शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६१८ - कर्तव्य ज्यान

भाग: ५८ साल: २०७३ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७२।११।२०।५

०७२-RC-००२०

 

मुद्दाः कर्तव्य ज्यान

 

वादी : प्र.स.नि. भानु चौधरीसमेतको प्रतिवेदनले नेपाल सरकार

विरूद्ध

प्रतिवादी : जिल्ला गोरखा, नामजुङ्ग गाउँ विकास समिति वडा नं. ८ बस्ने सीता लामिछानेसमेत

 

कुनै शिशु जिउँदो जन्मेको हो वा मृत जन्मेको हो भन्ने कुराको सर्वोत्तम प्रमाण तत्सम्बन्धमा विशेषज्ञता प्राप्त गर्ने चिकित्सकहरूको भनाई नै हुन्छ । चिकित्सकहरूको रायमा लापरवाही वा बेहिसाब देखिएमा, गम्भीरताको अभाव रहेमा वा अयोग्य चिकित्सकबाट राय व्यक्त भएमा बाहेक चिकित्सकहरूको रायलाई प्रमाणमा लिनु उपयुक्त हुन्छ । चिकित्सकको राय मिसिलका अन्य प्रमाणबाट समर्थित भएको अवस्थामा त्यस्तो राय झन् विवादरहित हुन पुग्ने । 

(प्रकरण नं.३)

नवजात शिशुको उचित स्याहारसम्भार नगरेर प्रतिवादी आमाले बच्चा जन्मेको कोही कसैले थाहा पाउलान् कि भनी बच्चालाई कपडामा बेरी लुकाएको त्यसपछि नवजात शिशुलाई रगत आदि फोहोरसरह फाल्नुपर्ने वस्तु ठानी फालेको कार्य र नवजात शिशुलाई घाँटी थिची मार्ने कार्य दुवैको परिणाम नवजात शिशुको मृत्यु हुने कुरामा सन्देह रहन्न । भवितव्यमा बदनियत हुँदैन, सबै कुरा शुद्ध मनसायले गर्दा गर्दै पनि सोच्दै नसोचिने अप्रत्याशित परिणाम उत्पन्न भई मानिसको मृत्यु हुन पुग्छ । भवितव्यको सम्बन्ध अपराधसँग हुँदैन । कार्य निर्दोष हुन्छ । परिणाम अपराध हुन्छ । तर प्रतिवादीको कार्य नै अपराधपूर्ण छ । Homicide by omission पनि homicide नै हो । मुख्य कुरा कर्ताले वारदात गर्दा शिशु मार्ने मनसाय राखेको थियो वा थिएन भन्ने कुरा नै हेर्नुपर्छ । कर्ताको मनसायको परीक्षण कर्ताको कार्यबाट हुन्छ र यसको आधार भनेको सामान्य सुझबुझ भएको मानिसले त्यस किसिमले नवजात शिशुलाई व्यवहार गर्दा नवजात शिशुको मृत्यु हुन्छ अथवा हुँदैन भन्ने नै हुन जाने । 

(प्रकरण नं.५)

 

वादीका तर्फबाट : 

प्रतिवादीका तर्फबाट : 

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३)

मुलुकी ऐन, अ.बं.१८८ नं.

 

सुरू तहमा फैसला गर्नेः-

माननीय न्यायाधीश श्री विनोदमोहन आचार्य

पुनरावेदन तहमा फैसला गर्नेः- 

माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल

माननीय न्यायाधीश श्री सरोजप्रसाद गौतम

 

फैसला

न्या.गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १० बमोजिम यस अदालतमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर निम्नानुसार रहेको छ । 

जिल्ला चितवन पिठुवा गा.वि.स. वडा नं. ७ माधवपुरस्थित पूर्व पश्चिम पानी निकास कुलो, उत्तरमा रेशमराज लामिछानेको धान खेत, दक्षिणमा चेतप्रसाद ढकालको धान खेत यति चार किल्लाभित्र उत्तरतर्फ कुलोको किनारामा भर्खर जन्मिएको नवजात शिशुको नौ महिना पुरा पुगेको लास फेला परेको । घाँटीमा नाल बेरिएको, दाहिने आँखामाथि निलो दाग रहेको, घाँटीको भागमा निलो र हल्का सुन्निएको, बायाँतर्फ गालामा मुखको साइडबाट काटिएको आलो घाउ सो घाउबाट रगत बगेको अरू सामान्य अवस्थामा रहेको भन्नेसमेत व्यहोराको मिति २०७०।५।७ गतेको मृतक शिशुको घटनास्थल एवम् लासजाँच मुचुल्का । 

२०७०/५/७ गते दिउँसो १४ बजेको समयमा जिल्ला चितवन पिठुवा गा.वि.स.वडा नं.७ माधवपुरस्थित धानखेतको बीच कुलोमा नवजात शिशुको लास फेला परेकोले घटनास्थल एवम् लासजाँच मुचुल्का गरी पठाइएको छ भनी इलाका प्रहरी कार्यालय, टाँडीले मिति २०७०।५।७ मा जिल्ला प्रहरी कार्यालय, चितवनलाई लेखेको पत्र । 

२०७०।५।८ गते साँझ यस भरतपुर अस्पतालमा उपचारार्थ एक महिला भर्ना भएकी र निजको स्वास्थ्य अवस्था कमजोर रहेको, निज महिला सुत्केरी भएकी जस्तो देखिएकोले सोधपुछ गर्दा आफूले बच्चा जन्माई जिल्ला चितवन पिठुवा गा.वि.स. वडा नं. ७ माधवपुरमा रहेको कुलोमा फालेको स्वीकार गरेकी हुँदा निजको स्वास्थ्य परीक्षण गराई सुरक्षाको व्यवस्था मिलाई निगरानीमा उपचार गराई डिस्चार्ज भएपश्चात पक्राउ गरी आवश्यक कानूनी कारवाही हुने भनी प्र.स.नि. भानु चौधरीले मिति २०७०।५।८ मा जिल्ला प्रहरी कार्यालय, चितवनमा दिएको प्रतिवेदन । 

१/२ दिनभित्र प्रसुति भएको देखिन्छ । २४ हप्ताको पाठेघर साल योनिमा रहेको, योनिबाट रगत मिसिएको पानी बगेको, २/३ सेमीको घस्रिएको घाउ योनिद्वारमा रहेको भन्ने व्यहोराको प्रतिवादी सीता लामिछानेको मिति २०७०।५।८ को स्वास्थ्य परीक्षण प्रतिवेदन । 

२०७०/५/७ गते जिल्ला चितवन पिठुवा गा.वि.स. वडा नं. ७ माधवपुरस्थित धानखेतको बीच कुलोमा नवजात शिशु जन्माई जिल्ला गोरखा नामजुङ्ग गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला चितवन पिठुवा गा.वि.स. वडा नं. ७ मा बस्दै आएकी वर्ष १७ की सीता लामिछानेले मारी फालेको भन्ने बुझिएको र निज उपचारार्थ भरतपुर अस्पतालमा भर्ना भएको अवस्थामा फेला पारी निजको निगरानी राखी आज डिस्चार्ज भएकीले पक्राउ गरी दाखिला गरेका छौं कानूनबमोजिम होस् भन्ने व्यहोराको प्र.स.नि.पुर्णबहादुर बस्नेतसमेतको मिति २०७०।५।११ को प्रतिवेदन । 

Mandible bone fractured, lacerated wound found in right side of cheek extending from right angle of mouth to 3-4 cm. No other injury. Lungs float in water. Cardio-respiratory arrest due to injury or asphyxia, death after born. Death either due to injury or asphyxia भन्ने व्यहोराको मृतक शिशुको मिति २०७०।५।८ को शव परीक्षण प्रतिवेदन । 

म जिल्ला चितवन पिठुवा गा.वि.स.वडा नं.८ स्थित मामाघरमा बसी पढी आएको थिएँ । यसै क्रममा २०६९ माघमा धादिङ मैदी घर बताउने राजाराम तिवारीसँग चिनजान भई टेलीफोन नं. आदान प्रदान भई फोनमा कुरा हुन थाल्यो । २०६९ साल माघ महिनाको अन्तिमतिर निज राजाराम तिवारीले फोन गरी नारायणगढ बोलायो । दिदीको घर क्षेत्रपुर जान्छु भनी ढाँटी म नारायणगढ आएँ । हामीहरू सो रात नारायणगढको लजमा बसी शारीरिक सम्पर्कसमेत भयो । त्यसपछि पनि हामीहरूबीच फोन सम्पर्क भई नारायणगढ आई पटकपटक शारीरिक सम्पर्क हुँदै आएकोमा सोही शारीरिक सम्पर्कको कारण म गर्भवती भएँ । सो कुरा राजारामलाई समेत भनिन । राजाराम तिवारीसँग २ महिनादेखि भेट सम्पर्क हुन छाड्‍यो । मैले महिनावारी रोकिएकोसम्म कुरा राजाराम तिवारीलाई भनेकी थिएँ वास्ता गरेनन् । २०७०।५।७ गते बिहान पिठुवा गा.वि.स. वडा नं. ८ बस्ने ठूलीआमाको घरमा गएको अवस्थामा अं. ९:०० बजेको समयमा सोही घरको शौचालयमा बच्चा जन्मियो । बच्चा जन्मिएपछि केही समय त्यहाँ बसेँ । शौचालयमा कोही आई देख्ने डरले बच्चालाई कपडाले बेरी कोठामा लगी राखेर शौचालय सफा गरेँ । त्यसपछि लुगा फेरी रगत लागेको कपडा र जन्मिएको बच्चालाई बाल्टीमा हाली घरनजिक खेतमा भएको कुलोमा फाली कपडा धोई नुहाई घर फर्की बसेको हुँ । मास पुगे नपुगेको थाहा भएन । बच्चा जन्मेको र खेतमा फालेको कुरा राजारामलाई फोन गरी भनेको हुँ भन्नेसमेत व्यहोराको प्रतिवादी सीता लामिछानेको बयान । 

हाल पक्राउ परेकी मेरो मामाको छोरी सीता लामिछाने चितवन मामाको घरमा बसी ११ कक्षामा पढ्थिन् ।२०७०/५/८ गते भाई नाता पर्ने लक्ष्मण लामिछानेले बहिनी सीता लामिछानेलाई उपचारको लागि भरतपुर अस्पतालमा ल्याएपछि मसमेत अस्पताल आउँदा बहिनीले बच्चा जन्माई खेतको कुलोमा फालेको थाहा पाएको र सोध्दा राजाराम तिवारीको गर्भ हो, नारायणगढमा सँगै लजमा बसी यौनसम्पर्क गरेको कारण गर्भ रहेको र बच्चा जन्मिएपछि अरूले देख्ने डरले कपडाले बेरी बाल्टीमा राखी कुलोमा लगी फालेको हुँ भनी बताएकी थिइन् । त्यसपछि त्यहीँ कार्यरत प्रहरीलाई सो कुरा जानकारी गराएँ भन्नेसमेत व्यहोराको हीरा ढकालले गरेको कागज । 

हाल पक्राउ परेकी सीता लामिछाने पिठुवा गा.वि.स वडा नं. ७ स्थित मामाघरमा बस्ने गर्थिन् । निजले गर्भ बोकेको कुरा गाउँ घरमा कसैलाई थाहा थिएन । निज सीता लामिछाने ठूलो आमाको घरमा गई बसेको अवस्थामा २०७०/५/७ गते ठूलो आमाकै घरमा बच्चा जन्माई मारी घरनजिक खेत कुलोमा फालेको ऐ. ८ गते हल्ला भएपछि थाहा पाएका हौं । नवजात शिशुको लास २०७०/५/७ गते नै खेत कुलोमा फेला परेको हो भन्ने व्यहोराको बुझिएका मानिसहरू बुधमाया ढकाल, लक्ष्मी अमगाई अधिकारी, जोशीदेवी न्यौपानेले गरेको कागज । 

मेरो नन्द नाता पर्ने सीता लामिछाने हाम्रो घरमा नै बसी आएकी र २०७०/५/७ गते बिहान अं. ९:३० बजे म घरमा खाना बनाउँदै टी.भी. हेरी बसेको अवस्थामा निज नन्दले नुहाउन जान्छु भनी बाल्टिन बोकी कुलोतर्फ गएकी थिइन् । सोही दिनको अं.१४:०० बजेको समयमा कुलोमा शिशुको लास फेला परेको भन्ने सुनी सो ठाउँमा गएकी थिएँ ।२०७०/५/८ गते नन्द सीता लामिछाने उपचारको लागि भरतपुर अस्पतालमा भर्ना भएकी र अघिल्लो दिन कुलोमा फेला परेको शिशुको लास निजै सीता लामिछानेले जन्माई मारी फालेको भन्ने थाहा पाएँ । सो अगाडि निजको पेटमा बच्चा भए जस्तो देखिँदैनथ्यो भन्ने व्यहोराको सुजना न्यौपानेले गरेको कागज । 

म नारायणगढमा माइक्रोबस चलाउँथे । २०६९ साल माघ महिनाको सुरूमा पिठुवा गा.वि.स. वडा नं. ५ मा रहेको उच्च मा.वि.को वार्षिक उत्सव हेर्न गएको अवस्थामा सीता लामिछानेसँग चिनजान भई फोनमा समेत कुराकानी हुन थाल्यो । निजलाई मैले नारायणगढ बोलाई लायन्सचोकको एक होटल लजमा राति सँगै बसी पहिलो पटक शारीरिक सम्पर्क भएको र त्यसपछि पनि विभिन्न मितिमा निजसँग नारायणगढमा शारीरिक सम्पर्क हुन्थ्यो । मैले चलाउने माइक्रोबस दुर्घटना भएपछि २०६९ साल चैत्र महिनामा म काठमाडौं गएपछि सीता लामिछानेसँग भेटघाट हुन छाडेकोमा फोनमा कुराकानी हुँदा निजले महिनावारी बन्द भएको भनी भनेकी थिइन् । निज गर्भवती भएको मलाई जानकारी थिएन । अरू कुनै कारणबाट महिनावारी रोकिएको होला भनेर मैले वास्ता गरिन । पछि निजसँग २०७०/५/३ मा भेट हुँदासमेत गर्भवती भएको कुरा मलाई भनिनन् । २०७०/५/८ गते फोन गरी मैले बच्चा जन्माई फाली दिएँ भनेपछि म भरतपुर अस्पतालमा भेट्न आएको हुँ । निजले जन्माई मारी फालेको बच्चा मेरो हो भन्ने व्यहोराको प्रतिवादी राजाराम तिवारीको बयान । 

मिसिल संलग्न घटनास्थल तथा लास प्रकृति मुचुल्का, प्रतिवादी सीता लामिछानेको स्वास्थ्य परीक्षण प्रतिवेदन, लास पोस्टमार्टम रिपोर्ट, प्रतिवादीहरूको बयान, बुझिएका मानिसहरूको घटना विवरण कागजसमेतका आधार प्रमाणहरूबाट पक्राउ परेका प्रतिवादीहरू राजाराम तिवारी र सीता लामिछाने बीच भएको अवैध शारीरिक सम्पर्कबाट सीता लामिछाने गर्भवती भएकीमा निज सीता लामिछानेले मिति २०७०/५/७ गते बिहान अं. ९ बजे ठूली आमा जोशीदेवी न्यौपानेको घरको शौचालयमा नवजात छोरी जिउँदो जन्माई समाजमा आफ्नो बेइज्जत हुने डरले उक्त नवजात शिशुलाई कर्तव्य गरी मारी कपडामा पोको पारी बाल्टिनमा हाली घरनजिकैको खेतको कुलोमा फालेको कार्य मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं. को अपराध हुँदा प्रतिवादी सीता लामिछानेलाई सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाऊँ । प्रतिवादी राजाराम तिवारी सीता लामिछानेसँग अवैध शारीरिक सम्पर्क गरी गर्भ बोकाई बच्चालाई कर्तव्य गरी मारी फाल्ने कार्यमा मत सल्लाहमा पसी मतियारको भूमिका निर्वाह गरेको एवम् सो परिबन्दबाट भाग्ने उम्कने प्रयत्न गरी निजलाई बच्चा जन्माई मारी फाल्न बाध्य बनाई अरू किसिमको मतलबी भएको तथ्य पुष्टि भएको देखिँदा प्रतिवादी राजाराम तिवारीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७(३) नं. को अपराधमा सोही महलको १७(३) नं.बमोजिम सजाय गरिपाउँ भनी प्रतिवादीहरू विरूद्धको अभियोग दाबी । 

म करिब २ वर्ष अघिदेखि चितवन जिल्ला पिठुवा गा.वि.स. वडा नं.८ माधवपुरमा मामाघरमा बसी अध्ययन गरी आएको सो क्रममा मेरो विद्यालय जनजागृति उच्च मा.वि.मा २०६९ साल माघ-फागुनमा वार्षिकोत्सव हुँदा प्रतिवादी राजाराम तिवारीसँग सामान्य चिनजान भई दुवैजनाको मोबाइल नं. आदानप्रदान भएको थियो । मिति २०६९ सालको माघ महिनातिर जस्तो लाग्छ प्रतिवादी राजाराम तिवारीले फोन गरी नारायणगढ बोलाएकोले निजले बोलाएको ठाउँमा आई नारायणगढको एक होटलमा बसी हामी दुवैजनाबीच यौनसम्बन्ध कायम भएको र पछि पनि २/३ पटक यौनसम्बन्ध कायम भएको हो । सायद पहिलो पटकको सम्बन्धबाट गर्भ रहेको हुनुपर्छ । मेरो महिनावारी रोकिएपछि मैले राजारामलाई जानकारी गराएकी र निजले डराउनु पर्दैन भनेका थिए । मैले गर्भ रहेको जानकारी कसैलाई गराएको थिइन । राजारामलाई मात्र थाहा थियो । २०७०।५।७ गते बिहान ८:३० बजेको समयमा चितवन जिल्ला पिठुवा गा.वि.स. वडा नं. ८ मा रहेको मेरो ठूलीआमाको घरको ट्वाईलेटमा बच्चा जन्मिँदा म बेहोस भएछु ।१० मिनेटपछि होस आउँदा बच्चा जन्मिएको देखी बच्चा हेर्दा मरिसकेको र मलाई डर लागेकोले बच्चालाई बाल्टिनमा उठाई सोही ठाउँको खेतको कुलोमा छाडी नुहाई घर आएकी हुँ । मैले दिशाबाट रगत आएको छ भनी दाइ लक्ष्मण लामिछानेलाई भनी २०७०।५।८ गते भरतपुर अस्पताल आई उपचार गर्दा मैले भनेको हो । बच्चा महिना पूरा नहुँदै जन्मिएकोले मरेको जन्मिएको हो । मैले बच्चालाई कर्तव्य गरी मारेर फालेको होइन भन्ने व्यहोराको प्रतिवादी सीता लामिछानेले सुरू अदालतमा गरेको बयान । 

प्रतिवादी सीता लामिछानेसँग निज अध्ययन गर्ने जनजागृति उच्च मा.वि.मा २०६९ सालमा भएको वार्षिक उत्सव कार्यक्रममा चिनजान भई मोबाइल नं. लिनुदिनु गरी एक आपसमा सम्पर्क भइरहेकोमा मैले सीतालाई बोलाई नारायणगढ लायन्सचोकको होटलमा राति सँगै बसी पहिलो पटक दुवैबीच यौनसम्बन्ध कायम भएको र त्यसपछि करिब २/३ चोटि यौनसम्बन्ध कायम भएको हो । पछि फोनमा मेरो महिनावारी रोकियो भनेपछि मैले डाक्टरसँग चेक गर भनेकोमा निजले चेक गरे नगरेको मलाई 

भनिनन् । फागुनसम्म हाम्रो सम्बन्ध रहेकोमा मैले चलाउने गाडी दुर्घटना भई म चैतदेखि काठमाडौमा गई बसेपछि हामीबीच फोनमा सम्पर्क हुन्थ्यो । अन्तिम समयसम्म पनि बच्चा रहेको कुरा मलाई भनिनन् । बच्चा जन्मेको दिन दिउँसो करिब २/३ बजे मेरो गर्भबाट बच्चा खेर गयो मैले बच्चा खेतमा फालिदिएँ, महिना पूरा नहुँदै जन्मेको हुँदा म होसमा आउँदा बच्चा मरेको अवस्था थियो भनी मलाई फोनबाट भनेकी थिइन् । सीतालाई उपचारको लागि भरतपुर अस्पताल ल्याउँदा सीताका परिवारले मलाई बोलाएका र मैले सीतालाई विवाह गरी राख्न तयार छु भनेको थिएँ । सीताले गर्भ रहेको मलाई नभनेको बच्चा जन्मिएको विषयमा मलाई थाहासमेत नभएको हुँदा उक्त बच्चा मार्ने विषयमा मेरो संलग्नता सल्लाह छैन । सायद मरेको बच्चा भएकोले सीताले फालेकी होलिन् । मलाई गर्भ रहेको जानकारी गराएको भए मैले विवाह गरी घरमा लान्थेँ । सीतालाई विवाह गरी राख्न म अहिले पनि तयार छु । हामी दुवै जना अविवाहित भएको र विवाह गर्न मन्जुर भएकोले नवजात शिशु मार्नुपर्ने कुनै कारणसमेत नभएको मार्नमा कुनै संलग्नता नभएको हुँदा अभियोगअनुसार सजाय पाउनु पर्ने होइन भन्ने व्यहोराको प्रतिवादी राजाराम तिवारीले गरेको बयान । 

प्रतिवेदनको व्यहोरा मैले मौखिक भनेर असई पूर्ण बस्नेतले लेखेको हो । सही मेरो होइन । सीता लामिछानेले कर्तव्य गरी मारे नमारेको वास्तविक कुरा थाहा भएन । बुझ्दा सीता लामिछाने कन्या केटी भएको र निजले पेटमा रहेको बच्चा फाल्यो बेहोस भएकोले थाहा भएन भनेकाले निगरानीमा उपचार गराई सकेपछि जिल्ला प्रहरी कार्यालयमा बुझाई दिएको हुँ । अन्य कुरा थाहा भएन भनी प्रतिवेदक प्र.स.नि. भानु चौधरीले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

बच्चा मारेर फालेको मैले भनेको होइन । हस्पिटलमा डाक्टरले बच्चा जन्माएको हो भनेकोसम्म थाहा छ । बच्चा जन्माएको फालेको देखिन भनी बुझिएका मानिस जोशीदेवी न्यौपानेले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

प्र. सीता लामिछानेको गर्भबाट जन्मिएको बच्चा प्र. राजाराम तिवारीको हो । सो बच्चा निज सीताले जिउँदै जन्माएर मारी फालेको होइन । मलाई सीताले भनेअनुसार पेट दुखी ट्वाइलेट गएको अवस्थामा बच्चा जन्मिएको र निज बेहोस भएकी, होसमा आएपछि बच्चा हेर्दा रूने, चल्ने र सास फेर्ने नगरेकोले बच्चा मरेको सम्झी कुलोमा लगी फालेकी रहिछन् भनी बुझिएका मानिस सुजना न्यौपानेले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी सीता लामिछानेले बच्चा मारी फालेको होइन । मिति २०७०।५।७ बिहान पेट दुखी सीता शौचालय जाँदा बच्चा जन्मिएको र सो बच्चा राजारामको हो । सीता बच्चा जन्माउँदा बेहोस भएकी र होसमा आउँदा बच्चा रूने, चल्ने र सास फेर्ने नगरेको र निज अविवाहित हुँदा घर र समाजको डरले मरिसकेको बच्चा कुलोमा लगी फालेकी रहिछन् । निजले बच्चा जन्माई मारी फालिन् भन्ने कुरा झुट्ठा हो । प्रतिवादी सीता र राजारामका बीचमा विवाह हुने कुरा छ भनी बुझिएका मानिस लक्ष्मी अम्गाई (अधिकारी) ले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

म अस्पताल आई सीतालाई सोध्दा निजले २०७०।५।७ गते पेट दुखी ट्वाईलेट गएको अवस्थामा बच्चा जन्मिएको, आफू बेहोस भएको र होसमा आएपछि बच्चा रूने, चल्ने र सास फेर्ने नगरेकोले बच्चा मरेको ठानी घरनजिकको कुलोमा फालेको भनी बताएकी थिइन् । निज गर्भवती भएको मलाई थाहा थिएन । राजाराम र सीताबीच प्रेम सम्बन्ध थियो । निज अविवाहित रहेकी समाजमा आफूले बच्चा जन्माएको थाहा हुँदा आफ्नो इज्जत जान्छ भनी निजले मरेको बच्चा कसैलाई नदेखाई कुलोमा लगी फालेकी हुन् जस्तो लाग्छ भनी प्रतिवादी सीता लामिछानेको साक्षी हीरा ढकालले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

म अस्पताल आई बुझ्दा सीताको गर्भबाट मरेको बच्चा जन्मिएको थाहा पाएको हुँ । राजाराम तिवारीसँग निजको सम्पर्क भई महिनावारी रोकिएको तर घर परिवार तथा समाजले थाहा पाउँदा लाज हुने डरले कसैलाई पनि सो कुरा बताएकी रहिनछन् । निजले शौचालय जाँदा बच्चा जन्मिएको र हेर्दा रूने चल्ने तथा सास फेर्ने नगरेकोले बच्चालाई उठाई कुलोमा फालेकी रहिछन् । अविवाहित हुँदा बच्चा जन्मेकोले आफ्नो इज्जत जाने डरले आफूले जन्माएको मृत बच्चा फालेकी रहिछन् । सो गर्भ राजारामको हो, निजहरूको विवाह गर्ने कुरामा दुवै परिवारमा सहमति भइसकेको छ भनी प्रतिवादी सीता लामिछानेका साक्षी हरि ढकालले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी राजारामको प्र. सीता लामिछानेसँग प्रेमसम्बन्ध भएको मलगायत निज राजारामको परिवारलाई थाहा थियो । निजहरूको आउने मङ्सिरमा विवाह गर्ने सल्लाह भएको थियो । प्रस्तुत घटना हुँदा निज राजाराम काठमाडौंमा रहेका हुँदा निजलाई वारदातका बारेमा २ दिनपछि थाहा भएको हो । अभियोग दाबीबमोजिम राजारामले कसुर गरेका होइनन । बच्चा मार्ने कुरामा निजको संलग्नता छैन भनी प्रतिवादी राजाराम तिवारीका साक्षी अर्जुन तिवारीले सुरू जिल्ला अदालतमा गरेको बकपत्र । 

प्रतिवादी सीता लामिछानेले जीवित बच्चा जन्म दिई कर्तव्य गरी मारी कुलोमा बगाएको भन्ने निश्चयात्मक प्रमाण नपुर्‍याई मिसिल पेस भएको अवस्थासमेतका आधारबाट कर्तव्यबाट नै नवजात शिशुको मृत्यु भएको भनी ठहर गर्न मिलेन । तर उक्त बच्चा मरेकै जन्मेको थियो भनी यथार्थपरकरूपमा किटानसाथ यी प्र. सीता लामिछानेले आफ्नो बयानहरूमा लेखाउन सकेको नदेखिएको, चिकित्सकले death after born भनी शव परीक्षण प्रतिवेदनमा लेखिएको, मृतकको शरीरमा कुनै घातक चोटपटक वा घाँटीमा दाग नदेखिएको, यी प्रतिवादी सीता लामिछानेले कलिलै उमेरमा गर्भ बोकी जन्माउँदाका बखत व्यहोर्नु परेको प्रसव पीडाका कारण नवजात बच्चाको स्थिति नबुझीकन बाल्टिनमा राखी कुलोमा लगी बगाएकी प्रस्तुत मुद्दामा प्र. सीता लामिछानेले होस नपुर्‍याएको कारण सो बच्चाको मृत्यु कर्तव्यबाट नभई भवितव्यबाट भएको ठहर्छ । उक्त बच्चा २४ हप्ताको अवधिमा जन्मेको भन्ने परीक्षण प्रतिवेदन, कलिलो एवम् अध्ययनरत अविवाहित अवस्थामा गर्भधारण गर्नु परेको विवशता, गर्भ बोकाउनेले यी प्रतिवादीलाई विवाह गरी राख्छु भनी आफ्ना बयानहरूमा लेखाएको र त्यसमा प्रतिवादी सीता लामिछानेको स्वीकारोक्ति रहेको, प्रसव अवस्थामै लोकलज्जाबाट बच्न बच्चालाई हतारमा बाल्टिनमा राखी कुलोमा बगाएकी भन्ने भनाइहरूसमेतका आधारमा प्रतिवादी सीता लामिछानेलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम ४५ दिन कैद र रू. ५००। - जरिवाना हुने ठहर्छ । उक्त कैद प्रतिवादी सीता लामिछाने हिरासतमा बसेको मितिबाट आजसम्मको हुने दिनबाट नपुग हुने भएमा सो नपुग दिनका हकमा दण्डसजायको ११क नं. बमोजिम मिलान गरिदिने ठहर्छ । प्रतिवादी राजाराम तिवारी उक्त वारदातमा संलग्न रहेको वा घटना घट्दा वारदातस्थलमा रहेको नदेखिँदा निज प्रतिवादीले आरोपित कसुरबाट सफाई पाउने ठहर्छ भन्ने सुरू चितवन जिल्ला अदालतले मिति २०७०।६।१५ मा गरेको फैसला । 

मिति २०७०।५।७ दिउँसो अन्दाजी १४ बजे खेतको कुलोमा नवजात शिशुको लास फेला परेको, शिशुको लासको घाँटीमा निलो र हल्का सुन्निएको देखिएको, गालामा काटेको आलो घाउ रहेको, घाउबाट रगत निस्केको भन्ने घटनास्थल एवम् लासजाँच मुचुल्का रहेको छ । प्रतिवादी सीता लामिछानेले शौचालयमा बच्चा जन्माई कपडाले बेरी कोठामा लगी पछि बाल्टिनमा राखी घर नजिकैको खेतको कुलोमा फालेकी हुँ भनी अधिकारप्राप्त अधिकारी र अदालतमा समेत स्वीकार गरी बयान गरेको अवस्था छ । प्रतिवादी सीता लामिछानेले राजाराम तिवारीसँगको अवैध शारीरिक सम्पर्कबाट जिउँदै बच्चा जन्माई आफू अविवाहित भएको कारण समाजमा बेइज्जत हुने डरले उक्त बच्चालाई कर्तव्य गरी मारी खेतको कुलोमा फालेको तथ्य, सुरू अदालतबाट भवितव्यमा कसुर ठहर भएको र पोस्टमार्टम रिपोर्टसमेतबाट दाबीको कसुर पुष्टि भइरहेको अवस्थामा मिसिल संलग्न भौतिक सबुद प्रमाण एवम् अन्य परिस्थितिजन्य प्रमाणहरूको यथोचित मूल्याङ्कन नगरी निजलाई ज्यानसम्बन्धीको महलको ६(२) नं बमोजिम सजाय गरेको फैसला बदरयोग्य छ । बच्चालाई कर्तव्य गरी मारी फाल्ने कार्यमा प्रतिवादी राजाराम तिवारी मत सल्लाहमा पसी मतियारको भूमिका निर्वाह गरेको एवम् सीता लामिछानेलाई गर्भ बोकाई सो परिबन्दबाट भाग्ने उम्कने प्रयत्न गरी निजलाई बच्चा जन्माई मारी फाल्न बाध्य बनाई अरू किसिमले मतलबी भएको तथ्य पुष्टि भएको स्थितिमा प्रतिवादी राजाराम तिवारीलाई मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १७(३) नं. बमोजिम सजाय गर्नुपर्नेमा सफाई दिएको फैसला बदरभागी छ । प्रतिवादीहरूलाई अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने व्यहोराको वादी नेपाल सरकारको पुनरावेदन पत्र । 

यसमा प्रतिवादीले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा राजाराम तिवारीसँगको अवैध संसर्गबाट रहन गएको गर्भको बच्चालाई कपडामा बेरी कोठामा राखेको, बच्चा जन्मिँदा भएको फोहोर सफा गरेपछि आफूले लुगा फेरी बच्चालाई बाल्टिनमा हाली घरनजिकको कुलोमा फाली आएकी भनी बयान गरेको अवस्थामा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम सजाय गरेको सुरू चितवन जिल्ला अदालतको फैसला फरक पर्ने भन्ने पुनरावेदन अदालत, हेटौंडाको मिति २०७१।७।२ को आदेश । 

नवजात शिशुको फोक्सोलाई टुक्राटुक्रा पारी पानीमा राखिन्छ । ती टुक्राहरू पानीमा तैरिए बच्चा जिउँदो जन्मिएको र टुक्राहरू पानीमा डुबे बच्चा मरेको जन्मिएको अर्थबोध हुन्छ । जिउँदो जन्मिएको शिशुले सास फेर्ने र मरेको जन्मिएकोले नफेर्ने हुँदा फोक्सोका टुक्राहरूको वजनमा फरक पर्न गई तैरिने र डुब्ने गर्दछन् । शिशु जिउँदो वा मरेको जन्मिएको हो भनी यकिन गर्ने यस प्रक्रियालाई hydrostatic test को संज्ञा दिइन्छ । मृतक शिशुको शव परीक्षण प्रतिवेदनमा फोक्सोका टुक्राहरू पानीमा तैरिएको भनी उल्लेख भएको देखिँदा शिशु मृत अवस्थामा जन्मिएको भन्न सकिने स्थिति छैन । मृत्युको कारणमा death after born, due to injury or asphyxia भनी उल्लेख भएकाले समेत शिशु जिउँदो जन्मिएको भन्ने बुझिन्छ । शव परीक्षण प्रतिवेदनमा उल्लिखित ती कुराहरूले शिशु मरेको जन्मिएको भन्ने प्रतिवादीको जिकिर स्थापित हुन सक्दैन । राजारामसँग भएको शारीरिक सम्पर्कबाट गर्भवती भएको र मिति २०७०।५।७ का दिन ठूली आमाको घरको शौचालयमा बच्चा जन्माई कपडाले बेरी बाल्टिनमा हाली बच्चालाई कुलोमा फालेको कुरामा निज साबित भएकोसमेतबाट प्रतिवादी सीता लामिछानेले जीवित बच्चा जन्माई मारी आरोपित कसुर गरेको पुष्टि भएकोले निजलाई ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम ४५ दिन कैद र रू.५००। - जरिवाना गरेको चितवन जिल्ला अदालतको फैसला केही उल्टी भई प्रतिवादी सीता लामिछानेलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्छ । जन्मिएको शिशु मार्न मराउनमा प्रतिवादी राजाराम तिवारीको संलग्नता र सहभागिता रहेको मिसिल संलग्न प्रमाणबाट नदेखिँदा निजलाई आरोपित कसुरबाट सफाई दिएको सुरू अदालतको फैसलालाई अन्यथा भन्नुपर्ने देखिन नआएको हुँदा प्रतिवादी राजाराम तिवारीलाई समेत अभियोग दाबीबमोजिम सजाय गरिपाउँ भन्ने वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादी सीता लामिछानेले गरेको कसुरको प्रकृतिबाट निजलाई ठूलै दण्ड दिनुपर्ने नहुनुका साथै निजले दोषी मनोभावनाबाट प्रेरित भई यो कसुर गरेकी भन्न सकिने अवस्था पनि मिसिलबाट देखिँदैन । कसुरको प्रकृति, प्रतिवादीको उमेर, शिक्षोपार्जन गर्दै गरेको अवस्था, अपराध गर्ने दुराशयको अभावलगायत निजको उपस्थितिले समाज भयभीत र अपमानित हुने अवस्थालगायतका कारणबाट निजलाई कानूनबमोजिम तोकिएको माथि उल्लिखित सजाय चर्को पर्न जाने हुँदा ५ वर्ष कैद हुन अ.बं. १८८ नं. बमोजिम राय व्यक्त गरिएको छ भन्ने पुनरावेदन अदालत, हेटौंडाको २०७१।९।१४ को फैसला । 

नियमबमोजिम दैनिक पेसी सूचीमा चढी साधकमा दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको मिसिलको अध्ययन भयो । 

प्रतिवादी सीता लामिछानेले प्रतिवादी राजारामसँगको अवैध यौन सम्पर्कबाट २०७०।५।७ गते छोरी जन्माई खेतको कुलोमा फाली मारेकीले प्रतिवादीलाई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने निज विरूद्धको अभियोगदाबी रहेकोमा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम ४५ दिन कैद र रू.५००। - जरिवाना हुने ठहर्‍याई चितवन जिल्ला अदालतबाट मिति २०७०।६।१५ मा भएको फैसला केही उल्टी गरी ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद हुने ठहर्‍याई पुनरावेदन अदालत, हेटौंडाबाट फैसला भएको पाइन्छ । उक्त फैसला मिलेको छ छैन भन्ने प्रश्नमा निर्णय दिनुपर्ने देखियो । 

२. निर्णयतर्फ विचार गर्दा शिशुलाई कर्तव्य गरी मारेको होइन, शिशु जन्मँदा आफू बेहोस रहेकी र होस आउँदा बच्चा मरेको जस्तो देखी फालेकी हुँ भनी प्रतिवादी सीता लामिछाने आरोपित कसुर गरेमा अदालतमा इन्कार रहेपनि प्रतिवादीले जीवित शिशुलाई कर्तव्य गरी मारेकी भनी सुरू जिल्ला अदालतले ज्यानसम्बन्धी महलको ६(२) नं. बमोजिम र पुनरावेदन अदालतले ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम सजाय गरेको दुवै फैसलामा यी प्रतिवादीले चित्त बुझाई वारदातको तथ्यगत कुरालाई स्वीकार गरेको देखिन्छ । 

३. कुनै शिशु जिउँदो जन्मेको हो वा मृत जन्मेको हो भन्ने कुराको सर्वोत्तम प्रमाण तत्सम्बन्धमा विशेषज्ञता प्राप्त गर्ने चिकित्सकहरूको भनाई नै हुन्छ । चिकित्सकहरूको रायमा लापरवाही वा बेहिसाब देखिएमा, गम्भीरताको अभाव रहेमा वा अयोग्य चिकित्सकबाट राय व्यक्त भएमा बाहेक चिकित्सकहरूको रायलाई प्रमाणमा लिनु उपयुक्त हुन्छ । चिकित्सकको राय मिसिलका अन्य प्रमाणबाट समर्थित भएको अवस्थामा त्यस्तो राय झन् विवादरहित हुन पुग्छ । नवजात शिशुको घाँटीमा नाल बेरिएको, दाहिने आँखा माथि निलो दाग रहेको, घाँटीको भागमा निलो र हल्का सुन्निएको, बाँयातर्फ गालामा मुखको साइडबाट काटिएको आलो घाउ, सो घाउबाट रगत बगेको अरू सामान्य अवस्थामा रहेको भन्ने २०७०।५।७ को लासजाँच मुचुल्का व्यहोरा र मृतक शिशुको मिति २०७०।५।८ को शव परीक्षण प्रतिवेदनमा देखिएको mandible bone fractured, lacerated wound found in right side of cheek extending from right angle of mouth to 3-4 cm. भन्ने घाउ चोटको विवरण तथा death either due to injury or asphyxia भनी उल्लेख भएको मृत्युको कारणबाट शिशु जीवित जन्मेको कुरा प्रमाणित हुन्छ । यस सम्बन्धमा पुनरावेदन अदालत, हेटौंडाले फोक्सोलाई टुक्राटुक्रा पारी पानीमा राखिन्छ, ती टुक्राहरू पानीमा तैरिए बच्चा जिउँदो जन्मिएको र टुक्राहरू पानीमा डुबे बच्चा मरेको जन्मिएको अर्थबोध हुन्छ । जिउँदो जन्मिएको शिशुले सास फेर्ने र मरेको जन्मिएकोले नफेर्ने हुँदा फोक्सोका टुक्राहरूको वजनमा फरक पर्न गई तैरिने र डुब्ने गर्दछन् । शिशु जिउँदो वा मरेको जन्मिएको हो भनी यकिन गर्ने यस प्रक्रियालाई hydrostatic test को संज्ञा दिइन्छ । नवजात शिशुको शव परीक्षण प्रतिवेदन हेर्दा फोक्सोका टुक्राहरू पानीमा तैरिएको भनी उल्लेख भएको देखिँदा शिशु मृत अवस्थामा जन्मिएको भन्न सकिने स्थिति छैन भनी उल्लेख गरेको व्यहोरासँग यो इजलास सहमत छ । 

४. प्रतिवादी सीता लामिछानेले राजाराम तिवारीसँगको अवैध यौन सम्बन्धबाट गर्भवती भई मिति २०७०।५।७ को बिहान पिठुवा गाउँ विकास समिति वडा नं. ८ मा रहेकी ठूली आमाको घरको शौचालयमा बच्चा जन्माएको र अरूले देख्ने थाहा पाउने डरले बच्चालाई कपडाले बेरी बच्चा र कपडालाई एउटै बाल्टिनमा हाली घरनजिक खेतमा भएको कुलोमा बच्चा फाली कपडा धोई घर फर्केकी हुँ भनी अधिकारप्राप्त अधिकारीसमक्ष बयान गरेको पाइन्छ । उक्त बयान निजले कसैको डरधाक, प्रलोभन आदि कारणबाट गरेकी भन्ने कुरा प्रमाणित छैन । निजको मौकाको बयान, लासजाँच मुचुल्का र मृतकको शवपरीक्षण प्रतिवेदनसमेतका लिखत एकअर्कासँग मिलेभिडेबाट यी प्रतिवादीले जिउँदो जातकलाई बाल्टिनमा हाली नजिकको खेतको कुलोमा फालेको कुरा शंकारहित तवरबाट प्रमाणित भएको छ । 

५. नवजात शिशुको उचित स्याहारसम्भार नगरेर प्रतिवादी आमाले बच्चा जन्मेको कोही कसैले थाहा पाउलान् कि भनी बच्चालाई कपडामा बेरी लुकाएको त्यसपछि नवजात शिशुलाई अरू रगत आदि फोहोरसरह फाल्नुपर्ने वस्तु ठानी फालेको कार्य र नवजात शिशुलाई घाँटी थिची मार्ने कार्य दुवैको परिणाम नवजात शिशुको मृत्यु हुने कुरामा सन्देह रहन्न । भवितव्यमा बद्‌नियत हुँदैन, सबै कुरा शुद्ध मनसायले गर्दा गर्दै पनि सोच्दै नसोचिने अप्रत्याशित परिणाम उत्पन्न भई मानिसको मृत्यु हुन पुग्छ । भवितव्यको सम्बन्ध अपराधसँग हुँदैन । कार्य निर्दोष हुन्छ । परिणाम अपराध हुन्छ । तर प्रतिवादी सीताको कार्य नै अपराधपूर्ण छ । Homicide by omission पनि homicide नै हो । मुख्य कुरा कर्ताले वारदात गर्दा शिशु मार्ने मनसाय राखेको थियो वा थिएन भन्ने कुरा नै हेर्नुपर्छ । कर्ताको मनसायको परीक्षण कर्ताको कार्यबाट हुन्छ र यसको आधार भनेको सामान्य सुझबुझ भएको मानिसले त्यस किसिमले नवजात शिशुलाई व्यवहार गर्दा नवजात शिशुको मृत्यु हुन्छ अथवा हुँदैन भन्ने नै हुन्छ । अविवाहित प्रतिवादीले धारण गरेको अवैध गर्भबाट सन्तान जन्मिसकेपछि प्रतिवादीबाट नवजात शिशुलाई हुनुपर्ने स्याहारसुसारको अभाव, नवजात शिशुको शरीरमा परेको घाउचोट, जीवित शिशु जन्मेको भन्ने चिकित्सकको रायसमेतका प्रमाणबाट यी प्रतिवादीले जीवित शिशु जन्माई कर्तव्य गरी मारेको भनी पुनरावेदन अदालत, हेटौंडाले प्रतिवादी सीता लामिछाने विरूद्धको अभियोगदाबी पुग्ने ठहराई ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गरेको मिति २०७१।९।१४ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । 

६. यस्तो वारदातमा कम सजायको राय लाग्ने कुरा एक मान्य प्रचलन नै भइसकेको देखिन्छ । पुनरावेदन अदालत, हेटौंडाले कसुरको प्रकृति, प्रतिवादीको उमेर, शिक्षोपार्जन गर्दै गरेको अवस्था, अपराध गर्ने दुराशयको अभाव, निजको उपस्थितिले समाज भयभीत र अपमानित नहुने अवस्थालगायतका कारणबाट निजलाई तोकिएको सजाय गर्दा चर्को पर्न जाने भनी मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम प्रतिवादीलाई ५  वर्ष कैद हुन व्यक्त गरेको राय सोही प्रचलनको सशक्त अभिव्यक्ति देखिन्छ । उक्त विचारसँग यो इजलास पूर्ण सहमत छ र त्यसमा थप कुनै कुरा व्यक्त गर्नु अर्घेलो ठान्दछ । अतः प्रतिवादी सीता लामिछानेलाई ५ वर्ष कैद हुने ठहर्छ । तपसिलबमोजिम गर्नू । 

तपसिल

माथि ठहर खण्डमा लेखिएबमोजिम प्रतिवादी सीता लामिछानेलाई सर्वस्वसहित जन्मकैद हुने ठहर भई मुलुकी ऐन, अदालती बन्दोबस्तको महलको १८८ नं. बमोजिम ५ वर्ष कैद भएको हुँदा प्रतिवादी सीता लामिछाने ३५  दिन कैद बसेको अवधि कटाई बाँकी ४ वर्ष १० महिना २५ दिन कैदको लगत कसी असुलउपर गर्नु भनी सुरू चितवन जिल्ला अदालतमा लेखी पठाइदिनू --------------------------------------१ 

प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू ------------------------------१

 

उक्त रायमा सहमति छ । 

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : आत्मदेव जोशी

इति संवत् २०७२ साल फागुन २० गते रोज ५ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु