शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३६५ - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७१।५।६।६

०७०-RC-००६४

 

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी : रतन दमाईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : सुर्खेत जिल्ला, तरंगा गा.वि.स. वडा नं. ५ घर भई हाल बालसुधार गृह भक्तपुरमा रहेका कृष्ण भन्ने देवेन्द्र नेपाली

 

आधार र कारण बेगर नै राज्यले लिएको दण्ड नीतिकै विपरीत हुने गरी अ.ब.१८८ नं. बमोजिम सजाय घटाउँदै जाने प्रवृत्तिले न त पीडितको भावनामा पुग्न गएको चोटलाई कम गर्न नै मद्दत गर्छ न त दण्डहीनताको स्थितिमा कमी ल्याउनमा नै मद्दत गर्छ । यस्तो विषयमा न्यायकर्ता सधैँ होसियार रहन जरूरी हुने । 

(प्रकरण नं.७)

फौजदारी कसुरमा १६ वर्ष नपुगेकालाई वयस्क अपराधीलाई हुने सरहको सजाय नगरी कम सजाय गर्ने आधार नै सजाय घटाउने आधारको रूपमा बुझ्नुपर्ने 

हुन्छ । १६ वर्ष पुग्नलाई सामान्य समयको मात्र अन्तर बाँकी रहेकै कारणले त्यस्तो व्यक्तिले अपराधको मतलब र परिणामलाई सम्झन र बुझ्न नसक्ने अवस्थामा रहेकै हुन्छ भन्न नसकिने र १६ वर्ष पुग्न लागेको व्यक्तिमा वयस्कताको लक्षण देखिइसक्ने नै हुँदा त्यस्तो व्यक्तिलाई कानूनले दिन मिल्नेभन्दा बढी रियायत दिन मिल्दैन । कर्तव्य ज्यान जस्तो सङ्गीन र गम्भीर किसिमको फौजदारी मुद्दामा प्रतिवादीलाई उसले घटाएको अपराधको मात्रा अनुसारको उपयुक्त सजायको निर्धारण गरी सुधार गर्नु र पीडितलाई मानवोचित एवम्‌ न्यायोचित तरिकाले न्याय प्रदान गर्न सक्नुपर्ने ।

(प्रकरण नं.८)

 

वादीका तर्फबाट :

प्रतिवादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(१)(३) नं.

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ (१) नं., १८८ नं.

सुरू फैसला गर्ने :

मा.जि.न्या. श्री कृष्णबहादुर थापा

पुनरावेदन तहमा फैसला गर्ने :

मा.का.मु.मु.न्या. श्री विश्वनाथ जोशी

मा.न्या. श्री भूपेन्द्रप्रसाद राई

 

फैसला

न्या.कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, सुर्खेतको मिति २०६७।८।६ को फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १० र मुलुकी ऐन, अ.ब. १८६ नं. बमोजिम साधक जाँचका लागि जाहेर भई आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम छ :

 

रतन दमाईले दिएको जाहेरी दरखास्तको सङ्क्षिप्त व्यहोरा : 

मेरो भाइ निरक दमाईलाई मिति २०६५।७।१४ गते साँझ अं. ५.०० बजेको समयमा सुर्खेत तरंगा गा.वि.स. वडा नं. ५ बस्ने वर्ष १७ को देवेन्द्र नेपालीले धारिलो खुकुरीले छातीसमेतको भागमा प्रहार गरी कर्तव्य गरी मारेकाले निजलाई कानूनबमोजिम कारवाही गरिपाउँ ।

 

लास जाँच मुचुल्काको व्यहोरा :

बायाँ कुममा दुई ठाउँमा र छातीको बीचमा १ इन्चको गहिरो घाउ चोट भएको ।

 

लुगासमेत बरामद गरेको २०६५।७।१६ को बरामदी खानतलासी मुचुल्काको व्यहोरा :

बींडदेखि टुप्पोसम्मको लम्बाई ९ इन्च भएको सानो खुकुरी थान १, मृतक निरक दमाईले वारदातको समयमा लगाएको खैरो रंगको पाइन्ट थान १, प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीले वारदातको समयमा लगाएको पहेँलो रंगको भेस्ट थान १, मृतकको शरीरबाट निकालिएको रगतको स्वाम्प सिसी थान १ बरामद भएको ।

 

पोस्टमार्टम रिपोर्टको व्यहोरा :

मुटुमा चोट लागेको कारण मृतकको मृत्यु भएको (Hypolumic shock due to cardiac injury) हो ।

 

प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीले मौकामा गरेको बयानको सङ्क्षिप्त व्यहोरा :

मृतक निरक दमाई र मबीच झगडा भई हानाहान भए तापनि मेरो उक्त समयमा ज्यानमार्ने मनसाय थिएन । वारदात मिति र समयमा मेरो जेठीपट्टिको माहिलो दाइ निरक दमाईले पुनः मेरो घरमा आई मलाई गाली गलौज, कुटपिट गरेकाले सोही अवस्थामा रिसको आवेशमा आई निज दाजुको ज्यानमार्ने मनसाय बनाई मैले आफ्नो घरमा मासु काटी राखेको चक्कु (सानो खुकुरी) समाई निज दाजु निरक दमाईको छाती तथा मुटुको भागमा सो खुकुरी एक पटक रोपी अर्को पटक हातको भागमा सोही खुकुरीले प्रहार गरी काटी निज निरक नेपालीलाई कर्तव्य गरी मारेको हुँ ।

 

जाहेरवालालगायतका बुझिएका व्यक्तिहरूले प्रहरीमा गरेको कागजको व्यहोरा :

प्रतिवादी भन्ने देवेन्द्र नेपालीले वारदात भएको मिति  र समयमा जाहेरवाला रतन दमाई र मृतक निरक दमाईलाई आफ्नै घर आँगनमा गाली गलौज गरी कुटपिट गरी देवेन्द्र नेपालीले आफ्नो साथमा लुकाई राखेको चक्कु (सानो खुकुरी) निकाली एक्कासी मृतक निरक दमाईको छाती तथा मुटुमा रोपी रक्ताम्य बनाई जमिनमा लडाइसकेपछि प्राथमिक उपचारको क्रममा मृतक निरक दमाईको मृत्यु हुन गएको हो ।

 

वादी नेपाल सरकारको तर्फबाट सुरू सुर्खेत जिल्ला अदालतमा दायर भएको अभियोग पत्र :

कृष्ण भन्ने देवेन्द्र नेपालीले मृतक निरक दमाईलाई चक्कु प्रहार गरी कर्तव्य गरी मारेको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. को कसुर गरेको हुँदा निजलाई सोही महलको १३(१) नं. बमोजिम सजाय गरिपाउँ ।

 

प्रतिवादी देवेन्द्र नेपालीले सुरू सुर्खेत जिल्ला अदालतमा गरेको बयान :

मैले ज्यान मार्ने मनसायले पूर्व रिसइवी लिई मृतक निरक दमाईलाई चक्कु प्रहार गरेको नभई निज निरक दमाईले मलाई कुटपिटसमेत गरेकाले मैले आवेशमा आई उठेको रिस थाम्न नसकी आफूसँग भएको चक्कुले मृतक निरक दमाईलाई प्रहार गरेको हुँ ।

 

प्रहरीमा कागज गर्ने व्यक्तिहरूले सुर्खेत जिल्ला अदालतमा गरेको बकपत्रको सङ्क्षिप्त व्यहोरा :

प्रतिवादी र मृतक दुई आमापट्टिका छोरा 

हुन् । पहिला झगडा भएकामा छुट्याइसकेपछि पुनः झगडा भई प्रतिवादीले मृतकलाई चक्कुले हानेपछि मृतक निरक दमाई भुइँमा रगताम्य भई ढलेपछि प्राथमिक उपचारको क्रममा निजको मृत्यु भएको हो ।

सुरू सुर्खेत जिल्ला अदालतबाट मिति २०६६।१०।२७ मा भएको फैसला :

