शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४६७ - विष सेवन गरि कर्तव्य ज्यान

भाग: ५७ साल: २०७२ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री दीपकराज जोशी

फैसला मिति : २०७२।५।२५।६

०७१-RC-००७६

 

मुद्दा : विष सेवन गरि कर्तव्य ज्यान

 

वादी : शंकरप्रसाद बजगाईको जाहेरीले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला बर्दिया मोतिपुर घर भई हाल कारागार कार्यालय, तुल्सीपुर, दाङमा थुनामा रहेकी नुमा बजगाई

 

जन्म दिने आमाले आफ्नो छोराछोरीको सधैँ हित नै चिताएको हुन्छ । छोराछोरीको हत्या गर्ने जस्तो गम्भिर अपराध गर्ने मनसाय कुनै पनि आमासँग रहँदैन । प्रस्तुत वारदातमा आफ्नो मृत्युपश्चात् छोराछोरीले झन् दुःख पाउने अवस्थाको कल्पना गरि धेरै दुःख नपाउन् भनी एकैपटक आफूसँगै मार्न खोजेको कार्यलाई अन्य सुनियोजित हत्या (Intentional Homicide) गर्नेलाई जस्तो कठोर सजाय गर्नु न्यायको दृष्टिले उचित नदेखिने । 

कसुर र सजायमा तादाम्यता हुनु आवश्यक हुन्छ । यी प्रतिवादीले पति एवम् सासूलगायतका घर परिवारका अभिभावकबाट समेत हेलापूर्ण व्यवहार भएको कारण आत्महत्या गर्न प्रयास गरेको कार्य नै दुःखद्‌ छ । आफू मरेपछि नाबालक छोराछोरीको विचल्ली होला भनी बालबच्चाले दुःख पाउने कल्पना गरि विष सेवन गरि छोराछोरीलाई समेत विष खुवाएको घटना झन् दुःखद्‌ 

छ । आफ्नो नाबालक छोरा आफ्नै कारणले गुम्न गएको पीडा प्रतिवादीले सदैब सहनु पर्ने स्थिति छ । प्रतिवादीलाई कानूनले सजाय गरेकोभन्दा पनि बढी सजायबोध परिमाणतः आजीवन भई रहने स्थितिलाई मनन् गर्दा प्रतिवादीलाई पाँच वर्ष सजाय हुने राय व्यक्त भएकामा सोसमेत चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम प्रतिवादीलाई चार वर्षसम्ममात्र कैद सजाय गर्नु न्यायोचित हुने ।

(प्रकरण नं. ५)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.

अ.बं. १८८ नं.

 

जिल्ला अदालतमा फैसला गर्ने :

मा.जि.न्या.श्री धनसिंह महरा

पुनरावेदन अदालतमा फैसला गर्ने :

मा.न्या. श्री प्रेमराज ढकाल

मा.न्या. श्री दिनेशप्रसाद यादव

 

फैसला 

न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७१ ।५ ।८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ :

मिति २०६८ ।३ ।२७ गते राति ११.०० बजेको समयमा जिल्ला बर्दिया मोतिपुर ६ बस्ने नुमा बजगाईले आफू पनि मर्ने छोरा छोरीलाई समेत मार्ने उद्देश्यले विष सेवन गरे गराएकामा सोही विषको कारण उपचारको क्रममा वर्ष ६ को छोरा अङ्कित बजगाईको मृत्यु भएको हुँदा कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको शंकरप्रसाद बजगाईको जाहेरी दरखास्त । 

जिल्ला बर्दिया मोतिपुर गा.वि.स. वडा नं. ६ स्थित पूर्वमा सखरिया टोलबाट बैसठ्ठी खेततर्फ जाने पानी कुलो पश्चिममा बलबहादुर परियारको जग्गा उत्तरमा धनमाया बजगाईको जग्गा दक्षिणमा लिलाधर अधिकारीको जग्गा यति चार किल्लाभित्र रहेको उत्तर दिशातर्फ मुलढोका फर्किएको जस्ताको छाना भएको तीन कोठे घरको दक्षिण पश्चिमपट्टीको कोठामा मिति २०६८।३।२७ गते राति अन्दाजी ११.०० बजेको समयमा नुमा बजगाईले आफूले विष सेवन गरि छोरा अङ्कित र छोरी अङ्कितालाई विष सेवन गराएकामा आफन्त र छिमेकीहरू समेत मिलि ढोका खोली निजहरूलाई उपचारार्थ शिक्षण अस्पताल कोहलपुरतर्फ पठाएको ठिक साँचो हो भन्नेसमेत व्यहोराको घटनास्थल मुचुल्का । 

मिति २०६८।३।२७ गते राति अन्दाजी ११.०० बजेको समयमा मैले Tiger १० नामक विषादि सेवन गरि बच्चाहरू समेतलाई सेवन गराएको हुँ । उक्त विषादी करिब ५/७ महिनाअघि तरकारीमा छिट्न भनी ल्याएको हो । घरमा सासूले पटकपटक हरेक कुराहरूमा गाली गर्ने र घरायसी झन्झट तथा विवादको कारण मन स्थिरमा राख्न नसकी विष सेवन गरेको हुँ । म मरेपश्चात्‌ मेरा सन्तानहरूलाई हेला हुन्छ भन्ने सोची छोरा छोरीलाई विष खुवाएको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी नुमा बजगाईले गरेको कागज ।

नाक मुखबाट फिज बगेको शरीर सुन्निएको भन्नेसमेत व्यहोराको मृतक अङ्कित बजगाईको लाश जाँच मुचल्का ।

Cause of Death cannot be specified. Unknown will be specified after visceral examination report come भन्नेसमेत व्यहोराको शव परीक्षण प्रतिवेदन । 

मेरो श्रीमान्‌ नेपाली सेनामा कार्यरत्‌ रहेको हुँदा बढि समय घर बाहिर रहने र म मेरी सासूसँग घरमा बस्दै आएको छु । केही वर्ष अघिदेखि मेरो आँखा कमजोर हुँदै गई बेलुकापख आँखा कम देख्ने हुँदै गएकाले श्रीमान्‌ घर आएको बखत सासूले श्रीमान्‌लाई अर्को विवाह गर नुमालाई सौता हाल भन्ने गर्नु 

हुन्थ्यो । मेरो श्रीमान्‌ छुट्टिमा घर आएको र मिति २०६८।३।२७ गते फर्कने तयारी गरेकामा सोही दिन बिहानको खाना खाने क्रममा समेत सासूले मेरो श्रीमान्‌लाई अर्को विवाह गर्न दबाब दिनुभए पछि मलाई चित्त दुखेकाले छोरा छोरीलाई साथमा लिई कोहलपुर दिदीको घरमा जान्छु भनी हिँडे । सो कुरा श्रीमान्‌ले थाहा पाई मलाई बीच बाटोबाट फर्काई घरमा पुर्‍याई नाइट बसबाट काठमाडौंतर्फ जानु भयो । राति कोठामा छोरा छोरी लिई सुत्न लागेको अवस्थामा सासूको दबाबमा श्रीमान्‌ले सौता हाल्छन, मलाई ज्यादै हेला गर्छन भन्ने जस्ता कुरा खेलाउँदा आत्महत्या गर्ने विचार आएकाले तरकारी बारीमा छर्न भनी ल्याएको विषादी सेवन गरे । अब म मर्छु, मरेपछि श्रीमान्‌ले अर्को विवाह गर्नुहुन्छ र बच्चालाई हेला भई दुःख पाउँछन् भन्ने ठानी बच्चाहरूलाई विषादी सेवन गराएकामा छोरा अङ्कितको उपचारको क्रममा मृत्यु भएको हो । उक्त कार्यमा अन्य कोही कसैको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्रतिवादी नुमा बजगाईले गरेको बयान ।

मिति २०६८।३।२७ गते म आफ्नो घरमै थिएँ । राति एक्कासी छिमेकी केशवराज शर्माले मलाई फोन गरि शंकरप्रसाद बजगाईको घरमा निजकी श्रीमतीले विषादी खाई छोरा छोरीलाई खुवाई बेहाल छ भनेको सुनेपछि तत्काल घटनास्थलमा आईपुग्दा नुमालाई घाइते अवस्थामा घोप्टो परेको देखेँ । विषादीको खाली सिसी कोठाभित्र छरिएको थियो । औषधीको दुर्गन्ध आएको थियो । बच्चाबच्चीलाई म पुग्नुभन्दा अघि नै उपचारको लागि लगिसकिएको 

रहेछ । निज नुमा बजगाईलाई गाडीमा राखी मेडिकल कलेज कोहलपुरमा लगेकामा उपचारको क्रममा अङ्कितको मृत्यु भएको हो । निज नुमाले आत्महत्या गर्ने उद्देश्यले विषादी सेवन गरेको र आफू मर्ने भएँ । छोरा छोरीले दुःख पाउछन् भनी विषादी सेवन गराएकी हुनुपर्छ भन्नेसमेत व्यहोराको धर्मराज पौडेलले गरेको कागज । 

प्रतिवादी नुमा बजगाई मेरी कान्छी बुहारी 

हुन् । नेपाली सेनामा जागिरे मेरो कान्छो छोरा शंकरप्रसाद बजगाई छुट्टिमा घर आएको थियो । मिति २०६८।३।२७ गते कार्यालय जाने तयारीमा बिहानको खाना खाने क्रममा मैले बुहारी नुमालाई खानासँग दुधसमेत दिएको तर नखाएपछि मैले छोरालाई बुहारीले दुध खाइन । निजलाई के कुरामा चित्त बुझेन छुट्टिने विचार पो हो कि ? भनी सुनाई बजारतिर गएँ । साँझ घर फर्कदा छोरो गई सकेको रहेछ । निजहरूबिच दिउँसो के भयो भएन ? मलाई थाहा भएन । साँझ बुहारीलाई खाना खान बोलाउदा पेट दुखेको छ खान्न भनेकाले मैले खाएँ । राति अन्दाजी ११.०० बजेको सययमा बुहारी सुतेको कोठामा बच्चा रोएको र पानी मागेको सुनी पानी लिई जाँदा कोठा बन्द भई नखुलेको र बुहारीलाई बोलाउँदा नबोलेकाले मसँग सुतेको छोरीका छोराछोरीहरूलाई भन्दा निजहरूले सम्पुर्ण झ्यालसमेत बन्द भएको र बिषादीको गन्ध आएको भनी बताएकाले केही घटना घट्‌यो कि ? भन्ने आशङ्काले छिमेकी र आफन्तसमेत बोलाई ढोका फोडी हेर्दा बुहारी र बच्चाहरू अर्धचेत अवस्थामा लडेको र छेउमा विषादीको सिसीहरू समेत देखेकाले निजहरूलाई उपचारार्थ कोहलपुर लग्यौं । उपचारको क्रममा नाती अङ्कितको मुत्यु भएको हो भन्नेसमेत व्यहोराको धनकुमारी बजगाईले गरेको कागज ।

मिति २०६८।३।२७ गते राति जाहेरवाला शंकरको घरमा सँगै बस्ने भान्जी वर्ष १३ कि एकता न्यौपानेले मलाई फोन गरि माइजु नुमाको कोठाबाट विषको गन्ध आएको छ, भाई बैनी रोइरहेका छन्‌, माइजुलाई बोलाउँदा बोल्नुहुन्न ढोका पनि खोल्नु हुन्न, तपाइँ छिटै आउनुपर्‍यो भनेकाले म तत्काल पुग्दा छिमेकीहरू समेत जम्मा भई सकेका रहेछन् । कोठाबाट विषको गन्ध आइरहेको थियो । बोलाउँदा कोही पनि नबोलेपछि मसमेत भई ढोका फुटाई हेर्दा बुहारी नुमा र बच्चाहरू बेहोस भई गुन्द्रिमा लडिरहेका थिए । नजिकै विषको बट्टा पनि थियो । तत्पश्चात्‌ हामी सबै मिली निजहरूलाई उपचारार्थ मेडिकल कलेज कोहलपुर लगेकामा उपचारको क्रममा भतिजो अङ्कित बजगाईको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको तुलाराम बजगाईले गरेको कागज । 

वारदात मितिको राति अन्दाजी ११.३५ बजेको समयमा भाई शंकरप्रसाद बजगाईले मलाई फोन गरि घरमा बच्चा रोइरहेका छन्, बुहारीले ढोका पनि खोलिनन् अरे के भएको हो ? हेरिदिनुहोस्‌ भनेकाले मैले तत्काल मोटर साईकल तयार गर्दाको अवस्थामा भतिजा अङ्कित र भतिजी अङ्कितालाई बेहोस हालतमा बोकी ल्याएको देखि के भएछ भनी बुझ्दा नुमाले विष सेवन गरि बच्चासमेतलाई विष खुवाएकाले बेहोस भएका हुन् भन्ने थाहा पाएको हुँ । तत्पश्चात्‌ हामी सबै मिली उपचारार्थ मेडिकल कलेज कोहलपुरमा लगेकामा उपचारको क्रममा भतिजो अङ्कित बजगाईको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको कृष्णप्रसाद बजगाईले गरेको कागज ।   

मिति २०६८।३।२८ गते काका निमप्रसाद तिवारीले मलाई फोन गरि बहिनी नुमा सिकिस्त बिरामी छ, तत्काल कोहलपुर मेडिकल कलेज आउनु भनेकाले म जाँदा निज नुमाले विष सेवन गरे गराएको र सोही कारण उपचारको क्रममा भान्जा अङ्कितको मुत्यु भएको भन्ने सुनि थाहा पाएको हुँ । ऐ. २९ गते बहिनीसँग कुरा हुँदा निजले घरमा सासूसँग विवाद भएको र सासूले आफूमाथि सौता हाल्न श्रीमान्‌लाई दबाब दिएका कारण आफूले विष सेवन गरेको र आफ्नो मृत्युपछि बच्चाले दुःख पाउँछन्‌ भनी बच्चालाई समेत विष सेवन गराएको भनेकाले थाहा पाएको हुँ भन्नेसमेत व्यहोराको कृष्णकुमार तिवारीले गरेको कागज । 

वारदात मितिको राति अन्दाजी ११.१५ बजेको समयमा जाहेरवालाको घरबाट तुलाराम बजगाईले गुहार मागेको सुनी के भएछ भनी जाँदा निज तुलारामसमेतले नुमा सुत्ने कोठाको ढोका फुटाई सकेका रहेछन्‌ । भित्र विषको चर्को गन्ध आएको      थियो । नुमा र बच्चाहरू गुन्द्रिमा लडेका थिए । निजको परिवारका सदस्यहरू र हामी छिमेकीहरू समेत भई उपचारार्थ कोहलपुरस्थित मेडिकल कलेजमा लगेकामा उपचारको क्रममा अङ्कितको मृत्यु भएको हो । नुमाले खुवाएको विषको असरले अङ्कितको मृत्यु भएको हुनुपर्छ भन्नेसमेत व्यहोराको केशवराज शर्माले गरेको कागज ।

प्रतिवादी नुमा बजगाईले सासूले भनेको कुरालाई मनमा खेलाई नाना किसिमका तर्क वितर्क गरि पहिले आफूले घरमा तरकारीमा छर्नका लागि राखेको Tiger-१० नामक विषादी खाई आफू मरेपछि छोराछोरीले दुःख पाउँछन्‌ भन्ने विचार मनमा पैदा गरि सोही विषादी राखेको प्लाष्टिकको झोलामा रहेको DELFIN नामक विषादी छोरा अङ्कित र छोरी अङ्कितालाई खुवाएकामा उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगी उपचारकै क्रममा वर्ष ५ का छोरा अङ्कित बजगाईको मुत्यु भएको देखिन आएकाले प्रतिवादी नुमा बजगाईको सो कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(२) नं.ले परिभाषित कसुर अपराध गरेकाले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.अनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोगपत्र ।

मेरो सासूले श्रीमान्‌लाई तेरी स्वास्नीलाई छाड अर्को विवाह गर भनी कचकच गर्ने गर्नुभएको र श्रीमान्‌ले समेत विश्वास मानी धम्की दिने 

गर्नुहुन्थ्यो । मिति २०६८।३।२७ गते श्रीमान्‌ले समेत मैले जे सुकै गरूँ तलाई के मतलब, म अब आउँदिन भनी नोकरीतर्फ जानु भएको र सोदिन पनि सासूले कचकच गर्नुभएकाले सोही कुरा मनमा खेलाई अपहेलित भई बाँच्नुभन्दा मर्नु ठिक भनी कोठाको झ्याल ढोका बन्द गरि विष खाएँ । म मरेपछि बच्चाको समेत बिचल्ली हुन्छ । तसर्थ यीसमेत बाँचेको कुनै अर्थ छैन भन्ने लागी छोरा छोरी र आफूसमेत मर्ने सोची निजहरूलाई समेत विष खुवाएकी हुँ । पछि गाउँलेले थाहा पाई उपचारको लागी कोहलपुर लगेछन् । उपचारको क्रममा छोरा अङ्कितको मृत्यु भएछ । म र छोरीलाई उपचार पछि ठिक भएको हो । छोरालाई मार्ने उद्देश्यले विष खुवाएको होइन भन्नेसमेत व्यहोराको नुमा बजगाईले बर्दिया जिल्ला अदालतमा गरेको बयान ।

तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादी नुमा बजगाई कसुरदार भएको देखिन आएकाले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुनेगरि हाललाई मुलुकी ऐन, अ.बं. ११८(२) नं.बमोजिम मुद्दा पुर्पक्षको लागि थुनामा राख्नु भन्नेसमेत व्यहोराको बर्दिया जिल्ला अदालतको मिति २०६८।४।१९ को आदेश ।

बहिनीको सासूले यसले राम्रो व्यवहार गर्दिन सधैँ झगडा गरि रहन्छे भनी छोरालाई अर्को विवाह गराउने दबाब दिनुभएको कारण बहिनीले परिमाण नै नसम्झी घरमा ल्याई राखेको विषादी खाई त्यसपछि छोरा छोरीलाई पनि खुवाई दिएकी रहिछन् । सोही कारण भान्जा अङ्कितको उपचार हुँदाहुँदै मृत्यु भएको हो । बहिनी र भान्जी बच्न गएका हुन् भन्नेसमेत व्यहोराको प्रहरीमा कागज गर्ने कुष्णकुमार तिवारीले बर्दिया जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादी नुमा बजगाईले आफूले विष किन खाइन् र छोरालाई किन खुवाइन् सो विषयमा मलाई थाहा छैन । म निजको घरमा जाँदा नुमा भुइँमा लडिरहेको र कोठाभरी औषधी (विषादी) पोखिएको थियो । छोरालाई अस्पतालमा लगी सकेका 

थिए । नुमालाई कोहलपुर शिक्षण अस्पतालमा उपचार गराउन मैले लिई गएको हुँ । निज बेहोस अवस्थामा थिइन् । प्रतिवादीले साँझ परेपछि आँखा देख्नु हुन्न । नुमाको दिमाग कमजोर र आफ्नो  जिद्धीपना नछोड्ने बानी थियो । आफ्नो छोरालाई मार्नुपर्नेसम्मको कुनै कारण थिएन भन्नेसमेत व्यहोराको प्रतिवादीका साक्षी धर्मराज पौडेलले बर्दिया जिल्ला अदालतमा गरेको बकपत्र ।

प्रतिवादीको साबिती बयान, घटनास्थल मुचुल्कालगायत बुझिएका साक्षी प्रमाणहरूबाट बालक अङ्कित बजगाईको मृत्यु प्रतिवादी नुमा बजगाईले खुवाएको किटनाशक विषको कारणबाट भएको पुष्टी भएकाले निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैद हुने ठर्हछ । प्रस्तुत वारदात घरपरिवारको मानसिक प्रताडना, आफ्नो कमजोर मानसिकतालगायतका कारण घट्न गएको देखिँदा प्रतिवादी नुमा बजगाईलाई अ.बं. १८८ नं. बमोजिम पाँच वर्षमात्र कैद सजाय हुने ठहर्छ भन्नेसमेत व्यहोराको बर्दिया जिल्ला अदालतको मिति २०६९।३।१४ को फैसला ।

घर परिवारबाट हुने गरेको गलत व्यवहार र पतिसमेतको तर्फबाट सौता खेपिनु पर्छ भन्ने तर्क वितर्क र खिन्नताबाट मानसिक सन्तुलन गुमाउन पुगी पछिसम्मको परिणामसमेतको विचारै नगरि म मरे छोरा छोरीले दुःख पाउने छन् भनी सोची पहिला आफूले विष सेवन गरि पछि छोरा छोरीलाई विष सेवन गराएकामा संयोगबस म र छोरी बाँच्न पुगी छोराको मृत्यु भएको हो । मेरो सन्तानप्रतिको स्नेहाभावबाट उत्पन्न मानसिक दुर्वलताका कारण प्रस्तुत घटना घट्न गएको हो । केवल शंकरप्रसाद बजगाईको जाहेरीलाई र तत्काल अकस्मात्‌ उत्पन्न मेरो मानसिक असन्तुलन र उत्पन्न संवेदनसिलतालाई फैसलाको आधार बनाई ज्यानसम्बन्धी महलको १३(२) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरि मुलुकी ऐन, अ.बं.१८८ नं.बमोजिम ५ वर्षको राय जाहेर गरि भएको फैसलाबाट ममाथि न्याय परेको छैन तसर्थ अभियोग माग दाबीबाट फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी नुमा बजगाईको पुनरावेदनपत्र ।

प्रतिवादी नुमा बजगाईले विष सेवन गरि आफ्नै छोरा अङ्कित र छोरी अङ्कितालाई समेत विष खुवाएकामा छोरा अङ्कितको उपचारको क्रममा मृत्यु भएको र सो तथ्यमा प्रतिवादीको साबिती बयान तथा अन्य प्रमाणले समेत सो पुष्टि भएको 

पाइन्छ । प्रतिवादीको मानसिकतामा बिचलन हुन पुगी निजको दुर्वल मानसिकताको परिणामस्वरूप प्रस्तुत वारदात घट्‍न पुगेको देखिँदा प्रस्तावित सजाय चर्को पर्ने देखिएकाले प्रतिवादी नुमा बजगाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्म कैद गरि अ.बं.१८८ नं. बमोजिम ५ वर्ष कैद सजाय हुने रायसमेत व्यक्त गरेको बर्दिया जिल्ला अदालतको मिति २०६९।३।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७१।५।८ को फैसला ।

प्रतिवादी नुमा बजगाई आफूले विष सेवन गरि छोरा र छोरीलाई समेत विष खुवाएकामा उपचारको क्रममा छोराको मृत्यु भएकाले निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग माग दाबी भएको प्रस्तुत मुद्दामा दाबीबमोजिम प्रतिवादी नुमा बजगाईलाई सुरू बर्दिया जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय ठहर गरि अ.बं. १८८ नं.बमोजिम ५ वर्ष कैद सजाय हुने रायसमेत व्यक्त गरेकामा पुनरावेदन अदालत, नेपालगञ्जबाट सो कैद सजाय र रायसमेत सदर गरि भएको फैसला साधक जाँचको लागि यस अदालतमा निर्णयार्थ पेस भएको रहेछ ।

नियमबमोजिम दैनिक पेसी सूचिमा चढी इजलाससमक्ष साधक जाँचको लागि पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदन अदालत, नेपालगञ्जको फैसला मिले नमिलेको के रहेछ, सोही सम्बन्धमा साधकको रोहबाट हेरी निर्णय दिनुपर्ने देखियो ।

२. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी नुमा बजगाईले मिति २०६८।३।२७ गते राति आफूले पनि विष खाई आफ्नो छोरा अङ्कित बजगाई र छोरी अङ्किता बजगाईलाई पनि विष खुवाएकामा उपचारको क्रममा छोरा अङ्कितको मृत्यु भएको र संयोगबस आफू र छोरी बाँच्न सफल भएको भनी मौकामा र अदालतमा समेत आरोपित कसुर स्वीकार गरि बयान गरेको देखिन्छ । घटनास्थलबाट बरामद भएका बट्टाहरूमा किटनाशक विष रहेको भन्ने परीक्षण रिपोर्टबाट पनि देखिई रहेको छ । प्रहरीमा कागज गर्ने कृष्णप्रसाद तिवारीले घरमा ल्याई राखेको विषादी आफूले खाई छोराछोरीलाई पनि खुवाएकाले उपचारको क्रममा छोरा अङ्कितको मृत्यु हुन गएको हो भनी बकपत्र गरिदिएको देखिन्छ । यसबाट प्रतिवादीले आत्महत्या गर्ने उद्देश्यले आफूले विष खाई छोरा छोरीलाई समेत विष खुवाएकामा बालक अङ्कित बजगाईको मृत्यु भएको तथ्यमा विवाद देखिएन । 

३. यसरी अभियोग माग दाबीलाई स्वीकार गरि प्रतिवादी नुमा बजगाईले अनुसन्धानको क्रममा लेखाइदिएको साबिती बयानलाई पूर्ण समर्थन गर्दै अदालतमा समेत बयान गरेको र अदालतबाट बुझिएका साक्षीहरूले समेत प्रतिवादीको साबिती पुष्टि हुनेगरि बकपत्र गरेको देखिएकाले अभियोग माग दाबीबमोजिम यी प्रतिवादी नुमा बजगाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय गर्ने गरि भएको सुरू बर्दिया जिल्ला अदालतको मिति २०६९।३।१४ को फैसलालाई सदर गरेको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७१।५।८ को फैसला मिलेकै देखिन्छ ।

४. अब, सुरू जिल्ला अदालतले मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय ठहर गरि उक्त सजाय चर्को पर्ने हुँदा अ.बं. १८८ नं.बमोजिम ५ वर्षमात्र कैद सजाय हुने गरि व्यक्त गरेको रायलाई सदर गरेको पुनरावेदन अदालत, नेपालगञ्जको फैसलाको सम्बन्धमा विचार गर्दा, प्रस्तुत मुद्दाको मिसिल अध्ययनबाट प्रतिवादी नुमा बजगाईले आत्महत्या गर्ने उद्देश्य लिई आफूले विष सेवन गरेको देखिन्छ । सुरूमा आफूले विष सेवन गरिसकेपछि मात्र आफ्नो मृत्युपश्चात् श्रीमान्‌ले अर्को श्रीमती विवाह गरि आफ्नो छोरा छोरीलाई झन्‌ दुःख देलान् भन्ने सोची छोरा छोरीलाई समेत विष सेवन गराएको अवस्था रहेको देखिन्छ । प्रस्तुत वारदात हुनुको पछाडि पूर्वयोजना तथा पूर्व रिसइवी तथा मनसायप्रेरित हत्यामा रहने जस्तो आपराधिक मनसायको समेत विद्यमानता नभई प्रतिवादीको नकारात्मक घरायसी वातावरण नै प्रमुखरूपमा जिम्मेवार रहेको देखिन आउँछ । नेपाली सेनामा कार्यरत्‌ रहेको आफ्नो श्रीमान्‌ प्रायसः घरबाहिर नै रहने तथा घरमा सासूले श्रीमान्‌ आएको बखत अर्कै विवाह गर्न दबाब दिने गरेको र श्रीमान्‌ले समेत म आमालाई छोड्न सक्दिन त जे सुकै गर् भनी गैरजिम्मेवारपूर्ण व्यवहार गरेको कारण उत्पन्न कमजोर मानसिक अवस्थाले गर्दा प्रस्तुत वारदात घट्न गएको देखिन्छ । यस किसिमको असहयोगी पारिवारिक वातावरणको कारण मानसिक अवस्थामा आघात पुगी प्रतिवादीले आत्महत्या गर्ने निर्णयमा पुग्नु परेको देखिन्छ । 

५. जन्म दिने आमाले आफ्नो छोराछोरीको सधैँ हित नै चिताएको हुन्छ । छोराछोरीको हत्या गर्ने जस्तो गम्भिर अपराध गर्ने मनसाय कुनै पनि आमासँग रहँदैन । प्रस्तुत वारदातमा आफ्नो मृत्युपश्चात् छोराछोरीले झन् दुःख पाउने अवस्थाको कल्पना गरि धेरै दुःख नपाउन्‌ भनि एकैपटक आफूसँगै मार्न खोजेको कार्यलाई अन्य सुनियोजित हत्या (Intentional Homicide) गर्नेलाई जस्तो कठोर सजाय गर्नु न्यायको दृष्टिले उचित 

देखिँदैन । कसुर र सजायमा तादाम्यता हुनु आवश्यक हुन्छ । यी प्रतिवादीले पति एवम् सासूलगायतका घर परिवारका अभिभावकबाटसमेत हेलापूर्ण व्यवहार भएको कारण आत्महत्या गर्न प्रयास गरेको कार्य नै दुःखद्‌ छ । आफू मरेपछि नाबालक छोराछोरीको बिचल्ली होला भनी बालबच्चाले दुःख पाउने कल्पना गरि विष सेवन गरि छोराछोरीलाई समेत विष खुवाएको घटना झन दुःखद्‌ छ । आफ्नो नाबालक छोरा आफ्नै कारणले गुम्न गएको पीडा प्रतिवादीले सदैब सहनु पर्ने स्थिति छ । प्रतिवादीलाई कानूनले सजाय गरेको भन्दा पनि बढी सजायबोध परिमाणतः आजीवन भै रहने स्थितिलाई मनन् गर्दा प्रतिवादीलाई पाँच वर्ष सजाय हुने राय व्यक्त भएकामा सोसमेत चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम प्रतिवादी नुमा बजगाईलाई चार वर्षसम्ममात्र कैद सजाय गर्नु न्यायोचित देखिँदा निजलाई जम्मा वर्ष चार (४) कैद सजाय हुने ठहर्छ ।

६. अतः उपयुक्त विवेचित आधार कारणबाट सुरू बर्दिया जिल्ला अदालतले प्रतिवादी नुमा बजगाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्म कैद गरि मुलुकी ऐन, अ.बं.१८८ नं.बमोजिम उक्त सजाय चर्को पर्ने भनी पाँच वर्षमात्र कैद ‍सजाय गर्ने गरि व्यक्त गरेको रायसमेतलाई सदर गरेको पुनरावेदन अदालत, नेपालगञ्जको मिति २०७१।५।८ को फैसला ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्मकैद गरेको हदसम्म सदर हुने ठहर्छ र रायको हकमा ४ वर्षमात्र कैद सजाय हुने ठहर्छ । अरूमा तलसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी नुमा बजगाईलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(२) नं.बमोजिम सर्वस्वसहित जन्म कैद हुने ठहर्‍याएको पुनरावेदन अदालत, नेपालगञ्जको फैसला सदर भई मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम ५ वर्ष कैद हुन व्यक्त गरेको राय नमिली ४ वर्ष कैद सजाय हुने ठहरेकाले पुनरावेदन अदालत, नेपालगञ्जको फैसलाबमोजिम कसिएका लगत कट्टा गरि ४ वर्ष कैदको लगत कसी निज प्रतिवादी मिति २०६८।४।१ मा पक्राउ परी हालसम्म ठहरेको कैद भुक्तान भैसकेको देखिँदा यस अदालतको मिति २०७२।५।२५ को सङ्क्षिप्त आदेशबाट प्रतिवादीलाई कैदबाट मुक्त गरिदिनु भनी पत्राचार भैसकेको हुँदा सोहिअनुसार लगत असुल जनाउनु भनी सुरू बर्दिया जिल्ला अदालतमा लेखी पठाउनू ........................................................१

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार गरि बुझाइदिनू ...............................२

 

उक्त रायमा सहमत छु ।

न्या. दीपकराज जोशी 

 

इजलास अधिकृत : मीना गुरूङ

इति संवत् २०७२ साल भदौ २५ गते रोज ६ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु