निर्णय नं. ९५३३ - लिखत दर्ता बदर

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री गोपाल पराजुली
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७१।११।२०।४
०६९-CI-११५३
मुद्दाः लिखत दर्ता बदर
पुनरावेदक / वादी : अन्दुललालको छोरा जिल्ला सुनसरी चादवेला गाउँ विकास समिति वडा नं.४ बस्ने दशनलाल चौधरी
विरूद्ध
विपक्षी / प्रतिवादी : दशरथको श्रीमती ऐ. बस्ने राधा देवी चौधरीसमेत
लेनदेन व्यवहारको १० नं. को कानूनी व्यवस्थाअनुसार लिखत बदर गराई पाउन १ वर्षसम्म थाहा पाएको ३५ दिनभित्र मुद्दा दायर गरी सक्नु पर्ने देखिन्छ भने लेनदेन व्यवहारको ४० नं. अनुसार यस्तो व्यवहार गरेको सदर हुँदैन भन्ने अर्थ गरी २ वर्षको अवधि नघाई जहिलेसुकै मुद्दा दायर गर्न सक्ने देखिँदैन । आफ्नो समेत हक लाग्ने जग्गा सगोलका हकवालाले बिक्री गरेकोमा तहतह बिक्री भैसकेपछि नालेस गर्ने उल्लिखित हदम्याद नाघेपछि मात्र नक्कल सारी थाहा पाएको भन्ने आधारमा जहिलेसुकै उल्लिखित जग्गाहरूको लिखत बदर गराई माग्न पाउने हक यी वादीलाई कानूनले सुरक्षित गरेको देखिन नआउने ।
लेनदेन व्यवहारको ४० नं. अनुसार अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा मात्र प्रस्तुत २ वर्षको हदम्याद लाग्न सक्ने हो भने अदालती बन्दोबस्तको ३६ नं. अनुसार हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिन सकिने हो । जुनसुकै अवस्थामा पनि जहिलेसुकै नालिस दिन पाउने छुट ३६ नं. को उक्त कानूनी व्यवस्थाले गरेको हैन । प्रस्तुत विवादमा लेनदेन व्यवहारको महलमा प्रस्ट हदम्यादको व्यवस्था गरिरहेकोमा हदम्याद नघाई अदालती बन्दोबस्तको ३६ नं. बमोजिम भनी हदम्याद नघाई नालिस दिन पाउने देखिँदैन । अत: आफ्नो हक पुग्ने कुरामा म्यादभित्र नालेस गरी कायम गराउन सक्नु पर्नेमा सो नगरी म्याद नघाई फिराद पर्न आएको देखिई सुरू फैसला उल्टी गरी फिराद दाबी नै खारेज हुने ठहर्याई भएको पुनरावेदन अदालतको फैसला सदर हुने ।
(प्रकरण नं.३)
पुनरावेदक / वादीका तर्फबाट :
विपक्षी / प्रतिवादीका तर्फबाट :
अवलम्बित नजिर :
सम्बन्धित कानून :
सुरू फैसला गर्ने :
मा.जि.न्या. श्री लक्ष्मीकृष्ण श्रेष्ठ
पुनरावेदन तहमा फैसला गर्ने :
मा.न्या. श्री कुमार चुडाल
मा.न्या. श्री रेवन्त बहादुर कुँवर
फैसला
न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन,२०४८ को दफा ९(१) अनुसार यस अदालतमा दायर हुन आई निर्णयार्थ पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः
यसमा प्रतिवादीमध्येका छेरूलाल चौधरीले म वादीका नाउँमा यसै अदालतमा दे.नं. १४६२ को अंश दर्ता मुद्दा दायर गरी २०५९।८।२९ मा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी माग भई वादी छेरूलाल चौधरीले म फिरादी दशनलालबाट अंश पाउने ठहरी २०५९।१२।२४ मा फैसला भै पुनरावेदन अन्तिम भइसकेको अवस्थामा र सो अंशमुद्दामा तायदाती फाँटवारीमा नदेखाई दबाएको विपक्षी छेरूलालका नाउँमा दर्ता रहेको जिल्ला सुनसरी चादवेला गा.वि.स. वडा नं. ४(ख) कि.नं. ५२७ को ०–१०–० र ऐ.ऐ. वडा नं. ५(ख) कि.नं. ६६३ को ०–६–१५ को जग्गा सो अंशमुद्दा दर्ता गरेपछि प्रतिवादी ध्रुवकुमार भण्डारीलाई राजीनामा पारित गरी दिई त्यसपश्चात् प्रतिवादी ध्रुवकुमारले प्रतिवादी सजनलाललाई, सजनलालले प्रतिवादी रूनादेवी र राधा देवीलाई, प्रतिवादी रूना देवीले प्रतिवादी गोरेलाललाई र प्रतिवादी गोरेलालले राधादेवीलाई बेचेको जग्गा मेरो एकलौटी हकभोग हुने दपोट जग्गा हुँदा दपोटतर्फ छुट्टै नालेस गरेको छु, उक्त दपोट गरिएको कि.नं. ५२७ र बेचिएको कि.नं. ६६३ को मैले एकलौटी पाउने जग्गा भएको हुँदा सबै जग्गाको लिखत दर्तासमेत बदर गरी मेरा नाउँमा दर्ता कायम गराई पाउँ भन्नेसमेत व्यहोराको मिति २०६६।३।११ को वादीको फिराद दाबी ।
यसमा वादी र प्रतिवादी छेरूलालबिचमा अंशमुद्दा चले नचलेको र तायदाती माग भए नभएको सम्बन्धमा मलाई थाहा जानकारी छैन उनीहरू नै जानून् । तर साबिक निजका नाउँमा दर्ता रहेको कि.नं. ६६३ को ०–६–१५ जग्गा विपक्षीको अंश हक लाग्ने जग्गा होइन, र दपोट गरी बिक्री गरेकोसमेत होइन । विपक्षीको अंश हक लाग्ने जग्गा भए छेरूलालले ध्रुवकुमारलाई मिति २०५९।२।२२ मा राजीनामा पारित गरी दिएको अवस्थामै ऐनका म्यादभित्रमा दाबी नगरेको हुँदा आधारहीन फिराद दाबी अ.वं. १८० नं. बमोजिम खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६६।५।२४ को प्रतिवादी सजनलाल दासको प्रतिउत्तर पत्र ।
यसमा वादीले दाबी गरेको जग्गा विपक्षीको अंश हक लाग्ने जग्गा होइन, सो दाबीमा उल्लिखित कि.नं. ६६३ को जग्गा प्रतिवादीको स्वआर्जनको जग्गा भै अंशमुद्दाको तायदाती फाँटवारीमा नपरेको र सगोलमा हुँदा नै पहिला नै बिक्री गरेको जग्गा हुँदा दाबी नगरेका र अहिले ६ वर्ष पछि आएर अंश दपोट गरी जग्गा बिक्री गर्यो भन्ने फिराद दाबी झुट्ठा बनावटी
हुन् । यसमा प्रतिवादीले अंश दपोट नगरेको हुँदा मुलुकी ऐन, अ.बं. २७ नं. प्रतिकूल भई सो कानूनी व्यवस्थाको परिभाषाभित्र नपर्ने प्रतिवादीमध्येको छेरूलाल चौधरीको स्वआर्जनको हुँदा अंश दपोट बिक्री गरेको दाबी झुट्टा हुँदा फिराद खारेज गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६६।५।३० को प्रतिवादी राधादेवी, रूनादेवी, गोरेलालको संयुक्त प्रतिउत्तर पत्र ।
यसमा म प्रतिवादी ध्रुवकुमारले चलन
चल्तीको मूल्य तिरी खरिद गरेको र विपक्षीले तायदातीमा देखाए नदेखाएको अंश पाउने नपाउने के हो मलाई थाहा भएन । मेरो उपरको दाबी झुट्ठा हो भन्नेसमेत व्यहोराको मिति २०६६।६।१८ को प्रतिवादी ध्रुवकुमार भण्डारीको प्रतिउत्तर पत्र ।
अदालतको आदेशानुसार वादीका साक्षी चन्नुलाल चौधरी र प्रतिवादीका साक्षी देवनारायण चौधरीले मिति २०६६।९।१६ मा गरेको बकपत्र ।
वादीको हक मेटाउने उद्देश्यले सगोलका अंशियार यी वादीको मन्जुरीसमेत नलिई जालसाजपूर्ण तरिकाले प्रतिवादी छेरूलालले प्रतिवादी ध्रुवकुमार भण्डारीलाई र निजले अन्य प्रतिवादीहरूलाई तहतह बिक्री गरेको देखिन आएकोले मिति २०५९।२।२२ को लिखतमा उल्लेख भएको जग्गामध्ये आधा जग्गासम्म वादीको अंश हक लाग्ने देखिँदा सो लिखत र त्यसपछि भएका सम्पूर्ण लिखत बदर भै वादीको आधा भाग वादीको नाउँमा दर्ता कायम हुने ठहर्छ भन्नेसमेत व्यहोराको मिति २०६७।९।२८ को सुरूको फैसला ।
म वादी पुनरावेदकको दाबीबमोजिम उक्त जिल्ला सुनसरी चादवेला गा.वि.स. वडा नं. ८ (क) कि.नं. ६६३ को सम्पूर्ण ०–६–१५ जग्गा अंश दपोट गरेको आधारबाट सम्पूर्ण जग्गा अंश दपोट ठहर्याई वादी दाबीबमोजिम सम्पूर्ण जग्गाको लिखत दर्ता बदर गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६८।२।५ गतेको पुनरावेदक वादी दशनलाल चौधरीको पुनरावेदन पत्र ।
जिल्ला सुनसरी चादवेला गा.वि.स. वडा नं. ८(क) कि.नं. ६६३ को ०–६–१५ जग्गा विपक्षी वादी दशनलाल चौधरीकै सहमतिले म पुनरावेदक प्रतिवादी छेरूलाल चौधरीले बिक्री गरेकोले मिति २०५९।२।२२ गतेपछि विपक्षी वादीले लिखत दर्ता बदरतर्फ ऐनको म्यादभित्र मुद्दा दायर नगरेको र हाल सोही जग्गालाई अंश दपोट गर्यो भनी गरे भएको दाबीमा के कसरी अंश दपोट गर्यो, भयो निज विपक्षीलाई सो कुराको जानकारी के कुन मितिमा कसरी भयो र के कुन हदम्याद लिई फिराद गरेका हुन् कहीँकतै उल्लेख नभएकोमा सुनसरी जिल्ला अदालतले अनुमानको आधारमा बुझ्न पर्ने प्रमाण नबुझेको र बुझ्न नहुने प्रमाण बुझिएको कारणले निर्णयमा समेत असर पर्न गएको प्रस्ट देखिएकोले सुरूले दाबीको कि.नं. ६६३ को ०–६–१५ जग्गाको वादीको हकहिस्सा आधा भाग लिखत बदर भई वादीका नाउँमा दर्ता कायम हुने ठहर्याएको सुरू अदालतको फैसला बदर गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६८।२।२७ गतेको पुनरावेदक प्रतिवादी राधादेवी, रूनादेवी, गोरेलालको संयुक्त पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दा यसै मुद्दाका लगाउ फौ.पु.नं. ११७८ को जालसाज मुद्दा अन्तर प्रभावी हुँदा यसमा पनि दुवै पक्षका पुनरावेदन पत्र मुलुकी ऐन, अ.बं. २०२ नं. प्रयोजनार्थ परस्परमा सुनाई पुनरावेदन नगर्ने प्रतिवादी ध्रुवकुमार भण्डारी र सजनलाल दासलाई समेत छलफलको लागि झिकाई नियमबमोजिम पेस गर्नु भन्ने व्यहोराको मिति २०६९।१२।१९ को पुनरावेदन अदालत, विराटनगरबाट भएको आदेश ।
लेनदेन व्यवहारको ४० नं. को हदम्याद नघाई दायर भएको फिरादपत्र खारेज गर्नु पर्नेमा उक्त फिरादपत्रका आधारमा प्रतिवादी छेरूलालले प्रतिवादी ध्रुवकुमार भण्डारीलाई बिक्री गरेको मिति ०५९।२।२२ को लिखतमा उल्लिखित जग्गामध्ये आधा जग्गासम्म लिखत र त्यसपछि भएका सम्पूर्ण लिखत बदर भै आधा जग्गा भाग वादीको नाउँमा दर्ता कायम हुने ठहराएको फैसला मिलेको नदेखिँदा उल्टी भई हदम्यादको आधारमा पुनरावेदक वादीको पुनरावेदन पत्र खारेज हुने ठहर्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।१०।१० को फैसला ।
अंश मुद्दा पर्नुभन्दा अगाडि वा तायदाती लिने आदेशपूर्व बेचेको भए एउटा कुरा हो । यो त तायदाती माग भैसकेपछि तायतादीमा नदेखाई दपोट गरेको जग्गा हो । तायदातीमा देखाएको भए सो जग्गामा मेरो स्वतः आधा अंश लाग्ने हो । विपक्षी छेरूलालले नै अंश मुद्दा दायर गरी आदेशअनुसार तायदातीमा जग्गा नदेखाई दपोट गरी थाहा नदिई बेचेको जग्गालाई सदर गर्दै जाने हो भने अंश दपोट र जालसाजको अर्थै रहँदैन ।
अंशबन्डाको २७ नं. बमोजिम तायदाती दिँदा जुन जग्गा नदेखाई तायदाती दिन्छ सो जग्गा दबाउनेले पाउँदैन नदबाउनेले पाउने प्रस्ट व्यवस्था गरेको छ । उक्त कि.नं. ६६३ को पुरै जग्गा विपक्षीले दपोट गरेको हुँदा उक्त अंशबन्डाको २७ नं. बमोजिम सो समेतको पुरै जग्गा दपोट ठहर्याई कानूनी र न्यायपूर्ण फैसला गरिपाउँ ।
यसमा सुरूले प्रतिवादी छेरूलालले तायदातीमा नदेखाई वादीको समेत अंश लाग्ने जग्गा जालसाजीपूर्ण तरिकाले प्रतिवादी ध्रुवकुमार भण्डारीलाई र निजले अन्य प्रतिवादीलाई तहतह बिक्री गरेको देखिएकोले मिति २०५९।२।२२ को लिखतमा उल्लेख भएको जग्गामध्ये आधा वादीको अंश लाग्ने हुँदा सो हदसम्म सो लिखत र त्यसपछि तहतह बिक्री हुँदै गएका सम्पूर्ण लिखत बदर भै आधा भाग वादीको कायम हुने ठहर्याएकोमा पुनरावेदन अदालत, विराटनगरले मुलुकी ऐन, लेनदेनको व्यवहारको ४० नं. हदम्याद नघाई फिराद दायर भएको भन्ने आधारमा वादी दाबी खारेज हुने ठहर्याई भएको फैसलाउपर प्रस्तुत पुनरावेदन पर्न आएको देखियो ।
२. निर्णयतर्फ विचार गर्दा प्रत्यर्थी प्रतिवादी छेरूलाल चौधरीले जिल्ला सुनसरी चाँदवेला गाउँ विकास समिति वडा नं. ५ (ख) कि.नं. ६६३ र कि.नं. ५२७ को जग्गा यिनै प्रत्यर्थी प्रतिवादी वादी भई दायर गरेको अंश मुद्दामा तायदातीमा नदेखाई जालसाजी गरी प्रत्यर्थी प्रतिवादी ध्रुवकुमार भण्डारीलाई बिक्री गरिदिएको र निज ध्रुवकुमार भण्डारीले अरू प्रतिवादीलाई बिक्री गरी तहतह हुँदै बिक्री हुँदै गएकोले सो लिखत बदर गरिपाउँ भन्ने मुख्य वादी दाबी
देखिन्छ । दाबीको कि.नं. ५२७ र ६६३ का जग्गाहरूमध्ये कि.नं. ५२७ को जग्गा प्रत्यर्थी प्रतिवादी छेरूलालकै नाउँमा दर्ता कायम देखिई निजले यी पुनरावेदक वादीउपर दिएको अंश मुद्दामा मागिएको तायदातीमा नदेखाएकोले सो कि.नं. ५२७ को जग्गा पुरै अंश दपोट ठहर यी पुनरावेदक वादीका नाउँमा एकलौटी दर्ता हुने ठहरी भएको सुरू फैसला सदर ठहर्याई भएको पुनरावेदन अदालत, विराटनगरको फैसला सदर ठहरी लगाउको ०६९-CI-११५३ को मुद्दामा आजै यसै इजलासबाट फैसला भएकोले त्यसतर्फ बोलिरहनु परेन ।
३. प्रतिवादी छेरूलालले बिक्री गरेको दाबीको कि.नं. ६६३ को जग्गा प्रतिवादी छेरूलालले प्रतिवादी ध्रुवकुमारलाई र प्रतिवादी ध्रुवकुमारले प्रतिवादी सज्जनलाललाई र सज्जनलालले कित्ता काट गरी प्रत्यर्थी प्रतिवादी राधादेवी र रूनादेवीलाई, प्रत्यर्थी प्रतिवादी रूनादेवीले प्रत्यर्थी प्रतिवादी गोरेलाललाई र गोरेलालले प्रत्यर्थी प्रतिवादी राधादेवीलाई तहतह बिक्री गरेको देखिन्छ । यसरी तहतह बिक्री हुँदै गएको जग्गा २०६६।२।२७ र २०६६।३।११ मा नक्कल सारी थाहा पाएको भनी लिखत दर्ता बदर गरिपाउँ भनी यी पुनरावेदक वादीले मुलुकी ऐन, अदालती बन्दोबस्तको ३६ नं. को आधारमा फिराद दायर गरेको देखिन्छ । सुरू अदालतले वादीको समेत अंश लाग्ने भनी वादीको अंश लाग्ने आधासम्म उक्त जग्गाको मिति २०५९।२।२२ बिक्री लिखत बदर गरी आधा जग्गा वादीको नाममा दर्ता हुने ठहर्याई फैसला गरेको पाइयो पुनरावेदन अदालतबाट हदम्याद नघाई दायर हुन आएको भन्ने आधारमा फिराद खारेज गरेको देखिन्छ । प्रस्तुत विवादमा हदम्यादसम्बन्धी कानूनी व्यवस्था के रहेछ भनी हेर्दा लेनदेन व्यवहारको ४० नं. ले यस्तो व्यवहार गरेको सदर हुँदैन भनेको, नालेस सुनिने छैन भनेको, नाबालकको धन बिगार्नलाई बेइमानी गरेको, ब्याजको ब्याज खाएको, ब्याजमा दशौंददेखि बढ्ता लिएको लख बन्धक लिँदा बढ्ता लिएको बढ्ता करार लेखाएको यति कुरामा हदम्याद लाग्दैन र हदम्याद लाग्दैन भनेको कुरामा बाहेक अरू कुरामा दुई वर्षभित्र नालेस नदिए लाग्न सक्दैन भन्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उल्लिखित बिक्री व्यवहारलाई हदम्याद नलेखिएको भन्ने अर्थ गरी अदालती बन्दोबस्तको ३६ नं. को आधारमा प्रस्तुत फिराद पर्न आएको देखिन्छ । लेनदेन व्यवहारको १० नं. मा अंश नभएको अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिँदा ऐनले आफूखुसी गर्न पाउने अरूको मन्जुरी लिन नपर्नेबाहेक अरूमा एकासगोलको अंशियार साक्षी बसेको वा निजहरूको मन्जुरीको लिखत भएमा मात्र पक्का ठहर्छ । साक्षी पनि नबसेको र मन्जुरीको लिखत पनि नभए मन्जुर नहुनेले एक वर्षसम्ममा थाहा पाएको मितिले पैंतिस दिनभित्र उजुर गर्यो र निजको मन्जुरी ठहरिएन भने निजको हक जति फिर्ता गराइ दिनुपर्छ भन्ने कानूनी व्यवस्था देखिन्छ । प्रस्तुत मुद्दामा यी वादीउपर प्रतिवादीले अंश मुद्दा दायर गरेपछि दाबीको जग्गा बिक्री गरेकोले त्यस्तो लिखत बदर हुनुपर्छ भन्ने दाबी लिएको देखिन्छ । दाबीको जग्गा मिति २०५९।२।२२ मा बिक्री भएकोमा २०६६।३।११ मात्र प्रस्तुत फिराद पर्न आएको देखिन्छ । लेनदेन व्यवहारको १० नं. को उक्त कानूनी व्यवस्थाअनुसार त्यस्तो लिखत बदर गराई पाउन १ वर्ष ३५ दिनभित्र मुद्दा दायर गरी सक्नु पर्ने देखिन्छ भने लेनदेन व्यवहारको ४० नं. अनुसार यस्तो व्यवहार गरेको सदर हुँदैन भन्ने अर्थ गरी २ वर्षको अवधि नघाई जहिलेसुकै मुद्दा दायर गर्न सक्ने देखिँदैन । आफ्नोसमेत हक लाग्ने जग्गा सगोलका हकवालाले बिक्री गरेकोमा तहतह बिक्री भैसकेपछि नालेस गर्ने उल्लिखित हदम्याद नाघेपछि मात्र नक्कल सारी थाहा पाएको भन्ने आधारमा जहिलेसुकै उल्लिखित जग्गाहरूको लिखत बदर गराई माग्न पाउने हक यी वादीलाई कानूनले सुरक्षित गरेको देखिन आउँदैन । लेनदेन व्यवहारको ४० नं. अनुसार अन्यत्र हदम्याद लेखिएको वा हदम्याद लाग्दैन भनेको कुरामा मात्र प्रस्तुत २ वर्षको हदम्याद लाग्न सक्ने हो भने अदालती बन्दोबस्तको ३६ नं. अनुसार हदम्याद नलेखिएको कुरामा मात्र जहिलेसुकै नालिस दिन सकिने हो जुनसुकै अवस्थामा पनि जहिलेसुकै नालिस दिन पाउने छुट ३६ नं. को उक्त कानूनी व्यवस्थाले गरेको छैन । तर प्रस्तुत विवादमा लेनदेन व्यवहारको महलमा प्रस्ट हदम्यादको व्यवस्था गरिरहेकोमा हदम्याद नघाई अदालती बन्दोबस्तको ३६ नं. बमोजिम भनी हदम्याद नघाई नालिस दिन पाउने देखिँदैन । अत: आफ्नो हक पुग्ने कुरामा म्यादभित्र नालेस गरी कायम गराउन सक्नु पर्नेमा सो नगरी म्याद नघाई फिराद पर्न आएको देखिई सुरू फैसला उल्टी गरी फिराद दाबी नै खारेज हुने ठहर्याई भएको पुनरावेदन अदालत, विराटनगरको मिति २०६९।६।१० को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । वादी पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी अभिलेख शाखामा बुझाइदिनू ।
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृतः उमानाथ गौतम
इति संवत् २०७१ साल फागुन २० गते रोज ४ शुभम् ।