शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३७१ - निर्णय दर्ता बदर दर्ता हक कायम

भाग: ५७ साल: २०७२ महिना: असार अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोपाल पराजुली

माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल

आदेश मिति : २०७१।११।११।२

०६६-CI-०५२१

मुद्दा : निर्णय दर्ता बदर दर्ता हक कायम ।

 

पुनरावेदक / वादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने शंकरदेव पाण्डेकी श्रीमती वर्ष ५० की पुष्पा पाण्डेको मु.स.गर्ने शंकरदेव पाण्डेको छोरा प्रकाश पाण्डे

विरूद्ध

विपक्षी / प्रतिवादी : जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध भूःबहाल बस्ने रामबहादुर श्रेष्ठको मु.स. गर्ने ऐ.ऐ. बस्ने रामबहादुर श्रेष्ठकी श्रीमती अं. वर्ष ७५ की बुद्धिमाया श्रेष्ठसमेत

 

कुनैपनि जग्गासम्बन्धी मुद्दाको विवादमा हकदैया, हदम्याद र हकको स्रोतको विवेचना हुन जरूरी हुन्छ । आयकर अदालतको कार्यबाट कुनै जग्गामा कसको हक पुगेको छ छैन भनी हेरिने कार्य हुन नसक्ने ।

आफ्नो हक कायम भएको जग्गा हो र त्यस्तो जग्गा अरू कसैले दर्ता गराएको रहेछ भने जग्गा पजनीका १७ नं. समेतको आधारमा दूषित दर्ता भएका मितिले ६ महिनाभित्र नालेस गर्नुपर्ने । 

(प्रकरण नं.४)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता जगतबहादुर कार्की

विपक्षी / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता शिवराम देवकोटा

अवलम्बित नजिर :

नेकाप २०४२, नि.नं.२२६४, पृ.१३७

सम्बद्ध कानून :

मुलुकी ऐन, दण्डसजायको महलको १७, १८, ४३ नं.

 

फैसला

न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छः

ससुरा मुक्तिदेव पाण्डे र सासू भक्तिदेवी पाण्डेका ३ भाइ छोराहरूमा जेठो विद्यादेव पाण्डे, माहिला भिमदेव पाण्डे र कान्छा म फिरादीका पति शंकरदेव पाण्डे भएकामा वहाँको मिति २०४९।९।२ मा मृत्यु भइसकेको छ । निज शंकरदेवको हक खाने हकदारमा म फिरादी श्रीमती र छोराहरू दिपकदेव पाण्डे र प्रकाशदेव पाण्डे छन् । जेठा विद्यादेव पाण्डे र निजका श्रीमती दुर्गादेवी पाण्डेको निःसन्तान अवस्थामै मृत्यु भइसकेको छ । माइला भिमदेव पाण्डेको २०२७ सालमा मृत्यु भएको र वहाँको हक खाने प्रतिवादी चुनुदेवी पाण्डे हुन् । सासू भक्तिदेवी पाण्डे र गणेशबहादुर खड्काबीच चलेको जग्गा दपोट मुद्दामा आयकर अदालतबाट मिति २०२४।७।७ मा भएको फैसलाबाट साबिक का.स.२९ नं. मौजाको कि.नं. ५८९।२९९ को क्षेत्रफल ८-०-०-० जग्गा सर्वे नापीमा काठमाडौं जिल्ला बौद्ध गा.वि.स. वडा नं. ५ (ग) कि.नं. ८४ को ६-१५-०-० भई नापनक्सा भएको जग्गामा विपक्षी रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठबीच अंशबन्डा गराई उक्त कि.नं. ८४ को जग्गालाई कि.का. गराई कायम भएको कि.नं. ३७३ को ३-७-२-० जग्गा मंगले श्रेष्ठका नाउँमा र कि.नं. ३७२ को ३-७-२-० जग्गा रामबहादुर श्रेष्ठका नाउँमा दर्ता भएकामा आयकर अदालतको फैसलाबमोजिम सासू भक्तिदेवी पडेनीको नाउँमा दर्ता हुने ठहरेकामा निज सासूको २०३४ सालमा मृत्यु भएपश्चात्‌ हकखाने हकदारमा भक्तिदेवी पडेनीका छोराहरू विद्यादेव पाण्डे भिमदेव पाण्डे र शंकरदेव पाण्डे भएकामा विद्यादेव पाण्डेको समेत मृत्यु भई निजको हकदार श्रीमती चुनुदेवी पाण्डे र वहाँका छोराहरू अच्युतराज पाण्डे र विश्वराज पाण्डे 

हुनुहुन्छ । कान्छो छोरा शंकरदेव पाण्डेको मृत्युपश्चात्‌ वहाँको हकखाने म फिरादी पुष्पा पाण्डे हुँ । त्यसैले सासू भक्तिदेवी पाण्डेको हकखाने हकदार हाल म र प्रतिवादी चुनुदेवी पाण्डे नै हौँ । म फिरादीसमेतको अंश हक लाग्ने उक्त दुवै कित्ताका जग्गाहरूलाई हकदाबी छाडी दिने गरी प्रतिवादी चुनुदेवी पाण्डेले मिति २०५४।११।११ मा मालपोत कार्यालय, चाबहिलमा मन्जुरी निवेदन दिई सोही आधारमा मालपोत कार्यालयले मिति २०५४।११।११ मा उक्त जग्गाहरू प्रतिवादी रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठको नाउँमा दर्ता रहेको जग्गा यथावत्‌ निजहरूकै नाउँमा राख्ने निर्णय गरेकाले सो निर्णय बदर गरी उक्त जग्गामध्ये मेरो भागमा पर्ने आधी जग्गामा मेरो हक कायम गरी दर्तासमेत गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको फिरादपत्र ।

सासू भक्तिदेवी पण्डेनी र गणेशबहादुर खड्काबीच चलेको जग्गा दपोट मुद्दामा आयकर अदालतबाट मिति २०२४।७।७ मा भएको फैसलाबाट साबिक बौद्ध तुसाल २९ नं. मौजाअन्तर्गत २००० सालको नापीमा कि.नं. ५८९।२९९ को क्षेत्रफल ८-०-०-० जग्गा पछि सर्वे नापीमा ८० र ८४ नं. कायम भई साबिक नापीमा बौद्ध गा.पं. वडा नं.५(ग) कि.नं. ३७२ र ३७३ कायम भएको जग्गा हो । सो जग्गा आफ्नो नाउँमा दर्ता नामसारी गराउनु सासू भक्तिदेवी पाण्डे तथा देवर शंकरदेव पाण्डेसमेत लाग्नुभएको थियो । तर हदम्यादको कारणले सफल हुन सक्नुभएन त्यपछि मैले चलन चल्तीको मूल्य भन्दा साह्रै थोरै मूल्य दिई सो जग्गामध्ये आफ्नो भागसम्मको जग्गा किनेर हक हस्तान्तरणसम्म भएको हो । मैले विपक्षीको हकमा कुनै असर पुर्‍याएको छैन त्यसैले वादीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चुनुदेवी पाण्डेको प्रतिउत्तरपत्र ।

विपक्षी फिरादीले दाबी लिनुभएको निजको सासू भक्तिदेवी पाण्डे र गणेशबहादुर खड्कासँग चलेको जग्गा दपोट मुद्दामा आयकर अदालत काठमाडौंबाट मिति २०२४।७।७ को फैसलाले विवादित जग्गा का.स. २९ नं. मौजा ५८९।२९९ को क्षेत्रफल ८-०-०-० जग्गा आमा सानुकान्छी श्रेष्ठको नाउँमा सर्वे नापीमा नापनक्सा भई दर्ता रहेको कि.नं. ८४ को क्षेत्रफल ६-१५-०-० जग्गा होइन । वादीले दाबी लिएको फैसलाको जग्गाको स्रोत कि.नं. ८४ को जग्गामा भिड्दैन । यो जग्गा आयकर अदालतको फैसलाबमोजिमको जग्गा होइन । सो जग्गा आमा सानुकान्छीको नाउँमा नापनक्सा भई आमाको मृत्युपश्चात्‌ हकवाला हामी छोराहरू रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठबीच अंशबन्डा हुँदा कि.नं. ३७२ को जग्गा रामबहादुरको भागमा र ३७३ को जग्गा मंगले श्रेष्ठको भागमा परेको जग्गा हो । वादीको फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी रामबहादुर श्रेष्ठको मु.स. गर्ने बुद्धिमाया श्रेष्ठ र मंगले श्रेष्ठको संयुक्त प्रतिउत्तरपत्र ।

मिसिल संलग्न गर्न आधार प्रमाणहरूबाट यो दाबीको जग्गा यी वादीको साबिक दर्ता स्रेस्ताभित्रको नभई प्रतिवादीको दर्ता स्रेस्ताभित्रको रहेको र निरन्तररूपमा निजहरूको भोग चलनमा रहे भएको देखिँदा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत व्यहोराको काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।१४ को फैसला ।

आयकर अदालतबाट मिति २०२४।७।७ मा भएको फैसलाको तपसिल खण्डमा मोही सानुकान्छी श्रेष्ठनीको दपोटसम्ममा उजुर परेको जग्गा का.मे.अ.को मिति २०१९।१।८ गतेको फैसलाले मोही सानुकान्छीका नाउँमा दर्ता गरिदिनु भनी काठमाडौं माललाई पूर्जी गरिदिने भनी उल्लेख भएकामा हाल उल्टी फैसला भएकाले सोबमोजिम गर्नु परेन । निज जोताहा सुरक्षित किसानसम्म हुने हुँदा माललाई पुर्जी गर्ने भनी का.मे.अ.त मा लगत दिने भन्ने ठहरी फैसला भएको आयकर अदालतको फैसलाको उल्टो हुने गरी काठमाडौं जिल्ला अदालतबाट फैसला भएको छ सो फैसला सदर अवस्थामा छ । सानुकान्छी श्रेष्ठ सुरक्षित मोही भएको आयकर अदालतबाट भएको फैसलाबमोजिमको खान्गी कुले बगर खेत ।११ को 

धान ।१६।४ तिराको खला र ।१२ को थान २।१२ घिउ र ३७।२ को खला १ समेत खला २ को जग्गा कहाँ 

छ । सानुकान्छी श्रेष्ठ तथा कान्छी श्रेष्ठका हकवालाबाट देखाउनु भएको छैन र फैसलामा पनि उक्त जग्गा भए नभएको ठहर छैन । म पुनरावेदक भक्तिदेवी पण्डेनीको हकखाने हकदार हुँ । विपक्षी चुनुदेवी पाण्डे र मेरो भक्तिदेवी पण्डेनीको सम्पत्तिमा समान हक छ । मेरोसमेत हकलाई समाप्त गरी गैरकानूनी तरिकाले हक छाडी दिए झैँ गरी सोही जग्गा आफ्ना नाउँमा खरिद गरिदिएको व्यहोरा पारी जग्गा लिए दिएको देखिँदा देखिँदै चुनुदेवीले पुनरावेदकसमेतको हक छाडेको भन्ने ठहर्‌याई फैसला हुँदा ज.प.को २(क) तथा प्रचलित कानूनबमोजिम हुन सकेन । विपक्षी चुनुदेवी पाण्डे मेरो घरमुली नभएको भन्ने मेरो फिराद दाबीतर्फ अलिकति पनि नहेरी काठमाडौं जिल्ला अदालतबाट फैसला हुँदा म पुनरावेदकलाई घोर अन्याय पर्न 

गएको । तसर्थ सुरू काठमाडौं जिल्ला अदालतको फैसला उल्टी गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको पुनरावेदन वादीको पुनरावेदन अदालत, पाटनमा परेको मिति २०६४।५।७ को पुनरावेदनपत्र ।

प्रथमतः २०२१ सालको नापीमा नै सानुकान्छी श्रेष्ठ जोताहा र जग्गाधनी दुवैको नाम उल्लेख भई ल.नं. १३९६ मा दर्ता हुने भनी कैफियतमा उल्लेख भई त्यति बेला नै सानु कान्छीका नाउँमा दर्ता स्रेस्ता खडा भएको छ । त्यसउपर जग्गा मिच्नेको १८ नं. र.ज.प.को १७ नं. को म्यादभित्र उजुर गरी बदर गराउन सक्नुपर्थ्यो सो पनि गराउन सकेको देखिँदैन भने विवादित जग्गा हालसम्म प्रतिवादीहरूले भोग चलन गरेकामा पनि विवाद छैन । २०३८ सालसम्म जीवित हुने पुनरावेदकका सासू भक्तिदेवी यो जग्गाको सम्बन्धमा दर्ता बदर गराउन सकेको पाइँदैन । यिनै पुनरावेदिकाको जेठानी प्रतिवादी चुनुदेवी पाण्डेले यो जग्गा आफ्नो हो भनी दाबी गरी मालपोत कार्यालयमा गएकामा पछि मिति २०५४।११।११ मा निजले हक दाबी छोडी प्रतिवादीहरूकै नाउँमा यथावत् दर्ता कायम हुन गएको पनि मिसिलबाट देखिन्छ । प्रतिवादीका सासू भक्तिदेवीको हकखाने हकदारमध्येकी प्रतिवादी चुनुदेवी पाण्डेले नै दाबी छोडेको अवस्था छ ।

चुनुदेवी पाण्डेबाट मालपोत कार्यालयमा फैसलाअनुसार जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भन्ने निवेदन परेकाले मालपोत कार्यालयबाट विपक्षी मंगले श्रेष्ठ र रामबहादुर श्रेष्ठका नाममा दर्ता देखिएको दर्ता स्रेस्ता कट्टा गरी चुनुदेवी पाण्डेका नाममा दर्ता स्रेस्ता खडा गरी चुनुदेवी पाण्डेबाट उक्त जग्गा अन्यत्र बिक्री भएको होइन । मालपोत कार्यालयमा फैसला कार्यान्वयनका लागि दिएको निवेदनलाई मुलुकी ऐन, अ.बं. को ९२ नं. बमोजिम निवेदन फिर्ता लिने माग गर्ने अधिकार विपक्षी चुनुदेवीलाई छैन र त्यसैगरी मालपोत कार्यालयलाई समेत मुद्दा फिर्ता गर्ने अधिकार छैन । मुलुकी ऐन अ.बं. को ३५ नं. विपरीत मलपोत कार्यालयलाई राजस्वसमेत मार्ने गरी मुद्दा फिर्ता दिने अनुमति दिने अधिकार मालपोत ऐन, २०३४ को कुनै पनि दफाले दिएको छैन । काठमाडौं जिल्ला अदालतबाट भएको फैसला र पुनरावेदन अदालत, पाटनबाट भएका फैसलामा त्यतिसम्म पनि विवेचना नभई गरिएको फैसला त्रुटिपूर्ण छ । विपक्षी चुनुदेवी र म निवेदिकाको सासू भक्तिदेवी पण्डेनीका सम्पत्तिमा समान हक छ । मेरोसमेत हकलाई समाप्त गरी गैरकानूनी तरिकाले हक छाडी दिएझैं गरी सोही जग्गा आफ्ना नाममा खरिद गरी लिएको व्यहोरा पारी जग्गा लिए दिएको देखिँदादेखिँदै चुनुदेवीले पुनरावेदकसमेतको हक छोडेको भन्ने ठहर्‌याई फैसला हुँदा फैसला मुलुकी ऐन ज.प. को २(क) को विपरीत छ । विपक्षी चुनुदेवी पाण्डे मेरो घरमूली भएको भए मेरो हकमा सम्म दाबी छोड्न सक्नुहुन्थ्यो । अंश लिई अलग भएकी जेठानीले मेरो हक समाप्त पार्न 

मिल्दैन । तसर्थ काठमाडौं जिल्ला अदालतबाट भएका मिति २०६४।३।१४ गतेका फैसलालाई हुबहु सदर कायम रहने गरी पुनरावेदन अदालत, पाटन ललितपुरबाट भएका फैसला उल्टी गरिपाउँ भन्नेसमेत व्यहोराको वादीको यस अदालतमा पर्न आएको मुद्दा दोहोर्‍याई हेरिपाउँ भन्ने निवेदन ।

यसमा निवेदिका वादीकी सासू भक्तिदेवीको नाममा साबिक लगत भोग दर्ता कायम भएको तिरो दपोटसम्बन्धी मुद्दा चली मिति २०२४।७।७ मा आयकर अदालतबाट अन्तिम फैसला भएकामा उक्त फैसलाले विवादको जग्गा भक्तिदेवीको नाममा नै कायम गरेको अवस्था विद्यमान छ । प्रतिवादीहरूका आमाका नाममा भएको २०२१ सालको नापी दर्ता दूषित कायम हुन गएकाले त्यसपछिको बन्डासमेतले मान्यता प्राप्त गर्न नसक्ने हुँदा वादीकी सासू आमा भक्तिदेवीको नाममा कायम भएको जग्गामा यी निवेदिका वादी र प्रतिवादी चुनुदेवी पाण्डेको बराबर हक हुनेमा चुनुदेवीले मात्र दर्ता गराउने माग गरी उक्त जग्गामा दाबी छाड्ने गरी मिति २०५४।११।११ मा निवेदन दिई निर्णय भएको अवस्थमा थाहा पाएको मितिले जग्गा मिच्नेको १८ नं.  जग्गा पजनीको १७ नं. ले ६ महिनाभित्र निर्णय दर्ता बदर गरी हक कायममा फिराद गर्न पाउने नै हुँदा सो कानूनी व्यवस्थाको व्याख्या र विवेचना नगरी वादी दाबी पुग्न नसक्ने ठहराएको काठमाडौं जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. को हदम्यादसम्बन्धी कानूनी व्यवस्थाको व्याख्यात्मक त्रुटि देखिँदा न्याय प्रशासन ऐन, २०४८ को दफा १२ (१) को खण्ड (क) बमोजिम दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिदिएको छ । विपक्षीसमेत झिकाई नियमबमोजिम पेस गर्नू भन्ने मिति २०६६।९।३ को यस अदालतको आदेश ।

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित हुनुभएका विद्वान्‌ अधिवक्ता श्री जगतबहादुर कार्कीले विपक्षी चुनुदेवी र यी पुनरावेदक वादी पुष्पा पाण्डे सासू भक्तिदेवीको हक खाने समान हकदार हुन् । विपक्षी चुनुदेवीले हक छाड्दैमा यी पुनरावेदक वादीको हक जाने होइन । सोतर्फ विचार नगरी पुनरावेदन तथा जिल्ला अदालतले गरेको फैसला उल्टी गरिपाउँ भनी गर्नुभएको बहस तथा विपक्षी चुनुदेवी पाण्डेका तर्फबाट विद्वान्‌ अधिवक्ता शिवराम देवकोटाले विवादित जग्गा रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठले अंशबन्डाबाट प्राप्त गरेको जग्गा हो । मेरो पक्ष चुनुदेवीले यी पुनरावेदक वादीको हकमा असर पार्ने कुनै काम गरेको नहुँदा सुरू काठमाडौं जिल्ला अदालतले गरेको फैसला तथा सो फैसलालाई सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला सदर कायम हुनुपर्छ भनी गर्नुभएको बहस जिकिरसमेत सुनियो ।

प्रस्तुत मुद्दामा म वादी र प्रतिवादी चुनुदेवी पाण्डे मात्र हकवाला रहेकामा मेरो सासू भक्तिदेवी पाण्डे र गणेशबहादुर खड्काबीच चलेको जग्गा दपोट मुद्दामा आयकर अदालतबाट मिति २०२४।७।७ मा भएको फैसलाबाट साबिक का.स. २९ नं. मौजाको कि.नं. ५८९/२९९ को क्षेत्रफल ८-०-०-० जग्गा सर्वे नापीमा काठमाडौं जिल्ला बौद्ध गा.वि.स. वडा नं. ५(ग) कि.नं. ८४ को ६-१५-०-० भई नाप नक्सा भएको जग्गामा विपक्षी रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठबीच अंश बन्डा गराई उक्त कि.नं. ८४ को जग्गालाई कित्ताकाट गरी कायम हुन आएको कि.नं. ३७३ को जग्गा मंगले श्रेष्ठका नाउँमा र कि.नं. ३७२ को जग्गा रामबहादुर श्रेष्ठका नाउँमा दर्ता भएछ । मेरो अंश हकसमेत लाग्ने उक्त जग्गामा प्रतिवादी चुनुदेवी पाण्डेले मिति २०५४।११।११ मा मालपोत कार्यालयमा मन्जुरी निवेदन दिई सोही आधारमा प्रतिवादी मंगले श्रेष्ठ र रामबहादुर श्रेष्ठको नाउँमा दर्ता रहेको जग्गाको सम्बन्धमा मालपोत कार्यालयले गरेको निर्णय बदर गरी मेरो हक हुने आधा जग्गा कायम गरी दर्तासमेत गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी चुनुदेवी पाण्डेको र वादीले दाबी लिएको फैसलाको जग्गाको स्रोत कि.नं. ८४ को जग्गामा भिड्दैन । यो जग्गा आयकर अदालतको फैसलाबमोजिमको जग्गा होइन भन्नेसमेत व्यहोराको रामबहादुर श्रेष्ठको मु.स. गर्ने बुद्धिमाया श्रेष्ठ र मंगले श्रेष्ठको संयुक्त प्रतिउत्तरपत्र रहेको प्रस्तुत मुद्दामा वादी दाबी पुग्न नसक्ने ठहर्‍याई काठमाडौं जिल्ला अदालतबाट भएको फैसलाउपर पुनरावेदन अदालत, पाटनमा पुनरावेदन परेकामा सुरू काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनबाट मिति २०६४।११।१६ मा भएको फैसलाउपर वादी पक्षको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाउँ भनी निवेदन पर्न आएकामा मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता भई निर्णयार्थ पेस हुन आएको देखियो ।

२. वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू तथा पुनरावेदन अदालतको फैसला मिलेको छ छैन भन्ने सम्बन्धमा निर्णयतर्फ विचार गर्दा सासू भक्तिदेवी पण्डेनीको गणेशबहादुर खड्का क्षेत्रीसँग चलेको जग्गा दपोट मुद्दामा श्री आयकर अदालतबाट मिति २०२४।७।७ मा फैसलाअनुसार साबिक का.स. २९ नं. मौजाको कि.नं. ५८९/२९९ को क्षेत्रफल ८-०-०-० को सर्वे नापीबाट काठमाडौं जिल्ला बौद्ध गा.वि.स. वडा नं. ५ (ग) कि.नं. ८४ को क्षेत्रफल ६-१५-० भई नाप नक्सा भएको जग्गामा विपक्षी रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठबीच अंश बन्डा गराई उक्त कि.नं. ८४ को जग्गालाई कित्ताकाट गराई कम्पनी कि.नं. ३७२ जग्गा रामबहादुर श्रेष्ठको नाममा र कि.नं. ३७३ जग्गा मंगले श्रेष्ठको नाममा दर्ता स्रेस्ता कायम भइराखेको । आयकर अदालतको फैसलाअनुसार ज.ध.प्र.पु. पाउँ भन्ने मालपोत कार्यालयमा विपक्षीमध्येकी चुनुदेवी पाण्डेले निवेदन गरेको र चुनुदेवी पाण्डेको निवेदन खारेज गरिपाउँ भनी रामबहादुर श्रेष्ठसमेतको लिखित प्रतिवाद भएकामा मिति २०५४।१०।११ मा हक दाबी छाडेको भन्ने व्यहोरा पारी उक्त जग्गा विपक्षी रामबहादुर श्रेष्ठसमेतको नाममा दर्ता स्रेस्ता कायम भएकामा विपक्षी चुनुदेवी पाण्डेको मन्जुरी हुँदैमा मेरो हक जाने होइन मेरो भागमा पर्न आउने कि.नं. ३७२ र कि.नं. ३७३ को जग्गामध्येबाट आधा १-११-३ जग्गा बदर गरी मेरा नाममा कायम गरिपाउँ भन्नेसमेत मुख्य फिराद दाबी एवम्‌ पुनरावेदन जिकिर रहेको देखिन्छ ।

३. यी पुनरावेदिकाकी सासू भक्तिदेवी पाण्डे र निजको हक खाने भनीएका निजका छोराहरू विद्यादेव पाण्डे, भिमदेव पाण्डे र शंकरदेव पाण्डे भएको र भक्तिदेवीको मिति २०३४।११।९ मा परलोक भएकामा हक खाने छोराहरूमध्ये विद्यादेव पाण्डे निःसन्तान अवस्थामा मिति २०१५।९।१५ मा परलोक भएको र निजको श्रीमती दुर्गादेवी पनि मिति २०५०।१।३ मा परलोक भएको त्यसैगरी भिमदेव पाण्डे मिति २०२७।११।७ मा परलोक भएको भिमदेव र निजकी श्रीमती विपक्षी चुनुदेवी भएकामा चुनुदेवी र कान्छा शंकरदेवकी श्रीमती म पुष्पा पाण्डे हुँ भनी उल्लेख गरेको देखिन्छ ।

४. जहाँसम्म आयकर अदालतबाट मिति २०२४।७।७ मा भएको फैसलाले सासू भक्तिदेवीको नाममा हक हुन आएको जग्गामा चुनुदेवी र मेरो मात्र हक लाग्नेमा चुनुदेवीले मिति २०५४।५।१६ मा हक दाबी छाडेकाले मेरो हक जान मिल्दैन भन्ने दाबी छ सो सम्बन्धमा विचार गर्दा साबिक का.स. २९ नं. मौजाको कि.नं. ५८९/२९९ को क्षेत्रफल ८-०-० सर्भे नापीबाट जिल्ला काठमाडौं बौद्ध गा.वि.स. वडा नं. ५(ग) कि.नं. ८४ को क्षेत्रफल ६-१५-० भई नाप नक्सा भएको र उक्त कि.नं. ८४ को जग्गा कित्ताकाट भई कायमी कि.नं. ३७२ को क्षेत्रफल ३-७-२-० को कित्ता जग्गा रामबहादुर श्रेष्ठ र कि.नं. ३७३ को क्षेत्रफल ३-७-२-० को कित्ता जग्गा मंगले श्रेष्ठका नाममा दर्ता स्रेस्ता कायम भइसकेको देखिन्छ । आयकर अदालतको मिति २०२४।७।७ को फैसलाले भक्तिदेवीका नाममा जग्गा प्राप्त हुन आएको भए उक्त जग्गा आफ्ना नाउँमा दर्ता स्रेस्ता कायम गराइपाउँ भनी भक्तिदेवीले प्रक्रिया अगाडि बढाएको भन्ने कुरा मिसिल संलग्न कुनै पनि प्रमाणबाट खुल्न आएको छैन । त्यसैगरी निजका हकदारहरू समेतले आफ्नो हक हनन् हुनगएको भए कानूनको प्रक्रियाबमोजिम हक स्थापित गराउन सक्नुपर्ने थियो सोसमेत मिसिलबाट खुल्न आएको देखिँदैन । कुनैपनि जग्गासम्बन्धी मुद्दाको विवादमा हकदैया, हदम्याद र हकको स्रोतको विवेचना हुन जरूरी हुन्छ । आयकर अदालतको कार्यबाट कुनै जग्गामा कसको हक पुगेको छ छैन भनी हेरिने कार्य हुन 

सक्दैन । आफ्नो हक कायम भएको जग्गा हो र त्यस्तो जग्गा अरू कसैले दर्ता गराएको रहेछ भने जग्गा पजनीका १७ नं. समेतको आधारमा दूषित दर्ता भएका मितिले ६ महिनाभित्र नालेस गर्नुपर्ने कानूनको बाध्यात्मक व्यवस्था हो । आयकर अदालतबाट जितिपाएको सम्पत्ति नै विवादित जग्गा हो भनी मान्ने हो भनेपनि आफूले सो जग्गामा चलन पाएका मितिले वा आयकर अदालतको पुनरावेदन हेर्ने तहबाट जितिपाएको मितिले चलन चलाउन मुलुकी ऐन दण्ड सजायको महलको ४३ नं. र जग्गा अरूको नाममा गइसकेको रहेछ भने सो फैसला लिएको वा असर परेको मितिले ६ महिनाभित्र नालेस गरिसक्नुपर्ने हुन्छ त्यस्तो गरिएको प्रस्तुत मुद्दाका सम्बन्धमा 

देखिएन । जहाँ वादीले उपचार माग्ने प्रक्रियामा त्रुटि गर्दछ त्यसलाई अदालतले सच्याउन सक्दैन । समयमा सावधानी नअपनाउने पक्षलाई न्यायकर्मी र अदालत र कानूनले मद्दत पुर्‍याउन सक्दैन ।

५. प्रस्तुत विवादमा लामो समयपछि हकवाला छोराहरूको समेत मृत्यु भइसकेपछि मिति २०५३।२।७ मा मात्र चुनुदेवी पण्डेले मालपोत कार्यालय, चाबहिलमा द.नं. १६८४३ मा निवेदन दर्ता गराएको र मिति २०५४।१०।११ मा चुनुदेवी पाण्डेले हकदाबी छाडेको भन्ने आधारमा रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठका नाममा दर्ता स्रेस्ता यथावत्‌ कायम राखेको मिसिलबाट देखिन आएको छ र उक्त जग्गा रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठले अंशबन्डाबाट प्राप्त गरेको भन्ने निजहरूको प्रतिउत्तर लेखसमेतबाट देखिन आएको छ । खासगरी २०२१ सालको नापीको समयमा नै सानुकान्छी श्रेष्ठ जोताहा र जग्गा धनी दुवैको नाम उल्लेख भई ल.नं. १३९६ मा दर्ता हुने भनी कैफियतमा उल्लेख भई त्यतिबेला नै सानुकान्छी सोउपर मुलुकी ऐन जग्गा मिच्नेको महलको १८ नं. र जग्गा पजनीको १७ नं.को म्यादभित्र उजुर गरी बदर गराउन सक्नु पर्थ्यो सो गरेको पनि नदेखिएको र हालसम्म उक्त जग्गाको स्रेस्ता रामबहादुर श्रेष्ठ र मंगले श्रेष्ठकै नाममा रहेको देखिन आएको छ । यसै सन्दर्भमा ने.का.प. २०४२, निर्णय नं. २२६४, पृष्ठ १३७ पुनरावेदक लाला बुद्धिमान श्रेष्ठ विपक्षी मेघराज उपाध्याय भएको दर्ता बदर हक कायम मुद्दामा सर्भे नापजाँचको क्रममा एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकामा त्यस्तो जग्गा नापी भई स्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने भन्ने सर्वोच्च अदालत फुलबेञ्चबाट नजिर सिद्धान्त कायम भइसकेको छ । यति लामो समयपश्चात्‌ आएर भक्तिदेवीका हक खाने छोराहरूको समेत मृत्यु भइसकेपछि मात्र दाबी लिएको कुरालाई न्यायसङ्गत मान्न मिलेन ।

६. तसर्थ माथि विवेचना गरिएका आधार र कारणहरूबाट वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालतको मिति २०६४।३।१४ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, पाटनको मिति २०६४।११।१६ गतेको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी दाबीबमोजिम लिखत बदर गरिपाउँ भन्ने पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.जगदीश शर्मा पौडेल

 

इति संवत् २०७१ साल फागुन ११ गते रोज २ शुभम् ।

इजलास अधिकृतः रामप्रसाद बस्याल

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु