शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९३९९ - जबर्जस्ती करणी

भाग: ५७ साल: २०७२ महिना: भाद्र अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्याय

फैसला मिति : २०७१।७।३।२

०६९-CR-०००३

 

मुद्दा : जबर्जस्ती करणी ।

 

विशेष प्रकृतिका मुद्दाहरूको कारबाहीमा पक्षहरूको गोपनीयता कायम राख्ने निर्देशिका २०६४ बमोजिम प्रस्तुत जबर्जस्ती करणी मुद्दाका पीडितहरूको परिचयात्मक विवरण परिवर्तन गरिएको छ । 

 

पुनरावेदक/वादी : “ए” कुमारीसमेतको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी/प्रतिवादी : जिल्ला लमजुङ, तार्कुघाट गा.वि.स. वडा नं. ४ घर भई हाल काठमाडौंं जिल्ला, विष्णु गा.वि.स. वडा नं. २ बस्ने सेतु भन्ने साबुद्दिन मियाँ 

 

फौजदारी कसुरमा संलग्न हुने कसुरदारले एउटै व्यक्तिउपर एकै बखत विभिन्न प्रकारका कसुर गरेको खण्डमा सो प्रतिवादीउपर एउटै वारदातबाट सृजित परिणामलाई लिएर कसुरअनुसारको सजाय माग गरी एउटै मुद्दा चलाउन सक्ने भए पनि प्रस्तुत वारदात फरक फरक मितिमा भैं फरक फरक नाबालिकाउपर जबर्जस्ती करणी भएको भनी स्वयम् अभियोजन गर्ने निकायले अभियोग दाबीमा माग गरेको देखिँदा अलग अलगरूपमा अभियोजन गरी मुद्दा दायर गर्नुपर्नेमा सो नगरी एउटै वारदात जस्तो रूपमा बुझी अभियोग पत्र दायर भएको देखिएको र यस्तो संवेदनशील विषयमा अभियोजनको जिम्मेवारी निर्वहन गर्ने निकायको रूपमा रहेको महान्यायाधिवक्ताको कार्यालयले मातहतका कार्यालयलाई थप निर्देशन दिई अभियोजनको विषयलाई थप प्रभावकारी बनाउनुपर्ने हुँदा अब आइन्दा यस्तो प्रकारको त्रुटि हुन नदिन र अभियोजनको प्रभावकारितामा जोड दिन तालुक कार्यालयले विशेष ध्यान दिनु भनी महान्यायाधिवक्ताको कार्यालयका नाउँमा ध्यानाकर्षण गराउने । 

(प्रकरण नं. ८)

 

पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले

प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १, ३(२) (३),१० नं.

 

सुरू तहमा फैसला गर्ने : 

मा.जि.न्या. श्री शेखरप्रसाद पौडेल

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या. श्री फणिन्द्रदत्त शर्मा

मा.न्या. श्री रामचन्द्र यादव

 

फैसला

न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।१०।३ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवम्‌ ठहर निम्नबमोजिम रहेको छ ।

 

तथ्य खण्ड

मिति २०६५।५।१३ गते काठमाडौंं जिल्ला विष्णु गा.वि.स. वडा नं. ३ स्थित पूर्णलाल श्रेष्ठको घरमा डेरा गरी बस्ने साबुद्दिन मियाँ, “ए” कुमारी, “डी” कुमारी “सी” कुमारी, “ई” कुमारी र “बी” कुमारीसमेतलाई एउटै कोठामा थुनी राखेको अवस्थामा फेला पारी कोठाभित्र हेर्दा कामसूत्र लेखिएको सि.डि., केटीले लगाउने ब्रा र रगत जस्तो पदार्थ लागेको चकटीको खोलसहितको चिजबस्तुसमेत रहेको अवस्थामा फेला परेको निज साबुद्दिन मियाँले उल्लिखित बालिकाहरूलाई जबर्जस्ती करणी गरेको भनिएको घटनास्थल 

मुचुल्का । 

मिति २०६५।५।१३ गते काठमाडौंं जिल्ला, विष्णु गा.वि.स. वडा नं. ३ स्थित पूर्णलाल श्रेष्ठको घरमा डेरा गरी बस्ने साबुद्दिन मियाँसमेत “ए” कुमारी, “डी” कुमारी, “सी” कुमारी, “ई” कुमारी र “बी” कुमारीसमेतलाई एउटै कोठामा थुनी राखेको अवस्थामा फेला परी कोठाभित्र हेर्दा कामसूत्र लेखिएको सि.डि, केटीले लगाउने ब्रा र रगत जस्तो पदार्थ लागेको चकटीको खोलसहितको चिजवस्तुसमेत रहेको अवस्थामा फेला परेको निज साबुद्दिन मियाँलाई यसै प्रतिवेदनसाथ पक्राउ गरी दाखिला गरेका छौं कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने व्यहोराको प्रहरी प्रतिवेदन ।

मिति २०६५।५।११ गते बेलुका ६ बजेको समयमा काठमाडौंं जिल्ला विष्णु गा.वि.स. वडा नं. ३ चपली गाउँस्थित पूर्णलाल श्रेष्ठको घरमा भाडामा बस्ने वर्ष ७१ का साबुद्दिन मियाँले मेरो भदिनी “ई” कुमारीलाई स्कुलमा पढ्न गएको अवस्थामा बाटोमा ललाई फकाई कोठामा लगी कोठाको चुकुल बन्द गरी विभिन्न डरधाक दिई “ई” कुमारीले लगाएको कपडा खोली जबर्जस्ती करणी गरेको भनी भनेको हुँदा निज साबुद्दिन मियाँलाई पक्राउ गरी कारबाही गरिपाउँ भन्नेसमेत व्यहोराको पीडित “ई” कुमारीकी फुपूको जाहेरी दरखास्त ।

मिति २०६५।५।११ गते पढेर ४ बजे घर फर्कँदै गर्दा बाटोमा साबुद्दिन मियाँले मलाई ललाई पकाई पैसा दिन्छु भनी प्रलोभनमा पारी आँखामा पट्टि बाँधी कोठामा लगी कोठाको चुकुल बन्द गरी विभिन्न डर, धाक, धम्की दिई चाउचाउ खान दिई मैले लगाएको कपडा खोली जबर्जस्ती करणी गर्न लाग्दा अचानक रोई कराई गरेको हुँदा छाडी दिएको हो निजले मलाई जबर्जस्ती करणी गरेको हो भन्ने व्यहोराको “ई” कुमारीको कागज ।

मिति २०६५।५।१० गते बेलुका १९ बजेको समयमा “डी” कुमारीले निज साबुद्दिन मियाँको कोठामा जाउँ भनेको हुँदा म निजको कोठामा गएको थिएँ, हामीहरू गएपछि निज साबुद्दिन मियाँले कोठा बन्द गरी हामीहरूको शरीर मसारमुसुर गर्‍यो । यसरी मसारमुसुर गरेपछि मलाई डर लागी कराएको हुँदा निजले छाडिदियो निजले “डी” कुमारीलाई पहिला देखि नै जबर्जस्ती करणी गर्ने गर्‌थ्यो भनी सुनेको थिएँ । सो दिन मलाई पनि गर्ने प्रयास गरेको हो भन्ने व्यहोराको “ए” कुमारीले लेखाइदिएको कागज ।

विगत १ महिना पहिलादेखि मेरा वर्ष १४ की “सी” कुमारी र वर्ष ११ की “बी” कुमारीलाई साबुद्दिन मियाँको कोठामा काम गर्न पठाएकामा निजले काम गर्ने बहाना बनाई कोठामा लगी ढोकाको चुकुल बन्द गरी डर, धाक, धम्की दिई पटकपटक जबर्जस्ती करणी गर्ने गरेको र फोटोसमेत खिच्ने गरेको हुँदा पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने व्यहोराको पीडित “सी” र “बी” कुमारीका बाबुको जाहेरी 

दरखास्त ।

विगत २ महिना अगाडिदेखि मेरो छोरी वर्ष १२ की “डी” कुमारीलाई काम गर्ने बहाना बनाई साबुद्दिन मियाँले कोठामा लगी ढोका बन्द गरी विभिन्न डर, धाक, धम्की दिई छोरीले लगाएको कपडा खोली पटकपटक जबर्जस्ती करणी गरेको भनी छोरीले भनेको हुँदा निजलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्ने व्यहोराको जाहेरी दरखास्त ।

म विगत २ महिना अगाडिदेखि साबुद्दिन मियाँको कोठामा भाँडा माझ्ने काम गर्दथेँ । निजको कोठामा अन्य केटीहरू पनि काम गर्न आउने हुँदा अन्य केटीहरू नभएको अवस्थामा जिउ मिच्न लगाउने, पिसाब फेर्ने दरो बनाई मेरो पिसाब फेर्ने ठाउँमा छिराउने र कसैलाई भनेमा मार्नेसम्मको धम्की दिने गरेकामा मिति २०६५।५।१३ गते पनि “बी” कुमारी, “सी” कुमारीसमेतलाई नाङ्गै बनाई जबर्जस्ती करणी 

गरेको । निजको लिङ्ग योनीमा छिराई सेतो पदार्थसमेत झार्ने गर्दथ्यो उक्त कुरा कोही कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएको मलाई पटकपटक जबर्जस्ती करणी गरेको हो भन्ने व्यहोराको “डी” कुमारीको कागज ।

हामीहरू दिदीबहिनी निज साबुद्दिन मियाँको कोठामा काम गर्न जाने र “डी” कुमारी पनि काम गर्न आउने हुँदा तीनै जनालाई ढोका बन्द गरी सम्पूर्ण लुगा कपडा खोल्न लगाई अश्लील फिल्महरू देखाउने र जिउ मिच्न लगाउने, लिङ्ग चुसाउने र निजको पिसाब फेर्ने हामीहरूको पिसाब फेर्ने ठाउँमा जबर्जस्ती छिराउने गरेकामा मिति २०६५।५।१३ गते पनि जबर्जस्ती करणी गरेको हो । उक्त कुरा कोही कसैलाई भनेमा ठीक हुन्न भनी डर, धाक, धम्की दिएको हुँदा हामीहरूलाई डर लागी कसैलाई पनि नभनेको हो भन्ने व्यहोराको “बी” कुमारी र “सी” कुमारीले लेखाइदिएको कागज ।

वर्ष १३ की “ए” कुमारी, वर्ष ११ की “बी” कुमारी, वर्ष १२ की “डी” कुमारी, वर्ष १४ की “सी” कुमारीको कन्या जाली च्यातिएको र “ई” कुमारीको केही नभएको भन्ने व्यहोराको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल विकास समिति, थापाथलीको पत्र ।

 आजभन्दा ४२/४३ वर्ष पहिला मेरो श्रीमतीले मलाई छाडी गएपछि अन्य महिला केटाकेटीहरूलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी कोहीलाई राजीखुसीमा र कोहीलाई जबर्जस्ती करणी गर्दै आइरहेको थिएँ । मिति २०६५।५।११ गते “ई” कुमारीलाई स्कुलबाहिरबाट पैसा दिने भनी ललाई फकाई कोठामा लगी बन्द गरी राखी आई ब्लु फिल्म लगाई निजले लगाएको कपडा खोली निजमाथि चढी निजलाई जबर्जस्ती करणी गर्न लाग्दा कराएकाले निजलाई डर, धाक, धम्की दिई जबर्जस्ती करणी गरेको हो । २०६५।५।१३ गते भन्दा १०/११ दिन अगाडि पीडित “सी” र “बी” कुमारीका बाबु भुजेलको छोरीहरू वर्ष १४ कि “सी” कुमारी र वर्ष ११ की “बी” कुमारीलाई कोठामा भाँडा माझ्ने, लुगा धुने बहाना बनाई काम गर्न भनी ल्याई निजहरूलाई नाङ्गै पारी लिङ्ग चुसाउने, फिल्म देखाउने, निजहरूको योनीमा जबर्जस्ती लिङ्ग छिराउने, नमानेमा डर, धाक, धम्की दिने जस्ता कार्यहरू गर्ने गर्दथेँ । निजहरूको योनीमा छिराउँदा नपसेपछि लिङ्ग देखाउने, चुसाउने र छातीमा मसार मुसुर गर्ने जस्ता कार्यहरू गर्ने र उक्त कुराहरू कसैलाई भनेमा मारी दिने कसैलाई नभन्नु भनी कहिले २०, कहिले २५ रूपैयाँ दिँदै आइरहेको थिएँ । मिति २०६५।५।१३ गते “सी” कुमारी बिहान काम गर्न आएपछि कोठा बन्द गरी चुकुल लगाई निजलाई करणी गर्न लाग्दा दुखेको छ भनी नमानेकी हुँदा निजलाई सो दिन पनि जबर्जस्ती करणी गरेको हुँ । ९-१० महिना अगाडिदेखि मैले “डी” कुमारीलाई मासिक रू.१५०० देखि २०००।- दिने भनी काम गर्न ल्याएकामा निजलाई कोठामा ल्याएपछि शरीरका सम्पूर्ण कपडा खोल्न लगाउने, तेल लगाई मालिस गर्न लगाउने जस्ता कार्य गर्ने र लिङ्ग दरो भएपछि निजको शरीरमा घोच्ने र योनीमा छिराउने जस्ता कार्यहरू गर्दथेँ । निजले उक्त कार्य गर्न नमानेमा पैसा दिने र धम्क्याउने जस्ता कार्यहरू गर्दै आइरहेको 

थिए । निजलाई मैले जबर्जस्ती करणी गरेको हुँ । मिति २०६५।५।१३ गते “सी” कुमारीलाई जबर्जस्ती करणी गरी बसिरहेको अवस्थामा “डी” कुमारी आएको र निज आएपछि ब्लु फिल्म लगाई लिङ्ग खेलाउन लगाएको हुँ । मिति २०६५।५।१० गते “डी” कुमारीलाई अन्य केटीहरू फेला परेमा फकाई ल्याउन भनी भनेकाले निजले “ए” कुमारीलाई “डी” कुमारीले सँगै लिएर आएको हुँदा निजलाई कपडा खोल्न लगाई शरीर मसारमुसुर गर्न लाग्दा रोइ कराएकी र जबर्जस्ती गर्न लाग्दा ठूला स्वरले कराएको हुँदा मैले उक्त दिन जबर्जस्ती करणी गरिन, गर्न खोजेको हो । मेरो कोठामा फेला परेको कामसूत्र लेखिएको सि.डि. २-३ वर्ष पहिलेदेखि नै आफ्नो कोठामा ल्याई महिला तथा बालिकालाई देखाई उत्तेजनामा ल्याई करणी गर्ने उद्देश्यबाट राखेको हो । उक्त सि.डि. बूढानीलकण्ठबाट ल्याएको  हो । “ई” कुमारीलाई फकाई करणी गर्न ल्याएको हो । मिति २०६५।५।१३ गते “डी” कुमारीलाई जबर्जस्ती करणी गर्दा निजको योनीबाट रगत निस्केको हुँदा उक्त रगत चकटीको खोलले पुछि कुर्चीमा राखेको 

हो । मैले पैसा दिन्छु भनी विभिन्न प्रलोभनमा पारी ललाईफकाई कोठामा ल्याई जबर्जस्ती करणी गरेको हुँ भन्ने व्यहोराको प्रतिवादी साबुद्दिन मियाँले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती भई लेखाइदिएको बयान कागज ।

मिति २०६५।५।११ गते मेरी भतिजी “ई” कुमारीलाई पढ्न भनी पठाएकामा बेलुकासम्म नआएपछि कहाँ गई भनी खोजतलास गर्दा मेरी भतिजी “ई” कुमारीलाई साबुद्दिन मियाँले ललाइफकाई विभिन्न प्रलोभनमा पारी जबर्जस्ती माइक्रो बसमा राखी कोठामा लगी अन्य २ जना केटीहरूलाई बाहिरबाट चुकुल लगाई बन्धक बनाई राखेको अवस्थामा भेटिएको अन्य २ जना केटीहरूले निज साबुद्दिन मियाँले हामीहरूलाई जबर्जस्ती करणी गर्ने गर्छ भनेको र निज साबुद्दिन मियाँले डर, धाक, धम्की दिने अश्लील फिल्म देखाउने र केटीहरूलाई नाङ्गै पारी लिङ्ग चुसाउने जस्ता कार्य गर्ने गरेको भन्ने बुझिएकामा मेरी भदैनीलाई पनि सोही कार्य गर्न लागेको अवस्थामा उद्धार गरी ल्याएको हुँदा निज साबुद्दिन मियाँले “ई” कुमारीसमेतलाई जबर्जस्ती करणी गरेको हो भन्ने व्यहोराको लक्ष्मी सिंहको 

कागज ।

मिति २०६४।५।१ गते साबुद्दिन मियाँले मासिक रू.१५००।- दिने भनी भाडामा लिई एक्लै आई बसेकामा निजले पछि “सी” कुमारी र “बी” कुमारीलाई नातिनी हो भनी ल्याई काम गर्न लगाएको थियो । निज बच्चाहरूले अन्य केटीहरूसमेतलाई लिई आउने हुँदा यिनीहरू मेरी नातिनी हुन् भनी भन्ने हुँदा कुनै शङ्का थिएन । मिति २०६५।५।११ गतेका दिन ३ जना केटीहरूलाई कोठाभित्र राखी ढोकाको चाबी लगाएको र भित्र बच्चाहरूले दिशा गरी फाल्ने गरेको भनी परिवारबाट सुनी थाहा पाएको हो । निज साबुद्दिन मियाँले “सी” कुमारी, “बी” कुमारी र “ई” कुमारीसमेतका बालिकाहरूलाई कोठाभित्र राखी जबर्जस्ती करणी गर्ने गरेको रहेछ भनी सुनी थाहा पाएको हो भन्ने व्यहोराको पुर्णलाल श्रेष्ठको कागज ।

मेरो कुनै पनि बैंकमा खाता छैन । मेरो स्वदेश तथा विदेशमा कुनै जग्गा रकम छैन । जिल्ला लमजुङ तार्कुघाट ४ स्थित राईनास भन्ने स्थानमा दाजु जुम्मादिन मियाँ र मेरो संयुक्त नाउमा ५-६ रोपनी जग्गा रहेको छ । काठमाडौंं जिल्ला, विष्णु गा.वि.स. वडा नं. २ स्थित सुकुम्बासीमा ६ आना जग्गा छ उक्त जग्गामा तीन कोठाको कच्ची घर छ भन्ने व्यहोराको प्रतिवादी साबुद्दिन मियाँले अधिकारप्राप्त अधिकारीसमक्ष साबिती भई लेखाइदिएको पूरक बयान कागज ।

 

अभियोग खण्ड

अनुसन्धानको क्रममा सङ्कलित तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी साबुद्दिन मियाँले पीडितहरू वर्ष ११ की “बी” कुमारीलाई मिति २०६५।५।१२ गते, वर्ष १२ की “डी” कुमारीलाई मिति २०६५।५।१३ गते, वर्ष १५ की “ई” कुमारीलाई मिति २०६५।५।११ गते, वर्ष १३ की “ए” कुमारीलाई मिति २०६५।४।१० गते र वर्ष १४ की “सी” कुमारीलाई २०६५।५।१३ गतेको मिति र यसअघि र पछिका मितिमा पनि पटकपटक ललाई फकाई आफ्नो डेरा कोठामा लगी डर, धाक, धम्की दिई विभिन्न अश्लील फिल्महरू देखाई जबर्जस्ती करणी गर्दै आएको पुष्टि भएको हुँदा निज प्रतिवादी साबुद्दिन मियाँले गरेको उक्त कार्य मुलुकी ऐन जबर्जस्ती करणीको १ नं. महलविपरीतको कसुर हुँदा निज प्रतिवादीलाई सोही महलको ३(२) र ३(३) नं. बमोजिम सजाय हुन र पीडितहरू “सी” कुमारी, “बी” कुमारी, “ई” कुमारी, “ए” कुमारी र “डी” कुमारीसमेतलाई सोही ऐनको महलको १० नं. बमोजिम मनासिब क्षतिपूर्ति दिलाई दिने भन्नेसमेत व्यहोराको अभियोग दाबी ।

 

बयान तथा बकपत्र खण्ड

म पुर्णलाल श्रेष्ठको घरमा पहिला २ कोठा लिई बसेकामा पैसा तिर्न नसकेपछि एउटा मात्र कोठा भाडामा लिई बस्ने गरेको छु । म वृद्ध भएको कारण खाना पकाउने भाँडा माझ्ने काम गर्न “सी” कुमारी र “बी” कुमारी नामका दिदी बहिनीलाई राख्ने गरेकामा म बाहिर गएको बेला म बस्ने कोठामा तीनै दिदी बहिनी रहेको हुँदा सो बखत प्रहरी, जाहेरवाला महिला तथा अन्य बच्चोसमेत आएका रहेछन् । सो बेला म बाहिरबाट आएपछि भेट भएको हो, पीडितहरूलाई जबर्जस्ती गरेको होइन भन्नेसमेत व्यहोराको प्रतिवादी साबुद्दिन मियाँले अदालतमा गरेको बयान ।

जाहेरी दरखास्त व्यहोरा र सोमा भएको सहिछाप मेरो हो मिति २०६५।५।११ गते बिहान मैले निजलाई स्कुल पठाएकामा साँझ घर फर्की नआएकाले स्कुलमा बुझ्दा ३.३० बजे छुट्टी भएछ, स्कुल छुट्टी भएपछि उनले भाइलाई तिमी बिस्तारै आउनु भनी छाडी घरतर्फ हिँडेकामा बाटोमा उनलाई प्रतिवादी साबुद्दिन मियाँले पैसा दिनुछ भनी जबर्जस्ती माइक्रो बसमा हाली लगेछन् । भाइ ४ बजे घर आएपछि दिदी अगाडि नै स्कुलबाट हिँडेको थाहा भयो र हामीले खोजी गर्न थाल्यौं । हामीले सुरक्षा निकायमा जानकारी गराई व्यक्तिगत पहलमा समेत खोजी गर्ने क्रममा ३ दिन पछि “ई” कुमारीको एउटा साथीबाट उनीहरूलाई स्कुलमा आई किताब कापी, खाजा आदि किनी दिने गर्ने गरेका भन्ने सुनेपछि उक्त बूढो बाजेको घर कोठा पुर्‍याईदेउ भनी मैले अनुरोध गरेपछि “ई” कुमारीको साथीले मलाई ऊ बस्ने घर कोठा देखाइदिइन्, सो कोठाभित्र “ई” कुमारीसहित ३ जना बच्चा रहेछन् र बाहिरबाट ढोकामा ताल्चा लगाएका रहेछन् । मैले प्रहरीमा खबर गरी प्रहरीको सक्रियतामा बालिका हराएको ३ दिनपछि उनको कोठाबाट ढोका खोली उद्धार गरेका हौं र “ई” कुमारीलगायत त्यहाँ रहेका बच्चाहरूको भनाइअनुसार साबुद्दिन मियाँले आफ्नो कोठामा लगी ब्लु फिल्मको सि.डि. लगाई उनीहरूलाई नाङ्गै पारी ब्लु फिल्मको स्टाइलमा यौन शोषण गरेका हुन् भन्नेसमेत व्यहोराको जाहेरवाली पीडित “ई” कुमारीकी फुपूको बकपत्र ।

घटनास्थल मुचुल्कामा परेको सही मेरो हो । मिति २०६५।५।११ गते “ई” कुमारी स्कुल गएकामा निजलाई स्कुलभित्रबाट अपहरण गरी गाडीमा हाली प्रतिवादी साबुद्दिन मियाँले चपली गाउँस्थित आफ्नो कोठामा ल्याई ताला लगाई राखेका रहेछन् । हामीले “ई” कुमारी हराई भनी खोजी गर्दा मिति २०६५।५।१३ गते निजको कोठाबाट प्रहरीको सहयोगमा निजलाई उद्दार गरेका हौं । हामीलाई शङ्का लागी निजको घर कोठामा पुग्दा यी प्रतिवादीले कोठाबाहिरबाट ताला लगाई बजार गएका रहेछन् । प्रहरीसहित हामी निजको कोठामा पुगेको अवस्थामा उनीसमेत बजारबाट आइपुगेका हुन्, उनले सो दिन १२ बजेतिर ४-५ जना केटीहरूलाई चिडियाखाना लाने उनको योजना रहेछ । उनले “ई” कुमारीलाई जबर्जस्ती राति १२ बजे ३ पटक करणी गरेका रहेछन् भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्काका मानिस सुरेन्द्र सिंह र पुर्णलाल श्रेष्ठको एकै मिलानको बकपत्र ।

वारदात भएको भनिएको रात म प्रतिवादीसँगै प्रतिवादीको कोठामा थिएँ । प्रतिवादी र मबाहेक त्यहाँ कोही थिएनन् । तसर्थ प्रतिवादीमाथिको अभियोग झुट्ठा हो । प्रतिवादीले सफाइ पाउनुपर्छ भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी अलीमियाँ र कालु मियाँको एकै मिलानको बकपत्र ।

अनुसन्धानको क्रममा गरेको कागज व्यहोरा र सोमा भएको सहिछापसमेत मेरो हो । मिति २०६५।५।११ गते दिउँसो ४.०० बजेतिर म स्कुलबाट घर फर्कदै गर्दा स्कुल बाहिर गेटबाट साबुद्दिन मियाँले मलाई जबर्जस्ती माइक्रो बसमा हाली उसको घर कोठामा पुर्‍याई कोठाभित्र थुनी बाहिरबाट चाबी लगाइदियो । मसमेत अरू २ जना गरी जम्मा हामी ३ जनालाई कोठामा थुनी ऊ छाडा फिल्ममा जस्तो गरेको छ हामीलाई पनि त्यस्तै गर्न लगायो । हाम्रो लुगा खोली हामीमाथि चढ्न आयो । म चिच्चाएँ, उसले घरभेटीले सुन्छ चुप लाग नत्र मारी दिन्छु भनी मलाई चक्कु देखायो । जबर्जस्ती गर्न नदिएसमेत मारी दिन्छु भनी धम्क्यायो । यसले एकपटक मलाई जबर्जस्ती गर्‍यो, त्यसपछि हामी सुत्यौं । भोलिपल्ट बिहान चिया बिस्कुट खान दिई ढोकाबहिर ताल्चा लगाई हामी ३ जनालाई भित्र थुनी गएर बेलुका ८-९ बजेतिर आए । त्यसपछि अर्को केटीलाई  र मलाई उसको पिसाब फेर्ने जबर्जस्ती हाम्रो मुखमा लगायो त्यसपछि हामी सुत्यौं । त्यसपछि भोलिपल्ट बिहान फेरि चिया बिस्कुट खान दिई भोलिपल्ट बिहानसमेत हामीलाई बाहिरबाट थुनी उनी बाहिर गए । मेरो फुपू मलाई खोज्दै त्यहाँ आई 

पुग्नुभयो । म त्यहाँ छैन भन्नु भनी त्यहाँ थुनेका अरू साथीलाई भन्न सिकाएको थियो । उनीहरूले त्यसो भनेपछि मेरो फुपूले प्रहरी ल्याई ढोका खोलाई हामीहरूलाई बाहिर निकालेकी हुन् भन्नेसमेत व्यहोराको पीडित “ई” कुमारीको  बकपत्र ।

जिल्ला सरकारी वकिल कार्यालय, बबरमहल, काठमाडौंंको च.नं. १०८०, २०६५।८।२२ को पत्रसाथ परीक्षण प्रतिवेदन प्राप्त भै मिसिल संलग्न रहेको ।

कागज व्यहोरा मेरो होइन । मैले त्यस्तो भनेको होइन । त्यसमा परेको सहिछाप मेरो होइन । प्रतिवादीसँग मैले टि.भि. हेर्ने गर्दिनथेँ, प्रतिवादीले जिस्काउने, सुमसुम्याउने गर्दैनथे भन्नेसमेत व्यहोराको पीडित “बी” कुमारी र “सी” कुमारीको एकै मिलानको बकपत्र ।

प्रतिवादीको अंश रोक्का मुचुल्का भै मिसिल संलग्न रहेको ।

 

सुरू काठमाडौंं जिल्ला अदालतबाट भएको फैसलाको खण्ड 

प्रतिवादी साबुद्दिन मियाँले पीडितहरू “सी” कुमारी र “डी” कुमारीलाई जबर्जस्ती करणी गरी मुलुकी ऐन, जबर्जस्ती करणीको महलको १ नं. विपरीतको कसुर गरेको देखिँदा प्रतिवादी साबुद्दिन मियाँलाई सोही महलको ३(२) बमोजिम ८ वर्ष कैद हुने ठहर्छ र सोही महलको १० नं. बमोजिम पीडितहरू “सी” कुमारी र “डी” कुमारीलाई प्रतिवादीबाट जनही रू.१०,०००।- का दरले क्षतिपूर्ति भराई दिनुपर्ने ठहर्छ । पीडितहरू “ए” कुमारी र “बी” कुमारीको हकमा यी प्रतिवादीले जबर्जस्ती करणी गरेको देखिन आएन । पीडित “बी” कुमारी र “ए” कुमारीलाई झुट्ठा बकपत्र गरेकामा सजाय हुनेमा नाबालक देखिँदा केही गरी रहन परेन भन्ने मिति २०६६।७।२२ मा काठमाडौंं जिल्ला अदालतबाट भएको फैसला ।

 

वादी नेपाल सरकारका तर्फबाट पुनरावेदन अदालत, पाटनमा दायर भएको पुनरावेदनपत्र । 

पीडितहरू “डी” कुमारी र “सी” कुमारीलाई मात्र जबर्जस्ती करणी भएको ठहर्‍याई सो कसुरमा ८ वर्षमात्र कैद गरी पीडितहरूलाई न्यूनतम् परिमाणमा मात्र क्षतिपूर्ति भराउने गरी गरेको सुरूको फैसला मिलेन तसर्थ अभियोग दाबीबमोजिम नै प्रतिवादीलाई सजाय गरिपाऊँ ।

 

पुनरावेदन अदालत, पाटनबाट भएको आदेश तथा फैसला खण्ड

यसमा पीडितहरूमध्ये “सी” कुमारी र “डी” कुमारीलाई जबर्जस्ती करणी गरेको ठहरेको, “ए” कुमारी र “बी” कुमारीलाई जबर्जस्ती करणी गरेको नठहरेको तर “ई” कुमारीको हकमा केही नबोलिएको देखिएको हुँदा काठमाडौंं जिल्ला अदालतको मिति २०६६।७।२२ को फैसला फरक पर्ने देखिएको हुँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेस गर्नु भन्ने मिति २०६८।८।२७ मा भएको आदेश ।

प्रतिवादीले “ई” कुमारीलाई पनि जबर्जस्ती करणी गरेको देखिन्छ । त्यसकारणले जबर्जस्ती करणीको १० नं. बमोजिम “ई” कुमारीले समेत प्रतिवादीबाट क्षतिपूर्तिबापत रू.१०,०००।- भराई लिन पाउने ठहर्छ ।

पीडित “ए” कुमारी र “बी” कुमारीलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको हो वा होइन भन्ने सन्दर्भमा विचार गर्दा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान, कागज गर्दा “ए” कुमारी र “बी” कुमारीलाई जबर्जस्ती करणी गरेको भन्ने कुरा स्वीकार गरेको देखिँदैन भन्ने मिसिल संलग्न अन्य कागजहरूबाट पनि निज पीडितहरूलाई जबर्जस्ती करणी भएको तथ्यको पुष्टि भएको देखिएन । यस कारणले निज पीडित “ए” कुमारी र “बी” कुमारीलाई जबर्जस्ती करणी गरेको देखिएन भन्ने हदसम्मको फैसला कानूनसम्मत भइरहेको देखिन्छ ।

पीडित “ए” कुमारी र “बी” कुमारीलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको देखिन आएन । “सी” कुमारी र “डी” कुमारीलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको देखिँदा प्रतिवादीलाई जबर्जस्ती करणीको ३(२) बमोजिम ८ वर्ष कैद र क्षतिपूर्तिबापत जबर्जस्ती करणीको १० नं. बमोजिम रू.१०/१० हजारको दरले क्षतिपूर्ति भराई लिन पाउने हदसम्मको फैसला मुनासिब नै देखियो भने पीडित “ई” कुमारीलाई पनि प्रतिवादीले जबर्जस्ती करणी गरेको देखिँदा निजलाई पनि जबर्जस्ती करणीको १० नं. बमोजिम क्षतिपूर्तिबापत रू.१०,०००।- भराई दिनुपर्नेमा त्यसतर्फ फैसलामा केही नबोलेको हदसम्मको फैसला मिलेको देखिएन ।

अतः पीडित “ई” कुमारीलाई पनि प्रतिवादीले जबर्जस्ती करणी गरेको ठहर गर्नुपर्नेमा सो नगरेको हदसम्मको काठमाडौंं जिल्ला अदालतको मिति २०६६।७।२२ को फैसला उल्टी भई पीडित “ई” कुमारीलाईसमेत जबर्जस्ती करणी गरेको ठहर्छ । सो ठहर्नाले निज “ई” कुमारीलाई रू.१०,०००।- (दश हजार) क्षतिपूर्ति भराई दिनुपर्ने ठहर्छ । अरू कुराको हकमा पुनरावेदक वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेतको पुनरावेदन अदालत, पाटनबाट मिति २०६८।१०।३ मा भएको फैसला ।

 

वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष पुनरावेदनपत्रको व्यहोरा ।

प्रतिवादी साबुद्दिन मियाँउपर जाहेरवालाहरूको किटानी जाहेरी परेको घटनास्थलबाट १३ वर्षकी “ए” कुमारी, १२ वर्षकी “डी” कुमारी, १४ वर्षकी “सी” कुमारी, १५ वर्षकी “ई” कुमारी र ११ वर्षकी “बी” कुमारीलाई घटनास्थल बन्द कोठाबाट फेला परेको भन्ने घटनास्थल मुचुल्कामा प्र.ना.नि. टिका राईको प्रतिवेदन रहेको र पीडित “ए” कुमारी र “ई” कुमारीको स्वास्थ्य परीक्षणबाट कन्याजाली च्याती आएको देखिन्छ । प्रतिवादी सावुद्दिन मियाँले मौकाको बयानको स.ज. ८ मा वर्ष ११ कि “बी” कुमारीलाई ब्लु फिल्म देखाई आफ्नो लिङ्ग समाउन, खेलाउन लगाई चुस्न लगाएको र निजले नमान्दा विभिन्न गाली गलौज गरी निजको योनीमा आफ्नो लिङ्ग छिराउन खोज्दा नछिरेको भनी बयान गरेको र सो बयानको स.ज.१० मा मैले “ए” कुमारीलाई जबर्जस्ती करणी गर्न खोजेको भनी बयान गरी स.ज. १७ मा बालिकाहरूलाई जबर्जस्ती करणी गर्न खोजेको भनी स्वीकारी बयान गरेकामा सो बयानलाई प्रमाणमा ग्रहण गरिएको छैन । पुनरावेदन अदालतले “ई” कुमारीलाई जबर्जस्ती करणी गरेको ठहर गरी १०,०००।- क्षतिपूर्तिसमेत पीडितलाई प्रतिवादीबाट भराइदिने ठहर गरेकामा निज प्रतिवादीको हकमा कसुर कायम गरिसकेपछि सजायतर्फ नबोलेकोबाट उक्त फैसलामा अ.बं. १९२ नं. को त्रुटिसमेत 

छ । अबोध अवस्थाकी बालिकालाई आफ्नो लिङ्ग चलाउन लगाउने र निजको योनीद्वारसम्म लिङ्ग पुर्‍याई वीर्य स्खलन गराई आफ्नो यौन सन्तुष्टि लिने कार्यलाई केवल करणीको उद्योग मात्र भनी व्याख्या गर्न मिल्दैन । योनीमा लिङ्ग प्रवेश नगरेसम्म जबर्जस्ती करणीको कसुर हुँदैन भनी सबै अवस्थामा व्याख्या गर्ने हो भने शारीरिकरूपमा कमजोर महिलामाथि हुने यौनजन्य अपराधबाट प्रतिवादीले उन्मुक्ति पाउने अवस्था आउन सक्छ भनी ने.का.प. २०६३, नि.नं. ७६५२ अङ्क २ पृष्ठ २३२ मा सिद्धान्त प्रतिपादनसमेत भएकामा सो सिद्धान्तसमेतको बेवास्ता गरी भएको फैसला त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालत, पाटनबाट भएको फैसलासमेत बदर गरी सुरू अभियोग माग दाबीबमोजिम प्रतिवादीलाई सजाय हुनुपर्छ भन्नेसमेतको वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष परेको पुनरावेदनपत्र ।

यस अदालतको ठहर 

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी नेपाल सरकारका तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री बालकृष्ण वाग्लेले प्रतिवादीले बयानमा नै पाँच जना नाबालिकाहरूलाई करणी गर्ने प्रयोजनको लागि कसैलाई करणी गर्ने, कसैलाई लिङ्ग चुस्न तथा खेलाउन लगाउने र निजको योनीमा लिङ्ग पसाउन प्रयत्न गर्दा नपसेको भनी बयानसमेत गरी करणी गरेको कुरामा साबित भै बयान गरेको छ । सो बयानलाई समेत प्रमाणमा लिई अभियोग दाबीबमोजिम सजाय गर्नुपर्नेमा सो नगरी मागदाबीभन्दा कम सजाय हुने ठहर्‍याई भएको फैसला त्रुटिपूर्ण छ, बदर गरी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्छ भनी बहस प्रस्तुत गर्नुभयो ।

मिसिल अध्ययन गर्दा प्रतिवादी साबुद्दिन मियाँले पीडितहरू वर्ष ११ की “बी” कुमारीलाई मिति २०६५।५।१२ गते वर्ष १२ की “डी” कुमारीलाई मिति २०६५।५।१३ गते, वर्ष १५ की “ई” कुमारीलाई मिति २०६५।५।११ गते, वर्ष १३ की “ए” कुमारीलाई मिति २०६५।४।१० गते र वर्ष १४ की “सी” कुमारीलाई २०६५।५।१३ गतेको मिति र यसअघि र पछिका मितिमा पनि पटकपटक ललाई फकाई आफ्नो डेरा कोठामा लगी डर, धाक, धम्की दिई विभिन्न अश्लील फिल्महरू देखाई जबर्जस्ती करणी गर्दै आएको पुष्टि भई निज प्रतिवादी साबुद्दिन मियाँले उक्त कार्य मुलुकी ऐन जबर्जस्ती करणीको १ नं. महलविपरीतको कसुर गरेको हुँदा निज प्रतिवादीलाई सोही महलको ३(२) र ३(३) नं. बमोजिम सजाय हुन र पीडितहरू “सी” कुमारी, “बी” कुमारी, “ई” कुमारी, “ए” कुमारी र “डी” कुमारीसमेतलाई सोही ऐनको महलको १० नं. बमोजिम मनासिब क्षतिपूर्ति दिलाई दिने भन्नेसमेत व्यहोराको अभियोग दाबी रहेको प्रस्तुत मुद्दामा सुरू काठमाडौंं जिल्ला अदालतबाट यी प्रतिवादी साबुद्दिन मियाँले “सी” कुमारी र “डी” कुमारीलाई जबर्जस्ती करणी गरेको ठहर गरी निज प्रतिवादीलाई ८ वर्ष कैद र पीडितहरूले जनही १०,०००।- क्षतिपूर्ति पाउने ठहराई फैसला भएकामा पुनरावेदन अदालत, पाटनबाट “ई” कुमारीलाईसमेत जबर्जस्ती करणी गरेको ठहरी निज “ई” कुमारीले समेत प्रतिवादीबाट रू.१०,०००।- क्षतिपूर्ति पाउने भन्नेसमेत ठहर गरी फैसला भएकामा अन्य पीडित “ए” कुमारी तथा “बी” कुमारीका हकमा समेत प्रतिवादीले जबर्जस्ती करणी गरेको हुँदा जबर्जस्ती करणी गरेबापतको कसुर गरेको ठहर हुनुपर्ने भन्नेसमेतको जिकिर लिँदै वादी नेपाल सरकारका तर्फबाट यस अदालतसमक्ष प्रस्तुत पुनरावेदनपत्र दायर भई निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको देखियो ।

अब पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ छैन? अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय हुनुपर्छ भनी वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन यही विषयमा निर्णय दिनुपरेको छ । 

२. मिसिल अध्ययन गर्दा, आफ्नो भदिनी “ई” कुमारीलाई मिति २०६६।५।११ गते बेलुकी ६ बजेदेखि ७ बजेको समयमा प्रतिवादी साबुद्दिन मियाँले जबर्जस्ती करणी गरेको भनी पीडित “ई” कुमारीकी फुपूले जाहेरी दरखास्त दिएको पाइन्छ । त्यसैगरी आफ्नो छोरीहरू “बी” कुमारी र “सी” कुमारीलाई मिति २०६५।५।१३ गते प्रतिवादी साबुद्दिन मियाँले जबर्जस्ती करणी गरेको भन्ने व्यहोराको पीडित “बी” कुमारी र “सी” कुमारीका बाबुले जाहेरी दरखास्त दिएको साथै आफ्नी छोरी “डी” कुमारीलाई प्रतिवादीले मिति २०६५।५।१३ मा जबर्जस्ती करणी गरेको भनी “डी” कुमारीकी आमाले जाहेरी दिएको देखिन्छ । यसरी भिन्नभिन्न मितिमा प्रतिवादीले पीडितहरूलाई जबर्जस्ती करणी गरेको भन्ने व्यहोराको यी प्रतिवादीउपर भिन्नभिन्न किटानी जाहेरी परेको मिसिलबाट देखिएको छ ।

३. पीडितहरू “सी” कुमारी र “डी” कुमारीले अनुसन्धानको सिलसिलामा मौकामा कागज गर्दा प्रतिवादी साबुद्दिन मियाँले डर त्रास देखाई २०६५।५।१३ र सोभन्दा अघि पनि पटकपटक आफूहरूलाई जबर्जस्ती करणी गरेको भनी बयान दिएको देखिन्छ । पीडित “सी” कुमारीले अदालतमा आई बयान गर्ने क्रममा निज प्रतिवादीले जबर्जस्ती करणी गरेको होइन भनी इन्कारी बयान दिएको भए तापनि स्वास्थ्य परीक्षण रिपोर्टले निज “सी” कुमारी र “डी” कुमारीको कन्याजाली च्यातिएको भन्ने देखिन्छ यसरी पीडितहरू स्वयम्‌ले प्रतिवादी साबुद्दिन मियाँले पटकपटक घरमा काम गर्न बोलाउने बहानामा डर त्रास देखाई मार्नेसम्मको धम्की दिई जबर्जस्ती करणी गर्ने गरेको भनी स्पष्टरूपमा लेखाई दिएको साथै प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान र पीडितहरूको स्वास्थ्य परीक्षण प्रतिवेदनले पनि सो कुरालाई समर्थन गरेको देखिएकोसमेतबाट प्रतिवादीले पीडित “सी” कुमारी र “डी” कुमारीउपर करणी गरेको स्पष्ट हुन आउँछ । अतः पीडितहरू “सी” कुमारी र “डी” कुमारीको हकमा यी प्रतिवादी साबुद्दिन मियाँले जबर्जस्ती करणी गरेको ठहर्‍याई निजलाई ८ वर्ष कैद र पीडितहरूलाई प्रतिवादी साबुद्दिन मियाँबाट जनही रू.१०/१० हजार क्षतिपूर्ति दिने ठहर्‍याएको पुनरावेदन अदालत, पाटनको फैसला सो हदसम्म मिलेकै देखिँदा सदर हुने ठहर्छ । 

४. पीडित “ई” कुमारीलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको हो वा होइन भन्ने सम्बन्धमा विचार गर्दा “ई” कुमारीकी फुपूले मिति २०६५।५।११ गतेका दिन स्कुल गएकी आफ्नी भदिनीलाई प्रतिवादी साबुद्दिन मियाँले स्कुलबाट फर्कने क्रममा ललाई फकाई आफ्नो कोठामा लगी जबर्जस्ती करणी गरेकाले निजलाई पक्राउ गरी कानूनबमोजिम सजायको माग गरिपाउँ भनी जाहेरी दरखास्त दिएको देखिन्छ । अनुसन्धानको सिलसिलामा प्रतिवादीले आफूलाई जबर्जस्ती करणी गरेको र ठूलो स्वरले रून कराउन थालेपछि मात्रै छोडी दिएको भन्ने व्यहोराको कागज यी पीडित “ई” कुमारीले गरेको निजको मौकाको भनाईबाट समेत देखिन्छ । सोही बयानलाई समर्थन गर्दै निज “ई” कुमारीलाई स्कुलबाट फर्कने क्रममा प्रतिवादी साबुद्दिन मियाँले जबर्जस्ती उठाएर आफ्नो कोठामा लगी थुनेर राखेको र करणी गरेको भन्ने व्यहोराको बयान अदालतमासमेत गरेको देखिन्छ । प्रतिवादी स्वयम्‌ले पनि अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा पीडित “ई” कुमारीलाई प्रलोभनमा पारी जबर्जस्ती स्कुलबाट घर फर्कने क्रममा आफ्नो कोठामा लिएर आएको र करणी गरेको भनी स्वीकार गरी कसुरमा साबित रही बयान गरेको देखिन्छ । घटनास्थल मुचुल्काबाट स्कुल ड्रेससहित भएको झोला र “ई” कुमारी लेखिएको किताब र कापीहरूसमेत बरामद भएको भन्ने देखिन्छ साथै जाहेरवाला पीडित “ई” कुमारीकी फुपूले पनि प्रतिवादी साबुद्दिन मियाँले स्कुलबाट फर्किदै गरेकी “ई” कुमारीलाई ललाई फकाई गरी आफ्नो कोठामा लगी अश्लील फिल्म देखाई जबर्जस्ती करणी गरेका हुन् भन्ने व्यहोराको अदालतसमक्ष आई बकपत्र गरेको देखिन्छ ।

५. जाहेरी दरखास्तको व्यहोरा र सोही जाहेरीलाई समर्थन गरी जाहेरवालाको अदालतसमक्ष भएको बकपत्र, पीडितको अनुसन्धान अधिकारी एवम्‌ अदालतसमक्ष भएको एकै मिलानको तथा मौकामा भएको कागज व्यहोरा तथा बकपत्र, घटनास्थल मुचुल्कामा उल्लेख भएबमोजिम “ई” कुमारी लेखिएको किताब र कापीहरू साथै पीडितको स्कुल ड्रेस, झोला, निज पीडितकै नाम लेखिएको कपि घटनास्थलमा भेटिएबाटसमेत तथा प्रतिवादीको अधिकारप्राप्त अधिकारीसमक्षको साबिती बयानले यी प्रतिवादीले पीडित “ई” कुमारीलाई पनि यी प्रतिवादीले पीडितलाई आफ्नो कोठामा लगी जबर्जस्ती करणी गरेको भन्ने स्पष्ट हुन आउँछ । प्रतिवादी साबुद्दिन मियाँ वृद्ध अवस्थाका भएपनि आफ्नो घरका परिवारका सदस्यहरू काठमाडौंंमै बसोबास गर्ने हुँदा आफू एक्लै कोठा लिई भाडामा बस्नु र काम गर्ने बहानामा स-साना बालिकाहरूलाई मात्रै कोठामा बोलाउनु र काम सकेपछि पनि उनीहरूलाई घर फर्किन नदिने गरेबाट यी प्रतिवादीले बालिकाहरू प्रति यौन आकांक्षा पुरा गर्ने मनसायसमेत राखी कलिलो उमेरका बालिकालाई घरायसी काममा लगाउने बहानामा निजहरूलाई अश्लील दृश्यसहितका सामग्री देखाई उनीहरूलाई प्रलोभन, दबाबमा पारी करणी गर्ने मनसाय राखी सोहीअनुरूपको कार्य गरेको स्पष्ट देखिन 

आउँछ । घरायसी काममा लगाउने बहानामा आफ्नो यौन चाहना परिपूर्ति गर्नका लागि कलिलो उमेरका नाबालिकाहरूलाई घरमा बोलाई काममा लगाउने र सोही क्रममा निज नाबालिकाहरूउपर यौनजन्य क्रियाकलाप गरी यौन शोषण गर्ने गरेको तथ्य पीडितहरूको बयान तथा बकपत्रसमेतबाट पुष्टि भै रहेको यस्तो अवस्थामा निजले अभियोग दाबीअनुरूपको कसुर गरेको होइन होला भनी यी प्रतिवादीलाई सफाइ दिन मिल्ने भएन । तसर्थ पीडित “ई” कुमारीलाई जबर्जस्ती करणी गरेको ठहराई क्षतिपूर्तिसमेत पीडितलाई भराउने ठहराएको पुनरावेदन अदालत, पाटनको मिति २०६८।१०।३ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

६. अब पीडित “ए” कुमारी र “बी” कुमारीलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको हो कि होइन ? अभियोग दाबीबमोजिम प्रतिवादीलाई सजाय हुनुपर्छ भनी वादी नेपाल सरकारले लिएको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्नेतर्फ विचार गर्दा पीडितहरू “ए” कुमारी र “बी” कुमारी लाई प्रतिवादीले जबर्जस्ती करणी गरेको भन्ने कुरा मिसिल संलग्न प्रमाणहरू कहीँ कतैबाट पनि स्थापित हुन सकेको देखिँदैन । प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा अन्य पीडितलाई जबर्जस्ती करणी गरेको स्वीकार गरेको देखिए तापनि यी “ए” कुमारी र “बी” कुमारी दुईको हकमा करणी गर्न खोजको तर नगरिएको भनी बयान गरेको देखिन्छ । “ए” कुमारी र “बी” कुमारीलाईसमेत प्रतिवादी साबुद्दिन मियाँले जबर्जस्ती करणी नगरेको कुरा “ए” कुमारीको मौकामा भएको बयानमा मिति २०६५।५।१० गतेका दिन “डी” कुमारीले साबुद्दिन मियाँको कोठामा जाऔं भनी निजसँग गएपछि निजले मसारमुसुर गर्न खोज्दा आफू कराएपछि मलाई डर लागिरहेको र निजले मलाई छोडी दिएको भनी व्यहोरा उल्लेख गरेकी छन् भने अदालतसमक्षको बयानमा पीडित “बी” कुमारीले प्रतिवादीसँग टि.भी. हेर्ने गर्दिनथें, प्रतिवादीले जिस्काउने सुम्सुमाउने गर्दैनथे भनी अदालतसमक्ष बकपत्रसमेत गरेको देखिँदा पीडितहरूको बयान तथा बकपत्रबाटै यी प्रतिवादीले निज “ए” कुमारी र “बी” कुमारीलाई पनि जबर्जस्ती करणी गरी अभियोग दाबीअनुरूपको कसुर गरेको भन्ने तथ्य स्थापित हुन सकेको नदेखिँदा निजहरूलाई प्रतिवादीले जबर्जस्ती करणी गरेको नठहर्‍याई भएको सुरू काठमाडौंं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी भएको पुनरावेदन अदालत, पाटनको फैसला मिलेकै देखिन्छ ।

७. अभियोगपत्रको व्यहोरा हेर्दा, प्रतिवादी साबुद्दिन मियाँले पीडितहरू वर्ष ११ की “बी” कुमारीलाई मिति २०६५।५।१२ गते, वर्ष १२ की “डी” कुमारीलाई मिति २०६५।५।१३ गते वर्ष १५ की “ई” कुमारीलाई २०६५।५।११ गते, वर्ष १३ की “ए” कुमारीलाई २०६५।४।१० गते र वर्ष १४ की “सी” कुमारीलाई मिति २०६५।५।१३ गतेको मितिमा जबर्जस्ती करणी गरेको भन्नेसमेतको अभियोग मागदाबीसहित कानूनअनुरूप सजायको माग गरेको देखिएको छ । वारदातको प्रकृति र समय नै अलग भएको एवम् सो वारदातमा पीडित भएका बालिकाहरू नै अलगअलग भएपछि यी प्रतिवादीलाई अलगअलग वारदातको आधारमा अलगअलग गरी अभियोगपत्र दायर गर्नुपर्नेमा वादी नेपाल सरकारले प्रस्तुत वारदातमा गोस्वारारूपमा एकै पटकको वारदात कायम गरी अभियोजन गरेकोसमेत देखियो ।

८. वस्तुतः फौजदारी कसुरमा संलग्न हुने कसुरदारले एउटै व्यक्तिउपर एकै बखत विभिन्न प्रकारका कसुर गरेको खण्डमा सो प्रतिवादीउपर एउटै वारदातबाट सृजित परिणामलाई लिएर कसुरअनुसारको सजाय माग गरी एउटै मुद्दा चलाउन सक्ने भए पनि प्रस्तुत वारदात फरकफरक मितिमा भै फरकफरक नाबालिकाउपर जबर्जस्ती करणी भएको भनी स्वयम् अभियोजन गर्ने निकायले अभियोग दाबीमा माग गरेको देखिँदा अलगअलगरूपमा अभियोजन गरी मुद्दा दायर गर्नुपर्नेमा सो नगरी एउटै वारदात जस्तो रूपमा बुझी अभियोगपत्र दायर भएको देखिएको र यस्तो संवेदनशील विषयमा अभियोजनको जिम्मेवारी निर्वहन गर्ने निकायको रूपमा रहेको महान्यायाधिवक्ताको कार्यालयले मातहतका कार्यालयलाई थप निर्देशन दिई अभियोजनको विषयलाई थप प्रभावकारी बनाउनु पर्ने हुँदा अब आइन्दा यस्तो प्रकारको त्रुटि हुन नदिन र अभियोजनको प्रभावकारितामा जोड दिन तालुक कार्यालयले विशेष ध्यान दिनु भनी महान्यायाधिवक्ताको कार्यालयका नाउँमा ध्यानाकर्षण गरिदिएको छ । प्रस्तुत फैसलाको विद्युतिय प्रति अपलोड गरी दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इति संवत् २०७१ साल कात्तिक ३ गते रोज २ शुभम् ।

इजलास अधिकृत:- विष्णुप्रसाद गौतम

दीक्षा प्रधानाङ्ग (रा.प. तृतीय)

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु