निर्णय नं. ९३६४ - परमादेश

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
माननीय न्यायाधीश श्री सुशीला कार्की
आदेश मिति : २०७१।६।२२।४
०६८–WO–१०१०
मुद्दा : परमादेश
रिट / निवेदक : रौतहट जिल्ला, ब्रह्मपुरी गाउँ विकास समिति, वडा नं.२ घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.५ मालिगाउँ बस्ने अधिवक्ता राजीव सिन्हा राजु
विरूद्ध
विपक्षी : पशुपति क्षेत्र विकास कोष, गौशाला, काठमाडौंसमेत
प्रत्येक व्यक्तिले प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराअनुसार पूजा गर्न पाउनु मौलिक अधिकार भएको र परम्परादेखि चलिआएका त्यस्ता स्थापित पूजा परम्पराको निरन्तरतासमेत
हुनुपर्छ । परापूर्वदेखि चलिआएको धार्मिक आस्था एवम् मान्यतामाथि चोट पुग्नेगरी अन्यथा निर्णय गर्नुपनि मनासिब हुने देखिन्न । पूजा गर्दा विशेष पूजाको सामग्रीले असङ्गत प्रवेश पाउने र सामान्य पूजाले भने पशुपतिनाथको मूर्ति रहेको स्थलमा प्रवेश नपाई ढोका बाहिर नै थन्काउन पर्ने अवस्था वाञ्छनीय नहुने ।
(प्रकरण नं.६)
कुनैपनि भक्तले भक्तिको अभिव्यक्त गरेको अनुभूति नै गर्न नसक्ने गरी पूजा सामग्रीहरू नै बाहिरिन पर्ने अवस्था ठीक हुँदैन भने पूजा सामग्रीहरू चढाउने नाममा मूर्ति र सो रहेको क्षेत्रउपर नै क्षय वा ह्रास हुनेगरी नकारात्मक असर पर्न दिन पनि मनासिब हुँदैन । तसर्थ सम्बन्धित निकाय एवम् व्यक्तिहरूबाट सन्तुलित ढङ्गले पूजा व्यवस्थापन गर्नुपर्ने हुन आउने ।
(प्रकरण नं.७)
पूजा सामग्रीको शुद्धताको कुरालाई लिएर भगवानसमक्ष पुर्याउन बाधा परेको भन्ने पशुपति क्षेत्र विकास कोषको धारणा हो भनेपनि कोषले व्यवस्था गरेको सामग्री शुद्ध र अन्य व्यक्तिले आफ्नैतर्फबाट ल्याएको पूजा सामग्रीको शुद्धता छैन वा रहँदैन भन्ने कुराको विश्वास गर्न सकिने आधार पनि विपक्षीले दिन सकेको छैन । शुद्ध सामग्री चढाउन प्रोत्साहित गर्नु आफैँमा नराम्रो कुरा नभएपनि त्यसको प्रक्रिया वा संयन्त्र निर्धारण नगरी भक्तजनको पूजा सामग्री अशुद्ध भनी लान्छित गर्नु उचित नहुने ।
(प्रकरण नं.९)
पशुपतिनाथको मन्दिर सार्वजनिक स्थल भई धार्मिक हक एवम् आस्थाको विषय भएकामा यसको व्यवस्थापन गर्नु सार्वजनिक सरोकारको विषय भएको र पूर्व आदेश हुँदासमेत त्यससम्बन्धमा कारवाही चलाएको भएपनि त्यसको कार्यान्वयन नभएकोबाट आस्थाअनुसार पूजा गर्ने कार्यमा अवरोध भएको देखिन आउने ।
(प्रकरण नं.१०)
रिट / निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता राजीव सिन्हा राजु
विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ता कमलबहादुर बोगटी
अवलम्बित नजिर :
सम्बद्ध कानून :
नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३(१)
मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ को निमय ७९(१)
आदेश
न्या.कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ :
१. रिट निवेदन व्यहोरा:
