निर्णय नं. ४२९४ - लागू औषध

निर्णय नं. ४२९४ ने.का.प. २०४८ अङ्क ५
संयुक्तइजलास
माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
सम्वत् २०४६ सालको फौ.पु.नं. ३३९
फैसला भएको मिति: २०४७।५।२०।४ मा (साविक पेज नं. २१२)
पुनरावेदक/वादी : प्र.स.नि. मिनबहादुर के.सी. समेतको प्रतिवेदनले श्री ५ को सरकार
विरुद्ध
विपक्षी/प्रतिवादी : जि.रुपन्देही बुटवल न.पं. वडा नं. ६ बस्ने श्यामकुमार श्रेष्ठसमेत
मुद्दा : लागू औषध
(१) कुनै व्यक्तिको साथबाट लागू औषध बरामद हुँदैमा बिक्री वितरण गरेको कारोबार गरेको भन्न मिल्दैन त्यसबाट बरामद भएको परिणाम पनि विचारणीय हुने । (प्रकरण नं. १७)
पुनरावेदकतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधान
फैसला
न्या.महेशरामभक्त माथेमा
१. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।७।२८ को फैसलामा चित्त नबुझाई श्री ५ को सरकारको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ ।
२. लागू औषध नियन्त्रण गर्ने सिलसिलामा बुटवल नगर एरियामा समेत लागू औषधको कारोबार बिक्री वितरण गर्ने व्यक्तिहरुको सुराक पत्ता लगाई पक्राउ गरी ल्याउन हामीहरुलाई खटाई पठाइएकोमा लागू औषधको कारोबार गर्ने मानिसहरुको सुराक पत्ता लगाई जाँदा जि.रु. बु.न.पं. वडा नं. ६ घर डेरा गरी बस्ने श्याम श्रेष्ठ र ऐ.वडा नं. ८ मा दुकान गरी बस्ने अशोकमणि शाक्यको घरमा अवैध स्म्याक ब्राउन सुगरको कारोबार हुन्छ भन्ने विशेष सुत्रबाट पत्ता लाग्न आएबाट निज दुवैजनाको घर खानतलासी गर्दा अशोकमणि शाक्यको दुकान घरबाट ५(पाँच) पुडीया स्म्याक र श्याम श्रेष्ठको घर डेराबाट १(एक) पुडीया स्म्याक ब्राउन सुगर फेला परेको हुँदा मौकाको बरामदी मुचुल्का गराई यसै प्रतिवेदन साथ दाखिल गरेका छौं भन्ने समेत व्यहोराको प्र.स.नि.मिनबहादुर के.सी.समेतको प्रतिवेदन ।
३. श्यामकुमार श्रेष्ठको घर डेरा खानतलासी हुँदा एक पुडीया स्म्याक फेला परेको ठीक साँचो हो भन्ने समेत व्यहोराको २०४५।४।३ को बरामदी मुचुल्का ।
४. मेरो घर डेरा खानतलासी गर्दा एक पुडीया ब्राउन सुगर फेला परी बरामद गरी लगेका हुन् कहाँबाट कसरी आयो मलाई थाहा छैन । बरामद हुनुभन्दा एक दिन अगाडिको बु.न.पं. वडा नं. ६ बस्ने अशोक थापा मेरो घर डेरामा आएर यो औषधी राखी दिन पर्यो भनी दिएका र मैले औषधी भन्ने ठानी राखी दिएकोमा सो स्म्याक रहेछ बरामद भएपछि मात्र थाहा भयो भन्ने समेत व्यहोराको प्रतिवादी श्यामकुमार श्रेष्ठले प्रहरीमा गरेको २०४५।४।४ को बयान कागज ।
५. मिति २०४५।४।३ गतेका दिन श्याम श्रेष्ठको घर डेराबाट प्रहरीहरु आई स्म्याक बरामद गरी लगे भन्ने सुनेको हुँ । सो स्म्याक अशोक थापाले औषधी हो राखी दिन पर्यो भनेबाट श्यामले औषधी नै होला भन्ने ठानी राखी दिएकोमा प्रहरीहरुले बरामद गरी लगेका हुन् । श्यामले जानी जानी सो स्म्याक राखेकोमा विश्वास लाग्दैन । स्म्याकको कारोबार गरेको पनि थाहा छैन भन्ने समेत व्यहोराको अधिकांश सरजमीनका मानिसहरु भएको २०४५।४।९ को सरजमीन मुचुल्का ।
६. प्रतिवादी श्यामकुमार श्रेष्ठले ला.औ.(नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ) र (साविक पेज नं. २१३) (च) को अपराध गरेको र अशोक थापाले ऐ.ऐनको दफा ४ को खण्ड (घ) र (छ) को अपराध गरेकोले प्र.श्यामकुमार श्रेष्ठलाई सोही ऐनको दफा १४ को उपदफा १(ग) र प्र.अशोक थापालाई उक्त ऐनको दफा १४ को (१)(ग) तथा (घ) अनुसार सजायँ हुन समेत माग दावी लिइएको छ भन्ने समेत व्यहोराको संयुक्त प्रहरी प्रतिवेदन माग दावी ।
७. मिति २०४५।४।३ गतेका दिन मेरो घर कोठाबाट एक पुडीया स्म्याक फेला परेको हो । यो कहाँबाट आयो मलाई थाहा छैन । कान्छी बजार बस्ने अशोक थापा भन्ने केटालाई बरामद हुनु भन्दा तीन चार दिन अगाडि मेरो घरमा आएको देखेको हुँ । निज अशोकले आफ्नै साथमा ल्याएको स्म्याक बरामद भयो भनी प्रहरीले मलाई पक्राउ गरी हिरासतमा ल्याई राखेका हुन् । मैले ल्याएको होइन भन्ने समेत व्यहोराको प्रतिवादी श्यामकुमार श्रेष्ठको लुम्बिनी अञ्चल अदालतमा भएको बयान ।
८. प्रहरी प्रतिवेदन दावी र श्याम श्रेष्ठको बयान अनुसार मैले स्म्याक प्र.श्यामको घरमा राखेको होइन । मैले प्र.श्यामप्रसाद श्रेष्ठको घरबाट पचास रुपैयाँ पुडीया किनी खरिद गरी खाने गरेको छु । मैले प्रहरीलाई श्यामकुमार श्रेष्ठ कहाँ स्म्याकको अवैध व्यापार हुन्छ भन्ने सूचना गर्न जाँदा त्यसो भए किनेर लिएर आइज भनी भनेको हुँदा किनी प्रहरी कहाँ लगी दिएको हुँ भन्ने समेत व्यहोराको प्र.अशोक थापाको लुम्बिनी अञ्चल अदालतमा भएको बयान ।
९. बरामदी मुचुल्का प्र.ह.उदयबहादुर चौधरी, तेजबहादुर गुरुङ, डिल्लीराज पन्त बोधराज पराजुली, जाहेरवाला मिनबहादुर के.सी., सरजमीनका मिना के.सी., गजबसिं तामाङ, पुष्पा के.सी. जितबहादुर के.सी., मथुरालाल श्रेष्ठ, सुमित्रा गुरुङ, दुर्गाप्रसाद भट्टराई, भिमलाल बस्याल, प्रतिवादी श्यामकुमार श्रेष्ठको साक्षीहरु छत्रबहादुर के.सी., पार्वतीदेवी गणेशबहादुर श्रेष्ठको बकपत्र भई मिसिल सामेल रहेछ ।
१०. बरामद भएको स्म्याकको परिमाण समेतलाई विचार गर्दा प्र.श्यामकुमार श्रेष्ठले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को (छ) अनुसार स्म्याक सेवन गरेको ठहर्छ । सो ठहर्नाले निज श्यामकुमार श्रेष्ठलाई ऐ.ऐनको दफा १४(घ) अनुसार तजबिजी कैद नौ महीना र रु. ३०००।– जरिवाना हुन्छ प्रतिवादी अशोक थापाले लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ४ को खण्ड (छ) अनुसार स्म्याक सेवनको कसूर गरेको ठहर्छ । सो ठहर्नाले निज अशोक थापालाई ऐ.ऐनको दफा १४(घ) अनुसार तजबिजी कैद नौ महीना र रु. ३,०००।– जरिवाना हुन्छ भन्ने समेत व्यहोराको लुम्बिनी अञ्चल अदालतको मिति २०४६।१।११।१ को फैसला ।
११. उक्त फैसलामा चित्त बुझेन । सबूद प्रमाणहरुको आधारमा प्रतिवादीहरुलाई शुरु प्रहरी प्रतिवेदन माग दावी बमोजिम नै सजायँ गरी पाउन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरिएको छ भन्ने समेत व्यहोराको श्री ५ को सरकारको यस अदालतमा परेको पुनरावेदन ।
१२. प्र.श्यामकुमारको घरबाट स्म्याक एक पुडीया बरामद भएको तथ्य स्वयं निजको अदालती बयानबाट पुष्टि भएको छ । तर निजले लागू पदार्थको कारोबार गर्छन् भन्ने कुरा अशोक थापाको बयान बाहेक अन्य स्वतन्त्र प्रमाणबाट पुष्टि भएको देखिएन । साथै प्र.अशोक थापा स्म्याक सेवन गरेमा सावित भएको तर निजले कारोबार गरेको भन्ने कुराको सबूद प्रमाण नदेखिएको स्थितिमा दुवै प्रतिवादीहरुलाई लागू पदार्थ (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) को कसूरदार ठहर्याई गरेको लुम्बिनी अञ्चल अदालतको निर्णय मनासिब ठहर्छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।७।२८ को फैसला ।
१३. प्रतिवादीहरुले लागू औषधको बिक्री (साविक पेज नं. २१४) वितरण र कारोबार गर्ने गरेको भन्ने कुरा मिसिल संलग्न सबूद प्रमाणहरुबाट निर्विवाद रुपमा पुष्टि भइरहेको छ । प्रतिवादीहरुको अधिकार प्राप्त अधिकारी समक्ष भएको बयानबाट निजहरुले एक अर्कालाई लागू औषधको कारोबार गरेमा पोल गरी बयान गरेका छन् । यसरी प्रतिवादीहरुको बयान तथा सरजमीनका मानिसहरु समेतको सबूद प्रमाणहरुबाट प्रतिवादीहरुले लागू औषधको कारोबार गरेको पुष्टि भइरहेको अवस्थामा ती सबूदहरुतर्फ कुनै प्रमाण नभएको भनी गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला न्यायसंगत भन्न नमिलेको हुँदा प्रतिवादीहरुलाई प्रहरी प्रतिवेदन माग दावी अनुसार नै सजायँ गरी पाउँ भन्ने समेत श्री ५ को सरकारको पर्न आएको पुनरावेदनपत्र ।
१४. नियम बमोजिम पेश भएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीतर्फबाट खटिई आउनु भएका सहन्यायाधिवक्ता श्री श्यामबहादुर प्रधानले गर्नु भएको बहस समेत सुनियो ।
१५. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मिलेको छ छैन निर्णय दिनु पर्ने हुन आयो ।
१६. यसमा प्रतिवादी श्यामकुमार श्रेष्ठले लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(घ) र (च) को अपराध गरेकोले ऐ.ऐनको दफा १४(१)(ग) अनुसार तथा प्र.अशोक थापाले ऐ.ऐनको दफा ४(घ) र (छ) को अपराध गरेकोले ऐ.ऐनको दफा १४(१)(ग)(घ) अनुसार सजायँ गरी पाउँ भन्ने समेत संयुक्त प्रहरी प्रतिवेदन माग दावी भएकोमा क्षेत्रीय अदालत समेतबाट फैसला गरिंदा दुवै प्रतिवादीहरुलाई ऐ.ऐनको दफा ४(६) को कसूरदार ठहराई ऐ.ऐनको दफा १४(घ) बमोजिम सजायँ गरेको देखिन्छ ।
१७. प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा प्रतिवादी श्यामकुमारका घरमा ब्राउन सुगर एक पुडीया फेला परेमा निज श्याम सावित भई कारोबार गरेकोमा इन्कार रहेको देखिन्छ । त्यस्तै प्रतिवादी अशोक थापाले कारोबार गरेकोमा पर्याप्त सबूद प्रमाण वादी पक्षबाट गुजार्न सकेको देखिएन । कुनै व्यक्तिको साथबाट लागू औषध बरामद हुँदैमा बिक्री वितरण गरेको कारोबार गरेको भन्न मिल्दैन त्यसमा बरामद भएको परिणाम पनि विचारणीय हुन्छ । एक पुडिया लागू औषध बरामद भएको परिप्रेक्ष्यमा प्रतिवादी श्यामकुमार श्रेष्ठ तथा प्रतिवादी अशोक थापालाई लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४(छ) को कसूरदार ठहर्याई ऐ.ऐनको दफा १४(घ) बमोजिम सजायँ गर्ने ठहर गरेको लुम्बिनी अञ्चल अदालतको इन्साफ मनासिब ठहर्याएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४६।७।२८ को फैसलामा कानुनी त्रुटि नदेखिँदा सो फैसला मनासिब ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु । न्या.प्रचण्डराज अनिल
इतिसम्वत् २०४७ साल भाद्र २० गते रोज ४ शुभम् ।