निर्णय नं. ९३९४ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह
माननीय न्यायाधीश श्री दीपकराज जोशी
फैसला मिति : २०७१।८।२१।१
०६७-CR-०७६०
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/प्रतिवादी : रूकुम जिल्ला, पिपला गा.वि.स. वडा नं. ७ घर भै कारागार कार्यालय रूकुममा थुनामा रहेको धनबहादुर नाथ
विरूद्ध
विपक्षी/प्रतिवादी : खर्कु जैसीको जाहेरीले नेपाल सरकार
पुनरावेदकले पुनरावेदन पत्रमा जिकिर लिएजस्तो तथ्यको एकप्रकारको साबितीमात्र नभै कसुरको सम्बन्धमा पूर्ण साबिती नैं भएको र निजको सो साबिती अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित भएको अवस्थामा केवल पुनरावेदनमा लिएको जिकिर कै आधारमा मात्र निर्दोष रहेछन् भनी मान्न मिल्ने नदेखिने ।
मृतकलाई मार्ने पूर्व योजनाअनुसार खुकुरी जस्तो घातक हतियार लिई मृतकलाई रातको समयमा एकान्तस्थलमा लगी टाउकामा खुकुरी प्रहार गरी कर्तव्य गरेको र लासलाई दबाए छिपाएको देखिँदा पक्राउ पछि अनुसन्धान र अदालतमा समेत कसुरमा साबित हुँदैमा अदालती प्रक्रियालाई सहयोग पुर्याएको मानी सजायबाट उन्मुक्ति दिन वा छुट दिन मिल्ने नदेखिने ।
(प्रकरण नं. ४)
पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता तारा खनाल
विपक्षी/प्रतिवादी तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा १३(१)
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री अर्जुन अधिकारी
पुनरावेदन तहमा फैसला गर्ने :
मा.मु.न्या. श्री हरिबाबु भट्टराई
मा.न्या. श्री भिमबहादुर बोहरा
फैसला
न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र रही दायर हुन आएको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ :
धनबहादुर नाथसँग प्रेम विवाह भएकी मेरी छोरी वर्ष १७ की लालकुमारी जैसीको केही समय पहिलेदेखि प्रेम सम्बन्ध बिग्रेको र मिति २०६५।८।१ गते साँझ खाना खाई आफ्नो कोठामा सुतेकामा भोलिपल्ट बिहान घरमा नभएकाले धनबहादुर नाथसँग सोधपुछ गर्दा निज धनबहादुर नाथले विवाह गरेर लगेको छैन भनेपछि खोजतलास गर्दै जाँदा मिति २०६५।८।१६ गते पिपल गा.वि.स.को दाहा भन्ने स्थानको सालघारीमा मेरी छोरीले लगाउने गरेको चप्पल भेटिएको, नजिकै रगत जमेको टाटाहरू देखिएको र सोही नजिकै रहेको सुरूङमा झिंगाहरू घुमिरहेको, केही कुहे जस्तो गन्ध आएकाले सुरूङ खनेर हेर्दा मेरी छोरीको लास फेला परेकाले मेरी छोरीलाई निज धनबहादुर नाथले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको मिति २०६६।८।१६ गतेको खर्कु जैसीको जाहेरी दरखास्त ।
रूकुम जिल्ला, पिपल गा.वि.स. वडा नं. ७ दहडाँडास्थित पूर्वमा साउनेपानी खोला, पश्चिममा दहडाँडाको खरकट्टी पाखो, उत्तरमा लामाचौर गाउँको ढिक, दक्षिणमा पिपलदेखि बाफिकोटतर्फ जाने कच्ची बाटो यति चार किल्लाभित्र सानासाना सालका बुट्यानहरू रहेको, सोही बुट्यान नजिकै दायाँ खुट्टामा लगाउने चप्पलमा रगत लागेको निलो रंगको म्याजिक चप्पल थान १ रहेको, सोही स्थानमा महिलाको कपालको रौं र भाँचिएको टुक्रा परेको पारो, काँजोसहितको खुकुरीको बिँड फेला परेको, जमिनमा रगत जमेको टाटा रहेको र सो स्थानदेखि अन्दाजी चौध मिटर उत्तरपूर्वमा रहेको सुरूङमा झिंगाहरू भन्केको तथा गन्ध आएको, सुरूङ खनी हेर्दा सडी गली गएको अवस्थामा मृतक लालकुमारी जैसीको लास रहेको भन्ने मिति २०६५।८।१७ गतेको घटनास्थल तथा लास जाँच मुचुल्का ।
घटनास्थलमा फेला परेको चप्पल कानमा लगाउने सुनको वाली र घटनास्थलमा रहेको लास मेरी छोरी लालकुमारी जैसीको हो भन्नेसमेत व्यहोराको मृतकको आमा छम्की जैसीको मिति २०६५।८।१७ गतेको सनाखत कागज ।
मृतकको निधारको हड्डी धारिलो हतियारले काटिएको र Intracranial Hemorrhage (दिमागमा रक्तस्राव) को कारण मृत्यु भएको भन्ने शव परिक्षण प्रतिवेदन ।
मृतक लालकुमारी जैसीसँग मेरो प्रेम सम्बन्ध थियो, निजले पनि मलाई मन पराउँथिन् निजको र मेरो प्रेम सम्बन्ध चलिरहेकै अवस्थामा मेरो गाउँका साथी कृष्ण वि.क. ले तिम्रो प्रेमिका रातको समयमा एउटै कोठामा लालबहादुर दाहालसँग सँगै बसेको भन्ने कुरा सुनाएकाले सोही समयदेखि लालकुमारी र मेरो बीचमा मनमुटाव बढेको थियो । सोहि समयदेखि मैले लालकुमारीलाई फेला पारेमा मार्छु भन्ने योजना बनाई मिति २०६५।८।३ गते घरबाट खुकुरी लिएर लालकुमारी फेला पर्छिन कि भनी पहिले भेट गर्ने सल्लाह भएको स्थान लालकुमारीको घरतर्फ गएँ, निजको घरमा पुग्नु भन्दा केही वर लालकुमारीसँग भेट भयो र हामीहरू दुवैजना मैले पहिले खुकुरी राखेको बाटो हुँदै कुराकानी गर्दै दहडाँडाको लामाचौरको ढिकमुनीको सालेधारी (घटनास्थलमा) पुग्यौं । बाटोमा राखिएको खुकुरी मैले निजले थाहा नपाउने गरी लिइसकेको थिएँ । घटनास्थलमा पुगेपछि निजसँग कुराकानी कै क्रममा निजले मलाई धोका दिएको महसुस भएकाले मैले मेरो साथमा रहेको खुकुरीले निजको टाउकामा प्रहार गर्दा सोही चोटको कारणले उनको मृत्यु भएको हो । निजको मृत्यु भइसकेपछि मैले निजलाई त्यही नजिकै रहेको सुरूङमा लगी छिराई घरतर्फ गएको हुँ । तत्काल निजको शरीर टाउकोदेखि कम्मरसम्मको भाग मात्र सुरूङमा छिरेको थियो । ऐ. ५ गते राति पुनः घटनास्थलमा गई हेर्दा पूरै शरीर सुरूङमा छिरिसकेको हुँदा सुरूङको मुखमा ढुङ्गा राखी घरतर्फ गएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर नाथले मिति २०६५।८।२३ मा अनुसन्धान अधिकारीसमक्ष गरेको बयान ।
मेरी छोरी लालकुमारी जैसीको प्रतिवादी धनबहादुर नाथसँग प्रेम सम्बन्ध भएकामा पछि विवाह गर्न नमानेको कुरा छोरी लालकुमारीले भन्ने गर्थिन् तर निज छोरीले धनबहादुर नाथसँग नै विवाह गर्छु
भन्थिन । मिति २०६५।८।१ गते छोरी बेलुकाको खाना खाएर आफ्नो कोठामा सुत्न गएकी र भोलिपल्ट बिहान घरमा नभएको र भित्तामा म विवाह गरेर दाङ गएँ भन्नेसमेत कागजमा लेखि घरको भित्तामा टाँसिएको तलास गर्दै जाँदा मृत अवस्थामा छोरीको लास फेला परेकाले मेरी छोरीलाई प्रेम सम्बन्ध बिग्रेको कारण निज धनबहादुर नाथले कर्तव्य गरी मारेको हो भन्नेसमेत व्यहोराको मृतककी आमा छम्की जैसीले गरेको घटना विवरण कागज ।
मृतक लालकुमारी र प्रतिवादी धनबहादुर नाथको विचमा प्रेम सम्बन्ध थियो । गत कार्तिक महिनामा म लालकुमारीको घरमा गएको अवस्थामा मलाई कृष्ण वि.क. ले देखेको थियो । निजले सो कुरा धनबहादुर नाथलाई भनेको रहेछ । मृतकलाई धनबहादुर नाथले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको मौकामा बुझिएका लालबहादुर दाहालको घटना विवरण कागज ।
मलाई यकिन समय थाहा भएन म खलङ्गाबाट आउँदै गर्दा लालबहादुर दाहाललाई लालकुमारीको घरमा देखेकाले मैले सो कुरा मृतकको प्रेमी धनबहादुर नाथलाई भनेको थिएँ, प्रेम सम्बन्ध बिग्रेको कारण मृतक लालकुमारीलाई धनबहादुर नाथले कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको कृष्ण वि.क. ले गरेको घटना विवरण कागज ।
कृष्ण वि.क. र म खलङ्गाबाट आउँदै गर्दा लालबहादुर दाहाललाई लालकुमारीको घरमा देखेकाले मैले सो कुरा धनबहादुर नाथसँग भनेको थिएँ । हाल बुझदा मृतकलाई प्रेम सम्बन्ध बिग्रेको कारण धनबहादुर नाथले कर्तव्य गरी मारेको खुल्न आएकाले निजलाई कानूनबमोजिम सजाय होस् भन्नेसमेत व्यहोराको हरि गौतम र धनबहादुर नाथले गरेको अलगअलग घटना कागज ।
मृतकले म विवाह गरी दाङ गएँ भन्नेसमेत लेखी घरको भित्तामा टाँसेको कुरा मृतकको बाबुले मसँग भनेकाले मैले सो कुरा मृतकको प्रेमी धनबहादुर नाथलाई भनेको थिएँ । प्रेम सम्बन्ध बिग्रेको कारण धनबहादुर नाथले नै कर्तव्य गरी मारेको हुनुपर्छ भनी तिलुकुमारी नाथले गरेको घटना कागज ।
मिति २०६५।८।१५ गते मलगायत गाउँका मानिसहरू घाँस दाउरा गर्न वारदात भएको भनिएको स्थानमा गएको अवस्थामा घाँस काट्दै जाँदा मेरो हँसियाको टुप्पोमा रगत लागेको चप्पल फेला परेकाले मैले पक्कै लालकुमारीको हुनुपर्छ भनी खर्कु जैसीको घरमा लिएर देखाउँदा मृतकका घरपरिवारले चिनी चप्पल भेटिएको स्थानमा खोजतलास गर्दा मिति २०६५।८।१६ गते सुरूङभित्र लास फेला परेकाले मृतकलाई धनबहादुर नाथले नै कर्तव्य गरी मारेको हुनुपर्छ भन्नेसमेत व्यहोराको सविता नाथले गरेको घटना विवरण कागज ।
मेरो बहिनी मृतक लालकुमारी जैसीको धनबहादुर नाथसँगको प्रेम सम्बन्ध बिग्रेको कारण मृतक लालकुमारीलाई धनबहादुर नाथले नै कर्तव्य गरी मारेकामा पूर्ण विश्वास लाग्छ भन्नेसमेत व्यहोराको मौकामा बुझिएका दिपक जैसीले गरेको घटना विवरण कागज ।
मेरी बहिनी मृतक लालकुमारी जैसीको धनबहादुर नाथसँग प्रेम सम्बन्ध रहेको थियो । बहिनीले धनबहादुर नाथसँग नै विवाह गरी जान्छु भन्ने गर्थिन । प्रेम सम्बन्ध चलिरहेकै अवस्थामा निजहरूबीच केही खटपट रहेको थियो । प्रेम सम्बन्ध बिग्रेको कारण मेरी बहिनीलाई धनबहादुर नाथले नै कर्तव्य गरी मारेकामा पूर्ण विश्वास लाग्छ भनी मौकामा बुझिएकी मनिषा जैसीले गरेको घटना विवरण कागज ।
घटना विवरण कागजलगायतका सबुद प्रमाण, घटना प्रकृति तथा तथ्यहरूबाट प्रतिवादी धनबहादुर नाथले आफ्नो प्रेमिका लालकुमारी जैसीले अन्य मानिससँग उठ्बस गर्ने गरेको निजको महिनावारी रोकिएको सम्बन्धमा चेक जाँच गराउन नमानेको र अन्य मानिससँग विवाह गरेर गई फर्की आएको हुन सक्ने, आशङ्काले मार्ने योजना बनाई विवाद खडा गरी प्रतिवादी धनबहादुर नाथले मिति २०६५।८।३ गते राति खुकुरी प्रहार गरी कर्तव्य गरी मारेको तथ्य पुष्टि भएको र प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.बमोजिमको कसुर अपराध भएको हुँदा निज प्रतिवादी धनबहादुर नाथलाई सोही महलको १३(१) नं.बमोजिम कारवाही भै सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६५।९।४ गतेको अभियोगपत्र ।
मेरो र मृतक लालकुमारी जैसीको बीचमा उक्त वारदात मितिभन्दा करिब ५/६ महिना अगाडिदेखि नै प्रेम सम्बन्ध रहेको थियो । हाम्रो उक्त प्रेम ५/६ महिना अगाडिदेखि नै सुरू भएकाले सम्बन्ध राम्रो थियो र विवाह गर्नेसमेत योजना बनाएका थियौं । मिति २०६५ साल कार्तिक २८ गतेका दिन निज मृतकको मेरो महिनावारी रोकिएको करिब ७५ दिन जति भएको छ भन्ने कुरा गरेकी थिइन् । लालबहादुर दाहाल नाम गरेको केटासँग उठ्बस गरेको कुरा र महिनावारी रोकिएको बारेमा कुराकानी गर्दा निजले वास्तविक कुरा नबताएकीले वारदात मितिका राति विवादसमेत भई रिस उठी पूर्व योजनाअनुसार गोजीबाट खुकुरी तानेर टाउकामा हाने । त्यसपछि ऊ टाउको काटिएर ढली फेरी हान्छु भन्दा खुकुरी नै भाँचियो । त्यसपछि म केहिबेर त्यहिनेर उभिएँ । त्यसपछि उक्त लासको लतार्दै १०।१२ मिटर टाढा रहेको सुरूङ प्वालमा लगेर फाले भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर नाथले अदालतमा गरेको बयान ।
मृतकको मृत्यु के कसरी भएको हो थाहा
छैन । सार्वजनिक वनमा घाँस काट्न गएको बेला हँसियामा चप्पल आयो र सो चप्पल कसको होला भनेर मैले भनेपछि मृतकको आमा आएर मेरी छोरीको जस्तो चप्पल छ भनेर लिएर जानुभयो । त्यसपछि के भयो मलाई थाहा छैन तर चप्पल भने मैले जाहेरवालाको घरमा लगेर दिएको चाहिँ होइन । सोही ठाउँबाट नै मृतकको आमाले चप्पल लगेकी हुन् भन्ने घटना विवरण कागज गर्ने सविता नाथको बकपत्र ।
मृतक लालकुमारी जैसीको मृत्यु धनबहादुर नाथको कर्तव्यबाट भएको हो । मिति २०६५ साल मङ्सिर १६ गते सविता नाथले चप्पल भेटाई दिएपछि मैले सो चप्पल मेरी छोरीको हो भनेर चिनेपछि सोही जङ्गलमा खोज्दै जाँदा छोरीको कर्तव्य भएको ठाउँ पनि भेटाए । सो ठाउँमा खुकुरी, खुकुरी बिड, काँज, पारो सबै त्यही थियो । नजिकै गन्ध आएकाले खोज्दै जाँदा लास ओडारमा राखिएको देखेँ र घरमा गई अरू मान्छेहरूलाई बोलाएर ल्याएँ, त्यसपछि प्रहरीलाई खबर गर्यौं भन्ने घटना विवरण कागज गर्ने छम्की जैसीको बकपत्र ।
मेरी छोरीको लभ यही प्रतिवादी धनबहादुर नाथसँग थियो भन्ने कुरा मनिषा जैसीबाट सुनेको थिएँ साथै मेरी श्रीमती छम्की जैसीले पनि भनेकी थिइन् । कक्षा १२ मा पढ्ने केटालाई नदिएर कस्तो केटालाई दिन्छौ त भनेर छोरीले भन्छे भन्ने कुरासमेत श्रीमतीबाट सुनेको थिएँ । छोरीले यही केटासँगै विवाह गर्छु भनेकी थिइन् । मिति २०६५।८।१ गतेबाट छोरी हराईसकेपछि सोधपुछ गर्दै जाँदा सार्वजनिक वनमा घाँस काट्न गएको सविता नाथले चप्पल भेट्टाएपछि सोही वनको वरपर खोजतलास गर्दा मेरी श्रीमती छम्की जैसीले लास भेट्टाएपछि हामीहरूले सोही ठाउँमा गएर लास भेट्टाएको खबर प्रहरी चौकीमासमेत गर्यौँ । सो लास मेरी छोरीको रहेछ । यसरी विवाह गर्ने बहानामा मेरी छोरीलाई प्रतिवादीले कर्तव्य गरी मारेको हो । यी प्रतिवादीको कर्तव्यबाट छोरीको मृत्यु भएको हो भन्ने जाहेरवाला खर्कु जैसीको बकपत्र ।
उक्त मितिमा लास जाँच मुचुल्कामा लेखिएको व्यहोरा मसमेतका मानिसले लेखाइदिएको ठिक साँचो हो । त्यसमा गरिएको ल्याप्चे सहिछाप मेरै हो भन्ने दिपक पौडेलको बकपत्र ।
उक्त मितिमा लास जाँच मुचुल्कामा लेखिएको व्यहोरा मसमेतका मानिसले लेखाइदिएको ठिक साँचो हो त्यसमा गरिएको ल्याप्चे सहिछाप मेरै हो भन्ने मनबहादुर वादीको बकपत्र ।
प्रतिवादी धनबहादुर नाथले अदालत तथा अधिकार प्राप्त अधिकारीसमक्ष गरेको साबिती बयान, किटानी जाहेरी, शव परीक्षण प्रतिवेदन र मिसिल संलग्न अन्य प्रमाणसमेतबाट अभियोग माग दाबीबमोजिम प्रतिवादी धनबहादुर नाथले पूर्व योजना मुताविक खुकुरी प्रहार गरी मृतकलाई कर्तव्य गरी मारेको तथ्य समर्थन भइरहेको हुँदा निज प्रतिवादी धनबहादुर नाथलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा ऐ. १३(१) नं.बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहर्छ भन्नेसमेत व्यहोराको रूकुम जिल्ला अदालतको मिति २०६६।१०।१४ को फैसला ।
साबित नभए मेरो परिवारसमेतलाई समाप्त पार्नेसमेतको धम्की जाहेरवालाले दिएको कारण सोहीअनुसार मैले मौकामा तथा अदालतमा साबित भई बयान गरेको र सोही साबिती बयान तथा बेरीतको बरामदी मुचुल्कासमेतलाई आधार लिई घटनाको प्रकृति र वारदातको अवस्थाको विवेचनासमेत नगरी वादी दाबीलाई पूर्णरूपमा स्वीकार नगरेको र अन्य प्रमाणबाट पुष्टि हुन नसकेको एक प्रकारको तथ्यको स्वीकारोक्तिलाई आधार बनाएर सम्बद्ध प्रमाण नबुझी अ.बं. १८४क नं. को गलत व्याख्या गरी मलाई ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गर्ने ठहर्याई सुरू अदालतबाट भएको फैसला फौजदारी न्यायको सर्वमान्य सिद्धान्तसमेतको प्रतिकूल भई बदरभागी भएकाले बदर उल्टी गरी वास्तविक घटना घट्दाको परिस्थितिसमेतलाई दृष्टिगत गरी इन्साफ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीको पुनरावेदन जिकिर ।
खुकुरी जस्तो घातक हतियारले प्रहार गरी कर्तव्य गरी मारेको भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमासमेत साबिती बयान दिएका र निजको सो साबिती बयानलाई अन्यथा हो भन्न सकिने कुनै ठोस आधार प्रमाण मिसिलमा रहेको नदेखिएकाले लालकुमारीलाई कर्तव्य गरी ज्यान मारेको कसुरमा निज प्रतिवादी धनबहादुर नाथलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराई रूकुम जिल्ला अदालतबाट मिति २०६६।१०।१४ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, तुलसीपुरको मिति २०६७।२।१२ को फैसला ।
घटनास्थल मुचुल्का र लास जाँच प्रतिवेदन आपसमा विरोधाभाष रहेको, जाहेरी दरखास्त र मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइमा समेत एकरूपता नभएको, घटनास्थल बरामद भएको भनिएको खुकुरीको बिँडलाई सनाखतसम्म नगराई मैले वारदातको एक प्रकारको तथ्यसम्मको स्वीकारोक्तिलाई अभियोग दाबी पूर्णरूपमा स्वीकार गरेको अर्थ गरी सम्बद्ध प्रमाणसमेत केही नबुझी मुलुकी ऐन अ.बं. १८४क नं.समेतको गलत व्याख्या गरी भएको सुरू तथा पुनरावेदन अदालत, तुलसीपुरको फैसला नेकाप २०६७ अङ्क १ नि.नं. ८२९७ पृष्ठ ८९ मा प्रकाशित नजिर सिद्धान्तसमेतको प्रतिकूल हुँदा बदर भागी छ उक्त फैसला उल्टी गरी झुट्ठा अभियोग दाबीबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी धनबहादुर नाथको पुनरावेदनपत्र ।
नियमबमोजिम पेसी सूचीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको सुरू तथा पुनरावेदन मिसिलसमेत अध्ययन गरी पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री तारा खनालले गर्नुभएको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, तुलसीपुरको फैसला मिले नमिलेको के रहेछ प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी धनबहादुर नाथले मिति २०६५।८।३ गते राति खुकुरी प्रहार गरी मृतक लालकुमारी जैसीलाई कर्तव्य गरी मारेको तथ्य पुष्टि भएको र प्रतिवादीको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत १३(१) नं.बमोजिमको कसुर अपराध भएको हुँदा निज प्रतिवादीलाई सोही महलको १३(१) नं.बमोजिम कारवाही भै सजाय गरिपाउँ भन्ने अभियोग दाबी भएकामा सुरू तथा पुनरावेदन अदालतबाट अभियोग दाबीबमोजिम प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. को कसुरमा १३(१) बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भएको
पाइयो ।
३. यसमा प्रतिवादीले आफ्नी प्रेमिका लालकुमारी जैसीले अन्य मानिससँग उठबस गर्ने गरेको सम्बन्धमा निज मृतकलाई बोलाई सोध्दा जवाफ नदिएको र महिनावारी रोकिएको सम्बन्धमा चेक जाँच गराउन नमानेको समेतका कारणबाट निजलाई मार्ने योजना बनाई मिति २०६५।८।३ गते राति निजको टाउकामा खुकुरी प्रहार गरी कर्तव्य गरी मारी लासलाई सुरूङमा छिराई पर्सिपल्ट गएर सुरूङको मुखमा ढुङ्गा राखी छोपिदिएको भनी प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष कसुरमा पूर्ण साबित भै लेखाएको देखिन्छ । निजले अदालतमा गरेको बयानमासमेत कसुरमा पूर्ण साबित भै लेखाएको पाइन्छ । लास जाँच मुचुल्का तथा शव परीक्षण प्रतिवेदनबाट लालकुमारीको मृत्यु कर्तव्यबाट भएको भन्ने पुष्टि भएको छ । जाहेरवाला खर्कु जैसी तथा बुझिएकी छम्की जैसीले बकपत्र गर्दा प्रतिवादीको कर्तव्यबाट लालकुमारी जैसीको मृत्यु भएको हो भनी लेखाइदिएकोसमेत देखिएको छ । प्रतिवादीको सो साबिती बयानलाई अन्यथा हो भन्न सकिने कुनै ठोस आधार प्रमाण पेस गर्न सकेको पनि देखिँदैन । साथै वारदातमा अन्य व्यक्तिको संलग्नता वा अरू नै कारणले मृतकको मृत्यु भएको हो कि भनी शङ्कासम्म गर्न सकिने अवस्था मिसिल संलग्न प्रमाण कागजसमेतबाट रहेको नदेखिएकाले प्रतिवादीको पुनरावेदन जिकिर तथा निजतर्फबाट उपस्थित विद्वान् अधिवक्ताको बहस जिकिरसमेतसँग सहमत हुन सकिएन ।
४. जहाँसम्म यी पुनरावेदकले वारदातको एक प्रकारको तथ्यसम्मको स्वीकारोक्तिलाई अभियोग दाबी पूर्णरूपमा स्वीकार गरेको अर्थ गरी सम्बद्ध प्रमाणसमेत केही नबुझी फैसला गरिएको भन्ने जिकिर छ, सो सम्बन्धमा हेर्दा यी पुनरावेदकले अनुसन्धानको क्रममा तथा अदालतमा भएको बयानमासमेत कसुरमा पूर्ण साबित रही घटनाको सिलसिलेवार वर्णनसहित बयान गरेको देखिन्छ । निजले पुनरावेदनपत्रमा जिकिर लिएजस्तो तथ्यको एकप्रकारको साबिती मात्र नभै कसुरको सम्बन्धमा पूर्ण साबिती नैं भएको र निजको सो साबिती अन्य स्वतन्त्र प्रमाणहरूबाट समर्थित भएको अवस्थामा केवल पुनरावेदनमा लिएको जिकिरकै आधारमा मात्र निर्दोष रहेछन् भनी मान्न मिल्ने देखिएन । मृतकलाई मार्ने पूर्व योजनाअनुसार खुकुरी जस्तो घातक हतियार लिई मृतकलाई रातको समयमा एकान्तस्थलमा लगी टाउकामा खुकुरी प्रहार गरी कर्तव्य गरेको र लासलाई दबाए छिपाएको देखिँदा पक्राउ पछि अनुसन्धान र अदालतमासमेत कसुरमा साबित हुँदैमा अदालती प्रक्रियालाई सहयोग पुर्याएको मानी सजायबाट उन्मुक्ति दिन वा छुट दिन मिल्ने देखिँदैन ।
५. तसर्थ, लालकुमारीलाई कर्तव्य गरी ज्यान मारेको कसुरमा निज प्रतिवादी धनबहादुर नाथलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वश्वसहित जन्मकैद हुने ठहराई पुनरावेदन अदालत, तुलसीपुरबाट मिति २०६७।२।१२ मा भएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । फैसलाको जानकारी थुनामा रहेका प्रतिवादी तथा जिल्ला अदालतलाई दिई दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
प्र.न्या. रामकुमार प्रसाद शाह
इति संवत् २०७१ साल मङ्सिर २१ गते रोज १ शुभम् ।
इजलास अधिकृत : ईश्वर पराजुली