निर्णय नं. ९४६८ - अंश चलन

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति: २०७२ ।५ ।३० ।४
०६९-CI-०१७२
मुद्दा : अंश चलन
पुनरावेदक/वादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं ८ बस्ने ध्रुव के.सी.समेत
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८ बस्ने भक्तबहादुर खत्री (के.सी.)
०६९-CI-०७१७
पुनरावेदक/प्रतिवादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८ बस्ने भक्तबहादुर खत्री (के.सी.)
विरूद्ध
प्रत्यर्थी/वादी : जिल्ला ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८ बस्ने ध्रुव के.सी.समेत
अंश हक सबै अंसियारले समानरूपमा बाँडफाँड गरि लिन पाउने नैसर्गिक हक
हो । मुलुकी ऐन, अंश बन्डाको ५ नं.अनुसार पिताको मृत्युपश्चात निजले पाउने अंश निजका स्वास्नी छोराहरूमा सर्न गई निजहरूले पाउँछन् । अंश हक छोड्दा वा प्राप्त गर्दा कानूनबमोजिम लिखत पास गरेर मात्र लिनुदिनु गर्नु पर्छ भनि मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.ले अनिवार्य कानूनी व्यवस्था गरेको छ । कानूनले लिखत पास गर्नुपर्ने भनि अनिवार्य गरेको विषयमा सगोलमा बसेका परिवार संख्या धेरै सम्पत्ति आफूखुस अलगअलग बसेको जिकिरलाई सही रहेछ भनि अनुमान गरि मानो छुट्टिई भिन्न भएको मान्दा समान अंसियारबिच समानरूपमा बन्डा हुनुपर्ने कानूनको मूल उद्देश्य नै पराजित हुन
जाने ।
(प्रकरण नं. ४)
रजिस्ट्रेसनको १ नं.अनुसार मानु छुट्टिएको वा मानु जोडिएको लिखत रजिस्ट्रेसन पास भएकै हुनु पर्दछ । घरसारको लिखत भए पनि त्यस्तो लिखतको आधारमा मानु छुट्टिएको मिति कायम हुँदैन । कुटपिटको वारदातबाट नै मानो छुट्टिएको मिति कायम हुँदैन । मानो छुट्टेको मिति कायम हुने पहिलो प्रमाण भनेकै अड्डाबाट रजिस्ट्रेसन पास भएको लिखत हुने ।
(प्रकरण नं. ५)
समान पुस्ताका भाइभाइ बिचमा बन्डा नहुँदै सोही पुस्ताको एक अंसियार प्रतिवादीका नाममा रहेका जग्गा निजले छोडपत्र गरि आफ्नी श्रीमती र छोरालाई दिँदैमा त्यस्तो व्यवहारले वादीको उक्त सम्पत्तिमा प्रतिकूल प्रभाव पार्न सक्दैन । कानूनले उक्त छोडपत्र लिखतका जग्गाहरूमा वादीहरूको अंश हक निहित रहने नै हुँदा छोडपत्रबाट हक हस्तान्तरण गरेका जग्गामा समेत बन्डा लगाएको मिलेन भन्ने प्रतिवादीको जिकिर कानून र न्याय सङ्गत रहेको नपाइने ।
(प्रकरण नं. ६)
पुनरावेदक/वादीका तर्फबाट : विद्वान् अधिवक्ता भोजेन्द्रबहादुर खत्री
पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय विश्वराज सिग्देल र कनक विक्रम खड्का
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, अंशबन्डाको ५ नं., ३० नं., १८ नं.
मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.
सुरू तहमा फैसला गर्ने :
मा.जि.न्या. श्री कृष्णप्रसाद बास्तोला
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री टीकाबहादुर हमाल
मा.न्या. श्री प्रकाशराम मिश्र
फैसला
न्या. बैद्यनाथ उपाध्याय : पुनरावेदन अदालत, पाटनबाट मिति २०६८/१०/२६ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा वादी र प्रतिवादी दुवैको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छः-
हाम्रा बाजे शेरबहादुरको २ श्रीमती भएकामा हाम्री बज्यै पदम कुमारी र कान्छी पुतली के.सी. भएकामा पदम कुमारीतर्फ ३ छोरामा जेठो मानबहादुर, माहिलो माइला खत्री र कान्छा विपक्षी भक्तबहादुर खत्रीको जायजन्म भएको र कान्छी श्रीमती पुतली खत्रीतर्फ छोरा नजन्मी छोरी जेठी बट्टाइ र कान्छी छोरी भएकामा दुवै जनाको विवाह भई कान्छी परलोकसमेत भइसकेको र कान्छी हजुरआमा पुतली खत्री पनि २०२१ सालमा परलोक हुनु भयो । बाजे शेरबहादुर खत्री २००६ सालमा परलोक हुनुभएको र बज्यै पदमकुमारी पनि २०२१ सालमा परलोक हुनुभएकाले बाजे बज्यैको हक खाने जेठो मानबहादुर खत्री, माइला माइला खत्री र कान्छा विपक्षी भक्तबहादुर खत्रीसमेत ३ जना मात्र भएकामा हामी फिरादी मध्ये कुवेर के.सी., सकुल के.सी., सानो भाइको बाबा माइला खत्री लाटो लठेब्रो हुँदा टाठो बाठो कान्छा बाबु विपक्षी भक्तबहादुर खत्री भई उहाँको संरक्षणमा एकासगोलमा नै बसि आएको र आमा २०३४ सालमा र लठेब्रो बाबु पनि २०४८ सालमा परलोक हुनु भएपछि हामी टुहुरा केही नजान्ने सम्पत्ति कान्छा बाबाकै संरक्षणमा बसि बाजे बज्यैको सम्पत्ति र त्यसपछि बढे बढाएको सम्पत्तिसमेत विपक्षीकै साथमा भई हाम्रो अंश बन्डा भएको छैन । हामी फिरादी मध्येका नकुल के.सी. र ध्रुव के.सी. को बाबा मानबहादुर के.सी. मिति २०१९/२/९ मा परलोक हुनुभएको र आमा ठूली खत्रिनी २०२९ सालमा हामीलाई छाडी अन्यत्र गएकीले हामीहरू नाबालक टुहुरा भई कान्छा बाबा भक्तबहादुर खत्रीकै पालनपोषण रेखदेख गरि एकासगोलमा नै हुर्क्यौँ,
बढ्यौँ । तसर्थ, विपक्षी कान्छा बाबा भक्तबहादुर खत्रीलाई झिकाई फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरि तायदाती फाँटवारी माग गरि त्यसमा ३ भाग लगाई १ भाग कान्छा बाबालाई नै छाडी जेठो मानबहादुरको १ भागबाट हामी नकुल के.सी. र ध्रुव के.सी. बाँकी माइला माइला खत्रीको १ भागबाट फिरादी कुवेर के.सी., सकुल के.सी. र सानो भाइ के.सी.समेत जना ३ ले पाउने गरि चलनसमेत चलाई पाउँ भन्नेसमेत व्यहोराको फिराद दाबी ।
विपक्षीले खुलाएको पुस्तेवारी सम्बन्धमा मेरो कुनै विमति छैन । मेरो पिता मिति २००५ सालमा परलोक हुनुभएको हो । पिताको मृत्युपछि आमाहरूको पालनपोषण स्याहार सम्भारसमेत म प्रतिवादीले गरि आएको हुँ । आमाहरूको पनि आफ्नै कालगतिले मृत्यु भएपछि हिन्दू धर्मशास्त्रअनुसार गर्नुपर्ने काजकिरिया, श्राद्ध, पिण्डदानसमेत सम्पूर्ण कार्य म प्रतिवादीले गरि आएको छु । जहाँसम्म हामीहरूको बिचमा अंश बन्डा भएको छैन भन्ने विपक्षीहरूको दाबी छ सो सम्बन्धमा विपक्षीहरूका पिता मेरा दाजुहरू र म प्रतिवादीबिच २०१३ साल वैशाख १ गतेदेखि नै एकासगोलमा बस्न नसकि आफ्नो आफ्नो भाग लिई अलगअलग बसि आ-आफूले खति उपती व्यहोर्दै आएका थियौँ । २०२१ सालको नापिमा समेत आ-आफ्नो छुट्टाछुट्टै तिरो तिरान गर्दै भोगचलन गर्दै आइरहेको छौँ । यसका साथै ऋण धनसमेत आ-आफैँले व्यहोर्दै आएबाट व्यवहार प्रमाणमा नै हामी अंसियारको बिचमा अंशबन्डा भइ सकेको अवस्था रहेको छ । सोही घरायसी अंश बन्डाबमोजिम विपक्षीहरूले भोगचलन गरिरहेको जग्गामा घरसमेत बनाई बसिआएका
छन् । तसर्थ, फिरादीहरूले २०३४ साल पूर्व नै मौखिक अंशबन्डाबमोजिम आ-आफ्नो भागमा परेको जग्गासमेत भोग गर्दै आ-आफूले तिरोतिरान गर्दै आएकाले व्यवहार प्रमाणबाट हामी वादी प्रतिवादीबिच अंश बन्डा भएको प्रमाणित भएकाले विपक्षीको फिराद दाबी खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तरपत्र ।
फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरि अंश बन्डा गर्नुपर्ने श्रीसम्पत्तिको फाँटवारी अंश बन्डाको २०, २१, २२ र २३ नं.बमोजिम वादी प्रतिवादीहरूबाट लिई दर्तासमेत झिकाई नियमानुसार पेस गर्नु भन्ने ललितपुर जिल्ला अदालतको मिति २०६६।१२।१ को आदेश ।
वादी सगोलकै अंसियार रहेको स्पष्ट देखिँदा वादीहरूले अंश छुट्याई लिन पाउने नै देखिन आयो । प्रतिवादी भक्तबहादुरतर्फका हाँगाका अंसियारसमेतलाई बन्डा गरेको सम्पत्तितर्फ हेरिँदा मूल अंसियार बिच नै अंशबन्डा नभएको स्थितिमा समेत यी वादीहरूका हकमा बन्डा लाग्ने प्रकृति नै भई सोसमेतबाट मूलरूपमा ३ भाग लगाई सोमध्ये १ भाग प्रतिवादी भक्तबहादुरसमेतको पर सारि २ भाग अंशमध्ये १ भाग मानबहादुरको तर्फका वादीहरू र १ भाग माइलातर्फका वादीहरूले छुट्याई लिन पाउने ठहर्छ भन्ने ललितपुर जिल्ला अदालतको मिति २०६७/३/२१ को फैसला ।
वादी प्रतिवादीहरू बिच अंशमा विवाद हुँदा कुटपिट मुद्दा परि मिति २४६/११/२९ मा फैसला भइसकेको अवस्थामा उक्त मिति २०४६/११/२९ लाई नै मानो छुट्टिएको मिति कायम गरिनु पर्नेमा सो नगरि फिराद परेको मिति २०६४/३/१२ पश्चात् प्रतिवादी नै कायम नगरिएकी पार्वती के.सी.ले तेस्रो व्यक्ति चन्द्रश्याम महर्जनबाट मिति २०६६/२/४ र.नं. ७२७९ (घ) को राजीनामाको लिखतबाट प्राप्त गरेको कि.नं.९७० र ९७१ जग्गासमेत बन्डा लगाउने गरेको र वादी नकुल के.सी.ले निजी किसिमले प्राप्त गरेको सम्पत्ति एवम् वादी पुनरावेदक कुवेर के.सी. तथा पत्नी तुलाकुमारी के.सी.ले माइजू गणेश कुमारी भन्ने बच्ची रानाभाटबाट प्राप्त गरेका निजी सम्पत्तिहरू बन्डा लगाउने गरेको साथै प्रतिवादी भक्तबहादुर खत्रीकी पत्नी राधिका खत्रीका नाममा दर्ता कायम रहेको कि.नं.९७, ९८ र १०८ जग्गा तथा प्रतिवादी भक्तबहादुर खत्रीका छोरा श्यामकाजी खत्रीसमेतका नाममा दर्ता कायम रहेको कि.नं.२५० जग्गा बन्डा नलाउने गरेको सुरू ललितपुर जिल्ला अदालतको मिति २०६७/३/२१ को फैसला प्रमाण, प्रचलित कानून एवम् सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तहरू प्रतिकूल त्रुटिपूर्ण भएकाले उक्त फैसला सो हदसम्म उल्टी गरि निजी एकलौटी दाबी गरिएका कि.नं.११३, ११८, ३१, ६५, ९५, १७९, २७८, १७८, २८१, २८३, ९७०, ९७१ समेतका सम्पत्तिहरू हामीहरूको निजी ठहर गरि सोबाहेक राधिका खत्रीका नाममा दर्ता कायम रहेको कि.नं.९७, ९८ र १०८ जग्गा तथा श्यामकाजी के.सी.का नाममा रहेको कि.नं.२५० का जग्गा बन्डा लगाइ वादी दाबी एवम् प्रस्तुत पुनरावेदन जिकिरबमोजिम इन्साफ गरिपाउँ भन्नेसमेत ध्रुव के.सी.समेत जना ५ को संयुक्त व्यहोराको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
विपक्षीहरूका पिता मेरा दाजुहरू र म प्रतिवादीबिच २०१३ साल वैशाख १ गतेदेखि नै एकैसगोलमा बस्न नसकी आ-आफ्नो भाग लिई अलग बसि आ-आफूले खति उपती व्यहोर्दै आएका
थियौँ । २०२१ सालको नापिमा समेत आफ्नो आफ्नो भाग छुट्याई आ-आफ्नो छुट्टाछुट्टै तिरो तिरान गर्दै भोगचलन गर्दै आइरहेका छौँ । व्यवहार प्रमाणबाट अंशबन्डा सम्पत्ति भैसकेपछि यदि नरम गरम, घटी बढी, रोखपोख नमिलेको हो भने विपक्षीहरू तथा निजका पिता हकवालाहरूले समयमै उजुर गर्नुपर्नेमा सो गर्न सकेका छैनन् । विपक्षीहरूले अंश बन्डाको ३२ नं.बमोजिम हद म्यादसमेत गुजारि सकेका
छन् । विपक्षी वादीहरूले २०३४ सालपूर्व नै मौखिक अंश बन्डाबमोजिम आ-आफ्नो भागमा परेको जग्गासमेत भोग गर्दै आएकाले व्यवहार प्रमाणबाट हामी वादी प्रतिवादीबिच अंश बन्डा भएको प्रमाणित भएको अवस्थामा सो सम्बद्ध प्रमाणबाट बुझि भएका प्रमाणहरूको मूल्याङ्कनसमेत गरि सोहीबमोजिम विपक्षी वादीहरूको फिराद दाबी स्वतः खारेज गरि म पुनरावेदकलाई इन्साफ दिनुपर्नेमा सो नगरेको ललितपुर जिल्ला अदालतको मिति २०६७/३/२१ को फैसला त्रुटिपूर्ण हुँदा उल्टी गरि न्याय इन्साफ पाउँ भन्नेसमेत व्यहोराको भक्तबहादुर खत्रीको पुनरावेदन अदालतमा परेको पुनरावेदनपत्र ।
अंश पाउने ठहर गरि सोही मुद्दासँग सम्बन्धित लिखत बदर मुद्दामा लिखत बदर नहुने भनि उल्लेख गर्दै लिखत बदर नहुने भनि ठहर गरेका कि.नं.समेत अंश मुद्दाको तपसिल खण्डमा बन्डा लाग्ने भनि उल्लेख भएको फैसला र बकसपत्रबाट प्राप्त भएको सम्पत्तिसमेत बन्डा लाग्ने ठहर गरेको सुरू अदालतको फैसला फरक पर्न सक्ने देखिँदा अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम छलफलको लागि प्रत्यर्थी झिकाइ पेस गर्नु भन्नेसमेत व्यहोराको मिति २०६८/३/१६ को पुनरावेदन अदालतको आदेश ।
दुवै पक्षको पुनरावेदनपत्र र मिसिल संलग्न कागजात अध्ययन गरि हेर्दा यी वादी प्रतिवादीबिच अंशबन्डा भएको लिखत प्रमाण मिसिल संलग्न रहेको नदेखिएको नाता पुस्ताको कुरामा दुवै पक्षको मुख मिलिरहेको देखिँदा र भूमिसम्बन्धी ऐन, २०२१ अन्तर्गत भरिएको अनुसूचि फारामसमेतमा सगोलका परिवारभित्रै राखी निज भक्तबहादुरले अनुसूचि फाराम भरेको देखिन आयो । नापीका बखत केही कित्ता जग्गा नापी भएकै आधार कारणबाट अंश बन्डा सम्पत्ति सकेको हो भनि अनुमान गर्न नसकिने अवस्था हुँदा पार्वती के.सी.ले मिति २०६६/२/४ मा खरिद गरेको सैवु ४(ग) कि.नं.९७० र ९७१ को जग्गा मानो छुट्टिएको मिति पछि खरिद गरेको र कि.नं.१३३ र ११८ को जग्गा वादी नकुल के.सी.को निजी आर्जनको देखिँदा बन्डा नलाग्नेमा बन्डा गरेको र कि.नं. २५० को श्याम के.सी.को हकमा फैसलामा केही नबोलेको र कि.नं.९७, ९८ र १०८ को जग्गा बन्डा लाग्नेमा नलाग्ने गरेको हदसम्म ललितपुर जिल्ला अदालतले मिति २०६७/३/२१ मा गरेको फैसला नमिलेकोले सो हदसम्म केही उल्टी हुने ठहर्छ । अरू कुरामा पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने व्यहोराको पुनरावेदन अदालत, पाटनबाट मिति २०६८/१०/२६ मा भएको फैसला ।
अंशको विषयमा विवाद सम्पत्ति ललितपुर जिल्ला अदालतमा कुटपिट मुद्दा परि मिति २०४६ सालमा फैसला भएको छ । उक्त फैसलासमेतलाई प्रमाणमा लिई २०४६/१/१६ लाई मानो छुट्टिएको मिति कायम गर्नुपर्नेमा फिराद परेको अघिल्लो दिन कायम गरेको पुनरावेदन अदालतसमेतको फैसला त्रुटिपूर्ण रहेको छ । म पुनरावेदक वादीमध्येको कुवेर खत्रीलाई माइजू सासू गणेशकुमारी भन्ने बच्ची रानाभाटले बकसपत्र दिएका ललितपुर डुकुछाप गा.वि.स. वडा नं.८(क) कि.नं.२७८, १७८, २८१ र २८३ जग्गाहरू पुनः मिति २०६४/२/२२ मा र.नं.३३७९ (ग) को राजीनामाबाट प्राप्त गरेको हुँदा बन्डा लाग्ने होइन । त्यसैगरि म वादी कुवेर के.सी.को पत्नी तुलाकुमारी के.सी.ले माइजू निज गणेशकुमारी भन्ने बच्ची रानाभाटबाट प्राप्त गरेका ललितपुर, डुकुछाप गा.वि.स. वडा नं.८(क) कि.नं.६५, ऐ.ऐ. वडा नं.८(ख) कि.नं.३१, ऐ.ऐ. वडा नं.८ कि.नं.९५, ऐ. कि.नं.१७९ समेतका जग्गाहरू बन्डा लगाउने गरेको पुनरावेदन अदालतको फैसला नमिलेको हुँदा उल्टी गरि पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भन्ने वादीहरूको संयुक्त पुनरावेदन जिकिर ।
विपक्षी वादीहरू र म पुनरावेदक प्रतिवादीबिच २०१३ सालदेखि नै भाग छुट्याई छुट्टाछुट्टै तिरो तिरान गरि बसेका छौँ । उक्त तथ्य वादीमध्येको नकुल के.सी.ले २०४६ सालमा म पुनरावेदकलाई कुटपिट गरेको कारण मुद्दा परि ललितपुर जिल्ला अदालतमा २०४६/११/२९ मा भएको फैसलाले पनि प्रमाणित गरेको छ । त्यस्तो प्रमाणलाई नलिई वादीहरूले बन्डा गरि लिन पाउने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेको छैन । त्यस्तै कि.नं. ४, ८०, १५२ को जग्गा मिति २०४६/१२/३ मा र.नं.३२४२ बाट राधिका खत्री, श्याम खत्री, नवराज खत्री र कि.नं.१७९, ९०, १३४ को जग्गा मथुरा खत्री, रामकाजी खत्री, राजेन्द्र के.सी.ले मिति २०४६/१०/२८ र.नं.३१६६ बाट अंश छोडपत्र गराइ लिएको उक्त जग्गाहरू समेत बन्डा गरिदिएको पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण छ । ललितपुर जिल्ला डुकुछाप गा.वि.स. ८(क) कि.नं.२०८, २०९, १७१, १८०, २३९ समेतका जग्गा तायदाती फाँटवारीमा उल्लेख नभएको अवस्थामा पनि बन्डा गरिदिएको मिलेको छैन । फाँटवारीमा उल्लेख भएको पार्वती के.सी.का नाउँमा रहेका कि.नं.९७०, ९७१ लाई मानो छुट्टिएको मितिपछि किनेको भनि र कि.नं.१३३ र ११८ को जग्गा वादी नकुल के.सी.को निजी आर्जन भनि सुरू फैसला केही उल्टी गरि बन्डा नलाग्ने ठहराएको र श्याम के.सी.का नामको कि.नं.२५० र राधिका के.सी.का नाउँका कि.नं.९७, ९८ र १०८ समेत बन्डा नलाग्ने गरि भएको सुरू फैसला केही उल्टी गरि बन्डा लाग्ने गरेको पुनरावेदन अदालतको फैसलामा अंशबन्डाको १, २, २०, २१, २२, २२, २३, २४, ३०, ३२ र ३५ नं. समेतको त्रुटिपूर्ण हुँदा उल्टी गरि पुनरावेदन जिकिरबमोजिम गरिपाउँ भनि प्रतिवादी भक्तबहादुर खत्रीको पुनरावेदनपत्र ।
नियमबमोजिम दैनिक पेसी सूचिमा चढी पेस भएको प्रस्तुत पुनरावेदन संलग्न लगाउमा पेस भएका अंश छोडपत्र लिखत बदर र मुद्दा दोहोर्याइ हेरिपाउँ भन्ने लिखत बदर र जालसाजीसमेतका मुद्दाहरूमा परेका निवेदन एवम् प्रमाण मिसिलहरू समेत अध्ययन गरियो ।
पुनरावेदक वादीतर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री भोजेन्द्रबहादुर खत्रीले प्रतिवादीले आपसमा व्यवहार प्रमाण गरि २०१३ सालमा नै छुट्टि भिन्न भएको भनि जिकिर लिएको छ । तर प्रतिउत्तरमा वादीहरूले यो यो जग्गा प्रतिवादीहरूले दर्ता गराइ जोत भोग गरेका छन् भन्न सकेको छैन । भूमि सुधार प्रयोजनको लागि भरिएको अनुसूचिमा वादी भतिजाहरू नकुल, ध्रुवसमेतलाई सगोलमा देखाएको छ । आमाको मृत्युपश्चात पनि आमाका नामका जग्गाहरू नामसारी गरि लिएको छैन भनि प्रतिवादी भक्तबहादुरले फिल्डबुकको व्यहोरामा जनाएको छ । वादी प्रतिवादीबिच विधिवत् अंशबन्डा नभएको भन्ने विषयमा विवाद छैन । प्रतिवादी भक्तबहादुर खत्री र वादी नकुल के.सी. बिच २०४६/११/२९ मा अंशकै कारणबाट कुटपिट मुद्दा चली ललितपुर जिल्ला अदालतबाट फैसला भएको छ । वादी प्रतिवादी मुद्दा चलेको समयदेखि व्यवहारतः सँगै बस्ने स्थिति नहुने भएकाले २०४६/११/२९ लाई मानो छुट्टिएको मिति कायम गर्नुपर्नेमा फिराद परेको अघिल्लो दिनलाई कायम गरेको मिलेको छैन । त्यसैगरि, पुनरावेदक वादीमध्येको कुवेर के.सी. र निजकी श्रीमतीले निजी तवरबाट पाएका जग्गाहरू बन्डा लाग्ने गरि भएको सुरू फैसलालाई मनासिबै मानी सुरू फैसला केही उल्टी हुने ठहराई पुनरावेदन अदालत, पाटनबाट भएको फैसला नमिलेको हुँदा उल्टी गरिपाउँ भनि गर्नुभएको बहससमेत सुनियो ।
त्यसैगरि, पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ताद्वय श्री विश्वराज सिग्देल र श्री कनक विक्रम खड्काले वादीहरू र प्रतिवादीबिच २०१३ सालमा नै सगोलको जग्गा जमिन घरसारमा बाँडफाँड गरि सोहीबमोजिम दर्ता नामसारी गरि भोग गरेको अवस्था छ । वादीमध्येको नकुल के.सी. र प्रतिवादीबिच २०४६ सालमा कुटपिट मुद्दा चलेकै कारणबाट पनि एकासगोलमा नरहेको व्यहोरा समर्थित हुन आउँछ । २०२० सालमा भक्तबहादुरले खरिद गरेका जग्गाहरूको कारण निजसँग बढी सम्पत्ति देखिन गएको हो । प्रतिवादीका नाउँमा सम्पत्ति बढी देखिएको भनि व्यवहारतः अलग भएको तथ्यलाई प्रमाणमा नलिई पार्वती के.सी का नाउँका कि.नं.९७० र कि.नं.९७१ तथा नकुल के.सी का नाउँका कि.नं. १३३ र ११८ समेतका हकमा सुरूले बन्डा लाग्ने गरि भएको फैसला निजी आर्जनको भनि र राधिका के.सी. र श्याम के.सी.का नाममा रहेका कि.नं.९७,९८ र १०८ तथा कि. नं. २५० का जग्गाबाट वादीहरूले अंश पाउने भनि गरेको सो हदसम्म सुरू फैसला केही उल्टी गरि पुनरावेदन अदालतबाट भएको फैसला नमिलेको हुँदा उल्टी हुनुपर्दछ भनि गर्नुभएको बहससमेत सुनियो ।
वादीको दाबी अनुरूप फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरि सो भन्दाअगाडि राजीनामाबाट खरिद गरिएका र अन्य पैतृक जग्गासमेतबाट ३ भागको २ भाग प्रतिवादीबाट वादीहरूले अंश पाउने गरि सुरू ललितपुर जिल्ला अदालतबाट फैसला भएको देखियो । उक्त फैसलालाई केही उल्टी गरि मानो छुट्टिएको मितिपछि पार्वती के.सी.ले खरिद गरेको कि.नं.९७० र कि.नं.९७१ तथा वादीमध्येको नकुल के.सी.का नाउँमा रहेका कि.नं.१३३ र ११८ निजी आर्जन कायम गरि बन्डा नलाग्ने र श्याम के.सी.को नाउँको कि.नं. २५० र राधिका के.सी.का नाममा रहेका कि.नं.९७, ९८ र कि.नं.१०८ समेतबाट बन्डा लाग्ने गरि पुनरावेदन अदालतबाट फैसला भएको पाइयो । २०१३ सालमा व्यवहारतः अलगअलग भइसकेको अवस्थातर्फ ध्यान नदिइ, निजीरूपमा खरिद गरेका जग्गाहरू सम्बन्धमा प्रतिवादीको हकमा बन्डा लाग्ने र वादीहरू मध्येका नकुल र पार्वती के.सी.को नाममा रहेका केही जग्गाका हकमा निजी कायम गरि पुनरावेदन अदालतबाट भएको फैसला मिलेन भनि पुनरावेदक प्रतिवादी भक्तबहादुर खत्रीले र मानो छुट्टिएको मिति २०४६ साललाई कायम नगरि फिराद परेको अघिल्लो दिन कायम गरेको तथा वादीमध्येको कुवेर खत्री र निजकी श्रीमतीसमेतले निजी तवरबाट प्राप्त गरेका सम्पत्तिसमेत प्रतिवादीलाई बन्डा गरिदिएको पुनरावेदन अदालतको फैसला मिलेन भनि वादी कुवेर खत्रीसमेतले पुनरावेदनमा जिकिर लिएको पाइन्छ ।
पुनरावेदक वादी प्रतिवादीतर्फबाट उपस्थित विद्वान् अधिवक्ताहरूको बहस बुँदा एवम् पुनरावेदन जिकिरसमेतको अध्ययनबाट पुनरावेदन अदालत, पाटनबाट भएको फैसला मिलेको छ, छैन र पुनरावेदक वादी एवम् प्रतिवादीहरूको पुनरावेदन जिकिरबमोजिम हुने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखिन आयो ।
२. यसमा निर्णयतर्फ विचार गर्दा नाता र वंशावलीमा वादीहरू र प्रतिवादीबिचमा मतभिन्नता रहेको देखिएको छैन । वादीहरूका पिताहरू एवम् प्रतिवादी भक्तबहादुर खत्रीबिच विधिवत् अंशबन्डा रजिस्ट्रेसन पास नभएको भन्ने विषयमा पनि प्रतिवादीले अन्यथा भन्न सकेको पाइँदैन । विधिवत रजिस्ट्रेसन पास गरि अंशबन्डा नभए पनि २०१३ सालमै घरसारमा भिन्न सम्पत्ति सोहीबमोजिम दर्ता नामसारी भोग गरेका छौ भनि प्रतिवादीले प्रतिउत्तर र पुनरावेदन जिकिर लिएको देखिएको छ ।
३. प्रतिवादीले जिकिर लिए अनुरूप २०१३ सालमै भिन्न भएको हो, होइन भन्ने सम्बन्धमा विचार गर्दा एकै बाजे बाबुका सन्तान यी वादीहरू एवम् प्रतिवादीका नाउँमा जग्गा नापी हुँदा विभिन्न कित्ता जग्गाहरू दर्ता भएको देखिन्छ । उक्त दर्ता भएका जग्गाहरू समानरूपबाट सबैमा बराबरी हुन गएको भने देखिएको छैन । मिसिल संलग्न रहेका भूमिसम्बन्धी ऐनको प्रयोजनका लागि भरिएका १ नं. अनुसूचिमा पनि विवाद छैन । उक्त १ नं. अनुसूचिहरूको पारिवारिक लगतमा बाबु शेरबहादुर, आमा पदम कुमारी, पुतली, वर्ष २० की पत्नी मथुरा, वर्ष १३ को भतिजो नकुल, वर्ष ९ को भतिजो ध्रुव, वर्ष १० कि छोरी मणिदेवीको नाम उल्लेख गरि प्रतिवादी भक्तबहादुर खत्रीले मिति २०२१/१०/२ मा विवरण भरेको पाइन्छ । त्यसैगरि, अर्को १ नं. अनुसूचिमा माइलाका सन्तानहरूको नाम पारिवारिक लगतमा उल्लेख भएको देखिन्छ । उक्त अनुसूचिहरूबाट बाजे पिता शेरबहादुरका तीन भाइ छोराहरूका नाउँमा फरकफरक जग्गाहरू उल्लेख गरि छुट्टाछुट्टै अनुसूचि फाराम नभरी प्रतिवादी भक्तबहादुर खत्रीले नै भरेको भन्ने देखिन आउँछ । उक्त अनुसूचि भर्दा प्रतिवादी भक्तबहादुरको उमेर २४ वर्ष देखिएको छ भने निजले नै नाम उल्लेख गरिदिएका वादीहरू नाबालक रहेको पाइन्छ । वादी नाबालकहरूका पिता मातासमेतले विवरण भरेको देखिएको छैन । अनुसूचिमा उल्लेख भएको उमेरअनुसार यी प्रतिवादी भक्तबहादुर खत्रीको उमेर २०१३ सालमा १४ वर्षको मात्र हुन आउने देखिन्छ । १४ वर्षकै उमेरमा प्रतिवादी छुट्टिएर भिन्न बसेको भन्ने निजको जिकिर विवेकसम्मत र तथ्यपरक रहेको देखिएको छैन । त्यसैगरि २०२१ सालमा पारिवारिक लगत भर्दा प्रतिवादीले नै आफ्नी आमा पदम कुमारी, श्रीमती मथुरा र जेठा दाजुका सन्तान नकुल र ध्रुवलाई एकासगोलको परिवारमा देखाइ विवरण भरेको हुँदा सो तथ्यले २०१३ सालमै घरसारमा अलग भएको भन्ने निजको जिकिर सोही आफ्नै व्यवहारबाट खण्डित भइरहेको अवस्था पनि छ ।
४. अंश हक सबै अंसियारले समानरूपमा बाँडफाँड गरि लिन पाउने नैसर्गिक हक हो । मुलुकी ऐन, अंश बन्डाको ५ नं.अनुसार पिताको मृत्युपश्चात निजले पाउने अंश निजका स्वास्नी छोराहरूमा सर्न गई निजहरूले पाउँछन् । अंश हक छोड्दा वा प्राप्त गर्दा कानूनबमोजिम लिखत पास गरेर मात्र लिनुदिनु गर्नुपर्छ भनि मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.ले अनिवार्य कानूनी व्यवस्था गरेको छ । कानूनले लिखत पास गर्नुपर्ने भनि अनिवार्य गरेको विषयमा सगोलमा बसेका परिवार संख्या धेरै सम्पत्ति आफूखुस अलग अलग बसेको जिकिरलाई सही रहेछ भनि अनुमान गरि मानो छुट्टिइ भिन्न भएको मान्दा समान अंसियारबिच समानरूपमा बन्डा हुनुपर्ने कानूनको मूल उद्देश्य नै पराजित हुन जान्छ । मुलुकी ऐन, अंशबन्डाको ३० नं. ले २०३४/९/२७ सम्ममा बन्डापत्र खडा गरि वा नगरि घरसारमा नरमकरम मिलाई भाग शान्ति लिइ छुट्टाछुट्टै भोग व्यवहार गरेकोमा मात्र व्यवहार प्रमाणबाट अलग भएको मानिन सक्ने कानूनी व्यवस्था गरेको
देखिन्छ । तर यस विवादमा प्रतिवादीले नै भरेका १ नं. लगत तथा वादी प्रतिवादीका बिचमा केही जग्गा आ-आफ्ना नाउँमा दर्ता गराए पनि ती सम्पत्ति असमानरूपमा रहेको र वादीहरू नाबालिक हुँदाकै अवस्थामा व्यवहार प्रमाणबाट छुट्टि भिन्न भएको भन्ने प्रतिवादीको जिकिर उचित मान्न मिल्ने अवस्था नहुँदा निजहरू एकासगोलमै रहेछन् भनि मान्नु पर्ने देखिन आयो ।
५. वादीहरूले अंशकै कारणबाट प्रतिवादी भक्तबहादुर खत्री र वादीमध्येको नकुल के.सी. बिच कुटपिट सम्पत्ति २०४६ सालमा कुटपिट मुद्दा चलेको हुँदा २०४६/११/२९ लाई मानो छुट्टिएको मिति कायम गरिनु पर्दछ भन्ने जिकिर लिएको देखिन्छ । वस्तुतः रजिस्ट्रेसनको १ नं.अनुसार मानु छुट्टिएको वा मानु जोडिएको लिखत रजिस्ट्रेसन पास भएकै हुनु पर्दछ । घरसारको लिखत भए पनि त्यस्तो लिखतको आधारमा मानु छुट्टिएको मिति कायम हुँदैन । कुटपिटको वारदातबाट नै मानो छुट्टिएको मिति कायम हुँदैन । मानो छुट्टेको मिति कायम हुने पहिलो प्रमाण भनेकै अड्डाबाट रजिस्ट्रेसन पास भएको लिखत
हो । प्रस्तुत विवादमा मानो छुट्टिएको पास भएको लिखत रहे भएको देखिन आउँदैन । मानो छुट्टिएको पास भएको लिखतको अभावमा वादी प्रतिवादीको मानो छुट्टिएको मितिको सम्बन्धमा मुख मिलेको अवस्थामा त्यही मिति नै मानो छुट्टिएको कायम गरिनु पर्ने हुन्छ । तर, प्रस्तुत विवादमा मानो छुट्टिएको मिति सम्बन्धमा वादी प्रतिवादीको मुख मिलेको पनि देखिन आएन । यसरी मानो छुट्टिएको मितिको रजिस्ट्रेसन पास भएको लिखत पनि नभएको र सो मिति सम्बन्धमा वादी प्रतिवादीको मुख पनि नमिलेको अवस्थामा अंश मुद्दाको फिरादपत्र दर्ता गरेको मितिलाई नै मानो छुट्टिएको मिति मान्नु पर्ने हुन्छ । तसर्थ, अंसियारबिचमा भएको सामान्य कुटपिटलाई आधार मानि २०४६ साललाई मानो छुट्टिएको मिति कायम नगरेको मिलेन भन्ने वादीको जिकिर पनि मनासिब रहेको देखिन आउँदैन । फिराद परेको मितिलाई मानो छुट्टिएको मिति कायम गर्ने गरेको हदमा सुरू र पुनरावेदन अदालतबाट भएको फैसला सो हदमा मिलेको देखिन आयो ।
६. तायदाती फाँटवारीमा पेस नभएका कि.नं.२०८, २०९, १७१, १८०, १८१, २३९, ११६, ८६, ३०६, १३२ र १०७ समेतका कित्ताहरूबाट समेत बन्डा गरेको मिलेन भनि प्रतिवादीले पुनरावेदनमा जिकिर लिएको देखिन्छ । उक्त कित्ताका जग्गाहरू वादी तर्फबाट मिति २०६७/१/२३ मा फाँटवारीमा पेस गरि मिसिल संलग्न रहेको देखियो । सगोलका परिवारका सदस्यका नाममा रहेको सम्पत्तिको फाँटवारी मिसिल संलग्न सम्पत्ति सकेको देखिएको यस स्थितिमा ती सम्पत्ति सम्बन्धमा अब उक्त प्रतिवादीको भनाइतर्फ थप विवेचना गरि रहनु परेन । वादीहरूसँग अंशबन्डा सम्पत्ति नसक्दै प्रतिवादी भक्तबहादुरले आफ्ना श्रीमती र छोराहरूलाई मिति २०४६/१२/३ मा र.नं.३२४ र मिति २०४६/१०/२८ मा र.नं.३१६६ बाट अंश छोडपत्रको लिखत गराई आफ्ना नाउँमा रहेका केही जग्गा लिनु दिनु गरेको देखिन्छ । समान पुस्ताका भाइभाइबिचमा बन्डा नहुँदै सोही पुस्ताको एक अंसियार प्रतिवादी भक्तबहादुर खत्रीका नाममा रहेका जग्गा निजले छोडपत्र गरि आफ्नी श्रीमती र छोरालाई दिँदैमा त्यस्तो व्यवहारले वादीको उक्त सम्पत्तिमा प्रतिकूल प्रभाव पार्न सक्दैन । कानूनले उक्त छोडपत्र लिखतका जग्गाहरूमा वादीहरूको अंश हक निहित रहने नै हुँदा छोडपत्रबाट हक हस्तान्तरण गरेका जग्गामा समेत बन्डा लगाएको मिलेन भन्ने प्रतिवादीको जिकिर कानून र न्याय सङ्गत रहेको पाइएन ।
७. पार्वती के.सी.ले कि.नं. ९७० र कि.नं. ९७१ का जग्गा प्रस्तुत अंश मुद्दाको फिराद परी अदालतबाट मानो छुट्टिएको मिति २०६४ ।३ ।१२ गते कायम भएपछि मिति २०६६/२/४ मा राजीनामाको लिखतबाट खरिद गरेको देखिन्छ । यसरी मानो छुट्टिसकेपछि लगाएको ऋण र आर्जन गरेको सम्पत्ति बन्डा लाग्ने हुँदैन । अपितु, जसले ऋण लिन्छ वा सम्पत्ति आर्जन गर्छ त्यो उसैको एकलौटी हुन्छ । विधिवत् मानो छुट्टिई अलगअलग बसेपछि खरिद गरेको त्यस्तो सम्पत्तिमा अंशबन्डाको १८ नं. ले अन्य अंसियारको अंश भाग नलाग्ने भएकाले बन्डा नगरिदिएको मिलेन भन्ने प्रतिवादीको पुनरावेदन जिकिर कानूनसम्मत रहेको पाइएन ।
८. वादी नकुल के.सी. मिति २०३२/५/१ देखि नेपाल सरकारको प्रहरी सेवाको जागिरमा भर्ना मिति २०६३।१।३१ मा प्रहरी नायब निरीक्षकको पदबाट सेवा निवृत्त भएको मिसिल संलग्न निवृत्तिभरण अधिकारपत्रको प्रतिलिपिबाट देखिन आउँछ । आफू प्रहरी सेवामा रहँदा आर्जित रकमले निजले कि.नं.१३३ आफ्नै नाममा र कि.नं.११८ श्रीमती जानुका के.सी.का नाउँमा खरिद गरेको निजी सम्पत्ति हुन भनि तायदाती फाँटवारीमा जिकिर लिएको पाइन्छ । लामो समयसम्म सरकारी सेवा गरि सञ्चय कोषसमेतको आर्जित रकमबाट खरिद गरेको उक्त कि.नं. हरूबाट पनि बन्डा गर्नुपर्छ भनि प्रतिवादीले जिकिर लिएको देखिँदा उक्त जिकिर कानूनसम्मत रहेको मान्न मिल्ने देखिन
आएन ।
९. पुनरावेदक वादी कुवेर खत्रीले आफ्ना नाउँमा रहेका कि.नं.२७८, १७८, २८१ र कि.नं २८३ तथा श्रीमती तुलाकुमारी के.सी.का नाउँमा रहेका कि.नं. ३१, ६५, ९५ र कि.नं.१७९ माइजू गणेशकुमारी भन्ने बच्ची रानाभाटका हकदारहरू कोही नहुँदा निजबाट मिति २०६४/२/२२ मा राजीनामाको लिखत गरि पाएको हुँदा सो सम्पत्तिबाट अन्य अंसियारलाई बन्डा गर्न मिल्ने होइन भनि पुनरावेदनमा जिकिर लिएको पाइन्छ । निज कुवेर खत्रीले पुनरावेदनमा सो कुराको जिकिर लिए पनि कुनै सबुत प्रमाण पुनरावेदन संलग्न गर्न सकेको पाइँदैन । उक्त कित्ताहरू गणेशकुमारी भन्ने बच्ची रानाभाटको रेखदेख स्याहार सुसार गरेबापत शेषपछिको बकसपत्र गरि दिएकोमा पुनः राजीनामाबाट २०६४/२/२२ मा प्राप्त गरेको भनि तायदातीमा जिकिर लिएको देखिन्छ । राजीनामा हो कि बकसपत्र हो, त्यो नै स्पष्टरूपमा भन्न सकेको पाइएन । तथापि, उक्त तायदाती साथ शेषपछिको बकसपत्रको लिखत पेस गरेको पनि देखिन आउँदैन । तायदातीमा उल्लेखित राजीनामा मिति २०६४/२/२२ फिराद गर्नुभन्दा अगाडिको नै रहेको छ । सगोलमा रहँदा प्राप्त गरेको सम्पत्तिहरू निजी हो भनि जसले दाबी गर्छ सो कुराको दाबीकर्ताले नै तथ्ययुक्त र वस्तुगत प्रमाण पेस गरि प्रमाणित गर्नुपर्छ । तर पुनरावेदक वादीले वस्तुगत प्रमाण पेस गर्न नसकी फगत जिकिर मात्र पुनरावेदनमा लिएको देखिन्छ । यसरी वादी कुवेर खत्रीले निजी भन्ने जिकिर लिए पनि कुनै लिखत वा सबुत पेस गर्न सकेको नदेखिँदा उक्त कि.नं.हरू समेतबाट सबै अंसियारलाई बन्डा लगाइ दिने गरेको पुनरावेदन अदालतको फैसला न्यायोचित नै रहेको देखिन आयो ।
१०. कि.नं. ९७, ९८ र कि.नं.१०८ का जग्गाहरूबाट अंश दिलाएको मिलेन भन्ने प्रतिवादीले पुनरावेदनमा लिएको जिकिरतर्फ विचार गर्नुपर्ने
देखियो । उक्त जग्गाहरू साबिक दर्ता प्रतिवादी भक्तबहादुरकै रहेकामा निजको मित भाउजू मान कुमारीलाई मिति २०४६/११/२३ मा राजिनामा गरि त्यसको १७ दिनपछि उक्त कित्ता जग्गाहरू र.नं.३४१३ मिति २०४६/१२/१० को लिखतबाट मानकुमारी के.सी.बाट ज्वाइँ राजकुमार के.सी.ले खरिद गरेको भन्ने वादी पक्षको जिकिर रहेको
देखिन्छ । हाल उक्त जग्गा राजकुमार के.सी.बाट पुनः भक्त बहादुरको पत्नी राधिकाको नाममा आइसकेको स्थिति छ । वादीको यी तथ्यगत जिकिर सम्बन्धमा प्रतिवादीले अन्यथा हो भनि प्रतिवाद गर्न सकेको देखिँदैन । मानकुमारी के.सी.बाट राजकुमार के.सी.ले राजीनामा गरि लिएका यिनै कित्ता जग्गाहरू राजकुमार के.सी.ले प्रतिवादी भक्तबहादुर के.सी. खत्रीकी श्रीमती राधिका खत्रीलाई मिति २०६०/१०/२८ मा राजीनामा गरि हक हस्तान्तरण गरेको मिसिल संलग्न लिखतको प्रतिलिपिबाट देखिएको छ । प्रतिवादीले आफ्ना नाउँमा दर्ता भएका जग्गाहरू परिवार बाहिरको तेस्रो व्यक्तिको नाउँमा हक सारी पुनः घुमाइ फिराइ आफ्नै श्रीमतीको नाउँमा ल्याएको यस्तो व्यवहारलाई सगोलको सम्पत्तिलाई स्वआर्जनको रूप दिने प्रयास भएको भनि मान्नु पर्ने देखिन आयो । तथापि, उक्त सम्पत्ति अन्ततः सगोल परिवारभित्र नै रहिरहेको हुँदा सगोलको प्रकृति रहेकै सम्पत्ति अंशबन्डा हुन सक्ने अवस्था नै रहेको देखियो । त्यसैगरि श्यामकाजी के.सी. को नाउँमा रहेको कि.नं. २५० को जग्गा बन्डा लगाइदिएको मिलेन भन्नेतर्फ हेर्दा निज श्यामकाजी प्रतिवादी भक्तबहादुरको छोरा सन्तान रहेको नातामा विवाद
छैन । उक्त कि.नं. २५० नीजीरूपमा आर्जन गरेको भन्ने जिकिर रहेको देखिन्छ । पैतृक सम्पत्ति विधिवत् बन्डा नहुँदै एकासगोल परिवारका सदस्यमध्ये जो कोहीका नाममा रहे पनि कानूनतः सबैलाई बराबरी बन्डा लाग्ने नै हुन्छ । आधार र कारण नखुलाई बन्डा गरिदिएको मिलेन भनि प्रतिवादीले जिकिर लिएकै तथ्यले अन्य अंसियारको अंश हकमा प्रतिकूल प्रभाव पार्न
सक्दैन । यस प्रकार उक्त कित्ता जग्गामा वादीहरूको अंश हक कायम गरि बन्डा गरिदिएको पुनरावेदन अदालतको फैसलालाई अन्यथा भन्न मिलेन ।
११. तसर्थ, माथि उल्लिखित आधार र कारणहरूबाट सुरू ललितपुर जिल्ला अदालतको फैसला केही उल्टी गरि पार्वती के.सी.का नामको कि.नं.९७० र कि.नं.९७१ मानो छुट्टिएको मिति पछि खरिद गरेको र कि.नं.१३३ र कि.नं.११८ पुनरावेदक नकुल के.सी.को निजी आर्जनको भनि अरू अंसियारलाई बन्डा नलाग्ने ठहराएको तथा अंसियारबिच बन्डा हुनुपर्ने प्रतिवादी श्याम के.सी.का नामको कि.नं. २५० र राधिका के.सी.का नामको कि.नं. ९७, ९८ र कि.नं.१०८ समेतबाट वादीहरूले तीन भागको दुई भागमध्येबाट एक भाग मानबहादुरतर्फका वादीहरू र एक भाग माइला खत्रीतर्फका वादीहरूले अंशबन्डा गरि लिन पाउने ठहराई पुनरावेदन अदालत, पाटनबाट मिति २०६८/१०/२६ मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या. चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृत : कपिलमणि गौतम
इति संवत् २०७२ साल भदौ ३० गते रोज ४ शुभम् ।