शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९५१२ - अंश दपोट

भाग: ५७ साल: २०७२ महिना: चैत्र अंक: १२

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

फैसला मिति : २०७२।७।२०।६

०६९-CI-००३९

 

मुद्दा : अंश दपोट

 

पुनरावेदक / प्रतिवादी : जिल्ला रूपन्देही सक्रौन पकडी गा.वि.स. वडा नं. २ हाल परिवर्तित कम्हरिया गा.वि.स. वडा नं.७ हरहरवा बस्ने प्रेमलाल लोध

विरूद्ध

प्रत्यर्थी / वादी : जिल्ला रूपन्देही कम्हरिया गा.वि.स. वडा नं.७ हरहरवा बस्ने औधराजी लोध

 

अंश हक जन्मका आधारमा कानूनबमोजिम प्राप्त हुने नैसर्गिक हक हो । अंश मुद्दामा वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाहेक अन्य सगोलको अबन्डा सम्पत्ति रहे भएको अवस्थामा वादीका पति र ससुराले पेस भएको तायदाती फाँटवारीमा आपत्ति गरेनन् भन्दैमा उक्त अबन्डा सम्पत्तिबाट यी वादीको अंश पाउने हकबाट वञ्चित गर्न मिल्दैन । तायदाती सुनी पाएको बखत तत्काल सबै सम्पत्तिको पुरा जानकारी सबै अंशियारलाई हुन्छ भन्न मिल्दैन । जब कुनै सम्पत्ति बन्डा हुन बाँकी र तायदातीमा देखाइएको थिएन भनी जानकारी हुन्छ तब नालेस गर्ने कुरा हुन्छ । सम्पत्तिको जानकारी बिना नै नालेस गर्न सकिने अवस्था नै हुँदैन । तसर्थ तायदाती सुनी पाएको कागज गर्दा विरोध गरेन भन्दैमा कसैको अंश हक स्वतः समाप्त हुने 

होइन । वादी दाबीका जग्गाहरू २०३४ सालमा निजी तवरबाट वा आफ्नो निजी ज्ञान, सीप, प्रयासबाट वा कसैबाट दान, बकस वा अपुतालीबाट प्राप्त गरेको मिसिल प्रमाणबाट देखिँदैन । सगोलमा रहे बसेको अवस्थामा सगोलका कुनै अंशियारले खरिद गरेको सम्पत्तिमा यी वादीको अंश हक लाग्न सक्दैन भन्न नमिल्ने । 

(प्रकरण नं.३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता राजेन्द्र अधिकारी

प्रत्यर्थी / वादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून : 

 

सुरू तहमा फैसला गर्ने : 

मा.न्या. श्री विष्णु सुवेदी

पुनरावेदन तहमा फैसला गर्ने : 

मा.न्या. श्री नारायणप्रसाद दाहाल

मा.न्या. श्री बाबुराम रेग्मी

 

फैसला

न्या.बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को धारा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ :

सर्जु लोधका ४ छोराहरू जेठा रामकिसुन, माहिला दुलारे, साँहिला झिन्कु, कान्छा पियारे लोध भएकोमा माहिला दुलारेको २ छोरामा जेठो विपक्षी प्रेमलाल लोध, कान्छो रामेश्वर हुन् । झिन्कुको छोरा मेरो पति विद्यासागर, रामेश्वरको श्रीमती सावित्री लोधिन 

हुन् । रामकिसुन र पियारेले सम्मानित अदालतमा ससुरा झिन्कु लोधउपर अंश मुद्दा दायर गरी २०३२।६।१९ मा भएको मिलापत्रबमोजिम आआफ्नो अंश लिइसकेका थिए । दुलारे लोध र रामेश्वरको दे.नं.१७४८, १७४९ को अंश मुद्दा पर्नुभन्दा अघि नै मृत्यु भइसकेको, मेरो ससुरा झिन्कु, पति विद्यासागरको अंश मुद्दा चलिरहेको अवस्थामा मृत्यु भएको थियो । दे.नं. १७४८, १७४९ को अंश मुद्दामा विपक्षीसमेतलाई तायदाती फाँटवारी दाखिल गर्नु भनी आदेश भएकोमा निज विपक्षीले आफ्नो तथा आफ्नो बाबु दुलारे लोधको नाउँको समेत आफ्नो जिम्माको जिल्ला रूपन्देही साडी गा.वि.स. वडा नं.२ कि.नं.२६६, ३०६, ३९७, ३९८, ४००, ४०२, ४६५ र ऐ. स.पकडी गा.वि.स. वडा नं.२ कि.नं. ४२५ को सम्पत्ति विपक्षीले अंश दपोट गरी खाएको भन्ने कुरा विपक्षीले दिएको तायदाती फाँटवारीको मिति २०५५।१२।१६ मा नक्कल लिई विपक्षी र विपक्षीको बाबुको नामको जग्गा दर्ता स्रेस्ता उतार लिई भिडाई हेर्दा यथार्थ जानकारी हुन आयो । विपक्षीको जिम्मामा रहेको सम्पत्तिको अंशको फाँटवारीमा दाखिल गर्नुपर्नेमा आफू एक्लै खाने नियतले दाखेल नगरी अंश दपोट गरी खाएको हुँदा अंशबन्डाको २७ नं. बमोजिम मेरो हक कायम गरी मेरो नाममा नामसारी गराई चलन चलाई पाउँ भन्नेसमेत फिरादपत्र ।

अंशियारमध्ये रामकिसुन र पियारेले मसमेत उपर अंश मुद्दा दिई मिति २०३२।६।१९ मा मिलापत्र भई सोही वर्षबाट चुलो मानो छुट्टिई अलगअलग भई बसेका थियौं । चुलो मानो अलग भई बसेपछि सो सम्पत्ति आफ्नो ज्ञान, सीप र प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिसमेत भएकोले अंशबन्डाको २० नं. ले तायदाती फाँटवारीमा देखाउनु पर्ने अनिवार्यतासमेत नहुँदा खुलाइएको होइन । दुलारेको नाउँको जग्गा मेरो जिम्मामा नै छैन । आफ्नो पतिको मृत्यु भएपछि मृतकको हकमा दायर गरेको प्रस्तुत फिराद उल्लिखित अंशबन्डाको ३५ नं. को हदम्याद विहीन देखिँदा दायर गरेको मुद्दा हकदैयासमेतको अभावमा अ.बं.८२ नं. बमोजिम खारेज गरिपाऊँ । यदि इन्साफ हुने भएमा पनि वादीको झुठा दाबीबाट अलग फुर्सद दिई विपक्षीलाई नै झुठा फिराद दिएकोमा सजायसमेत गरिपाउँ भन्नेसमेत व्यहोराको प्रतिउत्तर जिकिर ।

मालपोत कार्यालय, रूपन्देहीबाट दुलारे लोध र प्रेमलाल लोधको नाउँको जग्गा धनी दर्ता स्रेस्ता उतार प्राप्त भई मिसिल सामेल रहेको ।

मुलुकी ऐन, अंशबन्डाको ३५ नं. अनुसार भिन्नभिन्न जीउसम्म दबाए छिपाएकोमा नालेस लाग्ने प्रावधान रहेको, दबाए छिपाएको भएमा पति विद्यासागरको मात्र नालेस गर्ने हक हुनेमा पतिको मृत्युपश्चात्‌ यी वादी दपोटमा आएको देखिनुका साथै लामो समयपछि भिन्नभिन्न जीउबाहेकका वादी अंश दपोटमा आएकोलाई यी वादी सफा हात लिई अदालतमा प्रवेश गरेको भन्नेसमेत नदेखिँदा अंश दपोट गरी हक कायम नामसारीसमेत गरिपाउँ भन्ने वादी दाबी पुग्न नसक्ने ठहर्छ भन्ने रूपन्देही जिल्ला अदालतबाट मिति २०६७/२/२३ मा भएको फैसला ।

सर्जुका चार छोरा भएकोमा १ अंशियार मेरो ससुरा झिन्कु, निजको छोरा एवम्‌ पति विद्यासागरले आफ्नो अंश भाग आफ्नो नाउँमा गराउन नपाउँदै मृत्यु भएकोले जीउ छउञ्जेल जिकिर नलिएको भनी मलाई अंश हकबाट वञ्चित गर्नु तथा आफ्नो अंश भागको जग्गा खोज्दा नपाउनु न्यायसङ्गत भएन । सुरू जिल्ला अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी फिराद दाबीबमोजिम गरिपाउँ भन्ने पुनरावेदक वादीको पुनरावेदनपत्र ।

यसमा धर्म भाकी तायदाती दिइसकेपछि खुल्न आएको सम्पत्ति अंशबन्डाको २७ नं. बमोजिम दपोट हुन सक्ने अवस्थामा त्यसतर्फ समग्र प्रमाणको विवेचना गरी निर्णय गर्नुपर्नेमा खारेज गर्ने गरेको सुरू फैसला सोही आधारमा फरक पर्न सक्ने देखिँदा मुलुकी ऐन, अ.बं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम प्रत्यर्थी झिकाई नियमानुसार पेस गर्नु भन्ने पुनरावेदन अदालतको मिति २०६७।१२।२३ को आदेश ।

दाबीको जग्गा प्रतिवादीले तायदातीमा नदेखाए पनि २०३२ सालदेखि मानो छुट्टिएको भनी अंश मुद्दामा दाबी गरेको र यस मुद्दामा समेत सोही व्यहोराको प्रतिवाद गरेको देखियो । यसबाट उक्त सम्पत्ति बन्डा गर्नुपर्ने प्रकृतिको होइन भनी पुष्टि गर्न खोजेको देखिँदा दपोट गरेको भन्न मिल्ने देखिन 

आएन । दे.नं.१७४९ को अंश नामसारी मुद्दामा २०४७।८।९ लाई मानो छुट्टिएको मिति कायम भएको देखिएकोले सो मितिभन्दा पहिलेदेखि प्रतिवादी प्रेमलाल लोधका नाममा रहेको जग्गा सगोलको बन्डा लाग्ने जग्गा मान्नुपर्ने देखियो । प्रतिवादी प्रेमलाल लोधका नाममा रहेको १-०-१९ र प्रेमलालका बाबु दुलारेका नाममा रहेको ०-४-७ जग्गा वादी दाबीबमोजिम दपोट गरेको नभई वादी प्रतिवादीबिच बन्डा गर्नुपर्ने अबन्डा सम्पत्ति देखियो । प्रेमलाल लोध र दुलारे लोधका नाममा दर्ता रहेको १-५-६ जग्गा वादी प्रतिवादीका बिच अंश बन्डा गर्नुपर्ने देखिँदा उक्त जग्गाबाट आधा जग्गा विद्यासागरको पत्नी वादी औधराजी लोधिनले पाउने ठहर्छ । वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।२।२३ को फैसला उल्टी हुन्छ भन्ने पुनरावेदन अदालत, बुटवलको मिति २०६८।८।१२ को फैसला ।

पुनरावेदन अदालतको उक्त फैसलामा चित्त बुझेन दाबीको जग्गाको अंश दपोट गरेको भए मुलुकी ऐन, अंशबन्डाको २७ र ३५ नं. बमोजिम वादीका ससुरा जीवित छउञ्जेल उजुर गरेनन् । साथै अंश मुद्दामा पेस भएको तायदाती फाँटवारी एक अर्कालाई सुनाउँदा कुनै विरोध आपत्ति नगरी स्वीकार गरेका छन् । विवादित जग्गामा वादी वा वादीका पति ससुरासमेतको कहिल्यै पनि भोग चलन थिएन । आफ्नो अंश हक लाग्ने भोग चलनको जग्गा भए तायदातीमा किन नदेखाएका हुन् सो कुरा वादीले प्रस्ट उल्लेख गर्न सकेको छैन । हाम्रा मूल अंशियारका बिच २०३२।६।१९ मा रूपन्देही जिल्ला अदालतबाट भएको मिलापत्रबाट मानो, चुल्हो, खति उपतिलगायतका सबै व्यवहार अलग भएपछि म पुनरावेदकले २०३४ सालमा निजी तवरले विवादित जग्गा खरिद गरी लिएको हो । वादीका पति विद्यासागरले मिति २०५४।१२।१ मा बन्डा मुचुल्कामा आफू स्वयम् रोहवरमा बसी मसमेतलाई अंश दिइसकेपछि पुनः उनैको श्रीमती यी वादीले अंश दपोटमा दावा गर्न पाउने होइन । प्रेमलाल लोध र दुलारे लोधका नाममा रहेको १ ५ ६ जग्गामा वादी दाबी नपुग्ने ठहर्‍याउनु पर्नेमा सो जग्गालाई अबन्डा जग्गा ठहर्‍याई वादी प्रतिवादीका बिच बन्डा गर्नुपर्ने ठहर्‍याएको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरी झुठा दाबीबाट मुक्त गराई पाउँ भन्ने प्रतिवादी प्रेमलाल लोधको पुनरावेदनपत्र ।

नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस भएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान् अधिवक्ता श्री राजेन्द्र अधिकारीले अंश मुद्दाको तायदाती फाँटवारीमा पेस भएको सम्पत्तिको विवरण एक अर्कालाई सुनाउँदा कुनै विरोध गरेको छैन । वादीका पति विद्यासागरको मृत्युपछि पर्न आएको प्रस्तुत फिरादपत्रको कुनै औचित्य नै छैन । २०५४ सालमा भएको बन्डा मुचुल्कामा वादीका पति विद्यासागर रोहवरमा बसी पुनरावेदकलाई अंश गरिदिनु भएको थियो । यसबाट वादीको अंश लाग्ने सम्पत्ति प्रतिवादीले दपोट गरेको छैन भन्ने पुष्टि हुन्छ । प्रेमलाल लोध र दुलारे लोधका नाममा दर्ता रहेको १-५-६ जग्गा वादी प्रतिवादीका बिच बन्डालाग्ने अबन्डा सम्पत्ति होइन, निजी आर्जनको बन्डा नलाग्ने सम्पत्ति हो । पुनरावेदन अदालतले उक्त ज.वि. १-५-६ जग्गा अबन्डा ठहर्‍याई वादी प्रतिवादीका बिच बन्डा लाग्ने ठहर्‍याएको त्रुटिपूर्ण फैसला उल्टी गरी झुठा फिराद दाबीबाट मुक्त गराई पाउँ भनी बहस प्रस्तुत गर्नु भयो ।

उपर्युक्तबमोजिम विद्वान् कानून व्यवसायीको बहस सुनी पुनरावेदनसहितको मिसिल कागजातहरू अध्ययन गरी पुनरावेदन अदालतको फैसला मिलेको छ, छैन पुनरावेदन जिकिर पुग्न सक्ने हो, होइन सो सम्बन्धमा इन्साफ गर्नुपर्ने देखियो ।

२. सर्जु लोधका चार छोरामा जेठो रामकिसुन, माइलो दुलारे, साइलो झिन्कु र कान्छो पियारे लोध भएकोमा माइलो दुलारेको छोरा प्रतिवादी प्रेमलाल लोध र साइला झिन्कुका छोरा विद्यासागरकी पत्नी यी वादी औधराजी लोधिन रही वादी प्रतिवादीका बिचमा नाता पुस्तामा विवाद रहेको देखिँदैन । दुलारे लोध र रामेश्वरको दे.न. १७४८ र १७४९ को अंश मुद्दा पर्नुअघि मृत्यु भएको र वादीको ससुरा झिन्कु र पति विद्यासागरको अंश मुद्दा विचाराधीन रहेको अवस्थामा मृत्यु भएको तथ्य फिराद व्यहोराबाट देखिन्छ । उक्त व्यहोरालाई प्रतिवादीले अन्यथा भन्न सकेको छैन । मिति २०३२ सालमा वादी रामकिसुन पियारेसमेत र प्रतिवादी यी पुनरावेदक प्रतिवादी प्रेमलाल लोधसमेत भएको अंश मुद्दा मिति २०३२।६।१९ मा मिलापत्र भई चुलो मानो छुट्टिई अलगअलग भई बसेको मिसिल संलग्न कागजप्रमाणबाट देखिएको छ । त्यसैगरी, वादी सावित्री लोधिन प्रतिवादी प्रेमलाल लोधसमेत भएको २०४६ सालको दे.नं १७४८ को अंश नामसारी मुद्दामा प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा प्रतिवादीले अंश दपोट गर्‌यो भनी वादीले दाबी गरेका कि.नं. २६६, ३०६, ३९७, ३९८, ४००, ४०२, ४६५, ४२५ समेतका जग्गाहरू तायदाती फाँटवारीमा उल्लेख भएको देखिँदैन । उक्त मुद्दामा झिन्कु लोधको मृत्युपछि यी वादीका पति विद्यासागरले मुद्दा सकार गरेको देखिन्छ । झिन्कु र विद्यासागरको १ भाग अंश पर सारी दुलारेको १ भागबाट आधा प्रेमलालको अंश भाग पर सारी रामेश्वरको भागमा पर्ने आधा अंश वादी सावित्रीले पाउने ठहरी सुरू रूपन्देही जिल्ला अदालतबाट भएको फैसला पुनरावेदन अदालतबाट सदर हुने ठहरी फैसला भएको मिसिलबाट देखिन्छ ।

३. जहाँसम्म दे.नं.१७४८ को अंश मुद्दामा पेस भएको तायदाती फाँटवारी एक अर्कालाई सुनाइएकोमा सोको विरोध वा उजुर गरिएको छैन । वादी दाबीको जग्गा २०३४ सालमा निजी तवरबाट खरिद गरेको हो । प्रस्तुत अंश दपोट मुद्दामा वादी दाबी नपुग्ने ठहर्‍याउनु पर्नेमा अबन्डा जग्गा ठहर्‍याई वादी प्रतिवादीका बिच बन्डा हुने ठहर्‍याएको पुनरावेदन अदालतको त्रुटिपूर्ण फैसला उल्टी गरिपाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर रहेको देखियो । अंश हक जन्मका आधारमा कानूनबमोजिम प्राप्त हुने नैसर्गिक हक 

हो । अंश मुद्दामा वादी प्रतिवादीले पेस गरेको तायदाती फाँटवारीमा उल्लिखित सम्पत्तिबाहेक अन्य सगोलको अबन्डा सम्पत्ति रहे भएको अवस्थामा वादीका पति विद्यासागर र ससुरा झिन्कुले पेस भएको तायदाती फाँटवारीमा आपत्ति गरेनन् भन्दैमा उक्त अबन्डा सम्पत्तिबाट यी वादीको अंश पाउने हकबाट वञ्चित गर्न मिल्दैन । तायदाती सुनी पाएको बखत तत्काल सबै सम्पत्तिको पुरा जानकारी सबै अंशियारलाई हुन्छ भन्न 

मिल्दैन । जब कुनै सम्पत्ति बन्डा हुन बाँकी र तायदातीमा देखाइएको थिएन भनी जानकारी हुन्छ तब नालेस गर्ने कुरा हुन्छ । सम्पत्तिको जानकारी बिना नै नालेस गर्न सकिने अवस्था नै हुँदैन । तसर्थ तायदाती सुनी पाएको कागज गर्दा विरोध गरेन भन्दैमा कसैको अंश हक स्वतः समाप्त हुने होइन । वादी दाबीका जग्गाहरू २०३४ सालमा निजी तवरबाट वा आफ्नो निजी ज्ञान, सीप, प्रयासबाट वा कसैबाट दान, बकस वा अपुतालीबाट प्राप्त गरेको मिसिल प्रमाणबाट देखिँदैन । सगोलमा रहे बसेको अवस्थामा सगोलका कुनै अंशियारले खरिद गरेको सम्पत्तिमा यी वादीको अंश हक लाग्न सक्दैन भन्न मिल्दैन । यसरी पुनरावेदक प्रतिवादी प्रेमलाल लोध र दुलारे लोधका नाममा रहेको अबन्डा सम्पत्तिमा वादी प्रतिवादीको समान हक लाग्ने देखिँदा दाबीको जग्गाबाट आधा जग्गा विद्यासागर लोधकी पत्नी यी वादी औधराजी लोधिनले पाउने नै देखियो । वादी दाबीका १-५-६ जग्गालाई अबन्डा ठहर्‍याई वादी प्रतिवादीका बिच बन्डा लाग्ने ठहर्‍याएको पुनरावेदन अदालतको फैसलामा कानूनी त्रुटि रहेको देखिएन । 

४. त्यसैगरी, दे.नं.१७४९ को यी पुनरावेदक प्रतिवादीले विद्यासागर लोधसमेत उपरको अंश नामसारी मुद्दामा २ भागको १ भाग विद्यासागरको अंश पर सारी १ भागमध्ये आधा सावित्रीको परसारी वादी प्रेमलालले आधा अंश पाउने ठहरी फैसला भएको देखिन्छ । सो अंश मुद्दामा रामकिसुन र पियारेले वादीसमेतउपर अंश मुद्दा दिई २०३२।६।१९ मा मिलापत्र गरी आफ्नो अंश लिई छुट्टि भिन्न भइसकेका हुन् । हामीहरूले २०३२ सालमा चुल्हो, मानो छुट्टिई भिन्न भएपछि मेरो श्रीमतीले खरिद गरेको जग्गाबाहेकको अरू सम्पूर्ण जग्गाबाट अंश पाउँ भनी दाबी लिएको र अदालतले २०३२ साललाई मानो छुट्टिएको नमानी मिति २०४७।८।९ लाई मानो छुट्टिएको मिति कायम गरेको देखिएको छ ।

५. यसरी वादी दाबीका जग्गा यी प्रतिवादी प्रेमलाल लोधले अंश मुद्दाको तायदाती फाँटवारीमा नदेखाए पनि २०३२ सालदेखि मानो छुट्टिएको भनी यस मुद्दामा दाबी गरेको देखिन्छ । वादीले दाबी गरेका प्रेमलाल लोधका नाममा दर्ता रहेको कि.नं.२६६, ३०६, ३९७, ३९८, ४००, ४०२ र ४६५ समेतका १ ० १९ र दुलारे लोधका नाममा दर्ता रहेको कि.नं. ४२५ को ० ४ ७ जग्गा गरी जम्मा १ ५ ६ जग्गा बन्डा गर्न बाँकी रही अबन्डा जग्गा रहेको देखियो । यसरी अबन्डा रहेको जग्गामध्येबाट आधा जग्गा विद्यासागरकी पत्नी यी वादी औधराजी लोधिनले पाउने देखियो ।

६. अतः माथि उल्लिखित आधार र कारणसमेतबाट वादी दाबी पुग्न नसक्ने ठहर्‍याएको सुरू रूपन्देही जिल्ला अदालतको मिति २०६७।२।२३ को फैसला उल्टी गरी प्रतिवादी प्रेमलाल लोधका नाममा रहेको १ ० १९ र दुलारे लोधका नाममा रहेको ० ४ ७ समेत जम्मा १ ५ ६ जग्गा बन्डा लाग्ने ठहर्‍याई उक्त जग्गाबाट आधा जग्गा विद्यासागर लोधकी पत्नी वादी ‍औधराजी लोधिनले पाउने ठहर्‍याएको पुनरावेदन अदालत, बुटवलको मिति २०६८।८।१२ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । पुनरावेदक प्रतिवादीको वादी दाबी पुग्न नसक्ने ठहर्‍याई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । अरू तपसिलबमोजिम गर्नू ।

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम पुनरावेदन अदालतको फैसला सदर हुने ठहरिएकाले पुनरावेदन अदालतको फैसलाबाट वादीले भरी पाउने ठहरेको कोर्ट फी रू.६,५२०/- प्रतिवादीले यस अदालतमा पुनरावेदन गर्दा र.नं.३७८४ मिति २०६९।३।१४ मा पुनरावेदन अदालत, बुटवलमा धरौटी राखेको देखिँदा उक्त धरौटी रकम फिर्ता पाउँ भनी कानूनका म्यादभित्र वादीको निवेदन पर्न आए वादीलाई उक्त रकम फिर्ता दिनु भनी पुनरावेदन अदालत, बुटवलको लेखा शाखामा लेखी पठाउनू । प्रस्तुत मुद्दाको दायरीबाट लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ।  

 

उक्त रायमा सहमत छु ।

न्या. गोविन्दकुमार उपाध्याय

 

इजलास अधिकृत : प्रेमप्रसाद न्यौपाने 

इति संवत् २०७२ साल कात्तिक २० गते रोज ६ शुभम् ।

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु