शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९४८४ - माना चामल नाता कायम

भाग: ५७ साल: २०७२ महिना: माघ अंक: १०

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ

माननीय न्यायाधीश श्री  देवेन्द्र गोपाल श्रेष्ठ 

फैसला मिति : २०७१।३।२४।३

०६७-CI-१११६

 

मुद्दा:  माना चामल नाता कायम ।

 

पुनरावेदक/प्रतिवादी : जिल्ला बागलुङ, भीम पोखरा गा. वि. स. वडा नं.२ रातमाटा भीरबारी बस्ने डम्बरबहादुर मल्लसमेत 

विरूद्ध

प्रत्यर्थी/वादी : जिल्ला बागलुङ, भीम पोखरा गा. वि. स. वडा नं २ बस्ने गुमा गिरी

 

अदालतले डि.एन.ए. परीक्षण गराउने आदेश गरि प्रतिवेदन आइसकेपछि उक्त परीक्षण प्रतिवेदनमा उल्लिखित रायलाई स्वीकार वा अस्वीकार गरि निर्णय गर्न अदालत स्वतन्त्र हुने भए तापनि त्यसको ठोस कारण उल्लेख गर्न सक्नु पर्दछ । डि.एन.ए. परीक्षण सत प्रतिशत सत्य हुन्छ भनि मान्न नसक्ने तर्क गर्ने हो भने त्यस्तो परीक्षणबाट प्राप्त नतिजालाई मिसिल संलग्न अन्य प्रमाणहरूसँग भिडाई हेर्दा मेल नखाएको र शङ्कास्पद अवस्थामा मात्र त्यसलाई नजरअन्दाज गर्न सकिने ।

डि.एन.ए. परीक्षण गर्ने विशेषज्ञले अदालतमा आफ्नो रायलाई पुष्टि गर्ने गरि बकपत्र गरेको अवस्थामा निजको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाण ग्राह्य मानेकै अवस्था देखिने ।

(प्रकरण नं. ५)

नाता कायम जस्तो मुद्दामा डि.एन.ए. परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिनाआधार अन्यथा हो भन्न नमिल्ने ।

(प्रकरण नं. ७) 

प्रतिवादीले वादी दाबीलाई अस्वीकार गरेको, डि.एन.ए. परीक्षणबाट बच्चाको जैविक बाबु प्रतिवादी होइन भन्ने देखिएको र विशेषज्ञले सो कुराको पुष्टि हुने गरि बकपत्र गरेको, डि.एन.ए. परीक्षण प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्‍याउने  प्रमाणको अभाव रहेको  एवम्‌ वादीले आफ्नो भनाइ पुष्टि गर्ने भरपर्दो प्रमाण पेस गर्न नसकेको अवस्थामा वादी र प्रतिवादीबिच लोग्ने स्वास्नीको नाता कायम हुने र वादीले प्रतिवादीबाट माना चामल भराइ लिन नपाउने । 

(प्रकरण नं. ८)

 

पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय विकाश भट्टराई र किशोर खतिवडा

प्रत्यर्थी/वादीका तर्फबाट : 

अवलम्बित नजिर :

ने.का.प. २०५२, कार्त्तिक,  नि. नं. ६०४६, पृ. ६४७

सम्बद्ध कानून :

प्रमाण ऐन, २०३१ को दफा १८, २६

 

सुरू तहमा फैसला गर्नेः 

मा.न्या. श्री भोलानाथ चौंलागाई

पुनरावेदन तहमा फैसला गर्नेः 

मा. न्या. श्री पोषनाथ शर्मा 

मा. न्या. श्री कुमारप्रसाद पोखरेल

 

फैसला

न्या. कल्याण श्रेष्ठ : न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन अदालत, बागलुङको फैसलाउपर मुद्दा दोहोर्‍याई पाउँ भन्ने प्रतिवादीको निवेदन परि पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार रहेको छः

