निर्णय नं. ९५८९ - कर्तव्य ज्यान

सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
फैसला मिति : २०७२।९।१६।५
मुद्दा : कर्तव्य ज्यान
०६९-CR-०२४५
पुनरावेदक / प्रतिवादी : जिल्ला सप्तरी, गा.वि.स. महादेवा वडा नं. ४ घर भई हाल कारागार शाखा राजविराज, सप्तरीमा थुनामा रहेका वर्ष ५८ को राजदेव मण्डल
विरूद्ध
प्रत्यर्थी / वादी : सोनाई खंगको जाहेरीले नेपाल सरकार
०६९-CR-०५३०
प्रत्यर्थी / वादी : सोनाई खंगको जाहेरीले नेपाल सरकार
विरूद्ध
पुनरावेदक / प्रतिवादी : मंगल मण्डलको छोरा जिल्ला सप्तरी महादेवा गा.वि.स. वडा नं. ४ बस्ने गोसाई मण्डल मधैयासमेत
फौजदारी कसुरमा अभियोग दाबी लिँदा को कसले के कस्तो अपराध गरेको हो सोबापत के कस्तो दायित्व लिनुपर्दछ सो कुरा स्पष्ट खुल्ने गरी छुट्टाछुट्टैरूपमा उल्लेख गरी अभियोग एवम् कसुर अपराधको दायित्वको निर्क्यौल गर्नुपर्ने हुन्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको पाइन्छ । केवल आरोप लगाउनु मात्र कसुर स्थापित गर्ने आधार हुन सक्दैन । सबै अभियुक्त समानरूपमा दोषी हुन् भन्ने अनुमान गर्नु कानून र न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने ।
(प्रकरण नं.४)
प्रतिवादीका तर्फबाट :
वादीका तर्फबाट : विद्वान् सहन्यायधिवक्ता खगराज पौडेल
अवलम्बित नजिर :
सम्बद्ध कानून :
मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं.
मुलुकी ऐन, अ.बं.१८८ नं.
सुरू फैसला गर्ने :
मा. जि. न्यायाधीश श्री किरणकुमार पोखरेल
पुनरावेदन फैसला गर्ने :
माननीय न्यायाधीश श्री बलराम बिष्ट
माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की
फैसला
न्या.ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन अदालत, राजविराजको मिति २०६८।११।१५ को फैसलाउपर वादी प्रतिवादी दुवै पक्षले चित्त नबुझाई परेको पुनरावेदनपत्रहरू यसै अदालतको क्षेत्राधिकार पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ:
मिति २०६३।१०।११ गते बिहान अं. ८:०० बजेको समयमा जिल्ला सप्तरी गा.वि.स. महादेवा-४ स्थित थानपोखरी भन्ने स्थानमा मसमेतका मानिसहरूलाई राजदेव मण्डल मधैयासमेतका व्यक्तिहरूले भाला, खुकुरी, रडसमेतले हिर्काई घाइते बनाएकोमा घाइतेमध्ये विनोदकुमार खंगको उपचारको क्रममा मृत्यु भएको भन्नेसमेत व्यहोराको सोनाई खंगको जाहेरी दरखास्त ।
पूर्वमा रामचन्द्र मण्डलको खेत, पश्चिममा विनोद गुप्ताको बाँसघारी, उत्तर हरिनारायण मण्डलको बाँसघारी, दक्षिण नजिकै गहुँबारी, यति चार किल्लास्थित जिल्ला सप्तरी महादेवा-४ मा रहेको थानपोखरी, सो पोखरीको पश्चिम उत्तरमा रहेको पिपलको बोटमुनी मिति २०६३।१०।११ गते बिहान सोनाई खंगसमेतका मानिसहरूलाई राजदेव मण्डलसमेतका मानिसहरूले भाला, रडसमेतले हिर्काएको घटनास्थल र पूर्वमा राजकुमार मण्डलको घर, पश्चिम उत्तर दक्षिणको बाटो, दक्षिण बेचन मण्डलको फूलबारी, उत्तर कारी मण्डलको घर यति चार किल्लास्थित जिल्ला सप्तरी महादेवा-४ बस्ने राजदेव मण्डलको टालीले छाएको घर, सो घरको अगाडी आँगनसमेतमा मिति २०६३।१०।११ गते बिहान जाहेरवाला सोनाई खंगसमेतका मानिसहरूलाई राजदेव मण्डलसमेतका मानिसहरूले कुटपिट गरेको भन्ने छुट्टा छुट्टै लेखाई दिएको घटनास्थल मुचुल्का ।
वादी नेपाल सरकार प्रतिवादी राजदेव मण्डलसमेत भएको कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला सप्तरी महादेवा-४ बस्ने गोसाई मण्डल, ऐ. बस्ने हरेराम मण्डल, ऐ. बस्ने श्यामसुन्दर मण्डललाई पक्राउ गरी दाखेला गरेको प्रहरी प्रतिवेदन ।
श्यामसुन्दर मण्डलको छातीमा चोट, हरेराम मण्डलको दाहिने आँखामाथि चोट र गोसाई मण्डलको बायाँ हातमा चोट देखिएको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदन ।
मिति २०६३।१०।११ गते बिहान अं. ८:०० बजे जिल्ला सप्तरी महादेवा-४ बस्ने जलेश्वर खंग र राजदेव मण्डलबिच जग्गाको साँध सिमानामा सामान्य वादविवाद हुँदा थानपोखरी भन्ने स्थानमा सोही विषयले ठूलो रूप लिई निजहरूको परिवार र मण्डल परिवार र निजको पहिलेका झगडियाहरू तपसी खंगसमेतसँग कुटपिट हुँदा मैलेसमेत जाहेरवालाको भतिजो विनोदकुमार खंगलाई हिर्काएको र सो चोटको कारणबाट निज घाइते भएकोमा पछि उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा मसमेत घाइते भएको छु । सो वारदातमा जाहेरीमा उल्लिखित यादव परिवारको संलग्नता थिएन भन्ने हरेराम मण्डलले गरिदिएको बयान कागज ।
मिति २०६३।१०।११ गते बिहान अं. ८ बजे जाहेरवालाको दाजु जलसेर खंग र राजदेव मण्डलको जग्गासम्बन्धी सामान्य विवादले ठूलो रूप लिई दुवै पक्षबिच कुटपिट भएकोमा म पनि छुट्याउन भनी गएकोमा विनोदकुमार खंगले मलाई पनि हिर्काएको हुँदा निजलाई मैले पनि कुटेको हुँ । राजदेव मण्डलले निजलाई फलामको रडले हिर्काएपछि भुइँमा
लड्यो । त्यसपछि मसमेत भागेको हो । उपचारको क्रममा विनोदकुमार खंगको मृत्यु भएको थाहा पाएको हुँ । सो वारदातमा मसमेत घाइते भएको हुँ । जाहेरीमा उल्लेख भएका यादव परिवारको संलग्नता थिएन भन्ने श्यामसुन्दर मण्डलले लेखाई दिएको बयान ।
मिति २०६३।१०।११ गते बिहान राजदेव मण्डलको घरमा आई जाहेरवाला सोनाई खंग, निजको दाजु जलेश्वर खंग, जलेश्वरको छोरा विनोदकुमार खंगसमेतले राजदेव मण्डलसमेतलाई हिर्काउँदै छन् भन्ने सुनेपछि म पनि उक्त झगडा छुट्टाउन गएकोमा मसँग पनि आइलागेको हुँदा मैले पनि विनोदकुमार खंगलाई कुटपिट गरेको, प्रतिकारमा मेरो पनि हात भाँचियो । सो झगडामा मसमेत धेरै घाइते भए । उपचारको क्रममा विनोदकुमार खंगको मृत्यु भएछ पछि थाहा पाएँ । उक्त वारदातमा जाहेरी दरखास्तमा उल्लिखित यादव परिवारको संलग्नता थिएन भन्ने गोसाई मण्डल मधैयाले गरिदिएको कागज ।
विनोदकुमार खंगको दायाँ आँखाको दायाँतर्फ २ इन्च गोलाईको निलडाम, बायाँ पाखुरामा ३ इन्च लम्बाईको खोस्रिएको दाग र खप्पर तथा घिच्चुकको भागमा काटिएको घाउ देखिएको लास प्रकृति मुचुल्का ।
मिति २०६३।१०।११ गते बिहान जाहेरवालाको दाजु जलेश्वर खंगलाई राजदेव मण्डलसमेतका मानिसहरूले कुटपिट गर्दैछन् भन्ने सुनी मसमेतका मानिसहरू उक्त झगडा छुट्टाउन भनी गएकोमा चारै तर्फबाट घेरा हाली खुकुरी रडसमेतले राजदेव मण्डलसमेतका मानिसहरूले मलाईसमेत कुटि विनोदकुमार खंगलाई रडले हिर्काएर घाइते बनाएका हुन् । उक्त वारदातमा मेरो दाहिने पातामा चोट लाग्यो । घाइतेमध्ये विनोदकुमार खंगको उपचारको क्रममा मिति २०६३।१०।१२ गते मृत्यु भएको हो भन्ने घाइते राजदेव खंगले गरेको कागज ।
मिति २०६३।१०।११ गते बिहान जलेश्वर खंगलाई राजदेव मण्डलसमेतका मानिसहरूले कुटपिट गर्दै राजदेव मण्डलको घरमा ल्याएछन् र निजले हार गुहार गरेको सुनी मसमेत छुट्टाउन गएकोमा त्यहाँ भेला जम्मा भएका गोसाई मण्डल, हरेराम मण्डल, श्याम सुन्दर मण्डलसमेतका मानिसहरूले मसमेतलाई चारैतर्फ घेरा हाली भाग्न उम्कन नपाउने गरी मसमेतलाई हिर्काई विनोदकुमार खंगलाई राजदेव मण्डलले रडले हिर्काई घाइते बनाएका र पछि उपचारको क्रममा मृत्यु भएको भन्ने घाइते लक्ष्मण खंगले गरिदिएको कागज ।
मिति २०६३।१०।११ गते बिहान मेरो पति जलेश्वर खंगलाई राजदेव मण्डलसमेतका मानिसहरूले घेरा हाली कुटपिट गर्दैछन् भन्ने सुनी छुट्टाउन भनी म र मेरो छोरा विनोदकुमार खंगसमेत गएकोमा विनोदकुमार खंगलाई राजदेव मण्डलले फलामको रडले टाउकोमा हिर्काई रगत पच्छे गरी भुइँमा लडाए । मसमेतलाई कुटपिट गरे । छोरा विनोदकुमार खंगको उपचारको क्रममा मृत्यु भएको हो । उक्त घटनामा मसमेत घाइते भएको हुँ भन्ने घाइते फुलेश्वरी देवी खंगले गरिदिएको कागज ।
मिति २०६३।१०।११ गते म आफ्नो गहुँ खेतबाट फर्की आइरहेको अवस्थामा थानपोखरी भन्ने स्थानमा राजदेव मण्डलसमेतका मानिसहरूले मलाई बाटो छेकी कुटपिट गरि घिसारे र निजको घरसम्म लगी मरणासन्न हुने गरी कुटे । म गुहार गुहार गरेको सुनी मलाई बचाउन आएका मेरो छोरा विनोदकुमार खंगलगायतका मानिसहरूलाई जाहेरीमा उल्लिखित मानिसहरूले घेरा हाली भाग्न उम्कन नदिई लाठी फर्सा खुकुरीले जत्रतत्र कुटपिट गरे । राजदेव मण्डलले छोरा विनोदकुमार खंगलाई फलामको रडले टाउकोमा हिर्काई रगत पच्छे पारी भुइँमा लडाए । मसमेत घाइते भएँ । मेरो टाउको फुट्यो । उपचार गराउने क्रममा छोराको मृत्यु भएको हो भन्नेसमेत व्यहोराको घाइते जलेश्वर खंगले गरिदिएको कागज ।
प्रतिवादीमध्येका राजदेव मण्डल मधैयालाई पक्राउ गरी दाखिल गरेको प्रहरीको प्रतिवेदन ।
मिति २०६३।१०।११ गते बिहान जलेश्वर खंगसँगको सामान्य विवादको कारण मेरो घरमा निज जलेश्वर खंग, निजको छोरा विनोदकुमार खंग, जलेश्वरको भाईहरू रामदेव खंग, जितन खंग, निजको भतिजो पर्ने लक्ष्मण खंग, निजको श्रीमतीसमेत हातमा लाठी फट्टासमेत लिई मेरो घरमा जबरजस्ती प्रवेश गरी ढुंगा मुढा गर्न थालेपछि छिमेकीहरू गोसाई मण्डलसमेतका मानिसहरूले सो स्थानमा आउँदा पुनः झगडा हुन थाल्यो । एक आपसमा कुटपिट भयो । विनोदकुमार खंगले खुकुरीले मेरो छोरा अशोककुमार मण्डललाई प्रहार गर्न लागेको देखी निजलाई मैले बाँसको फट्टाले घिच्चुकसमेतमा हिर्काएको हो । घटनामा मसमेत घाइते भएको हो । घाइते भएका विनोदकुमार खंग उपचारको क्रममा मृत्यु भएको सुनेको हो । दोष मेरो पनि हो । सो वारदातमा यादव परिवारका मानिसहरूको संलग्नता छैन । कसैको उक्साहटमा परी सोनाई खंगले जाहेरी दिएको हुनुपर्छ भन्ने पक्राउ प्रतिवादी राजदेव मण्डलले गरिदिएको बयान ।
घाइते लक्ष्मण खंग, जितन खंग, फुलेश्वरी देवी खंग, जलसेर खंग, सोनाई खंग र रामदेव खंग सामान्य घाइते भएको भन्ने निजहरूको घाउ जाँच केस फाराम ।
मिति २०६३।१०।११ गते बिहान अं. ८ बजेको समयमा जाहेरवालासमेतका मानिसहरू र हाल पक्राउ परी आएका राजदेव मण्डललगायतका जाहेरीमा उल्लिखित मानिसहरूबिच कुटपिट हुँदा जाहेरवालाको भतिजो विनोदकुमार खंग सख्त घाइते भएकोमा उपचारको क्रममा मिति २०६३।१०।११ गते मृत्यु भएको हो । सो घटनामा जाहेरवालासमेतका मानिसहरू घाइते भएका हुन् भन्ने बद्री मुखियासमेतले लेखाएको वस्तुस्थिति र उक्त वारदातमा हाल जाहेरीमा उल्लिखित यादव परिवारको संलग्नता नदेखिएको भन्ने रामकिसुन ठाकुरसमेतले अलग अलग ढंगले लेखाई दिएको वस्तुस्थिति मुचुल्का ।
उल्लिखित कागज एवम् वस्तुस्थिति मुचुल्काका मानिसहरूको कथनसमेतबाट प्रतिवादीहरू राजदेव मण्डल मधैया, अशोक मण्डल मधैया, गोसाई मण्डल मधैया, कैला भन्ने श्याम सुन्दर मण्डल मधैया, कारी मण्डल मधैया, भुवनेश्वर मण्डल मधैया, हरि खंग, तपसी खंग, परशु खंग, हरेराम मण्डल, सियाराम मण्डल, हजारी मण्डल मधैयाले जलेश्वर खंगलाई कुटपिट गरी रहँदा छुट्टाउन गएका फुलेश्वरी देवी खंग, विनोदकुमार खंग, सोनाई खंग, रामदेव खंगसमेतलाई कुटपिट गरी विनोदकुमार खंगको टाउको तथा घिच्चुक जस्तो संवेदनशील ठाउँमा फट्टासमेतले प्रहार गरी चोट पुर्याई रगत पच्छे बनाई भुइँमा लडाई छोडी भागेको र उल्लिखित प्रतिवादीहरूकै चोट प्रहारको कर्तव्यबाट विनोदकुमार खंगको उपचारको क्रममा मृत्यु भएकोले उल्लिखित १२ जना प्रतिवादीहरूलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १३ (३) नं. को कसुरमा ऐ. १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको अभियोग मागदाबी ।
विनोदकुमारले मलाई प्रहार गर्न लागेको देखी मैले पनि बाँसको फट्टाले हात र पछाडिको घिच्चुकमा हिर्काए र भुइँमा लडेँ । मैलेसमेत कुटपिट गर्दा मेरो श्रीमती त्यहाँ थिइनन् । हामी र जाहेरवालाबिच दोहोरो कुटपिट भएको र सोही चोटको कारणले विनोदकुमारको उपचारको क्रममा मृत्यु भएको हो । मैले फलामको नभई बाँसको फट्टाले हिर्काएको हुँ । अभियोग दाबीअनुसार सजाय नपाउनुपर्ने हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजदेव मण्डलले अदालतमा गरेको बयान ।
मैले जलेश्वर, विनोदकुमार खंगसमेतलाई कुटपिट गरेको होइन । कसले कुटपिट गरी विनोदकुमारलाई मारेका हुन् थाहा छैन । मउपर किन किटानी जाहेरी दिएका हुन् । प्रहरीमा मैले नभनेको व्यहोरामा सही गराएका हुन् । मैले कुनै अपराध नगरेको हुँदा सजाय पाउनुपर्ने होइन भन्नेसमेत व्यहोराको प्रतिवादी कैला भन्ने श्याम सुन्दर मण्डलले अदालतमा गरेको बयान ।
मेरो वारदात घटनामा कुनै संलग्नता छैन । के कस्तो प्रहारले विनोदको मृत्यु भएको हो मलाई थाहा छैन । मैले कसैलाई पनि कुटपिट गरेको छैन । घटना हुँदा मेरो बुबालाई छुट्टाउन गएको हुँ । हामीलाई जाहेरवालाले कुटपिट गरेका हुन् । प्रहरीमा मैले नभनेको कुरा लेखाएका हुन् भन्नेसमेत व्यहोराको प्रतिवादी हरेराम मण्डलले अदालतमा गरेको बयान ।
घटनामा के कसको प्रहारबाट विनोदकुमारको मृत्यु भएको हो, मैले नदेखेको हुँदा खुलाउन सक्दिन । मैले कुटपिट गरेको होइन । प्रहरीमा भएको कागज मलाई कुटपिट गरी सही गराएका हुन् । सजायको बारेमा खुलाई भन्न सक्दिन भन्नेसमेत व्यहोराको प्रतिवादी गोसाई मण्डलले अदालतमा गरेको बयान ।
झगडामा परी प्र. विनोदकुमारको मृत्यु भएको भनी सुनेको हो । घटनामा म संलग्न नभएको हुँदा जाहेरी व्यहोरा झुठा हो भन्नेसमेत व्यहोराको प्रतिवादी राजेश्वर यादवले अदालतमा गरेको बयान ।
गाउँघरमा झगडा भई विनोदकुमारको मृत्यु भएको भन्ने सुनेको हो । घटनामा म संलग्न छैन भन्नेसमेत व्यहोराको प्रतिवादी जगदीश यादवले अदालतमा गरेको बयान ।
घटनाको समय म गाउँघरमा थिइनँ । झगडामा परि विनोदकुमारको मृत्यु भएको भन्ने सुनेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी गोसाई यादवले अदालतमा गरेको बयान ।
म घटनाको समय गाउँघरमै थिइनँ । गाउँघरमा राजदेव र जलेश्वरहरू बिचको झगडामा परि विनोदकुमारको मृत्यु भएको सुनेको हो भन्नेसमेत व्यहोराको प्रतिवादी दानालाल यादवले अदालतमा गरेको बयान ।
घटना घटेको दिन म आफ्नो खेतमा काम गर्न गएको थिएँ । मेरा पति राजदेव र जलेश्वर खंगबिच झगडा भएको भन्ने सुनेको हो को कसको प्रहारबाट विनोदकुमारको मृत्यु भएको हो थाहा भएन । म घटनामा संलग्न छैन भन्नेसमेत व्यहोराको प्रतिवादी लक्ष्मी देवी मण्डल भन्ने लक्ष्मीनिया देवीको अदालतमा भएको बयान ।
म ट्युसन पढ्नको लागि घर देखि ३ कि.मी. रहेको शिक्षकको घर गएको थिएँ । गाउँमा झगडा भयो भनी सुनेको हो । को कसको प्रहारबाट विनोदकुमारको मृत्यु भयो थाहा भएन भन्नेसमेत व्यहोराको प्र. सियाराम मण्डलले अदालतमा गरेको बयान ।
घटना घटेको समय म गाउँ घरमा थिइनँ । फर्की आउँदा राजदेव र जलेश्वरबिच झगडा भई विनोदकुमारको मृत्यु भएको भन्ने सुनेको हो भन्नेसमेत व्यहोराको प्र. परशु भन्ने परशुराम खंगले अदालतमा गरेको बयान ।
वारदातको मिति समयमा म आफ्नो गाउँघरमा थिइनँ । म कुनै कुटपिटको घटनामा संलग्न छैन । विनोदकुमारको मृत्यु कसरी भयो मलाई थाहा भएन भन्नेसमेत व्यहोराको प्र. हरि खंगको अदालतमा भएको बयान ।
घटनाको समयमा म गाउँ घरमा थिइनँ । राजदेव र जलेश्वरबिच झगडा भयो भन्ने सुनेको हो विनोदकुमारको मृत्यु कसरी भयो थाहा भएन भन्नेसमेत व्यहोराको प्र. तपसी खंगले अदालतमा गरेको बयान ।
म घर बाहिर पञ्जाबमा भएको हुँदा घटनाको बारेमा थाहा भएन । मउपरको जाहेरी व्यहोरा झुठा हो भन्नेसमेत व्यहोराको प्र. कारी मण्डलले अदालतमा गरेको बयान ।
मृतक विनोदकुमारको मृत्यु कसरी भयो मलाई थाहा भएन । घटनामा म संलग्न छैन भन्नेसमेत व्यहोराको प्र. भुवनेश्वर मण्डलले अदालतमा गरेको बयान ।
म पञ्जाबमा भएको हुँदा घटनाको बारेमा थाहा छैन । मृतक विनोदकुमारको मृत्यु कसरी भयो थाहा भएन भन्नेसमेत व्यहोराको प्र. हजारी मण्डलले अदालतमा गरेको बयान ।
घटनाको समय म ट्युसन पढ्न राजविराज आएको थिएँ, घटनामा म संलग्न छैन । मृतक विनोदकुमार मण्डललाई मैले कुटपिट गरी ज्यान मारेको होइन भन्नेसमेत व्यहोराको प्र. अशोककुमार मण्डलले अदालतमा गरेको बयान ।
मिसिल संलग्न प्रमाणबाट तत्काल यी प्रतिवादीहरू राजदेव मण्डल, गोसाई मण्डल, हरेराम मण्डल, श्याम सुन्दर मण्डल आरोपित कसुरमा कसुरदार देखिन आएकोले निजहरूलाई मुद्दा पुर्पक्षको निमित्त नियमानुसार सिधा खान पाउने गरी थुनामा राख्न थुनुवा पुर्जी दिई कारागार शाखामा पठाउनु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६३।११।१३ को थुनछेकको आदेश ।
पछि प्रमाण बुझ्दा ठहरेबमोजिम हुने गरी तत्काल मुद्दा पुर्पक्षको निमित्त प्र. जगदिश यादव, राजेश्वर यादवबाट जनही रू. १५,०००।– नगद धरौट वा सो बराबरको जेथा जमानत लिई तारेखमा राख्नु, मागबमोजिमको धरौट जमानत दिन नसके नियमानुसार सिधा खान पाउने गरी थुनामा राख्न पठाउनु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६३।११।१६ को थुनछेकको आदेश ।
तत्काल मुद्दा पुर्पक्षको निमित्त प्र. दानालाल यादव, प्र. गोसाई यादवबाट जनही रू. १५,०००।– का दरले नगद धरौट वा सो बराबरको जेथा जमानत लिई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६३।११।२३ को थुनछेकको आदेश ।
यी प्र. लक्ष्मीनिया देवीबाट रू. ५०००।– नगद धरौट वा सो बराबरको जेथा जमानत लिई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६३।११।२८ को थुनछेकको आदेश ।
प्र. सियाराम मण्डल नाबालक हुन् होइनन् तत्काल एकिन नभएकोले कानूनबमोजिम सिधा खर्च पाउने गरी थुनामा राख्न कारागार शाखा सप्तरीमा पठाई दिनु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६३।१२।१९ को थुनछेकको आदेश ।
तत्काल यी प्रतिवादीहरू तपसी खंग, परशु खंग, हरि खंग कसुरदार देखिन आएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल मुद्दा पुर्पक्षको निमित्त यी प्रतिवादीहरूलाई थुनामा राख्न नियमानुसार सिधा खान पाउने गरी थुनुवा पुर्जी सहित कारागार शाखा सप्तरीमा पठाई दिनु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६४।२।२३ को थुनछेकको आदेश ।
प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल मुद्दा पुर्पक्षको निमित्त यी प्रतिवादी कारी मण्डललाई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६५।२।२९ को थुनछेकको आदेश ।
पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल मुद्दा पुर्पक्षको निमित्त यी प्रतिवादी भुवनेश्वर मण्डललाई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको मिति २०६५।३।८ को थुनछेकको आदेश ।
तत्काल मुद्दा पुर्पक्षको निमित्त यी प्रतिवादी हजारी मण्डललाई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६५।३।१७ को थुनछेकको आदेश ।
तत्काल मुद्दा पुर्पक्षको निमित्त यी प्रतिवादी अशोककुमार मण्डललाई तारेखमा राख्नु भन्नेसमेत व्यहोराको सुरू अदालतको मिति २०६५।३।१८ को आदेश ।
घटनामा प्रतिवादीहरूको संलग्नता छैन, मृतकलाई कसले मारे थाहा भएन भन्नेसमेत व्यहोराको प्र. दानालाल, प्र. गोसाई, प्र. सियाराम, प्र. तपसी, प्र. परशुराम, प्र. लक्ष्भीनिया देवी, प्र. गोसाई मण्डल, प्र. हरि खंग, प्र. जगदिश, प्र. भुवनेश्वर, प्र. कारी मण्डल, प्र. अशोक मण्डलसमेतका साक्षी लक्ष्मी यादव, देवनारायण यादव, राज कुमार यादव, पाँचु खंग, कसुमलाल यादव, जितन साह, रून्दी खंग, गौरीशंकर यादव, अवध मण्डल, जागेश्वर मण्डल र रामदत्त यादवले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी राजदेव मण्डलले मृतक विनोदकुमारलाई फट्टाले घिच्चुकमा हानेर लडाई मृतकको मृत्यु भएको हो । सो घटनामा अन्य प्रतिवादीहरूको संलग्नता छैन भन्नेसमेत व्यहोराको प्र. हरेराम मण्डल, श्याम सुन्दर मण्डल, राजदेव मण्डलसमेतका साक्षी सुदिप यादव, शम्भु यादव, सौदागर यादव, रामादेश मण्डलले अदालतमा गरेको बकपत्र ।
मृतक विनोदकुमारलाई प्र. राजदेव मण्डलले घिच्चुकमा रड तथा फट्टाले हानी मारेका हुन् भन्नेसमेत व्यहोराको वस्तुस्थिति मुचुल्काका बद्रि मुखिया, कैशनलाल यादव, रामानारायण यादव, मनेश्वर यादव, रामकिसुन ठाकुर, श्याम मण्डल, घटनास्थल प्रकृति मुचुल्काका किसुन देव मण्डल, सुकदेव मण्डल, राजदेव मण्डल, घाइते लक्ष्मण खंग, जितन खंग, रामदेव खंग, फुलेश्वरी देवी, जलेश्वर खंग तथा जाहेरवाला सोनाईले अदालतमा गरेको बकपत्र ।
प्रतिवादी राजदेव मण्डललाई अभियोग माग दाबीबमोजिम ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्म कैदको सजाय हुने ठहर्छ । अन्य प्रतिवादीहरू गोसाई मण्डल मधैया, कैला भन्ने श्याम सुन्दर मण्डल, हरेराम मण्डल, अशोककुमार मण्डल, सियाराम मण्डल, हजारी मण्डल, कारी मण्डल, भुवनेश्वर मण्डल, हरि खंग, तपसी खंग, परशु खंग, लक्ष्मी देवी मण्डल, दानालाल यादव, राजेश्वर यादव, जगदिश यादव र गोसाई यादवसमेतले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्नेसमेत व्यहोराको सप्तरी जिल्ला अदालतको मिति २०६६।७।१९ गतेको फैसला ।
मैले मृतक विनोदकुमारको ज्यान मार्ने पूर्व षड्यन्त्र पनि नगरेको र मनसाय पनि थिएन । मार्नुपर्नेसम्मको रिसइबी अदावतसमेत छैन । लुकी चोरीकन कुटेको पनि छैन । मेरै घर आँगनमा जबरजस्ती प्रवेश गरी मलाई तथा मेरो छोरालाई खुकुरीले काटी मार्न लागेको अवस्थामा खुकुरी प्रहार रोक्न बाँसको लाठीले प्रतिरक्षा गर्दा निजको हातबाट खुकुरी भुइँमा झरेको हो । सोही खुकुरी पुनः उठाई प्रहार गर्न लाग्दा मेरो तथा मेरो छोराको ज्यान जोगाउन बाँसको लाठीले प्रतिरक्षा गर्दा मृतक विनोदकुमारलाई साधारण चोट लागेको हो । घटनास्थलमै निजको मृत्यु भएको पनि छैन । घटनाक्रमअनुसार भवितव्य भएको प्रष्टै देखिन्छ । ज्यानसम्बन्धीको ५, ६ र ७ नं. ले तोकेको पूर्वावस्था भएकोमा ज्यानसम्बन्धीको १३(३) नं. को अवस्था लागू हुँदैन । वारदात गर्ने गराउने नियत नभई भएको वारदातलाई आपराधिक क्रियाकलाप भएको नदेखिँदा कसुर गरेको भन्न नमिल्नेमा मलाई सर्वस्वसहित जन्मकैद गर्ने गरेको सप्तरी जिल्ला अदालतको फैसलामा गम्भिर कानूनी त्रुटि हुँदा सो बदर गरी मलाई झुठा अभियोगदाबीबाट फुर्सद गरिपाउँ भन्नेसमेत व्यहोराको राजदेव मण्डलको पुनरावेदन अदालत राजविराजमा पेस गरेको पुनरावेदन पत्र ।
प्रतिवादीहरूले आरोपित कसुर गरेको पुष्टि गर्ने कागज प्रमाणहरूको विद्यमानता हुँदा हुँदै प्रतिवादी राजदेव मण्डलबाहेक अन्य प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई दिई गरेको सप्तरी जिल्ला अदालतको मिति २०६६।७।१९ गतेको फैसला त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी सम्पूर्ण प्रतिवादीहरूलाई सुरू अभियोग माग दाबीअनुसार सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र ।
प्रतिवादीमध्येका राजदेव मण्डलको हकमा हेर्दा जाहेरवालाले सुरू जाहेरी दरखास्त र अदालतसमक्ष उपस्थित भई बकपत्र गर्दासमेत यी प्रतिवादी उपर गडाउ गरी बकपत्र गरेको पाइन्छ । यी प्रतिवादीले अधिकारप्राप्त अधिकारी र सुरू अदालतसमक्ष साबित भई गरेको बयानलाई शव परीक्षण प्रतिवेदन तथा जाहेरवाला र बुझिएका मानिसहरूले अदालतसमक्ष गरेको बकपत्रबाट पुष्टि भइरहेको अवस्थामा यी प्रतिवादीलाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई सुरू अदालतबाट भएको फैसलालाई अन्यथा भन्न सकिएन भने अन्य प्रतिवादीहरू गोसाई मण्डल मघैयासमेतको हकमा वादीका साक्षीहरूले पनि यी प्रतिवादीहरूमध्ये को कसको संलग्नता थियो स्पष्ट खुलाउन सकेको छैन । यी प्रतिवादीहरूबाट प्रमाण लाग्ने कुनै दशी बरामद भएको देखिएन । यदि यी प्रतिवादीहरू सबैले मृतकलाई कुटपिट गरेको भए मृतकको शरीरमा जत्रतत्र चोट पटक देखिनुपर्ने थियो तर खप्पर तथा घुच्चुकको भागमा मात्र मरणासन्न चोट रहेको देखिन्छ । केवल अभियोग लगाउनु मात्र कसुर स्थापित गर्ने आधार हुन सक्दैन । त्यस्तो अभियोग वादी पक्षले शङ्कारहित तवरबाट प्रमाणित गर्न सक्नुपर्दछ । यसरी प्रतिवादी राजदेव मण्डलबाहेक यी उल्लिखित प्रतिवादीहरू उपर ठोस सबुद प्रमाणको अभावमा अभियोग दाबीबाट सफाई पाउने ठहर्याई सुरू जिल्ला अदालतले गरेको फैसला मिलेकै देखिन्छ भन्नेसमेत व्यहोराको पुनरावेदन अदालत, राजविराजको फैसला ।
वारदात भएको स्थान मेरै घर आँगन हो मृतक विनोद खंग र निजको बाबु, ठूलो बाबु र अन्य नाताका व्यक्तिहरूसमेत मिली हुल बाँधी मेरै घर आँगनमा आई म र मेरो छोरोलाई कुटपिट गर्न थालेपछि आफ्नो ज्यान बचाउनको लागि दोहोरो कुटपिट भई निजलाई मैले साधारण लाठीले प्रहार गर्दा निजको घुच्चुकमा लागेपछि निजकै बाबु, बडाबाबुसमेतले के कता लाँदा निजको मृत्यु भयो मलाई थाहा भएन । निज मृतक र निजसँग साथ आएका व्यक्तिहरूले हुल बाँधी हामीलाईसमेत कुटपिट गरेका हुँदा घाँ जाँच भई सप्तरी जिल्ला अदालतमा दोहोरो कुटपिट मुद्दा चलेको थियो । मैले प्रहरीमा कागज गर्दा र अदालतमासमेत बयान गर्दा मृतक बिनोद खंगसँग साधारण कुटपिट हुनुपूर्व मैले निजलाई मार्ने रिसइवी अदावत रहेको भन्ने कुरा कहिँकतै प्रमाणित भएको छैन । मैले आफ्नो घर छाडेर अन्यत्र गई षड्यन्त्रपूर्वक निजलाई कुटपिट गरेको नभई साँचो सत्य तथ्यलाई मैले बताएको अवस्थामा सुरू तथा पुनरावेदन अदालत, राजविराजले ज्यानसम्बन्धीको महलको ५ र ६ नं. बमोजिमको तथ्य र कानुनको प्रयोग गरी सजाय गर्नुपर्नेमा सो नगरी ऐ. को १३(३) नं. बमोजिम कसुर ठहर्याएको कुरा तथ्य र कानूनको रोहमा नमिलेकोले सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत, राजविराजको फैसला कानून र न्यायको प्रतिकूल भएकोले सो फैसला बदर गरी झूठा अभियोग दाबीबाट सफाई दिलाई पाउँ भन्ने व्यहोराको पुनरावेदक प्रतिवादी राजदेव मण्डलले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
प्रस्तुत मुद्दाको वारदातमा मृतक विनोद खंगको खप्पर तथा घुच्चुकको भागमा घाउ रहेको दायाँ आँखाको दायाँतर्फ निलडाम रहेको बायाँ पाखुरामा खोस्रिएको दाग रहेको एकभन्दा बढी ठाउँमा घाउ खत रहेको देखिँदा मृतकलाई एकजना भन्दा धेरै व्यक्तिहरूले हुलहुज्जत गरी प्रहार गरेको कुरा मिसिल संलग्न कागज प्रमाणबाट पुष्टि भइरहेको अवस्थामा प्रमाण ऐन, २०३१ को दफा १०(१) र ५४ विपरीत एकजना प्रतिवादी राजदेव मण्डललाई मात्र सजाय गरी अन्य प्रतिवादीहरूलाई सफाई दिने गरी भएको सुरू जिल्ला अदालतको फैसला सदर हुने ठहर्याएको पुनरावेदन अदालत राजविराजको फैसला मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) र १७(३) नं. तथा प्रमाण ऐन, २०३१ को दफा १८ समेतको व्याख्या त्रुटिपूर्ण हुँदा सो फैसला बदर गरी अभियोग दाबीबमोजिम अन्य प्रतिवादीहरूसमेतलाई सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको नेपाल सरकारले यस अदालतमा दायर गरेको पुनरावेदन पत्र ।
नियमबमोजिम साप्ताहिक एवं दैनिक पेसी सूचीमा चढी निर्णयार्थ आज इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दामा वादी नेपाल सरकारका तर्फबाट सह-न्यायाधिवक्ता श्री खगराज पौडेलले अभियुक्त राजदेव मण्डलबाहेक र अन्य प्रतिवादीहरूलाई आरोपित कसुरबाट सफाई पाउने ठहरी भएको फैसला मिलेको छैन मृतकको लास जाँच प्रतिवेदन हेर्दा निजको शरीरमा एकभन्दा बढी चोटपटक लागेको, ३ इन्च गहिरो घाउ देखिएको, प्रहरीमा कागज गर्ने व्यक्तिहरूले हुल हुज्जत बाँधी लाठा, फर्सा, रड, खुकुरी प्रहार गरी मृतकको मृत्यु भएको भन्नेसम्मको बयान कागज गरिदिएको, घटनाका चश्मदिद गवाह एवम् पीडित जाहेरवाला सोनाई खंगले घटना हुल हुज्जत बाँधी धेरै जना भई घटाएको भनी अदालतमासमेत बकपत्र उल्लेख गरिदिएको, प्रतिवादीहरू र मृतकबिच जग्गाको साँध सिमानाको विवादमा रिसइवी रहेको भनी प्रतिवादीहरूको बयानमा देखिएको, दोहोरो कुटपिट भएको कुरामा यी प्रतिवादीहरू साबित रहेको, सम्पूर्ण प्रतिवादीहरूसमेतको संलग्नतामा मृतकको मृत्यु भएको कुराको पुष्टि भइरहेकोमा प्रतिवादी राजदेव मण्डललाई मात्र सजाय गरी अन्य प्रतिवादीलाई सफाई दिएको सुरू र पुनरावेदन अदालतको फैसला त्रुटिपूर्ण भएकोले बदर गरी अभियोग माग दाबीबमोजिम सजाय गरिपाउँ भनी गर्नुभएको बहससमेत सुनियो ।
यसमा सुरू जिल्ला अदालतले गरेको फैसलालाई सदर गर्ने गरि भएको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेको छ छैन ? पुनरावेदक प्रतिवादी र नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्छ सक्दैन । सोतर्फ निर्णय दिनुपर्ने देखिन आयो ।
मिसिल अध्ययन गरि हेर्दा मिति २०६३।१०।११ गते बिहान ८.०० बजेको समयमा सप्तरी जिल्ला, महादेवा गा.वि.स. ४ स्थित थानपोखरी भन्ने ठाउँमा जलेश्वर खंग पक्ष र प्रतिवादी राजदेव मण्डल मधैयाहरू बिच सामान्य विवादको कारणले एक आपसमा कुटपिट हुँदा राजदेव मण्डलको चोटपिरको कारणले जाहेरवाला सोनाई खंगको भतिजा बिनोद कुमार खंगको मृत्यु भएको भन्ने व्यहोराको जाहेरी दरखास्त, घटनास्थल प्रकृति मुचुल्का, लासजाँच प्रकृति मुचुल्का, मौकामा बुझिएका मानिसहरू, वस्तुस्थिति मुचुल्काका मानिसहरूसमेतको भनाई प्रतिवादी राजदेव मण्डलसमेतको अधिकारप्राप्त अधिकारीसमक्षको बयानसमेतले गर्दा प्रतिवादीहरू गोसाई मण्डल मधैया, श्याम सुन्दर मण्डल मधैया, हरेराम मण्डल मधैया, अशोककुमार मण्डल, सियाराम मण्डल मधैया, हजार मण्डल मधैया, कारी मण्डल मधैया, भुवनेश्वर मण्डल मधैया, लक्ष्मी देवी मण्डल, हरि खंग, परशु खंग, तपशी खंग, दाना लाल यादव, राजेश्वरी यादव, जगदीश यादव र गोसाई यादवको उक्त वारदातमा संलग्नता रहेको प्रतिवादीहरू राजदेव मण्डल मधैया, श्यामसुन्दर मण्डल मधैया, हरेराम मण्डल मधैया, सियाराम मण्डल मधैया, हजारी मण्डल मधैया, कारी मण्डल मधैया, भुवनेश्वर मण्डल मधैया, हरि खंग, परशु खंग तपसि खंगको प्रत्यक्ष संलग्नता देखिएको हुँदा निजहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको १ र १३(३) नं. विपरीतको कार्य भएको हुँदा निजहरूलाई ऐ. १३(३) नं. बमोजिम सजाय हुन र अन्य प्रतिवादी लक्ष्मी देवी मण्डल, दानालाल यादव, राजेश्वर यादव, जगदीश यादव, गोसाई यादवको उक्त घटना घटाउनमा अप्रत्यक्ष संलग्नता भएकोमा निजहरूको उक्त कार्य मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १ र १७(३) नं. विपरीतको कसुर अपराध भएकोले ऐ. को १७(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत व्यहोराको अभियोग माग दाबी भएकोमा सुरू र सप्तरी जिल्ला अदालतले प्रतिवादी राजदेव मण्डललाई अभियोग माग दाबीबमोजिम ठहर्याएको र अन्य प्रतिवादीहरूलाई सफाई दिएको फैसलाउपर परेको दोहोरो पुनरावेदनलाई पुनरावेदन अदालत, राजविराजले पनि सदर गरेको देखिन्छ ।
२. निर्णयतर्फ विचार गर्दा प्रतिवादी राजदेव मण्डल र अन्य प्रतिवादीहरूको वारदातमा के कस्तो संलग्नता थियो र निज प्रतिवादीहरूलाई के कस्तो सजाय हुनुपर्छ भनि विचार गर्दा प्रतिवादी राजदेव मण्डलले मृतक विनोदकुमार खंगसँग आफ्नै घरमा कुटपिटको वारदात भएको, आफूले लाठा फट्टाले प्रहार गरेको कारण उपचारको क्रममा निज विनोदको मृत्यु भएको भन्ने कुरा अधिकारप्राप्त अधिकारी र अदालतमासमेत आरोपित कसुरमा साबित भई बयान गरेको पाइन्छ । लासजाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का, वस्तुस्थिति मुचुल्कामा बस्ने व्यक्तिहरूले र वादी पक्षका साक्षीहरू र निज स्वयंले राखेका साक्षीहरूले अदालतमा आई बकपत्र गर्दासमेत अभियोग दाबीलाई पुष्टि हुने गरी मृतक विनोद खंगलाई निज प्रतिवादी राजदेव मण्डलले नै बाँसको फट्टाले हिर्काई मारेको हो भनी बकपत्र गरिदिएको देखिन्छ भने स्वास्थ्य परीक्षण रिपोर्ट हेर्दा निजको मृत्युको कारणमा Head Injury भन्ने उल्लेख भएको देखिन्छ । प्रतिवादीमध्येका राजदेव मण्डलले मृतक विनोदलाई दोहोरो कुटपिटमा वारदातको क्रममा साधारण बाँसको फट्टा प्रहार गरी घिच्चुकमा लागको चोटले विना रिसइबी भवितव्य परी मृत्यु भएकोले ज्यानसम्बन्धीको महलको १३(३) नं. बमोजिम सजाय हुनुपर्ने होइन । सोही महलको ५ नं. बमोजिम भवितव्यमा मात्र सजाय हुनुपर्ने हो भनी जिकिर लिए तापनि यी प्रतिवादी राजदेव मण्डलले अधिकारप्राप्त अधिकारी र सुरू अदालतमा समेत मृतकलाई कुटपिट गरेको कुरामा साबितै रही गरेको बयानलाई माथि उल्लिखित शव परीक्षण प्रतिवेदन तथा बुझिएका वादी, प्रतिवादीका साक्षीहरूको बकपत्रबाट समेत पुष्टि भएको देखिएको छ । आफूले गरेको कर्तव्यबाट मानिस मर्नसक्ने देखिएको अवस्थामा निजको उक्त ५ नं. को जिकिर आकर्षित हुने देखिँदैन । अतः यी प्रतिवादी राजदेव मण्डललाई अभियोग दाबीबमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई सुरू अदालतबाट भएको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ ।
३. मृतकलाई मार्नेसम्मको पूर्व रिसइबी र मार्ने मनसाय नभई तत्काल उत्पन्न भएको विवादको परिणामस्वरूप दुवै पक्षबिचको विवादमा भएको दोहोरो कुटपिटको परिणाम स्वरूप प्रतिवादी राजदेव मण्डलले गरेको प्रहारबाट मृतक विनोदकुमार खंगको मृत्यु भएको अवस्था रहेको देखिँदा निजउपर अभियोगपत्रमा मागदाबी लिएअनुसार सर्वस्वसहित जन्मकैदको सजाय गर्दा न्यायोचित नभएको हुँदा मुलुकी ऐन, अ.बं. १८८ नं. ले १५ वर्ष कैद गर्दा इन्साफ पर्ने र सजायको उद्देश्य पनि पुरा हुने हुँदा प्रतिवादी राजदेव मण्डललाई कैद वर्ष १५ पन्ध्र हुने ठहर्छ ।
४. अब अन्य प्रतिवादी गोसाई मण्डल मधैया, कैला भन्ने श्याम सुन्दर मण्डल मधैया, हजारी मण्डल मधैया, कारी मण्डल मधैया, भुवनेश्वर मण्डल मधैया, हरि खंग, तपसी खंग, परशु खंग, लक्ष्मी देवी मण्डल, दाना लाल यादव, राजेश्वर यादव, जगदिश यादव, गोसाई यादव, अशोककुमार मण्डल मधैया, सियाराम मण्डल, हरेराम मण्डल मधैयाको हकमा विचार गर्दा सुरू अदालतमा उपस्थित भई बयान गर्दा आफूहरूले आरोपित कसुर नगरेको र वारदातको समयमा घटनास्थल भन्दा अन्यत्रै रहेको भनी कसुरमा पूर्णतः इन्कार रहि बयान गरेको पाइन्छ भने घटनास्थल प्रकृति मुचुल्का हेर्दा घटना हुँदा हुल हुज्जत भएको र सो घटना घटेको समयमा यी प्रतिवादीहरूले को कसले के के कसुर गरे भनी अभियोगपत्रमा स्पष्टरूपमा अभियोग नलगाई गोश्वारारूपमा अभियोग लगाइएको पाइन्छ । जाहेरवाला तथा मृतकका आमा तथा बाबुहरूले पनि यी प्रतिवादीहरूले के कुन हतियार प्रहार गरे भनि किटानी गरि लेखाउन सकेको छैन । यी प्रतिवादीहरूका साक्षीहरूले सुरू अदालतमा आई निजहरू वारदात समयमा उपस्थित नरहे, नभएको भनि प्रतिवादीहरूले पूर्णरूपमा इन्कारी साथ गरेको बयानलाई पुष्टि हुने गरी बकपत्र गरिदिएको पाइन्छ । अभियोग मागदाबीमा हुल हुज्जत भई कुटपिट गरी मृतक विनोद कुमार खंगको मृत्यु भएको भनि गोश्वारारूपमा अभियोग लगाइएको र आरोपित प्रतिवादीहरू सबैले हुल हुज्जत गरी कुटपिट एवम् प्रहार गरेको भए निज मृतकको शरीरमा अत्यधिक चोटपटक देखिनुपर्नेमा सो रहे भएको पनि मिसिल संलग्न कागज प्रमाणबाट समेत देखिन आएन । फौजदारी कसुरमा अभियोग दाबी लिँदा को कसले के कस्तो अपराध गरेको हो सोबापत के कस्तो दायित्व लिनुपर्दछ सो कुरा स्पष्ट खुल्ने गरी छुट्टाछुट्टैरूपमा उल्लेख गरी अभियोग एवम् कसुर अपराधको दायित्वको निर्क्यौल गर्नुपर्ने हुन्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको पाइन्छ । केवल आरोप लगाउनु मात्र कसुर स्थापित गर्ने आधार हुन सक्दैन । सबै अभियुक्त समानरूपमा दोषी हुन् भन्ने अनुमान गर्नु कानून र न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जान्छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरू उपरको आरोपको पुष्ट्याई शङ्कारहित तवरले पुष्टि हुन सकेको देखिएन । शङ्काको सुविधा अभियुक्तले पाउँछ भन्ने फौजदारी कानूनको सर्वमान्य सिद्धान्तको आधार भएबाट ठोस सबुद प्रमाणको अभावमा प्रतिवादीहरू गोसाई मण्डल मधैया, श्याम सुन्दर मण्डल मधैया, हरेराम मण्डल मधैया, अशोककुमार मण्डल, सियाराम मण्डल मधैया, हजारी मण्डल मधैया, कारी मण्डल मधैया, भुवनेश्वर मण्डल मधैया, लक्ष्मी देवी मण्डल, हरि खंग, परशु खंग, तपसी खंग, दानालाल यादव, राजेश्वर यादव, जगदिश यादव र गोसाई यादवसमेतले अभियोग दाबीबाट सफाई पाउने ठहर्याई सुरू जिल्ला अदालतबाट भएको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । अरू तपसिलबमोजिम गर्नू ।
तपसिल
माथि इन्साफ खण्डमा लेखिएबमोजिम प्रतिवादी राजदेव मण्डललाई मुलुकी ऐन, अ.बं. १८८ ले १५ वर्ष कैद सजाय गर्ने गरी फैसला भएकोले सुरू जिल्ला अदालतबाट सर्वस्वसहित जन्म कैद हुने ठहरी भएको फैसला सदर गर्ने गरिएको पुनरावेदन अदालत, राजविराजको फैसलाबमोजिम कसेको लगत कट्टा गरी १५ वर्ष कैदको लगत कस्नु भनी सुरूमा लेखी पठाउनू ----------------------------------------------१
सरोकारवालाहरूले नक्कल माग गरे नियमानुसार दिनू --------------------------------------------------२
मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाइदिनू ------------------------३
उक्त रायमा सहमत छु ।
न्या.चोलेन्द्र शमशेर ज.ब.रा.
इजलास अधिकृतः गजेन्द्रबहादुर सिंह
इति संवत् २०७२ साल पुस १६ गते रोज ५ शुभम् ।