शब्दबाट फैसला खोज्‍नुहोस्

निर्णय नं. ९६१९ - जबरजस्ती करणी (हाडनाता)

भाग: ५८ साल: २०७३ महिना: असोज अंक:

सर्वोच्च अदालत, संयुक्त इजलास

माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय

माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.

फैसला मिति : २०७२।११।३।२

०६८-CR-०४१७

 

मुद्दा : जबरजस्ती करणी (हाडनाता)

 

पुनरावेदक / प्रतिवादी : जिल्ला नुवाकोट बेलकोट गा.वि.स. वडा नं. २ घर भई कारागार कार्यालय, जगन्नाथ देवल, काठमाडौंमा थुनामा रहेको ऋद्धिराम त्रिपाठीको छोरा श्रीराम त्रिपाठी

विरूद्ध

प्रत्यर्थी / वादी : परिवर्तित नाम मन कुमारीको जाहेरीले नेपाल सरकार

 

चरित्रकै विवाद रहेको मुद्दामा बाहेक अपराधी ठहर गर्न वा सफाइ दिनको लागि व्यक्तिको चरित्रलाई कानूनले खासै महत्त्व दिएको छैन । करणी एउटा घटना हो जो जुनसुकै जैविक व्यक्तिबाट जुनसुकै बेला जसरी पनि घटित हुने सम्भावना रहन्छ । यसका प्रस्फुटनका एक होइन अनेकौं छिद्र हुन्छन् । साधु सन्त देउतादेखि दुष्ट दुर्जन सबै यसको दायरामा आउन सक्ने हुन्छन् । त्यसैगरी यौन दुराचार र करणी गर्ने काम सामान्यतया कसैले पनि खास गरी बाबुले आफ्नो सन्तानको सामुन्ने गर्ने कुरा एक असामान्य कुरा भएको र पीडितकी बहिनी निक्कै कम उमेरकी भएकीले निजबाट यस्तो तथ्य थाहा पाउने अवस्था कमै पर्छ । अतः ती भनाइलाई प्रतिवादीको सफाइको आधार बनाउनु उपयुक्त नहुने । 

(प्रकरण नं.६)

ठूलै घाखत भई सो घाउ बिग्रेको केही अपवादजन्य अवस्थाबाहेक करणी भएको एक महिनासम्म जबरजस्ती करणीका लक्षणहरू यथावत् रहन सक्ने हुँदैनन् ।  कानूनले १६ वर्ष पूरा भएकोलाई बयस्क माने पनि नेपालमा १३-१४ वर्षमा नै केटीहरूको स्तनलगायतका यौनांगहरूको विकास हुने र महिनावारी सुरू हुने र सन्तान जन्माउन सक्ने अवस्थामा पुग्ने यहाँको इतिहास र यथार्थ छ । करणी भएको भनिएको समयमा पीडितको उमेर १४ वर्ष पूरा भई १५ मा प्रवेश गर्नको लागि ४ महिना जति बाँकी रहेको देखिन्छ । पीडितको कन्याजाली च्यातिएको अवस्था छ । कन्याजाली विभिन्न कारणले च्यातिन सक्ने कुरा यथार्थ हो । तर सामान्य क्रियाकलापबाट कन्याजाली च्यातिने कुरा यथार्थ होइन । पीडितबाट के कस्तो असामान्य क्रियाकलाप भयो र निजको कन्याजाली च्यातिन पुग्यो यसको जिकिर प्रतिवादीले लिनुपर्छ र त्यसको प्रमाण पनि निजैले पुर्‍याउनु पर्ने । 

पीडितले अरूहरूसँग पनि यौन सम्पर्क गरेकी कुराको हल्का वा बलियो कुनै प्रमाण देखिँदैन । प्रमाण र अनुमान फरक कुरा हुन् । बाबुको दुराचारबाट पीडित भई घर छोडेर छोरीले कसैसँग केही समय बिताएको तथ्यबाट निजहरू बिचको सोसम्बन्ध यौन सम्पर्कमा नै परिणत भएको अर्थ गर्न नमिल्ने । 

(प्रकरण नं.८)

बकपत्रमा परेका धेरै कुरा मौकाको जाहेरीमा उल्लेख हुन सकेका छैनन् । तर बकपत्र गर्ने व्यक्ति बकपत्र कसरी गर्नुपर्छ भन्ने कानून पढेको ज्ञाता व्यक्ति नभएको कुरा विचारणीय छ । प्रतिवादी एकदम बदमास व्यक्ति भएको देखाउन पनि वास्तविक तथ्यलाई बढाईचढाई गर्ने आनीबानी मानव स्वभावभित्रै पर्छ । जाहेरी दिँदा जाहेरवाला धेरथोर अविचलित अवस्थामा रहने हुँदा सो को प्रभावस्वरूप मौकामा सिलसिलाबद्धमा सबै तथ्यको वर्णन नहुन पनि हुन सक्छ । तथापि दूधमा पानी मिसिएको भन्दैमा त्यसमा  दूध छैन पानी मात्रै छ भन्न नमिले जस्तै केही कुरा बढाईचढाई आएबाटै वा केही कुरा छुटेबाटै त्यसलाई मात्र अलग्याई मिसिलका अरू प्रमाणको उपेक्षा गरी सो बकपत्रमा परेका यथार्थ कुरालाई समेत अमान्य गर्नु उचित हुँदैन । न्यायाधीशले राजहंसको काम गर्न सक्नुपर्छ । दूध कति र पानी कति छुट्याउनै पर्ने । 

(प्रकरण नं.१३)

 

पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता नारायण देवकोटा

प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी

अवलम्बित नजिर :

सम्बद्ध कानून :

मुलुकी ऐन, जबरजस्ती करणीको महलको १ र २ नं.

 

सुरू फैसला गर्ने :

मा. जिल्ला न्यायाधीश श्री बालेन्द्र रूपाखेती 

पुनरावेदन तहमा फैसला गर्ने : 

माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा

माननीय न्यायाधीश श्री डा. कुलरत्न भुर्तेल

 

फैसला

न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :

म जाहेरवाली मन कुमारी र प्रतिवादीको वैवाहिक सम्बन्धबाट २०५१ साल पुस महिनामा छोरी “बालाजु अ” को जायजन्म भएको हो । विवाह भएदेखि नै घरमा प्राय जसो झै-झगडा 

भइरहन्थ्यो । छोरी जन्मेको चार वर्षपछि २०५५ सालमा श्रीमान्‌ले कान्छी श्रीमतीको रूपमा सुनिता थापालाई ल्याउनुभयो ।२०५५ सालदेखि मैंले नाबालक छोरी लिई छुट्टै कोठामा बसेर छोरी पढाउँदै हुर्काउँदै आएकी थिएँ । कान्छी श्रीमतीबाट एक छोरा एक छोरी जन्मेपछि २०५९ सालमा कान्छी श्रीमतीसँग समेत झै-झगडा परी कान्छी श्रीमतीले श्रीमान्‌लाई छोडेर गएपछि हामीबीच आउने जाने क्रमको सुरूआत भएपनि पहिलाको व्यवहार सम्झेर म छोरी लिएर डेरामा नै बसेर पढाउँदै थिएँ । श्रीमान्‌ पुजारी भई काठमाडौं जिल्ला काठमाडौं न.पा. वडा नं. १६ बसन्तनगर स्थित शिव मन्दिरमै बस्न थाल्नुभयो । यसैबीच मिति २०६५।१।१ मा छोरीलाई म आफैँ पढाउँछु भनी लिएर जानुभयो । छोरीलाई लिएर गएपछि बाबुले यौन सम्पर्क गर्न आइज भन्न थाल्नु भएछ । नमानेपछि कुटपिट गर्ने, यौन दुराचार गर्न थाल्नुभयो । कतै भनिस् भने मारिदिन्छु, घरबाट निकालिदिन्छु, तेरो आमालाई पनि मारिदिन्छु, स्कुल पढाउँदिन भनेर धम्की दिएको कारण डरले छोरीले कसैलाई केही बताइन । त्यसपछि पनि बेलाबेलामा यौन सम्पर्क गर्न आइज भन्दा नमाने पछि टाउको दुखेको औषधी खा भनेर जबरजस्ती बेहोस हुने औषधी खुवाई छोरीलाई जबरजस्ती करणी गर्न थाल्नुभएछ । पटकपटक जबरजस्ती करणी हुन थालेपछि सहनै नसकेर छोरी साथीको घरमा गएर बसेको थाहा पाई बाबुसँग किन नबसी घर छोडेर हिँडिस् भनी सोध्दा मात्र छोरीले बाबुले औषधी खुवाई पटकपटक यौन दुर्व्यवहार गर्ने जबरजस्ती करणी गर्ने गर्नुहुन्छ भनी बताई । उसको परीक्षा भदौ २४ गतेबाट सुरू हुने थियो । त्यसको २।३ दिनअगाडि भदौ २१ गते पनि बाबुले जबरजस्ती करणी गरेको कारण डरले साथीको घरमा गई बसेकी रहिछ । सो कुरा छोरीलाई दशैंमा म भएको ठाउँमा आएपछि सोध्दा मात्र बताएकी हुँदा यो जाहेरी गर्न आएकी छु भन्ने मन कुमारीको मिति २०६६।६।१९ को जाहेरी दरखास्त । 

मेरो बुबा प्रतिवादी र आमा मन कुमारीबाट मेरो जन्म २०५१ साल पुस महिनामा भएको हो । आमा बुबाबीच वादविवाद झै-झगडा हुँदै जाँदा मेरो बुबाले २०५५ सालमा सुनिता थापालाई कान्छी श्रीमतीको रूपमा भित्र्याउनुभयो । म र आमा छुट्टै बसी आमाले मलाई पढाउनुभएको थियो । कान्छी आमाले २०५९ सालमा बाबुलाई छोडेर गएपछि आमा कहिलेकाहीँ बाबु बस्ने ठाउँमा जानेआउने गर्नुभएको थियो । बुबाले आमालाई जेठी छोरीलाई साथैमा राखी पालनपोषण तथा शिक्षादीक्षा दिन्छु भाइ बहिनीसमेतको रेखदेख छोरीले गर्छे भनी सल्लाह गरेको कारणले बहिनी भाइलाई साथमा नै लिएर आई मिति २०६५।१।१ मा म भाइबहिनीसँगै बुबा बस्नुभएको डेरा कोठा बालाजु गएर बस्न थालेँ । बुबाले मलाई कक्षा ८ मा भर्ना गराई दिनु भई हाल कक्षा ९ मा अध्ययन गर्दै आएकी छु । बुबाले शिव मन्दिरमा पुजारीको काम गर्दै आएको २।३ वर्ष जति भएको थियो । मिति २०६५।११।९ मा बालाजु चोकमा मन्दिर नजिक पुजारी बस्ने घर दिएकोले मलगायत भाइ बहिनीलाई बुबाले सोही ठाउँमा लगी राख्नुभएको थियो । मलाई बुबाले ल्याएको एक हप्तादेखि नै मेरा यौनाङ्गहरू खेलाउने काम गर्दै आउनुभएकोमा मैंले बुबालाई किन मलाई यसरी खेलाउनुहुन्छ भन्दा तिमी बिरामी छ्‌यौ मैले फुकेको उपचार गरेको हुँ भनी भन्नु हुन्थ्यो । हामी मन्दिरमा गएर बस्न लागेपछि एउटै कोठाभित्रको एक साईडमा म सुत्ने छुट्टै खाट राखी मलाई बुबाले सुत्न दिनुभएको र ठूलो खाटमा वर्ष १२ की बहिनी छुट्टै सुत्थिन् । वर्ष ८ को भाइ र बुबा छुट्टै एउटा खाटमा सुत्ने गर्नु हुन्थ्यो । मन्दिरमा गएर बस्न लागेपछि मेरो बुबा प्रतिवादीले मलाई तिमी बिमारी छ्यौ म फुक्छु उपचार गर्छु भन्ने बहाना बनाएर मेरो स्तन, योनिलगायतका भागहरू सुमसुम्याउने, खेलाउने गर्दै आउनुभएकोमा मैंले मलाई किन यसो गर्नुभएको, यो कुरा आमालाई भनिदिन्छु भन्दा यो कुरा तेरो आमालाई भनिस् भने म तँलाई र तेरो आमासमेतलाई मारीदिन्छु भनी धम्की दिई मलाई डर त्रासमा राख्दै आउनुभएको थियो । मिति २०६६।५।२१ को बेलुका अं. ६.३० बजे कोठामा आउँदा भाइ बहिनी बाहिर चौरमा खेली बसेका बुबा कोठामा नै एक्लै हुनुहुन्थ्यो । मैंले बुबालाई खाजा लिएर आउनुस् भनेकोले बुबा बाहिर निस्कनु भयो । केही समयपछि बुबाले बिस्कुट लिएर आउनुभयो । म बहिनी परिवर्तित नाम संजिता सुत्ने गरेको खाटमा बसी होमवर्क गर्न थालेँ । बुबाले चिया पकाएर मलाई गिलासमा चिया र बिस्कुट ल्याएर दिनु भई मैंले चिया बिस्कुट खान लागेँ । बुबा मन्दिरमा बेलुकाको पूजा गर्न जानुभयो । बेलुका करिब ८ बजेतिर बुबा पूजा सकी भाइ बहिनीलाई साथमा नै लिएर आउनुभयो । बुबा कोठामा आउँदा मैंले भात पकाइसकेकी थिएँ । बुबा आएपछि तरकारी पकाई भाइ बहिनी र बुबालाई खाना खान 

दिएँ । म खाना खानुअगाडि नै मलाई रिंगटा लागि शरीर झम्म पारेको थियो । मैंले थोरै खाना खाएर भाँडासमेत नमाझी बुबाले भाडा माझ्न लागेकोले म एक्लै सधैँ सुत्ने गरेको खाटमा गएर सुतें । राति अं. १०।११ बजेको समयमा म बेहोस जस्तै भएर सुतेको अवस्थामा बुबा मेरो खाटमा आई मसंगै सुती मेरो स्तन सुमसुम्याएर मेरो तल लगाएको ट्रयाक खोली ममाथि चढी करणी गर्न लाग्दा मलाई अप्ठ्यारो महसुस भई म छटपटाई कराउन खोज्दा बुबा आफ्नो खाटमा गएर सुत्नुभयो । म कराउन नसकी सोही खाटमा सुतें । भोलिपल्ट बिहान उठ्दा मेरो योनिबाट केही रगत निस्केको योनि वरपर दुखी अप्ठ्यारो भएकोले बुबालाई मैंले राति तपाईले मेरो खाटमा आई सुतेर यो के गरेकोभन्दा तिमीलाई भूतले तर्साउला भनी चेक गरेको मात्र हो यो कुरा कोही कसैलाई नभन म तिमीलाई तिहारपछि मोबाइल किनेर दिउँला भन्नुभयो । मैंले बुबाले मलाई करणी गरेको कुरा कोही कसैलाई नभनी मेरो योनिबाट आएको रगतसमेत पुछी मिति २०६६।६।५ सम्म बुबासँगै बसेको थिएँ । मलाई बुबाले जबरजस्ती करणी गरी अत्याचार गरेको कुराले आत्मग्लानि भई ममीलाई भन्छु भनी ऐ. ५ गते ममी बसेको ठाउँमा जान लाग्दा ममीलाई सो कुरा भन्न अप्ठ्यारो लागी मेरो चिनजानको साथी काठमाडौं जिल्ला मनमैजु बस्ने रमेश बोहरालाई उक्त घटना बताई निजको घरमा गएर बसेँ । घटनाको बारेमा ममी बुबाले थाहा पाएर गाली गर्लान् भनी म असोज ५ देखि १५ सम्म रमेश बोहराकै घरमा बसी असोज १५ गते गोंगबु बस्ने मामा प्रेम सिलवालको घरमा गई बसेको अवस्थामा ममी मामाघरमा आई तँ के कारणबाट हिंडेर कहाँ गएर बसिस् भनी सोधपुछ गरेकोले मैंले बुबाले मिति २०६६।५।२१ मा जबरजस्ती करणी गरेको र पहिल्यैदेखि बुबाले यौन दुर्व्यवहार गर्दै आएको कुरा बताएपछि जाहेरी लेखाई पेस गर्न ल्याउनुभएको हो भनी पीडित नाम परिवर्तित “बालाजु अ” ले अनुसन्धान अधिकृतसमक्ष मिति २०६६।६।१९ मा गरिदिएको कागज र उक्त कागज आफ्नो रोहवरमा पीडितले भनेबमोजिम लेखिएको ठीक साँचो हो भनी सोही कागजको रोहवरमा बसेकी पीडितको आमाको कागज । 

काठमाडौं १६ बालाजु बसन्तनगरस्थित शिव मन्दिरको कम्पाउन्ड रहेको पुजारी बस्ने तथा मन्दिरको मिटिङ बस्ने दुईतल्ले घर रहेको सोही घरको भुइँतल्लामा प्रतिवादीसमेत बस्ने गरेको कोठा तथा किचेनसमेत रहेको सोही स्थानमा मिति २०६६।५।२१ राति प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरिएको भनिएको स्थानमा चारकिल्लासहितको विवरण ठीक छ भन्ने व्यहोराको मिति २०६६।६।१९ मा भएको घटनास्थल मुचुल्का । 

पीडित “बालाजु अ” लाई एउटै स्कुलमा पढ्ने भएकोले चिनजान भई साथी बनाई निजको कोठामा समेत जाने आउने गर्दथे । निजको कोठामा गएको बेलामा निजको बुबाले मलाईसमेत आज राति यहीँ बस भनी जिस्काउने र अश्लील भाव झल्किने कार्य गर्दथे । प्रतिवादीले पीडितलाई डरत्रासमा पारी पटकपटक जबरजस्ती करणी गरेको र कसैलाई बताएमा पीडित र पीडितको आमालाई मारिदिने, खान, लाउन, पढ्नसमेत नदिने भनी डरत्रासमा पारेको भनी पीडितले बताएकी थिइन् । प्रतिवादीले मलाई गरेको व्यवहारबाट निजले पीडितलाई जबरजस्ती करणी गरेकोमा मलाई विश्वास छ भन्ने सिर्जना रिमालले मिति २०६६।६।१९ मा गरिदिएको कागज । 

पीडित “बालाजु अ” मेरो भान्जी नाता पर्ने 

हुन् । पीडित हाम्रो घरमा निजको आमासँग बस्दै आएकी थिइन् । विगत ४।५ वर्ष पहिला जाहेरवाली नन्दलाई छुट्टै जग्गा किनी घर बनाई बस्न दिएका थियौं । निजको श्रीमान्‌ले कान्छी श्रीमती ल्याएको हुँदा पहिलादेखि नै हाम्रो घरमा बस्दै आएकी हुन् । विगत १ वर्ष पहिलादेखि पीडित “बालाजु अ” लाई निजको बुबाले छोरीलाई मैंले पढाउँछु म लिएर जान्छु भनी बसपार्कनजिक आफूले पूजा गर्ने शिव मन्दिरमा लिएर गएका हुन् । पीडित सोही मन्दिरमा बस्ने र त्रिलोक चिल्ड्रेन एकेडमी बसन्तनगरमा कक्षा ९ मा पढ्दै आएकी 

छिन् ।  निज पीडित हाम्रो घरमा आउँदा निजलाई मैंले तिमी किन बाहिर हिँड्छौ घरमा किन बस्दैनौ भन्दा पीडितले मलाई बाबाले औषधी जस्तो खान दिई जबरजस्ती करणी गर्नुहुन्छ । त्यसकारण बाबाकोमा बस्न मन नलागेकोले कहिले साथीको घर कहिलेकाहीँ बस्ने गरेकी छु भनी मसँग रूँदै भनेको हुँदा मलाई थाहा भएको हो । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भन्ने निज पीडितले नै भनेको हुँदा प्रतिवादीलाई कानूनबमोजिम हदैसम्मको कारवाही र सजाय होस् भन्ने पार्वती सिलवालको मिति २०६६।६।१९ मा भएको कागज । 

२०६५ सालको सुरूतिर पीडित दिदी “बालाजु अ” लाई बुबाले ल्याई हामीहरूसँग पढाउँदै आउनुभएको हो । सो अवस्थामा मेरो बुबाले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु बसन्तनगरमा रहेको शिव मन्दिरमा पूजा गर्ने 

गर्नुहुन्थ्यो । मिति २०६५ फाल्गुण महिनामा शिव मन्दिरनजिक पुजारी बस्ने घर बुबालाई दिएकोले बालाजु चोकमा रहेको डेरा छाडी बुबाले हामीहरू ३ जना छोरा छोरीहरूलाई लिई सो ठाउँमा लगी राखी दिदीलाई बसन्तनगरकै म र भाइसमेत पढ्ने गरेको त्रिलोक चिल्ड्रेन्स एकेडमी स्कुलमा कक्षा ८ मा भर्ना गरिदिनु भई हामीहरू बसेको घरको भुइँतल्लाको कोठामा एउटा खाटमा बुबा र भाइ एउटा खाटमा म र सोही कोठाको भित्री भान्छा कोठामा दिदी सुत्ने गर्नुहुन्थ्यो । खाना दिदीले बनाउने गर्नुहुन्थ्यो । दिदी स्कुलबाट कहिलेकाहीँ ढिला आउने जहाँ मन लाग्यो त्यहीँ हिँड्ने गर्ने गरेकोले बुबाले दिदीलाई गाली गर्नुहुन्थ्यो । मिति २०६६।५।२१ बेलुका दिदीले खाना बनाई बुबा, म, भाइ र दिदीले खाना खाई बुबा र भाइ एउटा खाटमा र म बुबासँगै सुत्ने गरेको कोठाको अर्को खाटमा र दिदी किचेन कोठामा भएको खाटमा सुतेको हो । दिदीलाई उक्त राति बुबाले जबरजस्ती करणी गरेको कुरा मलाई थाहा छैन । हामी बसेको ठाउँमा दिदीको साथी सिर्जना भन्ने केटी बुबा नभएको मौका छोपी आई दिदीसँगै बस्ने गर्थे । बुबाले भेट्दा दिदीको साथीलाई तिमी हाम्रो कोठामा नआउनु छोरा छोरीको पढाई बिग्रन्छ भनी गाली गर्नुहुन्थ्यो । मिति २०६६।६।५ मा बिहान बुबा मन्दिरमा पूजा गरिरहनुभएको थियो । मेरो बुबाले म र दिदीलाई स्वयम्भुस्थित माताकोमा फुक्न जाउ भनी खाजा खान रू. १०।१० र फुक्नको लागि रू. १५। – दिई दिदी, भाइ र म हामीले पढ्ने स्कुलनजिक आएपछि दिदीले भाइ र मलाई त्यही राखी दिदीको साथी सिर्जनालाई बोलाउन गई बोलाएर ल्याएपछि गुणस्तरमा आई पुगेपछि भाइ त्यही घरमा फर्कि 

गयो । आज फुर्सत छ स्वयम्भु नजाउँ रानीवनतर्फ घुम्न जाउँ भनी दिदी र दिदीको साथीले कुमारीस्थानको बाटो हुँदै नागार्जुन गुफानिर पुग्दा दिदीले सिस्नो भाँची सिर्जनालाई पोली मलाई समेत पोली दिएकोले म दिदीहरूलाई छाडी आफ्नो घर फर्की आएँ । सिर्जना कता गए थाहा भएन । दिदी सो दिनदेखि हामी बसेको घरमा नआएकोले दिदीलाई बुबाले खोज्नुभएको थियो । दिदीलाई बुबाले समाउने कुटपिट गर्ने कुरा मलाई थाहा भएन । भनेको कुरा नमान्दा दिदीलाई गाली गर्नुहुन्थ्यो र मलाई काम अराउँदा नमानेमा बुबाले गाली गरी कुटपिटसमेत गर्नुहुन्थ्यो । बुबादेखि मलाई डर लाग्छ भन्ने व्यहोराको अनुसन्धानको क्रममा बुझिएकी पीडित बहिनी संजिताले मिति २०६६।६।२० मा गरिदिएको कागज । 

जाहेरवाला मेरो जेठी श्रीमती हुन् । निजबाट नाम परिवर्तन गरिएकी “बालाजु अ” को जायजन्म भई निज श्रीमतीसँग सुरूदेखिनै वादविवाद झै-झगडा भई रहेको कारण मैंले २०५४ सालमा दोस्रो विवाह गरी कान्छी श्रीमती ल्याएपश्चात् जाहेरवालीकी छोरी “बालाजु अ” लाई साथमा लिई गोंगबुमा बस्दै आएकी 

थिइन् । कान्छी श्रीमतीबाट समेत १।१ छोराछोरीको जन्म भएपछि निजसँग वादविवाद हुन गई २०६० सालमा छोराछोरी तथा मलाई छोडी गएपछि कहिलेकाहीँ जेठी श्रीमती मसँग आउने बस्ने गर्दै आएकोमा “बालाजु अ” खराब सङ्गतमा लागेको कारण जाहेरवालीले तपाईले लगेर सुधार्नु होस् भनेकीले मैले साथमा ल्याई राखी तीनवटै छोरा छोरीलाई सँगै पढाउँदै आएको र निज “बालाजु अ” पटकपटक कसैलाई नसोधी डेरा छोडी लामो समयसम्म काठमाडौंका विभिन्न डान्स रेष्टुरेन्टमा गई बसेको अवस्थामा जाहेरवाली तथा मसमेत भई खोज तलास गरी फेला पारी ल्याई राख्ने गरेको हो । यस्तैमा जेठी छोरी टाउको दुख्यो ज्वरो आयो भनेकीले सधैँ स्वयम्भु शोभा भगवतीनजिक रहेको पवित्र हारती माताकोमा झारफुकको लागि जाने गरेकोले त्यहाँ जाउ भनी तीनवटै बच्चालाई पैसा दिई पठाएकोमा सानो छोरा अं. २ घण्टापछि घरमा आयो । छोरी रेजिना अं. ३/४ बजेतिर घरमा आइन् । जेठी छोरी नआएकोले छोरीको साथी सिर्जना रिमाल पनि साथमा थिई भनेकोले निज सिर्जनाकोमा गई बुझ्दा मलाई थाहा छैन भनिन् । मिति २०६६।६।१५ को दिउसो अं. १ बजेको समयमा छोरीको साथी सुस्मितासँग गोरखा घुम्न तपाईको छोरी गएकी छ केही समयपछि आइपुग्छ भनी एकजना केटाले फोन गर्‍यो । मनकुमारीसमेतले छोरी आँउछु भनी मावलीमा फोन गरी भनेकोले सोही राति अं. ८ बजे म गोंगबु बानियाँटारमा रहेको छोरीको मामाघर प्रेम सिलवालको घरमा जाँदा छोरी फेला पारी प्रेम सिलवाल जेठानसँग मेरो सम्बन्ध राम्रो नभएको कारण टीका लगाउभन्दा पनि नलगाई छोरी ल्याई आफ्नो कोठामा राखेँ । ऐ. १६ गते जेठी श्रीमतीसमेत म बसेको ठाउँमा आई छोरीलाई यतिका दिन कहाँ गएकी थिइस् भनी सोध्दा साथीको घर मनमैजुमा गई बसेँ भनी जवाफ दिइन् । श्रीमती आफ्नो डेरामा गइन । छोरी म कहाँ नै बसिन । ऐ. १७ गते बिहान ७/८ बजेतिर श्रीमती मेरो कोठामा आई श्रीमती छोरी र म भई छोरी बसेको घर हेर्न जाँदा मनमैजुमा यहीं बसेको हो भनी ताल्चा लगाएको कोठा देखाइन् । त्यस घरमा केटी मान्छे बस्ने गरेको जानकारी नपाएपछि छोरीलाई कहाँ-कहाँ बस्यौ भनी सोध्दा माछापोखरीस्थित एसियन गेस्ट हाउसमा बसेको भनी बताइन् । तीनै जना मेरो कोठामा आएपछि मैंले यसरी हिँड्ने छोरीलाई पालेर पढाउन सक्दिन भनेपछि श्रीमतीले रिसाएर छोरीलाई साथमा लिएर गएकी हुन् । मैले हालसम्म छोरीलाई यौन दुराचार तथा जबरजस्ती करणी गरेको छैन भनी प्रतिवादीले गरेको कागज । 

मिति २०६६।६।१८ को बिहान जाहेरवाली मनकुमारी मेरो घरमा आई अंकल छोरीलाई श्रीमान्‌ले जबरजस्ती करणी गरेछन् भनी बताएकीले मैंले तेरो कुरामा मलाई विश्वास लाग्दैन छोरीलाई यहाँ ल्याइज निजसँग नै सोधपुछ गर्छु भनी भनेकोमा निजले सोही दिन दिउँसो पीडित “बालाजु अ” लाई मेरो घरमा ल्याइन् । मैंले पीडितसँग के भएको हो भनी सोध्दा मलाई बुबाले पहिलेदेखि नै यौन दुर्व्यवहार गर्दै आएको र मिति २०६६।५।२१ मा चियामा लठ्याउने चीज राखी खुवाई रातको समयमा जबरजस्ती करणी गरेको भनी पीडितले बताएकीले जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास लाग्छ भनी भरतमणि सिलवालले गरिदिएको कागज । 

पीडित “बालाजु अ” र मेरो छोरी एउटै स्कुलमा पढ्ने आउने जाने गरेको कारण चिनजान भएकोमा निज पीडितलाई झोक्राई बसेको अवस्थामा देखी सोध्दा घरमा मलाई टेन्सन छ म कोही कसैलाई मेरो टेन्सन भन्न पनि सक्दिन म घर जान्न भनेकोले मैंले मेरो घरमा गएर बसभन्दा म तिम्रो घरमा समेत जान्न भनेकोले मैंले निजलाई बालाजु माछापोखरीमा रहेको एसियन गेस्ट हाउसको कोठा नं. ३०३ मा लगी मेरो नाममा इन्ट्री गरी दिनको रू. ३५०। – मा बुक गरी राखी म आफ्नो घरमा आएँ । निजलाई उक्त गेस्ट हाउसमा असोज ५ बाट ऐ. १० सम्म राखेकोमा निजलाई किन गेस्ट हाउसमा राखेको घरमा लिएर आइज भनेकोले असोज १० गते होटलमा राखेको खर्च तिरी पीडितलाई घरमा नै ल्याई संरक्षणमा 

राखेँ । मैंले घरमा ल्याएपछि मेरो छोरीले समेत निजलाई चिनेर दिदी भनेपछि निजले मलाई बाबुले मिति २०६६।५।२१ राति बलात्कार गरे सो कुरा कसैलाई भन्न नसकी विरक्त भएर हिँडेकी हुँ भनी बताएकीले निजको संरक्षण गरी एसियन गेस्ट हाउसमा राखी निजको मामाघर पुर्‍याई दिएको हुँ भनी रमेश बोहोराले मिति २०६६।६।२० मा गरिदिएको कागज । 

मिति २०६६।६।७ मा रमेश बोहोरा बताउने युवकले एकजना १४/१५ वर्षकी केटी ल्याई ऐ. १३ गते दिउँसोसम्म मेरो गेस्ट हाउसमा बसेका हुन् । रमेश बोहरा र निजसँग आएकी केटीलाई मैंले चिनेको थिएन भनी चण्डीप्रसाद पौडेलले मिति २०६६।६।२१ मा गरिदिएको कागज । 

जाहेरवाली मनकुमारी कहिलेकाहीँ चामल केलाउने बच्चा बच्चीको कपडा धुने गरेकोसमेत मैंले देखेको छु । पूजा गर्न राखेका प्रतिवादीले मन्दिरमा बिहान बेलुका पूजापाठ आरती गर्दै आएका छन् । निज सो मन्दिर एरियामा बस्दा मैंले देखे सुनेअनुसार जाँडरक्सी मासु खाने गर्दैनथे । जुवातास खेल्दैनथे । मन्दिरको पूजापाठ गर्दा प्रशस्त आम्दानी हुने गरेकोले निजलाई तलब दिएको छैन आवास सुविधा मात्र दिएको हो । मन्दिरले दिएको घरको एउटै भित्री बाहिरी कोठामध्ये बाहिरपट्टी सुत्ने बस्ने भित्री कोठामा किचेन र किचेन कोठाबाट भित्र ट्वाइलेट छ । निजलाई मिति २०६६।६।१९ मा निजले आफ्नै छोरी “बालाजु अ” लाई मिति २०६६।५।२१ राति जबरजस्ती करणी गरेको भन्ने जाहेरिसमेत परेको छ भनी पक्राउ गरी ल्याउँदा मात्र थाहा पाएको हुँ । निजले छोरीलाई जबरजस्ती करणी गरेकोमा विश्वास लाग्दैन भनी तुलसीप्रसाद लामिछानेले मिति २०६६।६।२१ मा गरिदिएको कागज । 

मिति २०६६।६।१९ मा प्रतिवादीले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भनी जाहेरी परेको कारणबाट निजलाई प्रहरीले पक्राउ गरी लग्यो भनी सुन्दा घटना सुने थाहा पाएको 

हुँ । निज पुजारी मन्दिरमा पूजापाठ गर्दा बस्दा हामीले देख्दा सदाचारी, निष्ठावान्, अनुशासित र सभ्य व्यवहारका व्यक्ति थिए । निजले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्नेसम्बन्धमा म विश्वास गर्न सक्दिन । मैंले बुझेअनुसार निजको दुईवटी श्रीमती भएको, जाहेरवाली मन कुमारीलाई कान्छी ल्याएपछि हेंला गरी राखेको, पीडितले बाबुलाई नसोधी बाहिर हिँडी बस्ने गरेको कारण प्रतिवादीले छोरीलाई सुधार्न गाली गर्दै आएको भन्ने सुनी थाहा पाएको 

हुँ । निजले पीडितलाई जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास लाग्दैन भनी माधवराज थापाले मिति २०६६।६।२१ मा गरेको कागज । 

पीडितको स्वास्थ्य परीक्षण गर्दा निजको कन्याजाली च्यातिएको, नयाँ घाउ नभएको, स्वास्थ्य अवस्था ठीक भएको शरीरमा कुनै चोटपटक नरहेको भन्ने व्यहोराको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिति २०६६।६।२० को परीक्षण प्रतिवेदन । 

छोरी पीडित “बालाजु अ” लाई टाउको दुखेको औषधी भनी बेहोस हुने औषधी खुवाई जबरजस्ती करणी गरेको र करणी गरिसकेपछि कसैलाई भनेमा मारिदिने धम्की दिएकोले सो पीडा सहन नसकी साथीको घरमा गई बसेको थाहा पाई किन घर छोडी बसेको भनी सोध्दा घटनाको विस्तृत विवरण सुनाएकी हुनाले जाहेरी दिएको भन्ने व्यहोरा उल्लेख भएकोमा सोही व्यहोरालाई समर्थन गर्दै पीडित “बालाजु अ” ले आफू बाबुसँग बस्न थालेको एक हप्तादेखि नै प्रतिवादीले यौन दुर्व्यवहार कार्य सुरू गरेको भनी अनुसन्धान अधिकारीसमक्ष विस्तृत व्यहोरा खुलाई कागज गरिदिएकी र अनुसन्धानको क्रममा बुझिएका पीडितका साथी सिर्जना रिमाल, पीडितको माइजू पार्वती सिलवाल र भरतमणि सिलवालसमेतले गरिदिएको कागज व्यहोरा तथा पीडितको कन्या जाली च्यातिएको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनसमेतबाट पीडितको भनाइ पुष्टि भएकोछ । प्रतिवादीले कसुर अपराधबाट बच्नको लागि भनी इन्कारी बयान गरे तापनि सो इन्कारी जिकिर तथ्ययुक्त नदेखिँदाप्रतिवादीले श्रीमतीहरू नबसेको कारणबाट आफ्नो यौन तृष्णा मेटाउन नाबालक छोरी पीडित “बालाजु अ” लाई लठ्याउने, बेहोस जस्तो बनाउने औषधीहरू खुवाई मिति २०६६।५।२१ को राति जबरजस्ती करणी गरी सो कार्य गरिसकेपछि कसैलाई उक्त कुरा भने आमा छोरी दुवैलाई मारी दिने डरत्रास धम्की दिई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं. तथा २ नं. को कसुर गरेकोले प्रतिवादीलाई सोही महलको ३(२) नं. बमोजिम सजाय गरी हाडनाता करणी गर्ने महलको १ नं. मा उल्लिखित नाताभित्रको हुँदा सो नं. को सजायसमेत जबरजस्ती करणीको २ नं. बमोजिम थप गरिपाउँ भनी प्रतिवादी विरूद्धको अभियोग दाबी । 

मैंले दोस्रो विवाह गरेको निहुँमा यो जाहेरी दिएका हुन् । छोरीले पैसा चोरेर बेइज्जत गरी भनेर जेठी श्रीमतीले कक्षा ७ को अन्तिम जाँचको बेलामा छोरीलाई म कहाँ ल्याएर राखिदिएको हो । त्यसपछि प्रथम पटक छोरी म कहाँबाट भागेपछि ११ दिनको दिनमा गोंगबु बसपार्कबाट साथीसँग हिँड्दै गरेको अवस्थामा बिहान ११ बजेको समयमा समातेर ल्याएको हुँ । दोस्रो पल्ट साथीहरूको कोठाबाहिर बाटोमा लडिरहेको अवस्थामा साँझको समयमा उठाएर ल्याएको हुँ । तेस्रो पल्ट सामाखुसीस्थित सोगर्ल्स डान्स रेस्टुरेन्टबाट १७ दिनको दिनमा समातेर ल्याई गोंगबुस्थित सन्तोष गेस्ट हाउसबाट ल्याएको हुँ । चौथो पटक १४ औं दिनको दिनमा गोंगबुस्थित चन्द्र गेस्ट हाउसमा गई खोजी जाहेरवाली र म भई ल्याएको हुँ । निजको बानी बिग्रिएको रहेछ । सो कुरा मैले पहिला वास्ता नगरेको कारणबाट थाहा थिएन । हाल पनि असोज ५ गतेदेखि कोठामा नआएकोमा १५ गते एक जना केटाले निजको बहिनीसँग गोरखा घुम्न गएको भनी फोनमा भनेको र बेलुकी मामाघरमा गएको अवस्थामा राति मैंले मामा घरबाट नै समातेर छोरीलाई कोठामा ल्याएको हुँ । हाल मनकुमारीसँग छ र १७ गतेबाट जाहेरवालीले लगेकी हुन् । पीडित “बालाजु अ” को कागजको व्यहोरा झुट्ठा हो । मैंले निज छोरीलाई जबरजस्ती करणी गरेको होइन । औषधी खान दिएको पनि होइन । छोरी रमेश बोहोरासँग ११ दिन बसेकोले निजसँगै विवाह गरादिए हुन्छ । म पुजारी जस्तो मान्छेको बेइज्जत हुन्छ भनी मैंले जाहेरवालीलाई भनेको तथा पुरानो रिसइवीको कारण जाहेरवाली र निजको मानिस तथा छोरिसमेत मिली षड्यन्त्र गरी मलाई फसाउनको लागि यस्तो व्यहोरा लेखाएको 

हो । अधिकारप्राप्त अधिकारिसमक्षको बयानको व्यहोरा तथा सहीछाप मेरै हो । अभियोग दाबीबाट सफाइ पाउँ भनी व्यहोराको प्रतिवादीले सुरू जिल्ला अदालतमा गरेको बयान । 

प्रतिवादीले मलाई जबरजस्ती करणी गरेका हुन् । म उहाँ बस्दै आएकी कोठामा आएको १/२ हप्तादेखि मेरो अंगहरू छुने काम गर्दै आउनुभएको र त्यसको १/२ हप्तापछि जबरजस्ती करणी गरेका हुन् । उहाँले कहिले फुकी दिन्छु के के लागेछ भनेर त कहिले कुट्ने डर धम्की देखाई जबरजस्ती करणी 

गर्नुहुन्थ्यो । विभिन्न sleeping ट्याबलेटहरू समेत खुवाउनु हुन्थ्यो । उहाँले २ पटक बालाजुमा र १ पटक मन्दिरमा आएपछि बलात्कार गरेका हुन् । सो घटनाबारे मामा माइजूहरूलाई असोज १६ मा जानकारी गराएकी छु । पहिला सुरूमा मैंले मेरो ममीलाई भनेकी थिएँ । उहाँले पत्याउनु भएन । त्यस्तै गरी यी प्रतिवादीले कसैलाई भनेमा मारिदिन्छुसमेत भनेकोले डरले पनि अरूलाई भनेकी छैन । चन्द्र गेस्ट हाउस कहाँ पर्छ मलाई थाहा छैन र म गएकी पनि छैन भनी पीडित “बालाजु अ” ले गरेको बकपत्र । 

मिति २०६६।६।२१ को कागज व्यहोरामा भएको सहीछाप मेरै हो । रमेश बोहरासमेत २०६६ साल असोज ७ गतेदेखि ऐ. १३ गतेसम्म बसेका 

हुन् । दिउँसो केटा आएर पैसा बुझाउने गर्दछ राति केटी मात्र बसेकी छन् भनी बुझिएका मानिस चण्डीप्रसाद पौडेलको बकपत्र । 

पीडित “बालाजु अ” मेरो घरमा आएपछि कहाँ गएकी थियौ भनी सोध्दा डैडीले वेश्यालाई गर्ने व्यवहार गर्नुभयो भनी भन्दा त्यो के हो भनी भित्र कोठामा लगेर सोध्दा उसले प्रतिवादीले आफ्नो पाइन्ट खोली मलाई डर धम्कीमा पारी जबरजस्ती करणी गर्नुहुन्थ्यो भने कहिले विभिन्न sleeping ट्याबलेटसमेत खुवाई करणी गर्नुहुन्थ्यो र भोलिपल्ट कस्तो भयो भनी सोध्ने गर्नुहुन्थ्यो । करणी गरेको कुरा कसैलाई भने सुनाएमा मारिदिन्छु समेत भन्नु हुन्थ्यो । मैले मेरो ममीलाई सो कुरा भनेकी थिए तर उहाँले बाबुले त्यस्तो काम गर्ने सक्दैनन् भनी पत्याउनु भएन । त्यसैले म बाहिर गएर बसेकी छु । अब बाँच्नुको अर्थ छैन मलाई विष खान दिएर मर्न दिनुस् भनिन् । ममीलाई के सुनाएकी थियौं भनी मैंले सोध्दा मैंले ममीलाई बुबाले ममाथि नराम्रो व्यवहार गर्नुभयो मात्र भनेकी थिएँ ममीले नराम्रो व्यवहार के भनेर नसोधी पुनः बुबासँग जाउ भनी पठाउनुभएको थियो भनी सबै बेली विस्तार मलाई सुनाइन् भनी बुझिएका पार्वती सिलवाल (पाठक) को बकपत्र । 

प्रतिवादीले “बालाजु अ” लाई जबरजस्ती करणी गरेको हो । निजले छोरीलाई कहिले निद्रा लाग्दैन निद्रा लाग्ने औषधी खा भनेर डाइजीपन भन्ने औषधी दिनुहुन्थ्यो । कहिले तँ निन्द्रामा बरबराउँदी रहिछस् भनेर अरू औषधी पनि दिनुहुन्थ्यो । छोरीले एक दिन औषधी हेरेर यो डाइजीपन रहेछ भनेर फ्याँकेको 

रहेछ । चियामा लठ्ठयाउने औषधी हालेर आफैँले चिया पकाएर दिनु भएछ । विभिन्न लठ्ठयाउने औषधीको सेवन गराएर जबरजस्ती करणी गर्नुहुन्थ्यो र सो कुरा कसैलाई भनेमा आमा छोरीलाई मारिदिन्छु भनेर डर धम्की दिने गरेको रहेछ । निज छोरीले मलाई बुबा मसँग चल्नुहुन्छ भनी भन्ने गर्छिन् । तर मैंले बाबु छोरीमा त्यस्तो नाजायज क्रियाकलाप होला भन्ने शंका गर्ने कुरै नभएकोले वास्ता गरेकी थिइन । एकदिन छोरी स्कुल जाने बेलामा प्रतिवादीले पूजा गर्दागर्दै उठेर छोरीले कपडा खोलेको अवस्थामा निजको छातीमा हात राखी उत्तेजित हुँदै गरेको स्वयं मैंले देखेको हुँ । सो देखेपछि छोरीलाई मैंले घरमा लगेर १ महिना जति राखेकी 

थिएँ । पछि छोरी पढ्ने स्कुल र प्रतिवादीको मन्दिर नजिकै भएकोले स्कुलबाटै पुनः उहाँकोमा लग्नु 

भएछ । मैंले फोन गरी छोरी कता गई भनी सोध्दा छोरीलाई फोनमा बोल्नसमेत नदिई राखेका हुन् । पछि छोरीले मामाघर गएर आफूमाथि बलात्कार भएको कुरा माइजूलाई भनेपछि माइजूले मलाई फोन गरी बोलाई म र प्रतिवादी गई प्रतिवादीले नै पुनः आफू कहाँ छोरीलाई ल्याएका र मलाई त्यहाँ जान नदिएका र उक्त दिन पनि नाजायज क्रियाकलापको प्रस्ताव राखेका रहेछन् । किन छोरीलाई त्यस्तो गरेको भन्दा तेरो छोरीसँग नाजायज क्रियाकलाप गरेको हो जे जाने सकेको गर् भनेकोले ल्याकमा गएर निवेदन दिएको हो भनी जाहेरवालीले गरेको बकपत्र । 

जाहेरवालाले प्रतिवादीलाई सौता हालिस् भनी वादविवाद परिरहेको बाटोमा सुनी म त्यहाँ नपुगी फर्किएँ । पीडितले मामा घरबाट रकम चोरेको कुरा प्रतिवादीले भनी थाहा भएको हो । पीडितले घुम्न जाने केटाहरू सबैको नाम थाहा भएन एक जना रमेश बोहरा थिए । पीडित जहिलेसुकै नसालु औषधी सेवन गरी कोठा लगायतका ठाउँमा बस्ने गरेको मैंले देखेको हो । निजको आँखा सदैव रातो देखिन्थ्यो । मिति २०६६।५।२१ मा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको भनी झुट्ठा जाहेरी गरेको 

हो । निजले सफाइ पाउनुपर्दछ भनी प्रतिवादीका साक्षी कृष्णबहादुर अधिकारीले गरेको बकपत्र । 

अनुसन्धानको सिलसिलामा प्रहरीसमक्ष गरेको कागजमा भएको सहीछाप मेरै हो । प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन भनी पीडितकी बहिनीले मिति २०६६।१२।३ मा गरेको बकपत्र । 

पीडितले भनेको र उसको व्यवहारले समेत ऊ चिन्तित देखिँदा र निजले भनेअनुसार निज पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको कुरा निजले सुनाउँदा थाहा पाएको छु । पीडितलाई मेरो घरमा जाँदा केही पछाडिको डाँडामा एक्लै झोक्र्याएर बसेको देखी मैंले निजलाई एसियन गेस्ट हाउसमा लगेर ८।९ दिन राखी त्यसपछि घरमा नै लिएर आउनु भनी आमा बुबाले भनेको हुँदा लिएर घरमा नै लगेर २ दिन राखेको हो । मेरो घरको सबै परिवारले भेटे । मैंले पीडितलाई मामाघरसम्म निजलाई पुर्‍याई गेटभित्र छिराई आएको हुँ । कसैको जिम्मा लगाएको होइन । पीडित मेरो छोरीको साथीको दिदी हुन र निजलाई स्कुल जादा आउँदा चिनेको हुँ । निज चिन्तित अवस्थामा देखी सोधखोज गर्दा म घर जान्न बुबाले दुर्व्यवहार गरेको भनिन । मामाघर गयो भने ममीले फेरि बुबानिर पुर्‍याई दिनुहुन्छ समेत भनेको कारण गेस्ट हाउसमा राखी दिएको हुँ भनी बुझिएका मानिस रमेश बोहोराले गरेको बकपत्र । 

पीडितको परीक्षण गर्दाको बखत जबरजस्ती करणीको चिह्नहरू देखिएको थिएन भनी पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टर गेहनाथ बराल र डाक्टर अचला वैद्यले गरेको बकपत्र । 

१४ वर्ष पूरा भएकी बालिकाले सामान्यरूपमा भए पनि आफ्नो भविष्यप्रति सचेत हुन सक्ने हुन्छ । आफ्नो भविष्यलाई समेत प्रतिकूल असर पुग्ने गरी बाबुप्रति “बालाजु अ” ले गलत आरोप लगाएको सम्झन उचित हुँदैन । जाहेरवालीले आफ्नो सामाजिक हैसियत, छोरीको भावी पारिवारिक र सामाजिक जीवनसमेतलाई खेलवाड गरी प्रतिवादीउपर बनावटी काल्पनिक आरोप लगाए होला भनी ठान्न 

सकिँदैन । त्यसैगरी “बालाजु अ” को माइजूको भनाइलाई पनि लिनु पर्ने हुन्छ । करणी जस्तो कार्य निश्चय पनि अरूले देख्ने थाहा पाउने गरी गरिएको हुँदैन । यस स्थितिमा पीडितले प्रारम्भदेखि नै घटनाको सविस्तार चित्रण गरिरहेको अवस्थामा बाबुले करणी गरेको भनी भनेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाणमा लिन मिल्ने देखिएको र छोरीको भविष्यलाई समेत जोखिममा पारी झुट्ठो जाहेरी दिएको होला भनी मान्न नसकिने भन्ने स्थापित न्यायिक सिद्धान्तहरू समेतको आधारमा जाहेरवालासमेतको भनाइलाई प्रत्यक्ष र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने देखिन आएको छ । अतः प्रतिवादीले “बालाजु अ” लाई करणी गरेको भन्ने कुराको निष्कर्षमा यो इजलास पुगेको छ । “बालाजु अ” को जन्म मिति २०५१।९।१ रहेको कुरा निजको शैक्षिक प्रमाण पत्रबाट देखिएको र त्यस कुरामा विवादसमेत नरहेकाले मिति २०६६।५।२१ सम्म १४ वर्ष पूरा भइसकेको देखिएको छ । प्रतिवादीले १४ वर्ष उमेर पुगेकी आफ्नै छोरीलाई जबरजस्ती करणीको महलको १ र २ नं. बमोजिमको कसुर गरेको हुँदा निजलाई जबरजस्ती करणीको ३ नं. को देहाय ३ अनुसार ८ वर्ष कैद र हाडनाता करणी गर्ने महलको १ नं. तथा जबरजस्ती करणीको महलको २ नं. अनुसार थप १० वर्ष कैद हुने 

ठहर्छ । प्रतिवादीको अंशहक छुट्याई निजको अंश हकबाट भरी पाउने गरी जबरजस्ती करणी महलको १० नं. बमोजिम पीडितले रू. एक लाख क्षतिपूर्ति भरीपाउने समेत ठहर्छ । जबरजस्ती करणीको ३ नं. को देहाय २ अनुसार प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसम्मको अभियोगदाबी पुग्न सक्तैन भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६७।१।२८ को फैसला । 

सुरू अदालतको फैसलामा चित्त 

बुझेन । मैंले अधिकारप्राप्त अधिकारीसमक्ष र अदालतमा समेत जबरजस्ती करणी नगरेको इन्कारी बयान गरेको छु । सो लाई मेरा साक्षीले समर्थन गरी बकपत्र गरेका छन् । फौजदारी मुद्दामा जाहेरी आफैँमा प्रमाण 

होइन । अनुसन्धानको क्रममा बुझिएका मानिसहरूले सुनेर जानेको भनेकालाई पनि प्रमाणमा लिन मिल्ने होइन । पीडित भनिएकी नाम परिवर्तित “बालाजु अ” ले अनुसन्धानको क्रममा र अदालतमा गरेको कागज पनि विरोधाभासपूर्ण छ । परीक्षणबाट पीडित भनिएकी “बालाजु अ” को शरीरमा जबरजस्ती करणीका चिह्नहरू देखिएका छैनन् । फैसला बदर गरी सफाइ पाउँ भनी प्रतिवादीले पुनरावेदन अदालत, पाटनमा दायर गरेको पुनरावेदनपत्र । 

पीडित “बालाजु अ” को अनुसन्धान अधिकारी र अदालतसमक्ष भएको बकपत्रमा रहेको विरोधाभास एवं रमेश बोहोराको अनुसन्धान अधिकारीसमक्ष भएको कागज र अदालतमा भएको बकपत्रमा रहेको विरोधाभाससमेतको सन्दर्भमा सुरू इन्साफ फरक पर्न सक्ने देखिँदा छलफलको लागि अ.बं. २०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ को नियम ४७ बमोजिम पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनलाई सूचना दिई नियमानुसार पेस गर्नु भन्ने मिति २०६७।१०।४ को पुनरावेदन अदालत, पाटनको आदेश । 

१४ वर्षकी बालिकाले आफ्नै बाबुले करणी गरेको उजुरी दिने कुरालाई सामान्यरूपले हेर्न 

हुँदैन । बालिकाले बाबुसँग पूर्व नियोजित रिसको बदला लिन षड्यन्त्रपूर्वक प्रपन्च गरेको हुन सक्छ भन्ने मिसिल संलग्न कुनै पनि लिखतबाट सम्भावना 

देखिँदैन । आफ्नो सामाजिक जीवन एवं भविष्यलाई 

पूर्ण जोखिममा पारी यस प्रकारको जघन्य अपराध गरेको कुरा स्वीकार गर्न कुनै षड्यन्त्रले प्रेरित गरेको 

देखिँदैन । मानिसले कुनै पनि कर्म गर्दा त्यसबाट उत्पन्न हुने असरको सामान्यरूपले ख्याल राखेकै हुन्छ । पीडितको आमाले आफ्नी छोरीको भविष्य एवं सामाजिक प्रतिष्ठालाई बिर्सेर आफ्नै बाबुले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरीलाई पनि सामान्य हिसाबले हेर्न हुँदैन । जहाँसम्म निजले सौता ल्याएको रिसको बदला लिन जाहेरी दिएको भन्ने सम्बन्धमा हेर्दा जाहेरवालीले सौता ल्याउँदाको अवस्थामा बहुविवाहमा समेत उजूर नगरी बसेको र निजसँग लोग्नेको सम्बन्ध सामान्य हुँदै गएको अवस्थामा लोग्नेसँग बदला लिन यस प्रकारको जघन्य अपराधमा जाहेरी दिए होलिन् भन्ने पत्यार गर्ने आधार पनि देखिँदैन । काठमाडौं जिल्ला अदालतको मिति २०६७।१।२८ को फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ भन्ने पुनरावेदन अदालत, पाटनको मिति २०६७।१२।२२ को फैसला । 

वि.स. २०५५ सालमा मैले दोस्रो विवाह गरेदेखि नै जाहेरवाली मसँग नबसी आफ्ना बच्चासहित छुट्टै बस्दै आएकी हुन् । यस अवस्थामा आफूलाई र छोरीलाई पाल्ने र पढाउनेसमेत जिम्मेवारी आफु एक्लैले वहन गर्नु पर्दा झेल्नु परेका दुःखहरूमा पूर्णरूपमा मेरै दोष देखी मसँग पटकपटक कोठामा झगडा गर्न आएकोसम्म हो । मैले निजमाथि सौता हालेकोले सो रिसको कारणबाट पर्न आएको हो । जाहेरवालीसँग सम्बन्ध राम्रो भइरहेको स्थितिमा भए निजले यस्तो गम्भीर विषयमा पहिला मसँग नै यथार्थ बुझ्न खोज्नुपर्ने हो सो नगरी निजले एक्कासी उजुरी दिइहालेको स्थिति छ । निज “बालाजु अ” सानै देखी मसँग अलग भई आफ्नी आमासँग बस्दै आएको हो । यस्तोमा मैले कान्छी श्रीमती बिहे गरेको कारणले निज जाहेरवालीले भोग्नु परेको कष्ट तथा त्यसको कारणले म विरूद्ध उत्पन्न घृणाभावलाई निज जाहेरवालीले छोरीको अगाडि व्यक्त गर्दै जाँदा निज छोरीको मनमा मप्रति चरम घृणाभाव पैदा हुनसक्ने कुरालाई नकार्न सकिँदैन । छोरी सानैदेखि अनुशासनमा नबस्ने आफूखुसी मन लागेको ठाउँमा जाने घर नआउने जस्ता व्यवहार देखिन्थ्यो । घर छाडी जाने बानी र विभिन्न व्यक्तिसँगको सम्बन्ध आदिको कारणबाट निजले घर परिवारप्रतिको न्यूनतम व्यवहारसमेत नगर्ने र बानी व्यहोरा गलत भएको कारणले स्वाभाविकरूपमा निजको सम्बन्ध खराब आचरण भएको व्यक्तिसँग हुने नै हुन्छ । बाबुले छोरीप्रति गर्नुपर्ने न्यूनतम दायित्व वहनार्थ एक दुई थप्पडसमेत हिर्काई रक्षा शिक्षाको दायित्व निर्वाह गरेको तथ्य पीडितकी बहिनीको बयान आदि कागजबाट पुष्टि भएकै छ । रमेश बोहरा भनिएका व्यक्तिको संरक्षणको बहानामा ९ दिनसम्म गेस्ट हाउसमा बसेबाट पनि छोरीमा बाह्य सरसङ्गतको राम्रो प्रभाव छ । एकातिर सौतेनी मामला अर्कोतिर गैरपारिवारिक व्यक्तिको प्रभाव रहेको कारणबाट मउपर झुट्ठा आरोप लगाइएको हो । रमेश बोहोरा भनिएका व्यक्ति “बालाजु अ” लाई संरक्षण दिने सहयोगी पात्रको रूपमा देखिन खोजे पनि गहिरिएर हेर्दा वास्तविकता त्यो भन्दा फरक हुने सम्भावना बढी छ । रमेश बोहरा मेरो कान्छी छोरीको साथीको बुबा हुन् । उमेरले ३० वर्ष मात्र पुगेका पेसाले ठेक्कापट्टा गर्ने निजले ११ दिनसम्म “बालाजु अ” लाई संरक्षण गरेको भनी गेस्ट हाउसमा राखेको कुरालाई सामान्यरूपले हेर्न मिल्दैन । सो ११ दिनको अन्तरालमा निज संरक्षक भनिएका व्यक्तिले “बालाजु अ” को कुनै पनि नातेदारलाई भेट्न खोजेको देखिँदैन न त कसैको जिम्मा नै लगाइदिएका छन् । सो विषयलाई अनुसन्धानको दायराभित्र नपारिनुले म उपरको आरोप शंकारहित तवरबाट पुष्टि हुन सकेको छैन । जाहेरवालीले आफ्नो बकपत्रमा आफूलाई छोरीले भनेकी भनी खुलाएको कुरामा मैले पटकपटक विभिन्न नशालु पदार्थ सेवन गराई करणी गर्ने गरेको तथा एक पटक यो त डाइजिपाम रैछ भनी फालेकी थिइन् भनी उल्लेख गर्नुले निज “बालाजु अ” नशालु पदार्थको दुर्व्यशन फसेकी भन्ने शंका उत्पन्न गराएको छ । यससम्बन्धमा कृष्णबहादुर अधिकारीको बकपत्रले थप आधार प्रदान गरिरहेको छ । एकजना दुर्व्यसनमा परेको व्यक्तिले आफ्नो नशाको बाधक जो कोहीलाई पन्छाउन जस्तोसुकै हथकन्डा पनि अपनाउन सक्ने हुँदा जाहेरवालीको भनाइमा विश्वसनीयता एवं सत्यताको अभाव छ । सुरू काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालतले समेत फैसला गर्दा निज “बालाजु अ” ले कक्षा ८ मा प्राप्त गरेको परीक्षाको अंकसँग दाँजेर हेरेका छन् । जाँचमा राम्रो अंक ल्याउने जतिले नराम्रो काम गर्नै सक्दैनन् वा अपराध गर्नै सक्दैनन् भन्ने अर्थ लाग्न जान्छ । तर पढाइमा तेज हुने विद्यार्थीले नै आफ्नो योजनालाई परिष्कृतरूपले पूरा गर्न सक्दछन् । बालबालिकाको मानसिकता पूर्णरूपले विकास भइसकेको हुँदैन । त्यसै कारणले कानूनले तिनीहरूको लागि छुट्टै व्यवस्थाहरू गरेको पाइन्छ । के ठीक के बेठीक भनी पूर्णरूपले छुट्टयाउन असमर्थ भएकै कारणले पनि एउटै अपराधमा बालबालिकालाई कम मात्र सजाय दिइने गरिन्छ । बालिका किशोरावस्थामा पुग्ने समयमा अथवा महिनावारीको समय सुरू हुने अवस्थामा समेत तिनीहरूको विभिन्न हार्मोनहरूमा परिवर्तन हुने भई क्षणिक आवेशमा अत्यन्त गम्भीर घटनाहरू गर्न प्रेरित हुन सक्दछन् । “बालाजु अ” को गलत बानी व्यहोराकै कारण आमाले नियन्त्रण गर्न नसकेकीले म कहाँ पठाएकी र धेरै दिनसम्म घरबाहिर रहेकीले मैले उनको चरित्रमा प्रश्न उठाई निज रमेश बोहरासँग नै बिहे गराइदिए हुन्छ भनी भनेकोमा समेत क्रोधित भई निजले म विरूद्ध जबरजस्ती करणी गरेको गम्भीर लाञ्छना लगाएको कुराको पुनः पुष्टि हुनआएको छ । प्रस्तुत मुद्दामा सामान्यतया जबरजस्ती करणीको वारदातमा पाइने कुनै पनि भौतिक सबुत प्रमाण (semen, signs of struggle, etc.) वादी पक्षले गुजार्न सकेको छैन । यसको अतिरिक्त पीडित भनिएकी “बालाजु अ” को शारीरिक परीक्षणको रिपोर्टमा समेत जबरजस्ती करणीको लक्षण नभेटिएको जनाइएको छ भने त्यसलाई सम्बन्धित डाक्टरको बकपत्रले समेत पुष्टि गरेको अवस्था छ । शारीरिक परीक्षण गर्दा पीडितको कन्याजाली च्यातिएको भन्ने रिपोर्टमा देखाइएको छ तर कन्याजाली च्यातिनु र करणी हुनु दुई फरक फरक कुरा हो । कन्याजाली च्यातिनको लागि करणी हुनु नै पर्छ भन्ने होइन । यस कुरालाई मोदीको Medical Jurisprudence and Toxicology, 22th edition पेज नं. ४७७ मा प्रस्ट वर्णन गरिएको छ । त्यसमा करणीबाहेक अरू विभिन्न कारणहरू जस्तै: accident, masturbation, desease, surgical operation, sanitary tampons (सफाइ गर्ने कपडाले) आदि कुराहरूले पनि महिलाहरूको कन्याजाली च्यातिन सक्ने कुरालाई व्याख्या गरेको छ । न्यायिक वा अर्धन्यायिक निकायबाट भएको फैसला तथ्य र कानूनमा आधारित हुनुपर्दछ भन्नेसम्बन्धमा प्रतिपादित न्यायिक सिद्धान्त (ने.का.प. २०६२, नि.नं. ७५९८) को सुरू तथा पुनरावेदन अदालतबाट अनुसरण गरिएन । कैयौं सवालहरू द्विविधायुक्त अवस्थाका भएका हुँदाहुँदै पनि नारीले आफ्नो अस्मितामा आँच आउन सक्ने गरी असत्य बोल्दैन भन्ने कोरा अनुमानको आधारमा मात्र म निर्दोषलाई सजाय गरिएको छ । प्रस्तुत मुद्दा शंकैशंकाको धरातलमा उभिएको छ । सुरू काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत, पाटनको फैसला न्यायको मान्य सिद्धान्त “सय जना अपराधी छुटुन् तर एकजना पनि निरापराधी नफँसुन” भन्ने सर्वमान्य सिद्धान्तको विरूद्ध भएकोले उल्टी गरी सफाइ दिलाई पाउँ भनी प्रतिवादीले यस अदालतमा दायर गरेको पुनरावेदन 

पत्र । 

प्रमाणको मूल्याङ्कनको आधारमा सुरू जिल्ला अदालतबाट भएको फैसला मिले नमिलेको के हो भनी निर्णयमा पुग्नुपर्नेमा पुनरावेदकले लिएको जिकिरको सम्बन्धमा विवेचना नगरी भएको पुनरावेदन अदालत, पाटनको फैसला प्रमाणको मूल्याङ्कनको रोहमा फरक पर्न सक्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम महान्यायाधिवक्ताको कार्यालयलाई पेसी सूचना दिई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मिति २०७१।२।२१ को आदेश । 

नियमबमोजिम दैनिक मुद्दा पेसी सूचीमा चढी पेस हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्‌ वैतनिक अधिवक्ता श्री नारायण देवकोटाले यस मुद्दाको एकमात्र प्रमाण भनेको पीडित हुन् । सो प्रमाण ग्रहण हुनको लागि पीडित भरपर्दो हुन आवश्यक छ तर निजले मौकामा र अदालतमा गरेको बकपत्रमा पूरै विरोधाभास छ । जबरजस्ती करणीको अभियोग प्रमाणित हुनको लागि पीडितको शारीरिक लक्षणको ठूलो महत्त्व हुन्छ । तर कन्याजाली च्यातिएको भनी देखिएबाहेक जबरजस्ती करणीको कुनै लक्षण पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनबाट प्रमाणित छैन । विभिन्न कारणबाट कन्याजाली च्यातिने हुँदा त्यसलाई मात्र निर्णायक बनाउन 

मिल्दैन । जबरजस्ती करणी भएको कोठामा निजकी बहिनी र भाइसमेत रहेको, सोही कोठामा रहेकी पीडितकी बहिनीले प्रतिवादी निर्दोष रहेको भनी अदालतमा समेत बकपत्र गरेको, पीडित तथाकथित घटना पछि आमासमेतका आफन्तलाई केही खबर नगरी १०-१५ दिन केटा साथीसँग लजमा गई बसेको, पीडितको आनीबानी खराब रहेकोले निजलाई सुधार्नको लागि निजकी आमाले प्रतिवादी कहाँ पठाएको, पीडित र निजकी आमाले प्रतिवादीलाई छाडी बसेका र निजहरूले प्रतिवादीकहाँ पछिबाट आउजाउ गरेपनि निजहरूसँगको प्रतिवादीको सम्बन्ध कटु रहेको जस्ता मिसिल संलग्न निर्विवाद तथ्यको उपस्थितिबाट पीडित भरपर्दो साक्षी देखिन नआई अस्थिर र जे पनि भन्न सक्ने स्वभावकी साक्षी देखिएकीले कन्याजाली च्यातिएको एकमात्र भौतिक प्रमाण र पीडितको विरोधाभासपूर्ण भनाइमा मात्र भर गरी प्रतिवादी विरूद्धको अभियोगदाबी पुग्ने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत, पाटनको फैसलामा फौजदारी न्याय र प्रमाणको गम्भीर त्रुटि भएकोले उल्टी गरी अभियोग दाबीबाट सफाइ दिलाई पाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रत्यर्थी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान्‌ उपन्यायाधिवक्ता श्री उद्धवप्रसाद पुडासैनीले पीडितको कथनमा कुनै विरोधाभास 

छैन । कतिपय घटनाको वर्णनमा समयको अन्तरालले केही तलमाथि पर्नु स्वाभाविक हुन्छ । कुनै कुरा मौकामा व्यक्त गर्न छुटेको त्यसलाई पनि अदालतको बकपत्रमा उल्लेख गरेबाटै पीडितलाई बनावटी साक्षीको संज्ञा दिनु न्यायोचित हुँदैन । २०६६।५।२१ को राति प्रतिवादीले पीडितको खाटमा आई निजसँग जबरजस्ती करणी गरेको र सोभन्दा पहिले पीडितलाई निको पार्नेसमेतको बहाना गरी पीडितको यौनांग खेलाउने गरेको भन्ने अभियोग दाबीको मुख्य कुरासम्बन्धी निजको कथनमा कुनै विरोधाभास छैन । पीडितको किटानी आरोप आफैँमा एक निर्णायक प्रमाण हो । यसलाई प्रतिवादीले कडा प्रमाणद्वारा विस्थापित गर्न सक्नुपर्छ । आखिर पीडितले के प्रयोजनको लागि आफ्नै बाबुउपर यस्तो आरोप लगाइन त्यसको युक्तियुक्त खण्डन प्रतिवादीबाट आउनु पर्छ । त्यो आएको छैन । पीडितको कथन जाहेरवाली र अदालतबाट बुझिएका व्यक्तिले गरेको बकपत्र र पीडितको कन्याजाली च्यातिएको भन्ने पीडितको स्वास्थ्य प्रतिवेदनबाट समर्थित छ । यस्तै प्रकृतिको कयौं मुद्दामा प्रतिवादी कसुरदार ठहरी नजिरसमेत कायम भएकोले यसमा पनि प्रतिवादी विरूद्धको अभियोगदाबी पुग्ने ठहर्‍याएको पुनरावेदन अदालतसमेतको फैसला मनासिब हुँदा सदर गरिपाउँ भनी गर्नुभएको बहस सुनियो । 

प्रतिवादीले आफ्नो साथमा श्रीमतीहरू नबसेको कारणबाट आफ्नो यौन तृष्णा मेटाउन बेहोस जस्तो बनाउने औषधीहरू खुवाई नाबालक छोरी पीडित “बालाजु अ” लाई लठ्याउने काम गर्दै आएका र मिति २०६६।५।२१ को राति जबरजस्ती करणी गरी सो कार्य गरिसकेपछि कसैलाई उक्त कुरा भने आमा छोरी दुवैलाई मारी दिने डरत्रास धम्की दिई मुलुकी ऐन, जबरजस्ती करणी महलको १ नं, २ नं र हाडनाता करणी गर्ने महलको १ नं. को कसुर गरेकोले निजलाई जबरजस्ती करणी महलको ३(२) नं. र २ नं. बमोजिम थप सजाय गरिपाउँ भनी प्रतिवादी विरूद्ध अभियोगदाबी दायर भएको पाइन्छ । 

पीडितको जन्म मिति २०५१।९।१ रहेको कुरा निजको शैक्षिक प्रमाण पत्रबाट देखिएको र त्यसमा विवादसमेत नरहेकोले मिति २०६६।५।२१ सम्म पीडित १४ वर्ष पूरा भइसकेको हुँदा प्रतिवादीलाई जबरजस्ती करणीको ३ नं. को देहाय ३ अनुसार ८ वर्ष र हाडनाता करणी गर्ने महलको १ नं. तथा जबरजस्ती करणीको महलको २ नं. अनुसार थप १० वर्ष कैद र जबरजस्ती करणी महलको १० नं. बमोजिम पीडितले प्रतिवादीबाट रू. १ लाख क्षतिपूर्ति पाउनेसमेत 

ठहर्छ । पीडितको उमेर १४ वर्ष नाघेको देखिँदा जबरजस्ती करणीको ३ नं. को देहाय २ अनुसार प्रतिवादीलाई सजाय गरिपाउँ भन्नेसम्मको अभियोगदाबी पुग्न सक्तैन भन्ने काठमाडौं जिल्ला अदालतको मिति २०६७।१।२८ को फैसला पुनरावेदन अदालत, पाटनबाट समेत सदर भएको अवस्था छ । 

प्रतिवादीले मौका र अदालतमा गरेको बयान र पुनरावेदन अदालत, पाटन तथा यस अदालतमा दिएको पुनरावेदन जिकिरलाई यसरी राख्न सकिन्छ । 

१. २०५५ सालमा दोस्रो विवाह गरी सौता हालेको रिसले जाहेरवाली बच्चासहित छुट्टै बसेकी सो समयमा आफू र छोरीलाई पाल्ने र पढाउने जिम्मेवारी एक्लैले वहन गर्नुपर्दा झेल्नु परेका दुःखहरूमा पूर्णरूपमा मेरै दोष देखी मसँग पटकपटक झगडा गरेकी,

२. जाहेरवालीले ती कुराहरू पीडित छोरीको अगाडि व्यक्त गर्दा निजको मनमा मप्रति चरम घृणाभाव पैदा हुनसक्ने कुरालाई नकार्न नसकिने, पीडित सानैदेखि अनुशासनमा नबस्ने आफूखुसी मन लागेको ठाउँमा जाने र घर नआउने, निजको खराब आचरण भएका विभिन्न व्यक्तिसँग सम्बन्ध रहेको, उमेरले ३० वर्ष मात्र पुगेका पेसाले ठेक्कापट्टा गर्ने रमेश बोहराले ११ दिनसम्म पीडितलाई गेस्ट हाउसमा राखेको र सो अन्तरालमा निजले पीडितको कुनै पनि नातेदारलाई नभेटेको वा कसैको जिम्मा नलगाएको, बालबालिकाको मानसिकता पूर्णरूपले विकासित नहुने हुँदा के ठीक के बेठीक भनी निजहरू पूर्णरूपले छुट्टयाउन असमर्थ हुने, निजहरूको किशोरावस्थामा अथवा महिनावारी सुरू हुने अवस्थामा विभिन्न हार्मोनहरूमा परिवर्तन हुने भई क्षणिक आवेशमा अत्यन्त गम्भीर घटनाहरू गर्न प्रेरित हुन सक्ने, पीडितको गलत बानी व्यहोराकै कारण आमाले नियन्त्रण गर्न नसकेकीले म कहाँ पठाएकी, बाबुले छोरीप्रति गर्नुपर्ने न्यूनतम दायित्व वहनार्थ कहिलेकाहीँ एक दुई थप्पड हिर्काएको तथ्य पीडितकी बहिनीको बकपत्रबाट पुष्टि भएको, मैले उनको विवाह रमेश बोहरासँग गराइदिए हुन्छ भनेको, एकातिर सौतेनी मामला अर्कोतिर गैरपारिवारिक व्यक्तिको प्रभाव रहेको कारणबाट मउपर झूट्ठा आरोप लगाइएको,

३. जाहेरवालीले आफ्नो बकपत्रमा पीडितले एकपटक डाइजिपाम फालेकी भनी उल्लेख गर्नुले पीडित नशालु पदार्थको दुर्व्यसनमा फसेकी शंका उत्पन्न गराएको छ । यससम्बन्धमा कृष्णबहादुर अधिकारीको बकपत्रले थप आधार प्रदान गरिरहेको 

छ । दुर्व्यसनीले नशाको बाधक जोकोहीलाई पन्छाउन जस्तोसुकै हथकन्डा पनि अपनाउन सक्ने,

४. पीडितले कक्षा ८ मा राम्रो अंक ल्याएको कुरालाई अदालतले फैसलाको आधार बनाएको छ तर राम्रो अंक ल्याउनेले नराम्रो काम गर्नै सक्दैनन् वा अपराध गर्नै सक्दैनन् भन्न नमिल्ने,

५. बाबुले छोरीसँग करणी जस्तो घृणित कार्य गर्ने भन्ने अनुमान पनि गर्न नसकिने,

६. पीडितको शरीरमा जबरजस्ती करणीका चिह्नहरू पीडितको स्वास्थ्य परीक्षण र सम्बन्धित डाक्टरको बकपत्रबाट नदेखिएको, जबरजस्ती करणीको वारदातमा पाइने भौतिक प्रमाण (semen, signs of struggle etc) वादीले गुजार्न नसकेको, विद्वान् मोदीको Medical Jurisprudence and Toxicology, 22th edition पृष्ठ ४७७ मा accident, masturbation, disease, surgical operation, sanitary tampons (सफाइ गर्ने कपडा) आदिले पनि महिलाको कन्याजाली च्यातिन सक्ने कुरा उल्लेख भएकोले कन्याजाली च्यातिएको कुरा आफैँमा निर्णायक प्रमाण नभएको,

७. न्यायिक वा अर्धन्यायिक निकायबाट भएको फैसला तथ्य र कानूनमा आधारित हुनुपर्दछ भनी ने.का.प. २०६२, नि.नं. ७५९८ मा प्रतिपादित सिद्धान्तको सुरू तथा पुनरावेदन अदालतबाट अनुसरण नगरिएको,

८. प्रस्तुत मुद्दा शंकैशंकाको धरातलमा उभिएको र कैयौं सवाल द्विविधायुक्त रहेका हुँदाहुँदै पनि नारीले आफ्नो अस्मितामा आँच आउने गरी असत्य बोल्दैनन भन्ने कोरा अनुमानको आधारमा कसुरदार ठहर्‍याएको सुरू काठमाडौं जिल्ला अदालत तथा पुनरावेदन अदालत, पाटनको फैसला न्यायको मान्य सिद्धान्त “सय जना अपराधी छुटुन् तर एकजना पनि निरपराधी नफँसुन” भन्ने सर्वमान्य सिद्धान्त विरूद्ध भएको । 

 

प्रमाणको मूल्याङ्कनको आधारमा सुरू जिल्ला अदालतबाट भएको फैसला मिले नमिलेको के हो भनी निर्णयमा पुग्नु पर्नेमा पुनरावेदकले लिएको जिकिरमा विवेचना नभएको भनी यस अदालतले विपक्षी झिकाउने आदेश गरेको देखिन्छ । 

अब पुनरावेदन अदालतको फैसला मिलेको छ छैन र प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्ने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो । 

२. प्रतिवादीको दुई श्रीमती रहेका जाहेरवाली जेठी श्रीमती देखिन्छिन् । निजहरूबाट २०५१ पुसमा पीडित जन्मेकी, जेठी श्रीमतीसँग सँधैजसो वादविवाद भइरहने, २०५५ सालमा सुनिता थापालाई प्रतिवादीले कान्छी श्रीमती बनाएपछि जाहेरवाली र पीडितसमेत प्रतिवादीसँग नबसी छुट्टै बसेको, कान्छी श्रीमतीबाट पनि सन्तान जन्मेको, कान्छी श्रीमतीले पनि प्रतिवादी र सन्तानलाई २०५९।२०६० सालमा छाडी हिँडेपछि जेठी श्रीमतीसँग प्रतिवादीको सम्पर्क आउजाउ भएको देखिन्छ । तथापि निजहरूको बसाई छुट्टाछुट्टै रहेको अवस्था छ । जेठी श्रीमतीबाट पीडित मात्र जन्मेकी र कान्छी श्रीमतीबाट जन्मेका दुई सन्तान जन्मेको स्थिति छ । प्रतिवादी र जाहेरवालीसमेतको सल्लाहअनुसार पीडितले भाइ बहिनीको हेरविचार गर्ने र पढ्ने कामसमेत गर्ने हिसाबले पीडित प्रतिवादीकहाँ २०६५ वैशाख १ गते देखि बसेको पाइन्छ । प्रतिवादी सुरूमा तरकारी व्यापारी रहेपनि पछिबाट का.म.पा. वडा १६ बालाजुस्थित शिव मन्दिरको पुजारी भई सोही मन्दिरको घरमा पीडित र कान्छी श्रीमतीबाट जन्मेका छोराछोरीसमेतसँग एउटै कोठामा दुई छोरी छुट्टाछुट्टै खाटमा र प्रतिवादी तथा छोरा एउटा खाटमा सुत्ने गरी बसेको पाइन्छ । 

३. प्रतिवादीले मौकामा गरेको कागज र अदालतमा गरेको बयान नै निजको प्रतिवाद मानिन्छ । पुनरावेदन जिकिर भनेको सुरू तहमा लिएको जिकिर र मिसिल संलग्न प्रमाणको कानूनविपरीत प्रयोग भएको भन्ने नै हुन्छ । निजले मौकामा पीडित छोरी खराब सङ्गतमा लागेकोले लगेर सुधार्नुस् भनी जाहेरवालीले भनेकीले आफूले छोरीलाई ल्याएको, पीडित आफुखुसी पटकपटक डेरा छोडी लामो समयसम्म काठमाडौंका डान्स रेष्टुरेण्टमा गई बसेकोमा आफू तथा जाहेरवालीसमेतले गई फेला पारी फर्काएको, पीडितले टाउको दुख्यो जरो आयो भनेकीले झारफूकको लागि बैनी भाइसहित पीडितलाई हारती माताकोमा पठाएकोमा निज फर्की नआएकीले साथी सुस्मितासँग घुम्न भनी गोरखा गएको र केही समयपछि आउने कुरा २०६६।६।१५ मा एउटा केटाले फोन गरेर बताएको, सोही दिन मामाघर आउने भनी छोरीले फोन गरेको कुरा जाहेरवालीले जानकारी दिएकीले राति अं. ८ बजेतिर पीडितलाई निजको मामा प्रतिवादीको जेठान घरमा फेला पारी कोठामा ल्याएको, १६ गते जाहेरवाली आई सोध्दा साथीको घर मनमैजुमा बसेको जवाफ दिएकी, १७ गते जाहेरवाली, छोरी र आफूले छोरी बसेको घर हेर्न जाँदा ताल्चा मारेको मानिस नबसेको घर देखाएकी र सोध्दा माछापोखरीस्थित एसियन गेस्टहाउस देखाएपछि यसरी हिंड्ने छोरीलाई पालेर पढाउन सक्दिन भनेपछि जाहेरवालीले रिसाएर छोरीलाई साथमा लिएर गएकी हुन् भनी आरोपित कसुरमा इन्कार भई बयान गरेको देखिन्छ । 

४. निजले अदालतमा पनि छोरीले पैसा चोरेर बेइज्जत गरी भनेर जेठी श्रीमतीले कक्षा ७ को अन्तिम जाँचको बेलामा छोरीलाई म कहाँ ल्याएर राखिदिएको हो । त्यसपछि छोरी म कहाँबाट भागे पछि खोज्ने क्रममा ११ दिनको दिनमा गोंगबु बसपार्कबाट साथीसँग हिड्दै गरेको अवस्थामा बिहान ११ बजेको समयमा समातेको हुँ । दोस्रो पल्ट साथीहरूको कोठा बाहिर बाटोमा लडिरहेको अवस्थामा साँझको समयमा उठाएर ल्याएको हुँ । तेस्रो पल्ट सामाखुसीस्थित सोगर्ल्स डान्स रेस्टुरेन्टबाट १७ दिनको दिनमा समातेर ल्याई सामान गोंगबु स्थित सन्तोष गेस्ट हाउसबाट ल्याएको हुँ । चौथो पटक १४ औं दिनको दिनमा गोंगबु स्थित चन्द्र गेस्ट हाउसमा गई खोजी जाहेरवाली र म भई ल्याएको हुँ । हाल असोज ५ गते देखि कोठामा नआएकोमा १५ गते एउटा केटाले निजको बहिनीसँग गोरखा घुम्न गएको भनी फोनमा भनेको र बेलुकी मामा घरमा गएको अवस्थामा राति मैंले मामा घरबाट नै समातेर छोरीलाई कोठामा ल्याएको हुँ ।१७ गतेबाट आमाले लगेकी हुन् । मैंले निज छोरीलाई जबरजस्ती करणी गरेको होइन । औषधी खान दिएको पनि होइन । छोरी रमेश बोहोरासँग ११ दिन बसेकोले निजसँगै विवाह गराई दिए हुन्छ म पुजारी जस्तो मान्छेको बेइज्जत हुन्छ भनी मैंले जाहेरवालीलाई भनेको तथा पुरानो रिसइवीको कारण आमा छोरी र निजहरूको मानिससमेत मिली षडयन्त्र गरी झूट्ठा कुरा लेखाएको हो भनी कसुरमा इन्कार रहेको देखिन्छ । 

५. मिसिल संलग्न सबै प्रमाण प्रतिवादीको विपक्षमा देखिन्छन् । मौकाका केही व्यक्तिले प्रतिवादीले अभियोगदाबीको कसुर नगरेको भनी कागज गरेको र प्रतिवादीकी कान्छी छोरी पीडितकी बहिनीले अदालतमा समेत बकपत्र गरेको देखिन्छ । तर वार्दातको दिन समयमा प्रतिवादी वा पीडित वार्दातस्थलमा उपस्थित हुन नसक्ने गरी अन्यत्र रहेको वा प्रतिवादी नपुंसक आदि शारीरिक अक्षमताद्वारा ग्रसित रहेको भन्ने निजहरूको भनाइ नरहेकोले निजहरूको व्यहोरालाई तटस्थ प्रमाण भन्नु उचित हुनेछ । पीडितकी बहिनीले दिदी स्कुलबाट कहिलेकाहीँ ढिला आउने र जहाँ मन लाग्यो त्यहीँ हिँड्ने गर्ने गरेकोले बुबाले दिदीलाई गाली गर्नुहुन्थ्यो । मिति २०६६।५।२१ को राति दिदीलाई बुबाले जबरजस्ती करणी गरेको कुरा थाहा छैन । हामी बसेको ठाउँमा दिदीको साथी सिर्जना भन्ने केटी बुबा नभएको मौका छोपी आई दिदीसँगै बस्ने गर्थे । बुबाले तिमी हाम्रो कोठामा नआउनु छोरा छोरीको पढाई बिग्रन्छ भनी गाली गर्नुहुन्थ्यो । मिति २०६६।६।५ मा बुबाले म र दिदीलाई स्वयम्भुस्थित माताकोमा फुक्न जाउ भनी खाजा खान रू. १०।१० र फुक्नको लागि रू. १५। – दिई पठाएकोमा हामीले पढ्ने स्कुल नजिक आएपछि दिदी साथी सिर्जनालाई बोलाउन गई आज रानीवन तर्फ घुम्न जाउँ भनी दिदी र दिदीको साथीले कुमारीस्थानको बाटो हुँदै नागार्जुन गुफानिर पुग्दा दिदीले सिस्नो भाँची सिर्जनालाई पोली मलाईसमेत पोली दिएकोले म दिदीहरूलाई छाडी आफ्नो घर फर्की आएँ । सिर्जना कता गए थाहा भएन । दिदी सो दिनदेखि हामी बसेको घरमा नआएकोले दिदीलाई बुबाले खोज्नुभएको थियो । दिदीलाई बुबाले समाउने कुटपिट गर्ने गर्नुभएको कुरा मलाई थाहा भएन । मलाई काम अराउदा नमानेमा बुबाले गाली गरी कुटपिट गर्नुहुन्थ्यो । बुबादेखि मलाई डर लाग्छ भनी मौकामा कागज गरेको देखिन्छ । निजले अदालतमा बकपत्र गर्दा प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको होइन भनी लेखाएको पाइन्छ । 

६. त्यसैगरी तुलसीप्रसाद लामिछानेले गरेको कागजमा मन्दिरमा पूजा गर्न राखेका प्रतिवादीले मन्दिरमा बिहान बेलुका पूजापाठ आरती गर्दै आएका, निज सो मन्दिर एरियामा बस्दा मैले देखे सुनेअनुसार जुवातास नखेल्ने र जाँडरक्सी मासु खाने नगरेका, निजले छोरीलाई जबरजस्ती करणी गरेकोमा विश्वास लाग्दैन भनी र माधवराज थापाले प्रतिवादी मन्दिरमा पूजापाठ गर्दा बस्दा सदाचारी, निष्ठावान्, अनुशासित र सभ्य व्यक्ति थिए । निजले पीडितलाई जबरजस्ती करणी गरेकोमा मलाई पूर्ण विश्वास लाग्दैन भन्ने व्यहोरा लेखाएको पाइन्छ । तर तुलसीप्रसाद र माधवराजले अदालतमा उपस्थित भई बकपत्र गर्न नसकेको पहिलो कारण तथा करणी भएको कुरा व्यक्ति बदमास वा भद्र भएको भन्ने आधारमा तय हुने कुरा नभएको दोस्रो कारणले निजहरूको कागजले प्रतिवादीलाई मद्दत गर्ने देखिँदैन । चरित्रकै विवाद रहेको मुद्दामा बाहेक अपराधी ठहर गर्न वा सफाइ दिनको लागि व्यक्तिको चरित्रलाई कानूनले खासै महत्त्व दिएको छैन । करणी एउटा घटना हो जो जुनसुकै जैविक व्यक्तिबाट जुनसुकै बेला जसरी पनि घटित हुने सम्भावना रहन्छ । यसका प्रस्फुटनका एक होइन अनेकौं छिद्र हुन्छन् । साधु सन्त देउतादेखि दुष्ट दुर्जन सबै यसको दायरामा आउन सक्ने हुन्छन् । त्यसैगरी यौन दुराचार र करणी गर्ने काम सामान्यतया कसैले पनि खास गरी बाबुले आफ्नो सन्तानको सामुन्ने गर्ने कुरा एक असामान्य कुरा भएको र पीडितकी बहिनी निक्कै कम उमेरकी भएकीले निजबाट यस्तो तथ्य थाहा पाउने अवस्था कमै पर्छ । अतः ती भनाइलाई प्रतिवादीको सफाइको आधार बनाउनु उपयुक्त हुँदैन । 

७. कन्याजाली च्यातिएको, नयाँ घाउ नभएको, स्वास्थ्य अवस्था ठीक भएको र शरीरमा कुनै चोटपटक नरहेको भन्ने व्यहोराको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको मिति २०६६।६।२० को पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन रहेको पाइन्छ । पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टर गेहनाथ बराल र डाक्टर अचला वैद्यले परीक्षण गर्दाको बखत जबरजस्ती करणीको चिह्नहरू देखिएको थिएन भनी बकपत्र गरेको पाइन्छ । तर डाक्टरहरूले पीडितको करणी नभएको भन्न सकेको पाइँदैन । करणी कसुरको परिभाषा विधिविज्ञानले होइन कानूनले गरेको छ । बयस्कहरूको हकमा प्रतिरोध हुनुपर्ने र संघर्षका चिह्न हुनुपर्ने जस्ता मान्यतालाई वर्तमान कानूनले आवश्यक मानेको छैन । अपितु पीडितले डर, धम्की, लोभ आदिको प्रभावमा नपरी यावत कुरा थाहा पाई स्वेच्छापूर्वक सहमति दिएको देखिएमा मात्र जबरजस्ती करणीको कसुर नहुने र ती सब नदेखिएमा कसुर हुने भनी यो कसुरको विधिशास्त्रीय विकास भएको पाइन्छ । नाबालकको हकमा निजले सहमति दिएको भएपनि कानूनले त्यसलाई सहमति मान्दैन र नाबालकसँगको करणी जबरजस्ती करणीको कसुर हुने गरी कानूनले यो कसुरको परिभाषा गरेको देखिन्छ । 

८. प्रस्तुत वारदात २०६६।५।२१ मा भएको अभियोगदाबी छ भने डाक्टरहरूबाट २०६६।६।२० मा मात्र पीडितको परीक्षण भएको पाइन्छ । ठूलै घाखत भई सो घाउ बिग्रेको केही अपवादजन्य अवस्थाबाहेक करणी भएको एक महिनासम्म जबरजस्ती करणीका लक्षणहरू यथावत् रहन सक्ने हुँदैनन् ।  कानूनले १६ वर्ष पूरा भएकोलाई बयस्क माने पनि नेपालमा १३-१४ वर्षमा नै केटीहरूको स्तनलगायतका यौनांगहरूको विकास हुने र महिनावारी सुरू हुने र सन्तान जन्माउन सक्ने अवस्थामा पुग्ने यहाँको इतिहास र यथार्थ छ । करणी भएको भनिएको समयमा पीडितको उमेर १४ वर्ष पूरा भई १५ मा प्रवेश गर्नको लागि ४ महिना जति बाँकी रहेको देखिन्छ । पीडितको कन्याजाली च्यातिएको अवस्था छ । कन्याजाली विभिन्न कारणले च्यातिन सक्ने कुरा यथार्थ हो । तर सामान्य क्रियाकलापबाट कन्याजाली च्यातिने कुरा यथार्थ होइन । पीडितबाट के कस्तो असामान्य क्रियाकलाप भयो र निजको कन्याजाली च्यातिन पुग्यो यसको जिकिर प्रतिवादीले लिनुपर्छ र त्यसको प्रमाण पनि निजैले पुर्‍याउनुपर्छ । पीडितको कन्याजाली यौन कार्यबाहेकको अरू असामान्य क्रियाकलापबाट च्यातिएको भनी प्रतिवादीले जिकिर लिन सकेको देखिँदैन । यी प्रतिवादीले पीडित चरित्रहीन रहेकी र डान्सबार आदिमा गई रमेश बोहरालगायतका व्यक्तिसँग बसेकी भनी पीडित यौन सम्पर्क गर्न संकोच नगर्ने भन्नेतर्फ संकेत गरेको देखिन्छ । यसबाट पीडितको कन्याजाली यौन सम्पर्ककै कारण च्यातिएको भन्ने कुरामा प्रतिवादीले आपत्ति गरेको देखिँदैन । तर पीडितले त्यसप्रकार अरूहरूसँग पनि यौन सम्पर्क गरेकी कुराको हल्का वा बलियो कुनै प्रमाण देखिँदैन । प्रमाण र अनुमान फरक कुरा हुन् । बाबुको दुराचारबाट पीडित भई घर छोडेर छोरीले कसैसँग केही समय बिताएको तथ्यबाट निजहरू बिचको सोसम्बन्ध यौन सम्पर्कमा नै परिणत भएको अर्थ गर्न मिल्दैन । त्यसबाटै पीडित चरित्रहीन रहेकी भनी अर्थ गर्न मिल्दैन । पीडित विद्यालयमा पढ्ने छात्रा भएकी निजको आमा, मामा सबै रहेका र मावली कमजोर नरहेको देखिन्छ । पीडितले परीक्षामा राम्रो अंक ल्याएकी कुरालाई फैसलाहरूले टेकेको देखिन्छ । तथापि चरित्रहीन र यौनकर्मीको पनि शारीरिक स्वायत्तता हुन्छ जसलाई निजको इच्छा बेगर उल्लङ्घन गर्न मिल्दैन । 

९. आफूलाई ल्याएको एक हप्तापछि देखि नै प्रतिवादीले पीडित बिरामी भएकोले झारफूक र उपचार गर्छु भनी पीडितको स्तन योनिलगायतका भागहरू सुम्सुम्याउने खेलाउने गरेको, २०६६।५।२१ का दिन साँझतिर प्रतिवादीले पकाएर ल्याएको चिया खाएको केही समयपछि पीडितलाई रिंगटा लागेको र राति अं. १०।११ बजेतिर प्रतिवादी पीडितको खाटमा सुती निजको स्तन सुम्सुम्याएर लगाएको ट्र्याक खोली निजमाथि चढी करणी गर्न लाग्दा छटपटाई कराउन खोज्दा प्रतिवादी आफ्नो खाटमा गई सुतेका, भोलिपल्ट बिहान पीडितको योनिबाट रगत आएको र योनि वरपर दुखेको, प्रतिवादीसँग यो के गरेको भनी सोध्दा तिमीलाई भूतले तर्साउला कि भनी चेक मात्र गरेको हो यो कुरा कसैलाई नभन्नु तिहारमा मोबाइल किनेर दिउँला भनी प्रतिवादीले भनेको, पीडित २०६६।६।५ सम्म प्रतिवादीसँगै बसेको, पछिबाट आत्मग्लानि भएको, सो कुरा आमालाई भन्न अप्ठ्यारो लागेकोले साथी रमेश बोहरालाई सो घटना बताई निजकै घरमा बसी २०६६।६।१५ मा मामा प्रेम सिलवालको घरमा गएको, त्यहाँ पीडितको आमा आएर बाबुको घर छाडी किन हिंडेकी भनी सोधेपछि आफूलाई बाबुले यौन दुर्व्यवहार र करणी गरेको कुरा बताएकी र त्यसपछि २०६६।५।१९ मा जाहेरी परेको भन्ने पीडितको मौकाको कथन छ । पीडितले अदालतमा उपस्थित भई गरेको बकपत्रमा पनि प्रतिवादीको कोठामा आएको १।२ हप्ता पछिदेखि फुकी दिन्छु भनी निजले आफ्नो शरीरका अंगहरू छुने गरेको, निद्रा लाग्ने ट्याबलेट खुवाउने गरेको, डर धम्की देखाई आफूलाई २ पटक बालाजुको डेरामा र १ पटक मन्दिरमा जबरजस्ती करणी गरेको, सो कुरा भनेमा मारिदिन्छु भनी पीडितलाई भनेको, सो कुरा पीडितले आफ्नो आमालाई भन्दा निजले नपत्याएको, २०६६।६।१६ गते उक्त कुरा पीडितले मामामाइजूलाई भनेको, आफूलाई चन्द्र गेस्टहाउस कहाँ पर्छ थाहा नभएको र जाँदा पनि नगएकोसमेतका व्यहोरा रहेको पाइन्छ । 

१०. ती दुवै कागजमा कुनै सारभूत भिन्नता छैन । पीडितको अदालतको बकपत्रमा करणीको पटक बढी उल्लेख भएको र करणीको कुरा आमालाई भन्दा वहाँले नपत्याएको भन्नेबाहेक यी दुई व्यहोरामा कुनै फरक रहेको पाइँदैन । 

११. जाहेरवालीको जाहेरीमा रहेको व्यहोरा हेर्दा प्रतिवादीले यौन सम्पर्क गर्न भनी पीडितलाई भन्ने गरेका र नमान्दा कुटपिट यौन दुराचार गर्ने गरेका, कतै भनेमा निज र जाहेवालीलाई मार्ने, घरबाट निकाल्ने, नपढाउने धम्की दिएको, टाउको दुखेको औषधी खा भनेर जबरजस्ती बेहोस हुने औषधी खुवाई छोरीलाई जबरजस्ती करणी गर्न थालेका, डरले छोरीले कसैलाई पनि सो कुरा नबताएकी, पटकपटक जबरजस्ती करणी हुन थालेपछि सहनै नसकेर छोरी साथीको घरमा गएर बसेको, सो थाहा पाई बाबुसँग नबसी किन घर छोडेर हिंडिस् भनी सोध्दा मात्र छोरीले बाबुले औषधी खुवाई पटकपटक यौन दुर्व्यवहार गर्ने जबरजस्ती करणी गर्ने गर्नुहुन्छ भनी बताएकीसमेतका कुरा रहेको पाइन्छ । 

१२. निजले अदालतमा बकपत्र गर्दा छोरीलाई निद्रा लाग्ने औषधी खा भनेर प्रतिवादीले डाइजिपन भन्ने औषधी खान दिनुहुन्थ्यो । कहिलेकाहीँ त निन्द्रामा बरबराउँदी रहिछेस् भनेर अरू औषधी पनि दिनुहुन्थ्यो । छोरीले एक दिन यो डाइजीपन रहेछ भनेर फ्याँकेको रहेछ । प्रतिवादी आफैँले पकाएर चियामा पनि लठ्ठयाउने औषधी हालेर दिनु भएछ । लठ्ठयाउने औषधीको सेवन गराएर जबरजस्ती करणी गर्नुहुन्थ्यो । सो कुरा कसैलाई भनेमा आमा छोरीलाई मारिदिन्छु भनेर डर धम्की दिने गरेको रहेछ । छोरीले बुबा मसँग चल्नु हुन्छ भन्ने गर्थिन् । तर मैंले बाबु छोरीमा त्यस्तो नाजायज क्रियाकलाप होला भन्ने शंका गर्ने कुरा नभएकोले वास्तै गरेकी थिइन । एकदिन स्कुल जाने बेलामा छोरीले कपडा खोलेको अवस्थामा प्रतिवादीले पूजा गर्दागर्दै उठेर निजको छातीमा हात राखी उत्तेजित हुँदै गरेको मैंले देखेको हुँ । त्यसपछि छोरीलाई मैंले घरमा लगेर एक महिना जति राखेकी थिएँ । छोरी पढ्ने स्कुल र प्रतिवादीको मन्दिर नजिकै भएकोले स्कुलबाटै पुनः उहाँकोमा लग्नु भएछ । मैंले छोरी कता गई भनी फोनमा सोध्दा छोरीलाई बोल्न नदिई फोन राखेका 

हुन् । छोरीले मामाघर गएर बलात्कार भएको कुराको बेली विस्तार माइजूलाई भनेपछि निजले मलाई फोन गरी बोलाउनु भयो । प्रतिवादीले मलाई त्यहाँ जान दिएनन् । उक्त दिन पनि छोरीसँग नाजायज क्रियाकलापको प्रस्ताव राखेका रहेछन् । किन छोरीलाई त्यसो गरेको भनी प्रतिवादीलाई भन्दा तेरो छोरीसँग नाजायज क्रियाकलाप गरेको हो सकेको गर भनेकोले ल्याकमा निवेदन दिएको हो भन्ने व्यहोरा लेखाएको देखिन्छ । 

१३. यो बकपत्रमा परेका धेरै कुरा मौकाको जाहेरीमा उल्लेख हुन सकेका छैनन् । तर बकपत्र गर्ने व्यक्ति बकपत्र कसरी गर्नुपर्छ भन्ने कानून पढेको ज्ञाता व्यक्ति नभएको कुरा विचारणीय छ । प्रतिवादी एकदम बदमास व्यक्ति भएको देखाउन पनि वास्तविक तथ्यलाई बढाईचढाई गर्ने आनीबानी मानव स्वभाव भित्रै पर्छ । जाहेरी दिँदा जाहेरवाला धेरथोर अविचलित अवस्थामा रहने हुँदा सोको प्रभावस्वरूप मौकामा सिलसिलाबद्धमा सबै तथ्यको वर्णन नहुन पनि हुन सक्छ आदि आदि । तथापि दूधमा पानी मिसिएको भन्दैमा त्यसमा  दूध छैन पानी मात्रै छ भन्न नमिले जस्तै केही कुरा बढाईचढाई आएबाटै वा केही कुरा छुटेबाटै त्यसलाई मात्र अलग्याई मिसिलका अरू प्रमाणको उपेक्षा गरी सो बकपत्रमा परेका यथार्थ कुरालाई समेत अमान्य गर्नु उचित हुँदैन । न्यायाधीशले राजहंसको काम गर्न सक्नुपर्छ । दूध कति र पानी कति छुट्याउनै पर्छ । यसको दूध भनेको प्रतिवादीले पीडित छोरीलाई करणी गरेको भन्ने हो । 

१४. पीडितकी माइजू पार्वती सिल्वालले पीडित हाम्रो घरमा आउँदा तिमी किन बाहिर हिँड्छ्यौ घरमा किन बस्दिनौ भनी सोध्दा पीडितले मेरो बाबाले औषधी जस्तो खान दिई मलाई जबरजस्ती करणी गर्नुहुन्छ त्यसकारण म बाबाकोमा बस्न मन नलागेकोले कहिले साथीको घर र कहिले कहाँ हुन्छ त्यहाँ बस्ने गरेकी छु भनी मसँग रूँदै भनेको भनी मौकामा लेखाएको पाइन्छ । निजले अदालतमा गरेको बकपत्रमा पनि पीडित हराएको र त्यसपछि निजको घरमा आएको समयमा कहाँ गएकी थियौ भनी सोध्दा पीडितले मलाई डेडीले बेस्यालाई गर्ने व्यवहार गर्नुभयो भनी भनेकी र बेस्यालाई गर्ने काम के हो भनी कोठामा लगेर सोध्दा प्रतिवादीले आफ्नो पाइन्ट खोली मलाई डर धम्कीमा पारी जबरजस्ती करणी गर्नु हुन्थ्यो भने कहिले विभिन्न निद्रा लाग्ने ट्याबलेटसमेत खुवाई करणी गर्नुहुन्थ्यो र भोलिपल्ट कस्तो भयो भनी सोध्ने गर्नुहुन्थ्यो । करणी गरेको कुरा कसैलाई भने सुनाएमा तलाइँ मारिदिन्छु समेत भन्नु हुन्थ्यो । मैंले ममीलाई बुबाले ममाथि नराम्रो व्यवहार गर्नुभयो मात्र भनेकी थिएँ । ममीले नराम्रो व्यवहार के भनेर नसोधी बाबुले त्यस्तो काम गर्नै सक्दैनन् भनी पत्याउनु भएन र पुनः बुबासँग जाउ भनी पठाउनुभएको थियो । त्यसैले म बाहिर गएर बसेकी छु । मलाई विष खान दिएर मर्न दिनुस् भनेर सबै बेली विस्तार मलाई सुनाउनुभएको हो भन्ने व्यहोरा रहेको देखिन्छ । 

१५. रमेश बोहराको मौकाको कागजमा पीडित र मेरो छोरी एउटै स्कुलमा पढ्ने साथी भएको र पीडित झोक्र्याई बसेको देखी सोद्धा घरमा टेन्सन छ यो कसैलाई भन्न सक्तिन घरमा जान्न भनी बताएकीले मेरो घरमा बस भन्दा पनि नमानेकीले बालाजु माछापोखरीमा रहेको एसियन गेस्ट हाउसको कोठा नं. ३०३ मा लगी मेरो नाममा इन्ट्री गरी दिनको रू. ३५०। – मा बुक गरी राखी म आफ्नो घरमा आएँ । निजलाई उक्त गेस्ट हाउसमा असोज ५ बाट ऐ. १० सम्म राखी सो कुरा घरमा भन्दा निजलाई किन गेस्ट हाउसमा राखेको घरमा लिएर आइज भनेकोले असोज १० गते होटलमा राखेको खर्च म स्वयंले तिरी पीडितलाई घरमा ल्याई संरक्षणमा राखेँ । घरमा ल्याएपछि मेरो छोरीले निजलाई चिनेर दिदी भनेपछि निजले मलाई बाबुले मिति २०६६।५।२१ को राति बलात्कार गरे सो कुरा कसैलाई भन्न नसकी विरक्त भएर हिडेकी हुँ भनी बताएकीले निजको मामाघर पुर्‍याई दिएको हुँ भन्ने व्यहोरा देखिन्छ । निजले अदालतमा पीडितलाई प्रतिवादीले जबरजस्ती करणी गरेको कुरा निजले सुनाउँदा थाहा पाएको छु । मेरो घरदेखि केही पछाडिको डाँडामा पीडितलाई एक्लै झोक्र्याएर बसेको देखी मैंले निजलाई एसियन गेस्ट हाउसमा लगेर ८।९ दिन राखी त्यसपछि घरमा भन्दा लिएर आउनु भनी आमा बुबाले भनेको हुँदा लिएर घरमा लगेर दुई दिन राखेको हो । मेरो घरको सबै परिवारले भेटे । मैंले पीडितलाई मामाघरसम्म पुर्‍याई गेटभित्र छिराई आएको हुँ । कसैको जिम्मा लगाएको होइन । पीडितको बैनी मेरो छोरीको साथी हुन र निजलाई स्कुल जाँदा आउँदा चिनेको हुँ । निज चिन्तित अवस्थामा देखी सोधखोज गर्दा म घर जान्न बुबाले दुर्व्यवहार गरेको हुँदा म अन्तै जान्छु मामा घर पनि जान्न मामा घर गयो भने ममीले फेरी बुबानिर पुर्‍याइदिनुहुन्छ समेत भनेको कारण मैंले गेस्ट हाउसमा लगी राखी दिएको हुँ भनी बकपत्र गरेको देखिन्छ । 

१६. गेस्ट हाउस धनी चण्डीप्रसाद पौडेलले मौकामा मिति २०६६।६।७मा रमेश बोहोरा बताउने युवकले एकजना १४/१५ वर्षकी केटी ल्याई ऐ. १३ गते दिउँसोसम्म मेरो गेस्ट हाउसमा बसेका हुन्, निजहरूलाई पहिलेबाट चिने जानेको थिएन भनी कागज गरेको देखिन्छ भने बकपत्र गर्दा २०६६।६।२१ को कागज व्यहोरामा भएको सहीछाप मेरै हो, रमेश बोहरासमेत २०६६ साल असोज ७ गतेदेखि ऐ. १३ गतेसम्म बसेका हुन्, बेलुका चाहिँ केटी मात्रै बसेकी छन्, दिउँसो केटा आएर पैसा बुझाउने गर्दछ भन्ने व्यहोरा लेखाएको पाइन्छ ।  

१७. प्रस्तुत विवादमा रमेश बोहराको निक्कै कैफियत देखिन्छ । रमेश बोहराले पीडितको आमा, मामा वा प्रहरीलाई समेत जानकारी नदिई नाबालक पीडितलाई आफ्नो घर र लजमा राख्ने कुनै अधिकार निजलाई रहेको देखिँदैन । पीडितभन्दा १६ वर्ष जेठा निजलाई पीडितले यस्तो बेइज्जतीपूर्ण कार्यबारे जानकारी दिनु भनेको पीडित निजको राम्रै वशमा परेको मान्नुपर्छ । निजले पीडितलाई गेस्टहाउसमा राखेको मितिको सम्बन्धमा निजको र गेस्टहाउस धनीको भनाइ बाझिएको देखिन्छ । पीडितको असहाय अवस्थाको निजले पनि फाइदा उठाएको हो कि भन्ने तथ्यगत धरातल रहेको छ । रमेश बोहराको क्रियाकलाप शंकास्पद रहेको र नाबालक पीडितलाई निजले गेस्टहाउसमा पैसा तिरेर राखेको कार्यमा निजउपर मानव बन्धक, अपहरण वा बेचबिखन शोषण वा त्यसको उद्योग समेतमा मुद्दा चलाउन सकिन्थ्यो । त्यसैगरी गेस्टहाउस धनीले नाबालक केटीलाई गेस्टहाउसमा ल्याउने व्यक्ति हकवाला आधिकारिक व्यक्ति हुन् होइनन् भन्ने कुरातर्फ बुझ्नै पर्ने र कैफियत देखिएमा प्रहरीसमेतका सरोकारवालालाई सूचना दिनै पर्ने निजको दायित्वलाई निजले पूरा गर्न सकेको पाइँदैन । यसमा पनि अनुसन्धानकर्ताले गेस्टहाउस सम्बन्धी कानूनबमोजिम वा अपहरण आदि उपयुक्त कानूनी कारवाही गर्न सक्थ्यो । अनुसन्धानको यो ठूलै लापरवाही भएको र यसबाट दण्डहीनताले प्रश्रय पाएको देखिन्छ । तथापि यो बेग्लै विषय भएको र रमेश बोहराले पनि पीडितलाई ललाए फकाएकोसमेतको कसुर गरेको हुन सक्ने सम्भावनाबाटै त्योभन्दा पहिले पीडितउपर प्रतिवादीले गरेको प्रस्तुत वार्दातबाट प्रतिवादीले स्वतः उन्मुक्ति पाउने निष्कर्ष आउने देखिँदैन । 

१८. सुरू काठमाडौं जिल्ला अदालत र पुनरावेदन अदालत, पाटन दुवै अदालतले प्रतिवादी विरूद्धको अभियोगदाबी पुग्ने ठहराई फैसला गर्दा पीडित १४ वर्ष पूरा भएकी बालिका र निजकी आमाले आफ्नो भविष्यलाई प्रतिकूल असर पुग्ने गरी सामाजिक हैसियत, छोरीको भावी पारिवारिक र सामाजिक जीवन समेतलाई खेलवाड गरी प्रतिवादीउपर बनावटी काल्पनिक आरोप लगाएको सम्झनु उचित हुँदैन । बालिकाले आफ्नै बाबुसँग पूर्व नियोजित रिसको बदला लिन षडयन्त्रपूर्वक प्रपन्च गरेको हुन सक्ने सम्भावना रहेको कुरा मिसिल संलग्न कुनै पनि प्रमाणबाट देखिँदैन । मानिसले कुनै पनि कर्म गर्दा त्यसबाट उत्पन्न हुने असरको सामान्यरूपले ख्याल राखेकै हुन्छ ।१४ वर्ष की बालिकाले सतहीरूपले हुँदै नभएको घटनालाई षडयन्त्र रची आफ्नै बाबुले जबरजस्ती करणी गरेको कुरा भन्न बनावटी कुराले प्रेरित गरेको देखिँदैन । प्रतिवादीले जाहेरवालीउपर सौता ल्याएको रिसइवी साध्न झूट्ठा जाहेरी दिएको भन्ने प्रतिवादीको जिकिर रहेको छ तर सौता ल्याउँदाको अवस्थामा निजले बहुविवाहमा उजुर नगरेकी र सौता घर छोडी हिडेपछि लोग्नेसँगको सम्बन्ध सामान्य हुँदै गएको अवस्थामा लोग्नेसँग बदला लिन यसप्रकारको जघन्य अपराधमा जाहेरी दिएहोलिन भन्ने पत्यार गर्ने आधार देखिँदैन । निजहरूको आरोप पीडितको माइजूको भनाइबाट पनि समर्थित रहेको छ । पीडितले प्रारम्भदेखि नै घटनाको सविस्तार चित्रण गरेको अवस्थामा आफूलाई रक्षा दीक्षा र हेरविचार गर्ने बाबुले करणी गरेको भनी भनेको कुरालाई प्रमाण ऐन, २०३१ को दफा १० अनुसार प्रमाणमा लिन मिल्ने भन्ने स्थापित न्यायिक सिद्धान्तहरू समेतको आधारमा पीडित तथा जाहेरवालासमेतको भनाइलाई प्रत्यक्ष र विश्वसनीय प्रमाणको रूपमा ग्रहण गर्नुपर्ने नै देखिन्छ भन्ने आधार लिएको पाइन्छ । 

१९. ती आधार र धारणा नै हालको जबरजस्ती करणी कसुरको विधिशास्त्रीय मान्यता देखिन्छन् । 

२०. कुनै पनि जबरजस्ती करणीको पीडित सो कसुरको प्रभावबाट धेरथोर असामान्य हुन 

पुग्छिन । त्यसमा पनि बाबुको सहारामा बसेकी र छोरीको कन्यादान गर्नु पर्ने बाबुबाट यसप्रकारको व्यवहार होला भनी छोरीले पूर्वानुमान गर्ने कुरा हुँदैन । यो एक भूइँचालो हो, एक आँधी बेहरी हो जसले पीडितलाई क्षतविक्षत बनाएको छ । निजले प्रतिवादीबाट भएको वार्दात समयमा भन्न नसक्नु र घर छाडी अरूहरूसँग हिँड्नु जस्ता कुरा यस्ता पीडितको व्यवहारभित्रै पर्ने कुरामा यौन विशेषज्ञ र मनोविद्हरू एकमत छन् । सहारा दिने बाबु नै अपराधी भएको, वारदातको ३ दिनपछि जाँचको चटारो, आमा पनि सँधै भेट नहुने, उमेर भक्खर १४ कसलाई भन्ने कहाँ जाने कल्पना गरौं । राम्रो कमाई गर्ने प्रतिवादी जो पीडितको सुखद् भविष्यको सुनिश्चित स्रोत छन् तिनलाई पीडित र जाहेरवालीले गुमाउनु भनेको निजहरूले ठूलो खतरा मोल लिनु हो । घटना यथार्थ नरहेको भए निजहरूले अदालतमा समेत उभिएर आफ्नो आम्दानी र सहारा गुमाउनु पर्ने हुँदैनथ्यो । प्रतिवादीबाट यस इजलाससमक्ष अत्यन्त चित्त बुझ्दो कुरा नआएसम्म कन्याजाली च्यातिएको शारीरिक लक्षणमा पुगेकी पीडित र निजकी आमा जाहेरवालीद्वारा व्यक्त कथनलाई यो इजलासले अन्यथा गर्न सक्दैन । जबरजस्ती करणीमा यस अदालतबाट भएको विधिशास्त्रीय विकास र स्थापित मान्यतालाई यो इजलास सम्मान गर्न चाहन्छ । 

२१. यिनै सब कारणहरूले गर्दा प्रतिवादीलाई जबरजस्ती करणीको महलको १ र २ नं. को कसुरमा ऐ. को ३ नं. को देहाय ३ अनुसार ८ वर्ष कैद र हाडनाता करणीको १ नं. तथा जबरजस्ती करणीको महलको २ नं. अनुसार थप १० वर्ष कैद तथा ऐ. को १० नं. बमोजिम पीडितले प्रतिवादीबाट रू. एक लाख क्षतिपूर्ति भरिपाउने ठहर्‍याएको सुरू जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत,पाटनको मिति २०६७।१२।२२ को फैसलालाई उल्टी गरी प्रतिवादीलाई सफाइ दिनका लागि तथ्यगत र कानूनी आधार नरहेकोले पुनरावेदन अदालत, पाटनको फैसला सदर हुने ठहर्छ । अभियोगदाबीबाट सफाइ पाउँ भन्ने प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रस्तुत फैसलाको जानकारी प्रतिवादीलाई दिई मुद्दाको दायरी लगत कट्टा गरी मिसिल नियमानुसार बुझाइदिनू । 

 

उक्त रायमा सहमत छु । 

न्या.चोलेन्द्र शमशेर ज.ब.रा.

 

इजलास अधिकृत : गेहेन्द्रराज पन्त

इति संवत् २०७२ साल फागुन ३ गते रोज २ शुभम् । 

भर्खरै प्रकाशित नजिरहरू

धेरै हेरिएका नजिरहरु