विपक्षी डम्मरबहादुर मल्ल र मिनाकुमारी मल्ल मेरा सासू ससुरा र ईश्वर मल्ल मेरो लोग्ने हुनुहुन्छ । मेरा सासु, ससुराको ३ जना छोरामध्ये जेठा यामबहादुर मल्ल र छोरी मिनुको विवाह भइसकेको, कान्छा छोरा मेरो लोग्ने हाल भारतको आर्मीमा नोकरी गर्दै आउनु भएको छ । मेरो ठुलाबाबा जय गिरीको मृत्यु भएकाले मिति २०६३/५/१३ गतेका दिन म ठूलाबाबाको घरमा गएको थिएँ । सोही दिनमा किरियापुत्रीलाई भेटघाट गर्न एवम्‌ कुर्न विपक्षी मेरो लोग्ने आउनु भएको अवस्थामा भेटघाट भई विपक्षीले मलाई श्रीमती बनाउँछु भनि ललाई फकाई सोही रात ११ बजेको समयमा जबरजस्ती समाती करणी 

गर्नुभयो । विपक्षी र मेरो शारीरिक सम्पर्कबाट मेरो पेटमा गर्भ रहन गई मेरो पेट ठूलो देखिएकाले शङ्का गरेर माइती पक्षले गाउँघरमा छलफल गरि सोधनी गर्दा विपक्षी प्रतिवादी ईश्वर मल्लसँगको शारीरिक सम्पर्कबाट गर्भ रहन गएको कुरा थाहा जानकारी भई मिति २०६३।५।२४ गते विपक्षी प्रतिवादी ईश्वर मल्लको घरमा भित्रिन जाँदा भित्रिन नदिई मलाई लछार पछार पारी कुटपिट गरि घरबाट निकाला गरेकाले र विपक्षी मेरो लोग्ने भारतमा इण्डियन आर्मी भएकाले निजले रू.१०,०००।- तलब बुझ्ने हुँदा मलाई मासिक चार हजार माना चामल दिलाई भराई पाउँ भन्नेसमेत व्यहोराको फिराद पत्र ।

हामीहरूलाई सासू, ससुरा र लोग्ने भन्ने कुनै हक निवेदकलाई छैन । निवेदकको उक्त दाबी काल्पनिक र झुट्ठा हो । विपक्षीले भनेको मितिमा जय गिरीको घरमा म प्रतिवादी ईश्वर मल्ल गएको होइन । उक्त दिन र समयमा म प्रतिवादी ईश्वर मल्ल घरमा नभई सिंगाना गा.वि.स. वडा नं ४ स्थित दिदी डिलकुमारीको घरमा थिएँ । ऐ. ११ गतेदेखि ऐ.१३ गतेसम्म दिदीको घरमा बसी ऐ.१४ गते बेलुकी मात्र आफ्नो घरमा आएको 

हो । विपक्षीले भनेको मितिमा मैले किरियापुत्रीको घरमा गई विपक्षीसँग शारीरिक सम्पर्क गरेको होइन । मिति २०६३।५।२४ गते हामीहरूको घरमा आएको भन्ने भनाई पनि झुट्ठा र काल्पनिक हो । विपक्षीले कसको गर्भ बोकेकी हुन् मलाई थाहा जानकारी छैन भन्नेसमेत व्यहोराको डम्बरबहादुर मल्लसमेत जना ३ को संयुक्त प्रतिउत्तरपत्र । 

वादी गुमा मल्लसँग मेरो र मेरो छोरा ईश्वर मल्लको केही नाता नपर्ने हुँदा माना चामल दिनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी डम्बरबहादुर मल्ल र मीनाकुमारी मल्लले अ.बं. ८० नं. बमोजिम गरेको बयान ।

प्रतिवादी ईश्वर मल्लको शारीरिक सम्पर्कबाट गर्भ रहन गई मिति २०६४।१।१ मा छोराको जन्म भएको छ । प्रतिवादी ईश्वर मल्ललाई लोग्ने नाता कायम गरि न्वारान गराई माना चामल भराइपाउँ भन्नेसमेत व्यहोराको वादी गुमा मल्लले अ.बं. ८० नं बमोजिम गरेको बयान ।

डि.एन.ए. परीक्षण निराजन थापाको सहयोगबाट म आफैँले गरेको हो । बच्चाको डि.एन.ए. बाबुसँग नमिलेको भन्नेसमेत व्यहोराको विशेष वैज्ञानिक जीवनप्रसाद रिजालले गरेको बकपत्र । 

वादी गुमा जय गिरीको घरमा किरियापुत्रीलाई सहयोग गर्न भनि गएको बेला ईश्वर मल्ल पनि त्यहाँ गएको र राति निजहरूबिच करणी भएको हो भन्ने वादीका साक्षी पार्वती गिरीको बकपत्र र करिब सोही मिलानको चन्द्र के.सी., पुष्पा थापा, नारायणबहादुर भण्डारी, आनन्दराज पौडेल र टिकाराम पौडेलको बकपत्र । 

ईश्वर मल्ल मिति २०६३।५।११ देखि ऐ. १४ गतेसम्म डिलकुमारी हमालको घरमा थिए । सो अवधिमा निजको गुमा मल्लसँग सहवास भएको थिएन भन्ने प्रतिवादीका साक्षी डिलकुमारी हमालको बकपत्र र करिब सोही मिलानको मानकुमारी मल्ल, विद्यापति गौतम, मिना हमाल, इन्द्रकुमारी मल्ल, प्रेमबहादुर मल्ल र सेती मल्लको जन्मेको बच्चाको पितृत्वको ठेगाना गर्नुपर्दा आमाको भनाईले महत्त्व पाउने भनि सर्वोच्च अदालतबाट विभिन्न मुद्दामा सिद्धान्त प्रतिपादन भइसकेको अवस्था हुँदा वादी गुमा प्रतिवादी ईश्वर मल्लको श्रीमती र निज वादीबाट जन्मेको बच्चा छोरा नाता कायम हुने तथा नाबालक छोराको न्वारानसमेत प्रतिवादीहरूबाट गरिदिनुपर्ने ठहर्छ । साथै वादीले प्रतिवादीहरूबाट मासिक रू.३०००।- का दरले माना चामलबापतको मासिक खर्च भरिपाउने ठहर्छ भन्ने बागलुङ जिल्ला अदालतको मिति २०६५।५।१० को फैसला । 

वादीबाट जन्मेको बच्चा म प्रतिवादी ईश्वर मल्लको छोरा होइन । डि.एन.ए. परीक्षणबाट वादी गुमाबाट जन्मेको छोरा म प्रतिवादी ईश्वर मल्लको नभएको देखिँदादेखिँदै वादीबाट जन्मिएको छोरासँग मेरो नाता कायम गरिदिने बागलुङ जिल्ला अदालतको फैसला उल्टी गरिपाउँ भन्ने ईश्वर मल्लसमेतका प्रतिवादीहरूको पुनरावेदन अदालत, बागलुङमा परेको पुनरावेदन ।

सामान्य तलब पाई भारतीय सिपाही पदमा प्रतिवादी कार्यरत्‌ रहेको अवस्थामा यिनै प्रतिवादीको जागिर र बडप्पनमा लोभिएर अर्काको गर्भलाई पनि निजकै हो भन्नुपर्ने स्थिति नदेखिएको, प्रतिवादीले वादीको चरित्र खराब थियो भनि प्रतिउत्तर जिकिर र नातातर्फको बयानमा उल्लेख गर्न नसकेको तथा आमाको भनाइलाई नै पितृत्वको सम्बन्धमा विश्वसनीय मान्नुपर्ने हुन्छ । साथै डि.एन.ए. परीक्षण प्रतिवेदन शतप्रतिशत ठिक नै हुने निश्चित नहुने हुँदा वादी गुमा गिरी (मल्ल) र प्रतिवादी ईश्वर मल्लबिच लोग्ने स्वास्नीको नाता कायम हुने र माना चामलसमेत वादीले भरिपाउने गरि भएको बागलुङ जिल्ला अदालतको फैसला सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, बागलुङको मिति २०६६।११।१२ को फैसला ।

प्रतिवादीतर्फका साक्षीहरूको भनाइलाई मूल्याङ्कन नगरिएको डि.एन.ए. परीक्षण प्रतिवेदन र विशेषज्ञको बकपत्रलाई प्रमाणमा नलिइएको र मिति २०६३।५।१३ गते राती १ बजेको सहवासको परिणामबाट नै बच्चा जन्मिएको भन्ने वादी दाबी पुष्टि हुन नसकेको अवस्थामा नाता कायम हुने गरि भएको पुनरावेदन अदालत, बागलुङको फैसलामा प्रमाण ऐन, २०३१ को दफा ३,८,१८ एवम्‌ दफा ५४ को प्रतिबन्धात्मक वाक्यांशको त्रुटि हुनुका साथै सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तको प्रतिकूल भएकाले मुद्दा दोहोर्‍याई पाउँ भन्ने प्रतिवादीहरूको यस अदालतमा परेको निवेदन ।

वादीका साक्षीको बकपत्रमा एकरूपता नदेखिएको, वादी गुमा गिरीबाट जन्मिएको बच्चा कुनै तथ्य वा प्रमाणको शृङ्खलाबाट प्रतिवादीको भएको भन्ने पुष्टि हुन नसकेको तथा डि.एन.ए. परीक्षणबाट समेत पुष्टि हुन नसकेको अवस्थामा केवल वादीको भनाईकै भरमा दाबीबमोजिम नाता कायम हुने ठहर गरि भएको पुनरावेदन अदालत, बागलुङको फैसलामा अ.बं. १८४क नं. र प्रमाण ऐन, २०३१ को दफा ५४ को व्याख्यात्मक त्रुटि देखिन आएकाले न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्रदान गरिएको भन्ने यस अदालतको मिति २०६७।११।६ को 

आदेश ।

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट उपस्थित विद्वान्‌ अधिवक्ताद्वय श्री विकाश भट्टराई र श्री किशोर खतिवडाले प्रस्तुत मुद्दामा डि.एन.ए. परीक्षण प्रतिवेदन एवम्‌ विशेषज्ञको बकपत्रको मूल्याङ्कन नै नगरि फैसला भएको छ, प्रतिवादीका साक्षीहरूको भनाइलाई विश्लेषण र मनन गरिएको छैन, वादीले भनेको कुरालाई एक पक्षीयरूपमा आधार मानी गरिएको फैसलामा न्यायिक मनको प्रयोग भएको छैन, प्रतिवादीलाई आफूले नगरेको नबिराएको कामको परिणाम थोपार्ने काम भएको छ, तसर्थ पुनरावेदन अदालत, बागलुङको फैसला उल्टी गरिपाउँ भनि बहस प्रस्तुत गर्नुभयो । 

विद्वान्‌ कानून व्यवसायीहरूको बहस जिकिर सुनि तथा मिसिल संलग्न कागजातहरू अध्ययन गरि हेर्दा प्रस्तुत मुद्दामा वादीले जन्माएको बच्चाको पितृत्वको सम्बन्ध प्रतिवादी ईश्वर मल्लसँग छ, छैन यस सम्बन्धमा पुनरावेदन अदालत, बागलुङबाट भएको फैसला मिलेको छ, छैन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो । 

२. यसमा निर्णयतर्फ विचार गर्दा म किरियापुत्रीलाई हेरचाह गर्न ठूलाबाबाको घरमा गएको बेला प्रतिवादी ईश्वर मल्ल पनि त्यहीँ आई बसेका थिए, राती मलाई स्वास्नी बनाउँछु भनि ललाई फकाई करणी गरे र त्यसकै कारण गर्भ रहन गएकामा प्रतिवादीहरूले मलाई घरमा भित्रिन नदिएको भन्ने व्यहोरा उल्लेख गरि नाता कायम र  माना चामलतर्फ फिराद दिएको 

देखिन्छ । यसमा करणी भएको भनिएको मिति २०६३।५।१३ मा प्रतिवादी ईश्वर मल्ल वादीले भनेको किरियापुत्रीको घरमा नै गएको होइन, वादीको भनाई झुट्ठा हो भनि प्रतिउत्तर पेस गरेको देखियो । यी वादी र प्रतिवादीका साक्षीहरूले आ-आफ्नो पक्षको हकमा बकपत्र गरेको पाइन्छ ।

३. पुनरावेदन अदालतबाट फैसला हुँदा यी दुवै पक्षका साक्षीहरूको भनाईलाई विश्लेषण गरिएको पाइएन । करणी भएको भनिएको राति वादी र प्रतिवादी ईश्वर मल्ल एकै ठाउँमा रहेको र करणी गरिसकेपछि जान लाग्दा देखेको भन्ने वादीका साक्षी पार्वती गिरीको घरमा मिति २०६३।५।६ गतेदेखि ऐ. १३ गतेसम्म लगातार बसेकी र काममा सघाएको भनि बकपत्र गरेको देखिन्छ । निजको यही भनाइ वादीको फिरादमा भएको व्यहोरासँग मेल खाँदैन । फिरादमा वादी गुमाले मिति २०६३।५।१३ गते किरियापुत्रीको घरमा गएको र सोही दिन प्रतिवादी ईश्वर मल्ल त्यहाँ पुगी राति करणी गरेको व्यहोरा उल्लेख गरेको देखियो । वादीकै अर्का साक्षी टीकाराम पौडेलले वादी किरियापुत्री रहेको घरमा मिति २०६३।५।१७ गतेसम्म बसेको भनि बकपत्र गरेको देखियो । वादी र प्रतिवादीबिच करणी भएको विषयलाई वादी आफ्ना जेठाबाबाको घरमा कति दिनसम्म बसिन् भन्ने कुरासँग मूलभूतरूपमा अन्तरसम्बन्धित नहुने भए तापनि तथ्यगत मेल नखाएको कारण यसबाट वादी र निजका साक्षीहरूको भनाई केही शङ्कास्पद भने देखिन आएको छ । 

४. वादी गुमाका अन्य साक्षीहरू कसैले पनि करणी भएको राति वा दिउँसोतिर निज र प्रतिवादीलाई एकैसाथ सँगै देखेको भनि उल्लेख गर्न सकेका छैनन् । किरियापुत्री बसेको अवस्थामा घरका अन्य सदस्यहरू एवम्‌ आफन्तजनहरूको उपस्थिति बारेमा मिसिलबाट खुल्न आउँदैन । यी प्रतिवादी र किरियापुत्रीलाई सहायता गर्नका लागि बस्न भनि वादी गएको घर परिवारसँग नाता सम्बन्ध पनि रहेको देखिँदैन । करणी भएको भनिएको दिन प्रतिवादीका साक्षीहरूले प्रतिवादी आफ्नो दिदीको घरमा रहेको कुरा उल्लेख गराएको देखिन्छ । 

५. प्रस्तुत मुद्दामा डि.एन.ए. परीक्षण गर्दा वादीको कोखबाट जन्मेको बच्चाको पितृत्व प्रतिवादी ईश्वर मल्लसँग मेल नखाएको भन्ने देखिएको छ । अदालतले डि.एन.ए. परीक्षण गराउने आदेश गरि प्रतिवेदन आइसकेपछि उक्त परीक्षण प्रतिवेदनमा उल्लिखित रायलाई स्वीकार वा अस्वीकार गरि निर्णय गर्न अदालत स्वतन्त्र हुने भए तापनि त्यसको ठोस कारण उल्लेख गर्न सक्नु पर्दछ । डि.एन.ए. परीक्षण शतप्रतिशत सत्य हुन्छ भनि मान्न नसक्ने तर्क गर्ने हो भने त्यस्तो परीक्षणबाट प्राप्त नतिजालाई मिसिल संलग्न अन्य प्रमाणहरूसँग भिडाई हेर्दा मेल नखाएको र शङ्कास्पद अवस्थामा मात्र त्यसलाई नजरअन्दाज गर्न सकिन्छ । प्रस्तुत मुद्दामा वादी र निजका साक्षीको भनाईमा नै तथ्यगत फरक देखिएको अवस्थामा यस्तो प्रतिवेदनको कुरालाई उपेक्षा गरिहाल्न मिल्ने देखिँदैन । यसबाहेक डि.एन.ए. परीक्षण गर्ने विशेषज्ञले अदालतमा आफ्नो रायलाई पुष्टि गर्ने गरि बकपत्र गरेको अवस्थामा निजको भनाइलाई प्रमाण ऐन, २०३१ को दफा १८ ले प्रमाण ग्राह्य मानेकै अवस्था छ ।

६. कुनै अविवाहित स्वास्नी मानिसले कुनै पुरूषले करणी गरेको र गर्भ रहेको कुरा झुट्ठारूपमा भन्न नसक्ने वा आमाले भनेका कुरालाई साँचो मान्नुपर्ने भन्ने धारणा कुनै बेला नेपाली समाजमा नरहेको 

होइन । तर सामाजिक चेतनाको स्तरमा विकास, पारिवारिक संस्कार, सामाजिक मूल्य र मान्यतामा भइरहने परिवर्तन आदिले गर्दा यस्ता धारणा सधैँ समाजमा स्थिररूपमा रहिरहन सक्षम हुन्छन् भन्न सकिँदैन । तसर्थ सामाजिक विज्ञानको विषयमा यस्तै हुने भन्नुभन्दा पनि हरेक प्रश्नको निर्क्यौल विषयवस्तुको विश्लेषणबाट निकालिनु उचित हुन्छ ।" सामान्यतया जातकको सम्बन्धमा आमाको भनाइ विश्वसनीय हुने भए पनि सोको पुष्टयाई गर्ने पर्याप्त आधार हुन जरूरी हुन्छ । सोको अभावमा एउटी नारीले उनाउ व्यक्तिलाई लोग्ने भन्दैमा लोग्ने स्वास्नीको नाता कामय हुने भनि सम्झन न्यायिक दृष्टिकोणबाट मिल्ने नदेखिने" भनि यस अदालतबाट पूर्णा सुनार विरूद्ध इन्द्रबहादुर भण्डारी भएको नाता कायम मुद्दा (ने.का.प. २०५२, कार्त्तिक, नि.नं. ६०४६, पृ. ६४७) मा यसअघि यस अदालतबाट निर्णय भइसकेको पनि छ ।

७. आफ्नो भनाइ र जिकिर पुष्टि गराउने दायित्व वादीमा रहने कुरा प्रमाण ऐन, २०३१ को दफा २६ ले उल्लेख गरेकै छ । वादीलाई यस अदालतबाट झिकाइएकामा निजका वारेसले तोकिएको मिति २०७०/२/१६ देखि तारेख गुजारी आफ्नो भनाइ अदालतसमक्ष राख्न सकेको पनि पाइएन । करणी जस्तो विषय सबैले देख्ने गरि हुने स्थानमा हुने नभए तापनि करणी भएको दिन र रातमा प्रतिवादी र वादीलाई एकैसाथ देख्ने साक्षी वादीले एकजनाबाहेक अन्य पेस गर्न सकेको अवस्था छैन । ती एकजना साक्षीको कुरा पनि वादीको भनाइसँग शतप्रतिशत मिलेको अवस्था नहुँदा नाता कायम जस्तो मुद्दामा डि.एन.ए. परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिनाआधार अन्यथा हो भन्न मिलेन । 

८. अतः माथि विभिन्न प्रकरणमा विवेचना गरिएबमोजिम प्रतिवादीले वादी दाबीलाई अस्वीकार गरेको,  डि.एन.ए. परीक्षणबाट बच्चाको जैविक बाबु प्रतिवादी होइन भन्ने देखिएको र विशेषज्ञले सो कुराको पुष्टि हुने गरि बकपत्र गरेको, डि.एन.ए. परीक्षण प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्‍याउने प्रमाणको अभाव रहेको  एवम्‌ वादीले आफ्नो भनाइ पुष्टि गर्ने भरपर्दो प्रमाण पेस गर्न नसकेको अवस्थामा वादी र प्रतिवादीमध्येका ईश्वर मल्लबिच लोग्ने स्वास्नीको नाता कायम हुने र वादीले प्रतिवादीबाट माना चामल भराइलिन पाउने ठहर गरि भएको सुरू फैसलालाई सदर गरि भएको पुनरावेदन अदालत, बागलुङको मिति २०६६।११।१२ को फैसला मिलेको नदेखिएकाले उल्टी हुने ठहर्छ । अरूमा तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि इन्साफ खण्डमा लेखिएबमोजिम वादी गुमा गिरी र प्रतिवादी इश्वर मल्लबिच लोग्ने स्वास्नीको नाता कायम नहुने भई वादीले प्रतिवादीबाट मानाचामल भराउन नपर्ने ठहर भएको हुँदा मानाचामल भराउने र नाता कायम हुने गरि बागलुङ जिल्ला अदालतको संवत् २०६३ सालको दे.दा.नं. १/८ र.नं. ०६२/०६३/००२६० को माना चामल नाता कायम मुद्दामा कसिएको लगत अब कायम नरहने हुँदा सो लगत कट्टा गर्नु भनि उक्त अदालतमा लेखि 

पठाइदिनू .....................................................१

पुनरावेदक प्रतिवादी इश्वर मल्लले कोर्ट फी ऐन, २०१७ को दफा १५(१) बमोजिम पाउनुपर्ने निजले यस अदालतमा मिति २०६७/१२/१५ मा र.नं. २५१२४ को रसिदबाट राखेको कोर्ट फी रू. ३०/- ऐनका म्यादभित्र लिन आए निजलाई नियमानुसार भराइदिनू .....................................................२

प्रस्तुत मुद्दाको लगत कट्टा गरि मिसिल नियमानुसार बुझाइदिनू .....................................................३

 

उक्त रायमा सहमत छु ।

न्या. देवेन्द्र गोपाल श्रेष्ठ

 

इजलास अधिकृतः अनिलकुमार शर्मा

इति संवत् २०७१ साल असार २४ गते ३ रोज शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु