०४४।१०।१० मा भएको फैसलाबमोजिम निज वादी सुकदेव महतो धानुकले पर्सा जिल्ला अदालतको मिति २०४७।४।३१ र बारा जिल्ला अदालतको मिति २०५६।११।४ को बन्डा मुचुल्काबाट आफ्नो अंश भाग छुट्याई लिएको देखिन्छ । त्यसैगरी वादी सुरसतिया धनुकाइनसमेत र प्रतिवादी यिनै वादीहरू विष्णु महतो धानुकसमेत भएको दे.नं.१८८७ को अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट मिति २०५४।१२।१९ मा भएको फैसलाबमोजिम पर्सा जिल्ला अदालतको मिति २०५६।१२।११ र बारा जिल्ला अदालतको मिति २०५७।९।५ को बन्डा मुचुल्काबाट सुरसतिया धनुकाइनसमेतले आफ्नो अंश भाग छुट्याई लिएकी र यिनै वादीहरू बीच वादी प्रतिवादी भई चलेको दे.नं.१८८३ को अंश मुद्दामा आ-आफ्नो अंश भाग छुट्याई लिने गरी मिति २०५९।५।२४ मा मिलापत्र भएकोसमेत देखियो । यसरी यी वादीहरूले मिति २०५९।५।२४ मा मिलापत्र गरी जग्गा आफ्नो नाममा दर्ता गरेपछि पूर्व मिति २०५७।९।५ को बन्डा मुचुल्का बदरको माग गरेको अवस्था छ ।
५. अब वादी दाबी बमोजिम मिति २०५७।९।५ को बन्डा मुचुल्का बदर हुनु पर्ने हो होइन भन्नेतर्फ विचार गर्दा दे.नं.१८८७ को अंश मुद्दामा पर्सा जिल्ला अदालतबाट भएको २०५४।१२।१९ को फैसलाबमोजिम बारा जिल्लाअन्तर्गतको जग्गा २०५७।९।५ मा बन्डा छुट्टाएको विवादित बारा जिल्ला लिपनीमाल गा.वि.स.वडा नं.६ कि.नं.३, ८, ऐ.वडा नं. ७ कि.नं.३९, ४३, र ४९ को जग्गा कित्ताकाट गरी सुरसतियाले आफ्नो अंश भाग छुट्टाई लिएपछि बाँकी रहेको कि.नं.४३ बाट कित्ताकाट भई हाल कायमी कि.नं.१३१ को ज.वि.०-०-१२-८ मध्ये उत्तरतर्फबाट ज.वि.०-०-६-४ रामलखन महतो धानुक र दक्षिणतर्फबाट ज.वि.०-०-६-४ विष्णु महतो धानुक, साबिक कि.नं.३९ हाल कायम कि.नं.१३३ को ज.वि. ०-२-२-८ मध्ये उत्तरतर्फबाट ज.वि.०-१-१-४ रामलखन महतो धानुक र दक्षिणतर्फबाट ज.वि.०-१-१-४ विष्णु महतो धानुक, साबिक कि.नं.४९ बाट कित्ताकाट भई हाल कायमी कि.नं.१३५ को ज.वि. ०-०-१५-४ मध्ये उत्तरतर्फबाट ०-०-७-१० रामलखन महतो धानुक र दक्षिणतर्फबाट ०-०-७-१० विष्णु महतो धानुक, साबिक कि.नं ८ हाल कायम कि.नं.१८३ को ज.वि.०-१-६-११ मध्ये उत्तरतर्फबाट ज.वि.०-०-१३-५१/२ रामलखन महतो धानुक र दक्षिणतर्फबाट ज.वि.०-०-१३-५१/२ विष्णु महतो धानुक, साबिक कि.नं.३ हाल कायम कि.नं.१८५ को ज.वि. ०-३-६-४ मध्ये उत्तरतर्फबाट ज.वि.०-१-१३-२ रामलखन महतो धानुक र दक्षिणतर्फबाट ज.वि.०-१-१३-२ विष्णु महतो धानुकले दे.नं. १८८३ को अंश दर्ता मुद्दामा लिनु दिनु गरी मिति २०५९।५।२४ मा मिलापत्र गरी आ-आफ्नो नाममा दा.खा.दर्ता गरी जग्गा बन्डा गरी लिइसकेको देखिन्छ ।
६. यी वादीहरू वादी प्रतिवादी भई चलेको दे.नं.१८८३ को अंश चलन मुद्दामा वादीले मिति २०५८।५।११ मा दायर गरेको फिरादपत्रको प्रकरण नं.२ मा सुरसतियाले मिति २०५४।१२।१९ को फैसलाबमोजिम बन्डासमेत गरी दा.खा. दर्ता गरिसकेको र हाम्रो अंश भागको जग्गा मात्र दर्ता गर्न बाँकी रहेको भनी उल्लेख गरेको देखिन्छ । यसरी सुरसतियाले आफ्नो अंश भाग छुट्याई लिएबाट आफ्नो भागमात्र बाँकी रहेको भनी फिराद गरी दुवै वादी प्रतिवादी विष्णु महतो धानुक र रामलखन महतो धानुकले आपसमा मिलापत्र गरी सुरसतियाले छुट्याई लिएको जग्गा दा.खा. दर्ता गरी बाँकी रहेको जग्गा यी वादीहरूले मिलापत्रको माध्यमबाट आ-आफ्नो नाममा दा.खा. दर्ता गरिसकेपछि पूर्व मिलापत्रलाई स्वीकार गरेको अवस्थामा त्यसरी आफूले दिएको पूर्व फिराद तथा मिलापत्रमा उल्लिखित कुरालाई लोप गरी मिति २०६०।६।७ मा नक्कल लिई थाहा पाएको भनी फिराद गरेको देखिन्छ । तर सुरसतियाले बन्डा छुट्याई लिएको मिति २०५७।९।५ को बन्डा मुचुल्काबाट बाँकी रहेको जग्गालाई यी वादीहरूले आफूहरू बीचमा मिलापत्र गर्नुपूर्व कुनै चुनौती दिएको अवस्थासमेत छैन । फैसला कार्यान्वयनबाट सिर्जित परिणामलाई सम्बन्धित पक्षले स्वीकार गरी त्यस्तो कार्यान्वयनको परिणामको अंशसमेत आफूले प्राप्त गरेपछि स्वीकार गरिएको पूर्व परिणामलाई पछि अस्वीकार गरी दाबी गर्न मिल्ने होइन ।
७. वादीहरूले जुन बन्डा मुचुल्कालाई कानून विपरीत भनी दाबी गरेका छन् सोही बन्डा मुचुल्कामा यी वादीहरूको नामको अंश भाग बाँकी रहेको जग्गा नै आपसमा भागशान्ति हिसाबले बाँडी यी वादीहरूले मिति २०५९।५।२४ मा मिलापत्र गरेका छन् । यदि उक्त बन्डा मुचुल्का कानूनविपरीत थियो भने उक्त बन्डा मुचुल्कामा बाँकी रहेको जग्गालाई समावेश गरी मिलापत्र गर्नु हुँदैनथ्यो । तर त्यसो नगरी पूर्व बन्डा मुचुल्कामा उल्लिखित जग्गा भाग शान्ति लिई दे.नं. १८८३ को अंश मुद्दामा मिलापत्र गर्ने र पछि बन्डा मुचुल्का नै गैरकानूनी हो भनी दाबी गर्न वादीहरूलाई विबन्धन लाग्ने देखियो । एकपटक आफूले स्वीकार गरी त्यसबाट फाइदा लिइसकेपछि सोही विषयमा यस्तो होइन भनी दाबी लिन विबन्धनको सिद्धान्तविपरीत हुन जान्छ । अंश मुद्दाको मिलापत्रबाट पूर्व बन्डा मुचुल्कामा उल्लिखित जग्गा नै आफ्नो भाग शान्ति लिई कित्ताकाट गरी दा.खा.दर्ता नामसारीसमेतका कार्य पूरा गरिसकेको अवस्थामा पूर्व बन्डा मुचुल्कालाई मान्दैनौं भन्न वादीहरूलाई प्रमाण ऐन, २०३१ के दफा ३४ ले विबन्धन लाग्ने हुँदा एकपटक स्वीकार गरिसकेको विषयमा पुनः अस्वीकार गरी दाबी गर्न मिल्ने देखिएन ।
८. पूर्व फैसलाबमोजिम पूर्व फैसलाका वादीहरूले आफ्नो अंशभाग छुट्याउँदा यिनै वादीहरूको हकबाहेक गरी बाँकी राखी बन्डा मुचुल्का भएको र त्यस बन्डा मुचुल्काबमोजिम बाँकी रहेको जग्गालाई आफ्नो अंशभाग स्वीकार गरी यिनै वादीहरू वादी प्रतिवादी भई अंश मुद्दा दायर गरी मिलापत्रको माध्यमबाट आपसमा भाग शान्ति लगाई आ-आफ्नो नाममा दा.खा. दर्तालगायतका कार्य सम्पन्न गरिसकेपछि मात्र प्रस्तुत फिराद परेको छ । आफूलाई लाभ हासिल गर्दा कुनै कार्य वा निर्णयलाई मान्ने तर लाभ हासिल गरेपछि सोही कार्य वा निर्णय यस्तो थियो यस्तो हुनुपर्दथ्यो त्यस कार्य वा निर्णयबाट आफूहरूको साम्पत्तिक हकमा क्षति हुन गयो भनी प्रस्तुत गरिएका त्यस्तो दाबी व्यक्तिको द्वैध चरित्र हुँदा त्यस्तो दाबी मान्य हुन सक्दैन । कुनै कार्य वा निर्णयबाट मर्का परेको छ भने सो अवस्थामा कानूनी मार्ग अवलम्बन गर्नुपर्दछ । तर कानूनी मार्ग अवलम्बन नगरी कुनै निर्णयबाट सिर्जित परिणामलाई स्वीकार गरी आफूले लाभ हासिल गरेपछि सोही विषयलाई बदर माग गर्न वा चुनौती दिन मिल्ने देखिएन ।
९. अतः पर्सा जिल्ला अदालतको मिति २०५४।१२।१९ को फैसलाबमोजिम बारा जिल्लाअन्तर्गतको जग्गा सुरसतिया धनुकाइनले मिति २०५७।९।५ मा बन्डा छुट्याएको जिल्ला बारा लिपनीमाल गा.वि.स. वडा नं. ६ को साबिक कि.नं.३, ८, वडा नं. ७ को कि.नं. ३९, ४३ र ४९ का जग्गाहरू कित्ताकाट गरी निजले दा.खा दर्ता गरी सोही बन्डा मुचुल्कामा सो मुद्दाका प्रतिवादी यिनै वादीहरूको भाग बाँकी रहेकामा सोलाई स्वीकार गरी यिनै वादीहरूले दे.नं.१८८३ को अंश मुद्दामा साबिक कि.नं.३, ८, ३९, ४३, र ४९ बाट कित्ताकाट हुँदै हाल कायमी कि.नं.१३१, १३३, १३५, १८३ र १८५ का जग्गा आ-आफ्नो नाममा दर्ता हुने गरी मिति २०५९।५।२४ मा मिलापत्र गरी आफ्नो अंश भागसमेत लिई दा.खा. दर्तासमेत गरेको देखिएकाले बन्डा मुचल्काबाट प्राप्त सम्पत्ति अंशबन्डा गरी लाभ लिइसकेको विषयमा पछि नालेस गरेबाट त्यस्तो विषयमा दाबी गर्न विबन्धन र लाभको सिद्धान्तसमेतले नमिल्ने हुन्छ । यी कुरा तथ्यगत कुरा भएको देखिँदा आफूले लाभ लिइसकेपछि सो कुरा यस्तो होइन भनी निजले भन्न नमिल्ने हुँदा मिति २०५७।९।५ को बन्डा मुचुल्का बदर गरिपाउँ भन्ने वादी दाबी नपुग्ने ठहर्छ । मिति २०५७।९।५ को बन्डा मुचल्का बदर हुने ठहर गरेको पर्सा जिल्ला अदालतको फैसला सदर हुने ठहर गरेको पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।३।३० को फैसला मिलेको नहुँदा उल्टी हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसला उल्टी भई मिति २०५७।९।५ को बन्डा मुचुल्का बदर गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहरी फैसला भएकाले पुनरावेदन अदालत, हेटौंडाको मिति २०६५।३।३० को फैसलाको तपसिल खण्डको प्रकरण १ र पर्सा जिल्ला अदालतको मिति २०६१।१२।७ को फैसलाको तपसिल खण्डको प्रकरण नं.१ र २ मा राखेको लगत कायम नरहने हुँदा उक्त लगत कट्टा गर्नु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउनू ..........१
पर्सा जिल्ला अदालतको फैसलाउपर प्रतिवादीले पुनरावेदन अदालत, हेटौंडामा पुनरावेदन गर्दा पर्सा जिल्ला अदालतमा मिति २०६२।७।८ मा धरौटी रसिद नं.८३४ मा धरौटी राखेको कोर्ट फी रू.३००।- प्रतिवादीले फिर्ता पाउने हुँदा उक्त धरौटी रहेको कोर्ट फी फिर्ता पाउँ भनी कानूनको म्यादभित्र प्रतिवादीहरूको दरखास्त परे केही दस्तुर नलिई उक्त कोर्ट फी प्रतिवादीलाई फिर्ता दिनु भनी पर्सा जिल्ला अदालतमा लेखी पठाउनू .................................२
यसमा वादी दाबी नपुग्ने ठहरी फैसला भएकाले प्रतिवादीहरूले पुनरावेदन अदालत, हेटौंडा र यस अदालतमा पुनरावेदन गर्दा सुरू कोर्ट फीको १५ प्रतिशतले हुन आउने कोर्ट फी रू.९०।– वादीहरूबाट भरिपाउने हुँदा उक्त कोर्ट फी रू.९०।– वादीहरूबाट भरिपाउँ भनी कानूनको म्यादभित्र प्रतिवादीले दरखास्त दिएमा उक्त कोर्ट फी वादीहरूबाट प्रतिवादीहरूलाई भराइदिनु भनी पर्सा जिल्ला अदालतमा लेखी
पठाउनू ........................................................३
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ....................................४
उक्त रायमा सहमत छु ।
प्र.न्या.रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल मङ्सिर ७ गते रोज १ शुभम् ।
इजलास अधिकृत : दीपक ढकाल