म निवेदक हिन्दू धर्म कर्ममा अटुट विश्वास गर्ने नेपालको नागरिक हुँ । विगत १२, १५ वर्षदेखि झन्डै दैनिकरूपमा नै श्री पशुपतिनाथको मन्दिर जाने पुष्प बेलपत्र आदि श्री पशुपतिनाथको मूर्तिमा चढाइदिन भट्टज्यू, भण्डारीज्यूलाई दिने गरेको थिएँ साथै श्री पशुपतिनाथका मन्दिरको चार ढोका खुलेको समयमा आफैँ पनि परैबाट पुष्प बेलपत्र आदि श्री पशुपतिनाथको मूर्तिमा चढाउँदै आएको थिए ।
श्री पशुपतिनाथको मन्दिरमा पूजाका सम्बन्धमा परम्परादेखि चलिआएको परम्परागत धार्मिक रीतिस्थिति, प्रचलनविपरीत अचानक २०६८ चैत महिनाको अन्दाजी २६, २७ गतेदेखि श्री पशुपतिनाथको पूजा व्यवस्थामा परिवर्तन गरिएको भन्दै श्री पशुपतिनाथको दर्शन पूजा आराधना गर्न आउने सर्वसाधारण भक्तजनलाई श्री पशुपतिनाथको मूर्तिमा भट्टज्यू, भण्डारीज्यूको माध्यमले वा आफैँ पुष्प बेलपत्र चढाउन तथा निज भट्टज्यू भण्डारीज्यूहरूको बाहुलीबाट टीका थाप्न विपक्षीहरूबाट रोक लगाउनुका साथै श्री पशुपतिनाथको मूर्तिमा भट्टज्यू भण्डारीज्यूको माध्यमले वा आफैँ पुष्प बेलपत्र चढाउन तथा निज भट्टज्यू भण्डारीज्यूहरूको बाहुलीबाट टीका थाप्न चाहनेहरूले रू.१,१००।- को विशेष पूजा नाम भएको पूजा गर्न मन्दिरमा दर्शन गर्न आउनुभन्दा एकदिन अगावै भुक्तानी गरी सोको रसिद लिई आउनुपर्ने व्यवस्था मिलाएका रहेछन् ।
श्री पशुपतिनाथको मन्दिरमा पूजाका सम्बन्धमा परम्परादेखि चलि आएको परम्परागत धार्मिक रीतिस्थिति, प्रचलनविपरीत फूल बेलपत्र चढाउन तथा टीका थाप्न नपाउने सम्बन्धमा गरिएको परिवर्तन फुकुवा गरिपाउँ भन्नेसमेतको व्यहोराको म निवेदकले विपक्षी कोषसमक्ष मौखिकरूपमा अनुरोध गर्दै मिति २०६९।०१।१० मा सो को लागि निवेदन दिएको
थिएँ । सो निवेदन गरेपश्चात् दैनिकरूपमा विपक्षी कोषसमक्ष सम्पर्क गरी निवेदनबमोजिम फुकुवा गरिपाउन अनुरोध गरेपनि विपक्षीहरूले कुनै सुनुवाइ गर्नुभएन । तत्पश्चात् पुन: श्री पशुपतिनाथको पूजा व्यवस्थामा हाल कायम गरिएको बन्देज फुकुवाबारे त्यस कार्यालयमा दिएको निवेदनउपर भएको कारवाही आदिको जानकारी तथा निर्णयको प्रतिलिपि पाउँ भनी मिति २०६९।०१।१८ मा निवेदन गर्दासमेत विपक्षीहरूबाट कुनै पहल गरिएको छैन । यसरी पशुपतिनाथको मन्दिरमा परम्परादेखि पूजा चलिआएको रीतिस्थितिविपरीत दर्शनार्थीहरूले फूल बेलपत्रहरू चढाउन रोक लगाई संवैधानिक तथा कानूनी हक अधिकार हनन् हुन गएको र प्रस्तुत विषय सार्वजनिक सरोकारको विषय भएकाले सम्मानित अदालतसमक्ष प्रस्तुत रिट निवेदन लिएर उपस्थित भएको छु ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३ को उपधारा (१) मा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक प्रदान गरेको छ । पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ४ मा पशुपति क्षेत्रको विकासका लागि पशुपति क्षेत्र विकास कोषको स्थापना गरिएको छ । ऐ.ऐनको दफा ६.१.३ क. मा कोषको उद्देश्यभित्र “श्री पशुपतिनाथ मन्दिरलगायत पशुपति क्षेत्रभित्र रहेका राजगुठीअन्तर्गतका सबै देव देवीको मन्दिरहरूमा परम्परागत धार्मिक रीतिस्थितिबमोजिम सांस्कृतिक चाडपर्व तथा सामाजिक र लोककल्याणकारी कार्य, पूजाआजा सञ्चालनको व्यवस्था मिलाउने” भन्ने उल्लेख गरिएको छ । यस व्यवस्थाले पूजा आजाको सञ्चालनसम्बन्धमा समेत परम्परागत धार्मिक रीतिस्थितिबमोजिम नै व्यवस्था मिलाउनुपर्ने कर्तव्य विपक्षीहरूलाई सुम्पिएको छ । ऐ.ऐनको दफा ८ मा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को गठन गरी ऐ.ऐनको दफा १०.१.४ मा “श्री पशुपतिनाथ मन्दिरलगायत पशुपति क्षेत्रभित्र रहेका राजगुठीअन्तर्गतका सबै देव देवीका मन्दिरहरूमा पूजा आजा, पर्व, उत्सवलगायतका परम्परादेखि चलिआएका सबै किसिमका धार्मिक कार्यहरू र सो क्षेत्रमा परम्परागत रीतिस्थितिका अन्य कार्यहरू सञ्चालनको व्यवस्था गर्ने, गराउने” भन्ने उल्लेख छ । सोहीअनुरूप दफा १० को १०.१.४ ख. मा “पशुपति क्षेत्रको विकास तथा धार्मिक रीतिस्थितिबमोजिम कार्य सञ्चालन गर्नेसम्बन्धमा समयसमयमा अध्ययन, अनुसन्धान, कार्यशाला, गोष्ठी आदिको आयोजना गर्ने गराउने” भन्ने उल्लेख गरिएको छ । यी सबै दफाहरूमा गरिएको व्यवस्थाहरूबाट परम्परादेखि चलिआएको व्यवस्थाको प्रतिकूल हुने कुनै व्यवस्था गर्न नपाइने प्रस्ट देखिन्छ ।
अत: पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा ६.१ क, दफा १०.१.४ ख मा पूजा आजाको सञ्चालनसम्बन्धमा समेत परम्परागत धार्मिक रीतिस्थितिबमोजिम नै व्यवस्था मिलाउनु पर्ने कर्तव्य विपक्षीहरूलाई तोकिएको, मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ को नियम ८० समेतमा दर्शनार्थीहरूले फूल बेलपत्र चढाउन तथा टीका थाप्न पाउनेसम्बन्धमा कुनै रोकसमेत नलगाएको अवस्थामा सोको प्रतिकूल हुने गरी विपक्षीहरूबाट काम कारवाही गरिएको प्रस्ट हुन आएकाले नेपालको अन्तरिम संविधानको धारा, १०७(२) अनुसार परम्परादेखि चलिआएको परम्परागत धार्मिक रीतिस्थिति, प्रचलनअनुसार म निवेदकलगायत जो सुकै दर्शनार्थीहरूलाई फूल बेलपत्र चढाउन तथा टीका थाप्न दिनु दिलाउनु भनी विपक्षीहरूका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ । साथै प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्मलाई परम्परादेखि चलिआएको परम्परागत धार्मिक रीतिस्थिति, प्रचलनअनुसार फूल बेलपत्र चढाउन तथा टीका थाप्नबाट कुनै किसिमको रोक नलगाउनु भनी विपक्षीहरूको नाममा अन्तरिम आदेश जारी गरी प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तुसमेतलाई मध्यनजर राखी प्रस्तुत निवेदनलाई अग्राधिकार प्रदान गरी न्याय निरूपण गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदनपत्र ।
२. यस अदालतबाट भएको प्रारम्भिक आदेश:
यसमा के कसो भएको हो ? निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ लिई आफू वा आफ्नो प्रतिनिधिद्वारा उपस्थित हुनु भनी रिट निवेदनको एक प्रति नक्कल साथै राखी विपक्षीहरूलाई सम्बन्धित जिल्ला अदालतमार्फत सूचना पठाई लिखित जवाफ आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस
गर्नू । साथै अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफलको लागि मिति २०६९।०१।२७ को तारेख तोकी नियमानुसार गरी पेस गर्नु भन्नेसमेत व्यहोराको यस अदालत, एक न्यायाधीशको इजलासबाट मिति २०६९।०१।२२ मा भएको आदेश ।
निवेदकले मूलत: परम्परादेखि चलिआएको परम्परागत धार्मिक रीतिस्थिति र प्रचलनअनुसार पशुपतिनाथको दर्शन गर्दा दर्शनार्थीहरूलाई फूल, बेलपत्र चढाउन र टीका थाप्न दिनु दिलाउनु भन्ने परमादेशको आदेश माग गर्दै सो गर्नमा कुनै किसिमको रोक नलगाउनू भनी अन्तरिम आदेश माग गरेको
देखिन्छ । श्री पशुपतिनाथको दर्शन गर्न, पूजा गर्ने र भेटीघाटी चढाउने र सो चढाएको भेटीघाटीसमेत व्यवस्थित गर्ने प्रयोजनका लागि मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ बनाई लागू गरिएको देखिन्छ र सो विषयमा निवेदकले कुनै चुनौती दिएको देखिँदैन । उक्त नियमावलीको नियम ७८ मा मन्दिरमा चढाएको वा हातमा दिएको दक्षिणा भेटी, उपहार कोषमा दाखेल गराउनेसमेत व्यवस्था गरिएको देखिन्छ भने नियम ७९ मा पशुपति क्षेत्र विकास कोषले श्री पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थी र भक्तजनलाई सरल र व्यवस्थितरूपबाट दर्शन गर्न सक्ने व्यवस्था मिलाउने व्यवस्था गरिएको देखिन्छ । उक्त नियमावली र खास गरेर नियम ७८ र ७९ जस्ता प्रावधानको कार्यान्वयन गर्दा दर्शनार्थी र भक्तजनहरूको श्री पशुपतिनाथप्रतिको आस्था एवम् विश्वास तथा श्री पशुपतिनाथको दर्शन गर्दाको धार्मिक भावना र सन्तुष्टिलाई समेत हृदयङ्गम गर्दै मौजुदा कानून र नियमहरू तथा सोअन्तर्गत श्री पशुपतिनाथको हित संरक्षणको अतिरिक्त स्वयम् भक्तजनहरूको लागि श्री पशुपतिनाथको दर्शन सरल र व्यवस्थित गर्ने प्रयोजनको लागि थालिएको जनहितकारी बन्दोबस्तीको कुरामा प्रतिकूल असर पर्ने गरी कुनै काम गर्न गराउन वा गर्न दिन नहुने कुरा स्वत: सिद्ध छ । निवेदकको भनाई एवम् छलफलका क्रममा उठाइएको प्रश्नहरूको सन्दर्भमा विचार गर्दा निवेदकले दर्शनार्थ ल्याएको फूल, बेलपत्र आदि कुराहरू मन्दिरको ढोकाबाहिर नै राखिएको भाँडोमा राख्ने गरिएको र सो फूल, बेलपत्रादीहरू मन्दिरभित्र प्रवेश नै नपाई विसर्जन गर्ने गरिएको भई जुन आस्थाले फूल, प्रसादी ल्याएको हो सो गर्न नपाई प्रयोजनहीन भई आस्थामा चोट लागेको भन्ने मुख्य गुनासो रहेको पाइयो ।
भक्तजनहरूले ल्याएको फूल, बेलपत्र, प्रसाद आदि कुराहरू जसको लागि समर्पित गर्न खोजिएको हो सो प्रयोजनका लागि समर्पित भएको अनुभूति भक्तजनहरूले गर्न पाए कि पाएनन् भन्ने कुरा मूलत: धार्मिक आस्था र आत्मसन्तुष्टिको विषय भएको र त्यस्तो आस्था एवम् आत्मसन्तुष्टिमा धक्का लाग्ने काम प्रत्यक्ष वा परोक्षरूपमा पनि गर्न दिन नमिल्ने साथै त्यस्तो कुरामा स्वयम् पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनले समेत विचार गर्नुपर्ने
देखिन्छ । श्री पशुपतिनाथको पूजा दर्शन दैनिकरूपमा हजारौं दर्शनार्थीहरूले दर्शन गर्ने परिपाटी र व्यवस्थित गर्ने कुरा भएकाले प्रस्तुत निवेदनको रोहमा विचार गर्दा निवेदकले माग गरेको मन्दिरको भट्टबाट टीका लगाउने विषयका हकमा श्री पशुपतिनाथको टीका सर्वसाधारण भक्तजनहरूले ग्रहण गर्न निश्चित स्थानमा टीका उपलब्ध गराउने गरिएकोबाट टीका नपाएको भन्ने अवस्था नदेखिँदा त्यसमा खास आदेश गर्नुपर्ने अवस्था तत्काल देखिँदैन । सोबाहेक भक्तजनहरूले ल्याएको बेलपत्र, फूल, प्रसादहरू श्री पशुपतिनाथको मन्दिरको ढोकाअगाडि नै राखिएको भाँडोमा नै समर्पण गर्नुपर्ने र सो फूल, प्रसाद आदिले परम्परागतरूपमा जहाँसम्म मन्दिरभित्र पहुँच पाउने जस्तै भण्डारीले ग्रहण गरी नन्दीसम्म पुर्याउन सक्नेमा सो पनि गर्न नसकेको भन्ने गुनासो रहेको र त्यस्तो गर्न वर्तमान नियमावलीले कुनै रोक लगाएको वा बाधा गरेकोसमेत नदेखिएको हुँदा भक्तजनहरूले ल्याएको बेलपत्र, फूल आदि पशुपतिनाथको लागि भण्डारीले ग्रहण गर्नेसम्मको काम गरी भक्तजनको आस्था कायम गर्न नसकिने नदेखिएकाले सोबमोजिम व्यवस्था गर्नु, सो हदसम्म भक्तजनहरूलाई अवरोध नगर्नु, गर्न नदिनु भनी विपक्षी श्री पशुपति क्षेत्र विकास कोषको नाममा सर्वोच्च अदालत निमयमावली, २०४९ को नियम ४१ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको
छ । सोको सूचना विपक्षीलाई दिई नियमबमोजिम पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासको मिति २०६९।०२।०७ को आदेश ।
३. विपक्षीबाट पेस भएको लिखित जवाफ व्यहोरा:
पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को दफा २१ बमोजिम बनेको श्री पशुपतिनाथ मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ बमोजिम हाल पूजाआजाको व्यवस्था मिलाइएको व्यहोरा सम्मानित अदालतसमक्ष निवेदन गर्दछु । सो नियमावलीको परिच्छेद ७ मा भेटी दान तथा दक्षिणासम्बन्धी व्यवस्थाअन्तर्गत र परिच्छेद ८ मा दर्शनार्थीसम्बन्धी व्यवस्था गरिएको छ । श्री पशुपतिनाथमा चढाइने भेटीघाटी पारदर्शी बनाई श्री पशुपतिनाथमा सबैंको पहुँच पुर्याउने पवित्र उद्देश्यले नियमावलीको कार्यान्वयन हुँदा श्री पशुपतिनाथको मर्यादा रहन जाने हुन्छ । श्री पशुपतिनाथको सांस्कृतिक परम्परा र मर्यादालाई कायम राख्न पूजा आजा परिस्कृत गरी पूजारीलगायतको नियमितरूपमा पारिश्रमिकको व्यवस्था गरी सुव्यवस्थित र परिस्कृत गरी पारदर्शी बनाई ऐनले तोकेको कर्तव्य पूरा गरेको कार्यले विपक्षी र सर्वसाधारणको हितविपरीत भयो भन्न मिल्दैन ।
विपक्षीले रिट निवेदनपत्रमा उल्लेख गरेजस्तो श्री भट्टज्यू वा भण्डारीज्यूसमेतबाट मन्दिरको ढोकामा नै प्रत्येक दर्शनार्थीले टीका थाप्ने व्यवस्था मिलाउने कुरा सम्भव नभएकाले सम्पूर्ण दर्शनार्थीहरूले क्रमबद्धरूपमा पङ्क्तिमा उभिई दर्शन गरेपछि मन्दिरको प्राङ्गण पश्चिमतर्फ तोकिएको निश्चित स्थानमा परम्पराबमोजिम ६ जना भण्डारीहरूबाट पालैपालो मन्दिरभित्र श्रीका चरणमा चढेको टीका, प्रसाद र जल तथा फूलसमेत प्रदान गर्ने व्यवस्था गर्ने कार्य भइरहेको छ । यस तथ्यलाई अन्तरिम आदेशमा पनि अभिव्यक्त गरिएको छ । जहाँसम्म फूल वा बेलपत्रसमेत श्री पशुपतिनाथमा चढाउन पाउँ भन्ने जिकिर छ, सोको हकमा प्रत्येक दर्शनार्थीले पूजा अर्चनाको निमित्त साथमा लगेको बेलपत्र फूल प्रसादसमेत मन्दिरको ढोकामा नै राखेको ताम्रपत्रमा सङ्ग्रहित गरी मन्दिरको पश्चिमद्वारभित्र अवस्थित रहेका नन्दिसमेतमा पुर्याउने र श्रीका चरणमा स्पर्श गराउने व्यवस्था मिलाइएको
छ । यसैगरी प्रत्येक व्यक्तिले ल्याउने दूध र पञ्चामृत वा जलको हकमा पनि तोकेबमोजिम एकै ठाउँमा सङ्ग्रहित गरी चढाउने व्यवस्था मिलाइएकाले रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को तर्फबाट परेको लिखित जवाफ ।
यसमा भक्तजनहरूले ल्याएको बेलपत्र र फूल प्रसाद आदि पूजा सामग्री हाल के कसरी भगवान श्री पशुपतिनाथमा चढाउने काम भइरहेको छ, भक्तजनहरूलाई भगवान श्री पशुपतिनाथको टीका प्रसाद कुन कुन ढोकाबाट को-कसले प्रदान गर्छन्, भक्तजनहरूले आफूले ल्याएको दूध दही महलगायतका सामग्रीहरू भगवान श्री पशुपतिनाथमा अर्पण गर्नेसम्बन्धमा र भक्तजनहरूले शुल्क तिरी पूजा गर्ने र आफ्नै पूजा सामग्री ल्याई पूजा गर्ने सम्बन्धमा के-कस्तो व्यवस्था छ सोबारे स्थलगत जानकारी लिई प्रतिवेदन पेस गर्नका लागि यस अदालतका उपसचिव स्तरका तीनजना कर्मचारी खटाई निजहरूबाट प्रतिवेदन पेस भएपश्चात् ०६९-WO-०१२० नं. को परमादेशको निवेदनसमेत साथै राखी नियमानुसार पेस गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश ।
४. यस अदालतको आदेश:
नियमबमोजिम पेसी सूचीमा चढी पेस भएको प्रस्तुत निवेदनमा निवेदक विद्वान् अधिवक्ता श्री राजीव सिन्हा राजुले पशुपतिनाथको मन्दिरमा साबिकदेखि नै सबै भक्तजनले दूध, दही, मह, पुष्प बेलपत्र समेत चढाउँदै आएकामा हाल आएर सो परम्परालाई फेरबदल गरी समान पहुँचको अवस्थामा रोक लगाई निश्चित रकमको आधारमा प्रवेश दिने गरिएबाट सम्पूर्ण भक्तजनको आस्थामा चोट पुर्याइएको छ । नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३ ले प्रत्येक व्यक्तिलाई धर्मसम्बन्धी मौलिक हक प्रदान गरेकामा सो हकसमेतको विपरीत हुनेगरी घरबाट ल्याएको शुद्ध र पवित्ररूपमा रहेको फूल बेलपत्र चढाउन रोक लगाइएको कार्य संविधान एवम् ऐन, नियमावलीविपरीत हुँदा निवेदन मागबमोजिम परमादेश जारी गरिपाउँ भनी बहस गर्नुभयो ।
विपक्षी पशुपति क्षेत्र विकास कोषका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री कमलबहादुर बोगटीले पशुपतिनाथको मन्दिरमा सबै भक्तालुहरूले ल्याएको फूल, दूध, दही, मह परम्पराअनुसार नै चढाई आएको अवस्था छ । नेपालको अन्तरिम संविधान २०६३ को धारा २३ बमोजिमको निवेदकसमेतको अधिकारमा कुनै आघात पुर्याउने काम नभएको र पशुपति क्षेत्र विकास कोष (मन्दिर तथा पूजा व्यवस्था) नियमावली, २०६८ मा उल्लेख भएबमोजिमको व्यवस्थाबमोजिम पूजा व्यवस्थापन गरिएकाले रिट निवेदन जारी हुने अवस्था छैन, रिट निवेदन खारेज गरिपाउँ भनी बहस गर्नुभयो ।
निवेदक अधिवक्ता एवम् विपक्षीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताले प्रस्तुत गर्नुभएको उपर्युक्त उल्लिखित बहस सुनी मिसिल संलग्न कागजातहरूको अध्ययन गरी निवेदन मागबमोजिमको आदेश जारी हुने हो होइन, सोही सम्बन्धमा निर्णय दिनु परेको छ ।
२. निर्णयतर्फ विचार गर्दा यसमा पशुपतिनाथको मन्दिरमा परम्परादेखि पूजा सम्बन्धमा चलि आएको रीतिस्थितिविपरीत भक्तजनहरूले ल्याएको शुद्ध दूध, दही, मह, पुष्प बेलपत्र चढाउन नपाउने तथा टीका ग्रहण गर्न नपाउने गरी गरेको बन्देजबाट म निवेदकसमेतको संवैधानिक तथा कानूनी हक अधिकार हनन् हुन गएकाले म निवेदकलगायत जोसुकै दर्शनार्थीहरूलाई फूल बेलपत्र चढाउन तथा टीका थाप्न दिनु दिलाउनु भनी परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेतको निवेदन मागदाबी भएकामा विपक्षी पशुपति क्षेत्र विकास कोषसमेतका तर्फबाट परेको लिखित जवाफमा नेपालको अन्तरिम संविधान, २०६३ एवम् पशुपति क्षेत्र विकास कोष (मन्दिर तथा पूजा व्यवस्था) नियमावली, २०६८ बमोजिम पूजा व्यवस्थापन गरिएको र निवेदकको जिकिरअनुसार फूल प्रसाद चढाउन रोक नलगाइएको हुँदा रिट निवेदन जारी हुने अवस्था छैन, रिट निवेदन खारेज गरिपाउँ भन्नेसमेत उल्लेख गरेको पाइन्छ ।
३. यसमा निवेदकले पशुपतिनाथको मन्दिरमा परम्परादेखि पूजाआजा गर्दै आएकामा विपक्षीले विशेष पूजाका नाममा म निवेदकसमेतको मौलिक हकसमेतको हनन् गरी सो पूजा गर्न एवम् फूल प्रसाद चढाउनसमेत रोक लगाएकाले विपक्षी उपर परमादेश जारी गरिपाउँ भन्नेसम्बन्धमा सर्वप्रथम यस सन्दर्भमा नेपालको अन्तरिम संविधान, २०६३ एवम् पशुपति क्षेत्र विकास कोष (मन्दिर तथा पूजा व्यवस्था) नियमावली, २०६८ मा उल्लिखित प्रावधान अवलोकन गर्नु वाञ्छनीय हुन्छ ।
४. नेपालको अन्तरिम संविधान, २०६३ को धारा २३(१) मा “प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक हुनेछ” भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी पशुपतिनाथको दर्शन गर्न, पूजा गर्न र भेटीघाटी चढाउने र सो चढाएको भेटीघाटीसमेत व्यवस्थित गर्ने प्रयोजनका लागि मन्दिर तथा पूजा व्यवस्था नियमावली, २०६८ बनाई लागू गरिएको र सो नियमावलीको नियम ७९(१) मा “कोषले श्री पशपतिनाथको दर्शनार्थ आउने प्रत्येक दर्शनार्थी तथा भक्तजनहरूलाई सरल र व्यवस्थितरूपबाट श्री पशुपतिनाथको दर्शन गर्नसक्ने व्यवस्था मिलाउने छ” भन्नेसमेत उल्लेख भएको पाइन्छ ।
५. निवेदकले उपर्युबमोजिम संविधान एवम् नियमावलीमा उल्लिखित प्रावधानबमोजिम नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थ ल्याएको फूल, बेलपत्र आदि कुराहरू मन्दिरको ढोकाबाहिर नै राखिएको भाँडामा राख्ने गरिएको र सो फूल बेलपत्रहरू मन्दिरभित्र प्रवेश नै नपाई विसर्जन गरिएबाट निवेदकको धार्मिक आस्थामा चोट पुगेको भन्ने निवेदन दाबी देखिन्छ ।
६. उपर्युक्तबमोजिम संविधानमा उल्लिखित प्रावधानअनुसार प्रत्येक व्यक्तिले प्रचलित सामाजिक एवम् सांस्कृतिक परम्पराअनुसार पूजा गर्न पाउनु मौलिक अधिकार भएको र परम्परादेखि चलिआएका त्यस्ता स्थापित पूजा परम्पराको निरन्तरतासमेत हुनुपर्छ । यसरी परापूर्वदेखि चलिआएको धार्मिक आस्था एवम् मान्यतामाथि चोट पुग्नेगरी अन्यथा निर्णय गर्नुपनि मनासिब हुने देखिन्न । पूजा गर्दा विशेष पूजाको सामग्रीले असङ्गत प्रवेश पाउने र सामान्य पूजाले भने पशुपतिनाथको मूर्ति रहेको स्थलमा प्रवेश नपाई ढोकाबाहिर नै थन्काउन पर्ने अवस्था वाञ्छनीय छैन ।
७. कुनैपनि भक्तले भक्तिको अभिव्यक्त गरेको अनुभूति नै गर्न नसक्ने गरी पूजा सामग्रीहरू नै बाहिरिन पर्ने अवस्था ठीक हुँदैन भने पूजा सामग्रीहरू चढाउने नाममा मूर्ति र सो रहेको क्षेत्रउपर नै क्षय वा ह्रास हुनेगरी नकारात्मक असर पर्न दिन पनि मनासिब हुँदैन । तसर्थ सम्बन्धित निकाय एवम् व्यक्तिहरूबाट सन्तुलित ढङ्गले पूजा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
८. भक्तजनले ल्याएको पूजा सामग्रीलाई मूर्ति रहेको गर्भगृहसम्म भट्ट र भण्डारीले चढाउने, पूजा गर्नेसमेतका कार्यको व्यवस्थापन गर्नुपर्ने
हुन्छ । नन्दी रहेको क्षेत्र पनि पशुपति भगवानको क्षेत्र रहने हुनाले सो स्थानसम्म भएपनि पूजा प्रसादहरूलाई प्रवेश दिन यस अदालतबाट अन्तरिम आदेश भएकामा सोको पनि पूर्ण र यथार्थ कार्यान्वयन भएको भन्ने प्राप्त प्रतिवेदनबाट समेत देखिन आएन । यसको साथै अदालतको आदेशबमोजिम काम गर्न भण्डारी र भट्टबीचको समन्वय आवश्यक भए सोसमेतको जो चाहिने व्यवस्था गर्नुपनि पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी हुने हुनाले समस्या देखाएर भक्तजनको पूजा सामग्रीको उपेक्षा गर्न दिन मिल्ने देखिँदैन ।
९. सर्वसामान्यत: पूजा सामग्रीको शुद्धताको कुरालाई लिएर भगवानसमक्ष पुर्याउन बाधा परेको भन्ने पशुपति क्षेत्र विकास कोषको धारणा हो भनेपनि कोषले व्यवस्था गरेको सामग्री शुद्ध र अन्य व्यक्तिले आफ्नैतर्फबाट ल्याएको पूजा सामग्रीको शुद्धता छैन वा रहँदैन भन्ने कुराको विश्वास गर्न सकिने आधार पनि विपक्षीले दिन सकेको छैन । शुद्ध सामग्री चढाउन प्रोत्साहित गर्नु आफैँमा नराम्रो कुरा नभएपनि त्यसको प्रक्रिया वा संयन्त्र निर्धारण नगरी भक्तजनको पूजा सामग्री अशुद्ध भनी लान्छित गर्नु उचित हुँदैन ।
१०. यस अदालतको आदेशबमोजिम काम गर्न नियममा व्यवस्था गरी वा अन्य काम गरी व्यवधान गर्न दिन सकिँदैन । पशुपति क्षेत्र विकास कोषको जिम्मेवारी भनेको भक्तजनहरूले आफ्नो आस्था र क्षमताअनुसार पूजा गर्न बाधा गर्ने नभै त्यसमा सहजीकरण गर्ने हो । भट्ट वा भण्डारीको कुनै समस्या देखाएर पूजा प्रक्रियामा अवरोध गर्नु कोषको स्वाभाविक जिम्मेवारीभित्र पर्दैन । पशुपतिनाथको मन्दिर सार्वजनिक स्थल भई धार्मिक हक एवम् आस्थाको विषय भएकामा यसको व्यवस्थापन गर्नु सार्वजनिक सरोकारको विषय भएको र पूर्व आदेश हुँदासमेत त्यससम्बन्धमा कारवाही चलाएको भएपनि त्यसको कार्यान्वयन नभएकोबाट आस्थाअनुसार पूजा गर्ने कार्यमा अवरोध भएको देखिन आयो ।
११. तसर्थ पशुपतिनाथको पूजामा विशेष वा साधारणको रूपमा वर्गीकरण गरी एउटालाई गर्भगृहसम्म प्रवेश गर्न दिने र अर्कालाई इन्कार गर्ने जस्ता भेदभावपूर्ण र अवरोधजन्य कार्य
नगर्नू । भक्तजनलाई नै पशुपतिनाथबाट विच्छेद गर्ने वा निरूत्साहित गर्ने किसिमको काम गर्न कोष खडा गरेको नहुँदा भक्तजनको आस्था सकारात्मकरूपले जोगाइ राख्न र धार्मिक आस्थाको जगेर्ना गरी राख्न निवेदकको सरोकारको उपेक्षा गर्न नमिल्ने हुँदा विना भेदभाव पूजा सामग्रीको हकमा आवश्यक परीक्षण वा सर्त तोक्नुपर्ने भए तोकी पूजा गर्न ल्याएको सामग्रीहरू मूर्ति रहेको क्षेत्रभित्र अर्थात्् ढोकाभित्र सम्भव भएसम्म गर्भगृहभित्र नन्दी रहेको क्षेत्रसम्म प्रवेश दिन अविलम्ब जो चाहिने व्यवस्था गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेश जारी हुने ठहर्छ । सोको कार्यान्वयन अविलम्ब गरी त्यसको प्रतिवेदन १ महिनाभित्र पठाउन विपक्षीलाई लेखी पठाई प्रतिवेदन प्राप्त भएपछि यस इजलाससमक्ष पेस गर्नु भन्नेसमेत आदेश जारी हुने ठहर्छ । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.सुशीला कार्की
इति संवत् २०७१ साल असोज २२ गते रोज ४ शुभम् ।
इजलास अधिकृत : कमलप्रसाद ज्ञवाली