शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४७२ - जबरजस्ती करणी, जबरजस्ती चोरी ।

भाग: ५७ साल: २०७२ महिना: पौस अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास 

माननीय न्यायाधीश श्री दीपकराज जोशी

माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ

फैसला  मिति : २०७२।२।१८।२

०६७-CR-०८३६

 

मुद्दा : जबरजस्ती करणी, जबरजस्ती चोरी ।

 

पुनरावेदक/प्रतिवादी : गुल्मी जिल्ला, हाडहाडे गा.वि.स.वार्ड नं ४ बुढीचौर घर भै हाल कारागार कार्यालय गुल्मीमा थुनामा रहेका दीपक चन्दसमेत

विरूद्ध

प्रत्यर्थी/विपक्षी : गीता ओलीको जाहेरीले नेपाल सरकार

 

जबरजस्ती करणीको वारदातको समयमा पीडितले दिने सहमति स्वेच्छिक हो वा डर त्रास र करकापमा पारी दिएको हो सोसमेत विचार गर्नुपर्ने देखिँदा प्रस्तुत वारदातमा खुकुरी प्रयोगको सन्दर्भ स्थापित भैसकेको अवस्थामा पीडितले करणीको लागि सहमति नै दिएको भएपनि सो सहमतिलाई स्वतन्त्र सहमति मान्न नसकिने ।

(प्रकरण नं. ४) 

आफूउपर खुकुरी प्रयोग हुन सक्ने सम्भावित जोखिमबाट बच्न यदि पीडितले सहमति नै दिएको भएपनि त्यसलाई करणीको लागि सहमति दिएको भनी मान्न सकिएन । कानूनअनुसार पनि उक्त सहमतिले वैधानिकता पाउन सक्ने नदेखिने ।

(प्रकरण नं. ५) 

हाम्रो सामाजिक मूल्य मान्यता हिन्दू सभ्यता र संस्कारबाट विकसित भएको अवस्थामा महिलाको सवाल सामाजिकरूपमा अत्यन्त संवेदनशील रहेको मानिन्छ । सामाजिक लोकलाजका कारण गोप्यरूपमा कुनै महिला तथा पुरूषले यौनसम्बन्ध कायम गर्ने गरे तापनि सङ्कुचित यौन विचारधारा रहेको हाम्रो समाजमा खुलम खुल्लारूपमा जाहेरवालीले आफ्नो सामाजिक प्रतिष्ठाको समेत विचार नै नगरी सार्वजनिक स्थलमा चार-चार जना पुरूषलाई एकै-पटक करणी गर्न स्वेच्छिक मन्जुरी दिएकी होलिन् भनी मान्न नसकिने । 

पश्चिमा सभ्यता र संस्कारको जस्तो यौन खुलापनको मान्यता अवलम्बन नगरिएको सामाजिक पृष्ठभूमिमा ग्रामीण परिवेशमा हुर्केकी जाहेरवालीले आफ्नो स्वेच्छिक मन्जुरीले एकभन्दा बढी पुरूषलाई एकै समयमा करणीको लागि सहमति दिएकी होलिन् भनी अनुमान गर्नु सामान्यरूपमा प्रयोग गरिने विवेकभन्दा बाहिरको देखिने ।

विवेकसम्मत रूपमा समेत अनुमान नै गर्न नसकिने तथ्य समावेश भएको प्रस्तुत वारदातमा पुनरावेदकले जिकिर गरेजस्तो करणी सहमतिमा भएको नपाइने हुँदा सहमतिबिना गरिएको करणीलाई जबरजस्ती करणी नै मान्नुपर्ने ।

(प्रकरण नं. ६)

करणी गर्दाको बखत एकजनाभन्दा बढीको सामूहिक संलग्नता रहेको तथ्य निर्विवादरूपमा स्थापित भएको र करणी स्वेच्छिक नभई जबरजस्ती भएको पुष्टि भएको अवस्थामा प्रतिवादीहरूबाट भएको कार्य सामूहिक जबरजस्ती करणीको वारदातको रूपमा रहेको देखिन आउने ।

(प्रकरण नं. ८)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता पदम रोक्का

प्रत्यर्थी/वादीका तर्फबाट :

अवलम्बित नजिर :

सम्बद्ध कानून :

जबरजस्ती करणीको महलको ३ नं. को (क)

 

सुरू तहमा फैसला गर्ने : 

मा.जि.न्या.श्री माधवप्रसाद पोखरेल

पुनरावेदन तहमा फैसला गर्ने :

मा. न्या. श्री दुर्गाप्रसाद उप्रेती

मा. न्या. श्री शारङ्गा सुवेदी

 

फैसला

न्या. दीपकराज जोशी : पुनरावेदन अदालत, बुटवलको मिति २०६६।१०।१९ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम प्रतिवादीहरूको तर्फबाट यस अदालतमा पुनरावेदन परि पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य यसप्रकार छः-

मिति २०६५।६।२८ गते म धुर्कोट रजस्थल गा.वि.स. अन्तर्गत पर्ने धुर्कोटको कोटमा सरायको मेला हेरी फर्कने क्रममा भनभने गा.वि.स. वडा नं. ३ नयाँ खोरी आउँदा बाटोमा खुकुरी देखाई लछारपछार गरी दुवै कानको रिङ एक तोलाको र सात गेडीसहितको शोभाकीसमेत लुटी बाटोदेखि तल एकान्तस्थल बाँसघारीमा लगी कसैले कन्डम लगाई कसैले नलगाई गुल्मी हाडहाडे ४ बस्ने बासुदेव चन्द, अमृत श्रीस, दीपक चन्द, वासुदेव खत्रीले मलाई पालैपालो जबरजस्तीकरणी गरेको हुँदा कानूनबमोजिम कारवाही अघि बढाइपाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली गिता ओलीको तर्फबाट मिति २०६५।७।७ मा परेको जाहेरी दरखास्त ।

गुल्मी भनभने गा.वि.स. वडा नं. ३ नयाँखोरीस्थित पूर्व इश्वर बहादुरको पाखोबारी, पश्चिम टोमबहादुरको पाखोबारी, उत्तर टोमबहादुरको कोदोबारी दक्षिण पूर्व तथा पश्चिम मानिस हिँड्ने गोरेटो बाटो ४ किल्लाभित्रको काले भण्डारीको कोदोबारी भएको पाखो जग्गामा रहेको कोदो मडारिदै खरबारीतर्फ सुर्कामा रहेको खरबारीको घाँस मडारिएको खरबारीमा चुराको फुटेका टुक्राहरू र दुई थान कन्डम रहेको भन्नेसमेत व्यहोराको २०६५।७।७ को घटनास्थल मुचुल्का ।

प्रतिवादीहरूको शरीरमा कुनै घाउ चोट नभएको भन्नेसमेत व्यहोराको २०६५।७।७ मा जिल्ला स्वास्थ्य कार्यालय, गुल्मीबाट भएको स्वास्थ्य परीक्षण प्रतिवेदन । 

७।८ दिन पुरानो ४ से.मी. साइजको तल्लो छातीमा नराम्रो लछारिएको चोट, ७ दिन पुरानो ३ से.मी. साइजको दायाँ पाखुरामा नराम्रोसँग लछारिएको चोट, रगत कटकटिएको साप्रोमा दाग, योनीको रौँमा रगत देखिएको, घटनाको ९ दिनपछि परीक्षण गरिएकाले करणी भएको छ छैन भन्न नसकिने भन्नेसमेत व्यहोराको पीडित गिता ओलीको ०६५।७।८ को स्वास्थ्य परीक्षण प्रतिवेदन ।

२०६५।६।२८ गते दीपक चन्द, वासुदेव चन्द, अमृत श्रीस र मसमेत ४ जना भै धुर्कोटको कोटमा सराय खेली फर्कदा बाटोमा ५।६ जना केटीहरू भेट भै १५।२० मिनटसँगै हिँडी बाटोको दोकानमा बस्यौँ । केटीहरू अगाडि गएकामा पुनः भनभने गेट नजिक निज केटीहरूसँग भेट भै जाँदै गर्दा गिता ओली र म अन्य साथीलाई बाटोमा छाडी बाटोभन्दा केही तल कोदोबारी हुँदै खरबारीमा गै गिता ओलीलाई मैले करणी गरेँ । त्यसपछि अन्य ३ जना साथीले निजलाई करणी गरेको हो ।  जबरजस्ती करणी गरेको होइन र निजका गहना मैले देखिन भन्नेसमेत व्यहोराको प्रतिवादी बासुदेव खत्रीले मिति २०६५।७।१७ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

बासुदेव चन्द, अमृत श्रीस, बासुदेव खत्री र मसमेत ४ जना भै धुर्कोटको कोटमा सराय खेली फर्कने क्रममा बाटोमा ५।६ जना केटी फेला परी सँगै गै बाटोमा दुकानमा केटीहरूलाई छाडी नास्ता खाई जाँदा पुनः निज केटीहरूलाई फेला पारी जाँदै गर्दा बासुदेव खत्री र गिता ओली बाटोदेखि तल कोदोबारी हुँदै खरबारीतर्फ गए । अन्य केटीहरू भागे । गिता ओलीलाई बासुदेव खत्रीले करणी गरिसकेपछि मैले निजलाई कन्डम प्रयोग गरी एक पटक करणी गरेको हो । पछि अरू साथीले करणी गरेका हुन् । खुकुरी देखाई करणी गरेको 

होइन । जबरजस्ती करणी गरेको होइन सहमतिमा करणी गरेको हो । जाहेरीवालीको गहना देखिन भन्नेसमेत व्यहोराको प्रतिवादी दीपक चन्दले मिति २०६५।७।१८ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६५।६।२८ गते दीपक चन्द, बासुदेव चन्द, बासुदेव खत्री र म ४ जना धुर्कोट वस्तुको कोट मन्दिरमा सराय मेला हेर्न गै सराय खेली घर फर्कदै गर्दा बाटोमा ४।५ ‌ओटी केटी फेला पारी १५।२० मिनेटसँगै हिँडी बाटोमा नास्ता खान 

रोकियौं । केटीहरू अगाडि गए । हामी ४ जना नास्ता खाई जाँदा भनभने पुलनिर निज केटीहरू पुनः भेट भै निजहरूसँगै मजाक गर्दै गैरहेको अवस्थामा जाहेरवाली गिता ओली र बासुदेव खत्री हामीलाई छाडी कोदोबारी हुँदै खरबारी तर्फ लागे । केही क्षणपछि दीपक चन्द गए र मैले पनि कन्डम लगाई गिता ओलीलाई एक पटक करणी गरेको हुँ । मैले सराय खेल्नको लागि खुकुरी लिएर गएको हुँ । जाहेरवालीलाई खुकुरी देखाई जबरजस्ती करणी गरेको होइन । जाहेरीवालीको गहना देखिन भन्नेसमेत व्यहोराको प्रतिवादी अमृत श्रीसले मिति २०६५।७।१७ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

अमृत श्रीस, बासुदेव खत्री, दीपक चन्द र मसमेत ४ जनाले मिति २०६५।६।२८ गते धुर्कोट वस्तुस्थित धुर्कोटको मन्दिर कोटमा गै सराय खेली घर फर्कने क्रममा बाटोमा ४ ।५ ओटी केटीहरू फेला पारी निजहरूसँग हाँसी मजाक गरी आयौँ । बाटोको दोकानमा नास्ता खायौँ र घरतर्फ जाँदै गर्दा भनभने पुलमा पहिला भेटिएका केटीहरू भेटिएपछि केटीहरूले गिजाउन थाले र हामी पनि जिस्कँदै नयाँ खोरी भन्ने स्थानमा पुग्दा जाहेरवाली र बासुदेव खत्री बाटो मुनी कोदोबारी हुँदै खरबारीतर्फ लागे । अरू केटीहरू 

भागे । जाहेरवालीलाई पहिला बासुदेव खत्री र पछि दीपक चन्द, त्यसपछि अमृत श्रीस र अन्तमा मैले एक पटक करणी गरेको हुँ । खुकुरी देखाई जबरजस्ती करणी गरेको होइन । सहमतिबाट करणी गरेको हो ।  जाहेरवालीको गहना मैले देखिन भन्नेसमेत व्यहोराको प्रतिवादी बासुदेव चन्दले मिति २०६५।७।१८ गते अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान ।

मिति २०६५।६।२८ गते बेलुका साढे आठ बजेतिर धुर्कोटबाट मेला हेरी फर्केका गाउँकै सीता ओली, रमेश वि.क. समेतले हामीलाई दीपक चन्द, बासुदेव चन्द, बासुदेव खत्री र अमृत श्रीसले खुकुरी देखाई र धाकधम्की दिएकाले भागी आएका हौं । गिता ओली कता गइन थाहा भएन भनेकाले गोपाल के.सी. टोपबहादुर ओली र मसमेत भै खोज तलास गर्दै जाँदा भनभने ३ नयाँखोरी भन्ने स्थानमा मडारिएको कोदोबारीमा गिता ओलीलाई अचेत अवस्थामा शरीर उत्तानो तल्लो शरिरमा लगाएको साडी पेटीकोट माथि फर्काएको, गुप्ताङ्गसमेत नाङ्गो र करणी भएको अवस्थामा फेलापारी मसमेत भै निजलाई उठाई निजकै घरमा लगी छाडी दिएका हौं । तत्काल प्रहरीमा खबर गर्न थाहा पाएनौ पछि गिता ओलीले आफैँ प्रहरीमा जाहेर गरेकी हुन् । प्रतिवादीहरूले पालैपालो गरी निज गिता ओलीलाई करणी गरेकामा विश्वास 

लाग्छ । निजहरूलाई कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको मिति २०६५।७।२२ मा अन्जु सेनले प्रहरीसमक्ष गरेको कागज ।

मिति २०६५।६।२८ गते धुर्कोटको कोट सराय हेरी घर फर्कंदा भनभने पुलमा पुग्दा बासुदेव खत्री, बासुदेव चन्द अमृत श्रीस र दीपक चन्द बसेका 

रहेछन् । जाहेरवाली र मसमेत सो पुलमा क्रस गरी आउँदा केटाहरू हाम्रो पछि लागेका र जिस्काउँदै भनभने ३ नयाँखोरी पुगेपछि बासुदेव खत्रीले जाहेरवालीलाई कोदोबारी हुँदै खरबारीतर्फ लगेकाले हार गुहार गर्दा अन्य केटाहरूले खुकुरी देखाई भाग भनेकाले हामी डरले भागी गाउँमा गै गुहार गरी अन्जु सेनसमेतका गाउँका मानिसहरू गई हेर्दा भाउजू बलात्कृत अवस्थामा थिइन । केटाहरू भागिसकेका थिए । प्रतिवादीहरूले पालैपालो गिता ओलीलाई करणी गरेको हुँदा कारवाही हुनुपर्छ भन्नेसमेत व्यहोराको विष्णु वि.क.ले ०६५ ।७।२२ मा प्रहरीमा गरेको कागज तथा सोही व्यहोरा मिलानको रमेश वि.क., गोपाल के.सी., सीता ओली र टोपबहादुर ओलीको ०६५।७।२४ मा प्रहरीमा भएको कागज ।

मिति ०६५।६।२८ गते धुर्कोट रजस्थलस्थित कोटमा सराय मेला हेरी घरतर्फ फर्कने क्रममा भनभने ३ नयाँपोखरी पुग्दा प्रतिवादीहरूले गिता ओलीलाई जबरजस्ती करणी गरेको सुनेको हो । प्रतिवादीहरूले जाहेरवालीलाई जबरजस्ती करणी गरेकोमा पूर्ण विश्वास लाग्छ । प्रतिवादीहरूलाई कडाभन्दा कडा कारवाही होस् भन्ने रेशम बहादुर चन्द, खिमबहादुर घर्ती, विष्णु जि.सी. र खिमबहादुर ओलीको मिति २०६५।७।२७ मा गरिदिएको एकै मिलानको वस्तुस्थिति मुचुल्का । 

प्रतिवादी अमृत श्रीसको विडमा सेतो टल्कने कागजले बारेको दाबीसहितको फलामको खुकुरी थान १ बरामद भएको भन्ने र प्रतिवादी दीपक चन्दको घरबाट बिँडमा सेतो प्लास्टिकले बेरेको नाङ्गो फलामको खुकुरी १ थान बरामद भएको भन्ने २०६५।७।२९ को बरामदी मुचुल्का ।

खुकुरी देखे चिने सनाखत गरे मेरो घरबाट बरामद भएको भन्ने प्रतिवादी अमृत श्रीस  र प्रतिवादी दीपक चन्दको २०६५।७।२९ को सनाखत कागज ।

प्रतिवादीहरूले जाहेरवालीलाई खुकुरी देखाई हातपात गरी डरत्रासमा पारी मुलुकी ऐन, चोरीको १ नं. द्वारा परिभाषित ऐ. चोरीको ४ नं. बमोजिम २ तोलाका सुनका गहना चोरी गरी चारैजना प्रतिवादीहरूले पालैपालो जाहेरवालीलाई जबरजस्ती करणी गरी मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ नं. बमोजिमको कसुर गरेको निजहरूको साबिती, बुझिएका र वस्तुस्थिति मुचुल्काका मानिससमेतको कागजबाट पुष्टि हुन आएकाले निज प्रतिवादीहरूलाई चोरीको ४ नं. को कसुरमा ऐ को १२ र १४(२) नं. बमोजिम सजाय गरी ऐ. को १४ नं. ले बिगो दिलाईभराई सामूहिक जबरजस्ती करणीतर्फ चारैजना प्रतिवादीहरूलाई जबरजस्ती करणीको १ नं. को कसुरमा सोही महलको ३ नं. को देहाय ५ र ऐ. महलको ३(क) नं. बमोजिम थप सजाय गरी सोही महलको १० नं. बमोजिम पीडित जाहेरवालीलाई क्षतिपूर्ति दिलाई भराई पाउन मागदाबी लिई दर्ता भएको मिति २०६५।८।४ को नेपाल सरकारको अभियोगपत्र । 

२०६५ साल आश्विन २८ गते म, दीपक चन्द, बासुदेव चन्द र अमृत श्रीस धुर्कोट रजस्थलको कोटको सराय खेली मेला हेरी घरतर्फ जाने क्रममा बाटोमा ५।६ जना केटीहरू समेत जाहेरवालीसँग भेट भयो । कुराकानी गर्दै जाँदा दुकानमा पुगी हामीले नास्ता खान लाग्यौं । केटीहरू अगाडि लागे । भनभने पुलमा पुग्दा ती केटीहरू बसी रहेका रहेछन् । हामीसँग लाइट मागेकाले दिन सक्दैनौँ भन्दा लाइट देखाउन भनेकाले लाइट देखाउँदै जाँदा केटीहरूले तपाइँहरूले हामीहरूलाई लैजानुपर्छ भनेकाले तिमीहरूलाई लान सक्दनौं भन्दा केही गर्न त सक्नुहुन्छ भने हामीले गर्न सक्ने काम भए गरौंला भन्दा जाहेरवाली गिता ओली मसँग अङ्गालो मारी अगाडि दौडँदै गइन् र म पनिसँगै गएँ । गिताले साथीहरू बोलाउनुस् ४ जनाले करणी गरे पनि मलाई असर पर्दैन भनेकीले जाहेरवाली र म बाटोमुनी कोदो भएको पाटोबाट खरबारीमा पुगी मैले कन्डम लगाएर करणी गर्छुभन्दा जाहेरीवालीले कन्डम लगाउनु पर्दैन भनेकीले जाहेरवालीलाई उनैको सल्लाहबमोजिम करणी गरेको हुँदा जाहेरवालीले केटाहरूलाई पनि पठाइदिनुस् भनेपछि साथी दीपक चन्दले पनि करणी गरे । त्यसपछि पालैपालो अमृत श्रीस र बासुदेव चन्दसमेतले जाहेरवालीलाई करणी गरी जाहेरवालीलाई घर नजिक पुर्‍याई आ-आफ्नो घर तर्फ लागेका हौं । जबरजस्ती करणी गरेको हैन । खुकुरी देखाई गहना खोसेको होइन । झुट्ठा अभियोगबाट फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बासुदेव खत्रीले २०६५।८।४ मा सुरू अदालतसमक्ष गरेको बयान ।

२०६५।६।२८ गते धुर्कोटको कोट सराय मेलाबाट घरतर्फ बासुदेव चन्द, बासुदेव खत्री, अमृत श्रीस र म भै आउँदा बाटोमा जाहेरवाली गिता ओलीलगायत ५।६ जना केटीहरू भेटिए । तपाईंहरूले हामीलाई लग्नैपर्छ भनेकाले लग्न सक्दैनौं भन्दा केही गर्न त सक्नुहुन्छ भनेकाले गर्न सक्ने काम भए गरौंला भनें । जाहेरवाली र बासुदेव खत्री हामीलाई छाडी अगाडि गए र बासुदेवले लाइट बालेर हामी रोक्कियौँ । जाहेरवालीका साथी गए । बासुदेव खत्रीले जाहेरवालीलाई करणी गरी आएपछि तँ पनि जा रे भनी बासुदेवले मलाई भनेपछि म पनि गएँ र जाहेरवालीलाई मिल्छ मिल्दैन भनि सोध्दा मिल्छ भनेकीले कन्डम प्रयोग गरी मैले पनि जाहेरवालीलाई करणी गरें र अरूलाई पनि पठाइदिन भनेकीले अमृत श्रीसलाई पठाई दिएँ । उक्त दिन म, बासुदेव खत्री, बासुदेव चन्द र अमृत श्रीस भै ४ जनाले पालैपालोसँग सल्लाह र सहमतिबाट जाहेरवाली गिता ओलीलाई करणी गरेका हौं । सुनका गहना देखे, लगेको होइन फुर्सद दिलाई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी दीपक चन्दले २०६५।८।४ मा सुरू अदालतसमक्ष गरेको बयान ।

म बासुदेव खत्री, दीपक चन्द र बासुदेव चन्द भै २०६५।६।२८ गते धुर्कोट कोट सराय मेला हेरी घर फर्की आउँदा जाहेरवाली र अरू ५ ओटी केटी बाटोमा भेटी तपाइँहरूले हामीलाई लानुस् भने । जाहेरवाली र बासुदेव खत्री कोदोबारीमुनि खरबारीमा गए हामी बाटोमा बस्यौँ । बासुदेव खत्रीले पहिला करणी गरेर आएपछि दीपक चन्द गए । दीपक चन्दले करणी गरी आएपछि मलाई जाउ भनेपछि म पनि जाहेरवालीसँग गै मैले गर्न मिल्छ मिल्दैन भनेँ । मिल्छ आउनुस् भनेकीले कन्डम लगाई जाहेरवाली गितालाई करणी गरेको हुँ । जाहेरवालीले अर्को साथीलाई पनि पठाइदिन भनेकीले मैले बासुदेव चन्दलाई पठाई निजले पनि करणी गरेका हुन् । खुकुरी देखाई सुनका गहना खोसी जबरजस्ती करणी गरे भन्ने झुट्ठा हो फुर्सद पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी अमृत श्रीसले २०६५।८।४ मा सुरू अदालतसमक्ष गरेको बयान ।

२०६५।६।२८ गते धुर्कोट कोट मेला हेरी म, बासुदेव खत्री, अमृत श्रीस र दीपक चन्द घरतर्फ फर्कदा ४।५ जना केटीहरू भेटिई सँगै जाँदा केटीहरूले हामीलाई सक्नुहुन्छ भन्दा सक्दैनौं भन्दा ऊ गर्न सक्नुहुन्छ भने हामीले सक्छौँ भन्यौँ । बासुदेव खत्री र गिता ओली अगाडि गए । बासुदेवले लाइट बाली रहेको देखी हामी बस्यौँ । अरू केटीहरू घरतर्फ 

गए । बासुदेवले जाहेरवालीलाई करणी गरी आए र दीपक चन्दलाई पठाए र जाहेरवालीलाई करणी गरी आई अमृत श्रीसलाई पठाए । अमृतले गरी आएपछि मलाई पठाई म गई पाइन्छ पाइँदैन भनी सोध्दा पाइन्छ भनेपछि कन्डम लगाई जाहेरवालीलाई करणी गरेको हुँ । जबरजस्ती करणी गरी गहना चोरी गरेको होइन सफाइ पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादी बासुदेव चन्दले २०६५।८।४ मा सुरू अदालतसमक्ष गरेको बयान ।

यसमा प्रतिवादीहरू चारै जनाले जाहेरवालीलाई करणी गरेका साबिती हुँदै मन्जुरीले करणी गरेको र गहना चोरी गरेमा इन्कारी देखिन्छन् । मन्जुरीसाथ करणी भए उजुरी गर्नुपर्ने कारण नदेखिएको, बरामदी सामान, पीडितको स्वास्थ्य परीक्षण, बुझिएका मानिसको कागजसमेतबाट तत्काल प्रतिवादीहरूलाई पुर्पक्ष निमित्त थुनामा राख्नु, जिल्ला न्यायाधीशज्यू उपस्थित भएपछि समर्थनको लागि प्रस्तुत आदेश पेस गर्नु भनी ०६५।८।४ मा स्रेस्तेदारबाट भएको आदेश ०६५।८।९ मा जिल्ला न्यायाधीशबाट समर्थन गर्दै जाहेरवालीले तत्काल इलाका प्रहरी कार्यालय, धुर्कोटमा दिएको जाहेरी झिकाउने, परीक्षण प्रतिवेदन झिकाउने र पीडितलगायत अनुसन्धानमा बुझिएका मानिस र प्रतिवादीहरूका साक्षी झिकाउने भन्नेसमेत भएको आदेश ।

वस्तुस्थिति मुचुल्कामा लेखाएको व्यहोरा र सहिछाप मेरो हो । घटनाको बारेमा ०६५।६।२९ मा थाहा पाएको हुँ भन्ने खिमबहादुर घर्तीको ०६५।१०।२२ को बकपत्र ।

०६५।६।२८ गते हारगुहार भएपछि मलगायत थुप्रै मानिस घटनास्थलमा आयौँ । जाहेरवाली अचेत अवस्थामा लडिरहेकी थिइन् । प्रहरीसमक्ष भएको कागज, सहिछाप र मेरो व्यहोरा ठिक हो । पीडितलाई मेरो गाउँकै मेडिकलमा उपचार गरियो भन्नेसमेत गोपाल के.सी. को बकपत्र र मेलाबाट घर फर्किँदा प्रतिवादीहरू ४ जना जिस्किँदै नयाँखोरा भन्ने ठाउँमा आउँदा जाहेरवालीको चप्पल एकजनाले कुल्ची दिएर निजलाई कोदाबारीमा फाली खरबारीमा लगे र हामीहरूलाई खुकुरी देखाएर भाग भने । प्रहरीमा भएको कागज मेरै हो भन्नेसमेत विष्णु वि.क. टोपबहादुर वली, अन्जुसेनसमेतको अदालतमा भएको बकपत्र ।

२०६५।६।२८ गते मेला हेरेर फर्किँदा गुल्मी जिल्लाको भनभनेमा पर्ने पुलनिर पुग्दा मेरो ४ जना प्रतिवादीसँग भेट भयो । प्रतिवादीमध्ये बासुदेव खत्रीले मेरो चप्पल कुल्ची मलाई टिपेर फाले, म बेहोस भएँ । जाहेरी व्यहोरा ठिक हो । प्रतिवादीहरू २ जनाले सम्म करणी गरेको थाहा पाउँछु । सल्लाहबाट भएको होइन भन्ने जाहेरवालीको ०६५।१०।२१ को बकपत्र ।

प्रतिवादीले जाहेरवालीलाई सहमतिबाट करणी गरेको हुनुपर्छ भनी निजहरूका साक्षीको तर्फबाट भएको बकपत्र ।

धुर्कोट मेला हेरी फर्की आउँदा २०६५।६।२८ गते राति ७.३० बजे खुकुरी देखाई साथीलाई लखेटी दीपक चन्दसमेत ३ जनाले मलाई भनभने गा.वि.स. वडा नं. ३ पोलका घरदेखि केहीपर बाटोदेखि तल १५।२० हात तल लछारपछार गरी लगे र रूमालले मुख थुनी गहना लुटी इज्जतमा दाग लाग्ने गरी करणी गर्न खोजियो । म बेहोस भएँ, थाहा भएन उपस्थित गराई छलफल गरी न्याय पाउँ भन्नेसमेत व्यहोराको जाहेरवाली गिता ओलीको २०६५।७।१ गते इ.प्र.का. पुर्कोट दहमा दिएको निवेदनको व्यहोरा ।

जाहेरवालीको परीक्षण प्रतिवेदन मिसिल सामेल रहेछ ।

यसमा समग्र घटनाक्रम र मिसिल संलग्न प्रमाणबाट प्रतिवादीहरूले जाहेरवालीलाई जबरजस्ती करणी गरेको देखिन आएकाले जाहेरवाली गिता ओलीलाई जबरजस्ती करणी गरेको कसुरमा प्रतिवादीहरू बासुदेव खत्री, बासुदेव चन्द, अमृत श्रीस र दीपक चन्द चारै जनालाई मुलुकी ऐन, जबरजस्ती करणीको ३ को देहाय ५ नं. ले  जनही ५ वर्ष कैद हुने ठहर्छ । प्रतिवादी बासुदेव खत्री र बासुदेव चन्दबाट रू.३०।३० हजार र अमृत श्रीस र दीपक चन्दबाट रू.२०।२० हजारका दरले जाहरेवालीले क्षतिपूर्ति भराई पाउँछिन् । चोरीतर्फको अभियोग दाबी पुग्न सक्तैन भन्ने मिति २०६६।२।१३।४ को गुल्मी जिल्ला अदालतको फैसला ।

अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत करणीमा स्वीकार गरी बयान गरेको तथ्यलाई साबितीसरह हामी विरूद्ध प्रमाण लिन मिल्ने होइन । जाहेरवालीलाई २ जनाले कन्डम प्रयोग गरी २ जनाले कन्डम प्रयोग नगरी करणी गरेको अवस्थामा जबरजस्ती करणी भन्न सुहाउने अवस्था छैन । पुर्कोटदह इलाका प्रहरी कार्यालयमा दिएको दरखास्त, निजले अदालतमा गरेको बकपत्र, जिल्ला प्रहरी कार्यालय, गुल्मीमा दिएको दरखास्त एक आपसमा विरोधाभाष रहेको अवस्थामा जमिनको धेरै भागमा माडिएको, चुरा फुटेको, पीडितको शरीरमा चोट लागेकाले जबरजस्तीको शङ्का लिई जबरजस्ती करणीको अपराधमा दोषी ठहर गरेकाले सुरू फैसला बदर गरी छुटकारा पाउँ भन्ने प्रतिवादीहरूको पुनरावेदनपत्र ।

पीडितलाई प्रतिवादीहरूले सामूहिकरूपमा जबरजस्ती करणी गरेको तथ्य पुष्टि भैरहेको, चोरीतर्फको अभियोग दाबीसमेत पुष्टि भैरहेको र प्रतिवादीहरूबाट सामूहिकरूपमा जबरजस्तीकरणी भई शारिरीक मानसिकरूपमा समेत धेरै क्षति पुगेकामा कुनै स्पष्ट आधारसमेत नलिई प्रतिवादीहरूबाट अत्यन्त न्यून क्षतिपूर्ति भराउने गरी भएको फैसला बदर गरी अभियोग दाबीबमोजिम गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदनपत्र ।

प्रतिवादीहरू समूहमा रहेको र सबैले जाहेरवालीलाई जबरजस्ती करणी गर्दा एकले अर्कोलाई सहयोग गरी आपसमा सम्बन्धित रहेको स्थितिमा मुलुकी ऐन, जबरजस्ती करणीको महलको ३(क) नं. बमोजिम प्रतिवादीहरूलाई थप सजाय गर्नुपर्नेमा त्यसतर्फ सफाइ दिएको सुरू फैसला फरक पर्ने देखिएकामा दुवै पक्षको पुनरावेदन परेको हुँदा झिकाई रहनु परेन । वादी नेपाल सरकारको पुनरावेदनको जानकारी प्रतिवादीहरूलाई र प्रतिवादीहरूको पुनरावेदनको जानकारी वादी नेपाल सरकारलाई गराई नियमानुसार पेस गर्नु भन्ने २०६६।५।२९ को पुनरावेदन अदालतको आदेश ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरू चारै जनाको वारदातमा प्रत्यक्षरूपमा संलग्नता देखिएको 

छ । जबरजस्ती करणीको वारदात गर्न पीडितलाई लडाउने, लछारपछार पार्ने, खुकुरी देखाई पीडितका साथमा रहेका विष्णु वि.क.समेतलाई भगाउने र पीडित जाहेरवालीसँग प्रत्येक प्रतिवादीले जबरजस्ती करणी गरेको मिसिलबाट देखिँदा सो वारदात घटाउन यी प्रतिवादीहरूको एकअर्कालाई पूर्ण सहयोग रहेको मिसिल प्रमाणबाट देखिएको छ । वारदात घटाउन हुँदैन भनी कुनै प्रतिवादीले प्रयास गरेको मिसिलबाट देखिएको छैन । एक अर्काले जबरजस्ती करणी गर्न संयोग मिलाई सहयोग पुर्‍याउनुका साथै आफूले पनि जबरजस्ती करणी गरेको देखिँदा पुनरावेदक प्रतिवादीहरूले सामूहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने नै स्थापित हुन आएकाले जबरजस्ती करणीको ३क नं. बमोजिम पुनरावेदक प्रतिवादीहरूलाई थप ५ वर्ष कैद गर्नुपर्ने भन्ने नै देखिन आयो । प्रतिवादीहरूले सामूहिकरूपमा पीडितलाई जबरजस्ती करणी गरेको वारदातमा मुलुकी ऐन, जबरजस्ती करणीको ३(क) नं. बमोजिम थप सजाय ५ वर्ष कैदसमेत गर्नुपर्नेमा सो नगरी ऐ. ३ नं. को देहाय ५ बमोजिम सजाय ५ वर्ष कैद मात्र गरेको देखिँदा सो हदसम्मको सुरू गुल्मी जिल्ला अदालतबाट मिति २०६६।२।१३ मा भएको फैसला मिलेको नदेखिँदा सुरू फैसला केही उल्टी भै प्रतिवादीहरू जना चारलाई जनही जबरजस्ती करणीको ३(क) नं. बमोजिम ५ वर्ष थप कैदसमेत सजाय हुने ठहर्छ । अन्य कुरामा सुरू इन्साफ मिलेकै देखिँदा वादी नेपाल सरकार र प्रतिवादीहरू अमृत श्रीस, दीपक चन्द, बासुदेव खत्री र बासुदेव चन्दसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन भन्नेसमेत व्यहोरा पुनरावेदन अदालत, बुटवलबाट २०६६।१०।१९ मा भएको फैसला ।

प्रस्तुत मुद्दामा चारजनाले पालैपालोसँग करणी गरेको भन्ने आधारबाट सामूहिक जबरजस्ती करणीको वारदात स्थापित गर्न मिल्ने अवस्था 

छैन । जाहरेवालीले आफ्नो सतीत्व बचाउन वारदातको समयमा कुनै प्रतिकार गरेको कुरा मिसिल संलग्न प्रमाणबाट नखुलेको अवस्थामा त्यस्तो करणीलाई सहमतिमा भएको करणी मानिनुपर्छ । प्रहरीमा कागज गर्ने मानिसहरूको बकपत्र एकआपसमा विरोधाभाषपूर्ण छ । जाहेरीवालीले गरेको ३ वटा कागजमा भएको व्यहोरा एक आपसमा मेल खाएको छैन । केबल शङ्काजन्य र अस्पष्ट प्रमाणको आधार लिई सुरू र पुनरावेदनबाट सजाय गरिनु पूर्णतः अन्याय हो । सुरूले हामीले पुनरावेदनमा लिएको जिकिरअनुसार नि.नं. ७६६४ को नजिर के कारणले ग्राह्‍य हुन नसक्ने हो भन्ने विवेचना गरेको छैन । जाहेरवालीले हामीसँग सहमतिका साथ करणी लिनुदिनु गरेको कुरा छिपाउन नसकी आफू निर्दोष बन्न झुट्ठा जाहेरी दिएको हुँदा ने.का.प. २०२७ को पृ.६१ ने.का.प. २०४२ को पृ.५४३ ने.का.प. २०३७ को पृ. ६२ ने.का.प. २०६३ को पृ.३३० लगायतका कानूनी सिद्धान्तसमेतको आधारबाट समेत सुरू र पुनरावेदन अदालत, बुटवलबाट भएको फैसला बदर गरी झुट्ठा अभियोग दाबीबाट हामीहरूलाई फुर्सद गराई पाउँ भन्नेसमेत व्यहोराको प्रतिवादीहरूको तर्फबाट मिति २०६७।३।१६ मा यस अदालतमा पर्न आएको संयुक्त पुनरावेदन जिकिर ।

नियमबमोजिम साप्ताहिक तथा दैनिक मुद्दा पेसी सूचिमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूको तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ता श्री पदम रोक्काले प्रस्तुत वारदात जबरजस्ती करणीको वारदात नभई पीडित भनिएकी जाहेरवालीको सहमतिमा भएको करणी हो, सहमतिमा भएको करणीबाट गाउँ घरमा आफ्नो बदनाम हुने अवस्था आएपछि मात्र जाहेरवालीले घटना भएको तीन दिनपछि अस्पष्ट र अधुरो जाहेरी दिएको अवस्था छ । चारैजना प्रतिवादीले सामूहिकरूपमा बाँध-छाँद, छेक-थुन आदि कुनै कार्य नगरी पालैपालो सहमति मन्जुरीमा करणी गरेको हुँदा प्रस्तुत वारदातलाई सामूहिकरूपमा गरिएको जबरजस्ती करणीको नाम दिन नमिल्नेमा सामूहिक जबरजस्ती करणीको अपराध ठहर गरी सुरू फैसला केही उल्टी हुने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेको छैन भनी प्रस्तुत गर्नु भएको बहससमेत 

सुनियो ।

विद्वान्‌ कानून व्यवसायीको बहस जिकिर सुनी मिसिल संलगन कागजातहरू अध्ययन गरी निर्णयतर्फ विचार गर्दा पुनरावेदन अदालत, बुटवलको फैसला मिले नमिलेको सम्बन्धमा देहायको प्रश्नहरूको निरूपण गरी निर्णय दिनुपर्ने देखियो । 

(क) प्रस्तुत करणीसम्बन्धी वारदात जबरजस्ती वा सहमति कसरी भएको हो ? 

(ख) जबरजस्ती करणी भएको भए वारदात सामूहिकरूपमा भएको हो होइन ?

(ग) पुनरावेदन अदालतको फैसला मिलेको छ छैन ? पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन ?

 

२. यसमा सरायको मेला हेरी फर्कने क्रममा वासुदेव चन्द, अमृत श्रीस, दिपक चन्द र वासुदेव खत्रीले जबरजस्ती करणी गरेको हुँदा कारवाही गरिपाउँ भनी पीडितको तर्फबाट जाहेरी दरखास्त परेपश्चात् प्रस्तुत मुद्दामा कारवाही प्रारम्भ भएको पाइन्छ । सुरू अदालतबाट सबै प्रतिवादीलाई ५ वर्ष कैद सजाय हुने गरी निर्णय भएउपर वादी तथा प्रतिवादी दुवैको पुनरावेदन परेकामा पुनरावेदन अदालतबाट सुरू फैसला केही उल्टी गर्दै प्रतिवादीहरूलाई सामूहिक जबरजस्ती करणीतर्फ थप ५ वर्ष कैद सजाय भएको पाइन्छ । सोउपर प्रतिवादीहरूको तर्फबाट अभियोग दाबीबाट सफाइ पाउनुपर्ने जिकिरसहित यस अदालतसमक्ष पुनरावेदन परेको प्रस्तुत मुद्दामा माथि उल्लिखित पहिलो प्रश्नतर्फ विचार गर्दा प्रस्तुत वारदात प्रतिवादीले जिकिर गरेजस्तो सहमतिमा गरिएको करणी हो होइन भन्नेतर्फ विचार गर्दा पीडित जाहेरवालीले आफूउपर जबरजस्ती करणी भएको भनी प्रतिवादीहरूका विरूद्ध जाहेरी दरखास्त दिएकामा सबै प्रतिवादीहरूले पीडितलाई करणी गरेकामा स्वीकार गरेका तर जबरजस्ती नभई सहमतिबाट करणी गरेको भनी बयान गरेको देखिँदा करणी भए नभएको तथ्यतर्फ थप विचार गरिरहन परेन । 

३. मेला हेरी घर फर्कने क्रममा जाहेरवाली आफ्ना सँगीसाथीहरूका साथ रहेकामा खुकुरी देखाई अन्य साथीहरूलाई वारदातस्थलबाट भगाई आफूउपर जबरजस्ती वारदात घटाएको भन्ने व्यहोरा जाहेरी दरखास्तमा उल्लेख भएकामा प्रतिवादी वासुदेव खत्रीले पीडितको साथमा रहेका साथीहरूलाई बाटोमा छाडी बाटोभन्दा तल खरबारीमा गै पीडितलाई आफूले करणी गरेको र त्यसपछि आफूसँगै रहेका अन्य ३ जना साथीले पनि करणी गरेको भनी अनुसन्धानका क्रममा बयान गरेको देखिन्छ भने अन्य प्रतिवादीहरूले समेत पालैपालो निज पीडितलाई करणी गरेको तथ्य स्वीकार गरी बयान गरेको पाइन्छ । बयानको क्रममा प्रतिवादीमध्येका अमृत श्रीसले सराय खेल्नका लागि खुकुरी लिएर गएको तथ्य स्वीकार गरेको र दिपक चन्दको घरबाट उक्त खुकुरीसमेत बरामद भएको भन्ने बरामदी मुचुल्का देखिँदा प्रतिवादीहरूको सँगसाथमा वारदातको समयमा खुकुरीसमेत रहेको भन्ने तथ्य स्पष्ट हुन आयो । घटना घट्नु केहीअगाडि पीडितको साथमा रहेका विष्णु वि.क., रमेश वि.क., गोपाल के.सी., सीता ओली र टोपबहादुर ओलीसमेतले अनुसन्धान एवम् अदालतसमक्ष खुकुरी देखाएर आफूहरूलाई वारदातस्थलबाट भगाई पीडितउपर जबरजस्ती करणी गरेको भनी कागज एवम् बकपत्र गरिदिएको देखिन्छ । यसरी जाहेरीमा उल्लिखित खुकुरीको प्रसङ्ग बरामदी मुचुल्का, प्रतिवादीको बयान तथा वारदातअगाडि पीडितका साथमा रहेका व्यक्तिहरूले अदालतसमक्ष गरिदिएको बकपत्रसमेतबाट पुष्टि हुन आयो । 

४. कसुरमा आरोपित चारै जना प्रतिवादीहरूले पीडितलाई निजकै सहमतिमा करणी गरेको भनी जबरजस्तीको आरोपबाट इन्कार रहेपनि निजले करणीमा दिएको सहमति यो यसरी निजको स्वतन्त्र मन्जुरीबाट भएको हो भन्ने तथ्य स्थापित गर्न सकेको पाइँदैन । पीडितलाई सबैभन्दा पहिले करणी गर्ने वासुदेव खत्रीले अदालतसमक्ष बयान गर्दा पीडितको सहमतिमा आफूले करणी गरेको र पीडितले नै साथीहरूलाई समेत करणीको लागि पठाई दिन अनुरोध गरेपश्चात् साथीहरूले समेत करणी गरेका हुन् भनेको देखिन्छ भने अन्य तीनै जना प्रतिवादीले करणी गर्नु अगाडि पीडितलाई सोधी निजले हुन्छ भनेपश्चात् मात्र आफूहरूले करणी गरेको भनी करणीलाई सहमतिबाट नै भएको भन्ने तथ्य स्थापित गर्न खोजेको 

देखिन्छ । जबरजस्ती करणीको वारदातको समयमा पीडितले दिने सहमति स्वेच्छिक हो वा डर त्रास र करकापमा पारी दिएको हो सोसमेत विचार गर्नुपर्ने देखिँदा प्रस्तुत वारदातमा खुकुरी प्रयोगको सन्दर्भ स्थापित भैसकेको अवस्थामा पीडितले करणीको लागि सहमति नै दिएको भएपनि सो सहमतिलाई स्वतन्त्र सहमति मान्न सकिएन । जबरजस्ती करणीको १ नं. मा "कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मन्जुरी लिई वा नलिई करणी गरेमा निजले जबरजस्ती करणी गरेको ठहर्छ ।" सोही नम्बरको स्पष्टीकरण खण्ड (क) मा "डर, त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मन्जुरीलाई मन्जुरी मानिने छैन ।" 

५. यसरी जबरजस्ती करणीको महलको १ नं. ले उमेर पुगेका महिला र पुरूषबिचको सहमतिको करणीलाई जबरजस्ती करणीको अपराध नमानेको भए तापनि सोही महलको स्पष्टीकरण खण्डले डर, त्रास, इत्यादि सिर्जना गरी लिएको मन्जुरीलाई मन्जुरी नमानिने भनी स्पष्टरूपमा खण्डित गरेको 

देखियो । वारदातको समयमा पीडितसँग साथमा रहेका साथीहरूलाई वारदातस्थलबाट भगाउन खुकुरीको प्रयोग भएको अवस्थामा यी पीडितसँग करणीको सहमति लिनका लागि प्रतिवादीहरूबाट उक्त खुकुरी प्रयोग भएन भनी मान्न सकिएन । यसरी आफूउपर खुकुरी प्रयोग हुन सक्ने सम्भावित जोखिमबाट बच्न यदि पीडितले सहमति नै दिएको भएपनि त्यसलाई करणीको लागि सहमति दिएको भनी मान्न सकिएन । कानूनअनुसार पनि उक्त सहमतिले  वैधानिकता पाउन सक्ने देखिएन । 

६. हाम्रो सामाजिक मूल्य मान्यता हिन्दू सभ्यता र संस्कारबाट विकसित भएको अवस्थामा महिलाको सवाल सामाजिकरूपमा अत्यन्त संवेदनशील रहेको मानिन्छ । सामाजिक लोकलाजका कारण गोप्यरूपमा कुनै महिला तथा पुरूषले यौन सम्बन्ध कायम गर्ने गरे तापनि सङ्कुचित यौन विचारधारा रहेको हाम्रो समाजमा खुलमखुल्लारूपमा जाहेरवालीले आफ्नो सामाजिक प्रतिष्ठाको समेत विचार नै नगरी सार्वजनिकस्थलमा चार-चार जना पुरूषलाई एकैपटक करणी गर्न स्वेच्छिक मन्जुरी दिएकी होलिन् भनी मान्न सकिँदैन । पश्चिमा सभ्यता र संस्कारको जस्तो यौन खुलापनको मान्यता अवलम्बन नगरिएको सामाजिक पृष्ठभूमिमा ग्रामीण परिवेशमा हुर्केकी जाहेरवालीले आफ्नो स्वेच्छिक मन्जुरीले एकभन्दा बढी पुरूषलाई एकै समयमा करणीको लागि सहमति दिएकी होलिन् भनी अनुमान गर्नु सामान्यरूपमा प्रयोग गरिने विवेकभन्दा बाहिरको देखिन आयो । यसरी विवेकसम्मत रूपमा समेत अनुमान नै गर्न नसकिने तथ्य समावेश भएको प्रस्तुत वारदातमा पुनरावेदकले जिकिर गरेजस्तो करणी सहमतिमा भएको पाइएन । यसरी सहमतिबिना गरिएको करणीलाई जबरजस्ती करणी नै मान्नुपर्ने देखियो । 

७. पहिलो प्रश्नको विवेचनाबाट प्रतिवादीहरूबाट भएको करणी जबरजस्ती करणीको वारदात भन्ने तथ्य स्थापित भएको परिप्रेक्ष्यमा उक्त करणी सामूहिकरूपमा भएको हो, होइन भन्ने दोस्रो प्रश्नतर्फ विचार गर्दा सामूहिक शब्दका सम्बन्धमा नेपाली बृहत् शब्दकोषमा रहेको अर्थ हेर्दा "कुनै काम पूरा गर्नका लागि समूहमा एकत्र भै गरिने प्रयास" भन्ने उल्लेख भएको देखिन्छ । त्यसैगरी जबरजस्ती करणी शब्दलाई “इच्छाका विरूद्ध वा बलात्कारपूर्ण (जस्तो जबरजस्ती करणी, जबरजस्ती हातपात आदि)  सम्भोग भनी अर्थ गरेको पाइन्छ । यसरी फरक फरकरूपमा उल्लिखित शब्दहरूको सारलाई हेर्दा सामूहिक जबरजस्ती करणी भन्नाले सम्भोग कार्यका लागि समूहमा एकत्र भै कसैको इच्छा विरूद्ध गरिएको बलात्कारपूर्ण कार्य भनी अर्थ गर्न मिल्ने देखियो । मुलुकी ऐनमा सामूहिक जबरजस्ती करणीको परिभाषा नगरिएको भए तापनि सामूहिकरूपमा जबरजस्ती करणी गर्नेलाई थप सजाय गर्ने गरी जबरजस्ती करणीको महलको ३क नं. मा व्यवस्था गरेको 

पाइन्छ । यसरी हेर्दा सामूहिक जबरजस्ती करणी एक व्यक्तिले गर्ने जबरजस्ती करणीभन्दा गम्भीर किसिमको अपराधको रूपमा देखिन आयो । Indian Panel Code को section ३७६(२)(G) मा gang rape को सम्बन्धमा परिभाषा गरेको पाइन्छ । जसमा “Where a women is raped by one or more in a group of person acting in furtherence of their common intention each of the person shall be deemed to have committed gang rape with in the meaning of sub-section" यसरी भारतीय दण्ड संहितामा उल्लिखित परिभाषालाई हेर्दा सामूहिकरूपमा जबरजस्ती करणी हुनका लागि एकभन्दा बढी मानिसहरूको समूहको सामूहिक मनसाय र सामूहिक कार्यको रूपमा महिलाको विरूद्धमा हुने बलात्कारपूर्ण कार्यलाई gang rape को रूपमा लिएको देखिन्छ । 

८. वारदातमा सरायको मेला हेरी फर्कने क्रममा प्रतिवादीहरू चारैजना सँगै रहेका र निजहरूका साथमा खुकुरीसमेत भएको हुँदा पीडितको सँगसाथमा रहेको अन्य साथीहरूलाई खुकुरी देखाई भगाई पीडित गिता ‍ओलीलाई बाटोभन्दा मुनि एकान्तस्थलमा लगेको देखिन्छ । आरोपित केही प्रतिवादीले खुकुरी देखाई तर्साउने र केहिले बाटोदेखि तल लग्ने कार्य गरेको देखिँदा जबरजस्ती करणीपूर्व सबै प्रतिवादीहरूले एक आपसमा मिली करणीको लागि वातावरण मिलाएको देखिन्छ । पीडितलाई बाटोमुनि खरबारीमा लगी बासुदेव खत्रीलगायतका प्रतिवादीहरूले पालैपालो करणी गरेको भनी अनुसन्धान र अदालतमा समेत स्वीकार गरेको देखिँदा प्रतिवादीहरूले सङ्गठितरूपमा पीडितलाई करणी गर्ने मनसाय लिई उक्त दूषित (आपराधजन्य) मनसायलाई आपराधिक कार्यको रूप दिएको 

देखिन्छ । यसरी करणी गर्दाको बखत एकजनाभन्दा बढीको सामूहिक संलग्नता रहेको तथ्य निर्विवादरूपमा स्थापित भएको र करणी स्वेच्छिक नभई जबरजस्ती भएको पुष्टि भएको अवस्थामा प्रतिवादीहरूबाट भएको कार्य सामूहिक जबरजस्ती करणीको वारदातको रूपमा रहेको देखिन आयो । करणीको अपराधको प्रकृति अन्य अपराधभन्दा भिन्न हुने हुँदा पालैपालो करणी गरेको हुँदा सामूहिक जबरजस्ती करणी हुन नसक्ने भन्ने प्रतिवादीको जिकिर मनासिब देखिन आएन । 

९. यसरी पीडितको स्वेच्छाविपरीत घटनामा संलग्न पुनरावेदक प्रतिवादीहरूले एकै समयमा पालैपालो करणी गरेको तथ्य शङ्कारहित रूपमा स्थापित भएको अवस्थामा सुरू फैसला केही उल्टी गरी पुनरावेदक प्रतिवादीहरूलाई सामूहिक जबरजस्ती करणीतर्फ थप सजाय गर्ने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिन आयो ।

१०. तसर्थ माथिका प्रश्नहरूमा विवेचित आधार र कारणसमेतबाट जबरजस्ती करणीको महलको ३ नं. को देहाय ५ बमोजिम प्रतिवादीहरू चारै जनालाई जनही ५/५ वर्षमात्र कैद सजाय गरी निजहरूबाट पीडितलाई क्षतिपूर्तिसमेत भराइदिने ठहर गरेको सुरू फैसला केही उल्टी गरी पुनरावेदक प्रतिवादीहरूलाई उल्लिखित सजायको अतिरिक्त ऐ. महलको ३(क) नं. बमोजिम जनही थप ५/५ वर्ष कैद सजाय गर्ने गरी भएको पुनरावेदन अदालत, बुटवलको मिति २०६६।१०।१९ को फैसला मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीहरूको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनू ।

 

उक्त रायमा सहमत छु । 

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृतः चन्द्रप्रकाश तिवारी 

इति संवत् २०७२ साल जेठ १८ गते रोज २ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु