शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४५० - कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: मंसिर अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७२।२।५।३

०६८–CR-०७९३

 

मुद्दाः कर्तव्य ज्यान ।

 

पुनरावेदक वादी : प्रेमबहादुर धामीको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रत्यर्थी प्रतिवादी : जिल्ला बझाङ, कडेल गा.वि.स.वडा नं.५ बस्ने शिवराज उपाध्यायसमेत

 

पोस्टमार्टम रिपोर्टमा Asphyxial Death due to Strangulation भन्ने उल्लेख भए पनि शरीरमा सङ्घर्षका चिन्ह एवम् घटनास्थल विवरणमा कुनै पनि शङ्कास्पद स्थिति नदेखिएको अवस्थामा कुटपिटसम्मको वारदातको प्रकृति र पोस्टमार्टम रिपोर्टबिचको तादात्म्यता देखिँदैन । कुटपिटको वारदातमा लागेको चोटको कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोट पनि नहुँदा यी प्रतिवादीलाई मृतकको मृत्युको लागि जिम्मेवार ठहराउनु कानूनसङ्गत नदेखिने । 

स्कुलबाट फर्केकी छोरीले घरभित्र पसेपछि मृतकलाई झुन्डिएको देखी एक्कासी चिच्याएपछि मात्र घटनाको बारेमा थाहा जानकारी पाएका प्रतिवादीले मृतकलाई बाँच्छ कि भनी प्रयासस्वरूप मृतकको घाँटीमा रहेको पासो काट्ने कार्यलाई आफैँमा अपराध भन्न मिल्ने हुँदैन । प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको पूर्व रिसइबी थियो भन्ने कुरा अनुसन्धानको क्रममा कहीँ कतै केही पनि नदेखिएको अवस्थामा त्यति नै कारणले मात्र निज प्रतिवादीहरू दोषी रहेछन् भनी बिनासबुद प्रमाण भन्न मिल्ने अवस्था नरहने । 

(प्रकरण नं.३)

 

पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता राम घिमिरे

प्रत्यर्थी प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, कुटपिटको १३ नं.

 

सुरू तहमा फैसला गर्ने : 

मा.न्या. श्री पूर्णप्रसाद बास्तोला

पुनरावेदन तहमा आदेश गर्ने : 

मा.मु.न्या. श्री दिपकराज जोशी

मा.न्या. श्री वीर सिंह महरा

 

फैसला

न्या. चोलेन्द्र शमशेर ज.ब.रा. : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍क्षिप्त तथ्य र ठहर यसप्रकार छ :– 

मिति २०६५।४।२९ गतेको दिउँसो ११ बजेको समयमा मेरो दाजु यज्ञ धामी र प्रतिवादी शिवराज उपाध्यायबिच उपस्वास्थ्य चौकी कडेलमा भनाबोल भएको अन्य मानिसहरूले सम्झाईबुझाई गरी दुवैजनालाई आ-आफ्नो घरतर्फ पठाएकामा घर जाने क्रममा झडोखेल्ना भन्ने स्थानमा निज दाजु यज्ञ धामी पुगिरहेको अवस्थामा प्रतिवादी शिवराज उपाध्याय पनि आफ्नो घरबाट सोही स्थानमा आई शत्रूका सन्तान तँलाई पहिलेदेखि नै खोजेको थिएँ, बल्ल फेला परिस् तँलाई यसभन्दा पहिलेदेखि सिध्याउने विचार थियो भन्दै विभिन्न अश्लिल शब्द प्रयोग गरी कठालोमा समाती हातमा ढुङ्गा लिई दाजुको शरीरको विभिन्न अङ्गमा कुटपिट गरेको, टाउको नाक मुखसमेतमा कुटपिट गरी लछारपछार गर्दा निज दाजुले गुहार मागेपछि रामबहादुर धामीले पञ्जाबाट छुट्टयाई शरीरमा घाउ खत निलडाम नाक, मुखबाट रगत बगिरहेको अवस्थामा अन्य मानिसहरूले बोकी घरमा ल्याएको र घरमा पुगिसकेपछि कुटपिटको कारणले गर्दा निज दाजु यज्ञ धामीको मृत्यु भएको हुँदा सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको जाहेरी दरखास्त ।

बझाङ जिल्ला, कडेल गा.वि.स. वडा नं.५ स्थित पूर्व शिवराज उपाध्यायको घर, पश्चिम नैनबहादुर सिंहको खेतबारी, उत्तर हरि धामीको खेत र दक्षिण कोटसैन गाउँ यति चार किल्लाभित्र कडेल उपस्वास्थ्य चौकीको भवन, उक्त भवनको अगाडि आँगनमा प्रतिवादी शिवराज उपाध्याय र यज्ञ धामीबिच सामान्य वादविवाद भएको भनिएको उक्त स्थानबाट अन्दाजी ७५ मिटर पश्चिमतर्फ झडोखेल्ना भन्ने स्थान सोही स्थानमा मिति २०६५।४।२९ गते १ बजेको समयमा यज्ञ धामी र शिवराज उपाध्यायको झगडा भएको शिवराज उपाध्यायले निज यज्ञ धामीको नाक तथा मुखमा हानेको मुख तथा नाकबाट रगत बगेको भनिएको अन्य प्रमाणजन्य वस्तु तथा रगतसमेत नभएको भन्नेसमेत व्यहोराको घटनास्थल प्रकृति विवरण । 

बझाङ जिल्ला, कडेल गा.वि.स.वडा नं.९ स्थित पूर्व शंकर धामीको घर, पश्चिममा प्रेम धामीको घर, उत्तर अक्कल धामीको घर र दक्षिण मेघनाथ धामीको घर यति चार किल्लाभित्र रामबहादुर धामीको दुईतले पक्की घर पहिलो तलाको दक्षिणतर्फ ढोका भएको उक्त कोठाबाट भित्र पसी हेर्दा अर्को कोठा भएको सो कोठाको लम्बाइ १३ फिट, चौडाइ ७ फिट, उचाई ६ फिट भएको सोही कोठाको भुइँमा उत्तर खुट्टा, दक्षिण टाउको उत्तानो अवस्थामा दुवै हात नाइटोमा राखिएको मृतक यज्ञ धामीको लास, कोठामा कपडाहरू राखेको, खटियामा टिनको बाकस भएको, मृतकको दाहिने गालामा डाम, नाकबाट रातो फिज बगेको, घाँटीमा ग आकारको मसिनो डाम, छाती फुलेको, दिशा निस्किएको, मुख बन्द अवस्थामा रहेको, नाकको वरिपरि सानो छाला निस्किएको, अन्य घाउ खत निलडाम केही नदेखिएको र अन्य भागको अवस्था सामान्य रहेको भन्नेसमेत व्यहोराको घटनास्थल लास जाँच मुचुल्का ।

“Asphysixal Death due to Strangulation” भन्नेसमेतको शव परीक्षण 

प्रतिवेदन । मिति २०६५।४।२९ गतेको ११ बजेको समयमा म उपस्वास्थ्य चौकी कडेलमा गएको थिएँ, मृतक यज्ञ धामी र कडेल-९ बस्ने रामबहादुर धामी उक्त उपस्वास्थ्य चौकीमा औषधी लगाउन भनी आएका थिए । निजहरू आउनुभन्दा अगाडि शिवराज उपाध्यायसमेत उक्त उपस्वास्थ्य चौकीमा आएका थिए, निजहरूमध्ये यज्ञ धामीको आफ्नो खुट्टा घिनाएको हुँदा औषधी लगाइदेउ भनेर भन्दा उपस्वास्थ्य चौकीबाट औषधी लगी खुट्टामा लगाइरहेको थियो, के निहुँमा यज्ञ धामी र शिवराज उपाध्यायको वादविवाद भयो दुवै जनाले जिउमा हातपात समाउन लाग्दा मसमेतले किन यसरी झगडा गर्छौ भनी छुट्टयाएको हो निजहरू कार्यालयबाट गएका हुन् केही समयपछि यज्ञ धामीलाई शिवराज उपाध्यायले हातपात गरी नाक मुखबाट रगत निकालेको भनी सुनेको हो, बेलुका ५:५० बजे निज यज्ञ धामीको गाउँमै मृत्यु भयो भनी सुनी थाहा पाएको हो भन्नेसमेत व्यहोराको ग्रामीण स्वास्थ्य कार्यकर्ता अक्कलबहादुर धामीको कागज । 

मिति २०६५।४।२९ गते १० बजेको समयमा उपस्वास्थ्य चौकी कडेलमा आएको थिएँ । ऐ.१ बजेको समयमा मृतक यज्ञबहादुर धामी, कडेल–९ बस्ने रामबहादुर धामी पनि उक्त उपस्वास्थ्य चौकीमा आएका थिए । उपस्वास्थ्य चौकीका पियन देवबहादुर कठायतलाई छिटो मेरो खुट्टामा औषधी लगाइदेउ भनेकाले पियनले कार्यालयमा रक्सी खाई आई गाली गर्ने भनी भनेपछि मृतक र पियनबिच वादविवाद भएको हो मैले निज मृतकलाई सम्झाउन खोज्दा मलाई गाली गरी हातपात गरेको थियो, सोही समयमा ग्रामीण स्वास्थ्य कार्यकर्ता अक्कल धामीले हामी दुवैजनालाई आ–आफ्नो घरमा पठाएको थियो, म आफ्नो घरमा आएको ८–१० मिनेटपछि मृतक यज्ञबहादुर धामी, रामबहादुर धामी र ईश्वर मेरो घर पुगी ईश्वर सोती फर्केर झडोखेल्ना भन्ने स्थानमा गए । मैंले मृतकको नाक मुखमा ३–४ चोटी हानेको हो, उक्त चोटबाट मृतकको नाकबाट रगत आएको थियो । पछि रामबहादुर धामी र जाहेरवाला प्रेमबहादुर धामीले आफ्नो घरतर्फ लिएर आए । म आफ्नो घरमा गएँ । बेलुका ४ बजेको समयमा मृतक यज्ञबहादुर धामीले पासो लगाएर मर्‍यो भन्ने कुरा निजको आफन्तबाट सुनी थाहा पाएको हो । निज मेरो चोटले मरेको होइन । पासो लगाएर मरेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी शिवराज उपाध्यायले अधिकार प्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६५।४।२९ गते मृतक यज्ञबहादुर धामी मैले सँगै बसी मादक पदार्थ रक्सी सेवन गरेका थियौँ । रक्सी सेवन गरिसकेपछि ऐ.११ बजेको समयमा खुट्टा घिनाएको औषधी लगाउन भनी उपस्वास्थ्य चौकी कडेलमा गएका थियौ । शिवराज उपाध्यायसमेत सोही स्थानमा थिए । यज्ञबहादुर धामी र उपस्वास्थ्य चौकीका पियन देवबहादुर कठायतबिच औषधि लगाउने क्रममा वादविवाद हुँदा शिवराज उपाध्यायले सम्झाएको हो मृतकले निजलाईसमेत गाली गरी हातपात गरेका थिए । निजको हातपात हुँदा ग्रामिण स्वास्थ्य कार्यकर्ताले छुट्टयाई आ–आफ्नो घरमा पठाएको हो केही समयपछि पुनः ग्रा.स्वा.का.ले हामीलाई फर्काए । मृतक यज्ञबहादुर धामी म र ईश्वर सोती झडोखेल्ना भन्ने गाउँमा आएका थियौं । शिवराज उपाध्याय पनि सोही स्थानमा आए । पहिला मृतकले शिवराज उपाध्यायलाई हानेपछि शिवराज उपाध्यायले मृतकको नाक मुखमा तीन चार चोट हातले हानेको हो । मैले छुट्टयाई मृतक आफैँ हिँडी आफ्नो घरतर्फ आएका हुन् । निजको नाकबाट रगत बगेको थियो । आफ्नो घरमा बाजे बज्यैले गाली गर्छन् भनी मेरो घरमा नै सुतेका हुन् । जाहेरवालाको पनि सहमति थियो । निज सुतिरहेकै अवस्थामा म आफ्नो नयाँ निर्माण भएको घरमा गएँ । बेलुका ४ बजेतिर मेरी श्रीमती गई यज्ञ धामीको मृत्यु भयो घरमा बोलाएको छ भन्ने खबर पाएपछि घरमा आएको हुँ घरमा आउँदा शिवराजलाई ल्याइसकेको थियो । कसरी मृत्यु भयो भन्दा मेरो घरमा झुन्डिएको थियो मेरो बहिनीले स्कुलबाट आएदेखि मेरो बुबा हर्क धामी र कृष्ण धामीलाई भन्दा बुबाले तलबाट समाते कृष्ण धामीले पासो काटे भन्ने कुरा सुनेको हो भन्नेसमेत व्यहोराको रामबहादुर धामीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६५।४।२९ गते म नछुने भएकीले घरभित्र पसेकी थिइनँ । बाहिरी आँगनमा बसेकी 

थिएँ । ४ बजेको समयमा मेरो नन्द नाता पर्ने सबिता धामी स्कुलबाट घर आई लुगा फेर्न भनी घरभित्र जाँदा यज्ञबहादुर धामी झुन्डिएको छ भनी आत्तिएर बाहिर आउँदा बाहिर बसेका मेरा ससुरा हरि धामी र कृष्ण धामी गई कृष्णदेवी धामीले हँसिया दिई कृष्ण धामीले काटे । हरि धामीले समातेको हो । म मेरो श्रीमान् रामबहादुर धामीलाई खबर गर्न गएकी हुँ । दिउँसो निज यज्ञबहादुर धामी र शिवराज उपाध्यायबिच झगडा भएको थियो भन्ने कुरा सुनेकी थिएँ । झगडा भए तापनि निजको मृत्यु झुन्डिएर भएको हो । के कुन कारण झुन्डिए थाहा भएन भन्नेसमेत व्यहोराको बसन्तीदेवी धामीले प्रहरीसमक्ष गरेको कागज । 

मिति २०६५।४।२९ गते १० बजेको समयमा म स्कुलमा गएकी थिएँ । बेलुका ४ बजे घरमा आउँदा बाहिर आँगनमा भाउजू बसन्ती धामी, बुबा हरि धामी र बुबासँग कृष्ण धामी बसी चुरोट खाइरहेका थिए । म लुगा फेर्न भनी घरभित्र पस्दा ढोका नजिक माथि कोठाको बलोमा यज्ञबहादुर धामी झुन्डिएको अवस्थामा देखेकी हुँ । म डरले ठूलो स्वर गरी कराउँदै बाहिर आई बुबालाई भनेँ । बुबा हर्कबहादुर धामी र साथमा भएका कृष्ण धामीभित्र गई बुबाले तलबाट समाते कृष्ण धामीले पासो काट्यो हँसिया कृष्णदेवी धामीले दिएको हो बसन्ती धामी दाई रामबहादुर धामीलाई बोलाउन गएकी हुन् । पछि गाउँमा सबैलाई खबर गरी सबै 

आए । शिवराज उपाध्यायलाई समाती ल्याई कुटपिट गर्न लागे। किन कुटपिट गर्‍यो भनी बुझ्दा निज शिवराज र यज्ञ धामीको झगडा भएको कुरा थाहा पाएँ । निज यज्ञ धामीले उक्त दिन रक्सी खाएको हुँदा घरमा बाजे, बज्यै र काकाले गाली गर्छन् भन्ने सोची आफैँ झुण्डिएको हुनु पर्छ भन्नेसमेत व्यहोराको सविता धामीले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।४।२९ गते औषधी लगाउने क्रममा यज्ञबहादुर धामी र मेरो वादविवाद परेको 

थियो । शिवराज उपाध्यायसमेत सोही स्थानमा भएकाले सम्झाएको हो निजले शिवराजलाई हातपात गरेको थियो पनि स्वास्थ्यका स्टाफहरू मिली छुट्टयाई घरमा पठाएको हो । केही समयपछि झडोखेल्ना भन्ने स्थानमा निजहरू दुवै जनाबिच झगडा भयो भन्ने कुरा सुनी थाहा पाएको हो । दोस्रो दिन मृत्यु भएको कुरा सुनी थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको देवबहादुर कठायतले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।४।२९ गते शिवराज उपाध्याय र यज्ञबहादुर धामीबिच सामान्य झगडा भई शिवराज उपाध्यायले यज्ञबहादुर धामीलाई हात मुक्काले ३–४ चोट हानेको हो । सोही दिनको बेलुका १८ बजेको समयमा यज्ञबहादुर धामीको मृत्यु भयो भन्ने कुरा सुनी थाहा पाएको हो । निजको मृत्यु के कसरी भयो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको ईश्वर सोतीले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।४।२९ गते १६ बजेको समयमा म र कृष्ण धामी मेरै घर आँगनमा नाति खेलाई बसेका थियौं । मेरी छोरी सविता स्कुलबाट घरमा आई लुगा फेर्न भनी भित्र पस्दा मृतक झुण्डिएको देखी चिच्याई यज्ञ दाइ झुण्डिएको छ भनी बाहिर आउँदा म र कृष्ण धामी घरभित्र गएका हौं । मृतक झुण्डिएको थियो, के गरौं कसो गरौं भनी म पनि आत्तिए, पछि कृष्ण धामीले हँसिया दिइन् । मैले शरीरबाट समातें, कृष्ण धामीले पासो काटेका हुन् । बिहान ११ बजे झडोखेल्ना भन्ने स्थानमा मृतक र प्रतिवादी शिवराज उपाध्यायबिच झगडा भयो भन्ने सुनेको हो, निजहरूको झगडा भएपछि मेरो घरमा आएका थिए । मृतकले नाक मुख छोपेको थियो साथमा मेरो छोरा रामबहादुर धामी र जाहेरवाला प्रेमबहादुर धामी पनि थिए । म आफ्नो घर गएँ भने रिसाउँछन् भनी मेरो घरमा नै सुतेका हुन्, उक्त शिवराजसँग झगडा भएको जाँडसमेत खाएको हुँदा आत्मा कमजोर भई निज यज्ञबहादुर धामी झुन्डिएकामा मलाई विश्वास लाग्छ भन्नेसमेत व्यहोराको हर्कबहादुर धामीले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६५।४।२९ गतेका ४ बजेको समयमा म आडेखान भन्ने स्थानमा घाँस काटी छानामा पुर्‍याई घर आउँदै थिएँ । रामबहादुर धामीको घरनजिक पुग्दा सविता धामी स्कुलबाट आई भित्र पस्दा यज्ञ दाइको मृत्यु भएको छ भनी चिच्याएको सुनेकी हुँ, सो कुरा सुनी सकेपछि बाहिर बसेका निजको बुबा हरि धामी र साथमा रहेका कृष्ण धामीभित्र पसेका हुन् । मैले बाहिरबाट हेर्दा हरि धामीले मृतकको लासलाई समातेको देखेको हो, पछि भित्र के गरे कोठामा उभिएकी थिइन् पछि आँगनमा अरू गाउँलेहरूसमेत आइसकेका थिए । पछि बुझ्दा उक्त दिन दिउसो मृतक र रामबहादुर धामीले रक्सी खाएका र गाउँकै शिवराज उपाध्यायसँग झगडा भएको शिवराजले मृतकको नाक मुख हानेकाले सोही कारणबाट निजको मृत्यु भएकामा मलाई शङ्का लाग्छ भन्नेसमेत व्यहोराको कृष्णादेवी धामीले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।४।२९ गते म मेरो घरमा नै थिएँ । उक्त दिनको ६ बजेको समयमा यज्ञबहादुर धामीको मृत्यु भयो भन्ने कुरा सुनी थाहा पाएकी 

हुँ । के कसरी मृत्यु भयो मलाई थाहा भएन । मृतक र शिवराज उपाध्यायबिच झगडा भएको कुरा पनि थाहा थिएन । हाल आएर गाउँघरमा निजको मृत्यु झुण्डिएर भयो भन्छन् । भने कसैले शिवराज उपाध्यायले कुटपिट गरेकाले सोही चोटबाट भयो, कसरी भयो यकिन भन्न सक्दिन भन्नेसमेत व्यहोराको सितारादेवी धामीले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।४।२९ गते ११, १२ बजेको समयमा झडोखेल्ना भन्ने स्थानमा मृतक यज्ञबहादुर धामी र शिवराज उपाध्यायबिच झगडा भएको थियो । यज्ञबहादुर धामीको नाक मुखमा शिवराज उपाध्यायले हात मुक्काले तीन चार चोट हानेको थियो, उक्त चोटबाट मृतकको नाकबाट रगत बगेको हो । पछि मसमेतले छुट्टयाई शिवराज उपाध्याय आफ्नो घरमा गएको हो । मृतकलाई रामबहादुर धामीले आफ्नो घरतर्फ ल्याएको हो । सोही दिनको ४ बजेको समयमा रामबहादुर धामीको घरमा यज्ञबहादुर धामीको मृत्यु भयो भन्ने कुरा सुनी थाहा पाएको हुँ । कसरी मृत्यु भयो भनी सोधपुछ गर्दा पासो लगाई मृत्यु भयो भन्ने कुरा सुनी थाहा पाएको हो । हर्कबहादुर धामी र कृष्णबहादुर धामीले पासो काटेको हो भन्ने कुरा पनि सुनी थाहा पाएको हुँ, वास्तविक मृत्यु कसरी भयो थाहा भएन भन्नेसमेत व्यहोराको टेकबहादुर धामीले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।४।२९ गते शिवराज उपाध्याय र यज्ञबहादुर धामीबिच झगडा भएको थियो । शिवराज उपाध्यायले यज्ञबहादुर धामीको नाक, मुखमा हानेको थियो । रगत बगेको थियो । सोही कारणबाट निजको मृत्यु भएको मलाई शङ्का लाग्छ भन्नेसमेत व्यहोराको सत्यकुमारी धामीसमेत जना ५ को एकै मिलानको वस्तुस्थिति मुचुल्का कागज ।

प्रतिवादी शिवराजको तीन चार चोट कुटाइका कारण घाइते भई नाकबाट रगत बगी मृतक यज्ञ धामीको मृत्यु भएको तथ्य मिसिल संलग्न प्रमाणबाट पुष्टी भएको हुँदा मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीत सोही महलको १३(३) नं. बमोजिमको कसुर अपराधमा सोही नं.बमोजिम प्रतिवादी शिवराज उपाध्यायलाई सजाय गरिपाउँ भन्ने र प्रतिवादी रामबहादुर धामी, हरि भन्ने हर्कबहादुर धामी, कृष्णदेवी धामी र कृष्णबहादुर धामीले षड्यन्त्र गरी मृतकलाई मार्ने मराउने अपराध छिपाउने गैर कार्य गरेको हुँदा निज ४ जनालाई ज्यानसम्बन्धी महलको १ नं. विपरीत सोही महलको १३(३) नं. को कसुर अपराधमा सोही १३(३) नं.बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी ।

मृतक यज्ञबहादुर धामी मेरो घरको कोठाभित्र गइसकेपछि म मेरो घरभित्र पसेन । मेरी छोरी सविता घरभित्र पस्दा छोरी सविताले मृतक झुण्डिएको देखी मलाई छोरीले भनी कि यज्ञबहादुर धामीले पासो लगाई झुण्डिएको छ, आउ त हेर भन्दा म र कृष्णबहादुर धामी भित्र गई मैंले मृतकलाई समाती कृष्णबहादुर धामीले निजको गलामा लगाएको पासो हँसियाले काटेको हो, मृतकको बाजे विस्न्या धामीले निज मृतकलाई काम गर्दैन, काम गर्न जा भन्दा निज नगएकाले निजको बाजे भन्यो की तेरी आमा मारी खायौ तेरो बुबा मर्‍यो, तँ पनि मर् जा भनी भन्दा सोही जवाफ मानी निजले पासो लगाई मरेको हो भन्नेसमेत व्यहोराको हरि भन्ने हर्कबहादुर धामीले अदालतमा गरेको बयान ।

मिति २०६५।४।२९ गतेका दिन १० बजेतिर मेरो घरनजिकैको उपस्वास्थ्य चौकीमा घरबार बनाउन ठेक्का लिएकाले गएको थिएँ । मैले हेल्थपोस्टका इन्चार्ज गणेश दत्त भट्टसँग काम गर्ने कि नगर्ने भनी सोध्दा १० बजी सक्यो । यहाँका मानिस झमेला गर्लान् आज काम नगर्नुहोस् भन्दा म त्यहीँ बसेको थिएँ । राम धामी र यज्ञ धामी भन्ने रक्सी खाएर म भएको ठाउँमा आए । त्यसपछि यज्ञ धामी र राम धामी उपस्वास्थ्य चौकीभित्र पसेपछि पियन देव कठायतसँग गाली गर्दै औषधी लगाई दिएन । त्यसपछि उपस्वास्थ्य चौकीभित्र भनाभन हुँदा सुनी बाहिरबाट भित्र गई यस अस्पतालभित्र यस पियन बुढासँग किन झगडा गर्दछौ भनी भन्दा मलाई त्यहाँका इन्चार्जले तपाईं बहिर जानुहोस् । यिनीले रक्सी खाएको भन्दा म आफ्नो घरमा आएको हुँ । राम धामीले यज्ञ धामीलाई लगी सरासर त्यहाँबाट आएका हुन् । निज कहाँ गए मलाई थाहा भएन । निज मृतकसँग उपस्वास्थ्य चौकी झडोखेल्नामा देखेको हुँ, सो पछि कहाँ गए मलाई थाहा छैन । मैले मृतकलाई कुटपिट गरेको छैन, पियनसँग झगडा नगर भनेको झगडा छुट्टयाएको हुँदा सोही शङ्काले मेरो नाउँमा जाहेर गरेका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी शिवराज उपाध्यायले अदालतमा गरेको बयान । 

मिति २०६५।४।२९ गतेका दिन म घरबाट खेतमा गाई गोरू चराउन भनी गइरहेको अवस्थामा बिच बाटोमा पर्ने झडोखेल्ना भन्ने ठाउँमा मृतक यज्ञबहादुर धामी र प्रतिवादी शिवराज उपाध्यायको बिच झगडा भइरहेको मैले देख्दा निजहरूलाई मैले छुट्टयाई मृतक र रामबहादुर धामी आफ्नो घरतिर 

गए । प्रतिवादी शिवराज पनि आफ्नो घरतिर गए । म गाई गोरू चराउन खेततिर गएँ । साँझ घर फर्कि आउँदा मृतकको मृत्यु रामबहादुर धामीको घरभित्र कोठामा भएको कुरा सुनेको हुँ र मसमेतका गाउँले मानिस प्रतिवादी शिवराजलाई समात्न भनी शिवराजको घरमा गएका हौं । प्रतिवादी शिवराज र मृतकको झगडा हुँदा शिवराजले मृतकलाई हान्दा थिच्दा नाक मुखबाट रगत आएको थियो । सोही चोटको कारण मृतकको मृत्यु भएको मलाई शङ्का लाग्छ । अन्य प्रतिवादीहरू को कहाँ थिए मलाई केही थाहा छैन भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने टेकबहादुर धामीले अदालतमा गरेको बकपत्र ।

उक्त दिनमा मेरो पसल भएको ठाउँ झडोखेल्नामा नै थिएँ । शिवराज उपाध्याय त्यहाँ नजिक औषधी लिन गएको थियो । यज्ञ धामी पनि मादक पदार्थ सेवन गरी सोही उपस्वास्थ्य चौकीमा गई त्यहाँ भएका कार्यालय सहयोगी के कुन औषधी माग्न खोज्दा मृतक यज्ञ धामी धम्काइरहेको थियो । कार्यालय सहयोगीलाई किन धम्काउनु हुन्छ भनी शिवराजले भन्दा दुवैबिच भनाबोल झगडा भयो । उपस्वास्थ्य चौकीका इन्चार्जले छुट्टयाई शिवराज आफ्नो घरमा गए फेरी शिवराजको बुबा हरि शंकरसँग भनाबोल गर्न खोज्दै थियो शिवराज फेरि घरबाट त्यहाँ आई हातपात भयो । कसैलाई चोट लागेको थिएन टेकु धामीसमेतका मानिसले छुट्टयाएर मृतक यज्ञ धामीलाई राम धामी, दिनेश सार्कीसमेतका मानिसले उसको घरतर्फ लगेर गए । शिवराज मेरो पसलमा नै बसेका थिए । मृतक यज्ञ धामीलाई झगडा हुँदा चोट पटक केही लागेको 

थिएन । आफ्नो घरमा गएपछि मैले दारू रक्सी खाएको छु घरका परिवार रिसाउँछन् । त्यसैले राम धामीको घरमा नै सुत्छु भनी राम धामीको घरमा सुतेपछि घरमा एक्लै सुतेको थियो । कोही नभएको अवस्थामा घरभित्र डोरी घाँटीमा लगाई पासो लगाएर मर्‍यो भन्ने कुरा सुनेको हुँ । शिवराजको चोटले मरेको होइन जाहेरी झुठ्ठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी शिवराज उपाध्यायका साक्षी वर्षबहादुर सिंहले अदालतमा गरेको बकपत्र ।  

मिति २०६५।४।२९ गतेका दिन म घाँस काट्न जङ्गलमा गएकी थिएँ । मृतक यज्ञबहादुर धामी, शिवराज, हर्कबहादुर धामी, कृष्णदेवी धामी, कृष्ण धामी कहाँ थिए मलाई थाहा छैन । झै-झगडा भएको कुरा मैले सुनेको हो । म सो दिन घाँस काट्न जङ्गलमा गएकी थिएँ । मिति २०६५।५।२० गते मैले प्रहरीसमक्ष गरेको वस्तुस्थिति मुचुल्काको व्यहोरा मैले भनेबमोजिम लेखिएको ठिक छ फरक छैन सोमा भएको ल्याप्चे सही र हस्ताक्षरसमेत मेरै हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस सत्यकुमारी धामीले अदालतमा गरेको बकपत्र ।

मिति २०६५।४।२९ गतेका दिन मृतक यज्ञबहादुर धामी आफ्नो औषधी उपचार गर्न झडोखेल्ना भन्ने ठाउँमा भएको अस्पताल आएको थियो र स्टाफलाई औषधी दिनु पर्‍यो भन्दा अस्पतालका कर्मचारीले एकछिन पर्खिनुहोस् अरूलाई औषधी दिँदै छौँ भन्दा उल्टै यज्ञबहादुर धामीले अस्पतालका कर्मचारीसँग झगडा भई भनाबोल हुँदा बाहिरबाट प्रतिवादी शिवराज उपाध्याय अस्पतालभित्र गएर मृतकलाई सम्झाउन लाग्दा शिवराज र मृतककोसमेत भएको थियो । झगडा उपस्वास्थ्य चौकीका स्टाफले छुट्टयाएपछि शिवराज आफ्नो घरतिर लागेका थिए । शिवराज घरबाट आई एक आपसमा भनाबोल हुँदा त्यहाँ आएका मानिसले (दुवै) मृतक र शिवराजलाई छुट्टयाई आफ्नो घरतिर लगे । मृतक हरि धामीको घरमा गई बेलुका ५ बजेतिर पासो लगाई मरेको हो भन्ने कुरा व्यापक हल्ला भयो र मृतकको परिवार सबै आई शिवराजलाई मृतकको मृत्यु भएको ठाउँमा ल्याएको हो शिवराजको चोटबाट कुटपिटबाट मृतकको मृत्यु भएको होइन । आफैँ पासो लगाएर मरेको हो वा के कारणले मरे मलाई केही थाहा भएन भन्नेसमेत व्यहोराको प्रतिवादी हरि धामीका साक्षी धर्मराज उपाध्यायले अदालतमा गरेको बकपत्र ।  

मिति २०६५।५।२० गते मैले प्रहरीसमक्ष गरेको कागज पढी बाची सुनाउँदा सुनेँ । मैले भनेबमोजिम लेखेको ठिक छ व्यहोरा मेरो हो सहिछाप पनि मेरै हो भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका मानिस सुरतबहादुर धामीले अदालतमा गरेको बकपत्र । 

प्रतिवादी शिवराज उपाध्यायले उक्त दिन मृतकसँग झगडा भएको कुरालाई स्वीकार गरेकै देखिएको र अनुसन्धान अधिकारीसमक्ष भएको बयानमा मृतकको अनुहारमा हानेका, निजले घाँटीसमेत समाती थिचेको भन्ने कुरा प्रमाणित भइसकेको अवस्थामा मृतकको घाँटीमा देखिएको डाम झुण्डिएको नभई प्रतिवादीले थिचेको पीडाबाट भवितव्य परी मृतक यज्ञ धामीको मृत्यु भएकाले ज्यानसम्बन्धी महलको ६(२) नं.बमोजिम २ वर्ष कैद र अर्का प्रतिवादी हरि भन्ने हर्कबहादुर धामीको हकमा वारदातमा संलग्नता नदेखिएकाले सफाइ पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सुरू बझाङ जिल्ला अदालतको फैसला । 

यदि मैले निज मृतकलाई कुटपिट गरेको भए र निज मृतकको घाँटी च्यापिएको भए मृतकको श्वास प्रश्वास प्रक्रिया वा रक्त संचार प्रक्रिया तत्काल बन्द भई मृतक ठाउँको ठाउँ ढल्नु पर्नेमा घटना घटेको करिब ६ घन्टापछि मृतकको मृत्यु भएको अवस्था छ । हातले घाँटी च्याप्दा घाँटीमा निलडाम पर्न सक्छ । तर ग आकारको Lieature Mark बन्न सक्दैन तसर्थ निज आफैँ झुण्डी आत्महत्या गरेको हुँदा मैले सजाय पाउनु पर्ने होइन सफाइ पाउनु पर्छ भन्नेसमेत व्यहोराको प्रतिवादी शिवराज उपाध्यायको पुनरावेदन जिकिर । 

मृतकको मृत्यु प्रतिवादीको चोटबाट भएको र सो चोट पनि ज्यानसम्बन्धी महलको ६(२) नं.बमोजिम अन्य कुनै काम गर्दा नभई जानीजानी पिट्ने थिच्ने गरेको कारणले परेको हो । यसरी जानीजानी कुटपिट र घाँटी थिची ज्यान मारेको कुरा प्रष्ट देखिँदा ज्यानसम्बन्धी महलको १३(३) नं.बमोजिम सजाय नगरी भवितव्य पर्न गएको अवस्थाको ज्यानसम्बन्धी महलको ६(२) नं. प्रयोग गरी सजाय गरिएको फैसला नमिलेको हुँदा बदर गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन जिकिर ।   

प्रतिवादी शिवराज उपाध्यायको पुनरावेदन वादी नेपाल सरकारलाई र प्रतिवादी शिवराज उपाध्यायलाई वादी नेपाल सरकारको पुनरावेदन जानकारी एक अर्कालाई गराई नियमानुसार पेस 

गर्नू । साथै वारदातको प्रकृतिसमेत विवेचना नगरी भएको फैसला सबुद प्रमाणको मूल्याङ्कनको आधारबाट सुरू बझाङ जिल्ला अदालतको फैसला फरक पर्न सक्ने देखिँदा छलफलका निमित्त अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रतिवादी हरि भन्ने हर्कबहादुर धामीलाई झिकाई उपस्थित भए वा अवधि नाघेपछि नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालत, दिपायलको मिति २०६७।५।२३ को आदेश । 

मृतक यज्ञ धामीको प्रतिवादीमध्येका शिवराज उपाध्यायसँग ०६५।४।२९ गते बिहान ११ बजेको समयमा उपस्वास्थ्य चौकीमा र तत्पश्चात् झडोखेल्ना भन्ने ठाउँमा कुटपिट भएको तथ्य मिसिल संलग्न कागजबाट देखिन्छ । तत्पश्चात् मृतक यज्ञ धामी र प्रतिवादीमध्येका रामबहादुर धामीसँगै साथमा लागी गएको, घरमा गाली गर्छन् यतै सुत्छु भनी सुतेको भन्ने प्रतिवादी रामबहादुरले अनुसन्धान अधिकारीसमक्ष गरेको बयानबाट देखिन्छ । सोही दिन प्रतिवादी रामबहादुरकै घर कोठामा सुतेको अवस्थामा दिउसो स्कुलबाट आएकी सविता धामीले मृतक कोठाभित्र झुण्डिएको अवस्था देखेपछि प्रतिवादी हरि धामी र प्रतिवादी कृष्णसमेतले पासो काटेको भन्ने तथ्य प्रतिवादी हरि धामीको बयानबाट र मौकामा कागज गर्ने अनुसन्धानमा बुझिएकी बसन्ती धामी, सविता धामीसमेतको कागजबाट देखिन्छ । मृतको लास पोस्टमार्टम हुँदा मृतकको मृत्यु Asphxial Death due to Strangulation भन्ने उल्लेख भएको र घाँटीमा डोरीको डामसमेत हुँदा प्रतिवादी शिवराजले हात मुक्काले हिर्काएको कारण सो डाम पर्ने र श्वास अवरूद्ध हुने अवस्था रहँदैन । साथै बिहान मर्नेसम्मको प्रहार गरेको भए हिँडेर रामबहादुरसँगै रामबहादुरको घरमा आई सुत्ने अवस्थासमेत रहँदैन । यस्तो अवस्थामा प्रतिवादी शिवराजले कुटेको चोटबाट मृतकको मृत्यु भएको भन्ने मिसिल संलग्न उक्त तथ्यबाटसमेत समर्थित नहुँदा न्यायोचित देखिएन । अतः सुरू बझाङ जिल्ला अदालतले प्रतिवादी शिवराज उपाध्यायलाई ज्यानसम्बन्धी महलको ६(२) नं. को कसुर ठहर गरेको सुरू बझाङ जिल्ला अदालतको मिति २०६७।३।८ को फैसला नमिलेकाले त्यति हदसम्म बदर भई पुनरावेदक प्रतिवादी शिवराजले ज्यान मारेको कसुरबाट सफाइ पाउने ठहर्छ । मृतकलाई मार्नुअघि सोहिदिन बिहान यी प्रतिवादी शिवराजले कुटपिट गरेको देखिँदा ज्यानसम्बन्धी महलको ११ नं. ले इङ्गित गरेअनुसार निजलाई मृतकका शरीरमा लागेका घाउ खतअनुसार कुटपिटको १३ नं. अनुसार रू.२५०।- जरिवाना हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, दिपायलको मिति २०६८।२।१ को फैसला ।  

मृतक यज्ञबहादुर धामी र प्रतिवादी शिवराज उपाध्यायबिच कडेलस्थित उपस्वास्थ्य चौकीमा भेट हुँदा गाली गलौज हातपात भएको र तत्पश्चात् सोही दिन प्रतिवादी शिवराजले मृतक यज्ञबहादुर धामीलाई नाक, मुखमा रगतपच्छे घा खत हुने गरी कुटपिट गरेको कुरा अनुसन्धान अधिकारीसमक्ष स्वीकार गरेको छ । तर घटनालाई गर्दनमा पासो लगाई आत्महत्या गरेको भने पनि पोस्टमार्टम रिपोर्टमा मृत्युको कारणमा Asphyxial Death due to Hanging नभई Asphyxial Death due to Strangulation भनी उल्लेख भएको छ । शरीर जाँच गर्दा पासोको गाँठो फेला नपरेको भन्ने उल्लेख हुनुका साथै झुण्डी मरेको लाशमा Lividy शरीरको तल्लो भागमा खुट्टातर्फ जानु पर्नेमा Lividy on the Back भन्ने उल्लेख भएबाट मृतक यज्ञबहादुर धामीको मृत्यु आत्महत्याबाट नभएर कर्तव्यबाट भएको स्वतः सिद्ध छ ।   

यी प्रतिवादीले अदालतसमक्ष भएको बयानमा कुटपिट गरेको कुरा इन्कार गरे पनि निजको सो बयान बुझिएका अन्य व्यक्तिहरूको कागज, पोस्टमार्टम रिपोर्ट, लास जाँच प्रकृति मुचुल्काबाट समर्थित भएको छैन । कुटपिट गरी घाँटी थिचेका कारण मृतकको मृत्यु भएको कुरा पुष्टि भइरहेको अवस्थामा सफाइ दिने गरी भएको पुनरावेदन अदालत, दिपायलको फैसला नमिलेकाले बदर गरी सुरू अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र । 

नियमबमोजिम पेसीमा चढी इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री राम घिमिरेले गर्नु भएको बहस सुनी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, दिपायलको फैसला मिले नमिलेको के रहेछ ? वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन, सोही विषयमा निर्णय दिनुपर्ने देखिन आयो ।  

२. प्रतिवादी शिवराज उपाध्याय, हर्कबहादुर धामी, रामबहादुर धामी, कृष्ण धामी र कृष्ण देवी धामीउपर मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. विपरीतको कसुरमा ऐ.१३(३) नं.बमोजिम सजायको माग दाबीभएकामा बझाङ जिल्ला अदालतबाट फरार प्रतिवादी रामबहादुर धामी, कृष्ण धामी र कृष्णदेवी धामीको हकमा मुल्तवी राखी प्रतिवादी शिवराजलाई ज्यानसम्बन्धीको ६(२) नं.बमोजिम २ वर्ष कैद र हर्कबहादुर धामीलाई सफाइ दिने गरी बझाङ जिल्ला अदालतबाट फैसला भएको रहेछ । सोउपर वादी नेपाल सरकार र प्रतिवादी शिवराज उपाध्याय दुवैको तर्फबाट पुनरावेदन परेकामा प्रतिवादी हर्कबहादुरको हकमा सुरू सदर भई शिवराजलाई कुटपिटको १३ नं. अनुसार रू.२५०।- जरिवाना हुने गरी फैसला भएकामा सो फैसलामा चित्त नबुझी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा पुनरावेदन परेको पाइयो ।  

३. यसमा मृतक यज्ञ धामीले रक्सी खाई प्रतिवादीमध्येका शिवराज उपाध्यायसँग निहुँ खोजेको कारण मिति २०६५।४।२९ गते उपस्वास्थ्य चौकी कडेलमा र तत्पश्चात् झडोखेल्ना भन्ने ठाउँमा कुटपिट भएको भन्ने तथ्य जाहेरी दरखास्त, प्रतिवादीको बयान तथा बुझिएका व्यक्तिको कागजसमेतबाट 

देखिन्छ । कुटपिटको क्रममा हात हालाहाल भई मृतकलाई गम्भीर चोट पटक लागेको भन्ने स्थिति देखिँदैन । कुटपिटपश्चात् मृतक प्रतिवादीमध्येका रामबहादुर धामीसँग साथमा लागी आफैँ निजको घर गएको भन्ने पनि देखिन्छ । मृतक आफूले रक्सी खाएको हुँदा काका र बाजेले गाली गर्छन् यतै सुत्छु भनी निज रामबहादुरको घरमा सुतेको भन्ने स्वयम् जाहेरवाला तथा बुझिएका व्यक्तिहरूको कागजबाट देखिन्छ । दिउँसो ४ बजेको समयमा प्रतिवादी रामबहादुरको बहिनी सविता धामी स्कुलबाट फर्किएर घर आउँदा कोठामा मृतक यज्ञ धामी झुण्डिएको देखी बाहिर बसेका निजको बुबा हरि सिंह भन्ने हर्कबहादुर धामीलाई भनेपछि स्वास बाँकी छ बाँच्छ की भनी कृष्ण धामीले हँसियाले पासो काट्ने हर्कबहादुर धामीले मृतकलाई समातेको हो भन्ने स्वयम् प्रतिवादी हरि धामी र रामबहादुर धामीको अनुसन्धानको क्रममा भएको बयान र अदालतसमक्ष भएको बयानबाट देखिन्छ । मृतकलाई मार्नु पर्नेसम्मको रिसइबी र झै झगडासमेत भएको भन्ने भनाई कहीँ कतैबाट 

देखिँदैन । मृतक स्वयम्‌ले पटकपटक निहुँ खोजी लछार पछार गरेको कारण सहन नसकी प्रतिवादीमध्येका शिवराजले एक दुई मुक्का प्रहार गरेको भन्ने घटनाका प्रत्यक्षदर्शी अक्कलबहादुर धामी, रामबहादुर धामीसमेतको भनाईबाट देखिन्छ । यसरी दुवैबिच हात हालाहाल हुँदा मृतकको नाकमा चोट लागी रगत बगेको भन्नेसम्मको वारदात देखिन्छ । पोस्टमार्टम रिपोर्टमा Asphyxial Death due to Strangulation भन्ने उल्लेख भए पनि शरीरमा सङ्घर्षका चिन्ह एवम् घटनास्थल विवरणमा कुनै पनि शङ्कास्पद स्थिति नदेखिएको अवस्थामा कुटपिटसम्मको वारदातको प्रकृति र पोस्टमार्टम रिपोर्टबिचको तादात्म्यता देखिँदैन । कुटपिटको वारदातमा लागेको चोटको कारण अत्यधिक रक्तश्राव भई मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोट पनि नहुँदा यी प्रतिवादीलाई मृतकको मृत्युको लागी जिम्मेवार ठहराउनु कानूनसङ्गत 

देखिँदैन । साथै प्रतिवादी बनाईएका हरि भन्ने हर्कबहादुर पनि आफ्नै घर आँगनमा सामान्य ढङ्गबाट बसिरहेको अवस्था देखिन्छ । स्कुलबाट फर्केकी छोरीले घरभित्र पसेपछि मृतकलाई झुन्डिएको देखी एक्कासी चिच्याएपछि मात्र घटनाको बारेमा थाहा जानकारी पाएका प्रतिवादी हर्कबहादुरले मृतकलाई बाँच्छ कि भनी प्रयासस्वरूप मृतकको घाँटीमा रहेको पासो काट्ने कार्यलाई आफैँमा अपराध भन्न मिल्ने 

हुँदैन । यी प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको पूर्व रिसइबी थियो भन्ने कुरा अनुसन्धानको क्रममा कहिँ कतै केही पनि नदेखिएको अवस्थामा त्यति नै कारणले मात्र निज प्रतिवादीहरू दोषी रहेछन् भनी बिना सबुद प्रमाण भन्न मिल्ने अवस्था रहँदैन ।

४. मृतकलाई कोठामा पासो लगाएको अवस्थामा देख्ने सविता धामी र पासो काट्ने कृष्ण धामी र मृतकलाई समात्ने हरि भन्ने हर्कबहादुर धामीसमेतको बयान कागजबाट मृतक झुण्डिएको अवस्थामा भेटिएको र तत्काल पासो काटी हेर्दा मरिसकेको भन्ने स्पष्ट घटनाक्रमबाट देखिँदा त्यसलाई अन्यथा रहेछ भनी मान्न मिलेन । यी प्रतिवादीहरूको कर्तव्यबाटै मृतकको मृत्यु भएको भन्ने मिसिल संलग्न वस्तुनिष्ठ सबुद प्रमाणको अभावमा यी प्रतिवादीहरूलाई कर्तव्य ज्यान जस्तो गम्भीर फौजदारी अपराधमा दोषी ठहर गर्न मिल्ने देखिएन ।

५. तसर्थ सुरू अदालतबाट सफाइ पाएका प्रतिवादी हरि भन्ने हर्कबहादुर धामीको हकमा सुरू फैसला सदर गरी प्रतिवादी शिवराज उपाध्यायलाईसमेत सफाइ दिने ठहर गरी निजलाई मुलुकी ऐन, कुटपिटको १३ नं. अनुसार रू.२५०।– जरिवाना गर्ने गरेको पुनरावेदन अदालत, दिपायलको मिति २०६८।२।१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । 

   

उक्त रायमा सहमत छु ।

स.प्र.न्या. रामकुमार प्रसाद शाह 

 

इजलास अधिकृत: ईश्वर पराजुली 

इति संवत् २०७२ साल जेठ ५ गते रोज ३ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु