निर्णय नं. ९४७१ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री दीपकराज जोशी
माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
फैसला मिति : २०७२ ।५ ।३ ।५
०६९-CR-०५४६
मुद्दाः कर्तव्य ज्यान
पुनरावेदक/वादी : जोखन पासीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रत्यर्थी/प्रतिवादी : रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ बस्ने रमावती पासी
०७१-RC-००४०
वादी : जोखन पासीको जाहेरीले नेपाल सरकार
विरूद्ध
प्रतिवादी : रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ बस्ने ललाउ नाउ भन्ने दिनेश यादव
घटनाको सम्बन्धमा मृतक र प्रतिवादीबिच रोजगारदाता र कामदारबिचको वा मालिक वा सेवक बिचको सम्बन्धजन्य कठोर दायित्वको कुरालाई अस्वीकार गर्न सकिएला । तर त्यसरी अस्वीकार गर्ने हो भने पनि “प्र. दिनेश यादवको कसुर यतिमा मात्रै सीमित रहेको देखिँदैन । बेहोस अवस्थाका विनेशलाई मिलमा अलपत्र छाडि मध्यरातको सन्नाटामा निजलाई बोरामा हालेर पानी भएको खाल्डोमा फालेको र मृतकको मृत्यु भएको देखिँदा यसलाई मनसाय प्रेरित हत्या मान्नु पर्ने अवस्था पनि छ । यो केवल omission मात्र नभएर त्यो भन्दा गम्भीर प्रकृतिको culpable homicide तहकै कार्य भएको छ ।” भन्ने निष्कर्षलाई अमान्य गर्नु निक्कै चुनौतिपूर्ण हुने ।
(प्रकरण नं. ८)
पहिलो चरणमा कैतडी आफैँ पट्टीमा बेरिन गै निजको हात काटिएको घटनाबाट निजको मृत्यु भएको भन्ने कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको देखिँदैन । यो कुरालाई प्रतिवादीले सप्रमाण स्पष्ट नगरेसम्म प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ र ६ नं.बमोजिम भवितव्यभित्र पर्ने कुनै सम्भावना रहँदैन । तर सो कुराको जिकिर यिनले कहिँकतै लिएको प्रमाण पेस गर्न सकेको पाइँदैन अपितु उल्टो तारेख गुजारी बसेको देखिन्छ । हुन पनि हात मात्रै काटिएबाट तत्काल वा ३।४ घण्टाभित्रै मृत्यु हुने सम्भावना रहँदैन । त्यसैले अन्यथा प्रमाणित नभएसम्म कैतडीको हात मिलको पट्टामा बेरिएर काटिएको कारणबाट निजको मृत्यु भएको कुराको अनुमान गर्न मिल्ने देखिँदैन । प्रतिवादीको कार्यबाट नमरेको कुनै व्यक्ति तेस्रो पक्षको कार्यबाट मरेमा सो हत्याको दोषी तेस्रो पक्ष हुने भनि विद्वान् स्मिथ र होगानको माथि उल्लिखित मतमा असहमत हुनु पर्ने कारण नहुने ।
(प्रकरण नं. ९)
पुनरावेदक/वादीका तर्फबाट :
प्रत्यर्थी/प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धी महलको २५ नं., १३(३), ६(३)
प्रमाण ऐन, २०३१ को दफा ३७(२), ९(२)(क)(१,२ र ३)
अ.बं. १८८
सुरू फैसला गर्ने :
मा.जि.न्या.श्री चन्द्रबहादुर सारू
पुनरावेदन फैसला गर्ने :
मा.न्या.श्री ईश्वरप्रसाद खतिवडा
मा.न्या.श्री नीता गौतम दीक्षित
फैसला
न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, बुटवलको फैसलाउपर पुनरावेदन पर्न आएको तथा न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक जाँचको लागि पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः
मिति २०६७।६।८ गतेको दिन नियमित गस्तीको क्रममा मेरो कमान्डको टोली ९.३० बजेको समयमा रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ सेमरा नजिक पुग्दा सेमरा-बनगाई सडक खण्डको पूर्वतर्फ बाटोको किनारामा १८/२० वर्षको जस्तो देखिने हालसम्म सनाखत हुन नसकेको पुरूष व्यक्तिको बेवारिसे लास शंकास्पद अवस्थामा फेला परेकाले कानूनबमोजिम गरिपाउँ भन्ने प्र.स.नि. ईश्वरीप्रसाद पाण्डेको मिति २०६७।६।८ को प्रतिवेदन ।
रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ स्थित सेमरा भन्ने स्थानमा पूर्वमा धान खेत तथा बयरझाडी, पश्चिममा भैरहवा सेमरा नहर सडक, उत्तर-दक्षिण पानी जमेको बयरझारी घोला यति चार किल्लाभित्र रहेको पानीको भागमा पश्चिम टाउको पूर्व खुट्टा हुने गरि घोप्टो अवस्थामा रहेको नाम थर र वतन नखुलेको अन्दाजी १८/२० वर्षको पुरूष व्यक्तिको लास रहेको, सो लास हेर्दा बोलबम लेखेको पहेंलो टिसर्ट र खैरो कट्टु लगाएको, बायाँ हातमा प्लाष्टिकको घडी, खुट्टामा कालो चप्पल लगाएको दायाँ हात तथा पिठ्युँको भागमा कुनै जनावरले खाए जस्तो हड्डी देखिएको, बायाँ हातको कुमदेखि हड्डीमात्र देखिएको, बायाँ हात सोझो भइ केहि भागको मासु खाएजस्तो अवस्थामा रहेको, अनुहारको भाग फुलेर कालोरातो भएको, आँखाको भित्री भाग बाहिर निस्केको, जिब्रो टोकि बाहिर निस्किएर फुलेको, दाँत नदेखिएको र लास फुलि रातो कालो भइ छाला खुइलिने अवस्थामा भएकाले कुनै घाउ चोट नदेखिएको भन्ने मिति २०६७।६।८ को घटनास्थल तथा लासजाँच
प्रतिवेदन ।
मृतक बेवारिसे लासको विषयमा बुझ्दा रूपन्देही जिल्ला रायपुर गा.वि.स. वडा नं. ५ सेमरा बस्ने जोखन पासीको छोरा कैतडी भन्ने विनेश पासी भएको । निज जोखन पासी भारतमा नोकरी गर्ने गरेको, घरमा जोखनको आमाबाबु, श्रीमती र छोराछोरीहरू रहँदै आएकामा निज माहिला छोरा कैतडी भन्ने विनेश पासी सोही गाउँमा ललाउ भन्ने दिनेश यादवको मिलमा प्रायः काम गर्दै आएकामा मिति २०६७।६।६ गते बुधवारको साँझ निज कैतडी ललाउको मिलमा गएकोमा फर्की घरमा नआइ हराएको, मिति २०६७।६।८ गते लास फेला परेकोमा निज मृतक लास कैतडीको आमाले देखि चिनेर पनि कसैको डर, धम्कीका कारण लास सनाखत गर्न नसकि होइन भनेकी हुन् भन्ने कुरा स्थानीय स्तरबाट बुझिन आएको भन्ने प्र.स.नि. श्रीराम चौधरीको प्रतिवेदन ।
मृतक वर्ष १३ को कैतडी भन्ने विनेश पासी म जाहेरवालाको माहिलो छोरा हुन् । आर्थिक अवस्था दयनीय भएकाले म र जेठो छोरा भारतको दिल्लीमा जागिर गर्छौं । मिति २०६७।६।७ गते घरबाट मलाई छोरा विनेश पासी हराएको जानकारी फोनबाट
भयो । मैले छोरालाई खोज खबर गर्नु भनि आफ्नो काममा लागें । भोलिपल्ट मिति २०६७।६।८ गते बिहान अं. ९.३० बजे गाउँलेबाट ऐ. रायपुर-५ सेमरा सडक किनाराको खाल्डोमा एउटा मृत शव गाउँलेहरूले देखि मेरा घर परिवारलाई जानकारी दिएपछि घरपरिवारले सो लास चिनि दिल्लीमा मलाई खबर गरेपछि म घरमा आएँ । सबै कुरा बुझि किन प्रहरीमा खबर नगरेको भन्दा घर परिवारले ललाउ भन्ने दिनेश यादवले घरमा आइ घटनाको बारेमा कहीँकतै जानकारी नगराउनु भनेकाले घर परिवारले धम्कीका कारण प्रहरीमा जानकारी नदिएका रहेछन् । वास्तविकता थाहा पाउन इलाका प्रहरी कार्यालय, मर्चवारमा गई बुझ्दा छोरा कैतडी भन्ने विनेश पासीको हुलियाबाट घडी, चप्पल, कपडा देख्दा चिनि यकिन गरेँ । मेरो छोरा कैतडी भन्ने विनेश पासी केही समय पहिलेदेखि ललाउ भन्ने दिनेश यादवको मिलमा काम गर्ने र निजको घरमा टि.भी. हेर्ने गर्दथे भन्ने कुरा घर परिवारबाट जानकारी भयो । मिति २०६७।६।६ गते छोरा विनेश पासी हराउनु, मिति २०६७।६।८ गते मृत अवस्थामा फेला पर्नु, आफ्नो घरमा भन्दा बढी समय निज ललाउ भन्ने दिनेश यादवको घरमा रहने र घटनापछि घर परिवारलाई कतै उजुर नगर्नु भनेको हुँदा ललाउ भन्ने दिनेश यादवलगायत अरू कसको कर्तव्यबाट घटना भएको हो, अनुसन्धान गरि दोषीलाई यथाशीघ्र पक्राउ गरि घटनाको सत्यतथ्य पत्ता लगाइ दोषी उपर कारबाही गरिपाउँ भन्ने जोखन पासीको जाहेरी दरखास्त ।
मिति २०६७।६।६ गते दिउँसो म खेतमा गइ फर्केर मिलमा धान, गहुँ कुट्नेपिस्ने काम गरिरहेको
थिएँ । साँझपख गाउँकै जोखन पासीको छोरा विनेश पासी मेरो घरमा आई साना केटाकेटीहरूसँग खेलिरहेको थियो । मैले निजलाई घरमिलमा काम लगाउने गर्दथें । गँहु कुट्ने पिस्ने क्रममा मलाई पिसाब लागेकाले हेर्दै गर्नु भनि म बाहिर निस्केँ । फर्कने क्रममा कैतडी चिच्याएको र मिलमा आवाज आएकाले छिटोछिटो मिलमा आउँदा कैतडी मिलको पट्टामा परेको देखी तत्काल् मिल बन्द गरि कैतडीलाई पट्टाबाट बाहिर निकाली हेर्दा रगताम्य भएको थियो । मरेको वा जीवित के थियो मैले हेक्का राखिन । निज बोलेको थिएन । डरले कोही कसैलाई नभनि कैतडीलाई त्यहीँ सुताई मिलको ढोका बन्द गरि घरमा आएँ । राति ११.३० बजे उठी आई कैतडी भन्ने विनेश पासीलाई बोरामा हालेर रायपुर-५ सेमरा सडकखण्डको पूर्वतर्फ खाल्डोमा फालेर फर्की मिलमा भएको रगत सफा गरि हातखुट्टा धोई सुतेको हुँ । मृतक लासको बारेमा कसैलाई जानकारी नदिइ छिपाए कसुरबाट उम्कन पाउँछु भनि लास लगि पानीमा फालेको हुँ । तेस्रो दिन खाल्डोको पानी सुक्दै गएपछि लास भेटियो र अब थाहा हुने भयो भन्ने डरले निज कैतडीको आमालाई लास मेरो छोराको हो नभन्नु र प्रहरीलाई जानकारी नगराउनु भनि त्रसित पारेको हुँ । कैतडीको बाबु जोखन पासी घरमा आएपछि सबै कुरा थाहा भयो । लास बोकि लगेको जुटको बोरा केही पर पानीको खाल्डोमा फालेको हुँ भन्ने प्रतिवादी ललाउ भन्ने दिनेश यादवको अनुसन्धान अधिकारीसमक्ष बयान ।
रूपन्देही जिल्ला रायपुर-५ सेमरास्थित पूर्वमा सर्जु यादवको खाली जग्गा तथा मिलको भुस जम्मा हुने ठाउँ, पश्चिम सिताराम यादवको पक्की घर, उत्तर करौता-सेमरा ग्राभेल सडक र दक्षिण सर्जु यादवको जग्गा यति चार किल्लाभित्र रहेको टिनको छानो र माटो ईंटाको गारो भएको ललाउ भन्ने दिनेश यादवले सञ्चालनमा ल्याई राखेको कुटानीपिसानी मिल रहेको, सो मिलको उत्तर र दक्षिणतर्फ बाँसको भाटाहरूले बनाएको ढोका रहेको, पश्चिमतर्फको ढोका पक्की घरको बरण्डादेखि ३ फुटको दुरीमा सटेर रहेको, सो ढोकाभित्र पसी हेर्दा पश्चिमतर्फ चामल निकाल्ने २ वटा मिल (मेसिन), बिचमा धान हाल्ने ठूलो मेसिन र पूर्व कुनामा गहुँ पिस्ने मिल रहेको । सो गहुँ पिस्ने मिल पछाडि दक्षिण विद्युत् लाइनवाला मेसिन र सानोको दक्षिणपट्टि पट्टा घुमाउने फलामे डन्डामा जडान भएको चक्काहरू रहेको । सोही गहुँ पिस्ने मेसिनको फितामा कैतडी भन्ने विनेश पासी परी मरेको भनि ललाउ भन्ने दिनेश यादवले बताएबमोजिमको घटनास्थल
मुचुल्का ।
रूपन्देही जिल्ला रायपुर-५ सेमरास्थित पूर्वमा धान खेत, पश्चिममा भैरहवा-सेमरा सडक, उत्तर-दक्षिण पानी जमेको तथा अन्य घाँसपातको झाडी यति चार किल्लाभित्र रहेको पानीको तालभित्र पसि जताततै खोज्दा पानीको रहभित्र हिलोमा गडेको अवस्थामा भेटिएको जुटको बोरा थान-१, सो देखि १५ फिट दक्षिणमा सेतो प्लाष्टिकको फाटेको बोरा थान-१ फेला पारि प्रहरीले लगेको भन्ने बरामदी मुचुल्का ।
जाहेरवाला जोखन पासीले २०६७।६।१७ मा जाहेरी दिँदा मृतक लास मेरो छोरा कैतडी भन्ने विनेश पासीको हो भनि सनाखत गरि जाहेरी दिएकोमा निज मृतकको साथबाट बरामद भएका घडी, चप्पलसमेतको सामानहरू बुझिलिएँ भनि मिति २०६७।७।१० मा गरेको कागज ।
लास सडेगलेको अवस्थामा रहेको भन्ने शव परीक्षण प्रतिवेदन ।
जोखन पासीको घर र मेरो घर सटेकै हुँदा निजको परिवार तथा कैतडी भन्ने विनेश पासीलाई राम्रोसँग चिन्दछु । निज मनराजी मा.वि.मा कक्षा ५ मा पढ्थे । निज सधैं स्कुलबाट आई झोला राखि गाउँका जमिन्दार ललाउ भन्ने दिनेश यादवको घरमिलमा जाने, काम गर्ने र खाने गर्दथे । मिति २०६७।६।६ गते दिउसो पनि गएका हुन् । म कामले सेमरा चौराहामा गै साँझ ८.०० बजेतिर फर्की आउँदा बाटैमा पर्ने ललाउ यादवको मिल चलिरहेको थियो । ललाउ यादव र कैतडी मिलको घरभित्र केके काम गरिरहेका थिए । पानी परिरहेकाले म आफ्नो घरमा आएँ । अर्को दिन बिहान कैतडी घरमा आएनन् भनि कैतडीकी आमा ललाउको घरमा गै भनेपछि हरायो भन्ने हल्ला भइ खोजतलास भएको हो । मिति ०६७।६।८ गते सेमरा सडक छेउमा लास फेला परेको हल्ला भई कैतडीकी आमा रमावतीसमेत गई आएका थिए । ललाउले कसको लास हो भनि कहीँकतै नबताउनु बताएमा घरबास उजाड गरिदिन्छु भनेको एकपटक सुनेको हो । मृतक लास कैतडी भन्ने विनेश पासीको भएको र सो बारेमा कतै केही नभन्नु भनि ललाउले भनेको यकिन थाहा पाएँ । यसरी आफ्नै मिलमा काम गर्ने कैतडी हराउँदा चासो नदिएको र लास फेला परेपछि सनाखत नगर्नु भनि आमालाई धम्की दिनुले पनि ललाउ भन्ने दिनेश यादवले नै कैतडीलाई कर्तव्य गरि मारि फालेकोमा पूर्ण विश्वास लाग्छ भन्ने ईशारा पासीको कागज ।
मेरो छोरा वर्ष १३ को कैतडी भन्ने विनेश पासी कक्षा ५ मा पढ्ने र घरमा खानेकुरा नहुँदा स्कुलबाट आई झोला राखी तुरून्तै गाउँका जमिन्दार ललाउ भन्ने दिनेश यादवको घरमिलमा जाने, काम गर्ने र खाने गरेका थिए । मिति २०६७।६।६ गते निज स्कुलबाट आउँदा पानी परेको र झोला राखी, धारामा नुहाई कट्टु र पहेंलो भेष्ट लगाई ललाउको घरमिलमा गएका थिए । अर्कोदिन बिहान स्कुल जाने बेलामा किन आएन भनि खोज्दा ललाउले यहाँ आएको छैन भनेपछि मैले छरछिमेक र नातापाता कहाँ खोजतलास गर्ने क्रममा मिति २०६७।६।८ गते रायपुर-५ स्थित सेमरा सडक किनारमा लास छ भन्ने हल्ला भएकाले हेर्न जाँदा उक्त लास मेरो छोरा कैतडी भन्ने विनेश पासीको भएकाले रोइकराइ गर्न लाग्दा निज ललाउ भन्ने दिनेश यादवले चुपचुप, नरोउ, छोराको लास हो भनि नबताउनु, बताएमा तेरो घरखेत बेच्नुपर्छ भनि डराउन दिए । घरमा आइ प्रहरीलाई केही कुरा नभन्नु, भनेमा घर गाउँ उजाड गराइ दिन्छु भने । निज गाउँको जमिन्दार भएको र तिनैको मजदुरी गरि जिउनु पर्ने हुँदा एउटा छोरा त मरिहाल्यो, अरू पनि मार्छन् कि भन्ने डरले केही भनिन । मेरो छोरा कैतडी भन्ने विनेश पासीलाई ललाउ भन्ने दिनेश यादवले कर्तव्य गरि मारि फालेकाले मलाई सनाखत गर्न नदिइ धम्की दिँदै आएकामा मलाई पूर्ण विश्वास लाग्छ भन्ने प्रतिवादी रमावती पासीको अनुसन्धान अधिकारीसमक्ष बयान ।
मैले अपराधमा प्रयोग गरेको जुटको बोरा प्रहरीले खोज तलास गरि बरामद गरि ल्याई देखाउँदा हेरी चिनेँ । बरामद भै आएको बोरामध्ये हिलो माटो लागेको जुटको बोरा थान-१ मैले कैतडी भन्ने विनेश पासीलाई फाल्दा प्रयोग गरेको बोरा हो । चिनेर सनाखत गरिदिएँ । सेतो बोरा चिन्दिन भन्ने प्रतिवादी ललाउ भन्ने दिनेश यादवको सनाखत कागज ।
मिति २०६७।६।८ गतेका दिन हामी आआफ्नै काम विशेषमा व्यस्त थियौँ । साँझ घरमा आउँदा सेमरा सडकखण्डको किनारमा लास फेला परेकाले प्रहरीले पोष्टमार्टमको लागि लगेको थाहा भएको हो । बुझ्दै जाँदा गाउँकै जोखन पासीको छोरा कैतडी पासी हराएको र निजको लास हो भन्ने थाहा भयो । निजको आमालाई ललाउ भन्ने दिनेश यादवले नभन्नु भनि धम्की दिएकाले सनाखत नगरेको थाहा पाइ निजको घरमा गै आमा रमावती पासीलाई सोधपुछ गर्दा रोइ मृतक लास मेरो छोरा वर्ष १३ को कैतडी भन्ने विनेश पासीको हो । मलाई ललाउ भन्ने दिनेश यादवले नभन्नु, भनेमा घरपरिवारलाई घर गाउँ उजाड गरिदिन्छु भनेकाले प्रहरीलाई केही भनिन भनेकीले निजको पति जोखन पासीलाई दिल्लीमा फोन गरि जानकारी गराई निज आएपछि सनाखत समेतको प्रक्रिया भएको हो । निज कैतडी भन्ने विनेश पासी सधैँ ललाउ भन्ने दिनेश यादवको घरमिलमा बस्ने, खाने र काम गर्ने गर्दै आइरहेका थिए । मिति २०६७।६।६ मा पनि निजकै घरमिलमा गई फर्की नआएको, मिति २०६७।६।८ मा मृत अवस्थामा लास फेला परेपछि मृतकको आमालाई नभन्नु भनि धम्की दिएको र लास हेर्न जानेलाई पनि हेर्न पर्दैन बिचबाटै फर्काई दिनुले पनि ललाउ भन्ने दिनेश यादवले कैतडी भन्ने विनेश पासीलाई कर्तव्य गरि अपराध लुकाउने उद्देश्यले लास लुकाइ सनाखतसमेत गर्न नदिएकोमा पूर्ण विश्वास लाग्छ । निज ललाउ भन्ने दिनेश यादवलाई हदैसम्मको सजाय होस् भन्ने जुगुन पासी, सोमई पासी, पुट्ट पासी, जोखन हरिजन र रामराज पासीले गरेको वस्तुस्थिति मुचुल्का ।
प्र.स.नि. ईश्वरीप्रसाद पाण्डेको प्रतिवेदन, लास फेला परेको घटनास्थल तथा लास प्रकृति मुचुल्का विवरण, प्रतिवादी प्र.स.नि. श्रीराम चौधरीको प्रतिवेदन, जोखन पासीको जाहेरी दरखास्त, प्रतिवादी ललाउ भन्ने दिनेश यादव र रमावती पासीको बयान, वारदातस्थलबाट बोरा बरामदको कागज र वस्तुस्थिति मुचुल्कालगायतका प्रमाणबाट घटनास्थलमा ललाउ भन्ने दिनेश यादवले सञ्चालनमा ल्याएको गहुँ पिस्ने तथा धान कुट्ने मिल कम्पाउन्डभित्र वर्ष १३ को कैतडी भन्ने विनेश पासीको कर्तव्यबाट मृत्यु भएको, कर्तव्य ज्यान मुद्दाको घटित वारदात स्थापित हुन आएको हुँदा प्रतिवादी ललाउ भन्ने दिनेश यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ नं. विपरीत सोही महलको १३(३) नं.बमोजिम सजाय हुन र आफ्नो छोराको कर्तव्यबाट मृत्यु भएको जानकारी हुँदाहुँदै जाहेर नगर्ने प्रतिवादी रमावती पासीलाई सोही महलको २५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी ।
कैतडी भन्ने विनेश पासी छिमेकी भएकाले चिनजान छ । निजसँग मेरो मिति २०६७।६।६ मा भेटघाट भएको होइन । मिति ०६७।६।५ गते म मिलको बेरिङ लिन भारत कोल्हुई गइ ससुराल बसी ऐ. ७ गते घरमा आएको हुँ । कैतडीको मृत्यु के कारणले भयो भन्ने मलाई थाहा छैन । मैले मृतकको आमा रमावती पासीलाई केही भनेको होइन । मैले कैतडी भन्ने विनेश पासीलाई कर्तव्य गरि मारेको भन्ने दाबी झुट्ठा हो । कसले कसरी मार्यो वा कसरी मर्यो मलाई थाहा छैन । मलाई सजाय हुनु नपर्ने हुँदा सफाइ पाउँ भन्ने प्रतिवादी ललाउ भन्ने दिनेश यादवको अदालतमा बयान ।
मेरो छोरालाई कसले कसरी मारे मलाई थाहा छैन । ललाउ भन्ने दिनेश यादवले कर्तव्य गरि मारे नमारेको मलाई थाहा छैन । मेरो छोराको मृत्यु भएपछि प्रहरी कार्यालयमा जाहेरी दिन पनि सकिन । श्रीमान् आएपछि जाहेरी दिएका हुन् भन्ने प्रतिवादी रमावती पासीको अदालतमा बयान ।
जाहेरी दरखास्त मैले दिएको हुँ । सोमा भएको सहिछाप मेरो हो । लास तालमा फालिएको अवस्थामा फेला परेको थियो । कुनै घाउखत थिएन । निजको मृत्यु कसरी भयो भन्ने मलाई थाहा छैन । घटना भएको दुई दिनपछि दिल्लीबाट आएको हुँ भन्ने जाहेरवाला जोखन पासीको बकपत्र ।
मृतकलाई पूर्व रिसइबी लिई मार्ने मनसायले कर्तव्य गरि मारेको भन्ने कुरा कहीँ कतैबाट पुष्टि
हुँदैन । जानाजानी मिलको फितामा धकेली मारेको भन्ने पनि देखिँदैन । प्रतिवादीहरू अदालतमा इन्कार रही बयान गरेका र जाहेरवालाले छोराको मृत्यु के कसरी भयो थाहा भएन । मैले देखेको होइन । शंकाको भरमा जाहेरी दिएको भनि बकपत्र गरेको अवस्थामा प्रमाणको अभावमा प्रतिवादी दिनेश यादवलाई ज्यानसम्बन्धीको महलको १३(३) नं.अनुसार सजाय हुनसक्ने
देखिएन । तर मृतक आफ्नो घरमिलमा काम गर्ने व्यक्ति भएको, मिलमा परी रगताम्य भएपछि मरे नमरेको यकिन नगरि खाल्डोमा फालेको, दुर्घटना भएपछि सम्बन्धित निकायमा जानकारी नगराई लास अन्यत्र लगी फालेको भन्ने देखिन आई निज प्रतिवादी दिनेश यादवले ज्यानसम्बन्धीको महलको ५ नं. को कसुर गरेको देखिन आयो । प्रतिवादीको काम र घटनाको परिस्थितिसमेतलाई दृष्टिगत गर्दा प्रतिवादी दिनेश यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको ६(२) नं. अनुसार २६ दिन कैद र रू.५००।– जरिवाना हुने ठहर्छ । अर्का प्रतिवादी रमावती पासीको अभियोग दाबी पुष्टि नहुँदा सफाइ पाउने ठहर्छ भन्ने सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६८।३।२१ को फैसला ।
आफ्नो चलिरहेको मिल हेर्नु भनि बाहिर गएको अवस्थामा केटो चिच्याएको आवाज सुनी मिलमा हेर्दा मिलको पट्टामा परेको देखि मिल बन्द गरि निकाल्दा रगताम्य भएकामा निजलाई त्यहीँ सुताई मरे नमरेको यकिन नगरि ढोका बन्द गरि घरमा गइ सुतेको र राति ११.३० बजे उठि मिलमा आई निज केटालाई बोरामा हालि बोकि लगि सडक छेउको पानी जमेको खाल्डोमा फालि आएको कुरा प्रतिवादी ललाउ भन्ने दिनेश यादवले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान, लास प्रकृति मुचुल्का, घटनास्थल मुचुल्का समेतका परिस्थितिजन्य प्रमाणबाट पुष्टि भैरहेको छ । मृतक आफैँ मिलमा परेको भएपनि मरे नमरेको यकिन नै नगरि घाइते कैतडीलाई रातको समयमा बोरामा हालि पानीको खाल्डोमा लगि फालेबाट यी प्रतिवादीले नै कैतडीलाई कर्तव्य गरि मारि फालेको पुष्टि भैरहेको र प्रतिवादीले तारेख गुजारि आफ्नो प्रमाणसमेत गुजार्न नसकेको अवस्थामा पनि भवितव्य ठहराइ भएको सुरू फैसला मिलेको छैन । त्यसैगरि लास चिनेर पनि सनाखत नगर्ने, जाहेरी नदिने प्रतवादी रमावती पासीलाई सफाइ दिने गरि भएको फैसला त्रुटिपूर्ण
छ । अतः मिसिल संलग्न सम्पूर्ण प्रमाणहरूको उचित मूल्याङ्कन एवम् विश्लेषण गरि सुरू फैसला उल्टी गरि दुवै प्रतिवादीलाई अभियोगदाबीबमोजिम नै सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन ।
प्रतिवादी ललाउ भन्ने दिनेश यादवले मौकामा गरेको बयान, मृतककी आमाको बयानलगायत मिसिलसंलग्न घटनास्थल र लास प्रकृति तथा बरामदी मुचुल्का समेतका प्रमाणहरूको विवेचना नगरि प्रतिवादी दिनेश यादवलाई ज्यानसम्बन्धीको ६(२) नं.बमोजिम २६ दिन कैद र रू.५००।– जरिवाना एवम् प्रतिवादी रमावतीले अभियोग दाबीबाट सफाइ पाउने ठहर्याई भएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६८।३।२१ को फैसला समग्र प्रमाण मूल्याङ्कनका रोहमा फरक पर्ने देखिँदा मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई आए वा अवधि नाघेपछि नियमानुसार गरि पेस गर्नु भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६९।१।२० को आदेश ।
यसमा भवितव्यको कसुर भनि प्रतिवादी ललाउ भन्ने दिनेश यादवलाई ज्यानसम्बन्धीको ६(२) नं.बमोजिम २६ दिन कैद र रू.५००।– जरिवाना हुने ठहराएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६८।३।२१ को फैसला मिलेको नदेखिँदा सो हदसम्म केही उल्टी भइ निज प्रतिवादी ललाउ भन्ने दिनेश यादवलाई अभियोग मागदाबीअनुसार मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्छ । प्रतिवादी रमावती पासीलाई अभियोग दाबीबाट सफाई दिने सुरू फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न
सक्दैन । प्रतिवादी दिनेश यादव मृतक कैतडी भन्ने विनेश पासीलाई मार्ने मनसाय राखेर वारदार घटाएको नभै निज प्रतिवादीले आफ्नो मिलमा आफैँले काम लगाएको अवस्थामा मिलको पट्टामा च्यापिन पुगेको कारणबाट विनेश पासी गम्भीर घाइते भै निजको मृत्यु मिलको पट्टाबाट बाहिर ल्याएपछि र बोरामा हालि खाल्डोमा हालेको अवधि बिचमा भएको मान्न सकिने पर्याप्त तार्किक आधारहरू रहेको देखिँदा प्रस्तुत वारदात भवितव्य हुनसक्ने पर्याप्त आधारहरू रहेका स्थितिमा निज प्रतिवादीलाई ऐनबमोजिम सजाय गर्दा चर्को पर्ने लागेकाले अ.बं. १८८ नं.बमोजिम घटी सजाय हुनका लागि प्रतिवादीले न्यायिक प्रक्रियामा पुर्याएको सहयोगलाई समेत हेरी निज प्रतिवादी ललाउ भन्ने दिनेश यादवले यो फैसला भएका मितिले ४ महिनाभित्र आफूलाई न्यायिक प्रक्रियामा समर्पण गरि सहयोग गरेको अवस्थामा १०(दश) वर्ष मात्र निजलाई कैदको सजाय हुनु राय व्यक्त गरिएको छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६९।३।३१ को फैसला ।
प्रस्तुत मुद्दामा आफ्नो छोराको कर्तव्यबाट मृत्यु भएको जानकारी मौकामा हुँदाहुँदै जाहेर नगर्ने प्रतिवादी रमावती पासीलाई सफाइ दिएको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, बुटवलको फैसला न्यायसम्मत छैन । मृतक कैतडी भन्ने विनेश पासी सधैँझैँ प्रतिवादी दिनेश यादवको मिलमा काम गर्न गएको र चलिरहेको मिलको पट्टामा परि घाइते भएकामा तत्काल घाइतेको उपचार गर्नुपर्नेमा प्रतिवादी दिनेश यादवबाट त्यसो हुन नसकेको र आफ्नो छोराको मृत्यु भैसकेपछि बोरामा हालि केही पर फालेको कुरा प्रहरीले फेला पारेपछि थाहा पाई सकेपछि सनाखत गरि जाहेर गर्नुपर्नेमा जाहेर नगर्ने प्रतिवादी रमावती पासीलाई सफाई दिएको फैसला मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं. समेतको त्रुटि हुँदा बदर भागी छ । यसरी प्रहरीले फेला पारेको आफ्नो छोराको लास चिने पनि सनाखत नगरेको र घटनाको विषयमा मौकैमा जाहेर नगरेको अवस्थामा अभियोग मागदाबीबमोजिम सजाय हुनुपर्नेमा सफाइ दिएको सुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण हुँदा बदर गरि सुरू अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने नेपाल सरकारको पुनरावेदन ।
मौकामा मृतक कैतडीको लास भनि निजकी आमाले सनाखत गर्न नसकेकी । बेवारिसे लास भनि सनाखत भएको । प्र. दिनेश यादव मेरो घरमा पटक पटक आएको र मलाई डर धम्की दिएको होइन छोराको हत्या कसले गर्यो कसले गाड्यो थाहा छैन भनि रमावतीले र जाहेरवाला जोखनले मृतक प्रतिवादीको मिलमा काम गर्दैनथे भनि अदालतमा गरेको बयान प्रमाणमा लिइएको छैन । वस्तुस्थिति मुचुल्काका मानिसहरूले पनि मौकाको भनाइको समर्थन गरि बकपत्र गर्न नसकेको, आफू भारत गएको र ७ गते घर फर्केको, मिलको सञ्चालक वा मालिक आफू नभएकाले अनुमान, आशङ्का र सम्भावना जस्ता अनिश्चित कुराले प्रमाण ऐन, २०३१ को दफा ३७(२) अनुसार प्रमाणको स्थान ग्रहण गर्न सक्तैन भन्ने प्रतिवादी दिनेश यादवको पुनरावेदन सरहको निवेदन ।
नियमबमोजिम दैनिक पेसी सूचिमा चढी पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिलको अध्ययन भयो ।
आजको पेसीमा वादी नेपाल सरकार वा पुनरावेदन सरहको उजुरी गर्ने प्रतिवादी दिनेश यादव वा प्रत्यर्थी प्रतिवादी रमावतीसमेतका तर्फबाट बहस गर्न विद्वान् सरकारी वा अरू कानून व्यवसायी उपस्थित हुनु भएन ।
अब पुनरावेदन अदालत, बुटवलको फैसला मिले नमिलेको र वादी नेपाल सरकारको पुनरावेदन जिकिर एवम् प्रतिवादी दिनेश यादवको उजुरी निवेदन जिकिर पुग्न सक्ने नसक्ने त्यसमा निर्णय दिनुपर्ने देखियो ।
२. सर्वप्रथम वादी नेपाल सरकारको पुनरावेदन जिकिरमा विचार गर्दा “प्रतिवादी रमावती पासी प्रतिवादी दिनेश यादवको परिवारमा आश्रयमा बसि मजदुरी गरि जीवन निर्वाह गरि आएका मानिस भन्ने देखिन्छ । यस स्थितिमा प्र. दिनेश यादवको धाकधम्की डरत्रासमा परी “एउटा त मरिगयो, अरूपनि मारिदिन्छ कि” भन्ने आसन्न भयका कारणबाट प्र. रामवतीले रून कराउन नपाएको अवस्था कति पीडादायक हुँदो हो अनुमान गर्न पनि कठिन छ । यस अवस्थाकी रमावती पासीलाई कसुरदार ठहर गर्नु विवेकसङ्गत हुने देखिँदैन ।” भन्ने पुनरावेदन अदालतको ठहर देखिन्छ । ज्यान कसुरको हकमा अनुचित दबाब duress लाई उन्मुक्तिको आधार मानिँदैन । तर यस मुद्दामा प्रतिवादी रमावतीउपर ज्यानको वारदात जाहेर नगरेको भन्ने मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको २५ नं. को दाबी रहेको र सो दाबी पुगेमा उक्त २५ नं.बमोजिम प्रतिवादी सरकारी कर्मचारी भएकी भए २ वर्ष, जिमिदार, तालुकदार, गाविस न.पा. आदिको सदस्य भएकी भए डेढ वर्ष, गुमस्ता, मुखिया, मिझार जेठा बूढा, गोरूम, कटुवाल, नाइके, महाने, चौकीदार, गोडायत आदि भएकी भए ६ महिना कैद हुने र सोबाहेकको घरमा थाहा पाउने मुख्यलाई २० रूपैयाँ जरिवाना हुने देखिन्छ । यसमा कतैबाट प्रतिवादीलाई थेग्न नसक्ने गरि निज वा निजको अरू नाताको ज्यान जानेलगायतका धम्की आएमा यो कुरा उक्त २५ नं. बाट बचाउ पाउने आधार बन्न सक्छ । दिनेश यादवको अनुचित दबाब र धम्कीबाट थप अनिष्टको भयले गर्दा त्यस्तो अनिष्ट नहोस् भन्ने कारणबाहेक यी प्रतिवादी रमावतीले प्रस्तुत वारदात कुनै आपराधिक नियतले गरेको प्रमाण वादीले गुजार्न नसकेको हुँदा प्रतिवादी रमावती पासीले अभियोगदाबीबाट सफाइ पाउने ठहराएको पुनरावेदन अदालतको फैसलालाई अन्यथा गर्नु परेन ।
३. अब प्रतिवादी दिनेश यादवको हकमा साधकको रोहमा विचार गर्दा यी प्रतिवादीले यस अदालतमा दिएको उजुरी निवेदनमा “मौकामा मृतक कैतडीको लास भनि निजकी आमाले सनाखत गर्न नसकेकी । बेवारिसे लास भनि सनाखत भएको । प्र. दिनेश यादव मेरो घरमा पटकपटक आएको र मलाई डर धम्की दिएको होइन छोराको हत्या कसले गर्यो कसले गाड्यो थाहा छैन भनि रमावतीले र जाहेरवाला जोखनले मृतक प्रतिवादीको मिलमा काम गर्दैनथे भनि अदालतमा गरेको बयान प्रमाणमा लिइएको
छैन । वस्तुस्थिति मुचुल्काका मानिसहरूले पनि मौकाको भनाइको समर्थन गरि बकपत्र गर्न नसकेको, आफू भारत गएको र ७ गते घर फर्केको, मिलको सञ्चालक वा मालिक आफू नभएकाले अनुमान, आशङ्का र सम्भावना जस्ता अनिश्चित कुराले प्रमाण ऐन, २०३१ को दफा ३७(२) अनुसार प्रमाणको स्थान ग्रहण गर्न सक्तैन” भन्ने जिकिर रहेको
देखिन्छ । प्रतिवादीले लिएको अन्यत्रावस्थाको जिकिर नपुग्ने सम्बन्धमा पुनरावेदन अदालत, बुटवलले सम्बोधन गर्दै अलिबीको जिकिर लिनेले त्यसको प्रमाण पुर्याउनु पर्ने हुन्छ तर “प्र. दिनेश यादवले अलिबीको जिकिर लिएको भए पनि सो को समर्थनमा कुनै पनि साक्षी वा प्रमाण पेस गर्न सकेको पाइएन । प्रमाण पेस गर्नुको सट्टा निजले तारेख नै गुजारी बसेको
देखियो । ...प्र. दिनेश यादवको जिकिरमा विश्वास गर्ने अवस्था रहेन” भनि उल्लेख गरेबमोजिम यी प्रतिवादीबाट अन्यत्रावस्थाको जिकिर प्रमाणित हुने प्रमाण गुज्रन नआएकाले यी प्रतिवादीको अलिबीको जिकिरसँग सहमत हुन सकिएन ।
४. जाहेरवाला जोखन पासीले बकपत्र गर्दा प्रतिवादीको कुनै कसुर देखाउन नसकेको भए पनि स्वयम् प्रतिवादी दिनेशले “गहुँ कुट्ने पिस्ने क्रममा ...एकजना केटा गहुँ पिसाइ रहेकाले हेर्दै गर्नु म पैसा
दिन्छु भनि मिलको घरबाहिर आई पिसाब लागेकाले केही पर पिसाब फेर्न गइ आउँदा मिलमा कैतडी चिच्याएकाले र मिलमा आवाज आएकाले छिटोछिटो मिलमा आउँदा कैतडी मिलको पट्टामा परेको देखि तत्काल मिल बन्द गरि दिए र कैतडीलाई पट्टाबाट बाहिर निकाली हेर्दा रगताम्य भएकाले त्यहीँ सुताइ मिलको ढोका बन्द गरि सुर्ती नभएकाले सुर्ती लिन भनि चौराहा गए । आधा घण्टापछि घरमा फर्की आई ...खाना मागि खाइ केही बेर सुते र राति ११.३० बजेको समयमा श्रीमतीलाई मैदान जान्छु भनि उठि आई निज कैतडी भन्ने विनेश पासीलाई बोरामा हालि लिई गई रायपुर गाविस वडा नं. ५ सेमरा सडक खण्डको पूर्वतर्फ खाल्टोमा फालि दिई आई र हातखुट्टा धोई सुतेको हुँ” भनि सज ७ मा र “...मरेको वा जीवित के थियो मैले हेक्का राखिन, बोलेका थिएनन” भनि सज ८ मा, “पानी खाल्टोको सुक्दै गएपछि लास भेटियो र अब थाहा हुने भयो भन्ने डरले निज कैतडीको आमालाई लास मेरो छोराको हो भनि नभन्नु र प्रहरीलाई जानकारी नगराउनु भनि त्रसित पारेको हुँ, आखिर कैतडीको बुबा जोखन आएपछि सबै कुरा थाहा भयो” भनि सज १३ मा “निज कैतडी भन्ने विनेश पासी मिलको पट्टामा परेकाले म आफैँ आत्तिएर हतोत्साहित भएर निजलाई पट्टाबाट निकाली बाहिर राखि तत्काल सुर्ती खान मन लाग्यो, साथमा सुर्ती नभएकाले चौराहातर्फ गएको हुँ, उपचार गराउनेतर्फ मेरो ध्यान गएन, यसमा मेरो गल्ती भयो” भनि सज १४ मा गरेको मौकाको बयानबाट मृतक कैतडी मिलको पट्टामा परेको र कैतडीलाई बोरामा हाली पानी जमेको खाल्डोमा यी प्रतिवादीले फालेको देखिन्छ । सो घटनापछि कैतडी बाँचेको र पछिबाट अन्य कुनै कारण परि मरेको कुनै सबुद प्रमाण आउन सकेको छैन । आफूले प्रयोग गरेको बोरालाई यी प्रतिवादीले सनाखतसमेत गरेको देखिन्छ ।
५. जाहेरवाला जोखन पासीको जाहेरी दरखास्तमा घटना घट्दा निज भारत दिल्लीमा रहेका र २०६७।६।७ गते घरबाट निजलाई छोरा विनेश पासी हराएको जानकारी फोनबाट भएको, ललाउ भन्ने दिनेश यादवले कहिँकतै जानकारी नगराउनु भनेकाले घर परिवारले धम्कीका कारण प्रहरीमा जानकारी नदिएका रहेछन् भनि उल्लेख भएको व्यहोरा प्रतिवादी रमावती र प्रतिवादी दिनेश यादवको मौकाको बयान अनुरूप रहेको छ । तर निजले अदालतमा बकपत्र गर्दा “लास गडाहामा फालिएको अवस्थामा फेला परेको थियो । कुनै घाउखत थिएन । निजको मृत्यु कसरी भयो भन्ने मलाई थाहा छैन ।” भनि र प्रतिवादी रमावतीले अदालतमा गरेकी बयानमा “मेरो छोरालाई कसले कसरी मारे मलाई थाहा छैन । ललाउ भन्ने दिनेश यादवले कर्तव्य गरि मारे नमारेको मलाई थाहा
छैन ।” भनि प्रतिवादी दिनेशउपर कुनै दोषारोपण गरेको पाइँदैन । यसरी बयान बकपत्रहरू फेर्ने र प्रतिवादीलाई बचाउने कामकुरा हुँदै आएको परिप्रेक्ष्यमा निजहरूले अदालतमा व्यक्त गरेको कुरालाई बहुतै सावधानीपूर्वक केलाई मूल्याङ्कन गर्नु पर्ने हुन्छ । यस सन्दर्भमा “रोइकराई गर्न लाग्दा निज ललाउ भन्ने दिनेश यादवले चुपचुप, नरोउ, छोराको लास हो भनि नबताउनु, बताएमा तेरो घरखेत बेच्नुपर्छ भनि डराउन दिइ घरमा पठाए, घरमा आई प्रहरीलाई केही कुरा नभन्नु, भनेमा घर गाउँबाट उजाड गराइ दिन्छु भनि भनेकाले गाउँको जमिन्दार व्यक्ति तिनीहरूको मजदुरी गरि जिउनु परेको छ । एउटा छोरा त मरीहाल्यो अरू पनि मारीदिन्छन कि भन्ने डरले पटकपटक प्रहरीहरू आई भन्दा सम्झाउँदा पनि मैंले हो भन्न नसकी होइन मात्र भन्दै गएँ” भनि प्र. रमावतीले मौकाको बयानमा उल्लेख गरेकी व्यहोरा बहुतै सिलसिलाबद्ध र स्वाभाविक देखिन्छन । त्यसमा व्यक्त कुरामा कुनै कृत्रिमताको आभास छैन । “यसर्थ जाहेरवाला सामाजिक तथा आर्थिकरूपमा अत्यन्त कमजोर/दयनीय अवस्थाका मानिस देखिन्छन ...यिनै प्र. दिनेश यादवका परिवारसमेतको आश्रयमा रहेर बनीबुती, मजदुरी गरि जीविकोपार्जन गर्न बाध्य अवस्थाका मानिस भएको ...प्र. दिनेश यादवले जोखन पासीलाई बकपत्र गर्दासम्मको अवस्थामा लोभलालचसहितको डरत्रासमा पार्न सक्ने पर्याप्त सम्भावना देखिएको छ ।” भनि जाहेरवालाको बकपत्रलाई अमान्य गरेको पुनरावेदन अदालतको निष्कर्ष मनासिब रहेको र सोही कुरा प्रतिवादी रमावतीको अदालतको बयान व्यहोराको सन्दर्भमा पनि लाग्ने देखिँदा यिनीहरूको अदालतको भनाइबाट प्रतिवादी दिनेश यादवलाई कुनै मद्दत पुग्ने देखिँदैन ।
६. यसै प्रसङ्गमा प्रतिवादी दिनेश यादवले यस अदालतमा गरेको पुनरावेदन सरहको उजुरी निवेदनपत्रमा आफू मिलको मालिक वा सञ्चालक नभएको र मिलका मालिक सीताराम यादव भएको भन्ने जिकिर लिनुभएको हकमा यस मुद्दाको विषयवस्तु मिलको मालिक वा कर्मचारी वा मिल सञ्चालनको प्रविधि वा अरू कुनै यान्त्रिक दोष वा कमी कमजोरीले दुर्घटना भएको र सो कारणबाट मृतकको मृत्यु भएको भन्ने नभै मिलमा गहुँ पिस्ने क्रममा मृतकलाई हेर्दै गर्नु भनि पैसा फिर्ता दिन र पिसाब गर्न निज बाहिर निस्केको समयमा मिलको पट्टामा बेरिएर मृतक दुर्घटनाग्रस्त भै गम्भीर घाइते भै अचेत भएको यसरी प्रतिवादीको अह्रोट मानि मिलमा रहेका मृतक घाइते भएपछि निजको स्याहार सुसार उपचार नगरि सुर्ती खान निस्केको, मृतकको परिवारलाई घटनाको कुनै जानकारी नदिएको र मृतक मरे बाँचेको कुराको कुनै विचार नगरि मृतकलाई बोरामा हालि पानीमा फालेको घटनासँग सम्बन्धित रहेको र सीताराम यादव प्रतिवादीको परिवारका सदस्य नभएको भन्ने प्रतिवादीको कुनै जिकिर नरहेको समेतबाट मिलको मालिक को हो भन्ने कुराले यस मुद्दाको निर्णयमा खासै प्रभाव पार्ने देखिएन ।
७. प्रतिवादीले मौकामा बयान गर्दा प्रमाण ऐन, २०३१ को दफा ९ (२) को खण्ड (क) को देहाय (१) सो कुरा व्यक्त गर्दा अभियुक्त सचेत अवस्थामा र आफूले भनेको र गरेको कुरा बुझ्न सक्ने अवस्थामा थियो । देहाय (२) निजलाई बाध्य गरि वा निज वा अरू कसैलाई यातना दिइ वा यातना दिने धम्की दिइ वा निजलाई आफ्नो इच्छा विरूद्ध सो कुरा व्यक्त गर्ने स्थितिमा पारी सो कुरा व्यक्त गरेको होइन । देहाय (३) सो अभियोग बारे कुनै सार्वजनिक अधिकारीले गर्ने कारवाहीको सम्बन्धमा यस्तो धम्की वा विश्वास पर्ने आश्वासन दिएको थिएन जसबाट निजले सो कुरा असत्यरूपमा व्यक्त गर्ने सम्भावना थियो र जुन धम्की वा आश्वासन कार्यान्वित गर्न सक्ने अधिकार र शक्ति सो अधिकारीलाई थियो भन्ने कुरा निजले युक्तिसङ्गतरूपमा विश्वास गरेको थियो भन्ने अवस्थाहरू रहेकाले प्रतिवादी विरूद्ध प्रमाण नलाग्ने हो कि भन्ने कुनै अवस्था मिसिल प्रमाणबाट पुष्टि नभएकाले प्रतिवादीले गरेको मौकाको बयान आफैँ पनि प्रतिवादी विरूद्ध प्रमाण लाग्ने देखिन्छ । त्यसमाथि सोबमोजिम नै भएको प्र. रमावतीको मौकाको बयान र मृतकको लास फेला परेको वारदात र प्रतिवादी दिनेश यादवको अन्यत्रावस्थाको जिकिर प्रमाणित हुन नसकेको अवस्थासमेतको समग्रतामा प्रतिवादीले गरेको मौकाको बयान ऐ. दफा ९ को उपदफा (२) को खण्ड (क) मा कुनै अभियुक्तले निजलाई लगाइएको अभियोगका सम्बन्धमा अदालतबाहेक अन्यत्र व्यक्त गरेको कुरा अदालतले देहायबमोजिम ठहराएमा प्रमाणमा लिन हुन्छ भनि उल्लेख भएबमोजिम प्रतिवादी दिनेशका विरूद्ध प्रमाण लाग्ने नै देखियो ।
ती सबै प्रमाणहरूबाट प्रतिवादी दिनेश यादव नै मृतकको मृत्युको कारण रहेको भन्ने सुरू र पुनरावेदन अदालतको निष्कर्ष मिलेकै देखियो ।
८. अब प्रतिवादी दिनेश यादवले जिकिर लिएबमोजिम प्रस्तुत वारदातलाई भवितव्य कायम गरेको सुरू अदालतको फैसला कायम रहनुपर्छ वा पुनरावेदन अदालत, बुटवलले प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम कसुरदार ठहराएको फैसला कायम रहनुपर्छ भन्नेतर्फ विचार गर्दा यसमा पुनरावेदन अदालतले “प्रतिवादी दिनेश र मृतकबिच आचरणद्वारा employer employee र master and servant को सम्बन्ध स्थापित भएको देखिँदा निजको सुरक्षा गर्नु प्र. को कर्तव्य
थियो । घर परिवारलाई खबर गर्नु पर्नेमा सो पनि गरेको
देखिएन । यो प्र. दिनेशको गम्भीर लापरवाहीयुक्त omission देखिन्छ ।” भनि व्यक्त गरेको निर्णयाधारमा सधैँ मिलमा बसेर काम गर्ने मृतकलाई सो दिन हेर्दै गर्नु भन्नुबाट यी प्रतिवादीले निजलाई जोखिमपूर्ण काममा लगाएको भन्न नमिल्ने, बालक आफैँले ज्यादा चंचलता देखाइ पट्टीमा बेरिन पुगेको सम्भावना पनि प्रबल भएको, यो काम गर्नु भनि प्रतिवादीले लगाउँदै नलगाएकाले यस्तो आकस्मिक घटनालाई मनसाय प्रेरित हत्या वा culpable homicide वा manslaughter को श्रेणीमा राख्नु उचित हुँदैन । यस्तो अकार्यलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३ वा त्यसको देहाय (३) नं. ले समेटेको छ भन्दा फौजदारी कसुर धेरै विस्तृत हुने, ज्यान कसुर कठोर वा स्वतः दायित्वभित्र पर्ने कसुर नभै मनसायजन्य कसुर भएकाले कमसेकम प्रतिवादीको reckless omission देखिनु पर्ने र सो reckless omission को कारणबाट मृतकको मृत्युको परिणाम आउने गरि कार्य र परिणाम बिच सीधा सम्बन्ध स्थापित हुनु पर्नेमा सो केही नदेखिएको बढीमा सामान्य अकार्य simple omission को वारदातलाई पुनरावेदन अदालतले कठोर वा स्वतः दायित्व कसुरभित्र पारेबाट फौजदारी न्यायको मान्य सिद्धान्तको त्रुटि भएको हुँदा प्रतिवादी कारक नै नरहेको घटनाबाट भएको मृत्युमा प्रतिवादीलाई कठोर वा स्वतः दायित्व बोकाएको मिलेन भनि उजुरकर्ताबाट र विद्वान्हरूबाट आपत्ति आउन नसक्ने होइन । अतः यसमा पुनरावेदन अदालतले भने जस्तो प्रस्तुत घटनाको सम्बन्धमा मृतक र यी प्रतिवादीबिच रोजगारदाता र कामदारबिचको वा मालिक वा सेवकबिचको सम्बन्धजन्य कठोर दायित्वको कुरालाई अस्वीकार गर्न सकिएला । तर त्यसरी अस्वीकार गर्ने हो भने पनि “प्र. दिनेश यादवको कसुर यतिमा मात्रै सीमित रहेको देखिँदैन । बेहोस अवस्थाका विनेशलाई मिलमा अलपत्र छाडी मध्यरातको सन्नाटामा निजलाई बोरामा हालेर पानी भएको खाल्डोमा फालेको र मृतकको मृत्यु भएको देखिँदा यसलाई मनसाय प्रेरित हत्या मान्नु पर्ने अवस्था पनि छ । यो केवल omission मात्र नभएर त्यो भन्दा गम्भीर प्रकृतिको culpable homicide तहकै कार्य भएको छ ।” भन्ने निष्कर्षलाई अमान्य गर्नु निक्कै चुनौतिपूर्ण हुने देखिन्छ । जब यिनले मृतकलाई केही गरेकै थिएनन भने कैतडीको शरीरलाई बोरामा राखि मिलबाट हटाइ पानीको खाल्डोमा राख्ने कामलगायतको घटना दबाउने काम गर्न यी प्रतिवादी किन अग्रसर भए बडो गूढ प्रश्न
छ । हो यहीँबाट अभियोगदाबीको ज्यानसम्बन्धीको १३ नं को चरण प्रारम्भ हुन्छ । पहिलो चरण अर्थात् यिनको मौकाको बयानको शब्दमा “मिलमा कैतडी चिच्याएकाले र मिलमा आवाज आएकाले छिटोछिटो मिलमा आउँदा कैतडी मिलको पट्टामा परेको देखी तत्काल् मिल बन्द गरि दिएँ” सम्मको कार्य गरेको स्तुत्य छ । त्यसपछि तत्काल कैतडीको आमा आदि परिवारजनलाई घटनाको जानकारी गराएको भए यिनले अभियोगदाबीबमोजिमको कसुर गरेको ठहर गर्न सरकारी पक्षलाई धौ धौ पर्थ्यो र सम्भवतः भवितव्य ठहराइ प्रतिवादीलाई जम्मा २६ दिन कैद र रू ५०० जरिवाना गरेको सुरू जिल्ला अदालतको फैसला सदर हुन सक्थ्यो । तर त्यसपछि यिनकै मौकाको बयानको शब्दमा “र कैतडीलाई पट्टाबाट बाहिर निकालि हेर्दा रगताम्य भएकाले त्यहीँ सुताइ मिलको ढोका बन्द गरि सुर्ती नभएकाले सुर्ती लिन भनि चौराहा गए । आधा घण्टापछि घरमा फर्कि आई ...खाना मागि खाई केहि बेर सुते र राति ११.३० बजेको समयमा श्रीमतीलाई मैदान जान्छु भनि उठि आई निज कैतडी भन्ने विनेश पासीलाई बोरामा हालि लिई गई रायपुर गाविस वडा नं. ५ सेमरा सडक खण्डको पूर्वतर्फ खाल्टोमा फालि दिई आई र हातखुट्टा धोई सुतेको हुँ” भनि सज ७ मा “र ...मरेको वा जीवित के थियो मैले हेक्का राखेन, बोलेका थिएनन” भनि सज ८ मा “मृतक लासलाई कोही कसैलाई जानकारी नदिई लगि छिपाए भने को कसको हो भन्ने कुरा थाहा हुँदैन र के कहाँ मृत्यु भएको भन्ने कुरा पनि थाहा हुँदैन र कसुरबाट उम्किन पाउँछु भनि लास लगी पानीमा फालेको हुँ । तेस्रो दिन पछि खाल्टोको पानी सुक्दै गएपछि लास भेटियो र अब थाहा हुने भयो भन्ने डरले निज कैतडीको आमालाई लास मेरो छोराको हो भनि नभन्नु र प्रहरीलाई जानकारी नगराउनु भनि त्रसित पारेको हुँ, आखिर कैतडीको बुबा जोखन आएपछि सबै कुरा थाहा भयो” भनि सज १३ मा “निज कैतडी भन्ने विनेश पासी मिलको पट्टामा परेकाले म आफैँ आत्तिएर हतोत्साहित भएर निजलाई पट्टाबाट निकालि बाहिर राखि तत्काल सुर्ती खान मन लाग्यो, साथमा सुर्ती नभएकाले चौराहातर्फ गएको हुँ, उपचार गराउनेतर्फ मेरो ध्यान गएन यसमा मेरो गल्ती भयो” भन्नेसमेतको यिनको कार्यले गर्दा अब पहिलो चरण अर्थात् मृतक कैतडी मिलको पट्टामा परेको बारेमा मात्र सीमित भै विचार गर्नुको कुनै तुक छैन ।
९. यसै प्रसङ्गमा विद्वान् स्मिथ र होगानको प्रसिद्ध पुस्तक क्रिमिनल ल तेह्रौं संस्करणको पृष्ठ १३९-१४० मा Coincidence in time of actus reus and mens rea अन्तर्गत …in Church १९६६, the Court of Criminal Appeal applied Thabo Meli, where D, in a sudden fight, knocked V unconscious and, wrongly believing her to be dead, threw her into the river where she drowned. He was charged with murder and his conviction for manslaughter was upheld. Here there was no antecedent plan. The point was not considered by the court, but it was apparently thought to be enough that the accused’s conduct constituted ‘a series of acts which culminated in [V’s] death’. … पृष्ठ १४० मा In Le Brun १९९२, …D, in a quarrel, knocked his wife unconscious and while attempting to drag her body away dropped and killed her. The jury were rightly told that they could convict of murder or manslaughter, depending on the intention with which the blow was struck, if D accidently dropped V while (i) attempting to move her to her home against her wishes and/or (ii) attempting to dispose of her body or otherwise cover up the assault. The court appears to uphold the conviction on both of two alternative principles… र The transaction principle अन्तर्गत This appears to operate so that D is guilty of homicide if he kills during the continuance of the transaction, the sequences of events initiated by the unlawful blow, and that transaction continues at least during the conduct described under (i) and (ii) above… त्यसपछि हेतु (causation) को सिद्धान्तबारे विद्वान्ले…The causation principle represents the ratio decidendi of the South African case of S v Masilela १९६८. D, intending to kill V, knocked him unconscious and, believing him to be dead, set fire to the house. V died from the fumes. If he had not been unconscious he would have been able to walk out, so knocking him unconscious was a cause of death. But it is probable that the chain of causation would be regarded as broken if the house had been set on fire by a tramp who happened to come along after D’s departure. पृष्ठ १४०-१४१ मा … Where D knocked V downstairs and then, believing that he had killed her, cut her throat in order to dispose of the body, and it was impossible to say which act caused death, the jury should have been directed to convict of ms if they were satisfied both (i) that knocking V downstairs was an intentional act which was unlawful and dangerous; and (ii) that the act of cutting the throat was one of gross criminal negligence… उल्लेख गर्नुभएको देखिन्छ । पहिलो चरणमा कैतडी आफैँ पट्टीमा बेरिन गै निजको हात काटिएको घटनाबाट निजको मृत्यु भएको भन्ने कुरालाई प्रतिवादीले स्पष्ट गर्न सकेको
देखिँदैन । यो कुरालाई प्रतिवादीले सप्रमाण स्पष्ट नगरेसम्म प्रस्तुत वारदात मुलुकी ऐन, ज्यानसम्बन्धीको ५ र ६ नं. बमोजिम भवितव्यभित्र पर्ने कुनै सम्भावना रहँदैन । तर सो कुराको जिकिर यिनले कहिँकतै लिएको प्रमाण पेस गर्न सकेको पाइँदैन अपितु उल्टो तारेख गुजारि बसेको देखिन्छ । हुन पनि हात मात्रै काटिएबाट तत्काल वा ३।४ घण्टाभित्रै मृत्यु हुने सम्भावना
रहँदैन । त्यसैले अन्यथा प्रमाणित नभएसम्म कैतडीको हात मिलको पट्टामा बेरिएर काटिएको कारणबाट निजको मृत्यु भएको कुराको अनुमान गर्न मिल्ने
देखिँदैन । प्रतिवादीको कार्यबाट नमरेको कुनै व्यक्ति तेस्रो पक्षको कार्यबाट मरेमा सो हत्याको दोषी तेस्रो पक्ष हुने भनि विद्वान् स्मिथ र होगानको माथि उल्लिखित मतमा असहमत हुनु पर्ने कारण छैन । पहिलो चरणको कार्यमा प्रतिवादीको आपराधिक भूमिका नरहेको कुरा माने पनि त्यसपछि प्रतिवादीले घटनाबारे मृतकको आमा आदि आफन्तलाई कुनै जानकारी नदिई सुर्ती आदि खान गै मध्यरातमा आई कैतडी जीवित वा मृत कुन अवस्थामा रहेको त्यसको कुनै विचार नगरि बोरामा राखि फालेको कार्य gross criminal negligence वा reckless indifference भित्र पर्ने र यसलाई reckless mens rea मनसायले समेटेको
देखिन्छ । यसलाई “मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३ नं. को पहिलो वाक्यमा रहेको “कसैले अरूको ज्यान मर्ने गैह्र कुरा गर्दा” भन्ने वाक्यांश र सोही महलको १३(३) नं. मा रहेको “वा अरू ज्यान मर्ने गैह्र कुरा गरि ज्यान मरेमा” भन्ने वाक्यांशले बाँच्ने अवस्थाका आफ्नो कब्जा, संरक्षण वा नियन्त्रणमा रहेको मानिसलाई त्यसै अलपत्र छाड्ने (abandon) कार्यसमेतको omission को अवस्थालाई समेटेको देखिन्छ । प्रतिवादीको यो कार्य positive act भएको र यस्तो positive act पनि उक्त १३ र १३(३) नं. भित्र स्वतः पर्ने नै देखिँदा समग्रमा पुनरावेदन अदालतको यो निर्णयाधारलाई अन्यथा गरिरहनु परेन ।
१०. मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको निर्माण २०२० सालमा भएको र त्यसपछि सो महलको ६(३) नं. मिति २०६५।७।२८ मा अमान्य भएको, ज्यान मार्ने उद्योगसम्बन्धी १५ नं. र ऐ. को षडयन्त्रसम्बन्धी १६ नं. कसुरको मिति २०४२।६।२३ मा झन् अमिल्दो संशोधन भएबाहेक यसका भवितव्यसम्बन्धी ५ र ६ नं. आत्मरक्षासम्बन्धी ७ नं., १३ नं., आवेश प्रेरित १४ नं., षडयन्त्रसम्बन्धी १६ नं, मतियारसम्बन्धी १७ नं. आदि मुख्य मुख्य ज्यान कसुरमा कुनै सारभूत परिवर्तन भएको पाइँदैन । स्थिति कस्तो छ भने कुनै ज्यान वारदातलाई भवितव्यसम्बन्धी ५ र ६ नं., आत्मरक्षासम्बन्धी ७ नं. आवेश प्रेरित १४ नं. षड्यन्त्रसम्बन्धी १६ नं. र मतियारसम्बन्धी १७ नं ले समेट्छ समेट्दैन पहिले त्यसको निर्क्यौल गरेपछि मात्र न्यायकर्ताले १३ नं. आउनु पर्ने कानूनी संरचना
देखिन्छ । ज्यानसम्बन्धीको १३ नं. १६ नं. र १७ नं. छुट्टिने अवस्था कुन हो र जोडिने अवस्था कुन हो यसमा ऐनले व्यापक अराजकता र अनिश्चितताको सृजना गरेबाट यी कानूनको प्रयोगमा कुनै निश्चितता र एकरूपता छैन । उस्तै वारदातमा कहिँ १६ नं. कहिँ १७ नं. र कहिँ १३ नं. लागिरहेको छ । तर कतिपय वारदात यस्ता हुन्छन जसमा ज्यानको कसुर भएको छ तर जसलाई १६ र १७ नं. ले अक्षरशः समेटेका हुन्नन । जस्तो एकजना मात्र रहेको यो वारदात । ५।६ नं. पनि नलाग्ने कुरा माथि व्यक्त भैसकेकै छ । आत्मरक्षासम्बन्धी ७ नं. लाग्ने कुरै छैन । यस अवस्थामा विधिकर्ताले उक्त १३ नं. लाई ज्यानसम्बन्धीको अरू वारदातले नसमेटेमा स्वतः आकर्षित हुने दफाको रूपमा राखेकोसमेतबाट पुनरावेदन अदालतको निष्कर्षसँग असहमत हुनु पर्ने अवस्था नहुँदा पुनरावेदन अदालत, बुटवलले सुरू अदालतको फैसला उल्टी गरि प्रतिवादीले अभियोग दाबीबमोजिम मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. को कसुर गरेको ठहराएको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ ।
११. प्रतिवादीबाट आपराधिक कार्य भै मानिस मरेको छ यसर्थ निजलाई सफाइ दिन सकिँदैन तर कम सजाय हुने ती कुनै कानून
लाग्दैनन । वारदातको अवस्थाबाट प्रतिवादीलाई जन्मकैद नै गर्न पनि कसुरको मात्राले दिँदैन । यस अवस्थामा अरू मुलुक झै हाम्रो मुलुकमा पनि murder सरहको ज्यान कसुर र त्यसपछि भारत जस्तो culpable homicide वा बेलायत जस्तो manslaughter वा अमेरिका जस्तो First Degree Murder (any murder that is willful and premeditated. Felony Murder is typically first degree.) Second Degree Murder (a murder that is not premeditated or planned in advance.) Voluntary Manslaughter (sometimes called a “Heat of Passion” murder, is any intentional killing that involved no prior intent to kill, and which was committed under such circumstances that would “cause a reasonable person to become emotionally or mentally disturbed.” Both this and second degree murder are committed on the spot, but the two differ in the magnitude of the circumstances surrounding the crime. For example, a bar fight that results in death would ordinarily constitute second degree murder. If that same bar fight stemmed from a discovery of infidelity, however, it may be mitigated to voluntary manslaughter.) Involuntary Manslaughter (stems from unintentional, but criminally negligent behavior. A drunk driving-related death is typically involuntary manslaughter. Note that the “unintentional” element here refers to the lack of intent to bring about the death. All three crimes above feature an intent to kill, whereas involuntary manslaughter is “unintentional,” because the killer did not intend for a death to result from his intentional actions.) को व्यवस्था भै दिएको भए सम्भवतः १६, १७ आदि छुट्टै नम्बर आफैँ अफाप भएर जाने थिए र तजबिजी दण्डको प्रावधानअनुसार प्रतिवादीको कसुरको मात्राअनुसार निजलाई सजाय गर्न सकिन्थ्यो । स्थिति जटिल भएकैले न्याय प्रदान गर्नको लागि अदालतले फैसलामा १३ नं. बमोजिम सजाय गरेपनि व्यवहारमा भारत, बेलायत र अमेरिकाको कानूनबमोजिम manslaughter को कानूनबमोजिम वारदातको अवस्थाअनुसार मुलुकी ऐन, अ.बं. १८८ नं. को रायको सहारा लिने गरेको र यस मुद्दामा पनि उक्त अ.बं. १८८ नं.बमोजिम घटी सजायको राय लगाएमा मात्र न्याय पर्ने देखिन्छ । यसमा पुनरावेदन अदालतले पनि राय लगाएकै अवस्था छ । तर जहाँसम्म पुनरावेदन अदालतले मुलुकी ऐन अ.बं. को १८८ नं. बमोजिम प्रतिवादी दिनेश यादवलाई १० वर्ष कैद हुने राय व्यक्त गरेको कुरा छ यसमा सो अदालतले “प्रतिवादी दिनेश यादवले कैतडी भन्ने विनेश पासीलाई मार्ने इबिलाग वा मनसाय राखेर वारदात घटाएको नभै आफ्नो मिलमा आफैँले काम लगाएको अवस्थामा मिलको पट्टामा च्यापिन पुगेको कारणबाट विनेश पासी गम्भीर घाइते भएको हुँदा त्यसबाट पैदा हुने स्वाभाविक कानूनी र सामाजिक दायित्वबाट उम्कने अभिप्रायले हत्याको कसुर गरेको देखिन्छ । पीडित कैतडीको मृत्यु मिलको पट्टाबाट बाहिर ल्याएपछि र बोरामा हाली खाल्डोमा हाल्दाको अवधिका बिचमा भएको मान्न सकिने पर्याप्त तार्किक आधारहरू माथि उल्लेख छन् ।” भनि उल्लेख गरेको पाइन्छ । यसबाट यी प्रतिवादीको पछिल्लो कार्य कैतडी वा निजको परिवारसँग रिसइबीका कारण वा कुनै रकम कलमको माग गर्नको लागि वा कैतडीले प्रतिवादीको कुनै गोप्य कुरा थाहा पाएको सो कुरा प्रकाशमा आउला भन्ने लगायतको कारणबाट मनसाय प्रेरित वारदात भएको नभै माथि उल्लेख भए जस्तो gross criminal negligence वा reckless indifference बाट भएको र यसको मूल कारण मिलको पट्टामा च्यापिएको कैतडीको अवस्था रहेको देखिन्छ । त्यसबेला प्रतिवादीको दिमागले काम गर्न सकेको देखिँदैन । यी हतप्रभ भएका छन् । यो मानिसको स्वभावजन्य कमजोरी हो । योबाहेक अरू कुरा वादीबाट पनि त आउन सकेको छैन । वादीले आफ्नो कुरा पनि नभन्ने र प्रतिवादीको कुरा पनि नपत्याउने यस्तो अवस्था आउन दिनु हुँदैन । अतः कैतडीको उक्त अवस्थाबाट किंकर्तव्यविमुढ भै प्रतिवादीबाट त्यसपछिका कार्यहरू भएका र ती कार्यहरू गर्दा निजले कैतडीको ज्यानै लिने प्रत्यक्ष direct वा घुमाउरो oblique नियत लिएको प्रमाण गुज्रन नआएको यस्तो अवस्थामा यिनलाई कमसेकम सजाय गर्दा पनि समाजमा सन्देश जाने, कानूनको निरोधात्मक सजाय कारगर हुने र प्रतिवादीले पनि कानूनको महत्त्व बुझ्ने सबै प्रतिफल प्राप्त हुने देखिन्छ । अतः प्रतिवादीलाई १० वर्ष कैद गर्ने भन्ने पुनरावेदन अदालतको रायसँग सहमत हुन सकिएन । प्रतिवादीलाई मुलुकी ऐन अ.बं. १८८ नं.बमोजिम ५ वर्ष कैद हुने गरि प्रतिवादी दिनेश यादवको हकमा साधक सदर हुने ठहर्छ । प्रतिवादी रमावती पासीलाई अभियोग दाबीबमोजिम ज्यानसम्बन्धीको महलको २५ नं.बमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिरसँग सहमत हुन सकिएन । प्रतिवादी रमावती पासीको हकमा पुनरावेदन अदालत, बुटवलको मिति २०६९।३।३१ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी ललाउ भन्ने दिनेश यादवलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.बमोजिम सर्वस्वसहित जन्मकैद भै अ.बं. १८८ नं.बमोजिम ५ वर्ष मात्र कैद सजाय हुने राय व्यक्त भएकाले निज थुनामा बसेको अवधि कट्टागरि बाँकी कैद असुल गर्नु भनि सुरू रूपन्देही जिल्ला अदालतमा लेखी पठाइदिनू -----------------१
यो फैसलाको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई दिनू -----------------------------------१
दायरीको लगत कट्टा गरि मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ------------------------१
उक्त रायमा सहमत छु ।
न्या. दीपकराज जोशी
इजलास अधिकृत : विदुर काफ्ले
इति संवत् २०७२ साल भदौ ३ गते रोज ५ शुभम् ।