शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४३४ - कर्तव्य ज्यान, जबरजस्ती चोरी ।

भाग: ५७ साल: २०७२ महिना: कार्तिक अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति :- २०७२।३।२३।४

०६७-CR-०८७७

 

विषय : कर्तव्य ज्यान, जबरजस्ती चोरी ।

 

पुनरावेदक/प्रतिवादी :- जिल्ला खोटाङ, डाँडागाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल क्षेत्रीय कारागार कार्यालय, झुम्कामा कैदमा रहेको रवीकुमार राईको छोरा कालुराम भन्ने पृथी राईसमेत

विरूद्ध

प्रत्यर्थी/वादी : यसोदा राईको जाहेरीले नेपाल सरकार

 

अदालतमा बयान गरी स्वतन्त्र अभिव्यक्ति दिने क्रममा आफूहरूको उमेर १६ वर्ष पुगिसकेको लेखाइसकेकामा पछि फेरि त्यसो नभई आफूहरू नाबालक हो भनी सुरू अदालतको फैसलापश्चात् पुनरावेदनमा जिकिर लिएको र सो कुरा प्रमाणितसमेत भएको देखिँदैन । यसो गर्न प्रतिवादीहरू प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम विवन्धितसमेत हुने ।

कसुर गर्दा नाबालक रहेकामा त्यसतर्फ विचार गरी सजाय नतोकिएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार न्यूनतम सजाय तोकिपाउँ भनी प्रतिवादीहरूको पुनरावेदन जिकिर  रहेको भएपनि निजहरूले सुरू अदालतमा स्वतन्त्ररूपले बयान गरी लेखाएको उमेरले नै ग्राह्यता पाउने भई सुरू फैसलाउपर पुनरावेदन गर्दा छुट्टै जिकिर लिई पेस गरिएका थप प्रमाणहरूले मान्यता नपाउने भएकाले निजहरूले जिकिर लिएको नाबालकतर्फको पुनरावेदन जिकिर पुग्न नसक्ने ।

(प्रकरण नं. ५)

 

पुनरावेदक/प्रतिवादीको तर्फबाट :- विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री

प्रत्यर्थी/वादीको तर्फबाट :- 

अवलम्बित नजिर :-

सम्बद्ध कानून :-

मुलुकी ऐन, ज्यानसम्बन्धी १३(१)

बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२)

प्रमाण ऐन, २०३१को दफा ३४

चोरीको महलको १२, १४(२)

 

सुरू तहमा फैसला गर्ने :

मा‍.जि.‍न्या.श्री दयानाथ खरेल

पुनरावेदन तहमा फैसला गर्नेः 

मा.न्या. श्री हरिकुमार पोखरेल ।

मा.न्या. श्री थिरबहादुर कार्की ।

 

फैसला

न्या. गिरीश चन्द्र लाल :- पुनरावेदन अदालत, राजविराजको मिति २०६७।०८।१५।४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतसमक्ष पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ: 

 

१. तथ्य खण्ड:

१.१ विष्णु राईले दिएको जाहेरी दरखास्तको व्यहोरा:

डाँडागाउँ गा.वि.स. वडा नं. ३ कोप्चे बस्ने कर्णबहादुर राईका छोराबुहारी श्रीमतीहरू सबै भारतको बागडुगुरा भन्ने स्थानमा बस्ने गरेको र कर्णबहादुर एक्लै घरमा बस्दै आएका थिए । मिति २०६५।०१।२६ गते राति अं. ८:३० बजेको समयमा कर्णबहादुर निजकै घरभित्र खाना खाइरहेको अवस्थामा नमालुम को कसले बन्चराले टाउकोसमेतमा काटी मारेको कुरा गाउँकै बैनमाया राईले भोलिपल्ट मिति २०६५।०१।२७ गते बिहान थाहा पाई गाउँमा हो हल्ला गरेपछि थाहा पाएँ । त्यसपछि घटनास्थलमा गई हेर्दा कर्णबहादुर राईलाई मृत अवस्थामा देखी जाहेरी दिन आएको छु । अपराधीलाई कानुनबमोजिम कारवाही गरी मृतक लास दाहसंस्कार गर्न जिम्मा लिन पाऊँ ।

१.२ घटनास्थल मुचुल्काको व्यहोरा:

लासको बायाँ कानभन्दा माथि टाउकामा ५ इन्च लामो, तालुमा २ इन्च लामो तथा २ इन्च गहिराइको र टुप्पीनिर ४ इन्च लामो र ३ इन्च गहिराइको धारिलो हतियारले काटेको चोटहरू देखिएको, लासभन्दा १५ फिट पश्चिममा रगत र रौं लागेको २ फिट १ इन्च लामो बन्चरो फेला परेको हो । 

 

१.३ पोस्टमार्टम रिपोर्टको व्यहोरा:

मस्तिष्कमा चोट लागेको र रगत जमेको कारण कर्णबहादुर राईको मृत्यु भएको हो ।   

 

१.४ पदमकमुारी राईले दिएको किटानी जाहेरीको व्यहोरा:

हामी जेठीकान्छी श्रीमती र छोराछोरीहरू सबै भारतको बागडुगुरामा बस्दै आएको र श्रीमान्‌् कर्णबहादुर राई खेतीपातीको लागि पहाड घर खोटाङ डाँडागाउँ-३, कोप्चेमा आएर बसेको अवस्थामा मिति २०६५।०१।२६ गते राति अं. ८:३० बजेको समयमा निजलाई टाउकामा बन्चराले काटी मारेको कुरा थाहा पाई डाँडागाउँ घर आई बुझ्दा जिल्ला खोटाङ, डाँडागाउँ-३ बस्ने युवराज भन्ने अनिल राई र ऐ. बस्ने कालुराम भन्ने पृथी राईसमेतले मेरो पति कर्णबहादुर राईलाई खाना खाँदै गरेको मौकामा धारिलो हतियार बन्चराले टाउकामा प्रहार गरी हत्या गरेछन् र घरमा रहेको प्लास्टिकको सुटकेस र सोमा रहेको १,५०,०००।– नगदसमेत चोरी लगेको प्रष्ट हुन आएकाले अपराधीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरिपाऊँ ।

 

१.५ राकेशकुमार राईले गरेको कागज:

बुबा कर्णबहादुर भारतीय सेनामा जागिर खाएर सुबेदार पदमा रिटायर हुनु भएपछि भारतकै बाघडुगुरा भन्ने ठाउँमा घर बनाएर उतै बस्तै आएका छौं । आमा दुवैजना र हामी परिवार बाघडुगुरामा बस्दै आएको र बुबा कर्णबहादुर राई घर व्यवहार मिलाउनको लागि पहाडको घर खोटाङ डाँडागाउँ-३ मा आएको अवस्थामा मिति २०६५।०१।२६ गते राति अं. ८:३० बजेको समयमा बुबालाई बन्चराले काटी हिर्काई घरभित्रै मारेको छ भन्ने खबर सुनेपछि डाँडागाउँ-३ मा आएर बुझ्दा गाउँकै डाँडागाउँ- ३ बस्ने युवराज भन्ने अनिल राई र कालुमान राई भन्ने पृथी राईसमेतले बन्चराले बुबाको टाउकामा हिर्काई काटी मारेर नगदसमेत चोरी लगेको कुरा खुल्न आएकाले आमा पदम कुमारी राईले किटानी जाहेरी दिएकी हुन् । अपराधीहरूलाई कानूनबमोजिम कडा कारवाही होस् ।

 

१.६ नइन्द्र राई, नारायण थापा र कर्णजंग थापाले लेखाएको बरामदी मुचुल्का:

१ फिट १० इन्च लम्बाइ, १ फिट ४ इन्च चौडाइ भएको ब्रिफकेस र सो ब्रिफकेसभित्र निलो रङ्गको डायरी जस्तो देखिने पर्समा नगद रू. ३५१।–, रातो हाफ सर्ट -१, सेतो टेरिकटनको पुरानो सर्ट-१, खरानी रङ्गको पेन्ट-१, कलेजी रङ्गको स्वीटर -१, कर्णबहादुर राईको जग्गा धनी प्रमाण पूर्जा-१, नैनकुमारी राई नामको जग्गा धनी प्रमाण पूर्जा-१, मालपोतका रसिदहरू, कर्णबहादुर राईको नामको नागरिकता -१, पदमकुमारी राईको नामको नागरिकता -१, पुरानो साईको फाइव घडी-१ समेत डाँडागाउँ गा.वि.स. वडा नं. ३ स्थित बाघदुलो खोलामा फेला परेको हो ।

 

१.७ कर्णजंग थापा, नईन्द्र राई, नारायण थापा र किशोरचन्द्र राईले लेखाएको बरामदी मुचुल्का:

डाँडागाउँ-३ स्थित कालुराम भन्ने पृथी राईको खरबारीमा अं. ५ फिट गोलाइको गुराँसको रूख रहेको सो रूखको फेदमा सालक जनावरले खनेको दुलो रहेको र सो दुलोमा झारपात हटाई हेर्दा दुलोभित्र सेतो प्लास्टिक झोला देखिएको र सो झोला उघारी हेर्दा रू. १०००।– दरको ने.रू. नोट थान-३, रू. ५००।– दरको ने.रू. नोट थान-६, रू.१००।– दरको ने.रू. नोट थान-४, समेत गरी जम्मा रू. ६४,००।– फेला पारी प्रहरी कर्मचारीले बरामद गरी लगेको ठीक छ भन्ने व्यहोराको बरामदी मुचुल्का । 

 

१.८ नयन्द्र राई, नारायण थापा, कर्णजंग थापा र महाजन तामाङले लेखाएको बरामदी मुचुल्का:

युवराज भन्ने अनिल राई सुत्ने गरेको खाटको सेफ्टी काठमुनि नगद रू. ६०००।– फेला परेको भन्ने व्यहोराको बरामदी मुचुल्का । 

 

१.९ कर्णजंग थापासमेतका व्यक्तिले गरेको कागज:

डाँडागाउँ-३ बस्ने युवराज भन्ने अनिल राई र ऐ. बस्ने कालुराम भन्ने पृथी राईले कर्णबहादुर राईको घरमा भएको धारिलो फलामको बन्चराले निज कर्णबहादुर राईलाई भात खाई राखेको अवस्थामा प्रहार गरी कर्तव्य गरी मारी निजको घर तलामाथि रहेको सुटकेससमेत झिकी नगद चोरी गरी लगेको रहेछन् । नगद के कति थियो भन्न सक्दैनौं ।

 

१.१० चुनमाया राईले गरेको कागज:

कर्णबहादुर राई मेरो बाजे ससुरा हुन् । निजको श्रीमती, छोराछोरी सबै भारतको बागडुगुरातिर बस्थे । ससुरा एक्लै घरमा बस्ने गरेको हुँदा कुनै सानोतिनो काम गराउन पर्दा मलाई भन्नुहुन्थ्यो । मिति २०६५।०१।२६ गते बेलुका ससुरा कर्णबहादुर मेरोमा गई बुहारी भोलि मेरोमा आएर गहुँ केलादेउ भनी फर्किन लाग्दा मेरोमा भएको अलिकति जाँड दिएको हुँदा खाँदाखाँदै केही अँध्यारो भएकाले राँको बालिदिएर राँको बाली निज ससुरा घर जानुभएको थियो । गहु केलाउनको लागि मिति २०६५।०१।२७ गते बिहान अं. ७ बजेतिर निज कर्णबहादुरको घरमा जाँदा घरको ढोका खुल्लै देखेको हुँदा कता जानु भएछ भनी भित्र पसी हेर्दा मझेरीमा रगताम्मे मृत अवस्थामा लडिराखेको देखी आत्तिदै गाउँमा हो हल्ला गरेको हो । निज ससुरालाई मार्ने अनिल राई र पृथी राई रहेछन् । निजहरूलाई पक्राउ गरी कानुनबमोजिम कडा कारवाही होस् ।

 

१.११ अभियुक्त पृथी राईको बयान कागज:

मिति २०६४।१२।२८ गते दिउसो कर्णबहादुर राईको घरमा प्रभुराम राईले बाकस फुटाएर चोरी गरेछ र निज प्रभुराम काठमाडौं गएपछि सो चोरीको आरोप म र गाउँकै युवराज भन्ने अनिल राईलाई लगाएर तिमीहरूले चोरी गरेको छ मेरो सामानहरू दिने भए देउ नत्र भने तिमीहरूलाई ठीक नपारी छाड्दिन भनेर निजले धम्की दिएको थिए । सो कारण निजलाई मार्नुपर्छ भन्ने सल्लाह गरेर मिति २०६५।०१।२६ गते बेलुका अं. ६:३० बजेको समयमा कर्णबहादुर राईको घरमा जाँदा घरको ढोका बन्द 

रहेछ । निज गाउँमा गएको होला आएपछि मार्नुपर्छ भनी हामी दुवै जना मकैबारीमा लुकेर बस्यौं । राति अं. ८:३० बजेको समयमा राँको बालेर घरमा आई ढोका खोलेर भात तताएर खान लागेपछि निज कर्णबहादुरकै दाउरा काट्ने ठाउँमा राखेको धारिलो बन्चरो अनिल राईले बोकेर गई कर्णबहादुरको टाउकामा २ पटक प्रहार गर्दा लडेपछि मरेको छैन भन्ने लागि मैले पनि एक पटक टाउकामा बन्चराले काटी मरिसकेपछि अनिल मानिस हेर्नलाई भुइँँमा बस्यो र म तलामाथि चढेर प्लास्टिकको सुटकेस ढुङ्गाले हिर्काइ फुटाएर सोभित्र रहेको नगद रू. १२,४००।–  झिकी अन्य सरसामानसमेत सोही सुटकेसमा राखी बाघदुलोमा फाली दिएर मैले रू. ६,४००।– र अनिलले रू. ६,००० र– बाँडेर लिई मेरो भागको नगद सालकको दुलोमा लुकाएर राखेको थिएँ । उक्त रकम बरामद भई आएको छ ।

 

१.१२ अभियुक्त अनिल राईको बयान कागज:

प्रभुराम राईले चोरी गरेकोसम्बन्धमा उक्त चोरीको आरोप मलाई र पृथी राईलाई लगाएको र ठीक पार्ने धम्की दिएको हुँदा कर्णबहादुर राईलाई मार्ने भनी सल्लाह गरी मिति २०६५।०१।२६ गते बेलुका अं. ६:३० बजेको समयमा कर्णबहादुरको घरमा जाँदा निजको ढोका बन्द रहेको देखी मकैबारीमा लुकेर पर्खेर बसी अं. ८:३० बजेको समयमा कर्णबहादुर राई राँको बाली घरमा आएर ढोका खोली खाना तताएर खान लाग्दाको अवस्थामा निजकै दाउरा काटेर राखेको बन्चरो लिई कर्णबहादुर राईलाई मैले दुई पटक टाउकामा बन्चराले काट्दा ढलेकाले मरी सकेको छैन भन्ने लागी पृथी राईले पनि एक पटक बन्चराले निजको टाउकामा काटेपछि म मान्छे हेर्न भुइँँमा बसेँ र पृथी राई तलामाथि चढी प्लास्टिकको सुटकेस  निकाली दुवैजना भएर सुटकेस लिई डाँडागाउँ-३ स्थित बाघदुलो भन्ने ठाउँमा गई सुटकेस सोही बाघदुलोमा फालेर मैले रू. ६,०००।– र पृथी राईले ६,४००।– बाडेर लिई मेरो भागमा परेको ६,०००।०० म सुत्ने कोठाको खाटको मुनी काठमा लुकाएको अवस्थामा बरामद भई आएको हो ।

 

१.१३ घटनास्थल मुचुल्काको व्यहोरा:

मृतक कर्णबहादुर राईको बीच तलाबाट प्रतिवादी अनिल राई, पृथी राईसमेतले प्लास्टिकको सुटकेस -१ थान लगेको भनी देखाएको घटनास्थल मुचुल्का ।

 

१.१४ जाहेरवाला पदम कुमारी राईले बरामद गरेका सामान चिनी गरेको सनाखत कागजः

बरामद मुचुल्कामा उल्लिखित बरामद भई आएको नगद सरसामान लत्ताकपडा नागरिकता जग्गा धनी पूर्जासमेत हाम्रो हो ।

 

१.१५ बन्चरो परीक्षण गर्न पठाइएको व्यहोरा:

घटनास्थलबाट बरामद भई आएको बन्चरो थान-१ परीक्षणको लागि पठाइएको भन्ने व्यहोराको केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला महाराजगञ्ज काठमाडौंलाई लेखेको ।

 

१.१६ लालबहादुर राईसमेतका मानिसहरूले गरी दिएको वस्तुस्थिति मुचुल्का:

मिति २०६५।०१।२६ गते राति अं. ८:३० बजेको समयमा कर्णबहादुर राई खाना खाइराखेको अवस्थामा डाँडागाउँ-३ बस्ने युवराज भन्ने अनिल राई र कालुराम भन्ने पृथी राईसमेतले धारिलो हतियार बन्चरोले कर्णबहादुर राईलाई टाउकामा काटी मारी नगदसमेत चोरी गरी लगेको हुँदा निजहरूलाई कानूनबमोजिम कडा कारवाही होस् ।

 

१.१७ सुरू खोटाङ जिल्ला अदालतमा वादी नेपाल सरकारले दायर गरेको अभियोगपत्र:

मिसिल संलग्न जाहेरी दरखास्त, घटनास्थल लास जाँच मुचुल्का, पोस्टमार्टम रिपोर्ट, बरामदी मुचुल्का, बुझिएका राकेश कुमार राई, नइन्द्र राई, नारायण थापा, कर्णजंग थापा, चुनमाया राईले लेखाइदिएको कागज व्यहोरा, अनुसन्धानका क्रममा खिचिएका मृतकका फोटोहरू, वस्तुस्थिति मुचुल्का एवम्‌ प्रतिवादीहरू युवराज भन्ने अनिल राई र कालुराम भन्ने पृथी राईले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयानसमेतका प्रमाण कागजातहरूबाट जाहेरवाला पदम कुमारी राईका पति कर्णबहादुर राईलाई बन्चरो प्रहार गरी मार्नुका साथै निजको घरभित्र राखेको प्यालस्टिकको सुटकेस थान -१ तथा सोभित्र रहेको नगद रू. १२,७५१।– समेत जबरजस्ती चोरी गरेको तथ्य पुष्टि भै आएको हुँदा निज प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सजाय गरी पाउनको साथै मुलुकी ऐन, चोरीको महलको १२ र १४(२) नं. बमोजिमसमेत सजाय गरी पाउन तथा प्रतिवादीहरूले जबरजस्ती चोरी गरी लगेको बरामद भई आएको नगद रू. १२,७५१।– र अन्य सामानहरू समेत जाहेरवाली पदम कुमारी राईलाई भराई पाउनसमेतको मागदाबी लिई सम्बद्ध सक्कल मिसिल र पक्राउ प्रतिवादीहरूलाई यसै अभियोगपत्र साथ प्रस्तुत गरिएको छ । 

१.१८ प्रतिवादी कालुराम भन्ने पृथी राईले सुरू अदालतमा गरेको बयान:

मिति २०६४।१२।२८ गते मृतक कर्णबहादुर राईको घरमा एउटा रेडियो चोरी भएको र ३ वटा बाक्सा फुटाएको कसुरमा मृतकले मलाई र मेरा साथी प्रतिवादी अनिल राईलाई चोरी गरेको आरोप लगाई हामीलाई मार्ने धम्की दिएको भन्ने हामीले गाउँघरमा सुनेकाले मृतकले हामीलाई मार्ने रहेछ भन्ने सोची हामीले सल्लाह गरी मिति २०६५।०१।२६ गते बेलुका खाना खान लाग्दा निजकै घर नजिक रहेको निजकै बन्चरो लगी पहिला अनिल राईले २ पटक हानेको र नमरेपछि मैले एक पटक टाउकामा हानेपछि निजको मृत्यु 

भयो । त्यसपछि अनिल मानिस हेर्न भुइँँमा बसे र म घरको तलामाथि चढी एउटा सुटकेस निकालेर बागदुलो भन्ने ठाउँमा लगी सो सुटकेस फुटाई त्यहाँ भएको रू. १२,४००।– रूपैयाँ झिकेर मैले रू. ६,४००।– लगें र अनिलले रू. ६,०००।– लगी सुटकेस र त्यहाँ भएको सामान बागदुलोमा लुकाई दुवै जना अनिलको घरमा गई सुतेका हौं । मृतकलाई हामी २ जनाले कर्तव्य गरी मारेका हौं । हामी बाहेक अरू कसैको संलग्नता छैन । कानूनबमोजिम हुने सजाय भोग्न तयार छु ।

 

१.१९ प्रतिवादी अनिल राईले सुरू अदालतमा गरेको बयान:

मृतक कर्णबहादुर राईको बारी मेरो बारी नजिकै पर्ने र निजको बारीमा हाम्रो बाख्रा जाँदा मसमेतलाई मार्छु भन्ने गरेको र मिति २०६४।१२।२८ गते राति निजको घरबाट रेडियो हराएको र ३ वटा बाकस फुटेको थियो । सोउपर निजले मसमेतलाई आरोप लगाई मार्छु भन्ने धम्की दिएको हुँदा अब हामीलाई यसले मार्ने रहेछ, हामीले यसलाई नै मार्नुपर्छ भनी मैले र पृथी राईले सल्लाह गरी निजको घरमा गई निज खाना खान थालेको समयमा घरमाथि दाउरा चिर्ने ठाउँमा रहेको निजकै बन्चरो पृथी राईले लगी सो बन्चरो मलाई दिएपछि पहिला मैले मृतकको टाउकामा २ पटक प्रहार गरेपछि भुइँँमा ढली भट्याक भट्याक गर्दै गरेको अवस्थामा पृथी राई आई सोही बन्चराले टाउकामा एक पटक प्रहार गरेपछि मृतकको मृत्यु भएको हो । त्यसपछि म कोही आउँछन् कि भनेर तल हेर्न बसेँ । पृथी राई घरको तलामाथि पसी सुटकेस झिकी ल्याएर बागदुलो भन्ने ठाउँमा पुर्‍याएपछि सो सुटकेस ढुङ्गाले हानी फुटाएर हेर्दा रू. १२,४००।– र अन्य कपडासमेतका सामानहरू रहेछन् । सुटकेसमा रहेको रकम रू. ६,०००।– मैले र रू. ६४००।– पृथी राईले लगे र अन्य सामान बागदुलो भन्ने दुलोमा लुकाई रातको १:०० बजेतिर मेरो घरमा गई मेरो कोठामा हामी दुवैजना सुतेका हौं । म र पृथी राईले मात्र मृतक कर्णबहादुर राईलाई बन्चरोले हानी कर्तव्य गरी मारेका हौं । हामी बाहेक अन्य कसैको संलग्नता सहमति छैन । मसमेतले मृतकलाई कर्तव्य गरी मारेका हुँदा कानूनबमोजिम भएको सजाय भोग्न तयार छु ।

 

१.२० सुरू खोटाङ जिल्ला अदालतको मिति २०६५।११।१९।२ को फैसला:

प्रतिवादीहरूलाई हुने सजायतर्फ हेर्दा बन्चरो जस्तो जोखिमी हतियारले रातको समयमा मृतक कर्णबहादुर राईको टाउको जस्तो संवेदनशील भागमा पटकपटक प्रहार गरी मारेको पुष्टि भएको छ । सो वारदात ज्यानसम्बन्धी महलको १ नं. अनुसारको कसुर अपराध कायम हुने भएकाले प्रतिवादी अनिल राई र पृथी राईलाई ज्यानसम्बन्धी महलको १३ नं. को देहाय दफा १ अनुसारको माग दाबीबमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । वारदातमा चोरी भएको बिगोतर्फ हेर्दा चोरीको १४ नं. को देहाय दफा २ ले १२ नं. ले हुने सजायको डेढी बढाई सजाय गरी जरिवानाबापत समेत कैद गर्नुपर्छ भन्ने उल्लेख छ । अब माग दाबीअनुसार प्रतिवादीलाई १ महिना १५ दिन कैद र दाबीको बिगोको डेढी अर्थात् रू.१२७५१।– को डेढी हुने रू. १९,१२६।५० बापत समेत कैद हुने ठहर्छ। जाहेरवालाले बरामद भएको नगद रू. १२,७५१।– र सुटकेस र कपडासमेत चोरीको २१ नं. अनुसार फिर्ता पाउने ठहर्छ ।

 

१.२१ प्रतिवादीहरूको तर्फबाट पुनरावेदन अदालत, राजविराजमा परेको पुनरावेदन:

हामी पुनरावेदक प्रतिवादीहरूले आरोपित अपराध गरेको भनी स्वीकारेको भए तापनि उक्त अपराध गर्दाको समयमा हामी नाबालक रहेको कुरा जन्मदर्ता प्रमाणपत्र तथा स्कुलको सर्टिफिकेटले समेत प्रमाणित गरेको हुँदा हामीहरूलाई साधारण कानून मुलुकी ऐन लाग्ने नभई विशेष ऐन, बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम सजाय हुनुपर्ने 

हो । सोतर्फ विचार नगरी भएको सुरू अदालतको फैसला अन्यायपूर्ण हुँदा उक्त फैसला उल्टी गरी गलत कानून प्रयोग गरी लगाइएको अभियोग दाबीबाट फुर्सद दिलाई न्याय इन्साफ पाऊँ ।

 

१.२२ पुनरावेदन अदालत, राजविराजको मिति २०६७।०८।१५ को फैसला:

जाहेरवालालगायतका मानिसहरूले अदालतमा उपस्थित भई गरेको बकपत्रबाट पनि प्रतिवादीहरूले आरोपित कसुर गरेको पुष्टि भएको पाइन्छ । जहाँसम्म वारदातका बखत आफ्नो उमेर नाबालक भएकाले कम सजाय हुनुपर्ने हो भन्ने प्रतिवादीहरूको जिकिरतर्फ विचार गर्दा निजहरूले आफ्नो उमेर कम भएको भए अ.बं. ७७ नं. बमोजिम जिल्ला अदालतमा बयान गर्दाका बखत पेस गर्नुपर्नेमा सो नगरी पुनरावेदन जिकिर गर्दामात्र पेस गरेको देखियो । सोबमोजिम सम्बन्धित पञ्जिकाधिकारीको कार्यालयमा पत्राचार गरी बुझ्दा निजहरूको जन्मदर्ता नै नभएको भनी जवाफ प्राप्त भएको देखियो । सुरू अदालतमा बयान गर्दा प्रतिवादी कालुराम भन्ने पृथी राईले आफ्नो उमेर १७ वर्ष र युवराज भन्ने अनिल राईले १६ वर्ष भनी उल्लेख गरेको देखिँदा पछि आफ्नो उमेर अर्को भन्न निजहरूलाई प्रमाण ऐन, २०३१ को दफा ३४ ले बिबन्धित गर्ने देखिन्छ । अतः प्रतिवादीहरूले आरोपित कसुर गरेको ठहर गरी जनही २० वर्ष कैद र बिगो भराउने ठहर्‍याएको खोटाङ जिल्ला अदालतको मिति २०६५।११।१९ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।

 

१.२३ प्रतिवादी अनिल राई र कालुराम भन्ने पृथी राईले यस अदालतमा गरेको पुनरावेदनपत्र:

घटना घट्दाको अवस्थामा हामीहरू नाबालक रहेको र अल्लारे उमेरमा अरूको लहैलहैमा भूलबस घटना घट्न गएकामा हामीहरूलाई बालबालिकासम्बन्धी ऐनअनुसार सजाय हुनुपर्नेमा सर्वस्वसहित जन्मकैदको सजाय गरिएको छ । हामीहरूले जे भएको हो सोही व्यहोराको साबिती बयान अधिकारप्राप्त अधिकारी र अदालतसमेतमा गरी अदालतलाई सहयोग गरेकामा सोतर्फ सजाय निर्धारणमा विचारै नगरी पुनरावेदन अदालत,बाटसमेत फैसला भएको छ जुन मिलेको नहुँदा उल्टी गरी हामीहरूलाई बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार मात्र सजाय गरी न्याय पाऊँ ।

 

२. ठहर खण्ड:

नियमबमोजिम मुद्दा पेसी सूचीमा चढी निर्णयार्थ पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्रीले प्रतिवादीहरू घटना घटाउँदाको अवस्थामा नाबालकै रहेका र नाबालकले गरेको कसुरमा बयस्कलाई हुने सरहको सजाय गर्न नमिल्ने हुँदा वयस्कसरह सजाय गरेको जिल्ला एवम्‌ पुनरावेदन अदालतको फैसला नमिलेकाले उल्टी हुनुपर्छ र प्रतिवादीहरूले पुनरावेदनमा लिएको जिकिरबमोजिम बालबालिकासम्बन्धी ऐनअनुसार न्यूनतम सजाय मात्र हुने गरी न्याय इन्साफ हुनुपर्दछ भनी बहस गर्नुभयो । 

विद्वान् कानून व्यवसायीले गर्नुभएको उल्लिखित बहससमेतलाई मनन् गरी प्रतिवादीहरूका पुनरावेदनपत्र सहितका मिसिल संलग्न प्रमाण कागजातहरूलाई अध्ययन गरी पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ, छैन र प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन भन्ने विषयमा विचार गरी निर्णय दिनु परेको छ । 

यसमा वादी नेपाल सरकारले लिएको अभियोग मागदाबीमा प्रतिवादीहरूले जाहेरवाला पदमकुमारीका पति कर्णबहादुर राईलाई बन्चरो प्रहार गरी मारेका र मृतकको सुटकेस भित्र रहेको नगद रू. १२,७५१ (बाह्र हजार सात सय एकाउन्न रूपैयाँ) समेत जबरजस्ती चोरी गरी लगेको हुँदा निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय र चोरीको महलको १२, १४(२) नं. बमोजिम सजाय गरी बरामद बिगो रकम रू. १२,७५१।– (बाह्र हजार सात सय एकाउन्न रूपैयाँ) जाहेरवालालाई भराइपाउँ भन्ने देखिन्छ । प्रतिवादीहरू अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत कसुरमा साबित रहेको 

देखिन्छ । सुरू खोटाङ जिल्ला अदालतले प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरेको र पुनरावेदन अदालत, राजविराजसमेतबाट सुरूको फैसलालाई सदर गरेको देखिन्छ । आफूहरू कसुर गर्दा नाबालक हुँदा बालबालिकासम्बन्धी ऐनअनुसार न्यूनतम सजाय गर्नुपर्नेमा नगरिएको हदसम्म पुनरावेदन अदालत, राजविराजको फैसला नमिलेको भनी प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको अवस्था देखियो । 

२. इन्साफतर्फ विचार गर्दा, कर्तव्य ज्यान र चोरीको कसुर ठहर भएकोतर्फ प्रतिवादीहरूको पुनरावेदन जिकिर नरहेकाले त्यसतर्फ केही बोल्न 

परेन । आफूहरू कसुर गर्दा १६ वर्ष उमेर नपुगेका नाबालक रहेकाले बालबालिकासम्बन्धी ऐनअनुसार न्यूनतम सजाय हुनुपर्नेमा न्यूनतम सजाय नगरिएको हकसम्ममा मात्र प्रतिवादीहरूले पुनरावेदनमा मुख्यरूपमा जिकिर लिएको हुँदा सो जिकिरतर्फ विचार गरौं । प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा उमेर खुलाउने क्रममा युवराज भन्ने अनिल राईले १७ वर्ष को भएँ भनी र कालुराम भन्ने पृथी राईले पनि १७ वर्षको भएँ भनी उल्लेख भएको देखिन्छ । निजहरूले अदालतमा बयान गर्ने क्रममा प्रतिवादी मध्येको युवराज भन्ने अनिल राईले वर्ष १६ को भएँ भनी लेखाएको देखिएको र अर्का प्रतिवादी कालुराम भन्ने पृथी राईले १७ वर्षको भएँ भनी उमेर लेखाएको देखिन्छ । 

३. प्रतिवादीहरूले पुनरावेदनपत्रमा जिकिर लिने क्रममा प्रतिवादी युवराज भन्ने अनिल राईको जन्म मिति जन्मदर्ता प्रमाणपत्र र स्कुलको सर्टिफिकेटको आधारमा मिति २०५२।११।२० रहेकाले कसुर गर्दा १२ वर्षको मात्र रहेको र अर्का प्रतिवादी कालुराम भन्ने पृथी राईको पनि जन्म मिति जन्मदर्ता प्रमाणपत्र तथा स्कुलको सर्टिफिकेटको आधारमा मिति २०५२।१०।१७ रहेकाले कसुर गर्दा १२ वर्ष मात्र रहेको कुराको जिकिर लिएको देखिन्छ । प्रतिवादीहरू नाबालक रहेको कुरा निजहरूले जन्म मिति खुलेको जन्मदर्ता प्रमाणपत्र र स्कुलको सर्टिफिकेट पेस गरी सुरू अदालतमा बयान गर्दाको क्रममै जिकिर लिनु पर्थ्यो । निजहरूले त्यसो गर्न नसकी सुरू फैसलापश्चात् मात्र पुनरावेदन अदालत,मा पुनरावेदन गर्दा मात्रै जिकिर लिएको देखिन्छ ।

४. प्रतिवादीहरूले आफूहरू नाबालक रहेको कुराको प्रमाणसहितको जिकिर सुरूमै लिन नसकी जन्मदर्ताको प्रमाणपत्र र स्कुलको सर्टिफिकेट सुरू फैसलाउपर पुनरावेदन अदालत,मा पुनरावेदन गर्दा मात्रै पेस गरेको देखिन्छ । पुनरावेदन अदालत, राजविराजको आदेशानुसार प्रतिवादीहरूले पुनरावेदनका साथ पेस गरेका प्रमाणपत्रहरूको अस्तित्वको विषयमा सम्बन्धित पञ्जिकाधिकारीको कार्यालय गाउँ विकास समितिको कार्यालय, डाँडागाउँ, खोटाङमा पत्राचार गरी बुझिएकामा समेत सो कार्यालयबाट कार्यालयको रेकर्डबाट प्रतिवादीहरूको जन्मदर्ता नै नदेखिएको भनी जवाफ लेखी आएको कुरा मिसिलबाट 

देखिन्छ । यसबाट प्रतिवादीहरूले आफूहरू नाबालक रहेकाले बालबालिकासम्बन्धी ऐनबमोजिम आधा सजाय मात्र तोकिनुपर्ने भनी निजहरूले लिएको पुनरावेदन जिकिरको खण्डन भइरहेको देखिन्छ । 

५. अदालतमा बयान गरी स्वतन्त्र अभिव्यक्ति दिने क्रममा आफूहरूको उमेर १६ वर्ष पुगिसकेको लेखाइसकेकामा पछि फेरि त्यसो नभई आफूहरू नाबालक हो भनी सुरू अदालतको फैसलापश्चात् पुनरावेदनमा जिकिर लिएको र सो कुरा प्रमाणितसमेत भएको देखिँदैन । यसो गर्न प्रतिवादीहरू प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम विवन्धितसमेत हुन्छन् । मृतकलाई बन्चरो प्रहार गरी मारेको कुरामा प्रतिवादीहरू मौका एवम्‌ अदालतमासमेत साबितै रहेका, अन्य कुराको हकमा सुरू र पुनरावेदन अदालतको फैसलामा निजहरूको चित्त बुझेकै देखिएको र कसुर गर्दा नाबालक रहेकामा त्यसतर्फ विचार गरी सजाय नतोकिएको पुनरावेदन अदालत, राजविराजको फैसला उल्टी गरी बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) अनुसार न्यूनतम सजाय तोकिपाउँ भनी प्रतिवादीहरूको पुनरावेदन जिकिर  रहेको भएपनि निजहरूले सुरू अदालतमा स्वतन्त्ररूपले बयान गरी लेखाएको उमेरले नै ग्राह्यता पाउने भई सुरू फैसलाउपर पुनरावेदन गर्दा छुट्टै जिकिर लिई पेस गरिएका थप प्रमाणहरूले मान्यता नपाउने भएकाले निजहरूले जिकिर लिएको नाबालकतर्फको पुनरावेदन जिकिर पुग्न नसक्ने भएकाले पुनरावेदन अदालत, राजविराजको फैसला अन्यथा नभई मिलेकै देखिन आयो ।

६. अतः उल्लिखित विवेचनाबाट आफूहरू नाबालक रहेकाले बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ११(२) बमोजिम न्यूनतम सजाय हुनुपर्ने भन्ने प्रतिवादीहरूले लिएको पुनरावेदन जिकिर पुग्न नसकेकाले निजहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्म कैद र चोरीको बिगोबापतमा समेत कैद हुने तथा चोरीको बरामद भएको बिगो जाहेरवालाले फिर्ता पाउने ठहर्‍याई सुरू खोटाङ जिल्ला अदालतले गरेको फैसला सदर गरेको पुनरावेदन अदालत, राजविराजको मिति २०६७।०८।१५ को फैसला मिलेकै देखिदा सदर हुने ठहर्छ । प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा 

बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु ।

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इति संवत् २०७२ साल असार २३ गते रोज ४ शुभम् ।

इजलास अधिकृतः बाबुराम सुबेदी

 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु