निर्णय नं. ९३७५ - मोही बेदखली

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।७।२१।६
०७०-CI-०३६१
मुद्दा : मोही बेदखली ।
पुनरावेदक / वादी : जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं.४ बस्ने सन्तराम अहीर
विरूद्ध
प्रत्यर्थी / प्रतिवादी : जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं.४ बस्ने गंगाराम अहीर
प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको स्पष्ट देखिएको अवस्थामा वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू भूमिसुधार कार्यालय, बाँकेको मिति २०६२।२।२९ को फैसला, त्यसैलाई सदर गरेको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसलासमेत मिलेको नदेखिँदा ती दुवै फैसला उल्टी भई प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको हुँदा प्रत्यर्थीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा (१) (क) (ख) बमोजिम रू.१०००।- जरिवाना भई ऐ. ३२(२) (क) बमोजिम वादीलाई फेरि भोगचलन गर्न दिनु भनी विपक्षी जग्गाधनीका नाममा निर्देशसमेत गर्ने ।
(प्रकरण नं.२)
पुनरावेदक / वादीका तर्फबाट : विद्वान् अधिवक्ता मधुर पाठक
प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता बद्री पाठक
अवलम्बित नजिर :
सम्बद्ध कानून :
भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा १(क)(ख), ३२(२)(क)
सुरू तहमा फैसला गर्ने :
भूमिसुधार अधिकारी श्री अमृतकुमार कर्माचार्य
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मुख्य न्या. श्री केशवप्रसाद मैनाली
मा.न्या. श्री रमेश पोखरेल
फैसला
न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसलाउपर वादीको यस अदालतमा पर्न आएको निवेदनमा यस अदालतबाट मिति २०७०।५।११ मा मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :
जिल्ला बाँके मनिकापुर गा.वि.स. वडा नं. ४क कि.नं. ४२ कित्ता काट भई कायम कि.नं. २४८ को जग्गा बिगाहा ०-८-१४ जग्गा प्रतिवादीको नाउँमा दर्ता छ । उक्त जग्गा साबिक भूमिसुधार लागू हुँदाका अवस्थाभन्दा पहिलेदेखि नै मैले मोहीको हैसियतले जग्गा जोती आएको छु । उक्त कित्ता जग्गामा मेरो मोही हक कायम रहेकामा २०६० सालको हिउँदे बाली गहुँ लगाउन भनी मिति २०६०।८।१० का दिन जग्गा जोतिरहेको बखत प्रतिवादी जग्गाधनी आई मेरो हलोगोरू रोकी गाली गरी म मेरो जग्गा आफैँ जोत्छु भनी मलाई जग्गा जोत्न दिएनन् । मेरो मोही हकमा बेदखल गरेकाले भूमिसम्बन्धी ऐन, २०१२ को दफा ३२(१)(ख) बमोजिम प्रतिवादी जग्गाधनीलाई जरिवाना गरी ऐजन ऐनको दफा ३२(२) बमोजिम जग्गा जोत्न दिनु भनी निर्देशन जारी गरिपाउँ र ऐजन ऐनको दफा ३२(२)(ख) बमोजिम हर्जनासमेत दिलाई भराई पाउँ भन्ने व्यहोराको फिरादपत्र ।
मेरो नाउँमा दर्ताको वादीले फिरादमा उल्लेख गरेको जग्गा धेरै वर्षदेखि आफैँ जोती कमाई आएको छु । विपक्षीको नाम जग्गाधनी दर्ता प्रमाण पुर्जामा मात्र उल्लेख छ । निजले मोहियानी हकको प्रमाणपत्र प्राप्त गर्न सकेको छैन । मोही प्रमाणपत्र नै प्राप्त नगरेको जग्गामा मेरो मोही हक भएको जग्गा हो भन्न मिल्ने होइन । जोत्न नदिई मोही हक बेदखल गर्यो भन्ने विपक्षी वादीको फिराद खारेजभागी छ भन्ने व्यहोराको प्रतिउत्तरपत्र ।
यी वादीसँग मोही प्रमाणपत्र, यो वर्षभन्दा अगाडि जग्गाधनीलाई सालसालै बाली बुझाएको भरपाई कुनैपनि नभएको र जग्गा जोतगोड सम्बन्धमा बुझिएको सरजमिन मुचुल्कामा जग्गा नजोतेको कुरा यी वादीले स्वीकारी सहिछापसमेत गरी बसेको देखिन्छ । यी वादी मोहीको हैसियतले जग्गा जोत्न गई जग्गाधनीले जबरजस्ती हड्काउ गरी जग्गा जोत्न नदिएमा मात्र मोही बेदखली हुने हुन्छ । प्रस्तुत मुद्दामा यी वादी जग्गा जोत्न नगएको र प्रतिवादी जग्गाधनीसँग जग्गा जोत्ने विषयमा कुनै विवादै नभई सिधै यस कार्यालयमा आई बेदखली मुद्दा दिएको देखिँदा यस्तो प्रमाणको अभावमा वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने व्यहोराको भूमिसुधार कार्यालय, बाँकेको मिति २०६२।२।२९ को निर्णय ।
दाबी जग्गामा मैले मोही हकको प्रमाणपत्र प्राप्त गरेको थिएँ । दाबी जग्गाको मोही निष्काशन नहुँदै सो जग्गा विपक्षीले स्वयम् जोतभोग गरेको भनी विपक्षी जग्गाधनीले लिखितरूपमा स्वीकार गरेको अवस्थामा पनि मोही बेदखलीको दाबी पुग्न नसक्ने भनी गरेको निर्णय न्यायसङ्गत छैन । सरजमिन मुचुल्काको आधारमा मात्र वादी दाबी नपुग्ने भनी निर्णय गरिएको छ जुन न्याय र कानूनसङ्गत छैन । अतः सुरू भूमिसुधार कार्यालय, बाँकेबाट भएको निर्णय आदेश बदर गरी वादी दाबीअनुसार विपक्षीले मोही बेदखली गरेको ठहर गरी विपक्षीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२(१)(ख) बमोजिम जरिवाना गरी ऐजनको दफा ३२(२)(ख) बमोजिम हर्जनासमेत दिलाई पाउँ भन्ने व्यहोराको वादी सन्तराम अहीरको पुनरावेदन अदालत, नेपालगन्जमा परेको पुनरावेदनपत्र ।
यसमा यसै लगाउको बि.दे.पु.नं. ४९ को मोही लगत कट्टा मुद्दामा प्रत्यर्थी झिकाउने आदेश भएको हुँदा यसमा पनि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६३।३।१ को
आदेश ।
यसमा प्रस्तुत मुद्दाको विवादको जग्गा पुनरावेदक भुसैली अहीर प्रत्यर्थी सन्तराम अहीर भएको मोहियानी स्रेस्ता प्रमाणको मुद्दामा यस अदालतबाट मिति २०६४।३।६ मा भएको फैसला विरूद्ध भुसैनी अहीरको सर्वोच्च अदालतमा पुनरावेदन परेको देखिन आयो । उक्त मुद्दामा हुने अन्तिम फैसलाले प्रस्तुत मुद्दाको निर्णयलाई असर पर्न सक्ने भएकाले सो मुद्दाको अन्तिम फैसला भएपछि प्रस्तुत मुद्दा जगाई पुनरावेदन सुन्न आवश्यक भएकाले प्रस्तुत मुद्दाको दुवै पक्षको तारेख टुटाई अ.बं. १२ नं. बमोजिम प्रस्तुत मुद्दाको लगत काटी मुलतबी किताबमा दर्ता गरी राख्नू । सो मुद्दा अन्तिम भएर मिसिल प्राप्त भएपछि नियमबमोजिम जगाउन प्रस्तुत मुद्दा पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६४।१०।१५ को आदेश ।
यसमा प्रस्तुत मुद्दाको विवादको जग्गा पुनरावेदक भुसैली अहीर प्रत्यर्थी सन्तराम अहीर भएको मोहियानी स्रेस्ता प्रमाणको मुद्दामा यस अदालतबाट मिति २०६४।३।६ मा भएको फैसला विरूद्ध भुसैली अहीरको सर्वोच्च अदालतमा पुनरावेदन परेको र उक्त मुद्दामा हुने अन्तिम फैसलाले प्रस्तुत मुद्दाको निर्णयलाई असर पर्न सक्ने भएकाले सो मुद्दाको अन्तिम फैसला भएपछि मात्र प्रस्तुत मुद्दा जगाई कारवाही गर्ने गरी यस अदालतबाट मिति २०६४।१०।१५ मा मुलतबीमा रहेको छ । उक्त पुनरावेदन दर्ता नहुने गरी भएको सर्वोच्च अदालतको मिति २०६४।१२।६ को दरपिठ आदेशको प्रतिलिपि संलग्न राखी पुनरावेदक सन्तराम अहीरले मिति २०६७।९।१३ मा प्रस्तुत मुद्दा मुलतबीबाट जगाई पाउँ भनी निवदेन दिएको देखिँदा प्रस्तुत मुद्दा मुलतबीबाट जगाइदिएको छ । मुलतबी दायरीको लगत कट्टा गरी विशेष देवानी दायरीमा दर्ता गरी मुलतबी रहँदाका अवस्थामा तारेखमा रहेका पक्षहरूलाई सूचना दिई उपस्थित भए वा हुने अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।९।१४ को आदेश ।
यसै लगाउको बि.दे.नं. २५ को मोही स्रेस्ता प्रमाणित गरी मोही प्रमाणपत्र पाउँ भन्ने मुद्दामा विस्तृतरूपको विवेचनासहित वादी दाबी पुग्न नसक्ने गरी सुरू निर्णय सदर हुने भनी आज यसै इजलासबाट निर्णय भएकाले सोही मुद्दामा लिएको आधार प्रमाणसमेतबाट प्रस्तुत मुद्दामा समेत वादी दाबी पुग्न नसक्ने सुरू भूमिसुधार कार्यालय, बाँकेको मिति २०६२।२।२९ को निर्णय सदर हुने ठहर्याएको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसला ।
वादी दाबीको जग्गाको मोही प्रमाणपत्र मैले प्राप्त गरेको थिएँ । मेरो घरमा आगलागी हुँदा जल्न गई प्रमाणपत्रको नक्कल पाउँ भन्ने मेरो मागदाबी रहेको छ । भूमिसुधार कार्यालय बाँकेमा रहेको स्रेस्ता प्रमाणित गर्ने दायित्व सम्बन्धित कर्मचारीकै हो । सोही आधारमा मलाई हराउने गरी भएको फैसला त्रुटिपूर्ण छ । सरजमिन गर्दा मैले जग्गा जोतगोड नगरेको भनी लेखाएको भए तापनि उक्त कुरा झुट्ठा हो । मोहीले जग्गा नजोतेकामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(२) बमोजिम हदम्यादभित्र जिल्ला अदालतमा जग्गाधनीले मुद्दा गर्नुपर्नेमा त्यस्तो गर्न सकेको पनि छैनन् । मैले पहिलेदेखि नै जग्गा नजोतेको भनी स्वीकार गरेको छैन । सरजमिनको आधारमा मोही लगत कट्टा गर्न सकिने कानूनी व्यवस्था पनि छैन । बाली बुझाएको भरपाई लिने दिने कानूनी व्यवस्था भूमिसम्बन्धी ऐन, २०२१ मा भएको चौथो संशोधनले खारेज गरिसकेको हुँदा भरपाई नभएको आधारमा मलाई हराउने गरी भएको फैसला कानूनसङ्गत छैन । दाबीको जग्गामा मोही हक रहेको कुरामा जग्गाधनी सहमत छन् । तसर्थ मोही लगत कट्टा मुद्दामा मोही लगत कट्टा हुने गरी भएको भूमिसुधार कार्यालय, बाँकेको निर्णय सदर गरेको पुनरावेदन अदालत, नेपालगन्जको फैसला त्रुटिपूर्ण हुँदा उक्त फैसला बदर गरी मेरो वादी दाबी तथा निवेदन जिकिरबमोजिम गरिपाउँ भन्ने व्यहोराको निवेदक वादीको यस अदालतमा परेको दोहोर्याई पाउँको निवेदनपत्र ।
यसमा यसै लगाउको यिनै वादी प्रतिवादीको बीच चलेको मोही प्रमाणपत्र पाउँ भन्ने निवेदनमा आज यसै इजलासबाट मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भएकाले प्रस्तुत निवेदनसमेत सोही मुद्दासँग अन्तरप्रभावी भएको हुँदा सोही आधारमा प्रस्तुत मुद्दामा पनि न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरिएको छ भन्ने यस अदालतको मिति २०७०।५।११ को आदेश ।
नियमबमोजिम दैनिक पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री मधुर पाठकले मेरो पक्ष साबिक कि.नं. ४२ को मोही भएको उक्त कित्ता जग्गा कित्ताकाट हुँदा कि.नं. २४७ र २४८ कायम भएको हो । कि.नं. २४७ मा मोही कायम भई मोही प्रमाणपत्रसमेत प्राप्त भएको छ तर कि.नं. २४८ को प्रमाणपत्र आगलागीमा परी प्रतिलिपिको लागि भूमिसुधार कार्यालयमा निवेदन दिएको छ । यस्तो अवस्थामा सरजमिनको आधार लिएर कानूनबमोजिम कायम भएको मोहीलाई कट्टा गरी मोही दखल गर्न मिल्दैन । मोही लगत कट्टा हुने गरी भएको पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी गरिपाउँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
प्रत्यर्थी प्रतिवादी तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री बद्री पाठकले मेरो पक्षले धेरै वर्षदेखि आफैँ जग्गा कमाउँदै आएका छन् । मोहीको नाम स्रेस्ता पुर्जामा मात्र लेखिएको हो । सरजमिनबाट समेत मोहीले जग्गा कमाएको छैन भनी लेखिदिएको र मोही प्रमाणपत्रसमेत वादीले नपाएको अवस्थामा मोही कायम हुने होइन । मेरो पक्षले मोही हक बेदखल गरेको छैन । मोही लगत कट्टा हुने गरी गरेको पुनरावेदन अदालत, नेपालगन्जको फैसला मिलेको हुँदा सदर गरिपाउँ भन्ने बहस प्रस्तुत गर्नुभयो ।
उक्त बहस सुनी पुनरावेदनपत्रसहितको मिसिल अध्ययन गरियो । अब पुनरावेदन अदालत, नेपालगन्जले गरेको फैसला मिले नमिलेको र पुनरावेदन वादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा यसमा वादीदाबीको मनिकापुर गा.वि.स. वडा नं. ४क कि.नं. २४८ को ज.वि. ०-८-१४ जग्गा जोत्न नदिई २०६०।८।१० गते बिहान अं. ८ बजे मोही बेदखली गरेको भन्ने वादीदाबी रहेकामा विवादित जग्गा वादीले जोतकोड नगरी आफैँले जोतकोड गरेको भन्ने प्रतिवादीको प्रतिउत्तरपत्र देखिन्छ । उक्त प्रतिउत्तर जिकिरबाट प्रत्यर्थीले विवादित जग्गा वादीलाई जोत्न नदिएको भन्ने कुरा स्पष्ट देखिन आयो । यिनै वादीले यिनै प्रतिवादीउपर दायर गरेको ०७०-CI-०३६० नं. को मोही प्रमाणपत्रको नक्कल पाउँ भन्ने मुद्दामा वादीदाबी पुग्ने ठहरी यस इजलासबाट आजै फैसला भएकाले पुनरावेदक वादी सन्तराम अहीर विवादित जग्गाको कानूनबमोजिमका मोही देखिन आउँछन् । यस्ता मोहीको जोतहकबाट निजलाई वञ्चित गर्ने गरी प्रत्यर्थी प्रतिवादीबाट भएको काम कारवाहीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ ले मोही बेदखलीको संज्ञा दिएको पाइन्छ । यस्तो काम कारवाहीलाई उक्त दफा ३२ ले दण्डनीय बनाएकोसमेत पाइन्छ । प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको स्पष्ट देखिएको अवस्थामा वादी दाबी पुग्न नसक्ने गरी भएको सुरू भूमिसुधार कार्यालय, बाँकेको मिति २०६२।२।२९ को फैसला त्यसैलाई सदर गरेको पुनरावेदन अदालत, नेपालगन्जको मिति २०६७।१२।१६ को फैसलासमेत मिलेको नदेखिँदा ती दुवै फैसला उल्टी भई प्रतिवादी प्रत्यर्थीले मोही बेदखली गरेको ठहर्छ । सो ठहर्नाले यी प्रत्यर्थीलाई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा (१) (क) (ख) बमोजिम रू.१०००।- जरिवाना भई ऐ. ३२(२) (क) बमोजिम वादीलाई फेरि भोगचलन गर्न दिनु भनी विपक्षी जग्गाधनीका नाममा निर्देशसमेत गर्ने ठहर्छ । हर्जानातर्फको दाबीको हकमा वादीले यकिन रकम खुलाउन नसक्नुका अतिरिक्त आफूलाई परेको नोक्सानीतर्फ पनि प्रमाण गुजार्न नसकेकाले हर्जाना तर्फको दाबी पुग्न सक्तैन ।
तपसिल
माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालत, नेपालगन्जको फैसला उल्टी भई वादीलाई कि.नं. २४८ को जग्गा भोगचलन गर्न दिनु भनी प्रतिवादी जग्गाधनीका नाममा निर्देश गर्ने ठहर भएको हुँदा कि.नं. २४८ को जग्गा वादीलाई मोही कायम गरी भोगचलन गर्न दिनु भनी प्रतिवादीलाई जानकारी गराउनु भनी भूमिसुधार कार्यालय, बाँकेलाई लेखी पठाउनू ----------------------------------------------१
प्रतिवादीले मोही बेदखली गरेको ठहर भएको हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२ को उपदफा (१) (क) (ख) बमोजिम प्रतिवादीबाट रू.१०००।- जरिवाना असुल गर्नु भनी भूमिसुधार कार्यालय, बाँकेलाई लेखी पठाउनू ------------------------------२
दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू --------------------------------------------३
उक्त रायमा सहमति छ ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इति संवत् २०७१ साल कात्तिक २१ गते रोज ६ शुभम् ।
इजलास अधिकृतः- गेहेन्द्रराज रेग्मी