मृतक निरक नेपालीको मृत्यु प्रतिवादी देवेन्द्र नेपालीले हानेको खुकुरीको चोटको कारण भएको हो भन्ने जाहेरवाला रतन दमाईको बकपत्र । प्रतिवादीले मृतकलाई बरामद हुन आएको खुकुरीले छातीसमेतमा हान्दा मृत्यु भएको भन्ने पुष्टि भई प्रतिवादीले अभियोग माग दाबीबमोजिम कसुर गरेको र भेरी माध्यमिक विद्यालय तरंगा, सुर्खेतको मिति २०६५।८।२ च.नं. ६३ को पत्रले प्रतिवादीको जन्म मिति २०५०।२।१४ भन्ने उल्लेख भई आएकाले प्रतिवादीको उमेर १५ वर्ष भन्ने देखियो तसर्थ प्रतिवादी देवेन्द्र दमाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र सो कैद बालबालिका सम्बन्धी ऐन, २०४८ को दफा ११ को ३ बमोजिम आधा सजाय हुने ठहर्छ । प्रतिवादीको मृतकसँग पूर्व रिसइवी पनि केही नभएको र कर्तव्य ज्यानको घटना आकस्मिकरूपमा भएको तथा प्रतिवादी १६ वर्ष मुनिको नाबालक भन्ने देखिँदा ठहरेको सो आधा सजाय पनि चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.ब. १८८ नं. बमोजिम ४ वर्ष कैद हुन रायसहित साधक जाहेरको लागि यो फैसलासहित मिसिल श्री पुनरावेदक अदालत, सुर्खेतमा पठाइदिनू ।

 

प्रतिवादी देवेन्द्र नेपालीले पुनरावेदन अदालत, सुर्खेतमा दिएको पुनरावेदनको व्यहोरा :

मृतकको ज्यान लिने मेरो इविलाग वा मनसाय नभएको र केवल होस नपुर्‌याई तत्काल आवेशमा आई गरेको कामबाट मृतकको ज्यान मर्न गएको अवस्थामा मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ५(२) नं. बमोजिम सजाय गरी त्यसमा पनि बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा सजाय गर्नुपर्नेमा सो ऐन प्रयोग नगरी ज्यानसम्बन्धीको महलको १३(१) बमोजिमको कसुर कायम गरी सर्वस्वसहित जन्मकैद गर्ने ठहर्‌याई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सोको आधा सजाय हुने गरी भएको सुर्खेत जिल्ला अदालतको त्रुटिपूर्ण फैसला बदर गरी ज्यानसम्बन्धीको महलको ५(२) नं. र बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) र  ५०(२) नं. बमोजिम गरी ज्यानसम्बन्धीको महलको ६ नं. बमोजिम हुने सजाय तत्काल भोग्नु नपर्ने गरी स्थगित राखिपाऊँ ।

 

पुनरावेदन अदालत, सुर्खेतको मिति २०६७।०८।०६ को फैसला :

प्रतिवादी देवेन्द्र नेपालीले मृतक निरक दमाईलाई मैले हानेको चक्कुको प्रहारबाट मृत्यु भएको भन्ने बयानलाई लास जाँच मुचुल्का, पोस्टमार्टम रिपोर्टसमेतबाट तथा चस्मदिद भनीएका धनरूपा रोकायको बकपत्रसमेतबाट पुष्टि भएकाले मृतक निरक दमाईको मृत्यु प्रतिवादी देवेन्द्र नेपालीले प्रहार गरेको चक्कु खुकुरीबाट मृत्यु भएको भन्ने कुरामा विवाद नदेखिएबाट प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने र प्रतिवादीको उमेर १५(पन्ध्र) वर्षको देखिएकाले सो कैद बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११ को ३ बमोजिम सजाय हुने ठहराई र यी प्रतिवादी देवेन्द्र नेपाली १६ वर्षभन्दा मुनिको नाबालक भएको यी प्रतिवादी र मृतकको बीचमा कुनै पूर्व रिसइबी झैझगडा केही नभएको आकस्मिकरूपमा घटना घटेको स्थिति देखिएबाट प्रतिवादी नाबालकले सोच समज गर्न सक्ने स्थिति नरहन सक्ने स्थिति देखिएसमेतबाट सोको आधार सजाय पनि चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.ब. १८८ नं. बमोजिम ४ वर्ष  हुन रायसहितको सुर्खेत जिल्ला अदालतको मिति २०६६।१०।२७ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदन प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन ।

 

इन्साफ खण्ड :

पुनरावेदन अदालत, सुर्खेतको फैसला साधकको रोहबाट जाँच हुनको लागि नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको देखियो । प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, सुर्खेतले गरेको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय दिनुपरेको छ ।

यसमा मेरो भाइलाई देवेन्द्र नेपालीले धारिलो खुकुरीले छातीमा प्रहार गरी कर्तव्य गरी मारेकाले कानूनबमोजिम कारवाही गरिपाउँ भनी रतन दमाईको जाहेरीबाट प्रस्तुत मुद्दाको प्रारम्भिक अनुसन्धान भई देवेन्द्र नेपालीले ज्यानसम्बन्धीको महलको १३(१) नं. विपरीत कसुर गरी मृतकलाई मारेको देखिन आई निजउपर सर्वस्वसहित जन्मकैदको मागदाबी लिई अभियोग दायर भएको र प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीउपर सर्वस्वसहित जन्मकैद हुने ठहर्‌याई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) अनुसार आधा सजाय हुनेमा अ.ब. १८८ नं. बमोजिम प्रतिवादीलाई ४ वर्षमात्र कैद गर्ने रायसमेत व्यक्त गरी सुर्खेत जिल्ला अदालतबाट भएको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत, सुर्खेतबाट फैसला भएको देखियो । उक्त फैसलामा कानूनी त्रुटि रही आफूलाई अन्याय भएको भनी प्रतिवादी देवेन्द्र नेपालीले यस अदालतसमक्ष पुनरावेदन गरेकामा पछि पुनरावेदनको दाबी पुर्‌याउन सक्दिन भनी मुद्दा फिर्ता लिएको अवस्थासमेत मिसिलबाट देखिन्छ । प्रतिवादीको मागबमोजिम निजले दायर गरेको पुनरावेदन फिर्ता लिन अनुमति दिइएको भए पनि निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भएको पुनरावेदन अदालत, सुर्खेतको फैसला मुलुकी ऐन, अ.ब. १८६ नं. बमोजिम साधकको रोहबाट जाँची मुद्दा किनारा गर्नुपर्ने कानूनी व्यवस्था रहेबाट प्रस्तुत मुद्दा साधकको दायरीमा दर्ता भई निर्णयार्थ इजलाससमक्ष पेस हुन आएको देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, कृष्ण भन्ने देवेन्द्र नेपालीउपर निरक नेपालीलाई खुकुरी प्रहार गरी कर्तव्य गरी मारेकाले कारवाही गरिपाउन मृतकका दाजुबाट किटानी जाहेरी परेको देखिन्छ । मृतक लासको पोस्टमार्टम गरी चिकित्सकले दिएको प्रतिवेदनमा मुटुमा चोट लागेको कारण मृत्यु भएको (Hypolumic shock due to cardiac injury) भन्ने देखिन्छ । मृतकसँग पूर्व रिसइवी केही नभए पनि निजले कुटपिट गरी गाली गलौज गरेको कारणबाट आवेशमा आई मासु काटी राखेको सानो चक्कु (सानो खुकुरी) ले निरक दमाईको छाती तथा मुटुको भागमा पटकपटक रोपी हातमा समेत प्रहार गरी कर्तव्य गरी मारेको हुँ भनी प्रहरीसमक्षको बयानका साथै अदालतमा समेत साबित रही प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीले बयान गरेको अवस्था देखिन्छ ।

३. मृतकको लास जाँच प्रकृति मुचुल्कामा छाती तथा कुममा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ भने बरामद भएको खुकुरी परीक्षण गर्न पठाइएकामा Center Police Forensic Laboratory बाट सो खुकुरीमा लागेको रगत मानव रगत हो भनी परीक्षण प्रतिवेदन प्राप्त भएको, मृतक निरक दमाईलाई देवेन्द्र नेपालीले छातीमा खुकुरी प्रहार गरी मारेको भनी मृतकका दाजुले दिएको जाहेरी व्यहोरालाई समर्थन हुने गरी निज जाहेरवाला अदालतमा आई बकपत्र गरिदिएको साथै चस्मदिद गवाह भनीएकी धनमाया रोक्काले मृतकले प्रतिवादीलाई भकाभक हानेपछि प्रतिवादीले चक्कुले हानेछ एकैचोटि मृतक ढलेको देखेँ भनी अदालतमा बकपत्र गरेको अवस्थाबाट प्रतिवादीको कसुर स्थापित भएको देखिन्छ ।

४. प्रतिवादीले घटाएको वारदात भवितव्य हो वा मनसाय प्रेरित हो भन्ने सम्बन्धमा हेर्दा चक्कु जस्तो धारिलो हतियारले मुटु जस्तो संवेदनशील अङ्गमा चोट पुग्ने गरी छातीमा रोपेको र सोही खुकुरीले अर्को पटक हातमा समेत प्रहार गरी काटेको देखिएको हुँदा खुकुरी जस्तो जोखिमी हतियारले पटकपटक प्रहार गरेको घटनालाई भवितव्य हो भनी विश्लेषण गर्न मिल्दैन । प्रतिवादीले मृतकमाथि गरेको प्रहारको यस्तो अवस्थालाई वस्तुगत आधारमा मूल्याङ्कन गर्दा प्रतिवादीले मार्ने मनसाय नै लिई मृतकलाई मारेको भन्ने प्रस्ट हुन्छ ।

५. यसरी प्रतिवादीले घटाएको कसुर मनसाय प्रेरित हत्याको रूपमा प्रमाणित भएको अवस्थामा प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१)नं. को कसुरमा ऐ. को १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‌याई निज प्रतिवादी १५ वर्ष उमेरको देखिएकोबाट बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(१) बमोजिम ठहरेबमोजिमको सजायको आधा सजाय हुने ठहर्‌याएको हदसम्म सुर्खेत जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, सुर्खेतको मिति २०६७।८।६ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी कम उमेरको रहेको र मृतक र प्रतिवादीबीच पूर्व रसिइबी नदेखिएको भन्ने आधारमा मुलुकी ऐन, अ.ब. १८८ नं. बमोजिम प्रतिवादीलाई निर्धारित सजाय नगरी ४ वर्ष मात्र कैद गर्न उपयुक्त हुने भनी सजाय घटाउन प्रस्ताव गरेको सुर्खेत जिल्ला अदालतको रायलाई पनि समर्थन गरेको मनासिब देखिएन ।

६. मुलुकी ऐन, अ.ब. १८८  नं. बमोजिम राय व्यक्त गरी प्रतिवादीलाई निर्धारण गरिएको सजाय घटाउने सम्बन्धमा यस अदालतबाट यसअघि कैयौँ मुद्दाहरूमा प्रतिवादीको उमेर, वारदात घट्दाको परिस्थितिको विश्लेषण, प्रतिवादीले आश्रितलाई पालनपोषण गर्न पर्ने अवस्था, प्रतिवादीद्वारा पीडितलाई प्रहार गरिएको प्रहारको प्रकृति, पीडितलाई पुग्न गएको क्षतिको विश्लेषणसमेतको आधारमा सजाय घटाइएको पाइन्छ । प्रतिवादीको उमेर कम हुनु र मृतकसँग पूर्वरिसइबी नरहनुमात्र अ.ब. १८८ नं. बमोजिम प्रतिवादीलाई निर्धारित गरिएको सजायलाई घटाउने पर्याप्त तत्त्वहरूको रूपमा ग्रहण गरी प्रतिवादीलाई सजायमा रियायत दिन फौजदारी न्यायको दृष्टिबाट मिल्छ भनेर व्याख्या गर्दै जाने हो भने यसैबाट लाभ लिई आपराधिक गतिविधिहरूमा वृद्धि हुँदै जाने 

हुन्छ । प्रतिवादीलाई निर्धारण गर्ने सजायको लागि उसले घटाएको वारदातलाई समग्रतामा अध्ययन गरेर मात्रै सजाय निश्चित गर्ने एउटा मानक स्तर न्यायकर्ताले पत्ता लगाउनु पर्ने हुन्छ ।

७. आधार र कारण बेगर नै राज्यले लिएको दण्ड नीतिकै विपरीत हुने गरी अ.ब.१८८ नं. बमोजिम सजाय घटाउँदै जाने प्रवृत्तिले न त पीडितको भावनामा पुग्न गएको चोटलाई कम गर्न नै मद्दत गर्छ न त दण्डहीनताको स्थितिमा कमी ल्याउनमा नै मद्दत गर्छ । यस्तो विषयमा न्यायकर्ता सधैँ होसियार रहन जरूरी हुन्छ । अपराधिक घटना घटाउने व्यक्ति १५ वर्ष पुगी १६ वर्ष पुग्न जति अन्तर बाँकी रहन्छ त्यति नै अनुपातको अन्तर उसको सोच्न सक्ने क्षमतामा पनि रहेको हुन्छ भनेर कुनै निश्चित वैज्ञानिक आधार कारण बेगर भन्न सकिने हुँदैन ।

८. फौजदारी कसुरमा १६ वर्ष नपुगेकालाई वयस्क अपराधीलाई हुने सरहको सजाय नगरी कम सजाय गर्ने आधार नै सजाय घटाउने आधारको रूपमा बुझ्नुपर्ने हुन्छ । १६ वर्ष पुग्नलाई सामान्य समयको मात्र अन्तर बाँकी रहेकै कारणले त्यस्तो व्यक्तिले अपराधको मतलब र परिणामलाई सम्झन र बुझ्न नसक्ने अवस्थामा रहेकै हुन्छ भन्न नसकिने र १६ वर्ष पुग्न लागेको व्यक्तिमा वयस्कताको लक्षण देखिइसक्ने नै हुँदा त्यस्तो व्यक्तिलाई कानूनले दिन मिल्ने भन्दा बढी रियायत दिन मिल्दैन । कर्तव्य ज्यान जस्तो सङ्गीन र गम्भीर किसिमको फौजदारी मुद्दामा प्रतिवादीलाई उसले घटाएको अपराधको मात्रा अनुसारको उपयुक्त सजायको निर्धारण गरी सुधार गर्नु र पीडितलाई मानवोचित एवम्‌ न्यायोचित तरिकाले न्याय प्रदान गर्न सक्नुपर्ने हुन्छ ।

९. न्यायकर्ताले जहिले पनि यसतर्फ विशेष सतर्क रहन जरूरी हुन्छ । अझ प्रस्तुत मुद्दा जस्ता पूरा सजाय गर्ने वा सजाय घटाउने भनी दोसाँध (Border Line) को अवस्थामा रहेका मुद्दाहरूमा प्रतिवादीलाई कानूनले निर्धारण गरेको सजाय घटाउन उपयुक्त र न्यायोचित हुन्छ वा हुँदैन भनेर विशेषरूपमै न्यायकर्ताबाट वस्तुवादी दृष्णिकोण बनाई विचार पुर्‌याउनु पर्ने हुन्छ । १५ वर्ष पुगि सकेको प्रतिवादीलाई १६ वर्ष पुगिनसकेको भनी कानूनमा निर्धारित सजायलाई घटाउँदै जाने हो भने पेसेवर अपराधीले समेत यसैको फाइदा उठाउन सक्ने भई फौजदारी न्यायमा नै विचलन आउने हुन्छ ।

१०. बालबालिकासम्बन्धी ऐन, २०४८ बमोजिम कुनै पनि कसुरमा वयस्क व्यक्तिसरह १६ वर्ष नपुगेको व्यक्तिलाई सजाय नगरी कसुरको अवस्था र बालबालिकाको उमेरको आधारमा हप्काई दप्काई छाड्नेदेखि लिएर ठूलालाई हुने सजायको आधासम्मको सजाय गर्नुपर्ने अवस्थाको सैद्धान्तिक आधार छँदाछँदै वयस्क हुने उमेर नपुगेको भनी अ.ब. १८८ नं. को व्यवस्थालाई सजाय घटाउने थप आधारको रूपमा लिई गम्भीर कसुरका आरोपीलाई सजाय घटाउन मिल्छ भन्ने निष्कर्ष निकाल्ने हो भने फौजदारी न्याय प्रणालीले लिएको उद्देश्य नै प्राप्त नहुने हुन्छ ।  कर्तव्य ज्यान जस्तो गम्भीर र सङ्गीन अपराधमा अपराधिक कार्य सम्पन्न गर्दा प्रतिवादीको दोषी मनोभावनाको स्तरको पनि आँकलन गरेर सजाय निर्धारण गर्नुपर्ने हुन्छ ।

११. प्रतिवादीले आफ्नै ज्यान जाने जोखिम वा अरू के कुन बाध्यात्मक परिस्थितिमा परी ज्यान मार्न पुगेको हो वा ती कुनै पनि परिस्थिति नपरी ज्यान मार्न पुगेको हो भन्नेतर्फ पनि न्यायकर्ताबाट इन्साफ दिँदा विचार पुर्‌याउनु पर्छ । प्रतिवादीको दोषी मनोभावनाको स्तर कस्तो रहेको थियो भनेर उसले मृतकमाथि छोडेको चोटको प्रकृति, शरीरको कुन भागमा चोट छोडेको छ र कति पटक प्रहार गरेको छ भन्ने जस्ता कुराको विश्लेषण गरेर निकाल्न जरूरी हुन्छ । प्रतिवादी देवेन्द्र नेपालीले मृतक निरक दमाईको छाती जस्तो संवेदनशील अङ्गको बीच भागमा खुकुरीले रोपेको छ र बायाँ कुममा २ पटक प्रहार गरेको अवस्था मृतकको लास जाँचबाटै देखिएको छ । खुकुरी प्रहार गरी मारेको कुरामा प्रतिवादी मौका एवम्‌ अदालतसमेतमा साबितै रहेबाट प्रतिवादीले मृतक निरक दमाईलाई ज्यानै लिने दोषी मनोभावनाले छाती एवम्‌ कुमसमेतमा प्रहार गरेको स्पष्ट देखिन्छ ।

१२. मृतकलाई मार्नै पर्नेसम्मको मनोभावना नराखी मृतकको शरीरमा गम्भीर किसिमको चोटमात्र पार्ने उद्देश्यले प्रहार गरेको हुन्थ्यो भने प्रतिवादीले मृतकलाई जोखिमी हतियारले छातीको भागसमेतमा प्रहार गर्नुपर्ने कुनै जरूरी नै हुने थिएन । यसरी ज्यानै लिने इवी लिई मृतकमाथि प्रहार गरेको भन्ने स्पष्ट देखिएको र प्रतिवादीको उमेर १६ वर्ष नपुगेको कारण नै प्रस्तुत मुद्दामा निजलाई सजाय घटाउने कानूनी आधारको रूपमा रही रहेको मान्नुपर्ने हुँदा निज प्रतिवादीलाई ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम निर्धारित सर्वस्वसहित जन्मकैद हुनेमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम सोको आधा सजाय मात्र हुने भएकाले मुलुकी ऐन, अ.ब. को १८८ नं. बमोजिम पुनः निजलाई सजाय घटाउनको लागि प्रस्ताव गरिएको राय मनासिब देखिएन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएअनुसार प्रतिवादी कृष्ण भन्ने देवेन्द्र नेपालीलाई सुर्खेत जिल्ला अदालतले ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‌याई निज प्रतिवादीको उमेर १६ वर्ष भन्दा कम रहेकाले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३)  नं. अनुसार निजलाई उल्लिखित सजायको आधा सजाय गर्ने ठहर्‌याएको फैसलालाई सदर गरेको पुनरावेदन अदालत, सुर्खेतको फैसला यस अदालतबाटसमेत सदर हुने ठहरेको तर निज प्रतिवादीको उमेर कम रहेको भन्नेसमेतको आधारमा निजलाई अ.ब. १८८ नं. बमोजिम ४ वर्षमात्र सजाय गर्न सुरूले प्रस्ताव गरेको रायलाई पनि समर्थन गरेको हदसम्मको पुनरावेदन अदालत, सुर्खेतको इन्साफ मनासिब नहुने भई अ.ब. १८८ नं. बमोजिमको राय कायम नहुने भएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम हुन पर्ने सर्वस्वसहित जन्मकैदको सजायमा बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(३) बमोजिम आधा सजाय मात्र हुने हुँदा सोहीअनुसारको लगत कायम गरी असूल गर्नु भनी सुरू जिल्ला अदालतमा लेखी पठाउनू ..............१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ..........२

 

उक्त रायमा सहमत छु ।

न्या.गोविन्दकुमार उपाध्याय

 

इति संवत् २०७१ साल भदौ ६ गते रोज ६ शुभम् ।

इजलास अधिकृत :– बाबुराम सुवेदी

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु